सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घर छोडेर जाऊँ कि?

घर छोडेर जाऊँ कि?

अध्याय ७

घर छोडेर जाऊँ कि?

“प्यारो बुबा र मुमा:

“आखिर मैले घर छोड्‌ने नै निधो गरें। मैले पहिले पनि भनिसकें, तपाईंहरूको चित्त दुखाउन वा तपाईंहरूसित निहुँ खोज्न मैले यसो गरेकी होइन। तर म तपाईंहरूले चाहनुभएजस्तो गुम्सिएर खुशी हुन सक्दिनँ। शायद घरबाट भागेपछि पनि खुशी त हुन सक्दिनँ होला तैपनि के हुँदो रहेछ, हेर्न चाहन्छु।”

एउटी १७ वर्षीया केटीले घर छोड्‌नुअघि आफ्नो आमाबाबुलाई यस्तो पत्र लेखिन्‌। उदाहरणका लागि, जर्मनीमा १५ देखि २४ वर्षबीचका चार जना केटाहरूमध्ये एक जना र तीन जना केटीहरूमध्ये एक जना आमाबाबुसँग बस्दैनन्‌। शायद तपाईंले पनि घर छोड्‌ने विचार गरिरहनुभएको होला।

विवाह गर्ने चाहनाले गर्दा “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ” भनेर परमेश्‍वरलाई पहिल्यै थाह थियो। (उत्पत्ति २:२३, २४) अनि घर छोड्‌ने जायज कारणहरू पनि छन्‌, जस्तै परमेश्‍वरको सेवामा अझ बढी समय बिताउन। (मर्कूस १०:२९, ३०) तथापि, थुप्रै युवाहरू भने असाध्यै गुम्सिएजस्तो लागेर घर छोडेर हिंड्‌छन्‌। एक युवकले यसो भने: “कुरा यति हो, म आत्मनिर्भर हुन चाहन्छु। आमाबाबुसित एउटै घरमा बस्न रमाइलो लाग्न छाड्यो। सधैंको कचकच, कुरै बुझ्नुहुन्‍न। त्यसबाहेक, असाध्यै गुम्सिएको महसुस हुन्छ, फिटिक्क चल्न पनि आमाबाबुलाई सोध्नुपर्छ।”

आत्मनिर्भर हुन तयार हुनुहुन्छ त?

तर तपाईं आफ्नै खुट्टामा उभिन चाहनुहुन्छ भन्दैमा त्यसको लागि तयार पनि हुनुहुन्छ भनेको हो त? एउटा कुरा, कसैमा भर नपरी आफैले कामकुरा मिलाउनु सोचे जति सजिलो हुँदैन। काम पाउनु सजिलो छैन। घर भाडा छोई नसक्नु छ। अनि आर्थिक भार खप्न नसक्ने युवाहरू प्रायजसो के गर्न बाध्य हुन्छन्‌? मूल कारण पत्ता लगाउने (अंग्रेजी) पुस्तकका लेखकहरू यसो भन्छन्‌: “तिनीहरू घर फर्कन्छन्‌ र त्यो भार फेरि आमाबाबुले नै सँभालोस्‌ भन्‍ने आशा गर्छन्‌।”

अनि तपाईंको मानसिक, भावनात्मक र आध्यात्मिक परिपक्वता नि? ठूलो भएँ भनेर दंग त पर्नुहोला तर कतिपय कुराहरूमा आमाबाबुलाई तपाईं “केटा-केटी” जस्तै लाग्ला। (१ कोरिन्थी १३:११) अनि साँच्चै भनौं भने, तपाईंलाई कत्तिको स्वतन्त्रता चाहिन्छ भनेर तपाईंको आमाबाबुलाई भन्दा बढी कसलाई थाह होला र? उहाँहरूको कुरा नसुनी आफै जान्‍नेबुझ्ने हुन खोज्दा खतरा मोल्नु पर्नसक्छ।—हितोपदेश १:८.

‘आमाबाबुसित कुरै मिल्दैन!’

के तपाईंलाई पनि त्यस्तै लागिरहेको छ? त्यसो भन्दैमा गुन्टा कसिहाल्नु मिल्दैन। युवावस्थामा तपाईंलाई आमाबाबुको खाँचो पर्छ र शायद उहाँहरूको अन्तरदृष्टि तथा बुद्धिबाट तपाईंले जीवनमा निकै लाभ उठाउन सक्नुहुनेछ। (हितोपदेश २३:२२) उहाँहरूसित दुइ चार चोटि खटपट भयो भन्दैमा चटक्कै घर छाडेर जानु मिल्छ र?

पूर्ण-समय सेवकाईमा लाग्न घर छोडेर जाने कार्स्टन नाउँका जर्मन युवक यसो भन्छन्‌: “आमाबाबुसित कुरै मिल्दैन भनेर कहिल्यै घर नछोड्‌नुहोस्‌। उहाँहरूसित त मिल्न सक्नुहुन्‍न भने अरू मानिसहरूसित कसरी मिल्न सक्नुहोला र? घर छोडेर जाँदैमा समस्या समाधान हुने होइन। त्यसको विपरीत, तपाईं अझै पनि बच्चै हुनुहुँदो रहेछ भनेर अरूले प्रष्टै देख्नेछन्‌ र तपाईं आमाबाबुबाट एकदमै टाढिनु हुनेछ।”

नैतिक मूल्य मान्यता तथा मनोवृत्ति

बेलै नपुगी घर छोडेर जाने युवाहरूले अनेकन्‌ नैतिक खतराहरूबारे विचारै नपुऱ्‍याएका हुनसक्छन्‌। लूका १५:११-३२ मा येशूले एक जवान मानिसबारे बताउनुभयो जो आमाबाबुको सहाराबिना एक्लै जीवन बिताउन चाहन्थे। आमाबाबुको सही निर्देशन नभएको हुँदा तिनी “मोज-मजामा” डुब्न थाले र अनैतिकतामा फसे। समय नबित्दै तिनले आफ्नो भएभरको धन सम्पत्ति पनि उडाए। जागिर पाउन यति गाह्रो भयो कि यहूदीहरूले छिःछिः दूरदूर गर्ने काम गर्नुपऱ्‍यो अर्थात्‌ सुंगुर चराउन बाध्य भए। तथापि, यस उडन्ता पुत्र कहलिएको केटो होसमा आए। आफ्नो फोस्रो घमण्डलाई त्यागेर तिनी घर फर्के र बुबासित माफी मागे।

परमेश्‍वरको दयालाई प्रकाश पार्न यो उखान बताइएको भए तापनि यसमा एउटा व्यवहारिक पाठ पनि छ। त्यो हो, मूर्खतापूर्ण कामको लागि घर छोड्‌नु नैतिक तथा आध्यात्मिक तवरमा हानिकारक हुनसक्छ! दुःखको कुरा, स्वतन्त्र हुने उद्देश्‍यले घर छोड्‌ने केही मसीही युवाहरूले आध्यात्मिक क्षति भोग्नु परेको छ। कतिपय चाहिं पैसाको राम्रो बन्दोबस्त मिलाउन नसकेकोले खर्च कम होला कि भनेर बाइबल सिद्धान्तअनुरूप जीवन नबिताउने अरू युवाहरूसँगै डेरामा बसे।—१ कोरिन्थी १५:३३.

घर छोडेर हिंड्‌ने आफ्नो दौंतरीबारे होर्स्ट नाउँका जर्मन केटो यसो भन्छन्‌: “विवाह नै नगरी तिनी आफ्नो प्रेमिकासित बस्न थाले। साथीभाइहरूसित जमघटमा रक्सी यति धेरै पिइन्थ्यो, भनेर साध्यै छैन, र प्रायजसो तिनी मात्तिएकै हुन्थे। तिनले घर नछोडेका भए तिनको आमाबाबुले यसो हुन दिनुहुने थिएन।” होर्स्टले अन्तमा यसो भने: “हो, घर छोडेपछि तपाईं बढी स्वतन्त्र हुनुहुन्छ। तर इमानदारीपूर्वक भन्‍ने हो भने, के यो स्वतन्त्रता प्रायजसो खराब काम गर्न प्रयोग गरिंदैन र?”

अतः, बढी स्वतन्त्रता खोज्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: मलाई वास्तवमा के गर्न बढी स्वतन्त्रता चाहिएको? भौतिक चीजबीच जम्मा गर्न वा घरमा बस्दा आमाबाबुले गर्न नदिनुहुने कुराहरू गर्न? बाइबलले यर्मिया १७:९ मा के भन्छ, नबिर्सनुहोस्‌: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?”

घरमै बसिरहें भने कसरी परिपक्व हुनसक्छु र?

युवावस्था (अंग्रेजी) पुस्तक यस्तो टिप्पणी गर्छ: “परिवारबाट अलग बस्दैमा बुद्धि छिप्पिने होइन। तर अर्कोतर्फ, बुद्धि नपुगेकाहरूले मात्र घर छोडेर जाँदैनन्‌ भनेको पनि होइन।” निस्सन्देह, परिपक्व हुनु भनेको आफ्नै पैसा, जागिर वा घर हुनु मात्रै होइन। एउटा कुरा नबिर्सनुहोस्‌, समस्याबाट भागेर होइन त्यसको मुकाबिला गरेर परिपक्व भइन्छ। आफूलाई मन नपर्ने परिस्थितिबाट भागेर केही काम बन्दैन। विलाप ३:२७ यसो भन्छ, “आफ्नो युवावस्थामानै जुवा बोक्नु मानिसलाई असल हुन्छ।”

उदाहरणका लागि, कुरै नमिल्ने वा असाध्यै कडिकडाउ गर्ने आमाबाबुलाई लिनुहोस्‌। अहिले ४७ वर्ष पुगिसकेका म्याकको बुबाले स्कूलबाट घर फर्केपछि उनलाई घरधन्दाको थाक लगाइदिन्थ्यो। गर्मीको बिदामा अरू केटाहरू खेल्नमा मग्न हुँदा म्याक भने काममा घोटिनुपर्थ्यो। म्याक भन्छन्‌, “हामीलाई खेल्न र रमाइलो गर्न नदिएर काम गराउने उहाँजस्तो छुच्चो मानिस त संसारमा कोही छैन होला जस्तो लाग्थ्यो। ‘यहाँबाट भागेर कतै एक्लै बस्न पाए त कति हुनेथियो!’ भनेर प्रायजसो सोच्ने गर्थें।” तथापि, अहिले म्याकको दृष्टिकोण अर्कै छ: “बुबाले मलाई जे जति गराउनुभयो, त्यो अनमोल थियो। उहाँले मलाई कठिन परिश्रम गर्न र कठिनाइहरू सहन सिकाउनुभयो। अहिलेसम्म मैले थुप्रै गम्भीर समस्याहरू भोगिसकें तर त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ, मलाई थाह छ।”

मूर्खको संसार

तथापि, घरमा बस्दैमा मात्र परिपक्व भइन्छ भन्‍ने पनि होइन। एक युवा यसो भन्छन्‌: “घरमा आमाबुबासित बस्नु त मेरो लागि मूर्खको संसारमा बस्नु सरह थियो। उहाँहरूले मेरो निम्ति सबै कुरा गरिदिनुहुन्थ्यो।” परिपक्व हुनु भनेको आफ्नो काम आफै गर्न सिक्नु पनि हो। हो, घरको फोहरलाई कन्टेनरसम्म पुऱ्‍याउनु वा लुगा धुनु, आफूलाई मन पर्ने गीत सुन्‍नु जति त रमाइलो हुँदैन। तर यस्ता कुराहरू गर्न कहिल्यै सिक्नुभएन भने के हुनेछ? तपाईं निस्सहाय वयस्क हुनुहुनेछ, जे गर्न पनि आमाबाबु वा अरूमा भर पर्नुपर्ने हुन्छ।

के तपाईं (जवान केटा होस्‌ या केटी) पकाउन, सफासुग्घर गर्न, इस्त्री लगाउन वा घरायसी मर्मत वा गाडीहरू बनाउन सिक्नुभएर अन्ततः आफ्नै खुट्टामा उभिने तयारी गर्दै हुनुहुन्छ?

आर्थिक तवरमा आफ्नै खुट्टामा उभिने

सम्पन्‍न देशका युवाहरू पैसा भनेको सजिलै कमाउन र खर्च गर्न सकिने कुरा भन्ठान्छन्‌। आंशिक जागिर छ भने प्रायजसो क्यासेटहरू र डिजाइनर लुगाहरू किन्‍न पैसा खर्च गर्छन्‌। त्यस्ता युवाहरू घर छोडेर अलग्गै बस्न थाल्दा असाध्यै झसंग हुन्छन्‌! होर्स्ट (माथि उल्लिखित) यसो भन्छन्‌: “यसरी अलग्गै बस्दा मसान्तसम्म त मेरो खल्ती र घरको रासन दुवै रित्तिसकेको हुन्थ्यो।”

घरमै बस्दा बुद्धिमानीपूर्वक पैसा राम्ररी खर्च गर्न सिके कसो होला? तपाईंका आमाबाबुहरूसित वर्षौंको अनुभव छ र तपाईंलाई असंख्य खतराहरूबाट जोगाउन मदत दिन सक्नुहुन्छ। मूल कारण पत्ता लगाउने पुस्तक उहाँहरूसित यस्ता प्रश्‍नहरू सोध्ने सुझाउ दिन्छन्‌: ‘हरेक महिना बिजुली, धारा र टेलिफोनको लागि कति पैसा तिर्नुपर्छ? हामीले के कस्ता करहरू तिरिरहेका छौं? कति बहाल तिर्नुपर्छ?’ तपाईं यो कुरा थाह पाउनुहुँदा छक्कै पर्नुहोला, आमाबाबुसित भन्दा जागिरे युवाहरूसित आफूलाई मनखुशी खर्च गर्न बढी पैसा हुन्छ! त्यसकारण तपाईंको जागिर छ भने घरखर्च चलाउन आफूले के कति सक्नुहुन्छ, आर्थिक सहयोग गर्ने कुरा गर्नुहोस्‌।

घर छोड्‌नुअघि सिक्नुहोस्‌

हो, परिपक्व हुन घर छाड्‌नैपर्छ भन्‍ने छैन। तर घरमै बस्दा पनि कडा परिश्रम गर्न सिक्नुपर्छ र यसो गर्दा सही निर्णय गर्न तथा मूर्ख नहुन मदत मिल्छ। अरूसित कसरी मिलेर काम गर्ने, त्यो पनि सिक्नुहोस्‌। कसैले आलोचना गर्दा सहन सक्नुहुन्छ, असफलता वा निराशादेखि डराउनुहुन्‍न भनेर पनि देखाउनुहोस्‌। ‘दया, भलाइ, नम्रता, संयम’ खेती गर्नुहोस्‌। (गलाती ५:२२, २३) यी गुनहरू, परिपक्व मसीही पुरुष तथा स्त्रीका साँचो गुनहरू हुन्‌।

अहिले नभए पछि विवाहजस्ता अन्य परिस्थितिहरूको कारण आमाबाबुको घरलाई छोड्‌नुपर्ने हुनसक्छ। अतः त्यतिञ्जेल घर छोडेर जान किन हतार? यसबारे आमाबाबुसित कुरा गर्नुहोस्‌। तपाईं घरमै बस्नुभयो भने उहाँहरू खुशी हुनुहुनेछ होला र तपाईंले परिवारको हितको लागि साँच्चै योगदान पुऱ्‍याइरहनुभएको छ भने त झनै खुशी हुनुहुनेछ। उहाँहरूको मदतले घरैमा बसेर पनि परिपक्व हुन तथा सिक्न सक्नुहुन्छ।

छलफलका लागि प्रश्‍नहरू

◻ धेरैजसो युवाहरूलाई घर छोड्‌न किन सकसक लाग्छ?

◻ धेरैजसो युवाहरू घर छोडेर अलग्गै बस्न किन तयार भइसकेका हुँदैनन्‌?

◻ बेलै नपुगी घर छोडेर जाँदा हुने केही खतराहरू के हुन्‌?

◻ घर छोडेर भाग्नेहरूले भोग्ने केही समस्याहरू के हुन्‌?

◻ घरमै बसेर पनि तपाईं कसरी परिपक्व हुन सक्नुहुन्छ?

[पृष्ठ ५७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आमाबाबुसित कुरै मिल्दैन भनेर कहिल्यै घर नछोड्‌नुहोस्‌। . . . अरू मानिसहरूसित कसरी मिल्न सक्नुहोला र?”

[पृष्ठ ६० र ६१-मा भएको पेटी]

के घर छोडेर जानु समस्याको समाधान हो?

वर्षेनी दश लाखभन्दा बढी किशोरकिशोरीहरू आफ्नो घर छोडेर भाग्छन्‌। कोही कोही शारीरिक वा यौन दुर्व्यवहारजस्ता असह्‍य परिस्थितिबाट उम्कन भाग्छन्‌। तर प्रायजसो किशोरकिशोरीहरू भने घर फर्कनुपर्ने समय, परीक्षाफल, घरायसी काम र क-कसलाई साथी बनाउने जस्ता कुराहरूमा आमाबाबुसित खटपट हुँदा घर छोडेर भाग्छन्‌।

शायद कतिपय कुराहरूमा तपाईं र तपाईंका आमाबाबुको सोचाइ तथा दृष्टिकोण मिल्दैन होला। तर उहाँहरूले परमेश्‍वरबाट तपाईंलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने दायित्व पाउनुभएको छ भनेर के तपाईंले विचार गर्नुभएको छ? (एफिसी ६:४) त्यसकारण उहाँहरूले तपाईंलाई धार्मिक सभा तथा अन्य क्रियाकलापहरूमा भाग लिन वा जो पायो त्योसित संगत नगर्न कर गर्नुहोला। (१ कोरिन्थी १५:३३) के त्यसो भन्दैमा विद्रोह गर्नु वा घर छाड्‌नु ठीक हो त? तपाईंले पनि परमेश्‍वरसामु एउटा दायित्व पूरा गर्नुपर्छ। त्यो हो: “आमा-बाबुको आज्ञा पालन गर।”—एफिसी ६:१-३.

यसबाहेक, घरबाट भाग्दैमा समस्या समाधान हुने होइन। चौध वर्षको उमेरमा घरबाट भागेकी एमी यसो भन्छिन्‌, “घरबाट भाग्दा समस्या मात्र बढ्‌छ।” मेरो साथी घर छोडेर भाग्न चाहन्छ (अंग्रेजी) पुस्तककी लेखिका मार्गरेट ओ. हाइड यसो भन्छिन्‌: “घरबाट भाग्नेहरूमध्ये थोरैले मात्र जागिर पाउँछन्‌ र गुजारा चलाउनसक्छन्‌। तर प्रायजसोको घर छाड्‌नुअघि भन्दा नाजुक स्थिति हुन्छ।” टिन पत्रिका यसो भन्छ: “किशोरकिशोरीहरूले सडकमा डुलेर हिंड्‌दा स्वतन्त्रता पाउँदैनन्‌। बरु तिनीहरूले आफूजस्तै घर छोडेर हिंडेका वा घरबाट निकालिएकाहरू भेट्‌छन्‌। अनि बलात्कारी वा लुटेराहरूबाट कुनै सुरक्षा नपाउने सुनसान भवनहरूमा बास खोज्न बाध्य हुन्छन्‌। युवाहरूको नाजायज फाइदा उठाएर घिनलाग्दो व्यापार गर्ने मानिसहरू पनि भेट्‌छन्‌ र यस्ताहरूले घरबाट भागेर हिंड्‌नेहरूलाई सजिलै आफ्नो शिकार बनाउँछन्‌।”

घरबाट भागेकी एमीलाई २२ वर्षीय केटोले “साथी बनाए” र त्यसको बदलामा “उनी र उनका नौ जना साथीहरूसित यौनसम्बन्ध राख्न लगाए।” तिनी “रक्सी पिएर मात्तिइन्‌ र नानाथरीका लागूपदार्थ पनि सेवन गर्न थालिन्‌।” सान्ड्रालाई धर्मपुत्री बनाएको हजुरबुबाले नै यौन दुर्व्यवहार गरेपछि तिनी त्यहाँबाट भागिन्‌। पछि तिनी सडकमा डुली हिंड्‌ने वेश्‍या भइन्‌, पार्कमा वा जथाभावी ठाउँमा सुत्न थालिन्‌। घर छोडेर भाग्ने थुप्रैको हालत यस्तै हुन्छ।

घर छोडेर भाग्ने धेरैसित पैसा आर्जन गर्ने त्यस्तो कुनै सीप हुँदैन। नता तिनीहरूसित जागिर खान चाहिने जन्म प्रमाणपत्र, सामाजिक सुरक्षा पुर्जी, स्थायी ठेगानाजस्ता कागजात नै हुन्छन्‌। लुइस भन्छिन्‌, “मैले चोर्नुपऱ्‍यो, माग्नुपऱ्‍यो तर खासगरि चोर्नुपऱ्‍यो किनभने यहाँ कसैले कसैलाई त्यसै केही दिंदैन।” घरबाट भाग्ने लगभग ६० प्रतिशत जति केटीहरू हुन्छन्‌ जो आफ्नो जीवन धान्‍न वेश्‍यावृत्ति गर्छन्‌। अश्‍लील कुराहरू उत्पादन गर्ने, लागू पदार्थ ओसारपसार गर्ने तथा वेश्‍यावृत्तिमा लगाउने मानिसहरू यसरी घर छोडेर हिंड्‌नेहरूलाई फसाउन बस बिसौनीहरूतिर डुलि हिंड्‌छन्‌। डराई डराई भागिरहेका युवाहरूलाई तिनीहरूले गाँसबासको प्रबन्ध गरी देलान्‌। तिनीहरूले घरमा नपाएको माया पनि देखाउलान्‌।

तथापि, समय बित्दै जाँदा यस्ता “उपकारीहरूले” सट्टाभर्ना खोज्छन्‌। अनि तिनीहरूका लागि वेश्‍याको रूपमा काम गर्ने, यौन दुराचरणमा संलग्न हुने वा आफ्ना अश्‍लील तस्बिरहरू खिंच्न दिन विवश पनि हुनसक्छन्‌। यसकारण घरबाट भागेर हिंड्‌नेहरूले गम्भीर चोटपटक सहनु पर्ने वा मर्नसमेत पर्नु कुनै अनौठो कुरा होइन!

तसर्थ, आमाबाबुसित आकलझुकल मात्र होइन तर सधैं कुराकानी गर्न प्रयास गर्नु बुद्धिमानी हो। तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ, के कस्तो भइरहेको छ उहाँहरूलाई थाह दिनुहोस्‌। (अध्याय २ र ३ हेर्नुहोस्‌।) शारीरिक तथा यौन दुर्व्यवहारबाट पीडित हुनुभएको छ भने बाहिरी मदत चाहिएला।

तर जेसुकै होस्‌, कुरा गर्नुहोस्‌, घरबाट भागेर चाहिं नहिंड्‌नुहोस्‌। घरमा आफूले सोचेजस्तो जीवन छैन भने पनि घरबाट भाग्दा परिस्थिति झनै नराम्रो हुनसक्छ भनेर नबिर्सनुहोस्‌।

[पृष्ठ ५९-मा भएका चित्रहरू]

आफू अलग्गै बस्दा चाहिने घरेलु सीपहरू घरमै बस्दा सिक्न सकिन्छ