सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरसित कसरी घनिष्ठ हुनसक्छु?

परमेश्‍वरसित कसरी घनिष्ठ हुनसक्छु?

अध्याय ३९

परमेश्‍वरसित कसरी घनिष्ठ हुनसक्छु?

घनिष्ठ—त्यो पनि परमेश्‍वरसित? धेरै मानिसहरू परमेश्‍वरलाई एकदमै पृथक, टाढा, महत्त्वहीन ‘परम शक्‍ति’ ठान्छन्‌। त्यसकारण परमेश्‍वरसित घनिष्ठ हुने धारणाले तपाईंलाई खल्बल्याउन र तर्साउनसमेत सक्छ।

त्यसो हो भने, लिन्डा नाउँकी युवती र तपाईंको अनुभव मिल्दोजुल्दो हुनसक्छ। लिन्डा मसीही परिवारमा हुर्केकी थिइन्‌ र तिनी विगतलाई सम्झँदै यसो भन्छिन्‌: “[किशोरावस्थामा] छँदा मैले एउटै मसीही सभाहरू पनि छुटाइनँ र हरेक महिना प्रचारकार्यमा पनि भाग लिन्थें तैपनि यहोवासित व्यक्‍तिगत तवरमा कहिल्यै घनिष्ठ सम्बन्ध राख्न सकिनँ।”

तथापि, तपाईं परमेश्‍वरसित कत्तिको घनिष्ठ हुनुहुन्छ, त्यसैमा तपाईंको भविष्य निर्भर छ। येशू ख्रीष्टले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई . . . चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” (यूहन्‍ना १७:३) तर यो “ज्ञान” तथ्यहरू सिक्ने क्षमता वा त्यो फरर्र भन्‍नसक्नु मात्र होइन। त्यसो त नास्तिकले पनि गर्नसक्छ। ज्ञान लिनुको अर्थ, परमेश्‍वरसित सम्बन्ध गाँसेर उहाँको साथी बन्‍नु हो। (याकूब २:२३ तुलना गर्नुहोस्‌।) मानिसहरूले उहाँलाई भेटाउनै नसक्ने होइन तर ‘परमेश्‍वरको खोजी गरेर भेट्टाऊ’ भनेर आग्रह गर्नुहुन्छ किनभने “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।”—प्रेरित १७:२७.

तपाईं परमेश्‍वरलाई कसरी चिन्‍न सक्नुहुन्छ

के तपाईंले कहिल्यै ती टाढ-टाढाका ताराहरू हेर्नुभएको छ, गर्जेको समुद्रको छाल सुन्‍नुभएको छ, सुन्दर पुतली देखेर मोहित हुनुभएको छ वा पालुवाको कोमल सुन्दरता देखेर आश्‍चर्यचकित हुनुभएको छ? यी सबै काम परमेश्‍वरको अथाह शक्‍ति, बुद्धि र प्रेमको सानो झलक मात्र हुन्‌। परमेश्‍वरको “अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, . . . बनिएका कुराबाट . . . छर्लंगै देखिने भएको छ।”—रोमी १:१९, २०.

तथापि, सृष्टिले परमेश्‍वरबारे प्रकट गर्ने कुराहरू मात्र थाह पाएर पुग्दैन। त्यसैकारण परमेश्‍वरले उहाँको लिखित वचन प्रबन्ध गर्नुभएको छ। त्यो पुस्तकले परमेश्‍वर बेनामी व्यक्‍ति वा शक्‍ति मात्र नभई नाउँ भएको वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर देखाउँछ। भजनरचयिता यस्तो घोषणा गर्छन्‌, “परमप्रभुनै [“यहोवा,” NW] परमेश्‍वर हुनुहुन्छ भनी जान।” (भजन १००:३) बाइबलले त्यस नाउँ धारण गर्ने व्यक्‍तिको व्यक्‍तित्व पनि बताउँछ: “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) भनौं भने, परमेश्‍वरले मानिसहरूसित गर्नुभएको व्यवहारको विस्तृत विवरणले परमेश्‍वरको व्यक्‍तित्व बुझ्ने मौका दिन्छ! तसर्थ, परमेश्‍वरसित घनिष्ठ हुन बाइबल पढ्‌नु अत्यावश्‍यक छ।

बाइबल पढाइलाई आनन्दमय बनाउने

हो, बाइबल पढ्‌न निकै समय लाग्छ। पढ्‌न त परै जाओस्‌, देख्दा मात्र पनि कतिपय युवाहरू तर्सिन्छन्‌। केहीले त बाइबल पढ्‌नु नरमाइलो छ भनी गुनासो पनि गर्छन्‌। तर बाइबल, परमेश्‍वरले मानिसहरूलाई प्रकट गर्नुभएका कुराहरूको संगालो हो। यसले हामी यहाँ कसरी आयौं, पछि के हुने हो जस्ता सबै कुराहरू बताउँछ। पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न के गर्नुपर्छ भनेर पनि सुस्पष्ट विवरण दिन्छ। त्यस्तो कुराको जानकारी लिनु नरमाइलो होला र? हो, बाइबल पढ्‌नु कथा किताब पढेजस्तो सजिलो हुँदैन र “कुनै कुनै कुराहरू बुझ्न कठिन छन्‌।” (२ पत्रुस ३:१६) तर बाइबल पढाइ बोझलाग्दो हुनुपर्छ भन्‍ने छैन।

बाइबल पढाइ चाखलाग्दो बनाउने एउटा व्यवहारिक तरिका मार्भिन नाउँको केटो यसरी बताउँछन्‌: “पढेको कुरालाई कल्पना गरेर आफू त्यहीं भएजस्तो सम्झन खोज्छु।” उदाहरणका लागि, दानियल अध्याय ६ को विवरणलाई लिनुहोस्‌। सरसरती मात्र नपढेर आफूलाई दानियलको ठाउँमा कल्पना गर्नुहोस्‌। परमेश्‍वरलाई प्रार्थना गरेको आरोपमा अन्यायपूर्वक तपाईंलाई गिरफ्तार गरिन्छ। अनि सजाय? मृत्यु! फारसी सिपाहीहरूले तपाईंलाई निर्दयतापूर्वक भोका सिंहहरूको खोरतिर घिसार्दैछन्‌।

खोरको मुख बन्द गर्ने ठूलो ढोका खोलेको आवाज सुनिन्छ। खोरका सिंहहरूको गर्जनले तपाईंको आङ सिरिङ हुन्छ। तपाईं डरले काँप्दै हुनुहुन्छ र त्यति नै खेर राजाका सिपाहीहरू तपाईंलाई खोरभित्र धकेलेर प्वाल बन्द गरिदिन्छन्‌। अनि त्यस्तो भयावह अन्धकारले छाएको कालकोठरीमा भुत्ले जनावरहरू तपाईंको जीउमा घस्य्राकघुस्रुक गर्न थाल्छन्‌ . . .

के यस्तो विवरणलाई नरमाइलो भन्‍न मिल्छ र? कहाँ मिल्नु, यो त असाध्यै रमाइलो पो छ! तर नबिर्सनुहोस्‌: रमाइलो गर्न मात्र बाइबल पढ्‌ने नगर्नुहोस्‌। विवरणले यहोवाबारे के बताउन खोजिरहेको छ, बुझ्ने कोसिस गर्नुहोस्‌। उदाहरणका लागि, यहोवाले आफ्ना जनहरूलाई कठिन परीक्षाहरूको सामना गर्न दिनुहुन्छ भनेर के दानियलको अनुभवले देखाउँदैन र?

नियमित तवरमा पढ्‌ने तालिका पनि बनाउन खोज्नुहोस्‌। भनौं भने, दिनहुँ १५ मिनेट बाइबल पढ्‌ने बानी बसाल्नुभयो भने एक वर्षमा सम्पूर्ण बाइबल पढ्‌न सिध्याउन सक्नुहुनेछ! टिभी हेर्नेजस्ता कम महत्त्वपूर्ण क्रियाकलापमा त्यति धेरै समय नबिताएर ‘समयको अवसर विचार गर्नुहोस्‌।’ (एफिसी ५:१६) यसरी बाइबल पढाइबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न थाल्नुभयो भने परमेश्‍वरसित पहिलेभन्दा पक्कै पनि घनिष्ठ हुनुहुनेछ।—हितोपदेश २:१, ५.

प्रार्थना गरेर तपाईं उहाँसित घनिष्ठ हुन सक्नुहुन्छ

लाभर्न नाउँकी किशोरीले यस्तो टिप्पणी गरिन्‌, “कुनै व्यक्‍तिसित कुरै गर्नुभएन भने ऊसित व्यक्‍तिगत सम्बन्ध गाँस्नुभएको छ भनेर कसरी भन्‍न सकिन्छ र।” यहोवा, “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुभएकोले उहाँ हामीलाई कुरा गर्न निम्त्याउनुहुन्छ। (भजन ६५:२) विश्‍वाससहित उहाँलाई प्रार्थना गऱ्‍यौं भने “हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ यूहन्‍ना ५:१४.

लिन्डाले (माथि उल्लिखित) आफ्नै अनुभवबाट यो कुरा थाह पाइन्‌। तीनथुप्रो समस्या तथा तनाउहरूले घेरिंदा ‘समस्याको जवाफ पाउन कैयौं दिनसम्म अटुट रूपले प्रार्थना गरेको’ उनी सम्झन्छिन्‌। त्यसअघि परमेश्‍वरसित त्यति घनिष्ठ हुन नसकेकी लिन्डा अब परमेश्‍वरसित घनिष्ठ हुन सकिन्‌ र आफ्ना कठिनाइहरूको सामना गर्ने बल पाइन्‌। त्यसरी नै केए नाउँको अर्को युवकले पनि प्रार्थनाको महत्त्व बुझे: “कहिलेकाहीं आफ्ना भित्री भावनाहरू कसलाई पोखुँ, कसलाई पोखुँ जस्तो हुन्छ। अनि त्यस्तो बेला यहोवालाई पोख्नु जस्तो बेस अरू केही छैन किनभने यहोवाले हाम्रो कुरा बुझ्नुहुन्छ र मदत गर्नसक्ने उहाँ नै हुनुहुन्छ।”

तर के प्रार्थनाले भावनात्मक आड मात्र प्रदान गर्ने हो र? होइन। हामीले विभिन्‍न परीक्षाहरूको सामना गर्दा “उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ” भनी याकूब १:२-५ हामीलाई आश्‍वासन दिन्छ। परमेश्‍वरले परीक्षाबाट छुटाउनु त हुन्‍न होला तर परीक्षासित जुझ्ने बुद्धि दिने ग्यारेन्टी अवश्‍य दिनुहुन्छ। त्यसै मामिलासित सम्बन्धित बाइबल सिद्धान्तहरू झल्याँस्स सम्झनुहोला। (यूहन्‍ना १४:२६ तुलना गर्नुहोस्‌।) अथवा बाइबलको व्यक्‍तिगत अध्ययन वा मसीही सभाहरूमा हुने केही खास विषयहरूमा तपाईंको ध्यानाकर्षण गर्नुहोला। अनि नबिर्सनुहोस्‌, उहाँले तपाईंलाई आफ्नो “शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर . . . उम्कने बाटो पनि दिनुहुन्छ।” हो, उहाँले तपाईंलाई ‘त्याग्नुहुनेछैन।’ (१ कोरिन्थी १०:१३; २ कोरिन्थी ४:९) समस्यासित जुझ्न परमेश्‍वरबाट मदत पाएको अनुभव गर्नुभएपछि के तपाईं उहाँसित झनै घनिष्ठ महसुस गर्नुहुनेछैन र?

तर आफ्नो व्यक्‍तिगत समस्याहरूबारे मात्र प्रार्थना नगर्नुहोस्‌। आफ्नो आदर्श प्रार्थनामा येशूले यहोवाको नाउँको पवित्रीकरण, उहाँको राज्य र परमेश्‍वरको इच्छाजस्ता विषयहरूमा सबैभन्दा बढी महत्त्व दिनुभयो। (मत्ती ६:९-१३) प्रार्थनाको अर्को अत्यावश्‍यक भाग “धन्यवाद” चढाउनु पनि हो।—फिलिप्पी ४:६.

तर प्रार्थना गर्नै अप्ठ्यारो लाग्यो भने नि? त्यसैको लागि प्रार्थना गर्नुहोस्‌! परमेश्‍वरसमक्ष मनको कुरा पोख्न सकूँ भनेर उहाँसित मदत माग्नुहोस्‌। “प्रार्थनामा अटूटसँग” लागिरहनुहोस्‌ अनि समय बित्दै गएपछि यहोवासित कुरा गर्नु आफ्नो घनिष्ठ मित्रसित कुरा गर्नु जत्तिकै सजिलो हुँदो रहेछ भनेर थाह पाउनुहुनेछ। (रोमी १२:१२) मारिया नाउँ गरेकी युवती यसो भन्छिन्‌, “समस्या आइपर्दा म जुनसुकै बेला पनि यहोवालाई पुकार्नसक्छु र उहाँले मदत गर्नुहुनेछ भनी मलाई थाह छ।”

परमेश्‍वरसित कुरा गर्दा ठूलठूला वा आडम्बरी भाषा प्रयोग गर्नु खाँचो छैन। भजनरचयिताले यसो भने, “उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ।” (भजन ६२:८) आफ्ना भावना तथा चिन्ताहरू उहाँसमक्ष पोख्नुहोस्‌। आफ्ना कमजोरीहरूसित संघर्ष गर्न उहाँसित मदत माग्नुहोस्‌। आफ्नो परिवार र सँगी मसीहीहरूमाथि आशिष्‌को लागि उहाँसित प्रार्थना गर्नुहोस्‌। गल्ती गर्दा उहाँसित क्षमा माग्नुहोस्‌। जीवन दिनुभएको लागि उहाँलाई दिनहुँ धन्यवाद दिनुहोस्‌। प्रार्थना, तपाईंको जीवनको अभिन्‍न भाग भयो भने यहोवा परमेश्‍वरसित घनिष्ठ तथा आनन्दमय सम्बन्ध गाँस्न सक्नुहुनेछ।

परमेश्‍वरसितको सम्बन्धबारे जनसमक्ष घोषणा गर्ने

परमेश्‍वरसितको सम्बन्धको आनन्द उठाउनुभएपछि अरूले पनि त्यस्तै अनमोल सम्बन्ध गाँसोस्‌ भनेर तिनीहरूलाई मदत गर्न तम्सिनु पर्दैन र? निस्सन्देह, परमेश्‍वरको साथी हुन चाहनेहरूले “मुखबाट उद्धारको निम्ति” जनसमक्ष घोषणा गर्नु अपरिहार्य छ।—रोमी १०:१०.

धेरैजसोले सर्वप्रथम सहपाठी, छिमेकी तथा नातेदारहरूलाई आफ्नो विश्‍वासबारे अनौपचारिक साक्षी दिन थाल्छन्‌। पछि गएर तिनीहरू यहोवाका साक्षीहरूसँगसँगै “घरघरमा गएर” प्रचार गर्छन्‌। (प्रेरित ५:४२) तर कतिपय युवाहरूको लागि भने यो जनप्रचार कार्य नै अवरोध हुन जान्छ। एक मसीही यसो भन्छन्‌, “थुप्रै युवाहरूलाई घरघरमा गएर प्रचार गर्न अप्ठ्यारो लाग्छ। तिनीहरू साथीहरूले के भन्लान्‌ भनेर डराउँछन्‌।”

तर तपाईं कसको अनुग्रह चाहनुहुन्छ—साथीहरूको वा स्वर्गमा हुनुहुने साथी, यहोवाको? साथीहरूको डर वा अप्ठ्यारोपनले गर्दा ज्यानै गुमाउनु बुद्धिमानी हो त? प्रेरित पावल यस्तो आग्रह गर्छन्‌, “यो नडग्मगाओस्‌ भनेर हाम्रो आशाको स्वीकारलाई हामी दृढ़सँग थामिराखौं।” (हिब्रू १०:२३) अनि यथेष्ट प्रशिक्षण र तयारीपछि तपाईंले पनि प्रचार कार्यबाट साँचो आनन्द उठाउन सक्नुहुन्छ।—१ पत्रुस ३:१५.

समयको दौडान स्वर्गमा हुनुहुने साथीप्रतिको मूल्यांकनले तपाईंलाई उहाँसमक्ष समर्पण गर्न र त्यसलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिन प्रेरित गर्नेछ। (रोमी १२:१; मत्ती २८:१९, २०) ख्रीष्टको समर्पित चेला हुन जनसमक्ष घोषणा गर्ने कार्यलाई हल्कासित लिनु हुँदैन। ‘आफूलाई इन्कार गर्नु’ अर्थात्‌ आफ्ना व्यक्‍तिगत लक्ष्यहरूलाई एकातिर पन्छाएर यहोवा परमेश्‍वरका इच्छाहरूलाई प्राथमिकता दिनु यसमा समावेश छ। (मर्कूस ८:३४) साथै यहोवाका साक्षीहरूको विश्‍वव्यापी संगठनको भाग हुँ भनेर आफूलाई चिनाउनु पनि हो।

रबर्ट नाउँको युवकले यस्तो टिप्पणी गरे, “मेरो विचारमा थुप्रै जवानहरू बप्तिस्मा लिन हिचकिचाउँछन्‌। यो कदम उठाएपछि यसबाट उम्कनै पाइँदैन भनेर डराउँछन्‌।” हो, परमेश्‍वरलाई समर्पण गरिसकेपछि त्यसबाट उम्कन पाइँदैन। (उपदेशक ५:४ तुलना गर्नुहोस्‌।) तर “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ” चाहे ऊ बप्तिस्मा प्राप्त होस्‌ या बप्तिस्मा अप्राप्त! (याकूब ४:१७) मुख्य कुरा त, तपाईं परमेश्‍वरसितको मित्रतालाई मूल्यवान्‌ ठान्‍नुहुन्छ वा हुन्‍न, त्यो हो। के तपाईं सधैंभरि उहाँको सेवा गर्न प्रेरित हुनुहुन्छ? त्यसो हो भने परमेश्‍वरसितको मित्रताबारे अरूलाई घोषणा गर्न नडराउनुहोस्‌!

परमेश्‍वरका मित्रहरूले पाउने अनन्त लाभ!

परमेश्‍वरको मित्र हुन रोज्नुहुँदा तपाईंले सम्पूर्ण संसारको दुश्‍मनी मोल्नुपर्नेछ। (यूहन्‍ना १५:१९) अरूले तपाईंको उपहास गर्लान्‌। कठिनाइ, समस्या तथा प्रलोभनहरूको पहाडै आइपर्ला। तर परमेश्‍वरसित तपाईंको सम्बन्ध कसैले वा कुनै कुराले नखोसोस्‌। हामीलाई सधैं सँभाल्ने प्रतिज्ञा गर्दै उहाँ यसो भन्‍नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।”—हिब्रू १३:५.

यहोवाले मात्र नभई उहाँको संगठनले तपाईंको अनन्तकालीन हितमा चासो लिन्छ। यस पुस्तकले दिने जस्तो मदत अरू थुप्रै उपलब्ध छन्‌। यस पुस्तक मार्फत तपाईंको सबै प्रश्‍न तथा समस्याहरूको जवाफ दिन सम्भव नभए तापनि बाइबलमा कति धेरै अथाह बुद्धिको स्रोत रहेछ भनी तपाईं बुझ्न सक्नुहुन्छ! (२ तिमोथी ३:१६, १७) समस्याहरूले गर्दा अलमल्ल पर्नुहुँदा त्यस पवित्र पुस्तक खोतल्नुहोस्‌। (हितोपदेश २:४, ५) तपाईंका आमाबाबुले परमेश्‍वरको डर राख्नुहुन्छ भने, आफ्नो मनको कुरा उहाँहरूसित पोख्नुभएको खण्डमा अझ थप आध्यात्मिक बुद्धि र सहयोग पाउन सक्नुहुन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्‍वरले सम्पूर्ण प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। उहाँ “संकष्टमा अति सजिलैसँग पाइने सहायक” हुनुहुन्छ र उहाँले जुनसुकै कठिनाइबाट उम्कन डोऱ्‍याउनुहुनेछ। (भजन ४६:१) अतः अहिले ‘युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्नुहोस्‌।’ (उपदेशक १२:१) त्यसो गर्नुभयो भने यहोवाको हृदय अवश्‍य आनन्दित हुनेछ। (हितोपदेश २७:११) अनि परमेश्‍वरको मित्र हुन चाहनेहरूलाई उहाँले दिनुहुने इनाम अर्थात्‌ चिरस्थायी प्रमोदवनमा जीवन पाउनुहुनेछ।

छलफलका लागि प्रश्‍नहरू

◻ परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्नु किन महत्त्वपूर्ण छ?

◻ बाइबलले परमेश्‍वरबारे के के बताउँछ?

◻ बाइबल पढाइ रमाइलो तथा फलदायी बनाउन के गर्न सक्नुहुन्छ?

◻ ‘जनसमक्ष विश्‍वासको घोषणा’ गर्नुको अर्थ के हो? के तपाईं त्यसो गर्न प्रेरित हुनुभएको छ? किन?

◻ परमेश्‍वरसित घनिष्ठ हुन सभाहरूले कस्तो भूमिका निर्वाह गर्छन्‌ र त्यसबाट सर्वोत्तम लाभ उठाउन तपाईं के गर्न सक्नुहुन्छ?

◻ परमेश्‍वरको मित्र हुनुका फाइदाहरू के हुन्‌?

[पृष्ठ ३११-मा भएको ठूलो अक्षरको क्याप्सन]

के म परमेश्‍वरसित साँच्चै घनिष्ठ हुनसक्छु?

[पृष्ठ ३१२-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबल, परमेश्‍वरले मानिसहरूलाई प्रकट गर्नुभएका कुराहरूको संगालो हो। यसले हामी यहाँ कसरी आयौं, पछि के हुने हो जस्ता सबै कुराहरू बताउँछ

[पृष्ठ ३१६ र ३१७-मा भएको पेटी/चित्र]

सभाहरू—परमेश्‍वरसित घनिष्ठ हुने सहायक

“यहोवालाई प्रेम गर्ने व्यक्‍तिहरूको संगत गर्दा म पनि उहाँसित घनिष्ठ हुनसक्छु भनी मैले अनुभव गरेको छु।” एक नाइजेरियाली युवकले त्यसो भने। यहोवाका साक्षीहरूले त्यसरी एकअर्कासित सरसंगत गर्न स्थानीय राज्यभवनहरूमा कार्यक्रमहरू सञ्चालन गर्छन्‌। (हिब्रू १०:२३-२५) सोह्र वर्षीया अनिताले भनिन्‌: “मैले राज्यभवनमा साँचो मित्रहरू पाएँ।”

तथापि, त्यस्ता जमघटहरू सामाजिक समारोह मात्र होइनन्‌। राज्यभवनमा बाइबल शिक्षा प्रदान गरिन्छ र त्यसका लागि हप्तामा पाँचवटा सभाहरू हुने गर्छन्‌। त्यहाँ विभिन्‍न विषयहरू छलफल गरिन्छ। जस्तै, पारिवारिक जीवन, बाइबलको भविष्यवाणी, आचरण, धर्मसिद्धान्त, मसीही सेवकाई इत्यादि। ती सभाहरू नाटकहरूजस्तो शानदार नभए तापनि चाखलाग्दो ढंगमा प्रस्तुत गरिन्छन्‌। भाषण तथा सामूहिक छलफलसँगसँगै अन्तरवार्ता तथा जीवन्त विवरणहरू पनि प्रस्तुत गरिन्छ। यस सन्दर्भमा ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला विशेषगरि उल्लेखनीय छ किनभने यसले प्रभावकारी जनवक्‍ताहरू हुन हजारौंलाई प्रशिक्षण दिएको छ।

तपाईं सभाहरूमा उपस्थित हुन थालिसक्नुभएको छ भने नि? त्यसबाट अझ बढी लाभ उठाउने प्रयास गर्नुहोस्‌: (१) तयारी गर्ने: “सभाहरूमा प्रयोग हुने पुस्तकहरू अध्ययन गर्न मैले अलग्गै समय छुट्याएकी छु,” अनिता भन्छिन्‌। यसो गरेपछि अर्को कदम सजिलो हुन्छ। त्यो हो, (२) भाग लिने: किशोरावस्थामा छँदै येशूले ध्यान दिएर सुन्‍नुहुन्थ्यो, प्रश्‍न सोध्नुहुन्थ्यो र मन्दिरमा आध्यात्मिक विषयहरू छलफल हुँदा जवाफ पनि दिनुहुन्थ्यो। (लूका २:४६, ४७) तपाईं पनि मन एताउता नडुलोस्‌ भन्‍ने हेतुले टिपोटहरू लिएर “सुनेका कुराहरूलाई . . . झन्‌ बढ़ी उत्कट ध्यान” दिन सक्नुहुन्छ। (हिब्रू २:१) श्रोतागणले पनि भाग लिने मौका पाउँदा टिप्पणीहरू दिएर सहभागी हुनुहोस्‌।

अर्को मदतकारी सुझाउ हो, (३) सिकेको कुरालाई व्यवहारमा उतार्ने: आफूले सिकेका कुराहरू अरूलाई बताउनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले सिकेका कुराहरू व्यवहारमा उतार्दै आवश्‍यक काँटछाँट गर्नुहोस्‌। सत्यले तपाईंमा “काम पनि गर्दछ” भनेर देखाउनुहोस्‌।—१ थिस्सलोनिकी २:१३.

सभाहरूलाई प्राथमिकता दिनुहोस्‌। तीनथुप्रो गृहकार्य छ भने सभाअघि सिध्याउने कोसिस गर्नुहोस्‌। सिमियोन नाउँको केटो यसो भन्छन्‌, “सभापछि कुरा गरेर मलाई पछिसम्म बस्न मन लाग्छ। तर स्कूलको काम तीनथुप्रो बाँकी छ भने तुरुन्तै गइहाल्नुपर्छ।” तथापि, आफ्नो कामको चाँजोपाँजो मिलाउनुहोस्‌ र सभामा नियमित हुन यथाशक्य गर्नुहोस्‌। तपाईंको आध्यात्मिक प्रगतिको लागि सभाहरू अत्यन्तै महत्त्वपूर्ण छ।

[पृष्ठ ३१५-मा भएको चित्र]

परमेश्‍वरसित सम्बन्ध गाँस्न बाइबल पढ्‌नु अत्या- वश्‍यक छ

[पृष्ठ ३१८-मा भएका चित्रहरू]

“समस्या आइपर्दा म जुनसुकै बेला पनि यहोवालाई पुकार्नसक्छु र उहाँले मदत गर्नुहुनेछ भनी मलाई थाह छ”