सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचालक निकायको पत्र

परिचालक निकायको पत्र

प्रिय सङ्‌गी विश्‍वासी:

बाइबल मानिसहरूबारे लेखिएको किताब हो भनेर तपाईँलाई थाहै छ। तिनीहरूमध्ये धेरै जना वफादार पुरुष र स्त्रीहरू थिए, जसले हामीले जस्तै चुनौतीहरू सामना गरे। तिनीहरूको “हाम्रो जस्तै भावना” थियो। (याकुब ५:१७) तिनीहरूमध्ये कोही-कोही चिन्ता-फिक्री र समस्याहरूले दबिएका थिए। अरूले भने परिवारका सदस्यहरू र सङ्‌गी उपासकहरूले गर्दा गहिरो चोट खाएका थिए। केहीलाई भने आफ्नै गल्तीहरूको कारण दोषी भावनाले पिरोलेको थियो।

के तिनीहरूले यहोवालाई सधैँभरिको लागि त्यागे? अहँ, त्यागेनन्‌। तिनीहरूमध्ये धेरै यसरी प्रार्थना गर्ने भजनरचयिताजस्तै थिए: “हराएको भेडाले जस्तै मैले बाटो बिराएको छु। आफ्नो सेवकलाई खोज्नुहोस्‌ किनकि मैले तपाईँका आज्ञाहरू बिर्सेको छैनँ।” (भजन ११९:१७६) के तपाईँ यी शब्दहरूको मर्म बुझ्नुहुन्छ?

यहोवा बगालबाट तर्केर गएका आफ्ना उपासकहरूलाई कहिल्यै बिर्सनुहुन्‍न। बरु उहाँ अक्सर आफ्ना अरू उपासकहरूलाई चलाएर तिनीहरूलाई मदत गर्न अग्रसर हुनुहुन्छ। यहोवाले आफ्नो सेवक अय्युबलाई कसरी मदत गर्नुभयो, विचार गर्नुहोस्‌। तिनले थुप्रै विपत्ति भोगे, जस्तै: तिनले आफ्नो सबै धनसम्पत्ति र छोराछोरी गुमाए अनि एउटा गम्भीर रोगको सिकार भए। साथै यस्तो गाह्रो अवस्थामा तिनले जसबाट साथ पाउनुपर्ने थियो, तिनीहरूबाटै चित्त दुख्ने शब्दहरू सुन्‍नुपऱ्‍यो। तिनले केही समय गलत सोचाइ राखेको भए तापनि तिनले यहोवालाई कहिल्यै पिठ्यूँ फर्काएनन्‌। (अय्युब १:२२; २:१०) यहोवाले तिनलाई गलत सोचाइ हटाउन कसरी मदत गर्नुभयो?

एउटा तरिका भनेको अय्युबलाई मदत गर्न यहोवाले आफ्नो एक जना उपासक एलिहुलाई प्रयोग गर्नुभयो। अय्युबले आफ्नो भावना पोखाउँदा एलिहुले सुने र प्रोत्साहन दिन अग्रसर भए। उनले के भन्‍ने थिए? के उनले अय्युबको आलोचना गर्ने थिए अथवा तिनलाई दोषी महसुस गराउने थिए वा लाजमा पार्ने थिए? के एलिहुले आफूलाई अय्युबभन्दा श्रेष्ठ सम्झे? अहँ, पटक्कै सम्झेनन्‌! यहोवाको पवित्र शक्‍तिले उत्प्रेरित भएर एलिहुले यसो भने: “परमेश्‍वरको नजरमा म पनि तपाईँजस्तै छु। म पनि माटोबाटै बनाइएको हुँ।” त्यसपछि उनले अय्युबलाई यसरी आश्‍वासन दिए: “तपाईँ मसित रतीभर डराउनुपर्दैन। मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्‌।” (अय्युब ३३:६, ७) अय्युबको पीडा झनै बढाउनुको सट्टा एलिहुले तिनलाई मायालु तरिकामा चाहिएकै सल्लाह र प्रोत्साहन दिए।

हामीले पनि यही तरिकामा यो पुस्तिका तयार पारेका हौँ। सुरुमा हामीले मण्डलीबाट तर्केर गएका केहीको कुरा ध्यान दिएर सुन्यौँ अनि तिनीहरूको अवस्था र तिनीहरूले व्यक्‍त गरेका कुराहरूलाई राम्ररी विचार गऱ्‍यौँ। (हितोपदेश १८:१३) त्यसपछि हामीले बाइबल पल्टायौँ अनि विगतमा यस्तै अवस्थाको सामना गरेका आफ्ना उपासकहरूलाई यहोवाले मदत गर्नुभएको विवरणहरू प्रार्थनापूर्वक जाँच्यौँ। अन्तमा हामीले ती विवरणहरूलाई आधुनिक समयका अनुभवहरूसँग मिलाएर यो पुस्तिका तयार पाऱ्‍यौँ। हामी तपाईँलाई यो पुस्तिका जाँच्न आग्रह गर्छौँ। हामी तपाईँलाई माया गर्छौँ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

यहोवाका साक्षीहरूको परिचालक निकाय