सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपयोगी जवाफ

उपयोगी जवाफ

दुइ शब्द

उपयोगी जवाफ

‘आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्‍न?’ ‘लागू पदार्थ र रक्सी चाखेर हेरूँ कि?’ ‘विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?’ ‘साँचो प्रेम हो कि होइन कसरी थाह लगाउने?’ ‘मेरो भविष्य कस्तो छ?’

यस्ता प्रश्‍नहरू सोध्ने न तपाईं पहिलो, न अन्तिम युवा नै हुनुहुन्छ। तथापि, युवा जनहरूले आफूले जान्‍नु बुझ्नुपर्ने यस्ता आधारभूत प्रश्‍नहरू गर्दा प्रायः स्पष्ट जवाफ पाउँदैनन्‌। उदाहरणका लागि मद्य पेयपदार्थलाई नै लिऊँ न। कतिपय आमाबाबुहरू आफूले रक्सी पिएर छोराछोरीलाई चाहिं बन्देज लगाउँछन्‌। अनि पत्रपत्रिका र टिभी कार्यक्रमहरूले पनि पिउनु राम्रै हो भन्‍ने सन्देश दिइरहेका हुन्छन्‌। साथीहरूले पनि त्यत्तिकै प्रोत्साहन दिइरहेका हुन्छन्‌। अतः थुप्रै युवकयुवतीहरू बिलखबन्दमा किन नपरुन्‌?

अतः आज युवावर्गलाई खाँचो परिरहेको निष्पक्ष अनि व्यवहारिक जवाफहरूको आवश्‍यकतालाई बुझी ब्यूँझनुहोस्‌! a (अंग्रेजी) पत्रिकाले जनवरी १९८२ देखि “युवा जनहरू सोध्छन्‌ . . . ” भन्‍ने धारावाहिक लेखको आरम्भ गरेको थियो। यी धारावाहिक लेखहरूले तुरुन्तै पाठकहरूको अनुकूल प्रतिक्रिया प्राप्त गऱ्‍यो। जस्तै एक पाठकले यसो भन्दै मूल्यांकन पत्र लेखे: “आज युवावर्गले सामना गरिरहेका समस्याहरूलाई तपाईंहरूले बिर्सनुभएको छैन भन्‍ने प्रमाण यी धारावाहिक लेखहरूले दिएको छ।” “आउँदा दिनहरूमा पनि यस्ता लेखहरू पढ्‌न पाऊँ भन्‍ने आशा र प्रार्थना गर्छौं,” अर्को पाठकले लेखे।

त्यस्तैगरि अर्को एक युवा पाठकले यसो भने: ‘म १४ वर्षको भइसकें र हुर्कनु यति गाह्रो हुँदो रहेछ भनेर मैले कहिल्यै विचार गरेको थिइनँ। मेरो उमेरका केटाकेटीहरूले कत्तिको दबाब सहनुपर्छ कसैले कल्पनै गरेको छैन होला। त्यसैले म तपाईंहरूका यी लेखहरूको साह्रै मूल्यांकन गर्छु। हरेक रात सुत्नुअघि त्यस्ता लेखहरू प्रकाशित भइदिएकोमा परमेश्‍वरलाई धन्यवाद चढाउँछु। तथापि, यी लेखहरू नता केटाकेटीलाई भुलाउन न हाम्रा पाठकहरूलाई “अबोध बालक” सम्झेर नै लेखिएका हुन्‌। त्यसैकारण, “युवा जनहरू सोध्छन्‌ . . . ” भन्‍ने धारावाहिक लेखले युवावर्गबीच मात्र नभई वयस्कहरूको जमातमा पनि आफ्नो प्रभाव छोड्‌न सफल भएको छ। जस्तै, एक अभिभावकले यसो भनेर लेखे: “म ४० वर्षको भइसकें। हामीजस्ता आमाबाबुहरूका निम्ति यी लेखहरू परमेश्‍वरकै वरदान हुन्‌।” यहोवाका साक्षीहरूको मण्डलीहरूमा पनि अझ विशेषगरि युवावर्गका आवश्‍यकताहरू बुझ्न र तिनीहरूसित व्यवहार गर्न यी लेखहरूले मसीही प्राचीनहरूलाई निकै सघाउ पुऱ्‍याएको छ।

“युवा जनहरू सोध्छन्‌ . . . ” भन्‍ने यी धारावाहिक लेखहरूले यति बिघ्न प्रतिक्रिया पाउनुको कारण? किनभने यी लेखमा दिइएका सल्लाहहरू साँच्चै उपयोगी छन्‌! हरेक लेख विस्तृत अनुसन्धान र छानबिनपछि मात्र तयार पारिन्छ। यसबाहेक, युवावर्गको भावना अनि विचार अझ राम्ररी बुझ्न ब्यूँझनुहोस्‌! पत्रिकाका रिपोर्टरहरूले सारा संसारभरि हजारौं युवकयुवतीहरूको अन्तरवार्ता लिन्छन्‌! तिनीहरूको निष्पक्ष जवाफहरूले यी लेखहरूलाई तार्किक अनि व्यवहारिक बनाउन धेरै सघाउ पुऱ्‍याएको छ।

तथापि, “युवा जनहरू सोध्छन्‌ . . . ” को सफलताको साँचो रहस्य चाहिं त्यहाँ दिइएका जवाफ कुनै सिद्धान्त वा व्यक्‍तिगत विचारमा आधारित नभई परमेश्‍वरको वचन, बाइबलमा पाइने चिरकालीन सत्य वचनहरूमा आधारित हुनु हो। ‘के रे बाइबल?’ शायद तपाईंलाई अचम्म लाग्यो होला। हो, बाइबलमा युवावर्गका लागि प्रशस्त सल्लाहहरू पाइन्छ। (हितोपदेश अध्याय १-७; एफिसी ६:१-३ हेर्नुहोस्‌।) अनि बाइबल लेख्ने प्रेरणा दिने व्यक्‍ति “जवानीका अभिलाषा” बुझ्नुहुने हाम्रै सृष्टिकर्ता हुनुहुन्छ। (२ तिमोथी २:२०-२२; ३:१६) बाइबल लेखिएको समयदेखि यता मानव समाजले निकै कोल्टो फेरिसक्यो होला, तर युवा जनहरूका अभिलाषाहरू भने पहिले जस्तै छन्‌। अतः बाइबलका सल्लाहहरू आज पनि उत्तिकै लागू हुन्छन्‌। तथापि, युवा जनहरूले आफूलाई भाषण छाँटेको महसुस नगरुन्‌ भन्‍ने हेतुले हामीले बाइबलका सिद्धान्तहरूलाई तर्कपूर्ण ढंगमा पेश गर्ने प्रयत्न गरेका छौं। सम्पूर्ण लेख यहोवाका साक्षीहरूमध्ये विशेषगरि युवावर्गलाई ध्यानमा राखेर तयार पारिएको भए तापनि, बाइबलमा पाइने व्यवहारिक बुद्धिको कदर गर्ने जो कसैले पनि यो पढेर लाभ उठाउनसक्छन्‌।

थुप्रै पाठकहरूको अनुरोधअनुरूप हामीले “युवा जनहरू सोध्छन्‌ . . . ” भन्‍ने धारावाहिक लेखहरूलाई अहिले कितापको रूपमा प्रकाशित गरेका छौं। अतः तपाईंको हातमा भएको यो पुस्तकका ३९ अध्यायहरू सन्‌ १९८२ देखि १९८९ बीच ब्यूँझनुहोस्‌! (अंग्रेजी) पत्रिकामा प्रकाशित भएका झन्डै २०० मध्ये १०० वटा लेखहरूमा आधारित छन्‌। केही नयाँ विषयवस्तुहरू पनि थपिएका छन्‌। यसबाहेक, तपाईंले विभिन्‍न मुलुक तथा जातजातका युवावर्गको रंगीन चित्रहरू पनि प्रशस्त पाउनुहुनेछ।

कृपया, धक नमानी विषय सूची केलाउनुहोस्‌ र तपाईंलाई सबैभन्दा जान्‍न बुझ्न मन परेको विषय पल्टाएर हेर्नुहोस्‌। तथापि, हामी तपाईंलाई समय निकालेर पूरै किताब राम्ररी पढ्‌ने सुझाउ दिन्छौं र त्यसरी पढ्‌दा आफ्नै बाइबल पल्टाएर शास्त्रपदहरू पढ्‌ने प्रोत्साहन पनि दिन्छौं।

केही परिवारहरूमा आमाबाबु र छोराछोरीबीच त्यति खुलस्त कुराकानी हुने गर्दैन र कुराकानी हुन्छ नै भने पनि या त आमाबाबु नभए छोराछोरीलाई अप्ठ्यारो लागिरहेको हुनसक्छ। त्यसैकारण, त्यस किसिमको वातावरणलाई हल्का पार्न हामीले हरेक अध्यायको अन्तमा छलफलका लागि प्रश्‍नहरू भन्‍ने अंश थपेका छौं। यी प्रश्‍नहरू अनुच्छेदहरू केलाउनका निम्ति होइनन्‌। नता केटाकेटीहरूसँग हाजिरजवाफ गर्न नै हुन्‌। आमाबाबु र छोराछोरीबीच कुराकानी होस्‌ भन्‍नका निम्ति ती प्रश्‍नहरू प्रकाशित भएका हुन्‌। प्रायजसो प्रश्‍नहरूले तपाईंलाई आफ्नो विचारधारा पोख्न वा विचाराधीन विषयलाई व्यक्‍तिगत परिस्थितिअनुरूप ढाल्न के गर्न सकिन्छ त्यो विचार गर्न मदत गर्छ।

अतः यसमा कुनै शंका छैन, कतिपय परिवारहरूलाई पारिवारिक अध्ययनका लागि कहिलेकाहीं यो किताब चलाउन मनपर्ला। तिनीहरूले अवश्‍य त्यसो गर्न सक्छन्‌ र अध्ययन गर्दा पालैसँग परिवारका सबै सदस्यहरूले अनुच्छेद पढे अनि उद्धृत शास्त्रपदहरू हेरे बेस। विषयवस्तु ढाक्नेजति उपशीर्षकहरू पढेपछि वा पूरै अध्याय पढिसकेपछि छलफलका लागि प्रश्‍नहरू भन्‍ने अंशमा दिइएका प्रश्‍नहरू बीचबीचमा पनि सोध्न सकिन्छ। अध्ययनको दौडान सबैलाई आफ्ना विचारहरू धक नमानी खुलस्त पार्ने प्रोत्साहन दिन सकिन्छ। अनि परिवारसँग बाहेक युवा जनहरूलाई आफ्नै दौंतरीहरूसँग पनि यो किताप छलफल गर्नु रमाइलो लाग्नसक्छ।

हामी बाँचिरहको समय अरूका लागि मात्र नभई युवावर्गका लागि पनि “डरलाग्दो समय” हो। (२ तिमोथी ३:१) तथापि, परमेश्‍वरको ज्ञान चलाएर तपाईं जीवनका हर कठिन परिस्थितिलाई सफलतापूर्वक पार गर्न सक्नुहुन्छ। (भजन ११९:९) अतः तपाईं युवा जनहरूलाई बिलखबन्दमा पारिरहेका प्रश्‍नहरूको बाइबल आधारित जवाफहरूलाई कितापको रूपमा संकलन गर्न पाएकोमा हामी खुशी व्यक्‍त गर्छौं।

प्रकाशक

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित हुने अर्धमासिक पत्रिका।