सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाइबहिनीसित मिल्न किन यति गाह्रो?

भाइबहिनीसित मिल्न किन यति गाह्रो?

अध्याय ६

भाइबहिनीसित मिल्न किन यति गाह्रो?

भाइबहिनीबीच झगडा—यो त कयिन र हाबिल जत्तिकै पुरानो कुरा हो। यसको मतलब तपाईं आफ्नो भाइबहिनीलाई मन पराउनुहुन्‍न भनेको होइन। एक युवकले यसो भने: “कता कता मनभित्र त भाइको माया लाग्छ। माया गर्छु नै भन्‍नुपऱ्‍यो।”

भाइबहिनीबीचको सम्बन्धमा अक्सर दुस्मनी किन लुकेको हुन्छ? परिवार उपचारक क्लडिया श्‍वाइट्‌जरको कुरालाई लेखक ह्‍यारिट वेब्स्टर यसरी व्यक्‍त गर्छन्‌: “हरेक परिवारको औकात एकैनासे हुँदैन र त्यसमा भावनात्मक तथा भौतिक कुराहरू दुवै समावेश छन्‌।” वेब्स्टर अझै यसो भन्छन्‌: “भाइबहिनीहरूबीच प्रायजसो झगडा हुने कारणहरूमध्ये आमाबाबुको मायादेखि लिएर पैसा, लुगाफाटा जे पनि हुनसक्छ।” उदाहरणका लागि, क्यामील र उनका पाँच भाइबहिनीहरूको जम्मा तीनवटा सुत्ने कोठा छ। क्यामील भन्छिन्‌, “कहिलेकाहीं मलाई एक्लै बस्न मन लाग्छ र तिनीहरूलाई कोठामा हुल्न चाहन्‍नँ तर तिनीहरू भने चौबीसै घण्टा सँगै हुन्छन्‌।”

सुअवसरहरू तथा घरपरिवारका जिम्मेवारीहरू बाँड्‌ने कुरामा पनि झगडा हुनसक्छ। हुर्किसकेका केटाकेटीहरूलाई सबैभन्दा बढी घरधन्दा गर्नुपर्दा रीस उठ्‌नसक्छ। स-साना केटाकेटीहरू भने दाइ-दिदीले हप्कीदप्की गर्दा ठुस्स पर्लान्‌ वा तिनीहरूले बढी मौकाहरू पाउँदा डाह गर्नसक्छन्‌। बेलाइतकी एउटी किशोरीले यस्तो गुनासो पोखिन्‌, ‘मेरी दिदी भने गाडी चलाउन सिक्न जानुहुन्छ तर म चाहिं जान पाउँदिनँ। मलाई एकदम रीस उठ्‌छ र उसलाई दुःख दिन खोज्छु।’

कहिलेकाहीं व्यक्‍तित्व भिन्‍नताको कारणले मात्र पनि झगडाहरू हुने गर्छन्‌। सत्र वर्षीय डायन आफ्ना भाइबहिनीहरूबारे यसो भन्छिन्‌: “एउटै मान्छेलाई दिनरात चौबीसै घण्टा देखिरहँदा . . . अनि तपाईंलाई रीस उठ्‌ने ढंगमा काम गरेको दिनका दिन हेर्नुपर्दा, झनक्क रीस उठ्‌नु त स्वाभाविकै हो।” आन्ड्रे नाउँका केटो आफ्नो विचार यसरी व्यक्‍त गर्छन्‌: “घरमा बस्दा . . . आफू जस्तो हो, त्यस्तै व्यवहार गरिन्छ।” तर दुःखको कुरा, ‘आफू जस्तो हो, त्यस्तै व्यवहार गर्दा’ प्रायजसो शिष्टता, दया र कौशलता देखाइँदैन।

आमाबाबुले (‘आमाले तिमीलाई सबैभन्दा बढी माया गर्नुहुन्छ!’) छोराछोरीमध्ये कसैलाई धेरै, कसैलाई कम माया गर्नु पनि झगडाका कारणहरूमध्ये एक हो। मनोविज्ञानका प्राध्यापक लि सक यसो भन्छन्‌: “आमाबाबुले सबै छोराछोरीलाई बराबरी माया गर्नु कुनै हालतमा सम्भव छैन किनभने तिनीहरू बेग्लाबेग्लै व्यक्‍तिहरू हुन्‌ र हरेकको कामकुराप्रति हामी [आमाबाबुको] प्रतिक्रिया बेग्लै हुन्छ।” बाइबलको समयमा पनि यस्तै हुन्थ्यो। कुलपिता याकूबले (इस्राएल) “अरू छोराहरूभन्दा यूसुफलाई बढ़ी माया गर्थे।” (उत्पत्ति ३७:३) यूसुफका दाइहरूले तिनको असाध्यै डाह गर्न थाले।

आगो निभाउने

“दाउरा विना आगो निभ्छ।” हितोपदेश २६:२० ले त्यसो भन्छ। जंगल वरपरका ठूलठूला रूखहरू ढालेर जमीन उजाड बनाइएको हुन्छ। कथंकदाचित आगलागी भइहाल्यो भने पनि रूख भएको ठाउँसम्म मात्र आगो फैलन पाउँछ र त्यसपछि आफै निभ्छ। त्यसरी नै, मतभेदलाई रोक्न वा कम मात्रै भए पनि गर्न सकिन्छ। एउटा तरिका त, भनाभन हुनुअघि नै कुरा गरेर सम्झौता गर्नु हो।

उदाहरणका लागि, आफू एक्लै एकछिन बस्न नपाइने समस्यालाई नै लिनुहोस्‌। त्यसो हो भने, चर्काचर्की भनाभन भएको समयमा होइन तर अरू नै बेला एउटा व्यवहारिक तालिका बनाउने प्रयास गर्नुहोस्‌। (‘यी दिन/घण्टाहरूमा म कोठा चलाउँछु र फलानोमा तिमी चलाऊ।’) त्यसपछि तपाईंको “वचन चाहिं, ‘हो भने, हो” ‘होइन भने, होइन’ होस्‌।” (मत्ती ५:३७) छाँटकाँट गर्नुपर्ने त्यस्तो कुनै कुरा परिहाल्यो भने अर्को पक्षलाई पहिल्यै खबर गर्नुहोस्‌। कुनै सूचना नै नदिई मनपरी नगर्नुहोस्‌।

के तपाईं मालतालहरू चलाउने सन्दर्भमा झगडा गर्दै हुनुहुन्छ? एक किशोरीले यसरी गुनासो गरिन्‌: “मेरी सौतेनी बहिनी मलाई नसोधी जहिले पनि मेरा मालतालहरू चलाउँछे। मेरो पाउडर, लिप्स्टीक चलाएर उल्टो मैले राम्रो माल किनिन पो भन्छे। कत्रो आँट!” कुरा छिनफान गर्न आमाबाबुलाई बोलाउन नसकिने होइन। तर त्योभन्दा बेस त, शान्त भएको बेला तपाईंको भाइबहिनीसित बसेर कुरा गर्नुहोस्‌। व्यक्‍तिगत “अधिकारको” लागि कचकच गर्नुको साटो “बाँड़चुड़ गर्नामा तत्पर” हुनुहोस्‌। (१ तिमोथी ६:१८) सापटी लिने सन्दर्भमा पनि केही नियमहरू बनाउनुहोस्‌। जस्तै कुनै मालताल लिनुअघि अनुमति लिने। आवश्‍यक परेमा सम्झौताहरू पनि गर्नुहोस्‌। यसो गर्नुभयो भने ‘आगो’ सल्कनै पाउँदैन!

तर भाइबहिनीको व्यक्‍तित्वले खालि रीस मात्र उठाउँछ भने नि? भनौं भने, तपाईंले गर्नसक्ने केही छैन। त्यसकारण ‘एउटाले अर्कोलाई प्रेममा सहन’ सिक्नुहोस्‌। (एफिसी ४:२) भाइबहिनीको दोष र भूल कोट्याउनुको साटो मसीही प्रेम व्यवहारमा उतार्नुहोस्‌ जसले “असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) चिढिनु वा कठोर हुनुको साटो “रीस, क्रोध, डाह, निन्दा” त्याग्नुहोस्‌ र तपाईंको “वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।”—कलस्सी ३:८; ४:६.

‘यो त पक्षपात भयो!’

एउटी युवती यस्तो गुनासो गर्छिन्‌, “मेरी दिदीले चाहे जति सबै पाउनुहुन्छ। तर म भने एउटै पाउँदिनँ।” के तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ? तर यी दुइ महा भिन्‍नताहरूलाई ध्यान दिनुहोस्‌, “चाहेको जति सबै” र “एउटै पाउँदिनँ।” के साँच्चै त्यस्तै भइरहेको छ र? वास्तवमा छैन। र छ नै भने पनि के दुइ बेग्लाबेग्लै व्यक्‍तिहरूले हुबहु समान व्यवहार आशा गर्नु व्यवहारिक हो र? पटक्कै होइन! आमाबाबुले तपाईंको व्यक्‍तिगत आवश्‍यकता र स्वभावलाई विचार पुऱ्‍याइरहनुभएको हुनसक्छ।

तर आमाबाबुले एक जना बच्चालाई अलि बढी माया गर्नु पक्षपात होइन र? त्यसो भन्‍नु मिल्दैन। सम्झनुहोस्‌ त, याकूबले आफ्नो छोरा यूसुफलाई अलि बढी माया गर्थे। कारण के थियो? यूसुफ, तिनकी प्यारी पत्नी राहेलको छोरा थियो र राहेल मरिसकेकी थिइन्‌। याकूबले यो छोरालाई बढी माया गर्नुको कारण बुझ्न सक्दैनौं र? तथापि, यूसुफको बढी माया लाग्छ भन्दैमा याकूबले अरू छोराहरूको हितको वास्तै नगरेका चाहिं होइनन्‌। (उत्पत्ति ३७:१३, १४) यूसुफप्रति तिनका दाइहरूको ईर्ष्या निराधार थियो!

तपाईंका आमाबाबु तपाईंको भाइबहिनीसित घनिष्ठ हुनुको कारण एउटै कुरामा रुचि, उस्तै व्यक्‍तित्व वा अन्य कारणहरू हुनसक्छन्‌। यसको मतलब उहाँहरूले तपाईंलाई प्रेम गर्नुहुन्‍न भनेको होइन। भाइबहिनीसित रीस उठ्‌छ वा ईर्ष्या लाग्छ भने तपाईंको असिद्ध हृदयले तपाईंको फाइदा उठाइरहेको छ भनी बुझ्नुहोस्‌। त्यस्ता भावनाहरू हटाउने प्रयास गर्नुहोस्‌। तपाईंका आवश्‍यकताहरू पूरा भइरहेका छन्‌ भने भाइबहिनीले बढी माया पाएको देखेर बेकारमा किन खिन्‍न हुने?

भाइबहिनीहरू आशिष्‌ हुन्‌

तपाईंलाई रीस उठाउँदा भाइबहिनीहरू आशिष्‌ हुन्‌ भनी पत्याउन कहिलेकाहीं गाह्रो लाग्ला। तर डायन नाउँकी युवती हामीलाई यसरी सम्झाउँछिन्‌: “भाइबहिनीहरू हुनु असाध्यै रमाइलो हुन्छ।” उनीहरू जम्मा सात भाइबहिनी हुन्‌। “कुरा गर्न र आफूलाई मन लागेको कुरा गर्न साथी खोज्नु पर्दैन।”

आना मरी अनि उनको भाइ आन्ड्रे अझ यसो भन्छन्‌: “तपाईं साथीहरूसित घुमफिर गर्न जान सक्नुहुन्छ तर भाइबहिनीहरू सधैं तपाईंसितै हुन्छन्‌। खेल्न वा पार्कमा जानु पऱ्‍यो भने पनि अरू कसैलाई खोज्नु पर्दैन।” डनाले अर्को व्यवहारिक लाभ पनि महसुस गरेकी छिन्‌: “घरको कामधन्दा गर्न पनि साथी हुन्छ।” कसै कसैले आफ्ना भाइबहिनीलाई “विशेष सल्लाहकार वा कुरा सुनिदिने” अनि “कुरा बुझिदिने” व्यक्‍तिसमेत भनेका छन्‌।

अहिले तपाईंले आफ्नो भाइबहिनीसित जुन समस्या भोगिरहनुभएको छ, पछि गएर जीवनमा पनि त्यस्तै प्रकारका समस्याहरू भोग्नुपर्नेछ। ईर्ष्या, सम्पत्तिको अधिकार, असमान व्यवहार, एकछिन एक्लै बस्न नपाउने समस्या, स्वार्थ, व्यक्‍तित्व भिन्‍नताजस्ता समस्याहरू जीवनका भाग हुन्‌। अहिले भाइबहिनीसित मिलेर बस्नसक्नु पछि मानव सम्बन्धहरूलाई सुमधुर बनाउने राम्रो प्रशिक्षण हो।

सत्र वर्षीय आन्ड्रे १ यूहन्‍ना ४:२० मा उल्लिखित बाइबलका शब्दहरूअनुरूप यसो भन्छन्‌: “आफ्नै आँखाले देख्नसक्ने मानिसहरूसित मिलेर बस्न सक्नुहुन्‍न भने नदेखिने यहोवासित तपाईं कसरी सम्बन्ध गाँस्न सक्नुहुन्छ?” भाइबहिनीसित बेला बेलामा ठाकठुक त भई नै रहन्छ। तर तपाईं अरूसित बाँडीचुँडी गर्न, कुरा गर्न र सम्झौता गर्न सिक्न सक्नुहुन्छ। त्यसो गर्नुभयो भने के हुन्छ? तपाईं अवश्‍य यो कुरामा सहमत हुनुहुनेछ, भाइबहिनी हुनु भनेको राम्रै कुरा हो।

छलफलका लागि प्रश्‍नहरू

◻ भाइबहिनीहरू अक्सर किन झगडा गर्छन्‌?

◻ आफू एक्लै एकछिन बस्न नपाउने समस्या र मालतालको खिचातानलाई कसरी सुल्झाउन सकिन्छ?

◻ आमाबाबुले कहिलेकाहीं कुनै बच्चालाई अलि बढी माया गर्नुको कारण के हो? के तपाईंलाई यो सोह्रै आना पक्षपात हो जस्तो लाग्छ?

◻ एक्लो छोरा वा छोरी हुनु बेफाइदा हो?

◻ भाइबहिनीहरू हुनुका केही फाइदाहरू के हुन्‌?

[पृष्ठ ५२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आमाबाबुले सबै छोराछोरीलाई बराबरी माया गर्नु कुनै हालतमा सम्भव छैन किनभने तिनीहरू बेग्लाबेग्लै व्यक्‍तिहरू हुन्‌।”—मनोविज्ञानका प्राध्यापक लि सक

[पृष्ठ ५४-मा भएको पेटी]

‘म एक्लो सन्तान हुँ’

तपाईं पनि एक्लो सन्तान हुनुहुन्छ भने यसका बेफाइदाहरू मात्रै छन्‌ भन्‍ने होइन। एउटा कुरा त, अरू केटाकेटीहरूलाई आफ्ना भाइबहिनीहरूसित मिलेर बस्न गाह्रो भइरहेको छ भने तपाईंले घनिष्ठ साथीहरू आफै छान्‍न सक्नुहुन्छ (आमाबाबुको स्वीकृति भने अवश्‍य हुनैपर्छ)। अध्ययन, मनन वा कुनै खास सीप विकास गर्न तपाईंसित बढी समय पनि होला।एकाकीपनबारे अध्याय १४ हेर्नुहोस्‌।

थमस नाउँको केटो अर्को एउटा फाइदा यसरी औंल्याउँछन्‌: “एक्लो छोरा भएको हुँदा आमाबाबुको सम्पूर्ण ध्यान ममै केन्द्रित हुन्छ।” हो, आमाबाबुले अचाक्ली ध्यान दिंदा बच्चा स्वार्थी पनि हुनसक्छ। तर आमाबाबुले सन्तुलन देखाएका छन्‌ भने छिटै परिपक्व हुन तथा अरू वयस्कहरूसित घुलमिल हुन तपाईंलाई कुनै अप्ठ्यारो हुनेछैन।

तथापि, आफ्ना भाइ तथा बहिनीहरूसित केही पनि बाँड्‌नु नपर्ने हुँदा स्वार्थी हुनसक्ने खतरा पनि छ। येशूले यस्तो सल्लाह दिनुभयो: “देओ।” (लूका ६:३८) साथीभाइ वा नातेदारहरूसित बाँड्‌ने कोसिस गर्नुहोस्‌। अरूको आवश्‍यकताप्रति सजग हुन खोज्नुहोस्‌ र चाहिएको बेला मदत गर्नुहोस्‌। त्यस्तो उदारता मानिसहरूलाई मन पर्छ। अनि तपाईं एक्लो सन्तान हुनु भए तापनि एकलकाँटे चाहिं हुनुहुँदो रहेनछ भनी महसुस गर्नुहुनेछ।

[पृष्ठ ५३-मा भएको चित्र]

दिदी वा बहिनी नभएकोमा मलाई असाध्यै चुकचुक लाग्छ; तर एक्लो सन्तान हुनुका फाइदाहरू पनि छन्‌