सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ५

‘आफ्नो गोठालो अनि तपाईँको जीवनको रेखदेख गर्नेकहाँ’ फर्कनुहोस्‌

‘आफ्नो गोठालो अनि तपाईँको जीवनको रेखदेख गर्नेकहाँ’ फर्कनुहोस्‌

यस पुस्तिकामा छलफल गरिएका चुनौतीहरूमध्ये कुनै के तपाईँ पनि सामना गर्दै हुनुहुन्छ? त्यसो हो भने त्यस्तो चुनौती सामना गरिरहनुभएको तपाईँ मात्र त हुनुहुन्‍न। बाइबल समयका र हाम्रो समयका थुप्रै वफादार सेवकले यस्ता चुनौतीहरू सामना गरेका छन्‌। यहोवाले तिनीहरूलाई जस्तै तपाईँलाई पनि मदत गर्नुहुनेछ।

तपाईँ यहोवाकहाँ फर्कँदा उहाँ तपाईँको साथमा हुनुहुनेछ

तपाईँ यहोवाकहाँ फर्कँदा उहाँ तपाईँको साथमा हुनुहुनेछ भनेर निर्धक्क हुनुहोस्‌। उहाँले तपाईँलाई चिन्ता-फिक्रीको सामना गर्न, कसैले गर्दा चित्त दुखेको छ भने त्यस्तो भावना हटाउन र अन्तस्करण सफा हुँदा प्राप्त हुने मनोशान्ति पाउन मदत गर्नुहुनेछ। त्यसपछि तपाईँ दाजुभाइ दिदीबहिनीसँगै फेरि यहोवाको सेवा गर्न उत्प्रेरित हुन सक्नुहुन्छ। तपाईँको अवस्था प्रथम शताब्दीका केही ख्रिष्टियनहरूको जस्तै हुनेछ। प्रेषित पत्रुसले तिनीहरूलाई यस्तो लेखे: “तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।”—१ पत्रुस २:२५.

यहोवाकहाँ फर्कने तपाईँको निर्णय तपाईँको जीवनकै सबैभन्दा उत्तम निर्णय हुनेछ। किन? किनभने तपाईँले यहोवाको हृदयलाई खुसी बनाउनुहुनेछ। (हितोपदेश २७:११) तपाईँलाई थाहै छ, यहोवा भावनाहरू भएको परमेश्‍वर हुनुहुन्छ। त्यसैले हाम्रो कामले उहाँलाई खुसी वा दुःखी बनाउन सक्छ। तर यहोवा उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न हामीलाई जबरजस्ती गर्नुहुन्‍न। (व्यवस्था ३०:१९, २०) एक जना बाइबलविद्‌ले यसो भने: “मानिसहरूको हृदयको ढोका बाहिरबाट खोल्ने कुनै ह्‍यान्डल हुँदैन। यसलाई भित्रबाटै खोल्नुपर्ने हुन्छ।” प्रेमले भरिएको हृदयले यहोवाको उपासना गरेर हामी आफै त्यो ढोका खोल्ने छनौट गर्न सक्छौँ। यसो गर्दा हामीले उहाँलाई एउटा बहुमूल्य उपहार दिइरहेका हुन्छौँ। त्यो हो, हाम्रो सत्यनिष्ठा। साथै हामीले उहाँको हृदयलाई खुसी बनाइरहेका हुन्छौँ। यहोवा परमेश्‍वर हाम्रो उपासनाको हकदार हुनुहुन्छ। उहाँको उपासना गर्दा हामीले अनुभव गर्ने आनन्दलाई कुनै कुरासित तुलना गर्न सकिँदैन।—प्रेषित २०:३५; प्रकाश ४:११.

यसबाहेक तपाईँले ख्रिष्टियन गतिविधि फेरि सुरु गर्नुहुँदा तपाईँको आध्यात्मिक आवश्‍यकता पूरा हुनेछ। (मत्ति ५:३) कुन तरिकामा? संसारभरिका मानिसहरू यस्तो सोच्ने गर्छन्‌, ‘हामी यहाँ किन छौँ?’ तिनीहरू जीवनको उद्देश्‍यबारे आफ्नो मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउन चाहन्छन्‌। यहोवा परमेश्‍वरले मानिसहरूलाई आध्यात्मिक आवश्‍यकतासहित सृष्टि गर्नुभएको छ। उहाँको सेवा गर्दा मात्र हाम्रो त्यो आवश्‍यकता पूरा हुने तरिकामा उहाँले हामीलाई बनाउनुभएको छ। प्रेमले ओतप्रोत भई यहोवाको उपासना गर्दै छु भन्‍ने कुरा थाह पाउँदा महसुस हुने सन्तुष्टि अरू कुनै कुराले दिन सक्दैन।—भजन ६३:१-५.

तपाईँ यहोवाकहाँ फर्केको उहाँ चाहनुहुन्छ। यस कुरामा तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ? नबिर्सनुहोस्‌, यो पुस्तिका प्रार्थनापूर्वक र राम्ररी विचार गरेर तयार पारिएको हो। सायद यस पुस्तिकाबारे तपाईँलाई कुनै एल्डर वा कुनै भाइबहिनीले बताएका हुन सक्छन्‌। त्यसपछि तपाईँ यो पुस्तिका पढ्‌न र यसमा भनिएअनुसार गर्न उत्प्रेरित हुनुभयो। यो यहोवाले तपाईँलाई बिर्सनुभएको छैन भन्‍ने कुराको प्रमाण हो। उहाँ कोमलतासाथ तपाईँलाई आफूतर्फ खिच्दै हुनुहुन्छ।—युहन्‍ना ६:४४.

आफ्नो हराएको सेवकलाई यहोवा कहिल्यै बिर्सनुहुन्‍न भन्‍ने कुरा थाह पाउनु सान्त्वनादायी छ। डना नाम गरेकी एउटी बहिनीले पनि यो कुरा बुझिन्‌। तिनी भन्छिन्‌: “म बिस्तारै यहोवाबाट तर्किएँ। तर म अक्सर भजन १३९:२३, २४ का शब्दहरू सम्झिने गर्थेँ। त्यहाँ यसो भनिएको छ: ‘हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता थाह पाउनुहोस्‌। मलाई हानिकारक मार्गमा लैजाने कुनै कुरा ममा छ कि, हेर्नुहोस्‌ अनि मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌।’ म संसारको होइनँ भनेर मलाई थाह थियो। म कहिल्यै पनि संसारको तौरतरिकामा घुलमिल हुन सकिनँ। किनकि म हुनुपर्ने ठाउँ यहोवाको सङ्‌गठन नै हो भनेर मलाई थाह थियो। यहोवाले मलाई कहिल्यै त्याग्नुभएको थिएन भनेर मैले बुझ्न थालेँ; केवल मैले उहाँकहाँ फर्कने मार्ग भेट्टाउनुपर्ने थियो। म उहाँकहाँ फर्केकोमा साह्रै खुसी छु!”

“यहोवाले मलाई कहिल्यै त्याग्नुभएको थिएन भनेर मैले बुझ्न थालेँ; केवल मैले उहाँकहाँ फर्कने मार्ग भेट्टाउनुपर्ने थियो”

तपाईँले फेरि “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द” अनुभव गर्न सकोस्‌ भनेर हामी मनैदेखि प्रार्थना गर्छौँ। (नहेम्याह ८:१०) यहोवाकहाँ फर्कँदा तपाईँ कहिल्यै पछुताउनुपर्ने छैन।