सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३

चित्त दुख्दा​—“कसैको विरुद्धमा केही गुनासो छ भने”

चित्त दुख्दा​—“कसैको विरुद्धमा केही गुनासो छ भने”

“मण्डलीको एक जना बहिनीले मलाई उहाँको पैसा चोरेको दोष लगाउनुभयो। मण्डलीको अरूले पनि यो कुरा थाह पाए र कसै-कसैले उहाँकै पक्ष लिन थाले। तर पछि उक्‍त बहिनीले म निर्दोष छु भनेर प्रमाणित गर्ने केही कुरा थाह पाएको बताउनुभयो। उहाँले मसित माफी माग्नुभए तापनि मैले भोग्नुपरेको पीडा सम्झँदा उहाँलाई कहिल्यै क्षमा दिन सक्दिनँ जस्तो लाग्यो।”—लिन्डा।

के तपाईँलाई पनि कुनै सङ्‌गी विश्‍वासीको व्यवहारले गर्दा लिन्डालाई जस्तै गहिरो चोट पुगेको छ? दुःखको कुरा, अरूको व्यवहारले गर्दा कोही-कोहीलाई यति ठूलो चोट पुगेको छ कि यसले तिनीहरूको आध्यात्मिक तालिकालाई नै असर गरेको छ। तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ कि?

कसैले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्छ र?

हो, ख्रिष्टियनहरूले आपसमा प्रेम गर्नुपर्छ। (युहन्‍ना १३:३४, ३५) तर सङ्‌गी विश्‍वासीले गर्दा हाम्रो चित्त दुखेको छ भने क्षमा दिन गाह्रो हुन सक्छ। आफ्नै भाइबहिनीले अन्यायपूर्ण व्यवहार गर्दा हामीले भोग्ने पीडा र निराशा वर्णनै गर्न सकिँदैन।—भजन ५५:१२.

कुनै-कुनै अवस्थामा ख्रिष्टियनहरूले एकअर्कालाई “गुनासो” गर्ने कारण दिइरहेका हुन्छन्‌ भनेर बाइबल मानिलिन्छ। (कलस्सी ३:१३) तर त्यस्तो अवस्था हामी आफैमाथि आइपर्दा त्यो सहन धेरै गाह्रो हुन सक्छ। यस्तो बेला हामीलाई मदत गर्न सक्ने केही कुरा छ कि? बाइबलबाट तीन वटा सिद्धान्त विचार गरौँ:

स्वर्गमा हुनुहुने हाम्रो बुबालाई सबै कुरा थाह छ। हामीले सामना गरिरहेको अन्याय र त्यसले गर्दा हामीले भोग्नुपरेको दुःखलगायत अरू कुनै पनि कुरा यहोवा परमेश्‍वरको नजरबाट लुक्न सक्दैन। (हिब्रू ४:१३) यसबाहेक उहाँ हाम्रो पीडा बुझ्नुहुन्छ। (यसैया ६३:९) ‘सङ्‌कष्ट, वेदना’ वा अरू केही कुराले, उहाँकै कुनै सेवकले समेत ‘उहाँको प्रेमबाट हामीलाई अलग पारेको’ परमेश्‍वर कहिल्यै चाहनुहुन्‍न। (रोमी ८:३५, ३८, ३९) त्यसैले हामीले पनि कुनै कुराले वा कुनै मानिसले गर्दा आफूलाई परमेश्‍वरबाट अलग हुनदिनु हुँदैन।

क्षमा दिनु भनेको गल्तीप्रति आँखा चिम्लिनु होइन। हामीसित अन्यायपूर्ण व्यवहार गर्ने व्यक्‍तिलाई क्षमा दिनुको अर्थ तिनको गल्तीलाई हल्का बनाउनु, बेवास्ता गर्नु वा गल्तीप्रति आँखा चिम्लिनु होइन। यहोवा परमेश्‍वरलाई कुनै पाप स्वीकार्य छैन तर क्षमा दिने आधार छ भने उहाँ क्षमा दिनुहुन्छ। (भजन १०३:१२, १३; हबकुक १:१३) उहाँ हामीलाई क्षमा दिन भन्‍नुहुँदा उहाँको अनुकरण गर्न आग्रह गर्दै हुनुहुन्छ। उहाँ ‘सधैँ रिस पालेर राख्नुहुन्‍न।’—भजन १०३:९; मत्ति ६:१४.

रिस पालेर राखेनौँ भने हामीलाई नै फाइदा हुन्छ। कुन तरिकामा? यो दृश्‍य कल्पना गर्नुहोस्‌। तपाईँ एउटा ढुङ्‌गा टिपेर आफ्नो हत्केलामा राख्नुहुन्छ। केही समय त तपाईँ सजिलै त्यो ढुङ्‌गा बोक्न सक्नुहुन्छ। तर तपाईँले धेरैबेर त्यो ढुङ्‌गा बोक्न खोज्नुभयो भने नि? तपाईँ कतिन्जेल बोक्न सक्नुहुन्छ? केही मिनेट? एक घण्टा वा त्योभन्दा लामो समय? हात गल्छ नि, होइन र? त्यो ढुङ्‌गाको तौल बढ्‌ने त होइन। तर त्यो ढुङ्‌गा जति लामो समय बोक्नुहुन्छ, तपाईँलाई त्यति नै गह्रौँ लाग्नेछ। रिस पालेर राख्ने कुरा पनि त्यस्तै हो। हामीलाई जति नै सानो कुराले गर्दा रिस उठेको किन नहोस्‌, त्यसलाई जति लामो समयसम्म पालेर राख्छौँ, त्यति नै गाह्रो हुन्छ। त्यसैले यहोवा परमेश्‍वरले हामीलाई रिस पालेर नराख्न भन्‍नुभएको कारण हामी बुझ्न सक्छौँ। रिस पालेर राखेनौँ भने हाम्रै भलाइ हुन्छ।—हितोपदेश ११:१७.

रिस पालेर राखेनौँ भने हामीलाई नै फाइदा हुन्छ

“यहोवा परमेश्‍वर नै मसित कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो”

मण्डलीकै बहिनीले आफूसित अन्यायपूर्ण व्यवहार गर्दा रिस पालेर नराख्न लिन्डालाई कुन कुराले मदत गऱ्‍यो? तिनलाई मदत गरेको एउटा कुरा भनेको तिनले क्षमा दिनुपर्ने धर्मशास्त्रीय कारणहरूबारे मनन गरिन्‌। (भजन १३०:३, ४) हामीले अरूलाई क्षमा दिँदा यहोवा पनि हामीलाई क्षमा दिनुहुन्छ भनेर मनन गर्दा लिन्डा क्षमा दिन उत्प्रेरित भइन्‌। (एफिसी ४:३२–५:२) यसबारे लिन्डा आफ्नो भावना यसरी पोख्छिन्‌: “यहोवा परमेश्‍वर नै मसित कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो।”

समय बित्दै जाँदा लिन्डा आफ्नो मनबाट रिसको भावना हटाउन सफल भइन्‌। तिनले उक्‍त बहिनीलाई मनैदेखि क्षमा दिइन्‌ र उनीहरू मिल्ने साथी भए। लिन्डा यहोवा परमेश्‍वरको सेवामा लागिरहन उत्प्रेरित भइन्‌। उहाँ तपाईँलाई पनि त्यसरी नै मदत दिन तयार हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌।