सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमा र बुबा किन छुट्टिनुभएको होला?

आमा र बुबा किन छुट्टिनुभएको होला?

अध्याय ४

आमा र बुबा किन छुट्टिनुभएको होला?

“बुबाले हामीलाई छोडेर जानुभएको मैले अझै बिर्सेको छैन। वास्तवमा हामीलाई त्यतिबेला के कसो केही थाह थिएन। आमा काममा जानुहुन्थ्यो, हामी चाहिं दिनभरि एक्लै हुन्थ्यौं। कहिलेकाहीं झ्यालबाहिर टुलुटुलु हेरेर बस्थ्यौं र उहाँले पनि हामीलाई छाडेर जानुभएको हो कि भनेर असाध्यै पीर गर्थ्यौं। . . . ”—छुटानाम भएको परिवारकी छोरी।

आमाबाबुको छुटानाम हुँदा बच्चाहरूले संसारै डुबेको र आफ्नो जिन्दगी सधैंभरि दुःखै दुःखले भरिनेछ भन्ठान्छन्‌। यसले प्रायः लाज, रीस, चिन्ता, त्यागिएला भन्‍ने डर, दोषी भावना, निराशा र गहिरो आघातजस्ता भावनाहरू उत्पन्‍न गर्छन्‌। अनि बदला लिने भावनासमेत आउनसक्छ।

तपाईंको आमाबाबु छुट्टिनुभएको धेरै भएको छैन भने तपाईंले पनि त्यस्तै भावनाहरू महसुस गरिरहनुभएको हुनसक्छ। आखिर हाम्रो सृष्टिकर्ताको इच्छा त, आमा र बुबा दुवैले तपाईंको लालनपालन गरोस्‌ भन्‍ने हो। (एफिसी ६:१-३) यद्यपि, अब भने तपाईं माया गर्नुहुने आमा वा बुबाको प्रेमबाट वञ्चित हुनुपरेको छ। “म बुबा भनेपछि हुरुक्कै हुन्थें र सधैं उहाँसितै बस्न चाहन्थें,” भनी पल दुखेसो पोख्छन्‌। सात वर्षको छँदा तिनका आमाबाबु छुट्टिएका थिए। “तर हाम्रो हेरचाह गर्ने जिम्मा भने आमालाई दिइयो।”

आमाबाबु किन छुट्टिन्छन्‌

आमाबाबुले प्रायजसो आफ्ना समस्याहरू असाध्यै गुपचुप राखेका हुन्छन्‌। लिनका आमाबाबुले तिनी सानै छँदा छुटानाम गरे। तिनी यसो भन्छिन्‌, “मेरा आमाबाबुहरू झगडा गर्नुभएको मलाई कहिल्यै सम्झना छैन। मेरो विचारमा उहाँहरू मिल्नुहुन्छ जस्तो लाग्थ्यो।” अनि आमाबाबु समय समयमा झगडा गर्ने गर्थे नै भने पनि साँच्चै छुटानाम हुँदा बच्चाहरू छाँगोबाट खसेझैं महसुस गर्छन्‌!

प्रायः, आमा या बुबाको यौन दुराचरणले गर्दा छुटानाम हुन्छ। निर्दोष पति वा पत्नीले छुटानाम गर्न चाहन्छ भने परमेश्‍वरले उसलाई अनुमति दिनुहुन्छ। (मत्ती १९:९) अनि कहिलेकाहीं भने “तीतोपना, क्रोध रीस” चर्किएपछि कुटपिट पनि हुन्छ, त्यसपछि आफ्नो र बालबच्चाको सुरक्षाको खातिर छुटानाम गर्छन्‌।—एफिसी ४:३१.

हो, केही छुटानामहरू चाहिं चानचुने कुराहरूमा पनि हुने गर्छन्‌। समस्या समाधान गर्न खोज्नुको साटो केही व्यक्‍तिहरू आफ्नो स्वार्थपूर्तिको लागि, ‘म खुशी छैन’ वा ‘हामीबीच मायाप्रीती नै छैन’ भन्‍ने जस्ता बहानाहरू बनाएर छुटानाम गर्छन्‌। परमेश्‍वर यो मन पराउनुहुन्‍न किनभने पति वा पत्नीलाई “त्याग्ने कुरालाई [उहाँ] घिन” गर्नुहुन्छ। (मलाकी २:१६) पति वा पत्नीले मसीहीधर्म अपनाउँदा पनि कसै कसैले सम्बन्ध विच्छेद गर्नेछन्‌ भनी येशूले संकेत दिनुभयो।—मत्ती १०:३४-३६.

कुरा जेसुकै होस्‌, छुटानामबारे तपाईंले सोध्नुहुँदा केही भन्‍नुभएन वा अस्पष्ट जवाफ मात्र दिनुभयो भन्दैमा उहाँहरूले अब तपाईंलाई माया गर्नुहुन्‍न भनेको होइन। a उहाँहरूको आफ्नै दुःख अनि पीडाले गर्दा छुटानामबारे कुरा गर्नै गाह्रो भइरहेको हुनसक्छ। (हितोपदेश २४:१०) एकअर्काका त्रुटिहरू स्वीकार्न अप्ठ्यारो वा लाज लागेको पनि हुनसक्छ।

तपाईं के गर्न सक्नुहुन्छ

आमाबाबुलाई आफ्ना चिन्ताहरू शान्तपूर्वक बताउन उपयुक्‍त समय छान्‍ने प्रयास गर्नुहोस्‌। (हितोपदेश २५:११) छुटानामले गर्दा तपाईं कत्तिको दुःखी र विचलित हुनुभएको छ भनेर उहाँहरूलाई थाह दिनुहोस्‌। शायद तपाईंले चित्तबुझ्दो जवाफ पाउनुहोला। जवाफ पाउनुभएन भने पनि दिक्क नमान्‍नुहोस्‌। आफ्ना चेलाहरूले बुझ्न नसक्लान्‌ जस्तो लागेका जानकारीहरू येशूले बताउनुभयो र? (यूहन्‍ना १६:१२) अनि के तपाईंको आमाबाबुसित केही कुराहरू गोप्य राख्ने अधिकार छैन र?

अन्ततः, यो कुरा पनि बुझ्नुहोस्‌, तपाईंको कारणले होइन तर उहाँहरूबीचको मतभेदले गर्दा छुटानाम भएको हो! छुटानाम भएका ६० वटा परिवारहरूको अध्ययनबाट वलरस्टाइन र केलीले के पत्ता लगाए भने, छुटानामको लागि पति वा पत्नीले एकअर्का, हाकिम, परिवारका सदस्यहरू वा साथीहरूलाई दोष लाए। तर ती अनुसन्धानकर्ताहरू यसो भन्छन्‌: “चाखलाग्दो कुरा के भने, कसैले पनि छोराछोरीलाई दोष लाएनन्‌।” तपाईंप्रति आमाबाबुका भावनाहरू बदलिएका छैनन्‌।

समय बित्दै गएपछि आफै निको हुन्छ

“निको पार्ने एउटा समय” छ। (उपदेशक ३:३) हाड भाच्चिंदा निको हुन हप्तौं वा महिनौं लागेझैं भावनात्मक चोट पनि राम्ररी निको हुन समय लाग्छ।

छुटानाम विषयमा अनुसन्धान गरेका वलरस्टाइन र केलीले पत्ता लगाएअनुसार “छुटानाम हुँदा जति नै स्तब्ध भएको भए तापनि पछि आफूलाई सँभाल्न सके र डर, शोकजस्ता भावनाहरू पनि बिस्तारै कम हुँदै गए वा केही समयपछि त त्यसको याद पनि भएन।” केही विशेषज्ञहरूको भनाइअनुसार त तीन वर्षभित्र, छुटानामको जस्तोसुकै पीडा पनि कम हुन्छ। यो त असाध्यै लामो समयजस्तो देखिएला तर तपाईंको जीवन पुनः पहिलेजस्तै चल्न धेरै कुराहरू हुनु खाँचो छ।

एउटा कुरा त, छुटानामले गर्दा गोलमाल भएको घरका कामकुराहरू फेरि मिलाउनुपऱ्‍यो। तपाईंका आमा या बुबालाई भावनात्मक तवरमा दह्रो हुन पनि केही समय लाग्ला। तब मात्र उहाँहरूले तपाईंलाई चाहिएको सहयोग दिन सक्नुहुनेछ। तपाईंको जीवनमा केही हदसम्म स्थिरता देखिन थालेपछि तपाईंलाई फेरि सबै कुरा सामान्य लाग्नेछ।

तथापि, सुलेमानले यस्तो चेताउनी दिए: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।” (उपदेशक ७:१०) अतीतलाई मात्र सम्झिरहँदा वर्तमान जीवन खल्लो हुनसक्छ। छुटानाम हुनुअघि तपाईंको पारिवारिक अवस्था कस्तो थियो? आनेट यसो भन्छिन्‌, “सधैं झगडा, कचकच भइरहन्थ्यो, गालीगलौज, एकअर्कालाई जे पायो त्यो नाउँले बोलाइन्थ्यो।” बरु अहिले तपाईंको घर अलि शान्तिपूर्ण भएको छ कि?

‘म उहाँहरूको मिलन गराउनसक्छु’

केही युवाहरूले आफ्ना आमाबाबुको मिलन गराउने सपना देख्छन्‌ र आफ्ना आमा या बुबाले पुनर्विवाह गरिसकेपछि समेत त्यस्तो कल्पनामा डुबिरहन्छन्‌!

तथापि, छुटानाम भई नै सकेको छ भने, वास्तविकतालाई नकारेर के फाइदा। अनि जति नै रोए पनि, बिन्तीभाव गरे पनि र अनेकन्‌ तरकिब निकाले पनि शायद तपाईंको आमाबाबुको पुनर्मिलन नहुनसक्छ। त्यसकारण बेकारमा किन टाउको दुखाउने? (हितोपदेश १३:१२) सुलेमानले भने, “हराउने एउटा समय” छ। (उपदेशक ३:६) अतः छुटानामको वास्तविकता तथा स्थायित्वलाई स्वीकार्नुहोस्‌। तपाईंको चोटलाई कम गर्ने यो एउटा ठूलो कदम हो।

आमाबाबुसित मिलाप गर्ने

तपाईंको जीवन अस्तव्यस्त पारेको हुनाले आमाबाबुसित रिसाउने सही कारण पनि होला। एक युवकले रिसाउँदै यसो भने: “मेरा आमाबाबु स्वार्थी हुनुहुन्थ्यो। उहाँहरूले हाम्रो वास्तै गर्नुभएन, हामीमाथि कस्तो असर पर्ला भनेर सोच्दै सोच्नुभएन। हाम्रो परवाह नगरी छुटानाम गरिहाल्नुभयो।” यसो भएको पनि होला। तर त्यसरी जिन्दगीभर रीस र द्वेष राखिरहनुभयो भने नोक्सानी बेहोर्नु नपर्ला त?

बाइबल यस्तो सल्लाह दिन्छ: “सबै तीतोपना, क्रोध रीस, . . . तिमीहरूबाट त्यागिओस्‌। . . . एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३१, ३२) त्यस्तो गहिरो चोट पुऱ्‍याउने व्यक्‍तिलाई तपाईं कसरी क्षमा दिन सक्नुहुन्छ? आमाबाबुको पनि कुरा बुझ्ने कोसिस गर्नुहोस्‌, उहाँहरूबाट गल्तीहरू हुनसक्छन्‌, उहाँहरू तपाईंजस्तै असिद्ध मानिसहरू नै हुन्‌। हो, आमाबाबुले समेत “पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३) यो बुझेपछि आमाबाबुसित मिलाप गर्न सजिलो हुनसक्छ।

आफ्ना भावनाहरू बताउनुहोस्‌

हामीले अन्तरवार्ता लिंदा एक युवकले यसो भने, “आमाबाबुको छुटानामपछि मैले कस्तो महसुस गरें भनेर वास्तवमा कसैलाई बताएको छैन।” सुरु सुरुमा भावशून्य भए तापनि बोल्दा बोल्दै तिनी असाध्यै भावुक भएर रोए पनि। मनभित्र गुम्साइराखेका भावनाहरू पोखिए। आफ्नो यस्तो व्यवहार देखेर छक्क पर्दै तिनले यसो भने: “अरूसित कुरा गर्दा साँच्चै सञ्चो हुँदो रहेछ।”

अलग्गै बस्नुको साटो कसैलाई आफ्नो दुःख पोख्नु तपाईंको लागि पनि मदतकारी हुनसक्छ। तपाईंको भावना, डर र चिन्ता आमाबाबुलाई बताउनुहोस्‌। (हितोपदेश २३:२६ तुलना गर्नुहोस्‌।) परिपक्व मसीहीहरूले पनि मदत गर्नसक्छन्‌। उदाहरणका लागि, छुटानामले परिवार भताभुंग हुँदा किथले आफ्नो परिवारबाट भनेजस्तो समर्थन नपाए तापनि अन्तैबाट सहयोग पाए। किथ यसो भन्छन्‌: “मसीही परिवार नै मेरो परिवार भयो।”

सबैभन्दा महत्त्वपूर्ण कुरा त, “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर जो स्वर्गमा हुनुहुन्छ उहाँले तपाईंको कुरा सुन्‍नुहुनेछ। (भजन ६५:२) आमाबाबुको छुटानामपछि आफूलाई मदत गरेको कुराबारे पल यसो भन्छन्‌: “म हर बखत प्रार्थना गर्थें र यहोवा वास्तविक व्यक्‍ति हुनुहुन्छ भन्‍ने विषयमा मैले कहिल्यै शंका गरिनँ।”

फेरि सामान्य जीवन बिताउन थाल्ने

छुटानामपछि पहिलेको जस्तो परिस्थिति फेरि नहुन पनि सक्छ। तर यसको मतलब तपाईंको जीवन फलदायी र आनन्दमय हुनसक्दैन भनेको होइन। बाइबलले यस्तो सल्लाह दिन्छ, “प्रयत्न गर्नामा अल्छी नहोओ।” (रोमी १२:११) दुःख, आघात वा रीसको कारण जीवनलाई ठप्प पार्न नदिई सामान्य जीवन बिताउन थाल्नुहोस्‌! स्कूलको क्रियाकलापमा व्यस्त रहनुहोस्‌। कुनै सोखमा मन लगाउनुहोस्‌। अनि “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जानुहोस्‌।—१ कोरिन्थी १५:५८.

तर यसो गर्न प्रयास, कटिबद्धता तथा समय चाहिन्छ। त्यसो गर्नुभयो भने आमाबाबुको छुटानामले तपाईंको जीवनमा त्यति बाधा पुऱ्‍याउनेछैन।

[फुटनोट]

a अनुसन्धानकर्ताहरू, वलरस्टाइन र केलीअनुसार “[छुटानाम भएको परिवारका] कान्छो बच्चाहरूसित लिइएको सर्वेक्षणअनुसार पाँच जनामध्ये चार जनालाई छुटानामबारे यथेष्ट जानकारी दिइएको थिएन वा पछि तिनीहरू अलपत्र पर्नेछैनन्‌ भनी कुनै ढाडस दिइएको थिएन। अतः ती बालबच्चाहरू बिहान उठ्‌दा, आमा या बुबाले घर छाडेर अन्तै हिंडिसकेको थाह पाउँदा झसँगै हुन्छन्‌।”

छलफलका लागि प्रश्‍नहरू

◻ आमाबाबुहरू छुट्टिनुका केही कारणहरू के हुन्‌?

◻ छुटानामबारे कुरा गर्न आमाबाबुलाई किन गाह्रो लाग्नसक्छ? त्यसबारे कुरा गर्न उहाँहरू हिचकिचाउनु भएको खण्डमा तपाईं के गर्न सक्नुहुन्छ?

◻ अतीतलाई मात्र सम्झिरहनु वा आमाबाबुको पुनर्मिलन गराउने कल्पनामा डुबिरहनु किन बेकार छ?

◻ छुटानामपछिको पीडालाई सहन तपाईंले कस्ता सकारात्मक कार्यहरू गर्न सक्नुहुन्छ?

◻ आमाबाबुप्रतिको रीसलाई तपाईं कसरी शान्त गर्न सक्नुहुन्छ?

[पृष्ठ ३६ र ३७-मा भएको पेटी]

उहाँहरूको छुटानामले मेरो जीवन भताभुंग हुने हो कि?’

आमाबाबुको छुटानामपछि केही युवाहरूले आफ्नो जीवनलाई नै भताभुंग पार्छन्‌। कसै कसैले स्कूल जानै छाड्‌ने जस्ता लापरवाही निर्णयहरू गर्छन्‌। अरू भने आमाबाबुलाई पाठ सिकाउन बदमास काम गरेर आफ्नो निराशा र रीस पोख्छन्‌। डेनी यसरी सम्झन्छन्‌: “आमाबाबुको छुटानामपछि म दुःखी र निराश भएँ। स्कूलमा पनि राम्ररी पढ्‌न सकिनँ र एक साल त फेल पनि भएँ। त्यसपछि म . . . साथीभाइहरूको बीचमा जोकरजस्तै भएँ र झगडाहरूमा फस्न थालें।”

अपमानजनक व्यवहार गरेर पनि कसै कसैले आफ्ना आमाबाबुको ध्यानाकर्षण गर्न खोज्छन्‌। तर यसो गर्नु तनाउपूर्ण परिस्थितिलाई झनै तनाउपूर्ण बनाउनु मात्र हो। भनौं भने, यस्तो गलत काम जसले गर्छ, उसले नै सजाय भोग्छ। (गलाती ६:७) तपाईंको आमाबाबुले दुःख भोगिरहनुभएको छ भनेर बुझ्ने कोसिस गर्नुहोस्‌ र जानाजानी तपाईंलाई बेवास्ता गर्नुभएको होइन भनेर पनि बुझ्नुहोस्‌। डेनीकी आमाले यसो भनिन्‌: “मैले आफ्ना छोराछोरीहरूको हेरचाह गर्न नसकेकै हो। छुटानामपछि मेरो जीवन यति भताभुंग भएको थियो कि तिनीहरूलाई कुनै मदत दिन सकिनँ।”

बाइबलले हिब्रू १२:१३ मा यस्तो सल्लाह दिन्छ: “लंगड़ाको गेड़ी नफुस्कोस्‌, तर निको होस्‌ भनेर तिम्रा खुट्टाहरूको निम्ति सीधा मार्ग बनाओ।” आमाबाबुले अनुशासन दिनुभएन भन्दैमा जथाभावी गर्ने छुट पाइँदैन। (याकूब ४:१७) सोचविचार गरेर मात्र कुनै पनि कार्यहरू गर्नुहोस्‌ र आत्मअनुशासित हुनुहोस्‌।—१ कोरिन्थी ९:२७.

हतपती घर छोड्‌ने जस्ता निर्णयहरू पनि नगर्नुहोस्‌। “चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) तपाईंको कुरा सुन्‍न आमाबाबु असाध्यै बेफुर्सती देखिनुहुन्छ भने कुनै पाको साथीसित कुरा गरे कसो होला?

तैपनि, भविष्यबारे तपाईंका थुप्रै चिन्ताहरू होलान्‌। आमाबाबुको वैवाहिक जीवन असफल भएको हुँदा तपाईंको विवाह पनि असफल हुने हो कि भनेर चिन्तित हुनु स्वाभाविकै हो। खुशीको कुरा, छालाको रंगजस्तै वैवाहिक असफलता, आमाबाबुबाट छोराछोरीमा सर्ने कुरा होइन। तपाईंको आफ्नै व्यक्‍तित्व छ र तपाईंको भावी वैवाहिक जीवन कस्तो हुनेछ, त्यो तपाईंको आमाबाबुको असफलतामा होइन तर तपाईं वा तपाईंको पति या पत्नीले कुन हदसम्म परमेश्‍वरको वचन पालन गर्नुहुन्छ त्यसैमा निर्भर हुनेछ।

भोजन, लुगाफाटा, आवास र पैसाजस्ता पहिले पहिले वास्तै नगरेका कुराहरूको पनि चिन्ता लाग्नसक्छ। तथापि, छुटानामपछि आमाबाबुले कुनै न कुनै उपाय निकालेर आफ्ना बच्चाहरूको हेरचाह गरिरहेका हुन्छन्‌। यसको निम्ति आमाले पनि जागिर खानुपर्ने हुनसक्छ। छुटानामलाई सहने (अंग्रेजी) पुस्तक यस्तो व्यवहारिक चेताउनी दिन्छ: “पहिले एउटा परिवारको हेरचाह गरिरहेको थियो भने अहिले दुइटा परिवारको पालनपोषण गर्नुपर्ने हुन्छ। यसले गर्दा परिवारको प्रत्येक सदस्यको जीवनस्तर पहिलेजस्तो हुँदैन।”

तसर्थ, पहिलेजस्तो नयाँ लुगाफाटाहरू फेरी फेरी लगाउनु त परै जाओस्‌ एक जोर नयाँ लुगा किन्‍न पनि गाह्रो हुनसक्छ। बाइबल हामीलाई यसरी सम्झाउँछ: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:७, ८) शायद तपाईंले पनि दुइ चार पैसा कमाएर परिवारलाई सहयोग गर्न सक्नुहुन्छ। यो पनि नबिर्सनुहोस्‌, यहोवा “टुहुराका बाबु” हुनुहुन्छ। (भजन ६८:५) तपाईंका आवश्‍यकताहरूप्रति उहाँले गहिरो चासो लिनुहुन्छ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।

यर्मियाले यस्तो टिप्पणी गरे: “आफ्नो युवावस्थामानै जुवा बोक्नु मानिसलाई असल हुन्छ।” (विलाप ३:२७) हो, आमाबाबु छुट्टिएको हेर्नु कुनै “असल” कुरो होइन। तर यस नकारात्मक अनुभवलाई तपाईंको फाइदा हुने ढंगमा चलाउन सकिन्छ।

अनुसन्धानकर्ता जुडिथ वलरस्टाइनले यस्तो टिप्पणी गरे: “[छुटानाम भएका आमाबाबुका छोराछोरीहरूको] भावनात्मक तथा बौद्धिक विकास जोडदार हुनुको साथै कहिलेकाहीं त हृदय छुने खालको थियो। त्यस्ता युवाहरूले . . . आमाबाबुको अनुभवलाई गम्भीरतापूर्वक केलाए र आफूले के गर्नुपर्ला, के गर्नु नहोला भनेर ठोस निष्कर्षमा पुग्न सके। आफ्ना आमाबाबुको जस्तो गल्ती नदोऱ्‍याउने तरिकाहरू खोज्न तिनीहरू चिन्तित थिए।”

निस्सन्देह, तपाईंको आमाबाबुको छुटानामले तपाईंको जीवनमा अमेट छाप पार्छ। तर त्यो छाप बिस्तारै हराएर जाने हो वा घाउ झनै चर्किने हो, तपाईंकै हातमा छ।

[पृष्ठ ३५-मा भएको चित्र]

आमाबाबु छुट्टिएको हेर्न पर्नु तपाईंको लागि सबैभन्दा पीडा-दायी अनुभव हुनसक्छ, यस्तो होला भनेर तपाईंले कल्पनासमेत गर्नुभएको थिएन होला

[पृष्ठ ३८-मा भएको चित्र]

अतीतको कुरा सोचिरह्‍यौं भने निराशा सिवाय अरू केही पाइँदैन