सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेतहरूले मानिसहरूलाई परमेश्‍वरको विरोध गर्न उक्साउँछन्‌

प्रेतहरूले मानिसहरूलाई परमेश्‍वरको विरोध गर्न उक्साउँछन्‌

केही प्रचलनहरू मरिसकेका मानिसहरूले हामीलाई देख्न सक्छन्‌ भन्‍ने झूटा कुरामा आधारित हुन्छन्‌

परमेश्‍वरको शत्रु सैतान र त्यसका प्रेतहरू मानिसहरूलाई झुक्क्याउन किन लागिपरेका छन्‌? किनभने तिनीहरूले जस्तै हामीले पनि परमेश्‍वरको विद्रोह गरेको तिनीहरू चाहन्छन्‌। हामीले तिनीहरूको उपासना गरोस्‌ भनेर तिनीहरू इच्छा गर्छन्‌। हामीले तिनीहरूको झूटलाई विश्‍वास गरेको र यहोवा परमेश्‍वरलाई मन नपर्ने काम गरेको तिनीहरू चाहन्छन्‌। मरिसकेको मानिसको निम्ति गरिने रीतिरिवाज तीमध्ये एक हो।

प्रियजनको मृत्यु हुँदा दुःख लाग्नु, शोक मनाउनु सामान्य हो। आफ्नो साथी लाजरसको मृत्यु हुँदा “येसु रुनुभयो।”—युहन्‍ना ११:३५.

प्रायजसो देशहरूमा मानिस मरिसकेपछि विभिन्‍न चलनहरू मान्‍ने गरिन्छ। तीमध्ये धेरैजसो चलन बाइबलको सिद्धान्तसित बाँझिदैन। तर कुनै-कुनै चलन मानिस मरे पनि उसको कुनै अंश जीवितै रहन्छ र तिनीहरूले हामीलाई देख्न सक्छ भन्‍ने धारणामा जरा गाडेको हुन्छ। प्रियजनको मृत्यु हुँदा गरिने काजक्रिया, श्राद्धजस्ता चलनहरू मानिस मरे पनि उसको कुनै अंश जीवित हुन्छ भन्‍ने धार्मिक सोचाइमा आधारित हुन्छ। तर मरेकाहरूलाई भने केही थाह हुँदैन भनेर बाइबल भन्छ। त्यसैले त्यस्ता चलनहरूले सैतानले फैलाएको झूटलाई बढावा मात्र दिन्छ।—उपदेशक ९:५.

अरू प्रचलनचाहिँ मरिसकेका मानिसहरूलाई हाम्रो मदत चाहिन्छ भन्‍ने झूटा कुरामा आधारित हुन्छन्‌

त्यस्तै अरू चलन र रीतिरिवाज मरेका प्रियजनहरूलाई हाम्रो मदत चाहिन्छ र तिनीहरूलाई खुसी पार्न सकिएन भने हामीलाई हानि गर्छ भन्‍ने धारणाबाट प्रभावित भएका हुन्छन्‌। केही देशहरूमा प्रियजन मरेको चालीस दिन वा एक वर्षपछि भोज मनाउने वा दान दिने चलन छ। यसरी भोज गर्दा वा दान दिँदा यसले मरेको प्रियजनलाई वैतरणी तर्न मदत गर्छ भनेर मानिसहरू सोच्ने गर्छन्‌। अर्को लोकप्रिय चलनचाहिँ मरिसकेको प्रियजनको लागि गरिने पिण्डदान हो।

यस्ता चलनहरू मनाउनु गलत कुरा हो किनभने यसले मरेका मानिसहरूको अवस्थाबारे सैतानले फैलाएको झूटलाई बढावा दिन्छ। के हामीले प्रेतहरूको शिक्षामा आधारित यस्ता चलनहरूमा भाग लिएको यहोवा परमेश्‍वरलाई मन पर्छ? अहँ, पटक्कै मन पर्दैन।—२ कोरिन्थी ६:१४-१८.

साँचो परमेश्‍वरका उपासकहरू सैतानको झूटलाई समर्थन गर्ने कुनै पनि चलनमा भाग लिन चाहँदैनन्‌। बरु तिनीहरू शोकाकुल व्यक्‍तिहरूलाई सान्त्वना र मदत दिन चाहन्छन्‌। मानिस मरेपछि यहोवा परमेश्‍वरले मात्र उसको निम्ति केही गर्न सक्नुहुन्छ भनेर तिनीहरूलाई थाह छ।—अय्युब १४:१४, १५.

प्रेतविद्यालाई परमेश्‍वर घृणा गर्नुहुन्छ

केही मानिसहरू प्रेतहरूसित सीधै वा धामी-झाँक्रीजस्ता माध्यममार्फत सम्पर्क राख्छन्‌। त्यसरी सम्पर्क राख्न खोज्नुलाई प्रेतविद्या भनिन्छ। बोक्सीविद्या, जादुगरी, जोखना हेर्नु र मसान जगाउनु प्रेतविद्याका विभिन्‍न रूप हुन्‌।

यहोवा परमेश्‍वर यी सबै खराब कुराहरूलाई घृणा गर्नुहुन्छ। हामीले उहाँको मात्र उपासना गरेको उहाँ चाहनुहुन्छ।—प्रस्थान २०:५

बाइबलले परमेश्‍वरलाई मन नपर्ने कुरा यसरी वर्णन गरिएको छ: “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: . . . जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित वा भावी बताउने व्यक्‍तिसित सल्लाह लिने अथवा मसान जगाउने। यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।”—व्यवस्था १८:१०-१२.

यस्ता प्रचलनहरूदेखि टाढै रहनू भनेर यहोवा परमेश्‍वर हामीलाई किन कडा चेतावनी दिनुहुन्छ?

हो, हाम्रै भलाइलाई ध्यानमा राखेर यहोवा परमेश्‍वर हर किसिमको प्रेतविद्याबाट अलग रहनू भनेर हामीलाई चेतावनी दिनुहुन्छ। उहाँ आफ्ना जनहरूलाई माया गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। प्रेतहरूसित हिमचिम बढाउने व्यक्‍तिले अन्तमा दुःख पाउँछ भनेर उहाँलाई थाह छ।

ब्राजिलमा बस्ने एक स्त्रीले प्रेतहरूसित हिमचिम बढाउँदा त्यस्तै दुःख पाइन्‌। तिनी प्रेतविद्यामा निपुण थिइन्‌। तिनी भन्छिन्‌: “प्रेतहरूले मलाई छोप्थे र मलाई हुकुम दिन्थे। बेला-बेलामा मेरो होस हराउँथ्यो। मलाई मानसिक रोगले दुःख दिन थालेकोले डाक्टरलाई समेत देखाउनु परेको थियो। प्रेतहरूले मलाई सताउनुसम्म सताउँथ्यो। मैले लागू-औषध खान थालेँ, म दिनरात रक्सी पिउँथे र मेरो मुखबाट चुरोट कहिल्यै हट्‌दैन थियो। मेरो हालत वर्षौँसम्म यस्तै भइरह्‍यो।”

प्रेतविद्यामा हात हाल्ने मानिसले अक्सर दुःख पाउँछ। तिनीहरूले आफ्नो घर, स्वतन्त्रता र आफ्नो ज्यानसमेत गुमाउनु पर्ने हुन्छ

पछि यहोवाका साक्षीहरूसित तिनको भेट भयो। यहोवा परमेश्‍वरको मदत पाएर तिनी प्रेतहरूको पन्जाबाट मुक्‍त भइन्‌। अहिले तिनी स्वस्थ र खुसी छिन्‌। तिनी भन्छिन्‌: “म सबैलाई के प्रोत्साहन दिन चाहन्छु भने, झुक्किएर पनि प्रेतविद्यामा हात नहाल्नुहोस्‌।”