सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२

येशू हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

येशू हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

के तिमी यहोवा परमेश्‍वरसित कुरा गर्छौ?— तिमीले त्यसो गरेको उहाँ चाहनुहुन्छ। परमेश्‍वरसित कुरा गर्नुलाई प्रार्थना भनिन्छ। येशूले स्वर्गमा हुनुहुने आफ्नो बुबासित थुप्रैचोटि कुरा गर्नुभयो। परमेश्‍वरसित कुरा गर्ने बेलामा कहिलेकाहीं उहाँ एक्लै बस्न मन पराउनुहुन्थ्यो। एकचोटि के भएको थियो, त्यसबारे बाइबल यसो भन्छ, “उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो। रात निकै छिप्पिसकेको थियो तर उहाँ भने त्यहाँ एक्लै हुनुहुन्थ्यो।”—मत्ती १४:२३.

एक्लै बसेर यहोवालाई प्रार्थना गर्न तिमी कहाँ जान सक्छौ?— सायद राती सुत्नुअघि एक्लै बसेर यहोवालाई प्रार्थना गर्न सक्छौ। येशूले भन्‍नुभयो: ‘प्रार्थना गर्ने बेला तिमीचाहिं आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो बुबालाई प्रार्थना गर।’ (मत्ती ६:६) के तिमी हरेक रात सुत्नुअघि यहोवालाई प्रार्थना गर्छौ?— हो, तिमीले उहाँलाई हरेक रात प्रार्थना गर्नुपर्छ।

येशूले एक्लै छँदा . . . अनि अरूहरूको सामु पनि प्रार्थना गर्नुभयो

आफूसँग अरू मानिस भएको बेला पनि येशूले प्रार्थना गर्नुभयो। आफ्नो साथी लाजरसको मृत्यु हुँदा येशूले तिनलाई राखिएको ठाउँमा सबै मानिससामु प्रार्थना गर्नुभयो। (यूहन्‍ना ११:४१, ४२) अनि आफ्ना चेलाहरूसितको सभामा पनि येशूले प्रार्थना गर्नुहुन्थ्यो। के तिमी सभाहरूमा जान्छौ जहाँ प्रार्थना गरिन्छ?— त्यहाँ प्रायजसो ठूला व्यक्‍तिले प्रार्थना गर्ने गर्छन्‌। ती व्यक्‍तिले के भन्छन्‌, ध्यान दिएर सुन किनभने तिनले तिम्रो लागि परमेश्‍वरसित कुरा गर्दैछन्‌। अनि तिमीले पनि प्रार्थनाको अन्तमा “आमिन” भन्‍न सक्नेछौ। प्रार्थनाको अन्तमा किन “आमिन” भनिन्छ, तिमीलाई थाह छ?— त्यसको मतलब हो: तिमीलाई त्यो प्रार्थना मनपऱ्‍यो, त्यो प्रार्थनामा भनिएका कुराहरूमा तिमी पनि सहमत छौ अनि त्यो प्रार्थना आफैले गरेको प्रार्थना हो भन्‍ने तिमी ठान्छौ।

तिमीले सभामा गरिएको प्रार्थना किन ध्यान दिएर सुन्‍नुपर्छ?

खाना खाने समयमा पनि येशूले प्रार्थना गर्नुभयो। उहाँले खानाको लागि यहोवालाई धन्यवाद दिनुभयो। के तिमी पनि खाना खानुअघि सधैं प्रार्थना गर्छौ?— खाना खानुअघि यहोवालाई धन्यवाद भन्‍नु राम्रो कुरा हो। अरूसँगै बसेर खाँदा सायद अरूले नै प्रार्थना गरिदिन्छन्‌ होला। तर तिमी एक्लै बसेर खान्छौ भने नि? अथवा यहोवालाई धन्यवाद नदिई खाना खाने मान्छेहरूसित बसेर खाइरहेका छौ भने नि?— त्यतिबेला तिमी आफैले प्रार्थना गर्नुपर्छ।

के तिमीले जहिले पनि ठूलो स्वरले प्रार्थना गर्नुपर्छ? तिमीले मनमनै गरेको प्रार्थना के यहोवाले सुन्‍न सक्नुहुन्छ?— यसको जवाफ हामी नहेम्याहको घटनाबाट थाह पाउन सक्छौं। नहेम्याह यहोवाका उपासक थिए। तिनी फारसको राजदरबारमा राजा आर्टजारसेजको लागि काम गर्थे। एक दिन नहेम्याहले इस्राएलीहरूको मुख्य सहर, यरूशलेमको पर्खाल भत्किरहेको छ भन्‍ने खबर पाउँछन्‌। यसले गर्दा तिनी एकदमै दुःखी हुन्छन्‌।

नहेम्याहले जस्तै तिमी कतिखेर मनमनै प्रार्थना गर्न सक्छौ?

राजाले नहेम्याहलाई किन दुःखी भएको भनेर सोध्दा नहेम्याहले जवाफ दिनुअघि मनमनै प्रार्थना गर्छन्‌। त्यसपछि आफू दुःखी हुनुको कारण राजालाई बताउँछन्‌ र यरूशलेमको पर्खाल फेरि बनाउन त्यहाँ जान सकिन्छ कि भनेर सोध्छन्‌। अनि के हुन्छ?—

हो, परमेश्‍वरले नहेम्याहको प्रार्थना को जवाफ दिनुहुन्छ। राजाले तिनलाई जाऊ भन्छन्‌! अनि पर्खाल बनाउन चाहिने थुप्रै काठसमेत राजाले तिनलाई दिन्छन्‌। त्यसैले हामीले मनमनै गरेको प्रार्थनाको जवाफ पनि परमेश्‍वरले साँच्चै दिन सक्नुहुन्छ।—नहेम्याह १:२, ३; २:४-८.

अब यो कुराबारे सोच है! के तिमीले प्रार्थना गर्दा टाउको निहुराउनुपर्छ? घुँडा टेक्नुपर्छ? तिमीलाई कस्तो लाग्छ?— प्रार्थना गर्दा येशूले कहिलेकाहीं घुँडा टेक्नुभयो। अरूबेला चाहिं उभिएर प्रार्थना गर्नुभयो। अनि कहिलेकाहीं चाहिं स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो, जस्तै लाजरसको लागि प्रार्थना गर्दा।

यसबाट हामी के बुझ्न सक्छौं?— हो, हामी कसरी बसेर प्रार्थना गर्छौं, त्यो कुरा महत्त्वपूर्ण होइन। प्रार्थना गर्दा कहिलेकाहीं टाउको निहुराउनु र आँखा चिम्लनु राम्रो हो। अरू बेलाचाहिं तिमी येशूले जस्तै घुँडै टेकेर प्रार्थना गर्न चाहन्छौ होला। तर नबिर्स, हामीले परमेश्‍वरलाई दिउँसो-राती जुनसुकै समय प्रार्थना गरे तापनि उहाँले त्यो सुन्‍नुहुनेछ। प्रार्थना गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा भनेको यहोवा हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर साँच्चै विश्‍वास गर्नु हो। यहोवाले तिम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर के तिमी विश्‍वास गर्छौ?—

प्रार्थना गर्दा तिमी परमेश्‍वरसित के कुरा गर्न सक्छौ?

यहोवालाई प्रार्थनामा हामीले भन्‍नुपर्छ?— मलाई भन त, प्रार्थना गर्दा तिमी परमेश्‍वरसित के कुरा गर्छौ?— यहोवाले हामीलाई थुप्रै असल कुरा दिनुभएको छ, त्यसैले हामीले उहाँलाई धन्यवाद दिनु राम्रो हो नि, होइन र?— हामी उहाँलाई खानाको लागि धन्यवाद दिन सक्छौं। तिमीले उहाँलाई निलो आकाश, हरियो रूख अनि सुन्दर-सुन्दर फूलका लागि के कहिल्यै धन्यवाद दिएका छौ? यी सबै बनाउनुहुने उहाँ नै हुनुहुन्छ।

एक पटक, येशूका चेलाहरूले उहाँलाई कसरी प्रार्थना गर्ने भनेर सोधे। महान्‌ शिक्षकले प्रार्थना गरेर देखाउनुभयो र कुन-कुन महत्त्वपूर्ण कुराको लागि प्रार्थना गर्नुपर्छ भनेर बुझाउनुभयो। ती महत्त्वपूर्ण कुरा के-के हुन्‌, तिमीलाई थाह छ?— आफ्नो बाइबल निकालेर मत्ती अध्याय ६ पल्टाऊ त! यसको पद ९ देखि १३ मा हामी उहाँले गरेको प्रार्थना पाउँछौं। त्यसलाई मानिसहरू प्रभुको प्रार्थना भन्‍ने गर्छन्‌। अब हामी यी पदहरू पढौं है त!

परमेश्‍वरको नामबारे प्रार्थना गर्न येशूले भन्‍नुभएको हामीले थाह पायौं नि, होइन? परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भनेर प्रार्थना गर्नुपर्छ भनी उहाँले बताउनुभयो। परमेश्‍वरको नाम के हो?— ठीक भन्यौ, उहाँको नाम यहोवा हो र यो नामलाई हामीले माया गर्नुपर्छ।

दोस्रो, परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्न येशूले सिकाउनुभयो। यो राज्य महत्त्वपूर्ण छ किनभने यो राज्यले पृथ्वीमा शान्ति ल्याउनेछ र यसलाई प्रमोदवन बनाउनेछ।

तेस्रो, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि परमेश्‍वरको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्न महान्‌ शिक्षकले सिकाउनुभयो। यदि यसको लागि प्रार्थना गर्छौं भने हामीले परमेश्‍वरले चाहेअनुसारै गर्नुपर्छ।

येशूले हामीलाई दिनभरिको भोजनको लागि पनि प्रार्थना गर्न सिकाउनुभयो। साथै कुनै गलत काम गरेका छौं भने परमेश्‍वरसामु आफ्नो गल्ती स्वीकार्नुपर्छ भनेर पनि उहाँले सिकाउनुभयो। हो, हामीले परमेश्‍वरसित क्षमा माग्नुपर्छ। तर परमेश्‍वरले क्षमा देओस्‌ भन्‍ने चाहन्छौं भने हामीले पनि अरूले गल्ती गर्दा क्षमा दिनै पर्छ। के तिमीलाई यसो गर्न सजिलो लाग्छ?—

अन्तमा, हामीलाई दुष्ट व्यक्‍ति सैतान अर्थात्‌ दियाबलबाट जोगाउनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्न पनि येशूले भन्‍नुभयो। परमेश्‍वरलाई हामी यी सबै असल कुराका लागि प्रार्थना गर्न सक्छौं।

यहोवाले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर हामीले विश्‍वास गर्नुपर्छ। उहाँसित मदत माग्नुको अलावा उहाँलाई धन्यवाद पनि दिनुपर्छ। प्रार्थनाअनुसार गर्दा अनि सही कुरा माग्दा यहोवा खुसी हुनुहुनेछ। अनि उहाँले हामीलाई यी कुराहरू दिनुहुनेछ। के तिमी यो कुरामा विश्‍वास गर्छौ?—

प्रार्थनासम्बन्धी थप राम्रा सल्लाहहरू हामी रोमी १२:१२; १ पत्रुस ३:१२ अनि १ यूहन्‍ना ५:१४ मा पाउन सक्छौं।