मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ?
अध्याय १
मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ?
“बाबु र आमाको मान गर।” थुप्रै युवाहरूलाई यी शब्दहरू अन्धकार युगको कुरा जस्तो लाग्छ।
भेदाले लागू पदार्थ र मदिरा सेवन गर्ने केटोलाई आफ्नो प्रेमी बनाएर बुबाको खुलेआम विद्रोह गरिन्। उनी कुनै डरभर नराखी मध्यरातसम्म पनि त्यही केटोसित नाचगान गर्न जान्थिन्। “मलाई बुबाले असाध्यै कडिकडाउ गर्नुभएको जस्तो लाग्थ्यो,” भेदा बताउँछिन्। “म १८ वर्षकी थिएँ र आफूलाई सबै कुरा थाह छ जस्तो लाग्थ्यो। बुबा चाहिं मैले रमाइलो नै नगरोस् भन्ठान्ने छुच्चो मान्छेजस्तो लाग्थ्यो। त्यसैले आफूलाई जे मन लाग्यो त्यही गरेर उहाँको विद्रोह गर्न थालें।”
शायद थुप्रै युवाहरूलाई भेदाको व्यवहार चित्त बुझ्दैन होला। तैपनि आमाबाबुले कोठा सफा गर्न, गृहकार्य गर्न वा ठीक यति बजेभित्र घर फर्कनू भन्यो भने रीसले मुरमुरिएलान् वा आमाबाबुको खुलेआम विद्रोह गर्लान्! युवाहरू आफ्नो आमाबाबुप्रति कस्तो दृष्टिकोण राख्छन्, त्यसैले गर्दा घरमा शान्ति वा कलह हुन्छ। त्यति मात्र कहाँ हो र, उसको सम्पूर्ण जीवनलाई नै असर गर्नसक्छ। किनभने ‘बाबु र आमाको मान गर’ भन्ने आदेश परमेश्वरले दिनुभएको हो र उहाँले त्यो आज्ञा पालन गर्न यस्तो प्रेरणा दिनुहुन्छ: “तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्।” (एफिसी ६:२, ३) यसमा धेरै महत्त्वपूर्ण कुराहरू विथोलित छन्। त्यसैकारण, आफ्नो बुबा र आमाको मान गर्नु भनेको वास्तवमा के हो, पुनः एक चोटि केलाएर हेरौं।
उहाँहरूको ‘मान गर्नुको’ अर्थ के हो
‘मान गर्नु’ भनेको विधिवत् अख्तियारलाई स्वीकार्नु पनि हो। उदाहरणका लागि, मसीहीहरूलाई “राजाको आदर गर” भन्ने आज्ञा दिइएको छ। १ पत्रुस २:१७) देशका नेताहरूले गर्ने प्रत्येक काम तपाईंलाई चित्त बुझ्दैन होला, तैपनि तिनको पद वा ओहदाको आदर गर्नैपर्छ। त्यसरी नै परमेश्वरले आमाबाबुलाई पनि परिवारमा केही हदसम्म अधिकार जमाउने अख्तियार दिनुभएको छ। यसको अर्थ, नियमहरू बनाउने उहाँहरूको ईश्वरप्रदत्त अधिकारलाई तपाईंले मान्नैपर्छ। हो, अरूका आमाबाबुले तपाईंको आमाबाबुले जति कडिकडाउ नगर्लान्। तैपनि तपाईंको लागि के उत्तम हो, त्यो निर्णय गर्ने काम तपाईंको आमाबाबुको हो र हरेक परिवारका स्तरहरू बेग्लाबेग्लै हुनसक्छन्।
(हो, कहिलेकाहीं असल आमाबाबु पनि आफूखुशी गर्ने वा पक्षपाती समेत हुनसक्छन्। तर हितोपदेश ७:१, २ मा एक बुद्धिमान् बाबुले यसो भने: “हे मेरो छोरो [वा छोरी], . . . तँ जीवित रहन चाहन्छस् भने मेरा आज्ञा पालन गर्।” त्यस्तैगरि तपाईंका आमाबाबुले अक्सर तपाईंकै भलोको लागि नियम वा “आज्ञा” बनाउनुहुन्छ। यसबाट के देखिन्छ भने, उहाँहरू तपाईंप्रति साँचो प्रेम गर्नुहुन्छ र तपाईंको ख्याल राख्नुहुन्छ।
उदाहरणका लागि, जोनलाई बारम्बार तिनकी आमाले घरसँगैको पेटीबाट हिंड्नू भन्ने गर्नुहुन्थ्यो। एक दिन स्कूलका दुइटी केटीहरूले तिनलाई सडक पारिको छोटो बाटोबाट हिंड्ने आँट छ कि छैन, हेरूँ त भनेर जिस्क्याए। तिनीहरूले “डरछेरुवा!” भनेर जिस्काए तापनि जोन पेटीबाटै हिंडे। सडकपारि पुग्नै लाग्दा जोनले अचानक मोटर रोकेको चर्को आवाज सुने। तलतिर तिनले भयानक दृश्य देखे। ती दुइ केटीहरू मोटरको ठक्करले हावामा हुत्तिन पुगेछन्! आमाबाबुको आज्ञा पालन गर्नु भनेको सधैं यो जस्तो जीवन मृत्युको कुरा हुँदैन। यद्यपि, आज्ञाकारी हुँदा अक्सर तपाईंकै फाइदा हुन्छ।
‘बाबु र आमाको मान गर्नुको’ अर्थ उहाँहरूले भूल सुधार्नुहुँदा ठुस्स नपर्नु वा झोकाझोक नगरी त्यसलाई स्वीकार्नु हो। केवल “मूर्खले आफ्नो बाबुको अर्तीलाई तुच्छ ठान्छ” भनी हितोपदेश १५:५ ले बताउँछ।
अनि निचोडमा के भन्न सकिन्छ भने, आदर देखाउनुको अर्थ देखावटी वा जबरजस्ती आज्ञा पालन गर्नु मात्रै होइन। बाइबलमा “आदर” भनी चलाइएको मौलिक युनानी क्रियाको अर्थ, कसैलाई मूल्यवान् ठान्नु हो। अतः तपाईंले आमाबाबुलाई मूल्यवान्, गरिमामय र एकदमै प्रिय व्यक्तिहरू सम्झनुपर्छ। यसको लागि उहाँहरूप्रति न्यानो मूल्यांकनसहितको भावना हुनुपर्छ। तथापि, केही युवाहरू आफ्नो आमाबाबुप्रति न्यानो भावना पटक्कै राख्दैनन्।
समस्याग्रस्त आमाबाबु—आदरका योग्य छन्?
जिना नाउँ गरेकी युवतीले यसप्रकार लेखिन्: “मेरो बुबा साह्रै पिउनुहुन्थ्यो अनि आमाबाबु ठूलठूलो स्वरले बाझाबाझ गर्नुहुने हुँदा राति सुत्नसमेत सक्दिन थिएँ। पलङमा रोएर बस्थें। म आफ्नो व्यथा पोख्न पनि सक्दिन थिएँ किनभने मेरी आमाले उल्टै मलाई पिट्नुहुनेछ भनेर डर लाग्थ्यो। बाइबलले भन्छ ‘बाबुको मान गर’ तर म सक्दै सक्दिनँ।”
गरम मिजासको वा अनैतिक, जँड्याहा वा आपसमा झगडा गर्ने आमाबाबु के आदरका योग्य छन् र? छन्, किनभने आमाबाबुको “निन्दा” गर्नु बाइबलअनुसार गलत हो। (हितोपदेश ३०:१७) अनि हितोपदेश २३:२२ ले “जीवन दिने” आमाबाबु नै हुन् भनेर पनि सम्झाउँछ। आमाबाबुको आदर गर्न यही एउटा कारण पनि यथेष्ट छ। कुनै समय आमाबाबुको पटक्कै आदर नगर्ने ग्रेगरी अहिले यसो भन्छन्: “धन्न, म पेटमा हुँदा आमाले गर्भ तुहाउनुभएन, जन्मिएपछि मलाई फोहर मैलाको ढ्वाङमा फाल्नुभएन। त्यसको लागि म यहोवा परमेश्वरलाई धन्यवाद दिन्छु। बुबा हुनुहुन्नथियो र हामी छ जना बालबच्चा थियौं। आमालाई साँच्चै गाह्रो भयो होला।”
आमाबाबुहरू सिद्ध होइनन् तर उहाँहरूले तपाईंको लागि थुप्रै त्याग गर्नुभएको छ। ग्रेगरी भन्छन्, “एक चोटि यस्तोसम्म भएको थियो, खानाको नाउँमा एक बट्टा मकै र केही भुजुरी मात्र थियो। आमा हामी बच्चाहरूलाई खुवाउनुभएर आफू भोकै बस्नुहुन्थ्यो। म त टन्न खाएर सुत्थें तर आमाले चाहिं किन नखानुभएको होला जस्तो लाग्थ्यो। अहिले मेरो पनि
जहान, बालबच्चाहरू छन्। उहाँले त हाम्रो लागि पो त्यस्ता त्यागहरू गर्नुभएको रहेछ भनेर अहिले बुझ्दैछु।” (एउटा अनुसन्धानअनुसार एक जना बच्चालाई १८ वर्षको उमेरसम्म हुर्काउन ६६,४०० अमेरिकी डलर खर्च हुन्छ।)यो पनि विचार गर्नुहोस्, आमाबाबु असल उदाहरण नहुँदैमा उहाँहरूले भन्नुहुने सबै कुरा गलत हुँदैन। येशूको समयका धार्मिक नेताहरू भ्रष्ट थिए। यद्यपि, येशूले मानिसहरूलाई भन्नुभयो: “जे तिनीहरूले भन्दछन् ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर।” (मत्ती २३:१-३, २५, २६) के यो सिद्धान्त कुनै कुनै आमाबाबुमा पनि लागू हुँदैन र?
द्वेषलाई के गर्ने
आमाबाबुले आफ्नो अधिकार अत्यन्तै दुरुपयोग गरिरहनुभएको जस्तो लागेमा नि? a शान्त रहनुहोस्। विद्रोह गरेर काम बन्दैन नता घृणा वा रीसारीस गरेर नै केही हुन्छ। (उपदेशक ८:३, ४; तुलना गर्नुहोस् उपदेशक १०:४) एउटी १७ वर्षीया केटीले आमाबाबुप्रति द्वेष राख्न थालिन् किनभने उहाँहरूलाई एकअर्कोसित झगडा गर्दैमा फुर्सद थिएन र उनीप्रति कुनै चासो नै नदेखाउनुभएको जस्तो लाग्थ्यो। उनले यो रीसलाई आमाबाबुले सिकाउन खोज्नुभएका बाइबल सिद्धान्तहरूमा पोखाइन्। आमाबाबुलाई रीस उठाउनकै लागि यौन अनैतिकतामा संलग्न भइन् र लागू पदार्थको दुर्व्यसन गर्न थालिन्। उनको कटु जवाफ यस्तो थियो, “मैले जे गरें, ठीकै गरें जस्तो लाग्थ्यो।” तर त्यसरी बदला लिंदा दुःख त आफैले भोग्नुपऱ्यो।
बाइबल यस्तो चेताउनी दिन्छ: “होशियार हुनुहोस्, रीसले तपाईंलाई द्वेषपूर्ण काम गर्न नलगाओस् . . . कुनै हानिकारक काम नहोस् भनेर सतर्क हुनुहोस्।” (अय्यूब ३६:१८-२१) तपाईंका आमाबाबु, उहाँहरूको आचरण र गम्भीर अन्यायको निम्ति यहोवाप्रति जवाफदेही हुनुहुन्छ भनी बुझ्नुहोस्।—कलस्सी ३:२५.
हितोपदेश १९:११ यसो भन्छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” कहिलेकाहीं आमाबाबुको कामकुराले चित्त दुख्दा त्यसलाई बिर्सनु अनि क्षमा दिने कोसिस गर्नु नै बेस हुन्छ। उहाँका गल्तीहरूमै घोरिरहनुको साटो असल गुनहरूमा ध्यानकेन्द्रित गर्नुहोस्। उदाहरणका लागि, डोडीकी आमाले उनका भावनाहरू बुझ्नुहुन्न थियो र सौतेनी बुबा चाहिं रक्सीबाज हुनुहुन्थ्यो। उहाँहरू त्यस्तो हुनुको कारण के होला भनेर बुझेपछि डोडीले द्वेषलाई कसरी काबूमा राख्न सकिन्, ध्यान दिनुहोस्। उनी भन्छिन्: “आमा सानी छँदा उहाँप्रति दुर्व्यवहार भएको र उहाँलाई कसरी प्रेम देखाउने भनेर कसैले नसिकाएको हुँदा उहाँले हामीलाई प्रेम देखाउन नसक्नुभएको होला। रक्सी नपिउनु भएको बेला सौतेनी बुबा भद्र भएर हाम्रो गतिविधिमा चासो देखाउनु हुन्थ्यो तर उहाँ नमात्तिनुभएको समय त कमै मात्र हुने गर्थ्यो। यद्यपि म र बहिनी कहिल्यै घरबारविहीन भएनौं, भोकभोकै बस्नु परेन।”
खुशीको कुरा, आफूखुशी गर्दै हिंड्ने वा छोराछोरीको वास्तै नगर्ने आमाबाबु थोरै हुन्छन्। हुनसक्छ, आमाबाबुले तपाईंको चासो लिनुहुन्छ र असल नमुना बसाल्न खोज्दै हुनुहुन्छ। तैपनि कहिलेकाहीं आमाबाबु देखेर तपाईंलाई रीस उठ्ला। रजर नाउँ गरेको केटो यसो भन्छन्, “कहिलेकाहीं आमासित कुनै समस्याबारे कुरा गर्दा उहाँले कुरै बुझ्नु नहुँदा मलाई झनक्क रीस उठ्थ्यो र आमाको चित्त दुखाउन जे पायो त्यो प्याच्च भन्दिन्थें। उहाँसित बदला लिने मेरो तरिका यही थियो। तर पछि मलाई असाध्यै नराम्रो लाग्थ्यो र उहाँलाई पनि नमीठो लागिरहेको होला भन्ने महसुस गर्थें।”
बेफ्वाँकमा बोलेका शब्दहरूले ‘घोच्ने’ वा ‘पीडा’ दिने त गर्छ तर समस्या भने हल गर्दैन। “बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८; १५:१) “गाह्रै भए तापनि म माफी माग्न जान्थें,” रजर बताउँछन्। “अनि ठन्डा दिमागले कुरा गर्थें र समस्याको समाधान पनि हुन्थ्यो।”
‘मेरो बुबाले भन्नुभएको कुरा नै ठीक रहेछ’
केही युवाहरू आमाबाबुको कुरा पटक्कै टेर्दैनन् अनि आफू स्वयं र आमाबाबुलाई समेत आघात पुऱ्याउँछन्। तर चाखलाग्दो कुरा के हो भने, आमाबाबुकै कुरा ठीक थियो भनेर पछि मात्र तिनीहरूको घैंटोमा घाम लाग्छ। उदाहरणका लागि, भेदालाई (सुरुमा उल्लिखित) लिनुहोस्। एक दिन तिनी आफ्नो प्रेमीसित मोटरमा घुम्न गइन्। तिनको प्रेमी गाँजा र बियर पिएर लट्ठिसकेका थिए। मोटर प्रतिघण्टा १०० किलोमिटरको गतिले हुइँकिरहेको हुँदा थाम्नै नसकेर बिजुलीको खम्बामा ठोकिन पुग्यो। भेदाको ज्यान त जोगियो तर निधारमा गहिरो चोट लाग्यो। तिनको प्रेमी त्यहाँबाट भागे र तिनलाई भेट्न अस्पतालमा समेत कहिल्यै देखा परेनन्।
भेदा बताउँछिन्, “मेरो आमाबाबु अस्पताल पुग्नुभएपछि मैले बुबाले भन्नुभएको कुनै पनि कुरा गलत रहेनछ र मैले सुरुमै उहाँको कुरा मान्नुपर्ने रहेछ भनेर बताएँ। . . . मैले ठूलो गल्ती गरें र झन्डै ज्यान नै गुमाउनु परेको थियो।” यसपछि भेदाले आमाबाबुप्रतिको मनोवृत्तिमा आमूल परिवर्तन गरिन्।
शायद तपाईंले पनि आमाबाबुप्रतिको दृष्टिकोणमा केही छाँटकाँट गर्नुपर्ला। निस्सन्देह, ‘बाबु र आमाको मान गर’ भन्ने कुरा पुरानो विचारधाराजस्तो लाग्नसक्छ। तर त्यसो गर्नु बुद्धिमानी मात्र नभई परमेश्वरसमक्ष गर्नुपर्ने सही कुरा पनि हो। आमाबाबुप्रति आदर देखाउन चाहँदा चाहँदै पनि उहाँहरूले कुरा नबुझ्नुभएको वा कडिकडाउ गर्नुभएको जस्तो लागेमा के गर्ने? त्यस्तो अवस्थामा कसो गर्न सकिन्छ, जाँचेर हेरौं।
[फुटनोट]
a यहाँ हामीले शारीरिक वा यौन दुर्व्यवहारबारे कुरा गरिरहेका होइनौं। त्यस्तो अवस्था भोगिरहेका युवाहरूले पेशेवरको मदत लिनुपर्ने हुनसक्छ।
छलफलका लागि प्रश्नहरू
◻ आफ्नो आमाबाबुको मान गर्नुको अर्थ के हो?
◻ आमाबाबुले किन त्यति धेरै नियमहरू बनाउँछन्? के ती नियमहरूले तपाईंलाई लाभ पुऱ्याउनसक्छ?
◻ के तपाईंले निन्दनीय आचरण भएको आमाबाबुको पनि आदर गर्नुपर्छ? किन?
◻ कहिलेकाहीं आमाबाबुप्रति द्वेषको भावना जागे तापनि त्यसलाई हटाउन के गर्न सकिन्छ? द्वेष हटाउनुको साटो चर्काउने केही मूर्खतापूर्ण कार्यहरू के हुन्?
[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“बुबा चाहिं मैले रमाइलो नै नगरोस् भन्ठान्ने छुच्चो मान्छेजस्तो लाग्थ्यो। त्यसैले आफूलाई जे मन लाग्यो त्यही गरेर उहाँको विद्रोह गर्न थालें”
[पृष्ठ १२-मा भएको चित्र]
आमाबाबुका नियमहरूलाई तपाईंले कस्तो ठान्नुपर्छ?
[पृष्ठ १४-मा भएको चित्र]
के निन्दनीय आचरण भएको आमाबाबुको पनि आदर गर्नैपर्छ?