सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पूर्णसमय सेवकहरूले प्रचार कार्यलाई जोडतोडका साथ अघि बढाउँछन्‌

पूर्णसमय सेवकहरूले प्रचार कार्यलाई जोडतोडका साथ अघि बढाउँछन्‌

पूर्णसमय सेवकहरूले प्रचार कार्यलाई जोडतोडका साथ अघि बढाउँछन्‌

तपाईंलाई प्रथम पटक भेट गर्ने यहोवाको साक्षी सम्भवतः एक जना पूर्ण-समय अग्रगामी अथवा मिसनरी थिए होलान्‌। यहोवाका साक्षीहरूको सेवा निःशुल्क भए तापनि तिनीहरू यसरी पूर्णसमय प्रचारकार्यमा लागेको देखेर सायद तपाईं छक्क पर्नु भएको होला।

यहोवाका सबै समर्पित र बप्तिस्माप्राप्त साक्षीहरू सेवकहरू हुन्‌ तर ती मध्ये धेरै जनाको परिवार अथवा अरू जिम्मेवारीहरू छन्‌ जसले गर्दा तिनीहरूले हप्तामा केही घण्टा मात्र प्रचारकार्यमा बिताउन सक्छन्‌। तथापि, संसारभरिका हजारौं साक्षीहरूले आफ्नो दैनिक खर्चमा कटौती गरेका छन्‌। जसले गर्दा तिनीहरूले केही समय मात्र काम गरेर पनि आफ्नो जीविका चलाउन र वर्षमा १,००० अथवा त्यो भन्दा बढी घण्टा सेवामा बिताउन सम्भव भएको छ।

हुन तः पूर्णसमय अग्रगामी सेवकहरूसङ्‌ग व्यक्‍तिगत खर्चका निम्ति थुप्रै पैसा नहोला। तर तिनीहरूको दृष्टिमा परमेश्‍वरको राज्यलाई खोज्ने यो एउटा तरिका हो। यसबाट तिनीहरूले धेरै आशिषहरू पाउँछन्‌। उदाहरणका लागि, प्रत्येक महिना करीब ९० घण्टा परमेश्‍वरको वचनबारे अरूहरूसित पनि कुरा गर्न बिताउन पाउनु नै एउटा मिठो अनुभव हो। साथै पूर्ण-समय सेवकले प्रचारकार्यमा आफ्नो निपुणता बढाउँछ र चासो देखाउने मानिसहरूलाई फेरि फेरि भेट्‌ने समय निकाल्छ। यसको परिणाम निकै प्रोत्साहनजनक हुन सक्छ। यस बाहेक आवश्‍यक भौतिक कुराहरू तिनीहरूसित भइहाल्छन्‌ र आफूसित भएका कुराहरूको तिनीहरूले ठूलो मूल्यांकन गर्छन्‌।—मत्ती ६:३३.

फ्रेब्रुअरी १९४३ मा, वाच टावर सोसाइटीले वाचटावर बाइबल स्कूल अफ गिल्यडको स्थापना गऱ्‍यो। यसको उद्देश्‍य अनुभवी पूर्णसमय अग्रगामी सेवकहरूलाई मिसनरीहरू भएर विदेशी मुलुकहरूमा सेवा गर्ने प्रशिक्षण दिनु थियो। यस पाँच महिने तालिममा बाइबल, बाइबलको इतिहास, यहोवाको सङ्‌गठन, र एउटा विदेशी क्षेत्रमा गरिने सेवाको तयारीसित सम्बन्धित विषयहरूको गहिरो अध्ययन गरिन्छ।

मिसनरीहरूलाई पठाइने देशमा जाने खर्च सोसाइटीले बेहोर्छ। साथै मिसनरीहरू बस्ने घरहरूमा स्वस्थकर भोजन र सुहाउँदो कोठाहरूको प्रबन्ध पनि सोसाइटीले गरिदिन्छ। यी बाहेक प्रत्येक मिसनरीलाई आफ्नो व्यक्‍तिगत खर्च ढाक्ने एउटा सानो रकम पनि दिइन्छ। आफू बस्ने घरका निम्ति किनमेल गर्ने, खाना तयार गर्ने र सफा गर्ने कामहरू मिसनरीहरूले पालै पालो गर्छन्‌। यसरी तिनीहरूलाई सुहाँउदो रीतिले हेरचाह गरिएको हुनाकारण, मिसनरीहरू घरघर गएर प्रचार गर्न र चासो देखाउने मानिसहरूसङ्‌ग बाइबल अध्ययन सञ्चालन गर्दै महिनामा कम से कम १४० घण्टा बिताउन सक्छन्‌।

धेरैजसो मिसनरीहरूलाई आफ्नो घर र परिवारबाट हजारौं माइल टाढा खटाएको हुन्छ। तिनीहरूले एउटा बेग्लै जीवन-शैली, संस्कृति, खाने आनी-बानी, भिन्‍न हावापानी र अर्कै भाषा बोल्ने समाज बीच बस्न सिक्नु परेको हुन्छ। मानिसहरूका लागि प्रेम र तिनीहरूलाई परमेश्‍वरको राज्यबारे सिकाउन इच्छुक भएको हुनाकारण मिसनरीहरू यो गर्छन्‌।

सन्‌ १९४३ देखि १९९२ सम्ममा वाचटावर बाइबल स्कूल अफ गिल्यडले ९३ वटा कक्षाहरू सञ्चालन गऱ्‍यो र ६,५०० भन्दा बढी मिसनरीहरूलाई बाहिर पठाइसकेको थियो। सोसाइटीको रेखदेखमा यिनीहरूले अफ्रिका, सेन्ट्रल र दक्षिण अमेरिका, पूर्वीय मुलुकहरू, र दक्षिण प्रशान्तमा बाइबल सम्बन्धी शिक्षा फैलाउने कामलाई जोडतोडका साथ अघि सारेका छन्‌। र युरोपमा पनि तिनीहरूले निकै नै सफलता प्राप्त गरेका छन्‌।

यहोवाका साक्षीहरूले अग्रगामीहरू वा मिसनरीकोहरूले झैं पूर्णसमय अथवा केही समय मात्र सेवामा बिताए तापनि यसबाट तिनीहरूले आर्थिक लाभ चाहिं उठाउँदैनन्‌। अरूहरूलाई अनन्त जीवनतर्फ लैजाने ज्ञान प्राप्त गर्ने मद्दत दिनका निम्ति तिनीहरूले आफूलाई, आफ्नो पैसा र समय लगाउने गर्छन्‌।—यूहन्‍ना १७:३

• यहोवाका केही साक्षीहरू सेवामा आफ्नो पूर्ण समय बिताउन कसरी सक्षम भएका छन्‌, र यो तिनीहरूले किन गर्छन्‌?

• मिसनरी कामको लागि सेवकहरूलाई कसरी प्रशिक्षण दिइन्छ?

• विदेश गएर प्रचार गर्न खटाइएका मिसनरीहरूको रेखदेख कसरी गरिन्छ?

[पृष्ठ २२-मा भएको चित्र]

देब्रे: गिल्यड स्कूलको कक्षा कोठा, ब्रुकलिन, न्यु योर्क; अमेरिका

दाहिने: पापुआ न्यु गिनियामा मिसनरीले परमेश्‍वरको वचन सिकाइरहेको

[पृष्ठ २३-मा भएको चित्र]

अग्रगामी सेवकहरू र मिसनरीहरू विभिन्‍न मुलुकहरूमा प्रचार गरिरहेका

ब्राजिल

डोमिनिकन गणतन्त्र

स्पेन

सियरा लियोन, अफ्रिका