सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेतहरूले मानिस मरे पनि अन्त कतै जीवितै हुन्छ भन्छन्‌

प्रेतहरूले मानिस मरे पनि अन्त कतै जीवितै हुन्छ भन्छन्‌

सारा संसारलाई सैतानले ठगिरहेको छ भनेर बाइबलले बताउँछ। (प्रकाश १२:९) सैतान र त्यसका प्रेतहरू हामीले परमेश्‍वरको वचन बाइबलमा विश्‍वास गरेको चाहँदैन। मानिस मरिसकेपछि स्वर्ग या नर्क जान्छ भनेर तिनीहरू मानिसहरूलाई विश्‍वस्त तुल्याउने कोसिस गर्छन्‌। तिनीहरूले कसरी त्यसो गर्छन्‌, हामी हेरौँ।

झूटो धर्म

चाहे मानिस, जनावर, माछा वा चराचुरुङ्‌गी होस्‌, सबै मरेपछि कुनै अस्तित्व बाँकी रहँदैन

धेरैजसो धर्महरूले हरेक मानिसको शरीरमा आत्माले बास गरेको हुन्छ र त्यो आत्मा मानिसको मृत्यु हुँदा शरीर छोडेर स्वर्ग जान्छ भनेर सिकाउँछ। तिनीहरू शरीर मरे पनि आत्मा मर्दैनन्‌ भन्छन्‌। तिनीहरू आत्मा कहिल्यै मर्न सक्दैन र आत्मा अमर हुन्छ भनेर पनि जोड दिन्छन्‌।

तर परमेश्‍वरको वचन बाइबलले मानिसभित्र सधैँ बाँचिरहने केही चीज छ भनेर सिकाउँदैन। उदाहरणको लागि, पहिलो मानव आदमको सृष्टिबारे बाइबल यसो भन्छ: “यहोवा परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र तिनी जीवित मानिस भए।” (उत्पत्ति २:७) परमेश्‍वरले आदम बनाउनुहुँदा तिनी भित्र सधैँभरि बाँचिरहने कुनै चीज राख्नुभएको थिएन।

मानिसको मृत्यु हुँदा उसको कुनै अंश जीवितै रहदैँन भनेर बाइबलले सिकाउँछ।

मानिस मरेपछि उसको कुनै अस्तित्वै बाँकी नरहने भएकोले उसले कसैलाई हानि वा मदत गर्न सक्दैन। बाइबल यसो भन्छ:

  • “जसले पाप गर्छ, त्यही मर्छ।”—इजकिएल १८:४.

  • “[मानिस] मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन।”—भजन ४९:१६, १७.

  • “[मानिस मर्दा] त्यसको सास निस्किन्छ र त्यो माटोमै फर्किन्छ।”—भजन १४६:४.

मानिससित अमर रहिरहने कुनै चीज छैन भनेर बाइबलले बताउँछ

बाइबल यसो पनि भन्छ: “जनावर मरेझैँ मानिस पनि मर्छ।” (उपदेशक ३:१९, २०) “जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।” (उपदेशक ९:५, १०) त्यसैले मानिसको मृत्यु हुँदा उसको कुनै पनि अंश बाँचिरहँदैन।

बाइबलमा कतै पनि आत्मा भन्‍ने शब्द पाइँदैन। बाइबलले मानिस मरेपछि भूतप्रेत बन्छ भनेर पनि सिकाउँदैन। त्यस्तो शिक्षा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको हो। संसारका धर्महरूले सिकाउने झूटा कुराहरूलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।—हितोपदेश ६:१६-१९; १ तिमोथि ४:१, २.

भूतप्रेत खेलाउने प्रचलन

प्रेतहरूले मरिसकेको मानिसको रूप अनि आवाजको नक्कल गरेर मानिसहरूलाई झुक्क्याउँछ

सैतानले चलाउने अर्को माध्यम भनेको धामी-झाँक्री, बोक्सीविद्या अनि तन्त्रमन्त्र हो। तन्त्रमन्त्र अथवा बोक्सीविद्या जान्‍ने मानिसले मरिसकेको मानिससित कुरा गरेर उनीहरूको सन्देश सुनाइदिने दाबी गर्छन्‌। यी धामी-झाँक्री लगायत धेरैजसो मानिसहरू मरेको मानिसले नै बोलेको हो भनेर विश्‍वास गर्छन्‌। तर हामीले बाइबलबाट थाह पाइसक्यौँ मरेको मानिसले त्यसो गर्नु असम्भव छ।—उपदेशक ९:५, ६, १०.

त्यसोभए ती मरिसकेका मानिसको आवाज निकालेर बोल्नेहरू को हुन्‌ त? तिनीहरू दुष्ट स्वर्गदूतहरू हुन्‌। ती दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई हेरिरहेका हुन्छन्‌। तिनीहरू कसरी बोल्छन्‌, कस्तो देखिन्छन्‌, के गर्छन्‌ भनेर तिनीहरूलाई राम्ररी थाह हुन्छ। अनि मानिस मरेपछि तिनीहरूकै हाउ-भाउ र आवाजको नक्कल गरेर ती दुष्ट स्वर्गदूतहरूले मरेकै मानिस बोलेको हो भन्‍ने भान पार्छन्‌।—१ समुएल २८:३-१९.

झूटो कथा

सैतानले झूटा कथाहरू चलाएर पनि मरिसकेका मानिसहरूबारे भ्रम फैलाउने गर्छ। त्यस्ता झूटा कथाहरूले गर्दा धेरै जना मानिसहरूलाई बाइबलले सिकाउने सत्य कुरा स्वीकार्न गाह्रो लाग्छ।—२ तिमोथि ४:४.

कसै-कसैले आफूले देखेको मानिस मरिसकेको प्रियजन नै हुन्‌ भन्ठान्छन्‌

मानिसहरू मरिसकेका मानिसलाई भेटेको र देखेको घटनाहरू रमाइलो मान्दै सुन्‍ने अनि सुनाउने गर्छन्‌। तर अक्सर ती घटनाहरू मध्यरातमा अथवा कुनै अनकन्टार ठाउँमा घटेको हुन्छ। तर एकछिन विचार गर्नुहोस्‌, ‘यदि कुनै व्यक्‍तिसित मरेपछि फेरि फर्केर आउने शक्‍ति छ भने ऊ किन दिउँसै आफ्नो परिवार अनि साथीहरूलाई भेट्‌न नआएर मध्यरातमा अनि अनकन्टार ठाउँमा देखापर्छ?’

अथवा मरिसकेको मानिसलाई नै भेटेको भनेर दाबी गर्ने मानिसहरू झुक्किएको पनि हुन सक्छन्‌। उदाहरणको लागि, एक पटक दुई जना यहोवाका साक्षीहरू कुनै एउटा गाँउमा बाइबलको सन्देश सुनाउँदै थिए। तिनीहरूले एकजना बुढो मानिसलाई निकै घन्टादेखि आफ्नो पछि-पछि आइरहेको याद गरे। ती दुई जना साक्षीहरूले तिनलाई पछ्याउनुको कारण सोधे। तिनले आफूलाई ती दुईजना साक्षीहरूमध्ये एकजना केही वर्ष अगाडी मरेको आफ्नो दाइ हुनुपर्छ भन्‍ने लागेको कुरा बताए। तिनले पक्कै पनि गलत सोचिरहेका थिए। तर तिनले आफनो सोचाइ गलत हो भनेर स्वीकार्न इन्कार गरे। त्यो बुढो मानिसले आफ्ना साथीहरू र छिमेकीहरूलाई त्यो घटना सुनाउँदा कत्ति बढाइचढाइ कुरा गरे होलान्‌, कल्पना गर्नुहोस्‌।

मरिसकेको मानिसलाई देख्ने, आवाज सुन्‍ने अनि तर्साउने

प्रेतहरू मरिसकेको मानिसको आवाज निकालेर, रूप धारण गरेर र सपनामा देखा परेर मानिसहरूलाई झुक्क्याउँछन्‌

तपाईँले पक्कै पनि मरिसकेका मानिसहरूलाई देखेको, उनीहरूको आवाज सुनेको, उनीहरूले सपनामा आएर तर्साएको घटनाहरू सुन्‍नुभएको होला। यस्ता घटनाका सिकार हुने मानिसहरू अवश्‍य धेरै तर्सिन्छन्‌। पश्‍चिम अफ्रिकामा बस्ने एकजना स्त्रीले मरिसकेकी आफ्नी हजुरआमाले हरेक राति आएर आफूलाई बोलाएको आवाज सुन्थिन्‌। त्यो आवाज सुनेर ती स्त्री निकै तर्सिन्थिन्‌ र पूरै परिवारलाई ब्युँझाउथिन्‌। अन्तमा तिनले यस घटनाले गर्दा आफ्नो मानसिक सन्तुलन गुमाइन्‌।

के हामीलाई माया गर्ने व्यक्‍तिले त्यसरी मध्यरातमा वा कुनै अनकन्टार ठाउँमा अथवा सपनामा हामी बौलाउने गरी तर्साउँछन्‌ होला त? हामीलाई तर्साउने ती व्यक्‍ति पक्कै पनि हाम्रो मरिसकेको प्रियजन हुन सक्दैन। तिनीहरू वास्तवमा प्रेतहरू अर्थात्‌ दुष्ट स्वर्गदूतहरू हुन्‌।

तर कसैकसैले मरिसकेका आफ्नो प्रियजनले सान्त्वना दिएको वा मदत गरेको घटनाहरू पनि अनुभव गरेका छन्‌। उदाहरणको लागि, अफ्रिकाकै अर्को घटनालाई लिनुहोस्‌। एकजना स्त्री बिरामी भएर थला परेकी थिइन्‌। तिनले एक रात सपनामा मरिसकेको आफ्नो बुबालाई देखिन्‌। बुबाले तिनलाई फलाना-फलाना रूखको पात टिपेर त्यसलाई पानीमा मिसाएर खायौ भने तिमी निको हुन्छ्यौ भने। तिनको बुबाले तिनलाई त्यो रूखको पात नखाएसम्म कसैसित यसबारे एक शब्द नबोल्नू भने। यस स्त्रीले बुबाले भने जस्तै गरिन्‌ र निको भइन्‌।

त्यसैगरि अर्को एक जना स्त्रीकहाँ मरिसकेको तिनको श्रीमान्‌ राती देखा परे। ती स्त्रीको भनाइअनुसार तिनको श्रीमान्‌ धेरै सुन्दर देखिएको थियो। उनले राम्रो लुगा पनि लगाएको थियो।

मरिसकेको आफनो प्रियजनलाई राम्रो हालतमा देख्दा अथवा उनीहरूले मदत गर्दा हामीलाई निकै खुसी लाग्न सक्छ। तर के तिनीहरूलाई साँच्चै इश्‍वरले पठाएको होला त? त्यस्तो त पक्कै हुन सक्दैन। यहोवा “सत्यका परमेश्‍वर” हुनुहुन्छ भनेर बाइबलले बताउँछ। (भजन ३१:५) उहाँले पक्कै पनि मरिसकेको मानिसको नक्कल गरेर हामीलाई झुक्याउनुहुन्‍न। प्रेतहरू अर्थात्‌ दुष्ट स्वर्गदूतहरूले मात्र हामीलाई त्यसरी झुक्याउँछन्‌।

तर कतै असल प्रेतहरू पनि छन्‌ कि? अहँ, पटक्कै छैन। कुनै-कुनै बेला प्रेतहरूले मदत दिएको जस्तो देखिए तापनि वास्तवमा सबै प्रेतहरू दुष्ट छन्‌। पहिलो स्त्री हव्वासित सैतानले कुरा गर्दा त्यो निकै मित्रैलो देखिएको थियो। (उत्पत्ति ३:१) तर हव्वाले त्यसको कुरा सुनेर त्यसले भने जस्तै गर्दा के भयो? तिनले आफ्नो जीवन गुमाउनु पऱ्‍यो।

सैतानले हव्वा मर्नेछैन भन्यो, हव्वाले उसको कुरा पत्याइन्‌ र अन्तमा आफ्नो जीवन गुमाइन्‌

भेडाको भेषमा ब्वाँसो! सिधासाधा मानिसहरूलाई ठग्न, लुट्‌न बदमासहरू अक्सर निकै मित्रैलो व्यवहार गर्छन्‌। सैतानले पनि त्यसै गर्छ। परमेश्‍वरको वचन बाइबल यसो भन्छ: “सैतानले पनि आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ।”—२ कोरिन्थी ११:१४.

यहोवा परमेश्‍वरले अहिले आफ्ना मानिसहरूलाई सन्देश सुनाउन सपनामा देखा पर्ने, कुनै अनौठो दृश्‍य देखाउने अथवा कुनै आवाज सुनाउने गर्नुहुन्‍न। उहाँले हामीलाई डोऱ्‍याउन अनि मदत गर्न आफ्नो वचन बाइबल दिनुभएको छ। बाइबलले हामीलाई हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउन सक्छ।—२ तिमोथि ३:१७.

यहोवा परमेश्‍वर हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले सैतानले कस्ता धुर्त चालहरू चल्छ त्यसबारे हामीलाई सचेत गराउनुहुन्छ। सैतान र त्यसका प्रेतहरू हाम्रा खतरनाक शत्रुहरू हुन्‌ भनेर उहाँलाई थाह छ।