सीधै सामग्रीमा जाने

मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग

मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग

मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग

१, २. (क) धेरैले कुन लोकप्रिय विचार मान्छन्‌? (ख) तर यसले गर्दा के प्रश्‍नहरू उठछन्‌?

 “सबै मार्गहरू परमेश्‍वर कहाँ नै पुग्छन्‌” भन्‍ने लोकप्रिय धारणा धेरैका छन्‌। यसको अर्थ सबै धर्महरू परमेश्‍वरको लागि ग्रहणयोग्य छन्‌। यसै विचारधारासँग सहमत राख्दै, भगवद्‌गीता-मा यसो भनिएको छ: “अरू देवताहरूलाई उनीहरूको उपासकहरूले विश्‍वाससहित जे जति उपासना चढाउँछन्‌ तिनीहरूले पनि मलाई नै बलिदान चढाएका हुन्‌, सत्य विधिअनुसार नभए पनि, ए कुन्तीको छोरा (अर्जुन)।”—९:२३.

कुनै विवेकशील मानिसको मनमा यसप्रकारका प्रश्‍नहरू उठन सक्छन्‌, ‘आज कतिवटा धर्मको मार्गहरू छन्‌? धार्मिक मानिसहरूलाई सुरुदेखि नै यति विभिन्‍न धर्महरूको बाटोमध्ये आफ्नो मार्ग छान्‍ने सुविधा प्राप्त थियो? उदाहरणको लागि यस पृथ्वीमा एउटै मानिस हुँदा कतिवटा धर्मका मार्गहरू थिए?’

३. प्रथम धर्मपथको थाहा कसरी गर्न सकिन्छ?

युगौंदेखि धर्म हामी कहाँ हाम्रा पुर्खाहरूबाटै आएको छ भन्‍ने तथ्य निर्विवाद छ। साथै, इतिहास र धर्म यति सम्बन्धित छन्‌ कि हामीले इतिहासको पाईला केलाउँदै लग्यौं भने त्यसले हामीलाई हाम्रा प्रथम मानव पुर्खासम्म पुऱ्‍याउनेछ र त्यहाँबाट प्रथम धर्मको मार्ग पनि थाहा लाग्नेछ। को थियो त्यो प्रथम मनुष्य? र के थियो उसको धर्म?

प्रथम पुरुष र स्त्रीको उत्पत्ति

४. मानव शरीरको वनावटबारे बाइबलमा दिएको सृष्टिको वर्णनसँग विज्ञान कसरी मिल्दछ?

हिन्दू शास्त्रानुसार प्रथम पुरुष मनु हुन्‌; बाइबलअनुसार उसको नाम आदम हो। (उत्पत्ति ५:१) तर प्रथम पुरुषबारे सत्य, विश्‍वासयोग्य र प्रमाणित वास्तविकतासँग मिल्ने कुनै इतिहास छ र? यस प्रश्‍नको जवाफलाई आधुनिक (आर्युविज्ञानको आविष्कारहरूले अनुपूरक पुष्टि दिन्छ।) आर्युविज्ञानवेत्ताहरूअनुसार हाम्रो शरीर पृथ्वीको माटोमा पाइने नब्बेवटा विभिन्‍न रासायनिक पदार्थहरूले बनिएको छ। जब प्रथम पुरुष पृथ्वीको माटैबाट सृष्टि भएको थियो भनी विशिष्ट विवरण दिने कुनै पुरानो इतिहास छ भने, के तपाईंले त्यसमा विश्‍वास गर्नुहुन्छ? यसबारे बाइबलले के भन्छ, सो स्वयं किन पढिलिनु हुन्‍न? उत्पत्ति २:७ मा त्यसले यसो भन्दछ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।”

५, ६. (क) बाइबलमा दिएको सृष्टिको वर्णन कहिले लेखिएको थियो? (ख) बाइबलको इतिहाससँग हिन्दूहरूको आगामी परम्परागत कथाहरू कसरी मिल्छन्‌?

मानव उत्पत्तिको यो प्राचीन इतिहास अद्‌भुत छ। हिन्दू पण्डित एस. राधाकृष्णनको काल क्रमअनुसार यरूशलेमको राजा सुलेमान ९७५ सा.यु. मा हुनुहुन्थ्यो भने मोशा अगमवक्‍ता अझपछाडि दोश्रो शताब्दी सा.यु.पू. को माझमा हुनुपऱ्‍यो। (१ राजा ६:१ सँग तुलना गर्नुहोस्‌।) भारती कृष्ण, एउटा अर्को हिन्दू स्वामीले पनि “मोशाको व्यवस्था[बारे],” लेख्नु हुँदा “मोशाको व्यवस्था” अर्थात्‌ पन्टाटूकको प्रथम भाग उत्पत्तिको लेख हुनाले, उत्पत्तिको लेखक मोशा नै हुनुहुन्छ भनी मानि लिनु भएको छ। ठीक ठीक समय तोकेर कुरा गर्ने हो भने, विश्‍वासयोग्य काल क्रमअनुसार १५१३ सा.यु.पू. मा उत्पत्तिको संकलन भयो। तसर्थ, हाम्रो निम्ति यसमा प्रथम पुरुषको उत्पत्तिबारे एउटा अति प्राचीन वर्णन छ जसमा २० औं शताब्दीका आर्युविज्ञानवेत्ताहरूको सहमत पनि छ। यो एउटा विश्‍वासयोग्य इतिहास हो जसमा विभिन्‍न दन्त्यकथा र मिथ्याहरू छैनन्‌!

यो एउटा हिन्दूको लागि चाखलाग्दो कुरा हो किनभने ऋगवेद-मा, (जसको संकलन हाल सालैको हिन्दू विद्वताअनुसार लगभग पहिलो शताब्दी सा.यु.पू. को माझमा भयो भन्‍ने अनुमान लगाइएको छ।) पृथ्वीलाई मानिसको आमा भनी चित्रण गर्दछ। कतिपय शताब्दीदेखि पृथ्वीलाई प्रथम मानवीय जीवको आधार मान्दै आएको कारण समयमा जनसाधारणले पृथ्वीलाई “धर्ती माता” ठान्‍नु स्वभाविक हो। ऋगवेद १.१६४.३३ हेर्नुहोस्‌।

७, ८. (क) प्रथम स्त्रीको सृष्टिबारे बाइबललको व्याख्या के सम्भाव्य छ? (ख) बाइबलको अभिलेखलाई ऋगवेद-को एउटा कथाले कसरी प्रतिबिम्ब गर्दछ?

मनुबाट उत्पन्‍न सन्तानबारे ऋगवेद-को वर्णन बाइबलमा आधारित जस्तो देखिन्छ। प्राचीन हिन्दू लेखहरूमा प्रथम पुरुषलाई मनुको रूपमा आलेखन गरिएको छ, जसको एउटी स्वास्नी नहुनाले आफ्नै एउटै करंगद्वारा (पर्सु) सन्तान जन्माउन बाध्य भयो। ऋगवेद-को एउटा भजनमा त्यो करंग पर्सुलाई प्रथम पुरुषको छोरी भनी वर्णन गरिएको छ जसबाट मनुले ‘एक जन्ममा एक कोटी छोरा-छोरी’ जन्माउँछ। (ऋगवेद १०. ८६. २३) प्रथम स्त्री, प्रथम पुरुष कै करंगबाट बनिएको एउटा ईश्‍वरीय श्रृष्टि हुनाकारण उसलाई समयमा परम्परागत मनुकी छोरी मानिएको हुनसक्दछ।

कुनै पनि समझदार मानिसले यस परम्परागत कथालाई बाइबलमा उत्पत्ति २:२१, २२ मा पाइने ऐतिहासिक व्याख्याको एउटा धमिलो सम्झनामा यसरी लेखिएको छ: “परमप्रभु परमेश्‍वरले आदमलाई मस्त निद्रामा पार्नुभयो, र तिनी निदाएको बेलामा तिनको करंगहरूमध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करंग परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्नुभएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिसकहाँ ल्याउनुभयो।” प्रथम स्त्रीको सृष्टिबारे बाइबलको यो अति सम्भाव्य अभिलेख हो। साथै एउटा करंग झिक्दा त्यसको पर्थस्थ (जाली) चाहिं त्यही रहन दियो भने त्यस ठाउँमा एउटा अर्को करंग पलाउँछ भनेर डाक्टरहरूले प्रकाशित पारिदिएका छन्‌। यहोवा परमेश्‍वरले पनि यही विधि अपनाउनु भयो वा भएन भन्‍ने विषयमा बाइबलमा केही दिएको छैन। तथापि, मानिसको सृष्टिकर्त्ता हुनाकारण करंगको हाडको यो विशिष्ट गुणको पूरा ज्ञान वहाँलाई हुनुपर्छ। तसर्थ, प्रथम स्त्रीको सृष्टि मानिसको एउटा करंगबाट भयो भनी बाइबलमा दिएको व्याख्या तर्कसँग मिल्छ र मिथ्याबाट पूर्णतया अलग छ।

९. बाइबलमा दिएको सृष्टिको वर्णन एउटा हिन्दूको निम्ति चाखको विषय किन हो?

अत: मानवजातिको प्रथम मातापिताको सृष्टिसम्बन्धी बाइबलको प्रमाणित अभिलेख, प्रथम मानवीय जोडीको सन्तानद्वारा, आउँदो पुस्ताहरूसम्म पुग्ने भयो। समयमा, मानवजातिको प्रथम पुर्खाहरूको सम्झना, पछि छरपष्ट हुने मानव समुदायहरूको लोककथाहरूमा सम्मिलित भयो। तसर्थ, ऋगवेद-मा पाइने मनु र पर्सुको व्याख्याहरूको स्रोत बाइबलको पूर्वीय उत्पत्तिको अभिलेख हो। यसकारण, सृष्टि र सृष्टिकर्त्तासम्बन्धी बाइबलको विश्‍वासयोग्य व्याख्याको जाँच गर्नु, कुनै पनि सद्‌भावी र समझदार हिन्दूको निम्ति एउटा शैक्षणिक चाखलाग्दो विषयमात्र होइन; किन्तु यो उसको निम्ति एउटा व्यवहारिक र प्रत्यक्ष चासोको विषय हो।

प्रथम धर्मको खोजी

१०. (क) मानिसको प्रथम धर्मबारे बाइबलले के भन्छ? (ख) त्यो के व्यवहारिक थियो?

१० यस विश्‍वासयोग्य इतिहासले अरू कुराहरूको मूलबारे के भन्छ? उदाहरणको लागि, धर्मको मूल र पाप र मृत्युको प्रारम्भको विषयमा के भन्छ? आफ्नो निम्ति स्वयं पढनुहोस्‌ उत्पत्ति २:१५-१७: “परमप्रभु परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यो गोड़-गाड़ र हेरचाह गर्न राख्नुभयो। औ उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञानको रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” यसप्रकार आज्ञा पालन गरेर नै परमेश्‍वरप्रति भक्‍ति देखाएको हुनेथियो। प्रथम मानिसले अनुसरण गर्नुपर्ने धर्मको यो व्याख्या थियो। यस धर्मअनुसार मानिसको निम्ति नैतिक र अध्यात्मिक दृष्टिकोणबाट के राम्रो र के नराम्रो छान्‍ने अधिकार हाम्रो सृष्टिकर्त्ताकै हो। त्यो त्यतिको सरल थियो। त्यहाँ नता मन्दिरहरू थिए, न गिर्जाघरहरू थिए, न गुरुहरू, न प्रचारकहरू, न पूजाहारीहरू, न क्रियाकलापहरू। त्यो धर्म, मानिसको शारीरिक र मानसिक क्षमता भित्र थियो। त्यहाँ दर्शनहरू थिएनन्‌, परिकल्पित सिद्धान्तहरू थिएनन्‌ अर्थात्‌ साधारण मानव योग्यताले नबुझ्ने या गर्न नसक्ने केही पनि थिएन। मानिसको प्रथम धर्म सरल र व्यवहारिक थियो। बुद्धिमतापूर्वक दिन दिनै आफ्नो र बगैंचा जस्तो घरको हेरचाह गर्दा सृष्टिकर्त्ताप्रति भक्‍तिको अभ्यास गर्ने सरल एउटा मार्ग थियो। यसमा विश्‍वास गर्न अवश्‍य पनि कठिन छैन।

११. मानिसको प्रथम धर्मले उसलाई कहाँ पुऱ्‍याउने थियो?

११ त्यस व्यवहारिक इतिहासअनुसार मानिसको प्रथम घर एउटा सुन्दर बगैंचा जस्तो पृथ्वी थियो। र उसका प्रथम धर्मले उसलाई मृत्युतर्फ होइन, तर जीवनतर्फ दोहऱ्‍याउथ्यो। मानिसले आफ्नो सिद्ध मानवीय शरीरमै अनुभव गर्नसक्ने अनन्त जीवनतर्फ लैजाने मार्ग नै मानिसको प्रथम धर्म थियो। हो—गलत अभिलाषा र पापबाट मुक्‍त, कर्म जस्तो व्यवस्थाको कुनै पनि कुअसरबाट स्वतन्त्र, तर अनन्त मानव जीवनतर्फ लग्ने एउटा पथ थियो। मानिसको सामुन्‍ने परमेश्‍वरले अनन्तकालीन र सन्तुष्टमय शारीरिक जीवन राखिदिनुभयो, जसको विपरीत हो, जीवनको अन्त—मृत्यु! अन्तिम मोक्ष या मुक्‍तिको निम्ति मानिस आफ्नो शरीरबाट अलग हुनुपर्छ भन्‍ने संकेतसम्म पनि थिएन। मानिसको प्रथम धर्मअनुसार मृत्यु मानिसको मुक्‍ति वा छुटकारा हुनेथिएन। मृत्यु त एउटा सजाय थियो। तर कृपया याद गर्नुहोस्‌, मानिसले मृत्युद्वारा आफ्नो मंसको शारीरिक र पार्थिव घर हराएको परमेश्‍वर चाहनुहुन्‍न थियो। उसो भए, कहाँ निर गएर गल्ती भयो त?

किन मृत्यु?—त्यो के हो?

१२, १३. (क) हाम्रा प्रथम मानवीय पुर्खा किन मरे? (ख) मानिसले आफ्नो भाग्य स्वयं किन छान्‍न सक्थ्यो?

१२ हाम्रा प्रथम मानव पुर्खा किन मरे? किनभने उनले आफ्नो स्वतन्त्र इच्छाको दुरूपयोग गरे। परमेश्‍वरले प्रेमसहित मानिसलाई व्यक्‍तिगत इच्छाको स्वतन्त्रता दिनुभयो। यस कुरालाई उत्पत्ति २:१७ मा प्रकाशित परमेश्‍वरको वचनमा (जसबारे हामीले भरर्खरै प्याराग्राफ १० मा पढ्यौं) स्पष्टगरि देख्नसक्छौं। सिद्ध मानवमा स्वतन्त्र इच्छा हुन आवश्‍यक थियो। यसकारण, मानिसलाई आफ्नो रूचि प्रकट गर्ने स्वतन्त्रता दिइयो। नखानु भनिएको फल खाने वा नखाने? प्रश्‍न त्यो थियो। परमेश्‍वरको आज्ञा पालन गर्ने वा नगर्ने? मानिसले आफ्नो भविष्य रोज्ने मौका पाएको थियो। र यस कुरा मानिसको बुद्धि र प्रेम गर्ने क्षमतासँग मिल्दो थियो।

१३ हो, मानिसमा स्वतन्त्र इच्छा छ भनी उसको प्रेम गर्ने क्षमताले नै प्रमाण दिन्छ। भाग्यले गर्दा वा दबाबमा परेर गरेको “प्रेम” प्रेम होइन। प्रेम भन्‍ने कुरा आफ्नो इच्छाअनुसारको र आफ्नो भित्री मनको अनुमतिबाट हुनु आवश्‍यक छ। त्यसैकारण, परमेश्‍वरप्रति मानिसको प्रेम पनि सत्य र असल हुनको लागि मानिसको प्रेम गर्ने इच्छा स्वतन्त्र हुन परेको थियो। तसर्थ, प्रथम मानव धर्मको उद्देश्‍य पूरा होस्‌ भनेर परमेश्‍वरले मानिसलाई स्वतन्त्र नैतिक इच्छा दिनुभयो। मानिसले बुद्धिमतापूर्वक रोजेर आफ्नो स्वर्गीय पितातर्फ प्रेम र कृतज्ञता प्रकट गर्नसक्ने थियो। प्रेमलाई त्यसको नतिजाबाट मात्र चिन्‍न सकिन्छ र मानिसको आज्ञाकारिताद्वारा नै एउटा आत्मा—निर्भर परमेश्‍वरप्रति प्रेमको प्रमाण हुनसक्ने थियो। जसरी १ यूहन्‍ना ५:३ मा बाइबलले यसो भन्दछ “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”

१४. (क) प्रथम मानिसका अनाज्ञाकारिताका नतिजाहरू के थिए? (ख) यसले गर्दा उनको सन्तानमा के असर पऱ्‍यो?

१४ तर हाम्रा प्रथम पुर्खाले जानाजानी अनाज्ञाकारीताको मार्ग अपनाएर सारा सृष्टिको परमेश्‍वरबाट स्वयंलाई अलग पारे। त्यसपछि मानिस परमेश्‍वरबिना एक्लो भयो। फलस्वरूप, उसले आफ्नो मानव सिद्धता गुमाएर सजायको रूपमा मानव समाजलाई मृत्युले आक्रमण गऱ्‍यो। वंशानुगत प्रथम पुरुषको समस्त सन्तानलाई पनि पापको कलंक लाग्यो। जसले गर्दा उनीहरू जन्मदेखि नै पापी भएर जन्मे। परमेश्‍वरप्रति प्रेम र आज्ञाकारीता प्रकट गर्नु नै मानिसलाई प्रकाशित भएको प्रथम धर्मको प्रथम र सरल आवश्‍यकता थियो। तर हाम्रा प्रथम पुर्खाले त्यही आवश्‍यकताको अवहेलना गरे। फलस्वरूप उसको सन्तानले पाउनु पर्ने त्यो महान पैतृक सम्पत्ति हरायो। तसर्थ, सारा मानवजाति अर्थात्‌ ऋगवेद-का लेखकहरू समेतसम्म पाप र दोषको बोझ फैलिन थाल्यो। जसले गर्दा, वैदिक देवता वरूणलाई सम्बोधन गर्दै एउटा भजनमा यसो भनिएको छ: “हे वरूण, स्वर्गीय सेनाहरूको विरुद्धमा हामी मानिसले पाप गर्दा, हाम्रा आफ्नै अभिलाषाद्वारा तपाईंको व्यवस्था भंग गर्दा, त्यस पापको निम्ति हामीलाई सजाए न दिनुहोस्‌, हे परमेश्‍वर।”—ऋगवेद ७.८९.५. बाइबलमा रोमी ५:१२ सँग तुलना गर्नुहोस्‌।

१५, १६. (क) मृत्यु के हो? (ख) यसकारण, मृत्युबारे के विचारहरू सत्य हुन सक्दैनन्‌?

१५ परमेश्‍वरले भन्‍नु भएझैं प्रथम पुरुष आफ्नो विद्रोहले गर्दा अन्तमा मऱ्‍यो। हाम्रा प्रथम पुर्खालाई मृत्यु दण्ड दिनु हुँदा, परमेश्‍वरबाट प्रकाश भएको सूचनामा यसो भनिएको छ: “औ माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) यसरी परमेश्‍वरले मृत्युको परिभाषा दिनुभयो। यसमा चाखलाग्दो कुरा के छ भने, पछि वैदिक-शास्त्रले पनि मृतकहरूका अवस्थाको वर्णन गर्दा, बाइबलको यही पदलाई आधार बनाएको जस्तो देखिन्छ। माथि उल्लेख गरिएको वैदिक भजनले प्रथम चरणमा यसो भन्दछ: ‘राजा वरूण, अहिले नै मलाइ माटोको घरमा प्रवेश गर्नु नपरोस्‌। म माथि दया गर्नुहोस्‌, मलाई बचाउनुहोस्‌, शक्‍तिमान प्रभु।’ (ऋगवेद ७.८९.१) यस पंक्‍तिबारे एउटा द्रष्टव्यमा यसो भनी लेखिएको छ: “माटोको घर—चिहान अथर्व–वेद. भी. ३०.१४.” एउटा मुर्दा, चिहान र माटोमा जान अवश्‍य “माटोको घरमा” प्रवेश गरेझैं हुनेथियो!

१६ तसर्थ—मृत्युले मानिसलाई त्यही माटोमा लैजाने भयो जहाँबाट ऊ आएको थियो। मृत्यु अर्को जीवनतर्फ खुल्ने ढोका थिएन। मृत्यु जीवनको विपरीत—अर्थात्‌ अस्तित्वहिनता थियो। मृत्युबाट संसारको अनन्तक लिन दासत्व अथवा जन्म र पुनर्जन्मको चक्र सुरु हुने थिएन। मृत्यु जीवनको अन्त थियो। र वास्तवमा, हिन्दू लेखहरू मध्ये सबैभन्दा पुरानो, ऋगवेद-मा हिन्दू संसार र यो सँग सम्बन्धित पुनर्जन्मको शिक्षा पाइंदैन। उपनिषत्‌को संकलन भएपछि मात्र पुनर्जन्मको हिन्दू विचारधारा सुरु भयो। र हिन्दू लेखक एस.एन दासगुप्ताअनुसार यो लगभग ७०० र ६०० सा.यु.पु. को कुरा हो, जब मोशाले उत्पत्तिको दोस्रो अध्याय लेखिसकेपछि ८०० देखि ९०० वर्ष बितिसकेको थियो।

१७. मानिसको भावी जीवन के मा निर्भर छ?

१७ परमेश्‍वरको उद्देश्‍यअनुसार, मानिसको भावी जीवन, उसको कुनै अमर आत्मामा भर गर्न भएन। स्वयं परमेश्‍वरले त्यो मृतकको सम्झना गरे मात्र त्यसले पुनःजीवन पाउने। यही ईश्‍वरीय सच्चाइसँग मेल खाँदै एउटा प्राचीन कुलपत्ति अय्यूबकोबारे स्वयं परमेश्‍वरले पनि, “त्यो जस्तो कोही पाउनेछैनस्‌” भनी भन्‍नुभयो। आफ्नो विचार यसरी व्यक्‍त गर्नुभयो: “त्यसरीनै मरणशील मानिस ढल्छ, र कहिल्यै उठ्‌दैन, आकाश चिरिएर नफाटुञ्जेल। कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ? त्यो आफ्नो निद्राबाट फेरि कहिल्यै उठनेछैन। तपाईंले मलाई पातालमा लुकाउनुभएता, औ तपाईंको रीस नमरूञ्जेल मलाई गुप्तमा राख्नुभएता, तपाईंले मेरो समयको सिमा तोकिदिएर मलाई सम्झनु-भएता हुनेथियो! तर मेरो सेवा जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ। मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न ईच्छा गर्नुहुनेथियो।” (अय्यूब १:८; १४:१२-१५, लगभग १५०० वर्ष सा.यु.पू. मा लेखिएको) मानिसलाई याद गर्न परमेश्‍वरले खटाउनु भएको समय नआउन्जेलसम्म मानिस आफ्नो मृत्युको निन्द्रामा सुतिरहनु परेको रहेछ। तसर्थ, मानिसको भावी जीवन परमेश्‍वरको कहिल्यै नमेटिने यादगारमा भर गर्दोरहेछ—मानवीय अमर–आत्मामा होइन।

मानव पुर्खाहरूलाई भविष्यको आशाको प्रकाश

१८. मानिसजाति परमेश्‍वरबाट पूर्ण रीतिले किन त्यागिएन?

१८ प्रथम पुरुषले परमेश्‍वरलाई त्यागे तापनि, के परमेश्‍वरले मानवजातिलाई त्याग्नुभयो? परमेश्‍वरले न्याय सँगसँगै दयाको पनि प्रयोग गर्नुभएछ भनेर मानिसको प्रथम ऐतिहासिक अभिलेखहरूले बताउँछन्‌। परमेश्‍वरले न्याय संगत मानिसलाई पापको पूरा परिणाम भोग्न दिनुभयो। तर दयापूर्वक मानिसलाई उहाँसँग मेल गराउन उहाँले प्रबन्ध गर्नुभयो र पार्थिव प्रमोदवन पुनःस्थापित हुने आशा दिनुभयो। बाइबलको वास्तविक इतिहासले यसो भन्दछ: “किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रहयो। यसै आशामा, कि परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:२०, २१) अनि वास्तवमा के मानव इतिहास व्यर्थताको एउटा लामो अभिलेख होइन र? साँच्चै नै मानव इतिहासले बाइबलको यो वक्‍तव्यलाई पूरा पुष्टि दिन्छ। तर फेरि परमेश्‍वरले आशाको आधार कसरी बनाउनुभयो?

१९. त्यो मौलिक प्रतिज्ञा कुन हो जसमा सारा मानव आशाहरू निर्भर गर्दछ?

१९ हाम्रा प्रथम र मूल इतिहासअनुसार, परमेश्‍वरले उत्पत्ति ३:१५ मा यी शब्दहरूद्वारा मानिसको निम्ति आशा प्रकाश गर्नुभएछ: “तेरो र स्त्रीको बीचमा, र मेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” यही हो त्यो मौलिक प्रतिज्ञा जसमा सारा मानवजातिको आशाहरू निर्भर गर्दछ। वास्तवमा, सारा मानव परिवारको निम्ति यो प्रतिज्ञा हाम्रा महान पुर्खाको तर्फबाट हो।

२०. (क) बाइबलको प्रथम भविष्यवाणी कुन चार व्यक्‍तिहरूसँग सम्बन्धित छ? (ख) तपाईंको महान पुर्खाको त्यो प्रतिज्ञा कसरी पूरा हुनेछ?

२० सारा इतिहासमा यो प्रथम र पवित्र भविष्यवाणी चार मुख्य व्यक्‍तिहरूसँग सम्बन्धित छ। यी हुन्‌ (१) सर्पको भेषमा शत्रु (२) शत्रुको सन्तान (३) स्त्री र (४) स्त्रीको सन्तान। यी व्यक्‍तिहरूको वर्णन लाक्षणिक भाषामा गरिएको हुनाकारण, बाइबलमा “स्त्रीको सन्तानलाई,” “पवित्र रहस्य” भनी संकेत गरिन्छ। (कलस्सी १:२६) तथापि, यस भविष्यवाणीले जसलाई सम्बोधन गर्दछ त्यो व्यक्‍ति अवश्‍य परमेश्‍वरको सार्वभौमिकताको विरोधी र ठूलो प्रथम दुश्‍मन हो र उसको समर्थकहरू उसको “सन्तान” हो। “स्त्री” चाहिं परमेश्‍वरको सर्वव्यापी संस्थाको एउटा चित्र हो। यो संस्था परमेश्‍वरको सार्वभौमिकताको अधीनमा एउटा स्वास्नीझैं वफादार भएर बस्छे। (यशैया ५४:१, ५; गलाती ४:२६; प्रकाश १२:१ हेर्नुहोस्‌) तसर्थ परमेश्‍वरको सर्वव्यापी संस्थाको व्यक्‍तिहरू मध्येबाट परमेश्‍वरको पुत्र नै “स्त्रीको सन्तान” भएर त्यो ठूलो विरोधीलाई खतम पार्न परमेश्‍वरको सार्वभौमिकतालाई निर्दोष साबित गर्न र परमेश्‍वरको शासनलाई समर्थन गर्ने मानिसहरूको मुक्‍तिदाता हुन आउनु पऱ्‍यो। तपाईंको महान पुर्खाले दिनुभएको यो प्रतिज्ञाद्वारा वास्तवमा परमेश्‍वरले दुष्टताको शक्‍तिहरूको विरुद्धमा युद्धको एउटा घोषणा गर्नको साथसाथै त्यसको अन्तिम परिणाम अर्थात्‌ ईश्‍वरीय राज्य र भलाइको जीतको अपार दृश्‍य पनि दिनुभयो।

२१, २२. (क) बाइबलको यो प्रतिज्ञा हिन्दू परम्परामा कसरी रहयो? (ख) यो हिन्दू तस्वीरले के को प्रतिनिधि गर्दछ?

२१ हिन्दू धर्मको हजारौं वर्षको विकासको दौरानमा पनि बाइबलको यो मौलिक प्रतिज्ञाको सम्झना सुरक्षित रहनु एउटा अद्‌भुत कुरा हो। “स्त्रीको सन्तानले सर्पको शिर कुल्याउनेछ,” भनेर बाइबलमा उल्लेखित यो ईश्‍वरीय प्रतिज्ञा प्रथम मानव पुर्खाहरूलाई प्रकाशित भएको हुनाले अन्यजातिहरूमा पनि यो प्रतिज्ञाको केही अवशेष पाउनु पर्ने हो। र यसरी अवशेष पाएका पनि छन्‌।

२२ आजका आधुनिक हिन्दूहरूले सनातन लक्ष्मी नाम भएकी एउटी देवीको तस्वीरलाई पुज्छन्‌। यो तस्वीरमा आमा र बच्चाले कुनै प्राचीन “स्त्री” र “उसको सन्तान[लाई]” चित्रित गरेको हुनुपर्छ। साथै, आमाको हातले सुरक्षाको निम्ति उठाएको तरवार र ढालले कुनै शत्रु र दुश्‍मनीलाई संकेत गर्दछन्‌। लक्ष्मीको यो तस्वीरको मूल अर्थ हजारौं वर्षको दौरानमा शायद लोप भए तापनि यसले मानवजातिको मूल आशाको प्रतिनिधि गर्छ, जुन आशा बाइबलअनुसार मानिसको प्रथम पार्थिव माता पितालाई प्रकाशित भएको थियो। अनि हिन्दूहरूले, आफूलाई शायद केही थाहा नभए तापनि बाइबलको यो प्रथम प्रतिज्ञाको सम्झनालाई लक्ष्मीको यो तस्वीरमा समावेश गरेका छन्‌।

२३, २४. (क) यस तस्वीरको तार्किक अर्थ कसरी मात्र लाउन सकिन्छ? (ख) उत्पत्ति ३:१५ ले सारा मानवजातिको निम्ति के आशा दिन्छ?

२३ यस हिन्दू तस्वीरलाई बाइबलको प्रथम भविष्यवाणीसँग तुलना गर्दा, यो सोध्नु उचित छ अर्थात्‌ कुन पहिला आयो? “हिन्दू तस्वीर अथवा बाइबलको शास्त्र?” इतिहासअनुसार, बाइबलको शास्त्र प्रथम आयो। मानिसको पहिलो पार्थिव पुर्खाको जीवनको प्रारम्भतिर नै त्यो भविष्यवाणी गरिएको थियो र परमेश्‍वरको उचित समय नआउन्जेल, आगामी पुस्ताहरूबाट त्यो भविष्यवाणीको महत्त्व गोप्य राखियो। (कलस्सी १:२६) साथै धार्मिक लेख र तस्वीरहरूमा उल्लेखित “आमा र बच्चा[को]” विचारधाराको सुरुवात तर्कअनुसार, प्रथम पुरुष र उसले त्यो प्रथम अगमवाणी पाएको समयभन्दा पुरानो हुनसक्दैन।

२४ बाइबल नहुँदो हो त यो हिन्दू तस्वीरको अर्थ काल्पनिक मात्र हुनेछ। हल्लामा आधारित अर्थहरूले एउटा विवेकशील मनको चित्त बुझाउन सक्दैन। तसर्थ, लक्ष्मीको यो आधुनिक तस्वीरमा आलेखित गरेझैं, हिन्दूहरूको भावी आशाको मूल बाइबलको इतिहासमा मात्र पाइन्छ। बाइबलको उत्पत्ति ३:१५ मा लिखित “स्त्रीको सन्तान[को]” भविष्यवाणीले हरेक सत्य मन भएका हिन्दूलाई परमेश्‍वरको सार्वभौमिकताको जीत र सारा जगत्‌ अर्थात्‌ हाम्रो पृथ्वीमा समेत दुष्टता र विरोधको अन्तिम नाश हुनेछ भनी आशा दिन्छ। अनि असली “स्त्रीको सन्तान” स्वयं परमेश्‍वरले खटाउनु भएको एउटा मुक्‍तिदाता हुनुहुन्छ। आजसम्म कुनै पनि मानिसले सफलतापूर्वक यो अति आवश्‍यक विषयको फैसला गर्नसकेको छैन किनभने यो परमेश्‍वरको विधिअनुसार परमेश्‍वरकै उचित समयमा फैसला हुन आवश्‍यक छ।

२५. उत्पत्ति ३:१५ को पूर्ति हामी कसरी ठम्याउन सक्छौं?

२५ विश्‍वव्यापी शान्ति पुनःस्थापना गर्ने यो ईश्‍वरीय प्रतिज्ञाको पूर्तिबारे थाहा लगाउन हामी मानव इतिहासको अझ पछि लाग्नु आवश्‍यक छ। हामीले प्रथम मानव समाज अर्थात्‌ हामी सबैका प्रथम मानव पुर्खाहरूको ऐतिहासिक विकासको पत्ता त लगायौं। त्यसपछि, परमेश्‍वरबाट सृष्टि भएका प्रथम दम्पतीका छोराछोरी जन्मिन लागे र बिस्तारै मानव परिवारको वृद्धि भयो। तर उनीहरू परमेश्‍वरबाट अलग्गिएका हुनाकारण, हत्या, व्यभिचार र भ्रष्ट मानव चालचलन आरम्भ भयो।—उत्पत्ति ५:३-५; ४:८, २३.

अवतारहरूको आरम्भ

२६-३०. (क) हिन्दू धर्म विद्याको अवतारसम्बन्धी शिक्षाबारे बाइबलले के ज्योति दिन्छ? (ख) बाइबलको सत्य अभिलेख नै कुनै कुनै हिन्दू परम्पराको मूल हो भनी किन भन्‍न सकिन्छ?

२६ र अब इतिहासको दौरानमा एउटा यस्तो घटना घट्यो जसको संकेत हिन्दू लोक कथाहरूमा पनि गरिएको छ। बाइबलको प्रमाणिक इतिहासले यसो भन्दछ: “जब मानिसहरू पृथ्वीमा बढ़दै गए, तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रूचिका पत्नीहरू ल्याए। तब परमप्रभुले भन्‍नुभयो, ‘मेरो आत्माले मानिसमा सधैंको निम्ति बास गर्नेछैन, किनभने त्यो शरीर मात्र हो। तापनि त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”

२७ “त्यस बेला पृथ्वीमा नपीलहरू थिए। त्यसपछि पनि परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जानलागे। तिनीहरूनै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू हुन्‌।”

२८ “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।”—उत्पत्ति ६:१-५.

२९ यसको अर्थ, स्वर्गमा परमेश्‍वरको बुद्धिजीवी आत्मिक पुत्रहरूले पृथ्वीका सुन्दर सुन्दर स्त्रीहरूप्रति अप्राकृतिक इच्छाहरू खेलाए र यो “स्वर्गदूतहरू. . .आफ्ना मर्यादामा नरहने . . .आफ्ना घर–वार छाडेका रहेछन।” (यहूदा ६) परमेश्‍वरका यी आत्मिक पुत्रहरू पृथ्वीमा अवतार अथवा मानिसका रूप लिएर आएछन्‌। यिनीहरूले सुन्दर सुन्दर मानव स्त्रीहरूसँग सहवास गरेर एकप्रकारको मिश्रित सन्तान जन्माए जसका अलौकिक शक्‍ति हुन्थे। संस्कृतमा ‘अवतार[को]’ अर्थ ‘ओर्लनु’ अथवा विशेषगरि एउटा देवता स्वर्गबाट पृथ्वीमा ओर्लनु हो। यसरी बाइबलको इतिहासले हामीलाई ती वास्तवमा घटेका घटनाहरूको विषयमा बताउँछ। र पछि अवतारहरूसम्बन्धी हिन्दू शिक्षाले पनि यसैको प्रतिबिम्ब गरेको छ।

३० बाइबलको यो सत्य व्याख्याबाट पुराण नामक हिन्दू लेखबारे पनि ज्योति पाउँछौं। पुराण-मा देवताहरू, राक्षसहरू, उनीहरूका शक्‍तिशाली कार्यहरू, प्रेम कथाहरू, युद्धहरू र चमत्कारहरूको वर्णन पाइन्छ। साथै, पुराण-मा गन्धर्व नामका देवताहरूका चर्चा गरिएको छ जसका एक किसिमका पार्थिव बास्ना हुन्थे। पुराणको वर्णनअनुसार गन्धर्वहरू, विवाहसँग सम्बन्धित छन्‌ र उनीहरू स्त्रीजातिलाई प्रेम गर्छन्‌ र हरदम स्त्रीजातिबारे सोचिरहन्छन्‌। उनीहरूको भित्रिनीहरू अप्सरा भनिन्छ र हिन्दू लेखअनुसार यी अप्सराहरू भ्रमात्मक, चरित्रहीन र मातृस्नेहरहित हुन्थे। यी अप्सराहरूका पनि एकप्रकारका मनपर्दो पार्थिव बास्ना हुन्थे। यसबाहेक, हिन्दू धर्म विद्यामा अंशावतारहरूको अर्को श्रेणी छ जसलाई गण भनिन्छ। एउटा हिन्दू विद्वान प्राधिकृतअनुसार यी गणहरू वर्णसंकर व्यक्‍तिहरू हुन्‌। परमेश्‍वरको अट्टेरी आत्मिक पुत्रहरूबारे बाइबलको सत्य लेखलाई माथि दिएका लेखहरूले समर्थन गर्छन्‌। बाइबलमा वर्णन गरेका दूतहरूका पनि आफ्नो प्रेमकथाहरू थिए। उनीहरूले पनि ठूला चिन्हहरू र चमत्कारहरू देखाउन सक्थे। र उनीहरूका वर्णसंकर सन्तानले शक्‍तिशालि काम गर्नसक्थे। ती अट्टेरी दूतहरू र राक्षसहरू यस पृथ्वीमा कमसेकम १२० वर्षसम्म बसोबास गरे। त्यतिका समयभित्र उनीहरूले बाइबलमा भनेझैं धेरै प्रसिद्ध कामहरूद्वारा नाम कमाउन सके। यसैकारण, विभिन्‍न जातिहरूको धार्मिक दन्त्य कथाहरूमा विभन्‍न ढंगले यी घटनाहरूको वर्णन गरिंदै आयो।

३१, ३२. परमेश्‍वरले त्यो महा–जलप्रलय किन गराउनु भयो?

३१ तथापि, यी घटनाहरूबाट कुकर्मको वृद्धि भयो जसले गर्दा परमेश्‍वरलाई त्यो ठूलो जलप्रलय ल्याउन बाध्य पऱ्‍यो। सत्य इतिहासले यसो भन्दछ: “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। जब परमेश्‍वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकी सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए। अनि परमेश्‍वरले नूहलाई भन्‍नुभयो, . . . ’हेर, जीवनको सास हुने सबै प्राणीलाई म आकाशमनिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।”—उत्पत्ति ६:११-१७.

३२ “पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात्‌—के पक्षी, के पाल्तु–पशु, के वन–पशु, भूइँमा घस्रने सबै जन्तुहरु तथा सबै मानिसहरू मरे।”—उत्पत्ति ७:२१.

३३. हाम्रा वर्तमान युगको आरम्भ कहिले र कसरी भयो?

३३ यसरी त्यो जलप्रलयले गर्दा पृथ्वी सफा भयो। परमेश्‍वरले धार्मिकताप्रति आफ्नो प्रेम प्रकट गर्नुभयो र कुनै कुनैलाई बचाएर राखेको हुनाकारण मनुष्यजातिले एउटा नयाँ सुरुवात पनि पायो। त्यहाँदेखि हाम्रा वर्तमान युग अर्थात्‌ जमानको आरम्भ भयो। तर, जलप्रलयभन्दा अघि घटेका इतिहासहरू जलप्रलय पार गर्ने मानिसहरूको सम्झनामा रहिरहयो र आज कतिपय मानिसहरूले मानेका धर्म र देवतासम्बन्धित विश्‍वासहरू त्यही सम्झनाहरूमा आधारित छन्‌।

प्रेतहरूको सृष्टि कसले गऱ्‍यो?

३४. ती अवतारहरूलाई के भयो?

३४ भक्‍तिहीन मानिसहरूलाई जब जलप्रलय-ले बगाएर चिहानमा लग्यो, ती विद्रोही स्वर्गदूतहरू आफ्ना पार्थिव शरीर उतारी फेरि आत्मिक संसारमा फर्के। त्यहाँ परमेश्‍वर र उहाँको धार्मिक शासनलाई समर्थन गर्न होइन तर परमेश्‍वरको मुख्य विरोधी, प्रेतहरूका राजकुमारसँग मेल गर्न फर्केर गए। यही थियो त्यो प्रथम प्रेत जसले प्रथम पुरुष र स्त्रीलाई परमेश्‍वरको सार्वभौमिकताको विरुद्धमा बहकायो र उत्पत्ति ३:१५ को महान भविष्यवाणीले पनि त्यसैलाई सम्बोधन गरेको थियो। यही प्रथम प्रेतले छल र जीवन अनि मृत्युबारे गलत धारणाहरू फैलाएर मानव विद्रोह सुरु गऱ्‍यो। तर कसरी?

३५. प्रथम प्रेतले हाम्रा प्रथम मानव पुर्खाहरूलाई परमेश्‍वरको विरोध गर्नु कसरी भर्मायो?

३५ हामी फेरि एकपल्ट उत्पत्ति ३:१-५ को वर्णन हेरौं। “परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन पशुहरूमध्ये साँप धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, ‘के परमेश्‍वरले तिमीहरूलाई बगैंचाका कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?’ र स्त्रीले साँपलाई भनिन्‌, ‘बगैंचाका रूखहरूका फल हामी खानसक्छौं, तर बगैंचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।’ साँपले स्त्रीलाई भन्यो, ‘तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।’”

३६. शैतानको भनाइ के थियो र त्यसले सारा संसारलाई कसरी ठगिरहेको छ?

३६ यसरी परमेश्‍वरको वचन काटेर, यो प्रथम दियाबलले एउटा सर्पद्वारा आफूलाई झूट र झूटको पिता ठहरायो। (यूहन्‍ना ८:४४) परमेश्‍वरको विरुद्धमा यसप्रकार विद्रोह गरेको हुनाले त्यसको नाम “शैतान” भयो किनभने “शैतान[को]” अर्थ “विद्रोही” हो। शैतानको भनाइअनुसार मनुष्यजाति सधैं बाँच्नको निम्ति परमेश्‍वरको आज्ञा पालन गर्नु आवश्‍यक छैन। यसरी, शैतानले मानिसको दिमागमा जीवन र मृत्युबारे केही गलत शिक्षाहरू रोपिदियो। वास्तवमा, शैतानले सारा संसारलाई ठगी रहेको छ भनेर बाइबलले पनि भन्दछ। (प्रकाश १२:९) त्यही गलत विचारधाराहरूमा आज धेरैजसो मानिसहरूको जीवन र मृत्युबारे धारणाहरू आधारित छन्‌। हजारौं वर्ष बित्दै जाँदा ती धारणाहरूलाई जीवन, मृत्यु र धर्म सम्बन्धित लोकप्रिय विश्‍वास र विचारहरूमा परिणत गरेका छन्‌।

३७. एउटा देवदूत कसरी शैतान भयो?

३७ तर तपाईंले सोध्नुहोला, एउटा सिद्ध दूत कसरी प्रेत अथवा शैतान हुनसक्यो? जसरी प्रथम मानवले परमेश्‍वरको विद्रोह गऱ्‍यो अथवा आफ्नो स्वतन्त्र इच्छाको दुरूपयोग गरे। जसरी एउटा भद्र पुरुषले अपराध गरेर नै स्वयंलाई चोर बनाउँछ। त्यसरी नै, एउटा स्वतन्त्र नैतिक व्यक्‍ति पनि मानवीय होस्‌ वा आत्मिक, आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गरी परमेश्‍वरको विद्रोही भएर पतन हुनुसक्छ। जलप्रलयभन्दा पहिला परमेश्‍वरका ती सिद्ध आत्मिक, पुत्रहरू पनि त्यस्तै भएका थिए। तिनीहरूले आफ्नो स्वेच्छाद्वारा आफ्ना खास बासस्थान छाडे। तर त्यसपछि, जलप्रलयले गर्दा उनीहरूलाई फेरि परमेश्‍वरको प्रसन्‍नताबिना पनि आत्मिक जीवन बिताउन बाध्य पऱ्‍यो।

आर्यजाति भारतमा कसरी आए?

३८, ३९. मानिस जातिमाथि कुअसर जमाउन यस युग भित्र ती प्रेतहरूलाई सर्वप्रथम मौका कहिले मिल्यो?

३८ तब जलप्रलय पश्‍चात्‌को सफा पृथ्वीमा मानिसजातिमाथि कुअसर जमाउन र मानिसजातिलाई परमेश्‍वरको शासन अथवा सार्वभौमिकताको अधीनमा ल्याउने ईश्‍वरीय उद्देश्‍यको विरोध गर्न ती प्रेतहरू शैतानको नेतृत्वमा अघि सरे। (उत्पत्ति ३:१५) यी प्रेतहरूलाई यस युगभित्र सर्वप्रथम मौका त्यसबेला मिल्यो जब सारा मानिसजातिको एउटा भाषा थियो। यसको इतिहास तपाईं स्वयं उत्पत्ति ११:१-९ मा पढन सक्नुहुन्छ।

३९ “त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा थियो औ शब्दहरू थोरै थिए। मानिसहरू पूर्वतिर सर्दै जाँदा शिनार देशमा एउटै मैदान भेट्टाएर त्यही बास गरे। तब तिनीहरूले आपसमा भने, ‘लौ, हामीहरू ईंटा बनाएर पोलौं।’ ढुंगाको सट्टा ईंटा र हिलोको सट्टा अलकत्रा तिनीहरूले बनाए। तब तिनीहरूले भने, ‘लौ, हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गैसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौं, नत्रता हामीलाई पृथ्वीभरि जताततै छरिनुपर्नेछ।”

४०. सर्वशक्‍तिमान परमेश्‍वरले उनीहरूको बागी योजनाहरूलाई कसरी खतम पार्नुभयो?

४० “मानिसको सन्तानले बनाइरहेको शहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। अनि परमप्रभुले भन्‍नुभयो, “ती सबै त एउटै भाषा भएको एउटै जाति छ। औ तिनीहरूले गर्न थालेको कामको यो ता सुरु मात्र हो। तिनीहरूले जे गर्न विचार गर्दैछन्‌ तिनीहरूबाट अब केही कुरा रोकिनेछैन। लौ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तीनीहरूले एका अर्काको बोली नबुझून्‌।” तब परमप्रभुले त्यहींबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर–बितर पारिदिनुभयो, र तिनीहरूले त्यो शहर बनाउन छोड़िदिए। यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहींनै सारापृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहींबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीमा तितर–बितर पारिदिनुभयो।”

४१. (क) बाइबलले कुन कुन ऐतिहासिक उत्पत्तिहरूबारे ज्ञान दिन्छ? (ख) बाइबल हाम्रो निरन्तर चासोको योग्य किन छ?

४१ अतः, सबै भारत युरोपेली भाषा अर्थात्‌ संस्कृत, प्रकृत, पालि र द्राविद्ध भाषाहरू समेतको मूलबारे यो सबैभन्दा प्राचीन र ऐतिहासिक अभिलेख हो। बाबेलमा यो ईश्‍वरीय हस्तक्षेपले गर्दा नै आर्यजातिहरूको बासमध्ये एसिया भएर भारत र युरोपतर्फ सऱ्‍यो। वर्तमान जातिहरू र भाषाहरूको यी ऐतिहासिक सुरुवातलाई आधुनिक विज्ञानले पनि समर्थन गर्दछ। उदाहरणको लागि, पूर्विय भाषाहरूको पण्डित, सर हेनरी रलिन्सनले यसो भन्‍नुभएको छ: “सबै लिखित अभिलेखहरूबाट स्वतन्त्र भएर सिर्फ भाषाहरूको पथ रेखा पछ्याउँदै गयौं भने ती विभिन्‍न पथ रेखाहरू सुरु भएको ठाउँ अथवा शिनारको वे सिमानै पुग्ने छौं।” अतः बाइबलले तपाईंको जाति र उत्पत्तिको भाषाको इतिहासबारे एउटा निर्विवाद वर्णन दिन्छ। यसकारण बाइबल तपाईंको ध्यान र चासोको योग्य छ।

४२. (क) बाबेलमा ईश्‍वरीय हस्तक्षेपपश्‍चात्‌ मानव परिवारमा के कस्तो विकास भयो? (ख) धेरैले ‘सबै मार्गहरू परमेश्‍वर कहाँ पुग्छन्‌’ भनी किन विश्‍वास गर्न लागे? (ग) के कुनै नैतिक नियमको प्राप्ति नै ईश्‍वरबाट प्रत्यक्ष वाणी पाएको प्रमाण हुनसक्छ र?

४२ बाबेलको धरहरा बनाउन खोजेर मानिसले फेरि ईश्‍वरीय इच्छालाई तिरस्कार गरेको हुनाकारण, परमेश्‍वरले हस्तक्षेप गर्नुभयो। यसले गर्दा मानवको हार मात्र भएन तर विभिन्‍न भाषा बोल्नेहरू पृथ्वीको छोरसम्म छरपष्ट हुनपऱ्‍यो। विश्‍वासनीय इतिहासले यसो भन्दछ: “नूहका छोराहरूका सन्तान, तिनका जातिअनुसारका वंश यिनै हुन्‌। यिनैबाट जलप्रलयपछि पृथ्वीमा जाति जातिहरू अलग अलग भएर जताततै फिंजिए।” (उत्पत्ति १०:३२) परमेश्‍वरको सार्वभौमिकताबाट अलग्गिएर मानवजातिले आफ्नै राज्य र पुरोहितहरूको समाज स्थापित गरे। यसबाट आफ्ना आफ्ना विश्‍वास, परम्परा, क्रियाकलाप र परिकल्पना भएका अनेक विभिन्‍न धर्महरूको सुरु भयो। तापनि यी सबै धर्महरूमा बाबेलबाट ल्याएको विचारहरूको प्रभाव पऱ्‍यो। तर सृष्टि भएका हाम्रा प्रथम आमाबाबुलाई परमेश्‍वरले दिनुभएको अंतस्करणको प्रभाव पनि विश्‍व धर्महरूमा परेको हुनाकारण एकै किसिमको नैतिक सिद्धान्तहरू बनियो जसले गर्दा “सबै मार्गहरू परमेश्‍वर कहाँ पुग्छन्‌” भनी धेरैले विश्‍वास गर्न लागे। यसबारे अब ज्ञान दिंदै बाइबलले यसो भन्दछ: “किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुराहरू पालन गर्दछन्‌ भने, तिमीहरूका व्यवस्था नभएता पनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्‌। यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्‌।” (रोमी २:१४, १५) तर कुनै नैतिक ऐनको प्राप्ति मात्र ईश्‍वरीय प्रकाशको प्रमाण हुनसक्दैन। किनभने, साम्यबादजस्ता नास्तिक देशमा पनि कतिपय धर्महरूमाझैं नैतिक कानुनहरू छन्‌। हो, ईश्‍वरीय प्रकाशमा नैतिक नियम बाहेक अझ धेरै कुराहरू सम्मिलित छन्‌ भनेर आउँदो पानाहरूबाट थाहा लाग्नेछ।

परमेश्‍वरसँग मानव मिलापको तैयारी

४३. परमेश्‍वरले हामी मानिसजातिलाई बिर्सनु भएको छैन भनी इतिहासको सुरुदेखि नै कसरी देखाउँदै आउनु भएको छ?

४३ यद्यापि, मानवजातिले ईश्‍वरीय इच्छा त्यागे तापनि, परमेश्‍वरले मानवजातिको अस्तित्व बचाएर राख्नुभयो। तसर्थ, बाइबलले हामीलाई यसरी विश्‍वास दिलाउँछ: “जसले अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई आफ्ना आफ्ना मार्गमा चल्न दिनुभयो। यसो भए तापनि उहाँले आफुलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनु भयो।”—प्रेरित १४:१६, १७.

४४. (क) परमेश्‍वरले स्वयंसँग मानवजातिको मेल गराउन के प्रबन्ध गर्नुभयो? (ख) मुक्‍ति दिने “प्रतिज्ञाको सन्तान” जन्माउन परमेश्‍वरले अब्राहामको वंशलाई किन छान्‍नु भयो?

४४ तर मानिस जानाजानी र आफूखुसी गर्ने भएको देख्दा हामी यो सौध्छौं: “परमेश्‍वरसँग स्वेच्छापूर्वक फेरि मानिसको मिलाप कसरी गराउन सकिन्छ?” परमेश्‍वरले प्रेमपूर्वक मानवपरिवारमा एउटा सानो समाजको संगठन गर्ने प्रबन्ध गर्नुभयो जसद्वारा सबै जातिहरूले लाभ उठाउन सकून्‌। यो संगठनको निम्ति सृष्टिकर्त्ताले प्राचीन कुलपति अब्राहामको सन्तानलाई छान्‍नुभयो। स्वयं पापी भए तापनि, अब्राहामले परमेश्‍वरको प्रकाशित इच्छाप्रति अटल भक्‍ति देखाएका थियो। ईश्‍वरको इच्छा भए, आफ्नो छोरा इसहाक समेतको बलिदान चढाउने तैयारी अब्राहामले प्रकट गर्दा “परमप्रभुका दूतले स्वर्गबाट अब्राहामलाई भने, ‘परमप्रभु भन्‍नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु, किनकि तैले यो काम गरिस्‌ औ तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्‍चय तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। औ तेरो सन्तानले आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्ने छ। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌, किनकि तैंले मेरो वचन पालन गरिस्‌।’”—उत्पत्ति २२:१५-१८.

४५. (क) यहूदीहरू बाँकि मानवजातिभन्दा असल किन थिएनन्‌? (ख) यसप्रकारको स्पष्टोक्‍तिबाट बाइबलको विषयमा के बुझ्न सकिन्छ?

४५ फलस्वरूप, उत्पत्ति ३:१५ मा उल्लेखित मुक्‍ति दिने “प्रतिज्ञाको सन्तान” अब्राहामको वंशद्वारा आउने भएकोले उसलाई चिन्‍न सकिनेभयो। यद्यपि, अब्राहामका सन्तान अर्थात्‌ यहूदीहरूलाई, उनीहरू मानव परिवारका अरू जातिहरूभन्दा असल हुनाले छानिएका होइनन्‌। परमेश्‍वरसँग उनीहरूका राष्ट्रिय मध्यस्थ मोशाले यस कुरालाई स्पष्ट पार्दै, व्यवस्था ९:६, मा यसो भन्‍नुभयो: “याद राख! तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनचाहनुहुन्‍न। किनभने तिमीहरू ता हठी मानिसहरू हौ।” (यसप्रकारका स्पष्टोक्‍तिद्वारा नै हामी वास्तविकताहरूको निस्पक्ष र विश्‍वासयोग्य इतिहास पाउन सक्छौं) तर ईश्‍वरीय माध्यम हुन यहूदीहरूलाई नै किन छाने?

४६. (क) उदाहरणसहित बताउनुहोस्‌ हामीले किन परमेश्‍वरको रोजाइबारे चित्त दुखाउनु पर्दैन? (ख) केही समयको लागि इस्राएलीहरूसँग मात्र सम्पर्क राख्दा परमेश्‍वरको उद्देश्‍य के थियो?

४६ किनभने उनीहरू अब्राहामको विश्‍वासी पुत्र इसहाक र नाती याकूबको वंशद्वारा जन्मेको हुनाकारण उनीहरू अब्राहामका सन्तान थिए। यसबाहेक, मानिसको मुक्‍तिदाता मानव संसारमा एउटा अवतार अथवा देवको रूपमा आउनु थिएन। उहाँलाई अब्राहामको शुद्ध र शारीरिक सन्तान भएर आउन परेको थियो। तर परमेश्‍वरले जुनसुकै जातिलाई उनीहरूको पुर्खाहरू विश्‍वासी हुनाकारण छानेका भए तापनि, अरू जातिहरूले ‘हामीलाई छुट्यायो’ भनेर चित्त दुखाउन सक्छन्‌। तैपनि, परमेश्‍वरको रोजाइको धार्मिकतामा विश्‍वास राख्ने व्यक्‍तिलाई त्यस्तो लाग्ने छैन। उदाहरणको लागि, नाटक हेर्ने स्रोतागणले रंगमंचमा भाग लिंदैन। तर, रंगमंचमा भाग लिन नपाएको कारण, उनीहरूलाई छुट्यायो भनी ठान्दैनन्‌। त्यस्तैगरि, परमात्माले संसारलाई उहाँको सिद्धान्त र व्यवस्थाबारे शिक्षा दिन एउटा विशेष जातिलाई जीवित प्रदर्शन बनाउनु भयो। तैपनि, उहाँले बाँकि मानव परिवारलाई वास्ता नगरि छाड्‌नु भएन। परमेश्‍वरको धार्मिक र बुद्धिले परिपूर्ण कानुनहरूको पालन गर्दा नगर्दा के हुँदोरहेछ, इस्राएली इतिहासले सारा मानवजातिलाई सिकाउँछ। यसरी केही समयको लागि इस्राएलसँग मात्र सम्पर्क राख्नु भए तापनि अन्तमा सबै जातका मानिसहरूलाई आशिष्‌ दिने आफ्नो उद्देश्‍य पूरा गर्ने तैयारी गर्नु हुँदै थियो।—उत्पत्ति २२:१८.

अब तपाईंको के भविष्य?

४७. (क) हामीले गरेको अनुसन्धानबाट बाइबलप्रति हाम्रो विश्‍वास किन बढ्‌छ? (ख) तपाईंलाई बाइबलले कस्तो भविष्यको प्रतिज्ञा गर्छ र के आश्‍वासन पनि दिन्छ?

४७ हामीले जीवन, पाप, मृत्यु र धर्मका साँचो मूलहरू केलाएर हेरिसक्यौं। आधुनिक विज्ञान साथै तर्क ज्ञानअनुसार हिन्दू परम्पराले पनि बाइबलको विश्‍वास योग्य इतिहासलाई समर्थन गरेको हामीले देख्यौं। ईश्‍वरीय सत्यको मार्ग कहाँदेखि छुट्टियो, त्यसपछि पाप र मृत्युबाट मुक्‍ति पाउने प्रतिज्ञाको घोषणा यो सबै हामीले देख्यौं। यसकारण, बाइबलले भविष्यबारे भनेको कुरामा पनि विश्‍वास गर्न बाध्य पर्छौं। परमेश्‍वरले तपाईंको लागि एउटा सर्व आनन्दित र सफल भविष्य प्रबन्ध गर्नुहुँदैछ। यसको विषयमा तपाईं निर्धक्क बस्न सक्नुहुन्छ। हामीहरू मानवीय सिद्धतासहित एउटा पार्थिव वैकुण्ठमा बस्नु नै सुरुमा मानवजातिको लागि परमेश्‍वरको उद्देश्‍य रहेछ भनेर थाहा पायौं। यस पृथ्वीमा त्यो महिमायुक्‍त वैकुण्ठको पुनःस्थापना हुनेछ भनेर पवित्र शास्त्रले संकेत गर्दछ। बाइबलको सत्य इतिहासको परमेश्‍वरले यसो भन्‍नुहुन्छ: “त्यसरीनै मेरा मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछ, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

४८. पृथ्वीमा धर्मीहरू कहिलेसम्म र कस्तो वातावरणमा बस्नेछन्‌?

४८ तसर्थ, पुनःस्थापना हुने पार्थिव वैकुण्ठमा जीवन बिताउन तपाईंले व्यक्‍तिगत आशा राख्न सक्नुहुन्छ। परमेश्‍वरले तपाईंको मनुष्यत्वबाट सारा पाप र असिद्धता हटाउने प्रबन्ध गर्नुभएको छ। त्यसपछि तपाईंले आफ्नो पार्थिव जीनव मै मानवीय सिद्धता प्राप्त गर्नसक्नु हुनेछ। बाइबलले भजनसंग्रह ३७:२९ मा यसो भन्छ: “धर्मात्माहरुले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” फेरि यशैया ३३:२४ मा यसो भनिएको छ: “त्यहाँका बासिन्दाहरुले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परे’ त्यहाँ बस्ने मानिसहरुका अधर्म क्षमा गरिनेछ।”

४९. (क) यी सुन्दर वरदानहरूको प्रबन्ध गर्ने परमेश्‍वर को हुनुहुन्छ? (ख) यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?

४९ को हुनुहुन्छ त्यो परमेश्‍वर जसले मानव दृष्टिकोणबाट असम्भव लाग्ने यी वरदानहरू दिने उद्देश्‍य रच्नु भएको छ? उहाँको नाम यहोवा हो। जस्तो उहाँको अद्‌भुत व्यक्‍तित्व त्यस्तै उहाँको नामको अर्थ। यहोवाको अर्थ हो, ‘उहाँ नै अस्तित्वको कर्ता’ उहाँ (आफ्नो प्रतिज्ञाहरू अर्थात्‌ उद्देश्‍यहरूको) पूर्तिकर्ता हुनुहुन्छ। यसकारण, जीवित र सत्य परमेश्‍वरलाई मात्र यसप्रकारको नाम सुहाउँछ। यहोवाको विषयमा बाइबलले यसो भन्दछ: “ परमप्रभुनै [यहोवा न्युव] परमेश्‍वर हुनुहुन्छ भनि जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं। हामी उहाँका प्रजा, र उहाँका खर्कका भेड़ाहरु हौं। परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैंभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ।—भजनसंग्रह १००:३, ५.

५०. यहोवा पक्षपात गर्ने परमेश्‍वर किन हुनुहुन्‍न?

५० यहोवा भलो र अति कृपालु हुनुहुन्छ। यसैकारण उहाँले तपाईं र तपाईंको परिवारको लागि यतिका महिमायुक्‍त भविष्य सम्भव पारिदिनु भएको छ। र एक समझदार मानिसले पनि एकचोटी यसो भन्‍नुभयो: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरुको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

५१. यी मुख्य विषयहरूसँग सम्बन्धित अरू प्रश्‍नहरूको जवाफ कसरी पाउन सक्नुहुन्छ?

५१ तर यी असल प्रतिज्ञाहरूबाट आनन्द कहिले उठाउने? सारा पृथ्वीभरि एउटा वैकुण्ठको स्थापना कसरी हुने? यी प्रश्‍नहरूका जवाफ पाउन तपाईंले पवित्र बाइबलको व्यक्‍तिगत अध्ययन र जाँच गर्नुहोस्‌। साथसाथै, तपाईं बसोबास गर्नुभएको इलाकाका यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌। होइन भने यस पुस्तिकाका प्रकाशकहरूसँग पत्र व्यवहार गर्नुहोस्‌। तपाईंको चित्तबुझ्ने गरी यी मुख्य विषयहरूबारे निःशुल्क छलफलको प्रबन्ध गर्न सकिन्छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भाषाको गोलमालले गर्दा मानिसहरूको बास सराई

बाबेल

अफ्रिका

भारत

[पृष्ठ ४-मा भएका चित्र]

प्रथम पुरुष माटोबाट सृष्टि भयो

[पृष्ठ ६-मा भएका चित्र]

एउटा मानव करंगबाट प्रथम स्त्रीको सृष्टि भयो

[पृष्ठ १०-मा भएका चित्र]

रोज्ने स्वतन्त्रता: परमेश्‍वरको आज्ञा पालन गर्ने वा नगर्ने

[पृष्ठ १३-मा भएका चित्र]

असिद्ध अस्तित्व

[पृष्ठ १४-मा भएका चित्र]

प्रतिज्ञाको सन्तानले सर्पको शिर कुच्याउनेछ

[पृष्ठ २०-मा भएका चित्र]

वर्णसंकर राक्षसहरूले ख्याति प्राप्त गरे

[पृष्ठ २९-मा भएको पृष्ठभरिको चित्र]