सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको उद्देश्‍य अहिले चरमबिन्दुमा पुग्दैछ

परमेश्‍वरको उद्देश्‍य अहिले चरमबिन्दुमा पुग्दैछ

परमेश्‍वरको उद्देश्‍य अहिले चरमबिन्दुमा पुग्दैछ

एउटा धार्मिक वातावरणमा जीवन बिताउने आनन्दित मानिसहरूले पृथ्वीलाई भर्नु नै पृथ्वी सृष्टि गर्नु हुँदा परमेश्‍वरको उद्देश्‍य थियो। तर सधैं नै जीवित रहनका लागि मानवजातिले परमेश्‍वरका नियमहरू मान्‍नु पर्ने थियो। तथापि प्रथम जोडी अनाज्ञाकारी भइदिएका हुनाले तिनीहरू पापी भए र मृत्युदण्ड पाए। यसो हुँदा तिनीहरूको सारा सन्तानमाथि पाप र मृत्यु ल्यायो।—उत्पत्ति १:२७, २८; २:१६, १७; ३:१-१९; रोमी ५:१२.

परमेश्‍वर, जसको नाउँ यहोवा हो, उहाँले पृथ्वीबाट अनाज्ञाकारीता र पापको प्रभाव हटाउने दृढ फैसला गर्नुभयो। समयमा उहाँले पृथ्वीमा मानवजातिमध्ये एकजना विश्‍वासी मानिस अब्राम देख्नुभयो जसको उहाँले पछि नाउँ बदलनु भएर अब्राहाम राख्नुभयो। अब्राहामको सन्तान एउटा ठूलो राष्ट्र हुनेछ। त्यही राष्ट्रबाट एउटा सन्तानको प्रबन्ध गरिनेछ जसद्वारा पृथ्वीमा भएका सारा परिवारहरूले आशिष पाउनेछन्‌। सो प्रतिज्ञा परमेश्‍वरले अब्राहामसित गर्नुभयो।—उत्पत्ति १२:१-३; १८:१८, १९; २२:१८; भजनसंग्रह ८३:१८; हिब्रू ११:८-१६.

सा० यु० पूर्व १६ शताब्दीको अन्ततिर अब्राहामका नाति याकूब, अर्थात्‌ इस्राएलका सन्तानहरू १२ कुल भइसकेका थिए। तिनीहरू मिश्रको दासत्वमा थिए। यहोवाले यी इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिलाउनु भयो र तिनीहरूलाई एउटा राष्ट्र बनाउनुभयो। उहाँले मोशाद्वारा सीनै पर्वतमा तिनीहरूलाई राष्ट्रिय संविधानको रूपमा एउटा व्यवस्था दिनुभयो। यहोवा तिनीहरूको राजा, न्यायकर्त्ता र कानून दाता हुनुहुन्थ्यो। इस्राएली राष्ट्र परमेश्‍वरका उद्देश्‍यहरू पूरा गर्न संगठित, उहाँको छानिएका जन र उहाँका साक्षीहरू भए। सारा राष्ट्रका मानिसहरूको हितका लागि अनन्तकालीन राज्य स्थापित गर्नुहुने मसीह तिनीहरूबाट नै आउनु हुने थियो।—प्रस्थान १९:५, ६; १ इतिहास १७:७-१४; १ राजा ४:२०, २५; यशैया ३३:२२; ४३:१०-१२; रोमी ९:४, ५.

लगभग १५ शताब्दीपछि, अथवा आजभन्दा झन्डै २,००० वर्षअघि परमेश्‍वरले, उहाँको एकमात्र पुत्रलाई स्वर्गबाट पृथ्वीमा पठाउनुभयो। उहाँको यो पुत्रले एउटी यहूदी कन्या-केटीबाट जन्म लिनुभयो। उहाँको नाउँ येशू राखियो र परमेश्‍वरले उहाँको पूर्खा दाऊदलाई प्रतिज्ञा गर्नुभएको राज्यको उहाँ उत्तराधिकारी हुनुहुन्थ्यो। येशू ३० वर्षको हुनुहुँदा उहाँले बप्तिस्मा दिने यूहन्‍नाबाट बप्तिस्मा लिनुभयो र परमेश्‍वरको राज्यको घोषणा गर्न थाल्नुभयो। बिरामीहरूलाई निको पारेर उहाँले आउँदै गरेको राज्यले मानवजातिलाई कसरी आशिष दिनेछ भन्‍ने कुरा प्रदर्शित गर्नुभयो। अनन्त जीवन चाहने सबैले कुन्‌ कुन्‌ आवश्‍यकताहरू पूरा गर्नुपर्छ, सो उहाँले दृष्टान्तहरूबाट देखाउनुभयो। त्यसपछि उहाँ काठमा मारिनुभयो। उहाँको सिद्ध मानव जीवन मानवजातिको निम्ति छुटकाराको मोल हुनगयो।—मत्ती १:१८-२४; ३:१३-१६; ४:१७-२३; ६:९, १०; अध्याय १३; २०:२८; लूका १:२६-३७; २:१४; ४:४३, ४४; ८:१; यूहन्‍ना ३:१६; प्रेरित १०:३७-३९.

येशूको व्याख्याअनुसार, मसीही राज्य धेरै नै समयपछि अर्थात्‌ यस रीतिरिवाजको अन्तमा स्थापना हुने थियो। त्यतिखेर उहाँ स्वर्गबाट शासन गर्नुहुने राजा भएर अदृष्य रूपमा उपस्थित हुनुहुने थियो। साथै मानिसहरूलाई आफ्नो उपस्थिति महसुस गराउन उहाँले पृथ्वीलाई विशेष ध्यान दिनु हुने थियो। सन्‌ १९१४ देखि यता त्यही समयमा हामी बाँचिरहेका छौं भनेर संसारका घटनाहरूले देखाउँछ। येशूले भविष्यवाणी गर्नुभएअनुसार राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिंदैछ। परिणामस्वरूप, हरेक देशका मानिसहरूलाई परमेश्‍वरको राज्यको पक्षमा जम्मा गरिंदैछ। यस वर्तमान रीतिरिवाजको अन्त हुँदा यिनीहरू बाँच्नेछन्‌ र मसीही राज्य अन्तर्गत पृथ्वीमा अनन्त जीवन प्राप्त गर्नेछन्‌।—मत्ती, २४ र २५ अध्याय; प्रकाश ७:९-१७.

आज धेरै गिर्जाहरूले परमेश्‍वरको इच्छा गर्ने दाबी गर्दछन्‌। तर साँचो मसीही मण्डलीलाई तपाईं कसरी चिन्‍न सक्नुहुन्छ? शास्त्रले प्रथम शताब्दीका मसीहीहरूबारे भनेको कुरा जाँच गरेर आज तिनीहरूले झैं कसले गरिरहेका छन्‌ भनी हेरेर।

• परमेश्‍वरको उद्देश्‍य कार्यान्वयन गर्न अब्राहाम र इस्राएलले के भूमिका खेले?

• येशूले आफ्नो सेवकाई र मृत्युद्वारा के पूरा गर्नुभयो?

• हाम्रो समयलाई चिनाउने कस्ता घटनाहरूबारे भविष्यवाणी गरिएको थियो?