सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसहरू मरेपछि स्वर्ग जान्छन्‌?

मानिसहरू मरेपछि स्वर्ग जान्छन्‌?

स्वर्ग छ! स्वर्गमा लाखौँ अदृश्‍य व्यक्‍तिहरू छन्‌। के तिनीहरू पृथ्वीबाट मरेर गएका मानिसहरू हुन्‌?

अहँ, होइनन्‌। धेरै जनाले सोचेजस्तो मानिस मरेपछि स्वर्ग जाँदैन। हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने एउटा पुरानो धर्मशास्त्रले त्यसै भन्छ। त्यो धर्मशास्त्र एक मात्र साँचो परमेश्‍वर यहोवाले दिनुभएको सत्य वचन हो। यहोवाले नै सबै मानवजातिलाई सृष्टि गर्नुभयो। त्यसैले तिनीहरू मरेपछि के हुन्छ उहाँलाई राम्ररी थाह छ।—भजन ८३:१८; २ तिमोथि ३:१६.

आदम माटोबाट बनाइएका थिए, माटोमै फर्किए

यहोवा परमेश्‍वरले पहिलो मानिस आदमलाई “भूमिको माटोबाट बनाउनुभयो।” (उत्पत्ति २:७) उहाँले आदमलाई अदन नाम गरेको सुन्दर बगैँचामा राख्नुभयो। यदि आदमले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेको भए तिनी मर्ने थिएनन्‌। तिनी अहिले पनि पृथ्वीमा जीवितै हुने थिए। तर आदमले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। त्यसैले परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो, “तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ। तिमी माटै हौ र माटोमै मिल्नेछौ।”—उत्पत्ति ३:१९.

यसको अर्थ के हो? एकछिन विचार गर्नुहोस्‌। यहोवा परमेश्‍वरले आदमलाई माटोबाट बनाउनुअघि तिनी कहाँ थिए? कतै पनि थिएनन्‌। तिनले स्वर्गमा अदृश्‍य व्यक्‍तिको रूपमा जीवन बिताइरहेका थिएनन्‌। भनौँ भने तिनको अस्तित्व नै थिएन। त्यसैले यहोवा परमेश्‍वरले आदमलाई तिमी माटोमा फर्कनेछौ भन्‍नुहुँदा तिनी मर्नेछन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो। तिनी मरेपछि स्वर्ग गएनन्‌। आदमको मृत्यु भएपछि तिनी फेरि एक पटक निर्जीव अनि अस्तित्वविहीन भए। मृत्यु जीवनको ठीक उल्टो कुरा हो।

तर अहिलेसम्म जो-जो मरिसके तिनीहरूबारे चाहिँ के भन्‍न सक्छौँ? के तिनीहरू पनि अस्तित्वविहीन भए? बाइबल नाम गरेको धर्मशास्त्रले यस्तो जवाफ दिन्छ:

  • “तिनीहरू [मानिसहरू र जनावरहरू] सबै एउटै ठाउँमा जान्छन्‌। तिनीहरू माटैबाट आएका हुन्‌ र माटैमा फिर्ता जानेछन्‌।”—उपदेशक ३:२०.

  • “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।”—उपदेशक ९:५.

  • “तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ।”—उपदेशक ९:६.

  • “चिहानमा, जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, तिमीसित न ज्ञान, न बुद्धि नै हुनेछ।”—उपदेशक ९:१०.

  • “[मानिस] माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।”—भजन १४६:४.

जीवित मानिसले मात्र यी काम गर्न सक्छ

के तपाईँलाई यी कुरा स्विकार्न गाह्रो लाग्छ? लाग्छ भने एकछिन विचार गर्नुहोस्‌, धेरैजसो परिवारमा पुरुषले आफ्नो परिवार पाल्न काम गरेर पैसा कमाउँछ। त्यसैले तिनको मृत्यु हुँदा तिनको परिवारले धेरै दुःख पाउँछ। कहिलेकाहीँ तिनको श्रीमती र छोराछोरीसित खानेकुरा किन्‍ने पैसासमेत हुँदैन। कहिलेकाहीँ तिनीहरूले अरूको दुर्व्यवहार पनि सहनु पर्ने हुन सक्छ। अब आफैलाई सोध्नुहोस्‌: यदि त्यो पुरुष कतै बाँचिरहेको भए तिनले किन आफ्नो परिवारको हेरविचार गर्दैनन्‌? तिनले किन आफ्नो परिवारलाई खराब मानिसहरूको हातबाट बचाउँदैनन्‌? त्यसैले बाइबलले भनेको कुरा सत्य हो। त्यो पुरुषले केही पनि गर्न सक्दैन किनभने तिनी निर्जीव भइसके।—भजन ११५:१७.

मरिसकेका मानिसले भोकालाई खुवाउन सक्दैन नता दुर्व्यवहारको सिकार भएकाहरूलाई बचाउन सक्छ

के यसको अर्थ मरिसकेको मानिस फेरि कहिल्यै जीवित हुनेछैन? त्यसो त पक्कै होइन। मरिसकेको मानिस फेरि जीवित हुनेछ भन्‍ने विषयमा हामी पछि कुरा गर्नेछौँ। तर यो कुरा भने पक्का हो, मरिसकेका मानिसहरूलाई तपाईँ के गर्दै हुनुहुन्छ भनेर थाह हुँदैन। तिनीहरूले तपाईँलाई देख्न सक्दैनन्‌, तपाईँको कुरा सुन्‍न सक्दैनन्‌, तपाईँसित कुरा गर्न सक्दैनन्‌। त्यसैले तपाईँ तिनीहरूसित डराउनुपर्दैन। तिनीहरूले तपाईँलाई मदत गर्न सक्दैनन्‌ अनि तिनीहरूले तपाईँलाई हानि पनि गर्न सक्दैनन्‌।—उपदेशक ९:४; यसैया २६:१४.