सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कहिलेकाहीं रमाइलो गरेर के भो त?

कहिलेकाहीं रमाइलो गरेर के भो त?

अध्याय ३७

कहिलेकाहीं रमाइलो गरेर के भो त?

शुक्रबार साँझ, पलिना a मसीही सभाहरूमा जाने गर्थी। उसलाई त्यहाँ हुने छलफलहरू रमाइलो लाग्थ्यो तर त्यति नै खेर स्कूलका साथीहरूले चाहिं मोजमस्ती गरिरहेको सम्झँदा चुकचुक लाग्थ्यो।

सभा सकिएपछि पलिना त्यसै टोलका किशोरकिशोरीहरू रमझम गर्न भेला हुने अखडाको बाटो भएर घर फर्कन्थी। ऊ भन्छे: “चर्को आवाज र झिलमिल बत्तीहरू देखेर म आकर्षित हुन्थें र घाँटी तन्काई तन्काई भित्र कस्तो मोजमज्जा भइरहेको होला भनेर कल्पना गर्थें।” समय बित्दै जाँदा आफ्ना साथीहरूसित रमाइलो गर्नु नै उसको जीवनको सर्वमहत्त्वपूर्ण कुरा हुन थाल्यो।

कहिलेकाहीं तपाईंलाई पनि आफू पलिनाजस्तै मसीही भएको हुँदा कुनै कुनै कुराहरूबाट वञ्चित हुनुभएजस्तो लाग्नसक्छ। अरू सबैले हेरिरहेको टिभी कार्यक्रम तपाईं पनि हेर्न चाहनुहुन्छ तर त्यो असाध्यै हिंस्रक छ भनेर आमाबाबुले हेर्न दिनुहुन्‍न। तपाईं पनि स्कूलका साथीहरूसित बजारतिर डुल्न चाहनुहुन्छ तर तिनीहरू “खराब संगत” भनेर आमाबाबुले जानै दिनुहुन्‍न। (१ कोरिन्थी १५:३३) तपाईंका सहपाठीहरू सबै जाने पार्टीमा तपाईं पनि जान चाहनुहुन्छ तर आमाबाबुले पर्दैन भन्‍नुहुन्छ।

तपाईंका सहपाठीहरूले आफूलाई मन पर्ने सबै कुराहरू गर्न पाइरहेका छन्‌ होला। जस्तै, सांगीतिक कार्यक्रमहरू हेर्न जान र आमाबाबुको कुनै हस्तक्षेपबिना मध्य रातसम्म पार्टीहरूमा रमझम गर्न। तपाईंलाई तिनीहरूको स्वतन्त्रता देखेर डाह लाग्दो हो। तपाईं खराब काम गर्न चाहनुहुन्छ भनेको त होइन। तर कहिलेकाहीं तपाईं पनि रमाइलो गर्न चाहनुहुन्छ।

मनोरञ्जनप्रति परमेश्‍वरको दृष्टिकोण

रमाइलो गर्न चाहनु कुनै नराम्रो कुरा होइन भनेर ढुक्क हुनुहोस्‌। आखिर, यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथी १:११, NW) बुद्धिमान्‌ राजा सुलेमान मार्फत उहाँले यसो भन्‍नुभयो: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌। तेरो मन र आँखाले तँलाई बाटो देखाऊन्‌।” तथापि सुलेमानले यस्तो चेताउनी पनि दिए: “यो कुरो याद राख्‌, कि यी सबै कुराको परमेश्‍वरले लेखा लिनुहुन्छ।”—उपदेशक ११:९, १०.

आफ्ना कार्यहरूका लागि परमेश्‍वरले जवाफदेही ठहराउनुहुन्छ भनी थाह पाउँदा तपाईं मनोरञ्जनलाई बेग्लै दृष्टिकोणले हेर्नुहुन्छ। रमाइलो गर्दैमा परमेश्‍वरले कसैलाई पनि दोषी ठहराउनुहुन्‍न तर सधैं मोजमज्जा गर्ने र “सुख-विलास निको मान्‍ने” मानिसलाई उहाँ स्वीकार्नुहुन्‍न। (२ तिमोथी ३:१, ४) यसो हुनुको कारण के हो? राजा सुलेमानलाई विचार गर्नुहोस्‌। तिनले आफूले चाहेजति सबै सुखविलासको उपभोग गरे। तिनी यसो भन्छन्‌: “लोभ लागेको कुरो प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ, नता मैले कुनै किसिमको सुख-चैनलाई इन्कार गरें।” परिणाम? “सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ ती सबै संसारमा बेफायदाका कुरा रहेछन्‌।” (उपदेशक २:१०, ११) हो, सुखविलासको लागि मात्र दौडधूप गऱ्‍यो भने पछि गएर खोक्रोपना र नैराश्‍य भोग्नुपर्नेछ भनी परमेश्‍वरलाई थाह छ।

लागू पदार्थको दुर्व्यसन र विवाहपूर्व यौनसम्बन्धजस्ता अशुद्ध कामहरूबाट पनि तपाईं अलग बस्नुभएको परमेश्‍वर चाहनुहुन्छ। (२ कोरिन्थी ७:१) यद्यपि, किशोरकिशोरीहरूले रमाइलोको लागि गर्ने थुप्रै कुराहरूले तिनीहरूलाई त्यस्ता प्रचलनहरूमा फसाउनसक्छ। उदाहरणको लागि, एउटी केटीले कुनै अभिभावकको सुपरिवेक्षण नभएको जमघटमा जाने निधो गरिन्‌। उनी भन्छिन्‌, “घन्केको बाजा, नाचगान, जलपान, निकै ख्यालठट्टा।” तर पछि, “एक जनाले गाँजा ल्यायो। अर्कोले रक्सी। त्यसपछि भाँडभैलो सुरु भयो।” परिणामस्वरूप यौन अनैतिकता पनि भयो। केटी यसो भन्छिन्‌: “त्यहाँदेखि म असाध्यै दुःखी र निराश भएकी छु।” वयस्कहरूको सुपरिवेक्षण भएन भने त्यस्ता जमघटहरू “भोजको मोजमजामा” छाडा हुन एकछिन पनि लाग्दैन!—गलाती ५:२१.

अतः तपाईं आफ्नो फुर्सतको समय कसरी बिताउनुहुन्छ भनी थाह पाउन आमाबाबुहरू असाध्यै चिन्तित हुनुको कारण बुझ्नसक्छौं। शायद सरसंगति नियन्त्रण गर्न वा घुमघाम गर्ने सम्बन्धमा कडिकडाउ पनि गर्नु होला। उहाँहरूको मनसाय? परमेश्‍वरको यस्तो चेताउनी पालन गर्ने मदत दिन: “असन्तुष्टतालाई तेरो मनबाट पर हटा, र शरीरको दुःखलाई टकटक्याइदे। बाल्यावस्था र बैंस केवल व्यर्थ हुन्‌।”—उपदेशक ११:१०.

सुखविलासीहरूको डाह लाग्छ?

यस्ता चेताउनीहरू बिर्सी तपाईंलाई केही जवानहरूले पाइरहेको स्वतन्त्रताको डाह लाग्नसक्छ। पलिनाले मसीही सभाहरू धाउन छाडिन्‌ र सुखविलासी साथीहरूसित घुलमिल गर्न थालिन्‌। उनी भन्छिन्‌, “जुन जुन कुरा नगर्नु भनिएको थियो, ती सबै कुराहरू गर्न थालें।” आखिरमा गएर पलिना पक्राउमा परिन्‌ र बरालिएका केटीहरू राख्ने स्कूलमा पुगिन्‌!

धेरैअघि भजन ७३ का लेखकले पनि पलिनाले जस्तै अनुभव गरेका थिए। तिनी यसो भन्छन्‌, “दुष्टहरूको उन्‍नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ।” धार्मिक सिद्धान्तहरूअनुरूप जीवन बिताउनुको महत्त्वलाई समेत तिनले शंका गर्न थाले। तिनले भने, “निश्‍चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ।” तर गहन अन्तरदृष्टि पाएर तिनले यसो भने: दुष्टहरू “चिप्ला ठाउँहरूमा” टेक्छन्‌ र सर्वनाशको सँघारमा हुन्छन्‌!—भजन ७३:३, १३, १८.

पलिनाले पनि अनेकन्‌ दुःख भोगेपछि मात्र पाठ सिकिन्‌। सांसारिक कुराहरूसितको साँठगाँठपछि परमेश्‍वरको अनुग्रह पुनः पाउन तिनले आफ्नो जीवनमा आमूल परिवर्तन गरिन्‌। तर, ‘रमाइलो गर्दा’ ठूलो मूल्य चुकाउनु पर्नसक्छ भनी होसमा आउनको लागि तपाईं पक्राउमा पर्नु, यौनजन्य रोगको शिकार हुनु वा लागू पदार्थको दुर्व्यसन छुटाउँदा हुने पीडा भोग्नु पर्दैन। त्यस्ता खतराहरू नमोलिकनै पनि रमाइलो गर्न सकिने स्वास्थ्यकर, उत्थानदायी तरिकाहरू थुप्रै छन्‌। ती के के हुन्‌?

स्वास्थ्यकर रमाइलो

अमेरिकी युवाहरूसित लिइएको एउटा सर्वेक्षणअनुसार किशोरकिशोरीहरूलाई “कहिलेकाहीं परिवारसित घुम्न जानु र अन्य क्रियाकलापहरूमा भाग लिन रमाइलो लाग्छ।” परिवारै मिलेर कामकुरा गर्नु रमाइलो मात्र होइन तर त्यसो गर्दा पारिवारिक एकतालाई पनि टेवा दिनसक्छ।

यसको मतलब परिवार बसेर टिभी हेर्नु मात्र होइन। डा. एन्थोनी पिट्रोपिन्टो यसो भन्छन्‌: “टेलिभिजन हेर्दा समस्या के हुन्छ भने, अरू पनि सँगै होलान्‌ तर साधारणतया अर्को व्यक्‍तिसित अन्तरक्रिया हुँदैन। . . . हो, धुमधुम्ती टिभी हेरेर बस्नुभन्दा घरभित्र वा चोकमा खेलहरू खेल्दा, थरिथरिका पकवानहरू पकाउँदा, कागज वा काठका विभिन्‍न खेलौनाहरू बनाउँदा र ठूलठूलो स्वरले पढ्‌दा एकअर्कासित कुराकानी गर्न, आपसी सहयोग तथा बौद्धिक क्रियाकलापको लागि थुप्रै मौका पाउँछौं।” सात छोराछोरीका बुबा, जोन यसो भन्छन्‌: ‘परिवार एकसाथ मिलेर बगैंचा सफा गर्नु र घरमा रंग लगाउनु जस्तो काम पनि रमाइलो हुनसक्छ।’

तपाईंको परिवारलाई त्यस्ता कामहरू गर्ने बानी परेको छैन भने अग्रसर भएर आमाबाबुसित कुरा गर्नुहोस्‌। परिवारसित घुम्न जाने वा केही कामकुरा गर्ने चाखलाग्दो तथा रमाइलो तरिकाहरू खोज्नुहोस्‌।

तर, रमाइलो गर्न अरू मानिसहरू वरपरै हुनुपर्छ भन्‍ने छैन। आफ्नो सरसंगतिबारे असाध्यै होशियार रहने मेरीले एक्लै रमाइलो गर्न सिकिन्‌। उनी भन्छिन्‌, “म पियानो र भायोलिन बजाउँछु र त्यसको अभ्यास गरेर समय बिताउँछु।” त्यसरी नै अर्की किशोरी मेलिसाले यसो भनिन्‌: “म कहिलेकाहीं आफ्नै रमाइलोको लागि कथा कविताहरू लेख्ने गर्छु।” तपाईं पनि पढ्‌ने, काठको मालताल बनाउने वा बाजागाजा बजाउन सिक्नुभएर आफ्नो समयलाई फलदायी ढंगमा चलाउन सक्नुहुन्छ।

मसीही जमघटहरू

कहिलेकाहीं साथीहरूसित जमघट गर्नु पनि रमाइलै हुन्छ। अनि कतिपय इलाकाहरूमा तपाईंले रमाइलो गर्नसक्ने थुप्रै क्रियाकलापहरू छन्‌। उत्तर अमेरिकामा बोलिङ, स्केटिङ खेल्नु, साइकल चलाउनु, बेसबल र बास्केटबलजस्ता खेलहरू लोकप्रिय छन्‌। अनि तपाईं संग्रहालय वा चिडियाखाना पनि जान सक्नुहुन्छ। साथै, कसैको घरमा भेला भएर अरू मसीही युवाहरूसँगै बसेर संगीत सुन्‍न वा लाभदायक टिभी कार्यक्रम हेर्न सक्नुहुन्छ।

कुनै औपचारिक जमघटको लागि आमाबाबुको सल्लाह लिन पनि सक्नुहुन्छ। अनि त्यसरी भेला हुँदा सामूहिक रूपमा खेल्न सकिने कार्यक्रम वा सामूहिक गायनजस्ता विविध गतिविधिहरूको आयोजना गरेर रमाइलो गर्नुहोस्‌। तपाईंका साथीहरूलाई बाजागाजा बजाउन आउँछ भने बाजा बजाउन फकाउन सक्नुहुन्छ। मीठो खाना भयो भने त झनै रमाइलो तर भव्य तथा महँगो हुनुपर्छ भन्‍ने छैन। कहिलेकाहीं पाहुनाहरूले बेग्लाबेग्लै पकवानहरू पनि ल्याउनसक्छन्‌।

बल खेल्न वा पौडी खेल्न मिल्ने कुनै पार्क वा अन्य सुविधाहरू नजीकै छन्‌ कि? पिकनिक जाने योजना बनाए कसो होला? अनि एकै जनालाई मात्र आर्थिक भार नपार्न हरेक परिवारले एउटा पकवान ल्याउनसक्छन्‌।

तर यी सबै कामहरू गर्दा रमाइलो गर्ने कुञ्जी हो, आफ्नो सीमा बुझ्नु र अचाक्ली नगर्नु। रमाइलो गर्न कानै खाने ठूलो स्वरले बाजा बजाउनुपर्छ भन्‍ने छैन नता अश्‍लील तथा यौन उत्तेजना जगाउने खालको नाचगान नै हुनुपर्छ। त्यसरी नै, घरबाहिर खेलहरू खेल्दा पनि मारामार गरूँला जस्तो होडबाजी नगरी रमाइलो गर्न सकिन्छ। यद्यपि, एक अभिभावकले यसो भने: “केही युवाहरू कहिलेकाहीं भनाभन गरेर झगडा गर्नसमेत सुरिन्छन्‌।” “एउटाले अर्कोसित पाखुरा सुर्काउने” नगर भन्‍ने बाइबलको सल्लाह पालन गरेर त्यस्ता क्रियाकलापहरूलाई रमाइलो बनाउनुहोस्‌।—गलाती ५:२६.

कस कसलाई निम्तो दिने? बाइबल यसो भन्छ: “सबै मानिसहरूलाई आदर गर।” (१ पत्रुस २:१७) आफ्नै दौंतरीहरूलाई मात्र किन बोलाउने? ठूलो मनको हुनुहोस्‌। (२ कोरिन्थी ६:१३ तुलना गर्नुहोस्‌।) एक अभिभावकले यस्तो टिप्पणी गरे: “उमेर ढल्किसकेकाहरूले यस्तो क्रियाकलापमा भाग लिन नसके तापनि आएर हेर्न मात्रै पाएपनि रमाइलो मान्छन्‌।” वयस्कहरू पनि त्यस्तो जमघटमा छन्‌ भने परिस्थिति अनियन्त्रित हुन पाउँदैन। तर एउटै जमघटमा “सबै मानिसहरूलाई” निम्तो दिन सम्भव हुँदैन। यसबाहेक, सानो समूहलाई नियन्त्रण गर्न सजिलो पनि हुन्छ।

मसीही जमघटहरूले एकअर्कालाई आध्यात्मिक प्रोत्साहन दिने मौका पनि प्रदान गर्छ। हो, केही युवाहरू जमघटहरू हुँदा आध्यात्मिकतामा ध्यान दिने हो भने त कहाँ रमाइलो हुन्छ र, भन्‍ने विचार राख्छन्‌। एक मसीही केटोले यसो भने, “हाम्रा जमघटहरू भनेको “थुपुथुपु बस्नु, बाइबल झिक्नु अनि बाइबल खेलहरू खेल्नु” मात्र हो। तथापि, भजनरचयिताले यसो भने: “त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ।” (भजन १:१, २) बाइबलमा आधारित छलफल वा खेलहरू पनि रमाइलो हुनसक्छ। शायद त्यस्ता खेलहरूमा पूरा सहभागी हुन तपाईंले धर्मशास्त्रको ज्ञान अलि तिखार्नुपर्ने होला।

अर्को तरिका हो, आफू कसरी मसीही बनें भनी पालैपालो आफ्नो अनुभव सुनाउनु। वा हँसाउने कथाहरू सुनाउन लगाएर न्यानोपना र हाँसो थप्नु। यस्ता कथाहरूले पनि प्रायः मूल्यवान्‌ पाठ सिकाइरहेको हुन्छ। यसै पुस्तकका केही अध्यायहरू पनि सामूहिक छलफलको लागि चलाउन सकिन्छ।

सन्तुलित मनोरञ्जन गर्नुहोस्‌!

कहिलेकाहीं रमाइलो गर्नुमा येशू ख्रीष्टले अवश्‍य पनि कुनै आपत्ति जनाउनुभएन। बाइबलले उहाँ कानाको विवाह भोजमा उपस्थित हुनुभएको विवरण बताउँछ। पक्कै पनि त्यहाँ प्रशस्त मात्रामा खानपीन, नाचगान तथा उत्थानदायी संगति थियो। येशूले चमत्कारपूर्ण ढंगमा मद्य बनाउनुभएर विवाह भोजमा योगदानसमेत पुऱ्‍याउनुभयो!—यूहन्‍ना २:३-११.

तर येशू दिनदिनै भोजभतेरको रमझममा भुल्ने मानिस चाहिं हुनुहुन्‍नथियो। उहाँले आफ्नो प्रायजसो समय मानिसहरूलाई परमेश्‍वरको इच्छाबारे सिकाउँदै आध्यात्मिक कुराहरूमा बिताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) एकछिनको लागि मन बहलाउनु भन्दा येशूले परमेश्‍वरको इच्छा पूरा गरेर चिरकालीन आनन्द उठाउनुभयो। आज पनि, “प्रभुको काम . . . प्रशस्त” छ। (१ कोरिन्थी १५:५८; मत्ती २४:१४) तर समय समयमा मनोरञ्जनको आवश्‍यकता महसुस गर्नुहुँदा सन्तुलित तथा स्वास्थ्यकर ढंगमा रमाइलो गर्नुहोस्‌। एक लेखकले भनेझैं, “जीवनमा सधैं रमाइलो नै रमाइलो मात्र हुन सक्दैन। त्यसो हुँदो हो त तपाईं वाक्कै हुनुहुनेछ!”

[फुटनोट]

a वास्तविक नाउँ होइन।

छलफलका लागि प्रश्‍नहरू

◻ केही मसीही युवाहरू किन सांसारिक युवाहरूको डाह गर्छन्‌? के तपाईंले पनि त्यस्तै महसुस गर्नुभएको छ?

◻ परमेश्‍वरले युवाहरूलाई आचरणसम्बन्धी कस्तो चेताउनी दिनुहुन्छ र हामीले छनौट गर्ने मनोरञ्जनलाई यसले कसरी असर गर्छ?

◻ परमेश्‍वरको नियम तथा सिद्धान्तहरू भंग गर्ने युवाहरूको डाह गर्नु किन मूर्खता हो?

◻ (१) परिवारका सदस्यहरूसित, (२) एक्लै र (३) संगी मसीहीहरूसित स्वास्थ्यकर मनोरञ्जन गरेर रमाइलो गर्न सकिने केही तरिकाहरू के हुन्‌?

◻ येशू ख्रीष्टले मनोरञ्जनको सन्दर्भमा कसरी सन्तुलन देखाउनुभयो?

[पृष्ठ २९७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“चर्को आवाज र झिलमिल बत्तीहरू देखेर म आकर्षित हुन्थें र घाँटी तन्काई तन्काई भित्र कस्तो मोजमज्जा भइरहेको होला भनेर कल्पना गर्थें”

[पृष्ठ ३०२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“एक जनाले गाँजा ल्यायो। अर्कोले रक्सी। त्यसपछि भाँडभैलो सुरु भयो”

[पृष्ठ २९९-मा भएको चित्र]

बाइबल सिद्धान्तहरू पालन गर्ने युवाहरूले रमाइलो गर्ने मौका नै पाउँदैनन्‌ र?

[पृष्ठ ३००-मा भएको चित्र]

फुर्सतको समयलाई सदुपयोग गर्ने एउटा तरिका कुनै एउटा सोखमा मन लगाउनु हो

[पृष्ठ ३०१-मा भएको चित्र]

विविध क्रियाकलापहरूको आयोजना गर्नुको साथै सबै उमेरका मानिसहरूलाई समावेश गर्दा मसीही जमघटहरू झनै रमाइला

हुन्छन्‌