सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १

“हराएकाहरूलाई म खोजेर ल्याउनेछु”

“हराएकाहरूलाई म खोजेर ल्याउनेछु”

भेडा आत्तिएको छ। चर्दाचर्दै त्यो भेडा बगालबाट छुट्टिन पुगेछ। त्यो भेडाले न त बगाललाई देख्न सक्छ न गोठालोलाई। रात पर्नै लागेको छ। सिकारीहरू पनि घुम्ने त्यस बेँसीमा त्यो भेडा बेसहारा भएको छ। तर अचानक त्यो भेडाले चिनेको स्वर सुन्छ। त्यो स्वर गोठालोको रहेछ! ती गोठालो भेडा भएतिर हतारिँदै आउँछन्‌, त्यसलाई बोकेर आफ्नो खास्टो ओढाइदिन्छन्‌ र घर लैजान्छन्‌।

यहोवा परमेश्‍वरले आफूलाई पटक-पटक त्यस्तो गोठालोसित तुलना गर्नुभएको छ। उहाँले आफ्नो वचन बाइबलमा यस्तो आश्‍वासन दिनुभएको छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।”—इजकिएल ३४:११, १२.

“मैले हेरचाह गरेका भेडाहरू”

यहोवाका भेडाहरू को हुन्‌? सरल भाषामा भन्‍ने हो भने, यहोवाका भेडाहरू भनेको उहाँलाई प्रेम गर्ने र उहाँको उपासना गर्ने मानिसहरू हुन्‌। बाइबल यसो भन्छ: “हामी उहाँको उपासना गरौँ र उहाँलाई दण्डवत्‌ गरौँ; हाम्रा रचनाकार यहोवासामु घुँडा टेकौँ। किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ अनि हामी उहाँको खर्कका बगाल हौँ, उहाँले ख्याल राख्नुहुने मानिसहरू।” (भजन ९५:६, ७) भेडाहरू आफ्नो गोठालोको पछिपछि लागेजस्तै यहोवा परमेश्‍वरका उपासकहरू पनि उत्सुक हुँदै आफ्नो गोठालो यहोवाको पछिपछि लाग्छन्‌। तर के उहाँका ती उपासकहरू त्रुटिरहित छन्‌? छैनन्‌। तिनीहरू पनि कहिलेकाहीँ “हराएको भेडा” र “बाटो बिराएका भेडाहरूजस्तै” भएका छन्‌। (इजकिएल ३४:१२; मत्ति १५:२४; १ पत्रुस २:२५) आफ्नो सेवक तर्केर गए तापनि कुनै दिन तिनी फर्कनेछन्‌ भनेर यहोवा सधैँ आशा गर्नुहुन्छ।

के तपाईँलाई यहोवा अझै पनि तपाईँको गोठालो हुनुहुन्छ जस्तो लाग्छ? आज पनि यहोवाले आफू गोठालो भएको कुरा कसरी प्रमाणित गर्नुभएको छ? तीन वटा तरिका विचार गर्नुहोस्‌:

उहाँ हामीलाई आध्यात्मिक रूपमा खुवाउनुहुन्छ। यहोवा भन्‍नुहुन्छ: “म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। . . . तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्‌ र तिनीहरूले . . . हरिया-हरिया घाँस खानेछन्‌।” (इजकिएल ३४:१४) यहोवाले हामीलाई समय सुहाउँदो र स्फूर्ति दिने किसिम-किसिमका आध्यात्मिक भोजन दिइरहनुभएको छ। के तपाईँलाई कुनै लेख, भाषण वा भिडियो आफ्नो प्रार्थनाको जवाफ जस्तो लागेको थियो? यहोवा तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा के त्यसले तपाईँलाई विश्‍वस्त बनाएको थिएन र?

उहाँ हाम्रो रक्षा गर्नुहुन्छ र हामीलाई साथ दिनुहुन्छ। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “[म] बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु।” (इजकिएल ३४:१६) यहोवा कमजोरहरूलाई र चिन्ता-फिक्रीमा डुबेकाहरूलाई बलियो पार्नुहुन्छ। साथै सायद सङ्‌गी विश्‍वासीले गर्दा आफ्नो कुनै सेवकको मनमा चोट लागेको छ भने उहाँ तिनलाई मलहमपट्टी लगाइदिनुहुन्छ। बाटो बिराएका र नकारात्मक भावनासित सङ्‌घर्ष गरिरहेकाहरूलाई उहाँ फर्काएर ल्याउनुहुन्छ।

उहाँ हामीप्रति जिम्मेवार महसुस गर्नुहुन्छ। यहोवा भन्‍नुहुन्छ: “हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु। हराएकाहरूलाई म खोजेर ल्याउनेछु।” (इजकिएल ३४:१२, १६) भेडा हराएको उहाँलाई थाह हुन्छ अनि उहाँ त्यसलाई खोज्न निस्कनुहुन्छ र भेट्टाएपछि रमाउनुहुन्छ। (मत्ति १८:१२-१४) हुन पनि उहाँ आफ्ना साँचो उपासकहरूलाई “मेरो बगाल, मैले हेरचाह गरेका भेडाहरू” भन्‍नुहुन्छ। (इजकिएल ३४:३१) तपाईँ पनि ती भेडाहरूमध्ये एक हुनुहुन्छ।

यहोवा परमेश्‍वर आफ्नो भेडा हराए पनि आशा मार्नुहुन्‍न। त्यो भेडा भेट्टाउँदा उहाँ रमाउनुहुन्छ

“हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्‌”

यहोवा किन तपाईँलाई खोज्दै हुनुहुन्छ र उहाँकहाँ फर्कन भन्‍नुहुन्छ? किनकि उहाँ तपाईँ आनन्दित भएको चाहनुहुन्छ। उहाँ आफ्नो भेडामाथि ‘झरीजस्तै आशिष्‌ बर्साउने’ प्रतिज्ञा गर्नुहुन्छ। (इजकिएल ३४:२६) तर यो खोक्रो प्रतिज्ञा होइन। उहाँले यो प्रतिज्ञा पूरा गर्नुभएको तपाईँ आफैले अनुभव गर्नुभएको छ।

यहोवालाई चिन्‍न थाल्दा तपाईँले बटुलेका अनुभवहरू सम्झनुहोस्‌। जस्तै, परमेश्‍वरको नामबारे सत्य कुरा र मानिसको लागि उहाँको उद्देश्‍य थाह पाउँदा तपाईँलाई कस्तो लागेको थियो? सम्मेलन तथा अधिवेशनमा भाइबहिनीसँगै भेला हुँदा कत्ति स्फूर्ति पाउनुहुन्थ्यो के तपाईँले सम्झनुभएको छ? साँचो चासो देखाएकाहरूलाई सुसमाचार सुनाउन पाउँदा तपाईँ कत्ति खुसी र सन्तुष्ट भएर घर फर्कनुहुन्थ्यो, के तपाईँलाई याद छ?

तपाईँ यस्तो आनन्द फेरि अनुभव गर्न सक्नुहुन्छ। पुरातन समयका परमेश्‍वरका सेवकहरूले यस्तो प्रार्थना गरे: “हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्‌; हामी राजीखुसीले तपाईँकहाँ फर्कनेछौँ। हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्‌।” (विलाप ५:२१) यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। तिनीहरू उहाँकहाँ फर्के र फेरि आनन्दित भई उहाँको सेवा गर्न थाले। (नहेम्याह ८:१७) यहोवा तपाईँलाई पनि त्यसरी नै मदत गर्न इच्छुक हुनुहुन्छ।

तर यहोवाकहाँ फर्कने कुरा भनेजस्तो सजिलो छैन। फर्कने क्रममा कस्ता चुनौतीहरू आइपर्न सक्छन्‌ र तीमाथि तपाईँ कसरी विजयी हुन सक्नुहुन्छ, आउनुहोस्‌ विचार गरौँ।