सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको उपासना गर्नुहोस्‌, सैतानको होइन

यहोवाको उपासना गर्नुहोस्‌, सैतानको होइन

यहोवाको उपासना गर्ने हो कि सैतान र त्यसका प्रेतहरूको, हामी रोज्न सक्छौँ। तर हामी दुवै जनाको उपासना भने गर्न सक्दैनौँ। यहोवाको उपासना गर्ने निर्णय गर्नु नै सबैभन्दा बुद्धिमानी हो!

यहोवा असल हुनुहुन्छ

मानिसहरूलाई झुक्क्याउन पाउँदा र दुःख दिन पाउँदा प्रेतहरू रमाउँछन्‌। तर यहोवा त्यसो गर्नुहुन्‍न। बुबाले आफ्नो छोराछोरीलाई माया गरेजस्तै यहोवाले पनि मानिसजातिलाई माया गर्नुहुन्छ। उहाँले ‘असल वरदान र उत्तम उपहार दिनुहुन्छ।’ (याकुब १:१७) उहाँ मानिसजातिलाई असल थोकहरू दिन कहिल्यै हिचकिचाउनुहुन्‍न।—एफिसी २:४-७.

परमेश्‍वरको छोरा येसुले मानिसहरूको रोगबिमार निको पार्नुभयो

परमेश्‍वरको छोरा येसु ख्रीष्टले पृथ्वीमा थुप्रै असल कामहरू गर्नुभयो। उहाँले गुँगा, अन्धा, कुष्ठ रोगी र लङ्‌गडो मानिसहरूलाई निको पार्नुभयो। उहाँले मानिसहरूलाई दुःख दिइरहेका प्रेतहरू धपाउनुभयो र हर किसिमका रोगबिमारहरू निको पार्नुभयो। येसुले परमेश्‍वरको शक्‍ति पाएर मरिसकेका मानिसहरूलाई समेत फेरि जीवित बनाउनुभयो।—मत्ति ९:३२-३५; १५:३०, ३१; लुका ७:११-१५.

परमेश्‍वर कहिल्यै झूट बोल्नुहुन्‍न, उहाँ सधैँ सत्य बोल्नुहुन्छ। परमेश्‍वर कसैलाई पनि झुक्क्याउनुहुन्‍न।—गन्ती २३:१९.

झूटा प्रचलनहरूदेखि अलग रहनुहोस्‌

माकुराको जालोमा झिँगा फसेजस्तै सयौँ मानिसहरू अन्धविश्‍वासमा फसेका छन्‌। तिनीहरू मरिसकेका मानिसहरू अनि भूतप्रेतहरूले हानि गर्छन्‌ भनेर डराउँछन्‌। तिनीहरू शकुन अपशकुन, मन्त्र, जन्तर र बुटीहरूको चिन्ता गर्छन्‌। तिनीहरू सैतानको झूटमा आधारित विश्‍वास र रीतिरिवाजको चङ्‌गुलमा फसेका छन्‌। तर साँचो परमेश्‍वरको उपासना गर्ने मानिसहरू भने यस्ता कुराहरूको पासोमा पर्दैनन्‌।

यहोवा सैतानभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ। हामीले यहोवाको उपासना गऱ्‍यौँ भने, उहाँले हामीलाई प्रेतहरूको आक्रमणबाट बचाउनुहुन्छ। (याकुब ४:७) प्रेतहरूको मन्त्रले हामीलाई छुनेछैन। उदाहरणको लागि, अफ्रिकाको एउटा देशमा एक जना यहोवाको साक्षीले गाउँ छोड्‌न मानेन। त्यसकारण, तीन जना सिपालु झाँक्रीहरूले तिनको ज्यान लिन मन्त्र फुके। तर तिनीहरूको मन्त्रले काम गरेन। यो देखेर एक जना झाँक्री साह्रै डराए र त्यस साक्षीकहाँ गएर दुई हात जोडेर माफी मागे।

प्राचीन समयका यहोवाका उपासकहरूले ज्योतिषविद्याका किताबहरू नष्ट गरे

यदि भूतप्रेतले तपाईँलाई सतायो भने यहोवाको नामै लिएर उहाँलाई पुकार्नुहोस्‌। उहाँले तपाईँको रक्षा गर्नुहुनेछ। (हितोपदेश १८:१०) तर तपाईँले तन्त्रमन्त्र र भूतप्रेतसित सम्बन्धित सबै कुरा त्याग्नुभयो भने मात्र यहोवाले तपाईँको सुरक्षा गर्नुहुनेछ। आजभन्दा दुई हजार वर्षअघि साँचो परमेश्‍वरका उपासकहरूले त्यसै गरे। तिनीहरूले ज्योतिषविद्या र तन्त्रमन्त्रका किताबहरू जम्मा गरे र जलाइदिए। (प्रेषित १९:१९, २०) आज पनि यहोवाका उपासकहरूले त्यसै गर्नुपर्छ। घाँटी, हातमा बाँध्ने बुटी र जन्तरहरू, ज्योतिषविद्याका किताबलगायत तन्त्रमन्त्रसित सम्बन्धित कुनै पनि कुरा नराख्नुहोस्‌। त्यसलाई नष्ट गरिदिनुहोस्‌।

झूटो धर्मलाई त्यागेर यहोवाको उपासना गर्नुहोस्‌

यहोवा परमेश्‍वरलाई खुसी बनाउन चाहनुहुन्छ भने झूटो धर्मलाई त्यागेर र खराब काम गर्न छोडेर मात्र पुग्दैन। तपाईँले यहोवाको उपासना गरेको हुनैपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ, बाइबलले यसरी बताउँछ:

यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनुहोस्‌।—हिब्रू १०:२४, २५

बाइबल पढ्‌नुहोस्‌।—युहन्‍ना १७:३

आफूले सिकेको कुरा अरूलाई बताउनुहोस्‌।—मत्ति २४:१४

यहोवालाई प्रार्थना गर्नुहोस्‌।—फिलिप्पी ४:६, ७

यहोवाको साक्षी बन्‍नुहोस्‌।—प्रेषित २:४१

यहोवाका साक्षीहरूसित सङ्‌गत गर्नुहोस्‌

सैतान र त्यसका प्रेतहरूको उपासना गर्ने मानिसहरू गलत कामहरू गर्छन्‌ र गलत कुराहरू सिकाउँछन्‌। तर यहोवाका साक्षीहरूले भने त्यसो गर्दैनन्‌ किनभने तिनीहरू साँचो परमेश्‍वर यहोवाको उपासना गर्छन्‌। (यसैया ४३:१०) संसारभर ८० लाखभन्दा धेरै यहोवाका साक्षीहरू छन्‌। तिनीहरू सबै असल काम गर्ने कोसिस गर्छन्‌ र मानिसहरूलाई बाइबलको शिक्षा सिकाउने गर्छन्‌। तपाईँ तिनीहरूको सभाभवनमा जानुभयो भने तिनीहरूले तपाईँलाई न्यानो स्वागत गर्नेछन्‌।

तपाईँले निम्तो दिनुभयो भने तिनीहरूले तपाईँलाई घरैमा आएर सिकाउनेछन्‌ र यहोवाको साँचो उपासना गर्ने तरिकाबारे सिक्न मदत गर्नेछन्‌। यहोवाका साक्षीहरूले सित्तैँमा र खुसी भएर बाइबलको कुरा सिकाउँछन्‌। किनभने तिनीहरू तपाईँलाई धेरै माया गर्छन्‌ र साँचो परमेश्‍वर यहोवालाई पनि धेरै माया गर्छन्‌।

यहोवाका साक्षीहरूले तपाईँलाई साँचो परमेश्‍वरको उपासना गर्न मदत गर्छन्‌