सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो भविष्य कस्तो छ?

मेरो भविष्य कस्तो छ?

अध्याय ३८

मेरो भविष्य कस्तो छ?

“आणविक खतराले भरिएको यो संसारमा मलाई आफ्नो भविष्यको डर लाग्छ।” जर्मनीको उच्च राजनैतिक पदाधिकारीसँग त्यहींको एक युवाले त्यसरी आफ्नो विचार पोखे।

शायद तपाईंलाई पनि आणविक भट्टीमा डढ्‌ने डर होला। एक युवकले यसो भने “पढेर के फाइदा? आखिर यो संसार आणविक विष्फोटनले भस्म भैहाल्छ।” निस्सन्देह, स्कूलका विद्यार्थीहरूसित लिइएको एउटा सर्वेक्षणअनुसार केटाहरूको सबैभन्दा ठूलो चिन्ता नै आणविक युद्ध होला भन्‍ने पाइयो। केटीहरूलाई भने सबैभन्दा पहिले “आमा या बुबाको मृत्यु” र त्यसपछि आणविक युद्धको डर भएको देखियो।

तथापि, आणविक विष्फोटन मात्र डरको कारण होइन। “जनसंख्या वृद्धि, खनिज पदार्थहरू सिद्धिनु, वातावरण प्रदूषण” र अन्य सन्‍निकट विपत्तिहरूको खतरालाई विचार गरेपछि प्रख्यात मनोवैज्ञानिक बी. एफ. स्किनर यस्तो निष्कर्षमा पुगे: “अहिले मानिसजातिको नामोनिसानै नहुने खतरा छ।” पछि तिनले यो पनि भने: “म भविष्यमा कुनै आशा देख्दिनँ। साँच्चै, हामी आफ्ना समस्याहरू समाधान गर्न सक्दैनौं।”

जानेबुझेका मानिसहरूसमेत भविष्यदेखि डराउने हुँदा थुप्रै युवाहरूले यस्तो मनोवृत्ति देखाउनु कुनै अचम्मको कुरा होइन: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) निस्सन्देह, आफ्नो भविष्यको आशा राजनीतिज्ञ तथा वैज्ञानिकहरूमा राख्नुहुन्छ भने अवश्‍य अन्धकार छ। किनकि यर्मिया १०:२३ यसो भन्छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”

सँगी मानवलाई डोऱ्‍याउन मानिस असक्षम मात्र होइन त्यस्तो “शक्‍ति मानिसमा छैन।” मतलब, पृथ्वीको भविष्य आफ्नो हातमा लिन खोज्नु मानिसको अधिकारको कुरा होइन। अतः मानिसका प्रयासहरू अवश्‍य विफल हुनेछन्‌। त्यसैकारण, यर्मियाले ईश्‍वरीय हस्तक्षेपको लागि यसरी प्रार्थना गरे: “हे परमप्रभु, मलाई सुधार्नुहोस्‌, तर ठीक परिमाणमा।” (यर्मिया १०:२४) यसको अर्थ हो, सृष्टिकर्ताले हाम्रो भविष्य निर्धारण गर्नुहुनेछ। तर हाम्रो भविष्य कस्तो हुनेछ?

पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य र तपाईंको भविष्य

प्रथम मानव दम्पती सृष्टि गरिसक्नुभएपछि परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) यसप्रकार मान्छेलाई विश्‍वव्यापी प्रमोदवनमा बाँच्ने आशा दिइएको थियो।

तथापि, प्रथम दम्पतीले परमेश्‍वरको शासनको विद्रोह गरे। पछि सुलेमानले भनेझैं, “जब परमेश्‍वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो, तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।” (उपदेशक ७:२९) मानवजातिका योजनाहरू विपत्तिजनक साबित भएका छन्‌। फलस्वरूप अहिलेको पुस्ताले दुःखकष्टबाहेक अरू केही पाएको छैन र तिनीहरूको भविष्य पनि अन्धकारमय देखिन्छ।

के यसको मतलब परमेश्‍वले यस पृथ्वीलाई प्रदूषित, रेडियोएक्टिभ र निर्जन होस्‌ भनेर त्याग्नुभएको छ? त्यस्तो कदापि हुन सक्दैन! उहाँले “पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।)” अतः पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य अवश्‍य पूरा हुनेछ!—यशैया ४५:१८; ५५:१०, ११.

तर प्रश्‍न उठ्‌छ, कहिले अनि कसरी? तपाईं आफै लूका अध्याय २१ पढ्‌नुहोस्‌। यस शताब्दीमा मानिसजातिलाई पिरोलिरहेको समस्याबारे येशूले पहिल्यै भविष्यवाणी गरिसक्नुभएको थियो: अन्तरराष्ट्रिय युद्ध, भुइँचालो, रोगबिमार, अनिकाल, व्यापक हिंसा इत्यादि। अब चाँडै येशूका निम्न शब्दहरू पूरा हुनेछन्‌: “जब यी कुरा हुनेछन्‌ तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ। . . . त्यसैगरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजीकै छ भनी जान।”—लूका २१:१०, ११, २८, ३१.

त्यो राज्य नै तपाईंको भविष्यको कुञ्जी हो। सरल भाषामा भन्‍ने हो भने, त्यो राज्य परमेश्‍वरले शासन गर्नुहुने सरकार हो। त्यस सरकारले मानव शासकहरूको हातबाट जबरजस्ती अख्तियार खोस्नेछ। (दानियल २:४४) “पृथ्वीका नष्टकारीहरूलाई” परमेश्‍वरले नाश गर्नुभएर पृथ्वी र मानिसजातिलाई बचाउनुहुनेछ अनि मानिसहरूको हातबाट अझ बढी विनाश हुन दिनुहुनेछैन।—प्रकाश ११:१८; उपदेशक १:४.

परमेश्‍वरको शासनअन्तर्गत हामीलाई कुनै डर हुनेछैन र पृथ्वी बिस्तारै प्रमोदवनमा परिवर्तन हुनेछ। (लूका २३:४३) पर्यावरण पनि फेरि सन्तुलित हुनेछ। अझ भन्‍ने हो भने, मानिस र जनावर पनि आपसमा मिलेर बस्नेछन्‌। (यशैया ११:६-९) युद्ध तथा हातहतियारहरूको नामोनिसान रहनेछैन। (भजन ४६:८, ९) अपराध, भोकमरी, घरबारको अभाव, रोग र मृत्युसमेत हुनेछैन। पृथ्वीका बासिन्दाहरू साँच्चै “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:१०, ११; ७२:१६; यशैया ६५:२१, २२; प्रकाश २१:३, ४.

परमेश्‍वरका प्रतिज्ञाहरू ‘जाँच्ने’

प्रमोदवनमा अनन्त जीवन—त्यो तपाईंको पनि भविष्य हुनसक्छ! सुन्दा त राम्रै लाग्ला तर सबै असल मानिसहरू स्वर्ग जान्छन्‌ भनी सुन्दै आउनुभएकोले पत्याउन गाह्रो होला। बाइबलको कुरामाथि पनि शंका लाग्ला। यहोवाका केही जवान साक्षीहरूले समेत कहिलेकाहीं आफ्नो विश्‍वास ढलपल भएको महसुस नगरेका होइनन्‌। उदाहरणका लागि, मिशेललाई लिनुहोस्‌, जसको आमाबाबु पनि यहोवाका साक्षी थिए। बाइबलमा विश्‍वास गर्नु भनेको उसको लागि दिनपछि रात आउँछ भनेर विश्‍वास गर्नु जत्तिकै थियो। तर एक दिन ऊ झसंग भई। आफूले बाइबलमा विश्‍वास गर्नुको कारण उसलाई थाह थिएन। ऊ भन्छे, “आमा र बुबाले विश्‍वास गर्नुहुने हुँदा मैले पनि विश्‍वास गरेकी हुँ कि जस्तो लाग्छ।”

बाइबल यसो भन्छ, “विना विश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” (हिब्रू ११:६) यद्यपि, आमा र बुबाले विश्‍वास गर्दैमा तपाईंले पनि स्वतः विश्‍वास गर्नुहुनेछ भन्‍ने छैन। आफ्नो भविष्य सुरक्षित बनाउन चाहनुहुन्छ भने ठोस प्रमाण अर्थात्‌ “आशा राखेका कुराको निश्‍चयता[मा]” तपाईंको विश्‍वासले लंगर लगाएको हुनुपर्छ। (हिब्रू ११:१) बाइबलले भनेझैं तपाईंले “सबै कुराको जाँच” गर्नुपर्छ।—१ थिस्सलोनिकी ५:२१.

बाइबल साँचो हो भनेर विश्‍वस्त हुने

सर्वप्रथम, बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो कि होइन, जाँच्नुपर्ला। (२ तिमोथी ३:१६) कसरी गर्न सक्नुहुन्छ? भनौं भने, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मात्र “आदिदेखि अन्तसम्मको” यथार्थ विवरण बताउन सक्नुहुन्छ। (यशैया ४३:९; ४६:१०) अनि त्यस्तो विस्तृत विवरण उहाँले बाइबलमा दोऱ्‍याई तेहऱ्‍याई बताउनुभएको छ। लूका १९:४१-४४ र २१:२०, २१ मा यरूशलेमको विनाशबारे उल्लिखित भविष्यवाणीहरू पढ्‌नुहोस्‌। अथवा बेबिलोनको पतनबारे यशैया ४४:२७, २८ र ४५:१-४ मा उल्लिखित भविष्यवाणीहरू। बाइबलका यी भविष्यवाणीहरू कसरी एक एक गरी पूरा भए भनेर इतिहासले देखाउँछ! चौध वर्षीय जानिनले यसो भनिन्‌: “बाइबलका केही भविष्यवाणीहरू केलाएपछि ती सबै कुरा कसरी पो भविष्यवाणी गर्न सकेको होलान्‌ भनेर छक्कै परें।”

बाइबलको ऐतिहासिक सत्यता, इमानदारी, स्पष्टता अनि सामञ्जस्यता पनि बाइबलमा विश्‍वास गर्ने थप कारणहरू हुन्‌। a तर यहोवाका साक्षीहरूले बाइबलको सही अर्थ लगाएका छन्‌ भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? पुरातन बिरीयाका बासिन्दाहरूले प्रेरित पावलले बाइबलबारे दिएको स्पष्टीकरणलाई अन्धाधुन्ध स्वीकारेनन्‌। बरु, “ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी” गरे।—प्रेरित १७:११.

हामी तपाईंलाई पनि बाइबलका शिक्षाहरू गहिरिएर अध्ययन गर्न आग्रह गर्छौं। बाइबलले वास्तवमा के सिकाउँछ? (यहोवाका साक्षीहरूद्वारा प्रकाशित) नामक पुस्तकमा यी शिक्षाहरू स्पष्टसित बताइएको छ। तपाईंका आमाबाबु यहोवाका साक्षीहरू हुनुहुन्छ भने तपाईंको प्रश्‍नको जवाफ उहाँहरूले पक्कै पनि दिन सक्नुहुनेछ। जानेल नाउँकी युवती यस्तो सुझाउ दिन्छिन्‌, “कुनै चित्त नबुझेका कुराहरू छन्‌ भने कुरा नलुकाइ आमाबाबुलाई बताउनुहोस्‌। पत्याउन गाह्रो लागेको कुनै कुरा छ भने सोध्नुहोस्‌।” (हितोपदेश १५:२२) यहोवाले आफ्ना साक्षीहरूलाई यस्ता अद्‌भुत सत्यहरूको ज्ञान दिनुभएको छ भनेर समयको दौडान तपाईं पक्कै विश्‍वस्त हुनुहुनेछ!

प्रेन्टिस नाउँको केटो यसो भन्छन्‌: “संसारको अवस्था देखेर मलाई कहिलेकाहीं दिक्क लाग्छ। प्रकाश २१:४ जस्ता शास्त्रपदहरू पढ्‌छु र केही आशाको किरण देख्छु।” हो, बाइबलका प्रतिज्ञाहरूमा दृढ विश्‍वास राख्यौं भने भविष्यप्रतिको दृष्टिकोणमा अवश्‍य फरक पर्नेछ। त्यसपछि तपाईं दिक्क भएर होइन तर खुशीसाथ भविष्यको प्रतीक्षा गर्न थाल्नुहुन्छ। वर्तमान जीवन पनि निरर्थक संघर्ष नभई अर्थपूर्ण हुन्छ। मतलब, ‘आफ्नो निम्ति असल जग बनाएर तपाईंले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राख्ने’ बाटो पत्ता लगाउनुहुनेछ।—१ तिमोथी ६:१९.

तर के त्यो “साँच्चै जीवन” पक्रिन बाइबलका शिक्षाहरू सिक्नु र त्यसमा विश्‍वास गर्नु मात्र पर्याप्त छ?

[फुटनोट]

a बाइबलको प्रमाणिकतासम्बन्धी विस्तृत जानकारीको लागि धर्मशास्त्रबाट तर्क गर्ने (अंग्रेजी) (यहोवाका साक्षीहरूद्वारा प्रकाशित) पुस्तकको पृष्ठ ५८-६८ हेर्नुहोस्‌।

छलफलका लागि प्रश्‍नहरू

◻ धेरैजसो युवाहरूलाई भविष्यको कस्तो डर छ?

◻ परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुको उद्देश्‍य के थियो? परमेश्‍वरको उद्देश्‍य परिवर्तन भएको छैन भनेर हामी किन ढुक्क हुनसक्छौं?

◻ पृथ्वीमा परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने सन्दर्भमा उहाँको राज्यले कस्तो भूमिका निर्वाह गर्छ?

◻ तपाईंले बाइबलका शिक्षाहरूको सत्यता जाँच्नु किन महत्त्वपूर्ण छ र त्यो तपाईं कसरी गर्न सक्नुहुन्छ?

◻ बाइबल परमेश्‍वरबाट प्रेरित भएको पुस्तक हो भनी तपाईं कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

[पृष्ठ ३०६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म भविष्यमा कुनै आशा देख्दिनँ। साँच्चै, हामी आफ्ना समस्याहरू समाधान गर्न सक्दैनौं।”—मनोवैज्ञानिक बी. एफ. स्किनर

[पृष्ठ ३०७-मा भएको चित्र]

सृष्टिकर्ताले मानिसको हातबाट पृथ्वी नाश हुन दिनुहुने छैन

[पृष्ठ ३०९-मा भएको चित्र]

के तपाईं बाइबलको सत्यताबारे पूरा विश्‍वस्त हुनुभयो?