सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

“तर तपाईंको राय के हो? सो तपाईंबाट सुन्‍नचाहन्छौं। किनकि यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌।” (प्रेरित २८:२२) प्रथम शताब्दीमा, रोमी समाजका यी अगुवाहरूले एउटा असल उदाहरण छोडेर गएका छन्‌। उहाँहरूले बाहिरी आलोचकहरूका कुरा मात्र सुन्‍न चाहेनन्‌। उहाँहरूले खास मूलबाट नै कुरा सुन्‍ने मन गरे।

त्यसै गरी, आज यहोवाका साक्षीहरूको विरुद्धमा मानिसहरू जताततै बोल्दछन्‌। अब यी विरोधी र पक्षपातजनक स्रोतहरूबाट तपाईंले कहिल्यै पनि यहोवाका साक्षीहरूबारे सत्य कुरा थाह गर्नसक्नु हुनेछैन। यसैकारण, हाम्रो केही मुख्य विश्‍वासहरू स्वयम्‌ हामी तपाईंलाई बताउन चाहन्छौं।

बाइबल, येशू ख्रीष्ट अनि परमेश्‍वर

“धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो र . . . उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) हामी यो विश्‍वास गर्छौं। तर कसैकसैले हामी मसीही होइनौं भन्छन्‌। यो सत्य होइन। येशू ख्रीष्टको विषयमा प्रेरित पत्रुसले दिनुभएको यो गवाही हामी पूर्णतया स्वीकार्छौं: “स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।”—प्रेरित ४:१२.

तर येशूले उहाँ “परमेश्‍वरको पुत्र” हुनुहुन्छ र “पिताले मलाई पठाउनु भयो” भन्‍नुभएको थियो। यसकारण यहोवाका साक्षीहरूले येशूभन्दा पिता महान्‌ हुनुहुन्छ भनेर विश्‍वास गर्छन्‌। (यूहन्‍ना १०:३६; ६:५७) स्वयम्‌ येशूले “पिता म भन्दा महान्‌ हुनुहुन्छ” भनेर स्वीकार्नुभयो। (यूहन्‍ना १४:२८; ८:२८) यसले गर्दा, येशू र उहाँको पिता बराबर हुन्‌ भन्‍ने त्रिएकको शिक्षामाथि हामी विश्‍वास गर्दैनौं। बरु, परमेश्‍वरले येशूलाई सृष्टि गर्नुभएको थियो र येशू परमेश्‍वरको अधीनमा हुनुहुन्छ भनेर हामी विश्‍वास गर्छौं।—कलस्सी १:१५; १ कोरिन्थी ११:३.

अंग्रेजी भाषामा परमेश्‍वरको नाउँ यहोवा हो। बाइबलमा नै यी शब्दहरू पाउँछौं, “तपाईं जसको नाउँ यहोवा हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८, किङ जेम्स भर्सन) यही घोषणाको समर्थन गर्नहुँदै, येशूले पनि परमेश्‍वरको नाउँलाई ठूलो महत्त्व दिनुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” साथै, उहाँ स्वयम्‌ले पनि परमेश्‍वरसँग प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो ‘तपाईंले मलाई दिनुभएका मनिसहरूलाई मैले तपाईंको नाउँ प्रकट गरिदिएँ।’—मत्ती ६:९; यूहन्‍ना १७:६.

येशूले गर्नुभएझैं, अरूहरूलाई परमेश्‍वरको नाउँ र उद्देश्‍य बताउनुपर्छ भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। तसर्थ, हामी आफूलाई यहोवाका साक्षी भन्छौं। हामीले यसो गर्दा, “विश्‍वासी साक्षी” येशूको अनुकरण गर्छौं। (प्रकाश १:५; ३:१४) यशैया ४३:१० मा पनि परमेश्‍वरको प्रतिनिधित्व गर्ने जातिलाई यसो भनेर सम्बोधन गरिएको छ: “तिमीहरू मेरा साक्षी हौ र मैले चुनेका दास हौ।”

परमेश्‍वरको राज्य

येशूले आफ्ना चेलाहरूलाई “तपाईंको राज्य आओस्‌” भनेर प्रार्थना गर्न सिकाउनुभयो। परमेश्‍वरको राज्यलाई नै उहाँले आफ्नो शिक्षाको मुख्य विषय बनाउनुभयो। (मत्ती ६:१०; लूका ४:४३) यो राज्य एउटा वास्तविक स्वर्गीय सरकार हो जसले सारा पृथ्वीमाथि राज्य गर्नेछ अनि यो राज्यको अदृश्‍य राजा येशू नियुक्‍त हुनुभएको छ। यी जम्मै कुरामाथि यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। किनकि बाइबलले यसो भन्छ: “शासन उहाँको हातमा हुनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्तचाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७, किङ जेम्स भर्सन।

तर परमेश्‍वरको सरकारमा येशू एक मात्र राजा हुनुहुने छैन। स्वर्गमा उहाँसँग धेरै जना सहशासकहरू हुनेछन्‌। प्रेरित पावलले यसो भन्‍नुभएको छ: “हामीले सह्‍यौं भने उहाँसँग राज्य पनि गर्नेछौं।” (२ तिमोथी २:१२) ख्रीष्टसँग स्वर्गमा शासन गर्नको निम्ति पुनरुत्थान हुनेहरूको संख्या “पृथ्वीबाट किनिएका, अर्थात्‌ एक लाख चवालीस हजार” हुनेछन्‌ भनेर बाइबलले संकेत गर्दछ।—प्रकाश १४:१, ३.

सरकार भएपछि प्रजा पनि हुनुपर्छ। यसकारण, यी स्वर्गीय शासकहरू बाहेक अरू अरबौंले पनि अनन्त जीवन पाउनेछन्‌। यहोवाका साक्षीहरूको यो विश्‍वास हो। अन्ततोगत्वा, पृथ्वी एउटा सुन्दर प्रमोदवनमा परिणत हुनेछ। पृथ्वीभरि परमेश्‍वरको राज्यको योग्य प्रजाहरू हुनेछन्‌। ख्रीष्ट र उहाँका सहशासकहरूको अधीनमा सबैजना बस्नेछन्‌। पृथ्वी कहिल्यै पनि नष्ट हुनेछैन। यहोवाका साक्षीहरूको यो दृढ विश्‍वास हो। बाइबलमा दिइएको यो प्रतिज्ञा निश्‍चय पूरा हुनेछ: “धर्मात्माहरूले पृथ्वी अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९; १०४:५.

तर परमेश्‍वरको राज्य कसरी आउनेछ? सबै जातिहरू राजी खुसीसाथ परमेश्‍वरको सरकारको अधीनमा आएपछि मात्र परमेश्‍वरको राज्य आउने हो कि? होइन। परमेश्‍वरको राज्य आउनको निम्ति पृथ्वीको मामिलामा परमेश्‍वरले प्रत्यक्ष हस्तक्षेप गर्नुहुनेछ। किनकि बाइबलले यसो भन्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नु हुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

परमेश्‍वरको राज्य कहिले आउने हो? आज पूरा भइरहेको बाइबलका भविष्यवाणीहरूको आधारमा, परमेश्‍वरको राज्य चाँडै आउनेछ भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। यो दुष्ट रीतिरिवाजको आखिरी दिनहरूमा हुने घटनाहरूका केही भविष्यवाणीहरू तपाईं स्वयम्‌ जाँचेर हेर्नुहोस्‌। यी भविष्यवाणीहरू मत्ती २४:३-१४; लूका २१:७-१३, २५-३१; २ तिमोथी ३:१-५ मा दिइएका छन्‌।

हामी ‘यहोवा हाम्रो परमेश्‍वरलाई सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम’ गर्छौं र “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम” गर्छौं। यसैकारण, हामीमा जातपातको र सामाजिक फूट छैन। (मर्कूस १२:३०, ३१) हर जातिमा हाम्रो मसीही भाइहरू छन्‌। तिनीहरूको आपसमा भएको प्रेम संसारभरि प्रसिद्ध छ। (यूहन्‍ना १३:३५; १ यूहन्‍ना ३:१०-१२) जाति जातिको राजनीतिक मामिलामा हामी तटस्थ छौं। हामी येशूका प्राचीन चेलाहरूजस्तै हुने कोसिस गर्छौं। तिनीहरूको विषयमा येशूले यसो भन्‍नुभएको थियो, “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌।” (यूहन्‍ना १७:१६) हामी विश्‍वास गर्छौं कि संसारबाट अलग रहनुको अर्थ आजको अनैतिकता, झूटोपन, चोरी, व्यभिचार, पुरुषगामीहरू, रगतको गलत प्रयोग, मूर्तिपूजा र बाइबलमा निषेध गरिएका यस्ता अरू जम्मै कुराहरूबाट अलग रहनु हो।—१ कोरिन्थी ६:९-११; एफिसी ५:३-५; प्रेरित १५:२८, २९.

भविष्यको आशा

यहोवाका साक्षीहरूको विश्‍वासअनुसार आजको हाम्रो यो वर्तमान जीवन सबै कुरा होइन। मानिस परमेश्‍वरको सामने धर्मी ठहरोस्‌ र नयाँ रीतिरिवाजमा अनन्त जीवन पाओस्‌ भनेर यहोवाले ख्रीष्टलाई पृथ्वीमा पठाउनु भयो र ख्रीष्टले रगत बगाउनु भएर मानिसको निम्ति मुक्‍ति मूल्य तिर्नुभयो। येशूको एक जना प्रेरितले भन्‍नुभएझैं: “अब उहाँको रगतले धर्मी ठहरिए[का]” छौं। (रोमी ५:९, मत्ती २०:२८) यो मुक्‍ति मूल्य तिर्ने प्रबन्ध गरिदिनुभएको लागि यहोवाका साक्षीहरू यहोवा र उहाँको पुत्रतर्फ धेरै नै आभारी छन्‌। किनकि यो मुक्‍ति मूल्यद्वारा नै भविष्यमा जीवन पाउन सम्भव भएको छ।

परमेश्‍वरको राज्यमुनि मरेकाहरूले पुनरुत्थानद्वारा फेरि भविष्यमा जीवन पाउने छन्‌। यस विषयमा यहोवाका साक्षीहरू पूर्णतया विश्‍वास गर्छन्‌। बाइबलको शिक्षाअनुसार मानिस मरेपछि उसको अस्तित्व खतम हुन्छ र “त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन १४६:३, ४; इजकिएल १८:४; उपदेशक ९:५) बाइबलको यो शिक्षामा पनि यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। किनकि, हो, मरेकाहरूले भविष्यमा फेरि जीवन पाउने आधार परमेश्‍वरको स्मरण शक्‍ति र पुनरुत्थान हो।—यूहन्‍ना ५:२८, २९.

तर साथसाथै, जसरी नूह र उसको परिवारले जलप्रलय जिउँदै पार गरे, त्यसै प्रकार, परमेश्‍वरको राज्यले वर्तमान सरकारहरू नष्ट गर्दा, बाँच्ने धेरै हुनेछन्‌। तिनीहरू जिउँदै एउटा सफा पृथ्वीमा प्रवेश गर्नेछन्‌ र सधैंभरि बाँच्नेछन्‌। (मत्ती २४:३६-३९; २ पत्रुस ३:५-७, १३) यसबारे पनि यहोवाका साक्षीहरू पूर्णतया निश्‍चित छन्‌। तर बाँच्ने हो भने यहोवाका आवश्‍यकताहरू पूरा गर्नुपर्छ भनेर हामी विश्‍वास गर्छौं। किनभने बाइबलले यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७; भजन ३७:११; प्रकाश ७:९, १३-१५; २१:१-५.

अवश्‍य, यहोवाका साक्षीहरूले विश्‍वास गर्ने जम्मै कुराहरू यस पर्चाभित्र छलफल गर्नु सम्भव छैन। तर आउनुहोस्‌, यस विषयमा थप जानकारी लिनुहोस्‌। हामी तपाईंलाई निम्त्याउँछौं।

अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामी स्वयम्‌लाई यहोवाका साक्षी भन्छौं किनभने हामी येशूको उदाहरण अनुसरण गर्छौं