सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ

यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ

यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ

शताब्दीहरू बित्दै जाँदा, धर्मत्याग पनि फैलिंदै गयो। गिर्जाका धेरै सम्प्रदायहरूले बाइबलका केही शिक्षाहरू सिकाउने गरे तापनि प्रायःजसो तिनीहरूले मानव परम्पराहरू र गैर मसीही रीतिथितिहरूलाई अनुसरण गर्थे। ख्रीष्टको पुनरागमनको प्रतीक्षा साधारणतया गरिंदैन थियो।—मत्ती १३:२४-३०, ३७-४३ सँग तुलना गर्नुहोस्‌.

तथापि, येशूले उहाँको पुनरागमनको बाटो हेर्दै बस्न भन्‍नु भएको थियो! यसो गर्ने एउटा समूह संयुक्‍त राज्य अमेरिकाको आलिगेनी (पिट्‌सवर्ग), पेन्सल्‌भेनियामा थियो। सन्‌ १८७०-को दशकको सुरुतिर चार्ल्स टेज रसल र उनका केही साथीहरूले विभिन्‍न सम्प्रदायहरूको भन्दा बेग्लै दृष्टिकोण राखेर बाइबलमा ख्रीष्टको पुनरागमन सम्बन्धी लेखिएका कुराहरूको राम्ररी अध्ययन गर्न थाले। तिनीहरूले अरू विभिन्‍न मूलभूत शिक्षाहरूका सम्बन्धमा पनि बाइबलले के भन्छ भनी खोज्न थाले। यही नै यहोवाका साक्षीहरूको आधुनिक गतिविधिको सुरुवात थियो।—मत्ती २४:४२.

त्रिएकको शिक्षा बाइबलमा आधारित होइन रहेछ; यहोवा एकमात्र सर्वशक्‍तिमान परमेश्‍वर र सृष्टिकर्त्ता हुनुहुँदो रहेछ; येशू उहाँको पहिलो सृष्टि र एकमात्र पुत्र हुनुहुन्छ; पवित्र आत्मा भनेको एक जना व्यक्‍ति होइन तर परमेश्‍वरको अदृष्य सक्रिय शक्‍ति रहेछ। त्यस्तै केही कुराहरू यस समूहले बुझ्न सक्यो। साथै प्राण अमर हैन तर मरणशील छ; मरेकाहरूको आशा पुनरुत्थान हो र पश्‍चाताप नगर्ने दुष्ट व्यक्‍तिहरूको सजाय अनन्त सासना होइन तर विनाश हो भन्‍ने कुरा पनि यस समूहले बुझ्न सक्यो।

येशूले आफ्नो जीवन मानव छुटकाराको निम्ति दिनुभएको कुरा बाइबलको एउटा मूलभूत शिक्षा हो भनेर बुझियो। सर्वप्रथम, पहिलो शताब्दीदेखि अहिले हाम्रो समयसम्म छानिएका १,४४,००० पुरुष र स्त्रीहरू स्वर्गीय राज्यमा येशूसँग साझे हकवाला हुन पृथ्वीबाट मुक्‍त गराएर लगिनेछन्‌। येशूको छुटकाराद्वारा अरबौं मानिसहरूले त्यस राज्य शासन अन्तर्गत पृथ्वीमा अनन्त जीवन पाउने आशाका साथै मानव सिद्धता प्राप्त गर्नेछन्‌। यी मध्ये अधिकांश व्यक्‍तिहरू पुनरुत्थान भएर आएकाहरू हुनेछन्‌।

रसल र उनका सहकर्मीहरूले ख्रीष्टको उपस्थिति अदृष्य र आत्मामा हुनेछ भन्‍ने कुरा पनि बुझे। परमेश्‍वरको सार्वभौमिकता पृथ्वीमा भएका कुनै पनि सरकारद्वारा व्यक्‍त नगरिएको समयावधि अर्थात्‌ अन्यजातिहरूको समय १९१४-मा समाप्त भइ सकेपछि परमेश्‍वरको राज्य स्वर्गमा स्थापित हुने थियो। आज यी शिक्षाहरू यहोवाका साक्षीहरूले मात्र सिकाउँछन्‌।

रसल र उनका सहकर्मीहरूले यी सत्य कुराहरू धेरै टाढा टाढासम्म भाषणहरू र प्रकाशनहरूद्वारा घोषणा गरे। जुलाई १८७९ मा रसलले जायन्स्‌ वाचटावर (अहिले वाचटावर, नेपालीमा प्रहरीधरहरा) प्रकाशन गर्न थाले। बाइबल स्टुडेन्ट्‌सले गर्ने प्रचार कार्य स्वेच्छाकृत चन्दाहरूद्वारा सञ्चालित हुनुपर्छ र चन्दा माग्ने काम गरिनेछैन भनेर तिनले फैसला गरे। साथै विश्‍वास गर्ने बेतलवी स्वयंसेवकहरूको प्रयासद्वारा नै समाचार फैलाउनु परेको थियो। रसल आफैले पनि त्यसबेलासम्म व्यापार गरेर जम्मा गरेको रकमबाट चन्दा दिए।

बाइबल स्टुडेन्ट्‌स सानो सानो समूहमा भेला हुन्थे र यी समूहहरूलाई त्यतिखेर कक्षाहरू भनिन्थ्यो। तिनीहरूलाई आज मण्डली भन्छन्‌। तिनीहरू हप्तामा तीन पटक भाषणहरू सुन्‍न, शास्त्रको अध्ययन गर्न र सेवा सभाहरूका लागि भेला हुन्थे। प्रत्येक कक्षाको आत्मिक गतिविधिहरूको निरीक्षण गर्न तिनीहरूले नियमित रूपमा जिम्मेवार मानिसहरूलाई प्राचीनको हैसियतमा निर्वाचित गर्थे।

पेन्सल्‌भेनियामा जायन्स्‌ वाच टावर ट्र्याक्ट सोसाइटी, मुनाफा नकमाउने कानूनी निगमको रूपमा १८८४-मा दर्ता गरियो। निगमको अध्यक्ष प्रत्येक वर्ष निर्वाचित हुनुपर्थ्यो। यो एउटा कानूनी प्रबन्ध हुन गयो। बाइबलको शैक्षिक कार्यक्रम अघि बढाउने काम कुनै एक जना व्यक्‍तिको जीवनमा भर पर्ने भएन। चार्ल्स टी रसल अध्यक्षमा निर्वाचित भए र उनको अफिस प्रमुख कार्यालय हुन गयो।

यस कामलाई अरू मुलुकहरूमा फैलाउन निकै नै प्रयास गरिएको थियो। यो काम १८८०-को दशकको सुरुतिर क्यानाडा र बेलायतसम्म पुग्यो। युरोप र मध्य पूर्वमा पनि सच्चाइलाई फैलाउन के गर्न सकिन्छ भनेर विचार गर्न रसलले १८९१-मा ती क्षेत्रहरूको भ्रमण गरे। सन्‌ १९००-को दशकको सुरुतिर ब्रिटेन, जर्मनी र अस्ट्रेलियामा शाखा कार्यालयहरू स्थापित भए।

प्रचारको कार्य अझ अन्तर्राष्ट्रिय स्तरमा बढाउन सन्‌ १९०९-मा वाचटावर सोसाइटीको प्रमुख कार्यालय ब्रुक्लिन, न्यु योर्कमा सारियो। न्यु योर्क प्रान्तको कानूनअनुसार एउटा सम्बद्ध निगम गठन गर्ने खाँचो पऱ्‍यो। यो सम्बद्ध निगमलाई अहिले वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क इनकर्पोरेटेड भनिन्छ। ब्रिटिस राष्ट्रमण्डलभरि बाइबल स्टुडेन्ट्‌सको कामलाई बढाउने उद्देश्‍यले बेलायतको लन्डनमा सन्‌ १९१४-मा इन्टरनेशनल बाइबल स्टुडेन्ट्‌स एसोसिएशन स्थापित गरियो। आज संसारभरि विभिन्‍न राष्ट्रहरूमा वाच टावर सोसाइटीलाई मद्दत पुऱ्‍याइरहेका झन्डै ७० वटा निगमहरू र संस्थानहरू कानूनी तवरमा दर्ता भएका छन्‌। यी सबै नै मानवहितका लागि हुन्‌। यी सबै नै स्वेच्छाकृत चन्दाहरू र स्वयंसेवकहरूद्वारा सञ्चालित हुन्छन्‌।

चार्ल्स टेज रसलको मृत्यु १९१६-मा भयो र तिनीपछि जोसेफ फ्रांक्लिन रदरफर्ड वाच टावर सोसाइटीका अध्यक्ष भए। प्रथम विश्‍व-युद्धको अन्ततिर बाइबल स्टुडेन्ट्‌सले कडा सतावट र जाँचको सामना गर्नु पऱ्‍यो। यस बाहेक अमेरिकामा सोसाइटीको प्रमुख कार्यालयमा काम गरिरहेका आठ जना जिम्मेवार भाइहरू गलत अभियोगमा थुनिए। बाइबल स्टुडेन्ट्‌सको काम नै खतरामा परे जस्तो भयो। तथापि, १९१९ मा यी भाइहरू थुनाबाट छाडिए र दोषमुक्‍त भए। त्यसपछि प्रचारको कार्यले एउटा अझ व्यापक रूप धारण गऱ्‍यो।

अभिषिक्‍त मसीही बाइबल स्टुडेन्ट्‌सको एकतावद्ध समूहले सङ्‌गठनसित सम्बन्धित सबैजनालाई सोसाइटीको प्रमुख कार्यालयद्वारा ठीकठीक समयमा आत्मिक आहार प्रदान गरी नै रह्‌यो। येशूले चर्चा गर्नु भएका “विश्‍वासी र बुद्धिमान दास” जसरी पहिलो शताब्दीका अभिषिक्‍त मसीहीहरूको समूह थियो, त्यसरी नै राज्य प्रचारको काममा लागेका समर्पित बाइबल स्टुडेन्ट्‌समध्येका अभिषिक्‍त जनहरूको समूह आज हाम्रो समयमा “विश्‍वासी र बुद्धिमान दास” हुन्‌। मण्डलीलाई जाँच गर्न येशू आउनुहुँदा उहाँको घरानाकाहरूलाई यस वर्गले आहार प्रदान गरिरहेको उहाँले भेट्टाउनुभयो। त्यसपछि उहाँले आफ्नो सारा सम्पत्तिमाथि त्यस वर्गलाई नियुक्‍त गर्नुभयो।—मत्ती २४:४५-४७; लूका १२:४२.

सन १९१४-मा येशू ख्रीष्टद्वारा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भएको कुरा प्रथम विश्‍व-युद्धको केही समयपछि स्पष्ट भयो। अतः येशूका यी शब्दहरू अब पूर्णतया पूरा हुन सक्ने भयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” राज्यको यो सुसमाचार अझ बढी मानिसहरूकहाँ पुऱ्‍याउन जोसेफ एफ रदरफर्ड अग्रसर भए।—मत्ती २४:१४.

त्यसकारण सोसाइटीले समर्पित स्वयंसेवकहरूलाई प्रयोग गरेर आफैले छाप्ने काम गर्ने निर्णय गऱ्‍यो। यसले गर्दा सकेसम्म कम मूल्यमा बाइबल प्रकाशनहरू नियमित तवरमा उत्पादन गर्न सम्भव हुने भयो। सबै बाइबल स्टुडेन्ट्‌सलाई नियमित रूपमा राज्यको सुसमाचार सुनाउन भाग लिने प्रोत्साहन दिइयो। धेरै देशहरूमा बाइबल सम्बन्धी भाषणहरू रेडियोद्वारा प्रसारण गरियो।

येशू ख्रीष्टसँग स्वर्गमा शासन गर्न छानिएकाहरू मध्येबाट पृथ्वीमा बाँकी रहेकाहरूलाई जम्मा गर्नु र परमेश्‍वरको न्यायको चेतावनी दिनु नै तिनीहरूको प्रचार कार्यको उद्देश्‍य हो भनेर बाइबल स्टुडेन्टहरूले १९१८ अघि सम्म बुझेका थिए। यस दुष्ट रीतिरिवाजको अन्तलाई पार गरेर यसै पृथ्वीमा बाँच्नेहरू जम्मा गर्ने कामतर्फ कमै ध्यान दिइएको थियो। त्यसपछि १९१८ देखि यता “अहिले जीवित लाखौं कहिल्यै मर्ने छैनन्‌!” भन्‍ने भाषण व्यापक रूपमा प्रस्तुत गरियो।

मत्ती २५:३१-४६-मा येशूले दिनुभएको भेडा र बाख्राको उखान अध्ययन गर्दा थाहा लाग्यो कि स्वर्गीय राज्यमा प्रवेश पाउने आशा नराख्ने धार्मिक प्रवृत्ति भएका मानिसहरूले पनि आरमागेडोन अघि परमेश्‍वरको अनुमोदन पाएर आरमागेडोन पार गर्ने रहेछन्‌। यी भेडा वर्गका मानिसहरू र प्रकाश ७:९-१७-मा वर्णन गरिएको गन्‍न नसकिने ठूलो भीड एउटै हुन्‌ भन्‍ने कुरा १९३५ तिर अझ विस्तृत अध्ययनद्वारा बुझियो। यिनीहरू हरेक राष्ट्रबाट जम्मा गरिने र महा संकष्ट पार गरेर पृथ्वीमा अनन्त जीवन प्राप्त गर्नेहरू हुने थिए। यी कुराहरू बुझेपछि प्रचार कार्य अझ जोडतोडका साथ गर्न सम्भव भयो।—यूहन्‍ना १०:१६.

बाइबल स्टुडेन्ट्‌सले १९३१-मा यहोवाका साक्षीहरू भन्‍ने नाउँ अपनाए। त्यस भन्दा पहिले तिनीहरू बाइबल स्टुडेन्ट्‌स, इन्टरनेशनल बाइबल स्टुडेन्ट्‌स, मिलेनियल डन र वाच टावरसित सम्बन्धित मानिसहरू भनेर चिनिन्थे। तिनीहरूलाई रसलाइट र रदरफोरडाइट भन्‍ने उपनामहरू पनि दिइएको थियो। यी नाउँहरूमध्ये कुनैले पनि तिनीहरूको सही परिचय दिंदैन थियो। प्रथम शताब्दीमा ईश्‍वरीय निर्देशनअनुसार येशूका चेलाहरू मसीही कहलिए। यो नाउँ निश्‍चय नै सुहाउँदो थियो। तथापि त्यस नाउँलाई झूटा शिक्षाहरू सिकाउने अन्य सम्प्रदायहरूले पनि प्रयोग गरिरहेका थिए। समयमा ख्रीष्टका साँचो अनुयायीहरूलाई मसीही भनाउँदा लाखौं व्यक्‍तिहरूबाट अलग्गै छुट्ट्याउनको लागि एउटा बेग्लै नाउँ चाहिएको थियो।

यहोवाले उहाँका जन इस्राएललाई आफ्ना साक्षीहरू भनेर सम्बोधन गर्नुभएको थियो। अब यस रीतिरिवाजको अन्तको समयमा उहाँको नाउँ र उद्देश्‍य प्रकट गर्न समर्पित भएका व्यक्‍तिहरूलाई पनि यहोवाका साक्षीहरू नै भनेर सम्बोधन गर्नु शास्त्रको अध्ययनबाट उचित देखियो। यस नाउँले यहोवाका साँचो मसीही उपासकहरूलाई मसीही हुँ भनेर दाबी गर्ने अन्य सबैदेखि उचित रूपमा भिन्‍न तुल्याएको छ।—भजनसंग्रह ८३:१८; यशैया ४३:१०-१२.

दोस्रो विश्‍व-युद्धको समयताका, १९४२ मा जोसेफ एफ रदरफर्डको मृत्यु भयो। त्यसपछि नेथन एच नोर वाच टावर सोसाइटीका अध्यक्ष भए। युद्ध पश्‍चात केही हदसम्म शान्ति र स्वतन्त्रता कायम रहने कुरा भविष्यवाणीहरूले स्पष्टसित सङ्‌केत गरे जस्तै देखियो। यस्तो अवस्थामा यस रीतिरिवाजको अन्त आउनुअघि प्रचार कार्यलाई जोडतोडका साथ बढाउन सम्भव हुनेभयो। विदेशी मुलुकहरूमा गएर मिसनरी काम गर्ने पूर्णसमय सेवकहरूलाई तालिम दिन, फेब्रुअरी १९४३-मा वाचटावर बाइबल स्कूल अफ गिलियड स्थापना गरियो। केही समयपछि त्यसै साल यहोवाका साक्षीहरूको साप्ताहिक सभा तालिकामा एउटा विशेष सेवकाई प्रशिक्षण कार्यक्रम थपियो।

मूल भाषाबाट आधुनिक अंग्रेजी भाषामा अनुवाद गरिएको बाइबल, न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रीपचर्स-का केही अंशहरू सोसाइटीले सन्‌ १९५०-मा प्रकाशित गर्न थाल्यो। यो ठीकसँग र सजिलैसित बुझ्न सकिने भाषामा गरिएको अनुवाद सोसाइटी कै छापाखानामा छापियो। कम मूल्यमा प्रकाशित यो बाइबलले प्रचार कार्यमा ठूलो मद्दत पुऱ्‍यायो। यसको आज सम्म १२ वटा भाषाहरूमा ७ करोड भन्दा बढी प्रतिहरू छापिसकेका छन्‌।

सन्‌ १९९२ सालको अन्तसम्ममा यहोवाका करीब पैंतालिस लाख साक्षीहरूले २२९ भन्दा बढी देश र समुद्रका टापुहरूमा प्रचारको काममा भाग लिइरहेका थिए। लगभग ६९,००० मण्डलीहरूमा आयोजित सभाहरूमध्ये सबैभन्दा बढी उपस्थिति हुने सभा ख्रीष्टको मृत्युको स्मरणार्थ हो। यसका लागि १९९२-मा जम्मा १,१४,३१,१७१ जना मानिसहरू भेला भएका थिए।

यहोवाका साक्षीहरू परमेश्‍वरको सेवा लगातार र सक्रिय रूपमा गर्दछन्‌। विश्‍वभरि तिनीहरूको बीचमा एकता छ। यहोवाको नाउँलाई उँचा पार्न र उहाँको नाउँबारे प्रचार गर्न तिनीहरू जोशिला छन्‌। तिनीहरूले शुद्ध नैतिक स्तर कायम राख्छन्‌। सम्पूर्ण बाइबललाई तिनीहरूले परमेश्‍वरको अचूक वचन मान्छन्‌। अन्धविश्‍वास र प्रेतवादबाट तिनीहरू मुक्‍त छन्‌। यहोवाका यी साक्षीहरूलाई परमेश्‍वरले साँच्चै नै प्रयोग गर्नुहुँदैछ भनेर माथि उल्लिखित कुराहरूबाट देखिन्छ।

परमेश्‍वरको साँचो उपासनाको यस पुनःस्थापनाद्वारा तपाईंले कसरी लाभ उठाउन सक्नु हुन्छ सो तल दिइएका अंशहरूले देखाउँछ।

• बाइबलका कुन्‌ कुन्‌ आधारभूत शिक्षाहरूले गर्दा बाइबल स्टुडेन्ट्‌स अन्य गिर्जाका सम्प्रदायहरूबाट अलग्ग हुन सके?

• सन्‌ १९१८ सम्म बाइबल स्टुडेन्ट्‌सले के कस्ता सङ्‌गठनात्मक प्रगति अनुभव गरे?

मत्ती २४:४५-४७-मा उल्लिखित “विश्‍वासी र बुद्धिमान दास” अभिषिक्‍त बाइबल स्टुडेन्ट्‌सकै समूह हो भनेर कसरी भन्‍न सकिन्छ?

• परमेश्‍वरको उद्देश्‍यबारे कुन्‌ कुरा बुझ्नाले प्रचार कार्य अझ जोडतोडसित गर्ने प्रेरणा पाइयो?

• यहोवाका साक्षीहरू भन्‍ने नाउँद्वारा के उद्देश्‍य पूरा हुन्छ?

• परमेश्‍वरले साँच्चै नै यहोवाका साक्षीहरूलाई प्रयोग गरिरहनु हुँदैछ भन्‍ने प्रमाण के हो?

[पृष्ठ ८-मा भएको चित्र]

सी.टी. रसल, १८७९

जुलाई १८७९-को अङ्‌क

बाइबल स्टुडेन्ट्‌सका सुरु सुरुका समूह, पिट्‌सवर्ग, पेन्सलभेनिया

[पृष्ठ ९-मा भएको चित्र]

प्रमुख कार्यालय, १८८९-१९०९, पिट्‌सवर्ग, पेन्सलभेनिया

मुख्य कार्यालयहरू, १९०९-१९१८, ब्रुक्लिन, न्यु योर्क

प्रमुख कार्यालयमा काम गर्नेहरूका लागि आवास गृहहरू, १९०९-१९२६, ब्रुक्लिन, न्यु योर्क

[पृष्ठ १०-मा भएको चित्र]

विश्‍वभरिका यहोवाका साक्षीहरूको प्रमुख कार्यालय, ब्रुक्लिन, न्यु योर्क, संयुक्‍त राज्य अमेरिका

माथि बाँयापट्टि: कार्यालय भवनहरू

माथि दायाँपट्टि: आवास भवनहरू

तल बायाँपट्टि: फ्याक्ट्री भवनहरू

तल दायाँपट्टि: प्रेषण क्षेत्र

[पृष्ठ ११-मा भएको चित्र]

जे.एफ. रदरफर्डद्वारा रेडियो प्रसारण

स्वयंसेवकहरूद्वारा सञ्चालित वाच टावर सोसाइटीको प्रथम रोटरी प्रेस

अहिले १२ वटा भाषामा प्रकाशित हुने न्यु वर्ल्ड ट्रान्सलेशन अफ बाइबल (New World Translation of Bible)