सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम र एकता बढाउने मण्डलीहरू

प्रेम र एकता बढाउने मण्डलीहरू

प्रेम र एकता बढाउने मण्डलीहरू

तपाईंको घर नजिकै यहोवाका साक्षीहरूको मण्डलीमा हुने केही सभाहरूमा तपाईं गइ सक्नु भएको होला। जीवनको हरेक क्षेत्रका मानिसहरू—परिवारहरू, अविवाहित व्यक्‍तिहरू, जवान तथा तरुण सबै त्यहाँ उपस्थित हुन्छन्‌। तिनीहरू सबै उपासनामा एकताबद्ध हुनका साथै अरूहरूलाई मद्दत गर्न पनि इच्छुक छन्‌।

जहाँ धेरै मानिसहरू एक साथ काम गर्न इच्छुक हुन्छन्‌ त्यहाँ कुनै न कुनै प्रकारको देखरेख आवश्‍यक हुन्छ। परमेश्‍वर एकजना व्यवस्थित परमेश्‍वर हुनुहुन्छ। तसर्थ, उहाँका जनहरूको मण्डलीमा पनि त्यस्तो सुव्यवस्था देखिनु पर्दछ। प्रथम शताब्दीमा जस्तै, आज पनि योग्य, परिपक्व र अनुभवी मसीहीहरूलाई प्राचीन वा निरीक्षकहरू नियुक्‍त गरिन्छ। यिनीहरूले मण्डलीको देखरेख गर्छन्‌ र मण्डलीको आध्यात्मिक आवश्‍यकताहरूलाई ध्यान दिन्छन्‌। ती प्राचीनहरूलाई अरू विश्‍वासी मानिसहरूले मद्दत दिन्छन्‌ जसलाई सहायक सेवकहरू भनिन्छ। यिनीहरूले कुनै तलब अथवा आर्थिक सहायता पाउँदैनन्‌। यिनीहरू स्वयंसेवकहरू हुन्‌ जसले आफ्नो खर्च आफै बेहोर्न अक्सर कुनै जागिर खाने गर्छन्‌।—१ कोरिन्थी १४:३३, ४०; फिलिप्पी १:१; १ तिमोथी ३:८, ९.

यिनीहरू कसरी छानिन्छन्‌? यिनीहरू शास्त्रमा उल्लिखित योग्यता भएका परमेश्‍वरका विश्‍वासी जन हुनुपर्छ। ती मध्ये केही योग्यताहरू यसप्रकार छन्‌: ‘परहेजी, आत्म संयमी, सुशील, अतिथी सत्कार गर्ने, सिकाउनमा सिपालु, भला, रूपियाँ पैसाको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने, सिकारु होइनन्‌, मण्डली बाहिरकाहरूबाट असल नाउँ कमाएका’; ‘तिनलाई मिलेको शिक्षा बमोजिम विश्‍वासयोग्य र वचनमा दृढ़।’—१ तिमोथी ३:१-१५; तितस १:७-९.

यी मानिसहरूलाई मण्डलीमा भोट खसालेर छानिंदैन जहाँ सम्भवतः अधिकांश व्यक्‍तिहरू नयाँ मसीहीहरू हुन सक्छन्‌। बरु तिनीहरूले कुन हदसम्म शास्त्रका आवश्‍यकताहरूलाई पूरा गरिरहेका छन्‌ सो बुझ्ने क्षमता भएका र स्वयं प्राचीन भइसकेका परिपक्व र अनुभवी मानिसहरूले तिनीहरूको सिफारिस गर्दछन्‌। यसपछि यहोवाका साक्षीहरूको परिचालक निकायको निरीक्षणमा तिनीहरूलाई प्राचीनहरू र सहायक सेवकहरू नियुक्‍त गरिन्छ। यो प्रणाली प्रथम शताब्दीमा मसीही मण्डलीले गरे अनुसार नै हो।

यी प्राचीनहरू अथवा निरीक्षकहरू कुनै पादरी वर्ग होइनन्‌। तिनीहरू अरूहरू माथि प्रभुत्व जमाउने मालिक होइनन्‌। येशूले भन्‍नुभए जस्तै अगुवाइ गर्न चाहने व्यक्‍ति सबैको दास हुनुपर्छ। यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीनहरू साँच्चै नै परमेश्‍वरको राज्यको खातिर सबैका सहकर्मीहरू हुन्‌।—मत्ती २०:२६, २७; २३:८-११; रोमी १२:८; १ कोरिन्थी ३:५; ४:१, २; कलस्सी ४:११; १ थिस्सलोनिकी ५:१२-१४.

यी निरीक्षकहरूले मण्डलीमा दिइने निर्देशनहरूको रेखदेख गर्छन्‌ र प्रचार कार्यमा अगुवाइ पनि लिन्छन्‌। आफूलाई सुम्पिएको सम्पूर्ण क्षेत्रभरि राज्यको सुसमाचार प्रचार गर्नु नै मण्डलीको सबैभन्दा प्रथम लक्ष्य हो। निरीक्षकहरूले गोठाला काम पनि गर्छन्‌। तिनीहरूले मण्डलीका सदस्यहरूलाई भेट्‌न जान्छन्‌ र आवश्‍यक प्रोत्साहन दिने गर्छन्‌।—मत्ती २४:१४; प्रेरित १:८; १ थिस्सलोनिकी २:११, १२; ५:१४, १५; २ तिमोथी २:२४-२६; हिब्रू १३:१७; याकूब ५:१३-१६; १ पत्रुस ५:१-४.

साथै, खराब मार्ग पछ्याउने व्यक्‍तिहरू मण्डलीको आध्यात्मिकता, नैतिक शुद्धता र एकताको निम्ति खतरनाक हुन सक्छन्‌। अतः यसप्रकारका मानिसहरूलाई हप्काउने र अनुशासनमा राख्ने जिम्मेवारी पनि प्राचीनहरूले निभाउनु पर्छ।—१ कोरिन्थी ५:४, ५, ७, ११-१३; तितस १:९; २:१५; ३:१०, ११.

मण्डलीसित नियमित तवरमा सङ्‌गत गर्नु भयो भने राम्रो सङ्‌गति साथै धेरै आध्यात्मिक फाइदाहरू पाउनु हुनेछ।—भजनसंग्रह ३५:१८; ८४:१०.

• प्रत्येक मण्डलीको गतिविधिको देखरेख कसले गर्छ?

• कुन आधारमा निरीक्षकहरू छानिन्छन्‌?

• तिनीहरूका जिम्मेवारीहरू के के हुन्‌?

[पृष्ठ १३-मा भएको चित्र]

निरीक्षकहरूले मण्डलीलाई निर्देशन दिन्छन्‌, घर-घरको प्रचार कार्यमा अगुवाइ लिन्छन्‌, मण्डलीका सदस्यहरूको घरघरमा गएर प्रोत्साहन दिन्छन्‌, आवश्‍यक परेको खण्डमा सल्लाह र हप्की पनि दिने गर्छन्‌