सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?

के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?

अध्याय २९

के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?

धेरैजसो मुलुकहरूमा केटा र केटी घुमफिर गर्न जानु सामान्य, रमाइलो अनि रोमान्टिक मनोरञ्जन भइसकेको छ। अनि भेटघाट गर्ने पनि विभिन्‍न तरिकाहरू छन्‌। कोही कोही पूरा औपचारिकता निभाएर, मतलब फूल उपहार दिएर, रेष्टुराँमा भव्य भोजन खान लगेर अनि बेलुकी घर फर्कनुअघि चुम्बन दिएर भेटघाट गर्ने गर्छन्‌। अरूचाहिं सँगै समय बिताउन त्यतिकै भेटघाट गर्छन्‌। अनि त्यस्ता केटाकेटीहरू पनि छन्‌, जो सँधै सँगै हिंड्‌छन्‌ तर भन्‍ने बेलामा चाहिं ‘हामी साथीहरू’ मात्र हौं भन्छन्‌। तर हामी भेटघाट गर्छौं भन्‍नुहोस्‌ वा सँगै हिंड्‌छौं भन्‍नुहोस्‌ वा खालि एक अर्काको हालखबर सोध्न भेट्‌छौं भन्‍नुहोस्‌, कुरा एउटै हो: कसैको निगरानीबिना केटा र केटी निकै समय सँगै बिताउने।

बाइबलकालीन युगमा स्त्री तथा पुरुषहरू भेटघाट गरेर घुमघाम गर्ने चलन थिएन। तथापि, केटा र केटी दुवैले बुद्धि पुऱ्‍याएर, होशियार भएर अनि आदरणीय व्यवहार गरेर भेटघाट गर्छन्‌ भने त्यो एकअर्कालाई चिन्‍ने राम्रो तरिका हो। अनि अवश्‍य, रमाइलो त हुनसक्छ नै। तर के त्यसको अर्थ तपाईं साँच्चै अर्को केटा वा केटीसित घुम्न जानैपर्छ भनेको हो त?

केटा वा केटीसित घुम्न जाने दबाब

शायद तपाईं पनि कुनै केटी वा केटालाई साथी बनाएर घुम्न जाने दबाब महसुस गर्नुहुन्छ होला। सम्भवतः तपाईंका थुप्रै साथीहरू त्यसै गर्दा हुन्‌ र त्यसले गर्दा आफू चाहिं जोकर देखिनु नपरोस्‌ भन्‍ने विचार तपाईंको मनमा आउँदो हो। शुभचिन्तक मित्र अनि नातेदारहरूले पनि विपरीत लिंगका व्यक्‍तिसित भेटघाट गरी घुम्न जाने दबाब दिनसक्छन्‌। पन्ध्र वर्षीय मेरी आनलाई तिनकी फुपूले यसो भन्दै केटोसँग घुम्न जाने प्रोत्साहन दिइन्‌: “त्यो केटोसँग घुम्न गयो भन्दैमा उसैसित बिहे गर्नुपर्छ भन्‍ने छैन। केटासित भेटघाट गर्नु, घुम्नु स्वाभाविक कुरा हो। . . . अनि तिमीले त्यसरी सबै केटाहरूलाई नाइँ नाइँ भन्‍न थाल्यौ भने, पछि कसैले तिम्रो वास्ता गर्नेछैन।” मेरी आन बितेका कुरा सम्झँदै भन्छिन्‌: “फुपूको कुराले मन छोयो। यस्तो राम्रो मौका गुमाउनु होला र? केटोको आफ्नै गाडी छ, थुप्रै पैसा छ र ऊसँग घुम्न गएँ भने रमाइलो हुन्छ भनेर पनि थाह छ। म ऊसँग घुम्न जाऊँ कि नजाऊँ?”

केही केटाकेटीहरू चाहिं स्नेह र मायाको चाहले गर्दा त्यसरी घुम्न जाने दबाब महसुस गर्छन्‌। आन नाउँकी १८ वर्षीया केटीले यसो भनिन्‌: “म माया र मूल्यांकनको भोको थिएँ। र आमाबुबासित त्यति घनिष्ठ नभएकोले त्यसको अभाव पूरा गर्न अनि मेरा भावनाहरू बुझिदिने व्यक्‍ति खोजेर मनको बह पोख्न मैले प्रेम गरें।”

यद्यपि, विपरीत लिंगका व्यक्‍तिसित संगत गर्ने दबाब महसुस गर्दैमा किशोरकिशोरीहरू तात्तिनु हुँदैन! एउटा कुरा त के हो भने, विपरीत लिंगसित संगत गरेर घुमफिर गर्नु भनेको गम्भीर कुरा हो। अझ भनौं भने विवाह गर्ने तयारी हो। विवाह? हो, सँगै घुमफिर गर्ने केटा र केटीको मनमा विवाहचाहिं शायद कोसौं परको कुरा होला। तर वास्तवमा विवाहबारे सोचविचार गर्नुबाहेक केटा र केटीसँगसँगै धेरै समय बिताउनुपर्ने अरू कारणै के छ र? विवाहबाहेक केटा र केटी अरू नै कारणले घुमफिर गर्छन्‌ भने त्यसको नतिजा “रमाइलो” त होइन अरू नै हुनेछ? किन?

केटा र केटी घुमफिर गर्दा आउनसक्ने खतराहरू

बिर्सन नहुने एउटा कुरा के हो भने, यस्तोबेला किशोरकिशोरीहरू सजिलै खतरामा पर्नसक्ने स्थितिमा हुन्छन्‌ जसलाई बाइबलले “बैंस” भन्छ। (१ कोरिन्थी ७:३६) बैंस लागेका केटाकेटीको यौनइच्छा अति नै तीव्र हुनसक्छ। तर डराउनु पर्दैन। यो स्वाभाविक कुरा हो।

तर यहाँनेर एउटा समस्या छ। त्यो के हो भने, यो अवस्थामा पुग्ने किशोरकिशोरीहरूले आफ्ना यौन भावनाहरूलाई राम्ररी बुझ्न वा नियन्त्रण गर्न पाएका हुँदैनन्‌। हो, परमेश्‍वरले यौनसम्बन्धबारे के-कस्ता नियमहरू दिनुभएको छ, तपाईंलाई थाह होला र त्यसअनुसार चल्ने निष्कपट इच्छा पनि तपाईंमा होला। (अध्याय २३ हेर्नुहोस्‌।) तर तपाईंले चाहे पनि नचाहे पनि विपरीत लिंगका व्यक्‍तिसित तपाईं जत्ति धेरै समय बिताउनुहुन्छ, उत्ति नै यौनइच्छा बढ्‌दै जान्छ। (पृष्ठ २३२-३ हेर्नुहोस्‌।) यो रोकेर रोक्न सकिने कुरा होइन, किनकि हामी बनेका छौं नै त्यसरी! तपाईं अलि पाको उमेरको नभएसम्म अनि आफ्ना भावनाहरूलाई अझ राम्ररी काबूमा पार्न नसकेसम्म त्यसरी केटा वा केटीसँग घुमफिर गर्नु, तपाईंको वशको कुरा नहुनसक्छ। दुःखको कुरा, प्रायजसो किशोरकिशोरीहरू हण्डर नखाएसम्म त्यो कुरा बुझ्दैनन्‌।

“हामी भर्खर भर्खर भेटेर सँगै समय बिताउन थाल्दा, . . . हात समात्ने वा चुम्बनसमेत गर्दैन थियौं। म केवल तिनीसँग कुरा गरेर समय बिताउन चाहन्थें। तर तिनी असाध्यै स्नेह देखाउन मन पराउँथिन्‌, मसँगै टाँसिएर बस्थिन्‌। समयमा हामीले हात समात्न र चुम्बन गर्न थाल्यौं। त्यसले मभित्र झन्‌ यौनइच्छा जगायो। फलतः मेरो सोचविचार कतिसम्म भ्रष्ट भयो भने त्यसपछि म कुरा गर्न होइन तर तिनलाई अँगालोमा लिन, चुम्बन गर्न मात्र तिनीसँग समय बिताउन चाहन्थें। तर जति गरे पनि मेरो चित्त बुझेन! म वासनाले पागल भइसकेको थिएँ। कहिलेकाहीं त असाध्यै ग्लानी महसुस हुन्थ्यो अनि शर्म लाग्थ्यो।” यो थियो एक युवकको अनुभव।

अतः, सँगसँगै धेरै समय बिताउने केटाकेटी प्रायः अन्तमा गएर अवैध यौनसम्बन्ध गाँस्ने हदसम्म पुग्छन्‌ भन्‍नुमा कुनै आश्‍चर्य छैन। झन्डै दुइ चार सय किशोरकिशोरीहरूको अन्तरवार्ता लिंदा ८७ प्रतिशत केटी अनि ९५ प्रतिशत केटाहरूले आपसमा सँगै समय बिताउँदा यौनसम्बन्ध राख्नु “आवश्‍यक वा अत्यन्त आवश्‍यक छ” भन्‍ने महसुस गरेको देखियो। यसबाहेक ६५ प्रतिशत केटी अनि ४३ प्रतिशत केटाहरूले आफ्नो प्रेमी वा प्रेमिकासित सँगै समय बिताउँदा कहिलेकाहीं मन नपर्दा नपर्दै पनि यौनसम्बन्ध राख्नुपरेको स्वीकारे!

बीस वर्षीया लोरेटा बितेका कुराहरू सम्झँदै यसो भन्छिन्‌: “जति धेरै भेट्यो, उत्ति नै यौन आकर्षण बढ्‌दै गयो। चुम्बन खल्लो लाग्न थाल्यो र हामीले एकअर्काका गुप्तांगहरूमा हात हाल्न थाल्यौं। हाम्रो यस्तो व्यवहारले गर्दा आफूलाई असाध्यै फोहरी महसुस गर्थें र मेरो मनस्थिति नै ठीक ठाउँमा भएन। समयमा मेरो केटा साथीले ‘अब अरू कुरा पनि किन बाँकी राख्ने’ भन्दा . . . असाध्यै दोधारमा परेकी थिएँ। त्यतिबेला म उसलाई गुमाउन चाहन्‍नँ भन्‍ने बाहेक मेरो दिमागले अरू केही सोच्न सकेन। त्यतिबेला के गर्ने के नगर्ने मैले सोच्नै सकिनँ!”

हो, सबै केटाकेटीले अन्ततः यौनसम्बन्ध राखिहाल्दैनन्‌; कोही कोही सीमा पार गर्नु अगावै आफूलाई सँभाल्छन्‌। तर त्यसरी आफ्ना भावनाहरूलाई उत्तेजित पारेर त्यसलाई शान्त पार्ने कुनै आदरणीय तरिका पाइएन भने नतिजा के हुन्छ? अवश्‍य, त्यस्तो बेला चित्त बुझ्दैन। र त्यो यौन अनुभूतिहरूमा मात्रै सीमित छैन।

चोट खाएका भावनाहरू

यो युवक कस्तो धर्मसंकटमा परेछ, सुन्‍नुहोस्‌: ‘सुरु-सुरुमा मलाई क्याथी असाध्यै मन पर्थ्यो। हुन त, उसलाई चित्त नबुझेका कुराहरू मैले फकाइफुस्लाई गर्न लगाइनँ भनेर म भन्दिनँ। अहिले त्यही कुराहरूले गर्दा म आफूलाई पतित सम्झन्छु। किनकि आजभोलि मलाई क्याथीप्रति त्यति चासो नै लाग्दैन। तर क्याथीको चित्त नदुख्नेगरि उसलाई कसरी छाड्‌ने?’ कस्तो दुविधापूर्ण परिस्थिति! अनि तपाईं क्याथीको ठाउँमा हुनुभएको भए कस्तो महसुस गर्नुहुने थियो?

किशोरकिशोरीहरूको मन भाँच्नु सामान्य कुरा हो। हो, एकअर्काको हात समातेर डुलिरहेको युवकयुवती देख्दा सबैलाई रमाइलो लाग्छ। तर त्यही युवकयुवती भोलि गएर सँगै रहनेछन्‌, विवाहबारी गरी सँगै जीवन बिताउनेछन्‌ भन्‍ने कत्तिको पक्कापक्की छ? असाध्यै कम। किशोरकिशोरीहरूको रोमान्स प्रायजसो सधैं टुक्रन्छ र तिनीहरूको जस्तो मुटु अरू कसैको भाँचिदैन र तिनीहरूको प्रायः नै विवाह हुन्छ।

हुन पनि आखिर कैशोरावस्थामा तपाईंको व्यक्‍तित्व पूर्णतया फस्टाइसकेको हुँदैन। तपाईंले अझैसम्म पनि आफूले जीवनबाट चाहेको र नचाहेको कुरा यही हो भनेर किट्‌न सक्नुभइसकेको हुन्‍न। आज जसलाई देखेर तपाईं हुरुक्क हुनुहुन्छ भोलि त्यही व्यक्‍ति देखेर वाक्क लाग्नसक्छ। तर त्यसरी रोमान्टिक भावनाहरूलाई प्रोत्साहन दिएपछि एक न एक जनाको मन पक्कै भाँचिन्छ नै। त्यसैले होला थुप्रै अनुसन्धानअनुसार प्रायः “प्रेमिकासँगको अनबन” वा “असफल प्रेमका” कारण थुप्रै किशोरकिशोरीहरू आत्महत्या गर्छन्‌।

के म तयार छु?

युवकयुवतीहरूलाई परमेश्‍वर यो सल्लाह दिनुहुन्छ: “ए जवान मानिस, [वा स्वास्नीमानिस] आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌। तेरो मन र आँखाले तँलाई बाटो देखाऊन्‌।” जवान मानिसहरू ‘मनले देखाएको बाटोमै’ चल्छन्‌। तर रमाइलोजस्तो देखिने त्यस्तो ‘बाटोहरूमा’ लाग्दा तिनीहरू प्रायः असन्तुष्ट अनि दुःखित हुन्छन्‌। त्यसैकारण बाइबलले यस्तो आग्रह गर्छ: “असन्तुष्टतालाई तेरो मनबाट पर हटा, र शरीरको दुःखलाई टकटक्याइदे। बाल्यावस्था र बैंस केवल व्यर्थ हुन्‌।” (उपदेशक ११:९, १०) यहाँ “असन्तुष्टता” भन्‍ने शब्दले साह्रै विचलित वा चिन्तित हुनुलाई संकेत गर्छ। अनि “शरीरको दुःख[ले]” चाहिं व्यक्‍तिविशेषले भोग्ने संकटलाई संकेत गर्छ। यी दुवैले जीवनलाई नमीठो बनाउनसक्छ।

के त्यसोभए केटा र केटी चिनापर्ची गरेर घुमफिर गर्नु असन्तुष्टता र दुःख निम्त्याउनु मात्र हो त? त्यसै हुनुपर्छ भन्‍ने छैन। तर तपाईंले गलत उद्देश्‍य राखेर (जस्तै ‘रमझमका लागि’) घुम्नुभयो वा तपाईं त्यसरी घुमफिर गर्न तयारै हुनुहुन्‍न भने, त्यसो हुनसक्छ! तसर्थ, आफैलाई निम्न प्रश्‍नहरू सोधेर सोचविचार गरेमा लाभदायी हुनसक्छ।

केटा वा केटीसँग संगत गरेर घनिष्ठ भएँ भने मेरो भावनात्मक विकास हुन्छ वा बाधा पुऱ्‍याउँछ? आफ्नो केटा वा केटीसँग मात्र समय बिताउने व्यक्‍तिको संगत केवल तिनीहरू दुइबीच सीमित हुनसक्छ। अतः अरूसँग पनि संगत गरे के तपाईंलाई फाइदा नहोला र? (२ कोरिन्थी ६:१२, १३ तुलना गर्नुहोस्‌।) सुजन भन्‍ने युवती यसो भन्छिन्‌: “मैले मण्डलीका पाको मसीही बहिनीहरूसित घनिष्ठ मित्रता विकास गर्न सिकें। उहाँहरूलाई मेरो संगति चाहिएको थियो भने, मलाई उहाँहरूको बलियो प्रभाव। अतः म बेला बेला उहाँहरूकहाँ कफी खान जान्थें। हामी कुरा गर्थ्यौं, हाँस्थ्यौं। मैले उहाँहरूसँग जीवनभर रहने साँचो मित्रता गाँसें।”

जवान-पाको, विवाहित-अविवाहित, पुरुष-स्त्री सबै प्रकारका व्यक्‍तिहरूलाई साथी बनाउनुभयो भने, विपरीत लिंगका व्यक्‍तिलगायत तपाईंले सबैसित राम्ररी व्यवहार गर्न जान्‍नुहुनेछ र एउटा केटा वा केटीसँग मात्र संगत गर्दा जस्तो दबाब महसुस गर्नुहुन्छ, त्यस्तो दबाब महसुस गर्नुहुनेछैन। यसबाहेक, विवाहित दम्पतीसित संगत गरेर तपाईंले वैवाहिक जीवनबारे अझ वास्तविक दृष्टिकोण हासिल गर्न सक्नुहुन्छ। त्यसो गर्दा पछि असल पति वा पत्नी छान्‍नसक्ने हुनुका साथै स्वयं आफै पनि आफ्नो वैवाहिक जिम्मेवारी पूरा गर्नसक्ने हुनुहुनेछ। (हितोपदेश ३१:१०) गैल भन्‍ने युवती यसो भन्छिन्‌: “म वैवाहिक जिम्मेवारी उठाउनसक्ने भइसकेको छैन। पहिला सुरु त मैले आफैलाई चिन्‍नुपरेको छ र थुप्रै आध्यात्मिक लक्ष्यहरू पनि हासिल गर्नुपरेको छ। त्यसकारण कुनै एक जना केटासँग मात्र असाध्यै घनिष्ठ हुनुपर्ने त्यस्तो आवश्‍यकता म महसुस गर्दिनँ।”

के म अरूको चित्त दुखाउन चाहन्छु? विवाह गर्ने लक्ष्य नराखी रोमान्टिक भावनाहरू साटासाट गर्दा अर्को व्यक्‍तिको मात्र होइन तपाईंको पनि चित्त दुख्नसक्छ। साँच्चै भन्‍ने हो भने, विपरीत लिंगका व्यक्‍तिसित संगत गर्दा कस्तो हुन्छ भन्‍ने अनुभव बटुल्न के अरूको भावनासित खेल्नु राम्रो कुरा हो र?—मत्ती ७:१२ हेर्नुहोस्‌।

मेरा आमाबाबु के भन्‍नुहुन्छ? तपाईंलाई होशै नभएका कुराहरू प्रायः आमाबाबुले देखिरहनुभएको हुन्छ। हुन पनि आखिर कुनै समय उहाँहरू पनि जवान हुनुहुन्थ्यो। केटा र केटीले सँगै धेरै समय बिताउन थालेपछि कस्ता समस्याहरू हुनसक्छन्‌ भनेर उहाँहरूले देखिसक्नुभइसकेको छ! त्यसकारण, आमाबाबुले विपरीत लिंगका व्यक्‍तिसित एक्लै घुमफिर गर्न मनाही गर्दा विरोध नगर्नुहोस्‌। (एफिसी ६:१-३) शायद, उहाँहरूले तपाईं अलिक पर्खोस्‌ भनेर विचार गरिरहनुभएको पनि हुनसक्छ।

के म बाइबलका नैतिक नियमअनुसार चल्न सकुँला त? “बैंस” काटेपछि यौन भावनाहरूलाई सँभाल्न सकिन्छ—तर त्यस अवस्थामा समेत सजिलो भने अवश्‍य हुँदैन। विपरीत लिंगका व्यक्‍तिसित घनिष्ठ संगत गरेर के तपाईंलाई यो उमेरमा अनैतिकतादेखि बच्नसक्छु जस्तो लाग्छ?

चाखलाग्दो कुरा, थुप्रै किशोरकिशोरीहरू आफूसित त्यही प्रश्‍न गर्छन्‌ र (माथि उल्लिखित) मेरी आनजस्तै एउटै निष्कर्षमा पुग्छन्‌। तिनले भनिन्‌: “कुनै केटासित घनिष्ठ सम्बन्ध गाँस्नेबारे अरूले जस्तोसुकै धारणा राखे पनि, मैले त्यसको वास्तै नगर्ने पक्का निर्णय गरेकी छु। जबसम्म म वैवाहिक जीवनका लागि तयार हुन्‍न अनि मैले चाहेजस्तो केटो भेटाउँदिन, तबसम्म म कुनै केटासँग घनिष्ठ सम्बन्ध राख्दिनँ।”

तपाईंले पनि मेरी आनकै जस्तो विचार राख्नु अत्यावश्‍यक छ।

छलफलका लागि प्रश्‍नहरू

◻ “केटा वा केटीसँग घुमफिर गर्ने” भन्‍ने पदावली सुन्दा तपाईंको मनमा के कुरा आउँछ?

◻ किन केही किशोरकिशोरीहरू विपरीत लिंगका व्यक्‍तिसित घुमफिर गर्ने दबाब महसुस गर्छन्‌?

◻ “बैंस” ननाघेका किशोरकिशोरीहरूले विपरीत लिंगका व्यक्‍तिसित घुमफिर गर्नु किन बुद्धिमानी कुरा होइन?

◻ विपरीत लिंगका व्यक्‍तिसित घुमफिर गर्ने कुरामा कसरी किशोरकिशोरीहरू “शरीरको दुःख[बाट]” बच्नसक्छन्‌?

◻ केटा र केटीले ‘साथी मात्र हौं भन्दा’ उत्पन्‍न हुनसक्ने केही समस्या के के हुन्‌?

◻ आफू विपरीत लिंगका व्यक्‍तिसित घुमफिर गर्न योग्यको भइसकेको छ वा छैन कसरी थाह पाउने?

[पृष्ठ २३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

“चुम्बन खल्लो लाग्न थाल्यो र हामीले एकअर्काका गुप्तांगहरूमा हात हाल्न थाल्यौं। हाम्रो यस्तो व्यवहारले गर्दा आफूलाई असाध्यै फोहरी महसुस गर्थें र मेरो मनस्थिति नै ठीक ठाउँमा भएन। समयमा मेरो केटा साथीले ‘अब अरू कुरा पनि किन बाँकी राख्ने’ [भन्यो]”

[पृष्ठ २३४-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘तर क्याथीको चित्त नदुख्नेगरि उसलाई कसरी छाड्‌ने?’

[पृष्ठ २३२ र २३३-मा भएको पेटी/चित्र]

केटा र केटी के ‘साथी मात्र हुनसक्छन्‌’?

तथाकथित आत्मिक प्रेम (पुरुष तथा स्त्रीबीचको स्नेहपूर्ण सम्बन्ध, जहाँ कुनै किसिमको यौन आकर्षण हुँदैन) किशोरकिशोरीहरूबीच निकै लोकप्रिय छ। सत्र वर्षीय ग्रेगोरी यस्तो दाबी गर्छन्‌: “केटीहरू सहानुभूतिशील अनि संवेदनशील हुने हुनाले मलाई तिनीहरूसित कुरा गर्न सजिलो लाग्छ।” अरू किशोरकिशोरीहरू चाहिं विपरीत लिंगका व्यक्‍तिहरूसित संगत गर्नाले चौतर्फी व्यक्‍तित्व विकास हुन्छ भन्छन्‌।

युवतीहरूलाई “सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर” व्यवहार गर्नू भनेर बाइबलले युवकहरूलाई आग्रह गरेको छ। (१ तिमोथी ५:२) यो सिद्धान्त व्यवहारमा उतार्ने केटा वा केटीले विपरीत लिंगका व्यक्‍तिहरूसित अवश्‍य सफा, स्वास्थ्यकर सम्बन्ध गाँस्नसक्छन्‌। उदाहरणका लागि, प्रेरित पावल अविवाहित भएर पनि थुप्रै मसीही स्त्रीहरूसँग संगत गर्थे। (रोमी १६:१, ३, ६, १२ हेर्नुहोस्‌।) तिनले दुइ स्त्रीहरूको उल्लेख समेत गरेका छन्‌ र तिनीहरूबारे तिनी आफैले यो लेखे: “यिनीहरूले मसँग सुसमाचारमा परिश्रम गरे।” (फिलिप्पी ४:३) येशू ख्रीष्टले पनि स्त्रीहरूसँग सन्तुलित, स्वास्थ्यकर संगत गर्नुभएको थियो। मार्था र मरियमकहाँ जानुभएर उहाँले निकै पटक तिनीहरूको आतिथ्य सत्कार स्वीकार्नुभयो अनि कुराकानी गर्नुभयो।—लूका १०:३८, ३९: यूहन्‍ना ११:५.

तथापि, केटा र केटीको “आत्मिक” प्रेम वास्तवमा मित्रता नाउँमा रोमान्स गर्ने बहाना अथवा कुनै किसिमको वचनबद्धताबिना विपरीत लिंगका व्यक्‍तिसित संगत गर्ने तरिका मात्र हो। अनि भावनाहरू कुनै पनि बेला परिवर्तन हुनसक्छन्‌। तसर्थ, यहाँ सतर्कता अपनाउनुपर्ने जरुरी देखिन्छ। यस सम्बन्धमा डा. मारियन हिलियार्डले यस्तो चेताउनी दिए: “दश मिल प्रतिघण्टामा कुदिरहेको सामान्य मित्रता कुनै पनि बेला एक्कासि सय मिल प्रतिघण्टा कुद्‌ने वासनामा परिवर्तन हुनसक्छ।”

चौध वर्षीया केटीसँग “साथी मात्र हुने” भन्दा १६ वर्षीय माइकले त्यस्तै अनुभव गरे: “केटा र केटी एक्लै दुक्लै भेटिरहन थाल्यो भने तिनीहरू साथी मात्र हुन सक्दैनन्‌ रहेछ भनेर मैले तुरुन्तै थाह पाइहालें। हामी झन्‌ झन्‌ घनिष्ठ हुँदै गयौं। अनि हाम्रा मनमा एकअर्काप्रति विशेष भावनाहरू पलाउन केही बेर लागेन। र अझ पनि ती भावनाहरू छन्‌।” अनि दुवै जना विवाह गर्ने उमेरको नहुँदा त्यस्ता भावनाहरू निराशाका कारणहरू हुन्छन्‌।

ज्यादै घनिष्ठ हुँदा अझ अरू दुःखलाग्दा परिणामहरू हुन्छन्‌। आफ्नो युवती मित्रले मनको बह पोख्न खोज्दा एक युवकले सान्त्वना दिन खोजे। तर कुरा गर्दागर्दै तिनीहरू एकअर्कालाई सुमसुमाउन पो थाले। नतिजा? अन्तस्करणको चोट अनि दुइबीच कटु भावना। कति जना त यौनसम्बन्ध गाँस्ने हदसम्म पनि पुगेका छन्‌। साइकोलोजी टुडे पत्रिकाले सर्वेक्षण लिंदा “झन्डै आधाजति (४९ प्रतिशत) को मित्रता अवैध यौनसम्बन्धमा परिणत भएको” पाइयो। अझ “एक तिहाइले (३१ प्रतिशत) गत महिना मात्र आफ्नो मित्रसित यौनसम्बन्ध राखेको कुरा स्वीकारे।”

‘तर म मेरो वा मेरी साथीप्रति कहिल्यै रोमान्टिक ढंगमा आकर्षित भएको छैन र हुने पनि छैन।’ शायद तपाईं त्यसै भन्‍नुहोला। तर पछि के होला, अहिल्यै भन्‍न सकिन्छ र? यसबाहेक “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” (हितोपदेश २८:२६) हाम्रो हृदय छली हुनसक्छ, हामीलाई धोका दिनसक्छ। अनि तपाईंले जे महसुस गर्नुहुन्छ त्यो ठीकै होला, तर तपाईंको साथीले के पो महसुस गरिरहेका छन्‌ के तपाईंलाई थाह छ?

एलन लोइ माकगिनीस आफ्नो किताब मित्रता गाँस्दा ध्यान दिनुपर्ने कुराहरू-मा (अंग्रेजी) यस्तो सल्लाह दिन्छन्‌: “आफूमाथि बढ्‌तै भरोसा नगर्नुहोस्‌।” त्यसकारण होशियार हुनुहोस्‌। एक्लै दुक्लै भेट्‌नुको साटो तपाईंले अरूलाई पनि भेला गराए पनि भो। अनावश्‍यक स्नेह नदेखाउनुहोस्‌ अनि रोमान्टिक मुड आउनसक्ने परिस्थितिमा दुइ जना मात्रै पनि कहिल्यै नहुनुहोस्‌। समस्या आइपर्दा विपरीत लिंगका मित्रकहाँ होइन तर आमाबाबु वा पाको व्यक्‍तिहरूकहाँ जानुहोस्‌।

अनि होशियार रहँदारहँदै पनि तपाईंहरू दुइमध्ये एकको रोमान्टिक भावनाहरू विकास भए भने के गर्ने? ‘सत्य बोलेर’ आफ्ना मित्रलाई कुरा प्रष्ट पार्नुहोस्‌। (एफिसी ४:२५) त्यसो गर्दा पनि समस्या समाधान भएन भने चाहिं आपसमा दूरी राख्नुहोस्‌। “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” (हितोपदेश २२:३) अथवा मित्रता गाँस्दा ध्यान दिनुपर्ने कुराहरू भन्‍ने (अंग्रेजी) किताबले भनेअनुसार “आवश्‍यक परेमा सम्बन्ध तोड्‌नुहोस्‌। कहिलेकाहीं हामीले लाख कोसिस गरेपनि विपरीत लिंगसँगको मित्रता हाम्रो हातबाहिर जानसक्छ र त्यसले तपाईंलाई कतातिर लैजाँदैछ, त्यो पनि तपाईंलाई थाह हुन्छ।” त्यस्तो बेला ढिलासुस्ती नगरी “सम्बन्ध तोड्‌नुहोस्‌।”

[पृष्ठ २२७-मा भएका चित्रहरू]

किशोरकिशोरीहरू प्रायः विपरीत लिंगका व्यक्‍तिसित संगत गर्ने वा जोडी बनाउने दबाब महसुस गर्छन्‌

[पृष्ठ २२८-मा भएको चित्र]

सँगै समय बिताउने किशोरकिशोरी प्रायः अनावश्‍यक स्नेह देखाउने दबाबमा पर्छन्‌

[पृष्ठ २२९-मा भएको चित्र]

विपरीत लिंगका व्यक्‍तिहरूसित संगत गर्न कुनै केटा वा केटीसित अलग्गै घुमफिर गर्नुपर्छ भन्‍ने छैन

[पृष्ठ २३०-मा भएको चित्र]

तथाकथित आत्मिक प्रेम सम्बन्धहरू प्रायः टुक्रिने अनि मन भाँचिने गर्छ