सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू आपसमा प्रेम गर”

“तिमीहरू आपसमा प्रेम गर”

“तिमीहरू आपसमा प्रेम गर”

“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युहन्‍ना १३:३४, ३५.

यसको अर्थ के हो? येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई जसरी प्रेम गर्नुभएको थियो, त्यसरी नै आपसमा प्रेम गर्नू भनेर तिनीहरूलाई आज्ञा दिनुभयो। येसुले तिनीहरूलाई कसरी प्रेम गर्नुभयो? उहाँको समयमा जातीय र लैङ्‌गिक भेदभाव सामान्य भए तापनि उहाँले सबैलाई प्रेम गर्नुभयो। (युहन्‍ना ४:७-१०) प्रेमले गर्दा नै येसु अरूलाई मदत गर्न आफ्नो समय, शक्‍ति र सुखसुविधा त्याग्न तयार हुनुभयो। (मर्कुस ६:३०-३४) त्यति मात्र होइन, उहाँले प्रेम देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले भन्‍नुभयो: “म असल गोठालो हुँ। असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।”—युहन्‍ना १०:११.

सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? प्रथम शताब्दीका ख्रिष्टियनहरूले एकअर्कालाई “भाइ” वा “बहिनी” भनेर बोलाउँथे। (फिलेमोन १, २) ख्रिष्टियन मण्डलीमा सबै जातिका मानिसलाई स्वागत गरिन्थ्यो ‘किनकि सबैका प्रभु एकै जना हुनुभएकोले यहुदी वा ग्रीकबीच कुनै भिन्‍नता छैन’ भनेर तिनीहरू विश्‍वास गर्थे। (रोमी १०:११, १२) इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि यरुसलेममा भएका चेलाहरू “आफ्नो सरसामान र जायजेथा बेच्थे अनि त्यसबाट आएको रकम सबैलाई बाँड्‌थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।” किन? किनभने तिनीहरू भर्खरै बप्तिस्मा गरेकाहरूलाई यरुसलेममा बस्न अनि ‘प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्‍न’ मदत गर्न चाहन्थे। (प्रेषित २:४१-४५) यस्तो कदम चाल्न तिनीहरूलाई केले उत्प्रेरित गऱ्‍यो? प्रेषितहरूको मृत्यु भएको २०० वर्ष नबित्दै टर्टुलियनले ख्रिष्टियनहरूबारे अरूले बताएको यो कुरा लेखे: “तिनीहरू आपसमा कत्ति धेरै प्रेम गर्छन्‌। तिनीहरू एकअर्काको लागि ज्यान दिन समेत तयार छन्‌।”

आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्‌? सन्‌ १८३७ मा प्रकाशित रोमी साम्राज्यको अवनति र पतनको इतिहास (अङ्‌ग्रेजी) नामको किताबमा बताइएअनुसार शताब्दियौँको दौडान ख्रिष्टियन हुँ भन्‍ने दाबी गर्नेहरूले “एकअर्कालाई दिएको जत्ति दुःख [अविश्‍वासीहरूले] समेत तिनीहरूलाई दिएका थिएनन्‌।” अमेरिकामा हालै गरिएको अध्ययनले देखाएअनुसार धर्ममा आस्था राखेको दाबी गर्ने धेरै मानिसले जातीय पूर्वाग्रह राख्छन्‌। तिनीहरूमध्ये अधिकांश त आफू ख्रिष्टियन हुँ भन्‍नेहरू पर्छन्‌। चर्च जगत्‌लाई हेर्ने हो भने तिनीहरू अरू देशमा बस्ने आफ्नै सम्प्रदायका मानिसहरूसित कुनै सरोकार राख्दैनन्‌। त्यसैले तिनीहरू आफ्नै सम्प्रदायका मानिसहरूलाई मदत गर्न सक्दैनन्‌ वा इच्छुक हुँदैनन्‌।

सन्‌ २००४ मा फ्लोरिडामा दुई महिनाभित्र एकपछि अर्को गर्दै चार वटा आँधीबेहरी आए। त्यसपछि फ्लोरिडाको आपत्‌कालीन कार्य समितिका अध्यक्षले राहत सामग्री राम्ररी वितरण भइरहेको छ कि छैन भनी जाँचे। तिनले यहोवाका साक्षीहरूजत्तिको व्यवस्थित अरू कुनै सङ्‌गठन नभएको बताए अनि यहोवाका साक्षीहरूलाई चाहिएको जुनसुकै राहत सामग्री दिन तयार भएको पनि बताए। सन्‌ १९९७ मा यहोवाका साक्षीहरूको एउटा राहत टोलीले प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोका खाँचोमा परेका ख्रिष्टियन भाइबहिनी र अरू मानिसको लागि औषधी खानेकुरा र लत्ताकपडा पुऱ्‍यायो। युरोपमा बस्ने यहोवाका साक्षीहरूले कङ्‌गोमा पठाउन १० लाख अमेरिकी डलरबराबरको राहत सामग्री अनुदान दिएका थिए।