सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउन मैले के गर्नुपर्ला?

विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउन मैले के गर्नुपर्ला?

अध्याय ३२

विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउन मैले के गर्नुपर्ला?

“विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार नपुऱ्‍याएको हुनाले प्रायजसो विवाह असफल हुने गर्छन्‌। यो कुरा जति दोहोऱ्‍याए पनि अझ यथेष्ट नहोला।” यसप्रकार पारिवारिक जीवनका अनुसन्धानकर्ता, पल एच. ल्याण्डिसले आफ्नो विचार पोखे। लुइसको अनुभवले यस तथ्यलाई अझ पुष्टि दिनसक्छ। तिनी यसो भन्छिन्‌: “म एण्डीसित बढ्‌तै झ्याम्मिएकी थिएँ। त्यसैकारण उसको व्यक्‍तित्व कस्तो छ भनेर विचारै गर्न पाइँन। हामी सधैं एक्लै दुक्लै भेट्‌थ्यौं। म नहुँदा उसले कस्तो व्यवहार गर्छ, मैले कहिल्यै देखेकी थिइँन।” आखिरमा तिनीहरूको पारपाचुके भयो। यस्तो दुःखदायी नतिजादेखि बच्ने तरिका? विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउने।

आफूलाई मन परेको केटा वा केटीसित संगत गर्नुअघि

“निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ।” (हितोपदेश १४:१५) चाहे जति नै रहरलाग्दो किन नहोस्‌, राम्ररी चिन्दै नचिनेको मानिसप्रति रोमान्टिक भावनाहरू जगाउनु समस्या निम्त्याउनु हो। त्यसो गर्दा भावना अनि लक्ष्यहरूमा आकाश जमीनको फरक हुने व्यक्‍तिसित तपाईं वैवाहिक सम्बन्ध गाँस्न पुग्नुहुन्छ! तसर्थ, आफूलाई कुनै व्यक्‍ति मन परेको छ भने समूहमा उसको बानीबेहोरा हेर्नु राम्रो हो। सँगै मिलेर कुनै रमाइलो गर्दा तपाईंले त्यसो गरे पनि भो।

“सुरुमै झ्याम्मिएँ भने मेरा भावनाहरूले मेरो सोचविचारलाई असर गर्नसक्छ भनेर मलाई थाह थियो,” बितेको दश वर्षदेखि सुखी वैवाहिक जीवन बिताउने डेभ आफ्नो अनुभव बताउँछन्‌। “त्यसकारण मलाई उनी मनपर्थ्यो भन्‍ने सुइँको समेत नदिई टाढैबाट रोजको बानीबेहोरा नियालें। अरूसित कस्तो व्यवहार गर्छिन्‌, नखरा गर्छिन्‌ कि गर्दिनन्‌, म टाढैबाट हेर्थें। अनि सामान्य कुराकानी हुँदा उनको परिस्थिति अनि लक्ष्यहरू कस्ता रहेछन्‌ भनेर बुझ्न खोज्थें।” यसबाहेक, आफूलाई मन परेको केटा वा केटीसित कुनै व्यक्‍तिको राम्रो चिनापर्ची छ भने, तिनको कस्तो नाउँ चलेको छ भनेर त्यस व्यक्‍तिलाई सोध्नु पनि लाभदायी नै साबित हुन्छ।—हितोपदेश ३१:३१ तुलना गर्नुहोस्‌।

आफूलाई मन परेको व्यक्‍तिसित पहिलो चोटि घुम्न जाँदा

यसरी आफूलाई सुहाउने व्यक्‍ति छानेर बानीबेहोरा सबै कुरा विचार गरेपछि तपाईं उक्‍त व्यक्‍तिसमक्ष आपसमा घनिष्ठता बढाउने इच्छा जाहेर गर्न सक्नुहुन्छ। a सकारात्मक प्रत्युत्तर पाउनुभयो भने, भेटघाट गर्नुहोस्‌ तर पहिलो भेटघाट अति नै भव्य हुनुपर्छ भन्‍ने छैन। शायद सँगै बसेर खाएपछि वा समूहमा भेटेर कुराकानी गरेपछि अझ सम्बन्ध बढाउने नबढाउने तपाईंले निर्णय गर्न सक्नुहुन्छ। यसरी भेट्‌दा ज्यादा औपचारिकता नदेखाउनु बेस हुनेछ। त्यसो गर्दा तपाईंहरू दुवैलाई अप्ठ्यारो महसुस हुनेछैन। अनि सुरुमै कुनै किसिमको वचन लिने दिने नगर्नु पनि राम्रो हो। त्यसो गरेमा, पछि कथंकदाचित तपाईंहरूमध्ये एक जनालाई मन परेन भने पनि धोका वा शर्मको भावनाले बढ्‌ता पिरोल्नेछैन।

जुनसुकै ढंगमा भेट्‌ने योजना बनाए पनि, चट्ट मिलेको सफा लुगा लगाएर भनेको ठाउँमा समयमै पुग्नुहोस्‌। बोल्दा ध्यान पुऱ्‍याएर कुशलतापूर्वक बोल्नुहोस्‌। अर्को व्यक्‍तिको कुरा पनि ध्यान दिएर सुन्‍नुहोस्‌। (याकूब १:१९) नियमै खोज्ने हो भने, त्यस्तो बेला कडिकडाइका साथ पालन गर्नुपर्ने कुनै नियम त छैन। तथापि, युवकहरूले स्थानीय चलनअनुसार शिष्टता देखाउनु राम्रो हो। युवती पस्नुअघि ढोका खोलिदिने वा बस्नको निम्ति कुर्सी ल्याइदिने जस्ता काम तपाईंले गर्न सक्नुहुन्छ। अनि युवतीले राजकुमारीलाई गर्नेजस्तो व्यवहारको आशा नगरी बरु सकेसम्म केटालाई सजिलो महसुस गराउने कोसिस गर्नुपर्छ। यसरी सुरुदेखि एकअर्कालाई आदरपूर्ण व्यवहार गरेर सो युगल जोडीले भविष्यका लागि नमुना बसाल्नसक्छ। किनभने बाइबलमा ‘पत्नीलाई निर्बल पात्रलाईझैं आदर’ गर्न पतिलाई अह्राइएको छ भने पत्नीलाई चाहिं ‘आफ्नो पतिको डर मान्‍न’ अह्राइएको छ।—१ पत्रुस ३:७; एफिसी ५:३३.

हात समात्नु, चुम्बन गर्नु वा अंकमाल गर्नु के ठीक छ? छ भने कहिले? कुनै खराब मनोवृत्ति लुकेको छैन अनि हृदयदेखिको साँचो अभिव्यक्‍ति हो भने, स्नेह देखाउनु पवित्र अनि उपयुक्‍त हुनसक्छ। बाइबल पुस्तक श्रेष्ठगीतमा शूलम्मेनी र तिनीसित चाँडै वैवाहिक बन्धनमा बाँधिन लागेको तिनकी प्रेमीबीच स्नेहका अभिव्यक्‍तिहरू सुहाउँदो ढंगमा आदानप्रदान भएको विवरण पाइन्छ। (श्रेष्ठगीत १:२; २:६; ८:५) तर यसरी माया पिरती लगाउने युवकयुवती शूलम्मेनी र तिनकी प्रेमीजस्तै होशियार हुनुपर्छ। कि कतै, स्नेहका अभिव्यक्‍ति अपवित्र वा यौन अनैतिकतातर्फ डोऱ्‍याउने बाटो नहोऊन्‌। b (गलाती ५:१९, २१) व्यवहारिक कुरा गर्ने हो भने, युवकयुवती दुवैले वाचा बन्धन गरी विवाह पक्का हुने स्थितिसम्म नपुगेसम्म त्यस्ता अभिव्यक्‍तिहरू नदेखाउनु नै उचित हुन्छ। यसरी आत्मसंयम देखाउनुभयो भने, तपाईंले विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि राम्ररी विचार पुऱ्‍याउनु पर्ने कुराहरूलाई भुलेर अर्कैतर्फ लागिरहेको हुनेछैन। अर्थात्‌ . . .

‘हृदयको गुप्त मानिस’ चिन्‍ने

एउटा अनुसन्धान टोलीले विवाह अनि परिवारसम्बन्धी पत्रिका-को (अंग्रेजी) मे १९८० अंकमा यस्तो प्रतिवेदन पेश गरेको थियो: “केटा र केटी दुवैले एकअर्कालाई राम्ररी चिनेर विवाह गरेमा वैवाहिक जीवन सफल अनि राम्रो हुँदै जाने सम्भावना हुन्छ।” हो, तपाईंको प्रेमी वा प्रेमिकाको ‘हृदयको गुप्त मानिस’ चिन्‍नु आवश्‍यक छ।—१ पत्रुस ३:४.

यद्यपि, अर्को व्यक्‍तिको हृदयमा भएको कुरा ‘तानेर निकाल्न’ निकै मेहनत अनि विचार पुऱ्‍याउनुपर्ने हुन्छ। (हितोपदेश २०:५) अतः आफ्नो प्रेमी वा प्रेमिकाको भित्री व्यक्‍तित्व प्रकट हुने खालका गतिविधिहरूको योजना बनाउनुहोस्‌। सुरु-सुरुमा चलचित्र वा सांगीतिक कार्यक्रम हेर्नु जानु ठीकै हो। यद्यपि, दुइबीच कुराकानी हुन सक्ने गतिविधिहरू (जस्तै, रेष्टुराँमा जाने, बजार, चिडियाघर, संग्रहालय अनि आर्ट ग्यालरीहरूमा घुम्न जाने) छानेमा एकअर्कासित अझ राम्ररी परिचित हुन सक्नुहुन्छ।

‘फुर्सदको बेला तिमी के गर्छौ?’ ‘प्रशस्त पैसा छ भने, तिमी के गर्छौ?’ ‘परमेश्‍वरको उपासना गर्ने तरिकाहरूमध्ये तिमीलाई कुन चाहिं सबैभन्दा मन पर्छ? अनि किन?’ जस्ता प्रश्‍नहरू सोधेर आफ्नो प्रेमी वा प्रेमिकाको विचारहरू खोतल्ने कोसिस गर्नुहोस्‌। किनकि यस्ता प्रश्‍नहरूले तपाईंको साथीले कस्ता कुराहरूलाई प्राथमिकता दिंदा रहेछन्‌, त्यो बुझ्न मदत गर्छ।

तपाईं दुइबीचको सम्बन्ध प्रगाढ हुँदै गएपछि अनि विवाह गर्ने पक्का भएपछि महत्त्वपूर्ण विषयमा गम्भीरतापूर्वक छलफल गर्नु जरुरी छ। जस्तै, तपाईंका के कस्ता मूल्य र मान्यताहरू छन्‌; कहाँ कसरी बस्ने; खर्च कसरी टार्ने; लोग्नेस्वास्नी दुवैले जागिर खाने कि नखाने; छोराछोरी पाउने कि नपाउने; गर्भनिरोध प्रयोग गर्ने कि नगर्ने; लोग्नेस्वास्नीको रूपमा के-कस्ता भूमिकाहरू निर्वाह गर्ने; अनि वर्तमान र भावी योजनाहरू के छन्‌ र ती कसरी हासिल गर्ने। स्कूलको पढाइ सकेपछि थुप्रै जवान साक्षीहरू पूर्ण-समय प्रचारक बन्छन्‌ र विवाहपछि पनि प्रचारककै हैसियतमा सेवा गर्न चाहन्छन्‌। तपाईंको पनि त्यस्तै विचार छ भने, तपाईंहरू दुवैको आध्यात्मिक लक्ष्यहरू आपसमा मेल खान्छन्‌ कि खाँदैनन्‌, विचार गर्ने समय अहिल्यै हो। तपाईंहरूको वैवाहिक जीवनलाई असर गर्नसक्ने कुनै कुरा बितेका समयमा भएको थियो भने, त्यो खुलस्त पार्ने समय पनि अहिल्यै हो। कुनै ठूलो ऋण चुक्‍ता गर्नु छ वा जिम्मेवारी छ, कुनै गम्भीर रोग लागेको छ भने त्यस विषयमा खुलस्त भएर छलफल गर्नुहोस्‌ र त्यस्ता कुराहरूले पार्नसक्ने प्रभावहरू पनि अहिल्यै प्रष्टाउनुहोस्‌।

यसप्रकारको छलफल गर्दा एलिहूको अनुकरण गर्नुहोस्‌। किनकि तिनले यसो भने: “म बुद्धिसित बोल्दैछु र मेरो मुखले इमानदारीसित बोल्दैछु।” (अय्यूब ३३:३) विवाहको प्रस्ताव स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याएको हुँदा कसरी पारिवारिक जीवन सुखी भयो भन्‍ने विषयमा एस्तरले यस्तो विचार पोखिन्‌: “आफूलाई चित्त नबुझेका कुराहरूमा म कहिल्यै जेएसित सहमत भइनँ। अझै पनि म त्यसो गर्दिनँ। बरु आफूलाई चित्त नबुझेको कुरा खुलस्त बताउँछु।”

आफ्नो प्रेमी वा प्रेमिका अप्ठ्यारोमा पर्ला भन्‍ने डरले संवदेनशील कुराहरूलाई पर पन्छाउने वा ढाक्ने कोसिस नगर्नुहोस्‌। विवाहको प्रस्ताव राख्नुअघि जोनसित घनिष्ठता बढाउँदा बेथले त्यस्तै भूल गरिन्‌। बेथले भविष्यका लागि पैसा जम्मा गर्ने अनि अनावश्‍यक खर्च नगर्ने विचार पोखेकी थिइन्‌। जोनले सहमति जनाए। पैसाको मामलामा दुवैको विचार प्रष्ट भयो भन्‍ने विचार गरेर बेथले अरू कुरा केलाउनु जरुरी ठानिनन्‌। तर पछि पोल खुल्दा पो थाह पाइयो कि जोनको विचारमा पैसा जम्मा गर्नुको अर्कै उद्देश्‍य रहेछ। त्यो हो, नयाँ स्पोर्ट्‌स कार किन्‍ने! पैसा खर्च गर्ने सम्बन्धमा दुवैको विचार कत्ति भिन्‍न रहेछ, विवाहपछि पो छ्‌याँग भयो।

त्यस्ता गलत धारणाहरू सृजना हुनदेखि बच्न सकिन्छ। हामीले माथि उल्लेख गरेको लुइस, विवाहको प्रस्ताव स्वीकार्नुअघि आफूले विचार नपुऱ्‍याएका कुराहरू यसरी सम्झिन्छिन्‌: “ ‘तिमीलाई बच्चा मन नपर्दा नपर्दै पनि म गर्भवती भएँ भने, तिमी के गर्छौ?’ वा ‘हामी ऋणमा डुब्यौं तर म बच्चा हेर्न घरमै बस्न चाहें भने तिमी के गर्छौ?’ जस्ता थुप्रै कुराहरू मैले सोध्नुपर्ने रहेछ। त्यसो गरेको भए मैले उहाँका विचारहरू बुझ्ने थिएँ।” हो, यसरी छलफल गर्नुभयो भने, तपाईंले भित्र लुकेर बसेका त्यस्ता गुनहरू पनि देख्नुहुन्छ, जुन गुन विवाह भएपछि देखा पर्दा त्यति मज्जा हुँदैन।

वरपर अरू मानिसहरू हुँदा उसले कस्तो व्यवहार गर्छ, हेर्नुहोस्‌!

एस्तर यसो भन्छिन्‌: “दुइ जना मात्र हुँदा सबैले राम्रै व्यवहार गर्छन्‌। तर वरपर अरू हुँदा कुनै बेला पनि परिस्थिति बद्‌लिनसक्छ। जस्तै, तपाईंको साथीले तपाईंको प्रेमी वा प्रेमिकालाई प्वाक्क केही भन्देला र उसलाई मन नपर्ला। हो, त्यतिबेला उसले कस्तो प्रतिक्रिया देखाउँछ, त्यो हेर्नुहोस्‌। उसले गाली वा उल्टो खिसी पो गर्छ कि?” अन्तमा तिनी यसो भन्छिन्‌: “विवाह गर्ने निधो गर्नुअघि साथीहरू अनि हाम्रा परिवारका सदस्यहरूसँग राम्ररी घुलमिल गरेकोले हामीले निकै मदत पायौं।”

सँगै मनोरञ्जन गर्नुबाहेक काम पनि गर्नुहोस्‌। परमेश्‍वरको वचन अध्ययन गर्ने, सेवकाईमा जाने जस्ता गतिविधिहरूमा भाग लिएर मसीही कामहरू गर्नुहोस्‌। साथै विवाहपछि दिनानुदिन गर्नुपर्ने कामहरू जस्तै—चामल, तरकारी किनमेल गर्ने, भात पकाउने, लुगा धुने अनि घर सफा गर्ने जस्ता कामहरू पनि गर्नुहोस्‌। यसरी दिन दिनको जीवनमा सामना गर्नुपर्ने काम वा परिस्थितिमा सँगै हुँदा तपाईंका प्रेमी वा प्रेमिकाले तपाईंले आशा गरे जस्तो गर्न नसक्ला तर तपाईंले उसको असली व्यक्‍तित्व देख्नुहुनेछ।

श्रेष्ठगीतको गोठालोले आफ्नो प्रेमिका निराश हुँदा कस्तो व्यवहार गर्छिन्‌ वा टन्टलापुर घाममा पसिना चुहाई चुहाई काम गरेर थाक्दा तिनको प्रतिक्रिया कस्तो हुन्छ, त्यो सबै देखेका थिए। (श्रेष्ठगीत १:५, ६; २:१५) धनी राजा सुलेमानले फकाउन खोज्दा समेत तिनले कसरी वफादार भई इन्कार गरिन्‌, त्यो देखेपछि सो गोठालोले यसो भन्दै प्रशंसा गरे: “तिमी सुन्दरी छौ, हे मेरी प्रिये, केही दाग नभएकी सुन्दरी।” (श्रेष्ठगीत ४:७) शूलम्मेनी सिद्ध छिन्‌ भनेर तिनले पक्कै भन्‍न खोजेका होइनन्‌। तर तिनमा कुनै नैतिक खोट लगाउने ठाउँ छैन भन्‍न चाहिं अवश्‍य खोजेका हुन्‌। तिनको सुन्दरतामा तिनको नैतिकताले सुनमाथि सुगन्ध थपेको थियो। फलतः तिनको अरू कुनै कमजोरी भए पनि, ती त्यसका सामु नगन्य भए।—अय्यूब ३१:७ तुलना गर्नुहोस्‌।

आफ्नो प्रेमी वा प्रेमिकाको त्यस्तै नापजोख गर्न समय लाग्छ। अतः राम्ररी विचारै नपुऱ्‍याई हत्तनपत्त विवाह गरिनहाल्नुहोस्‌। (हितोपदेश २१:५) प्रायः पुरुष र स्त्री एकअर्कोको प्रेम जित्न जे गर्न पनि तयार हुन्छन्‌। हतार गर्नुभएन भने एकअर्काका नराम्रा बानी वा झुकाउहरू तपाईंले राम्ररी देख्नुहुनेछ। अतः विवाह गर्नुअघि समय लगाएर सबै कुरा राम्ररी विचार पुऱ्‍याउने दम्पतीलाई विवाहपश्‍चात्‌ काँटछाँट गर्न गाह्रो पर्दैन। आँखा चिम्लेर होइन तर निर्धक्क भइ तिनीहरू वैवाहिक बन्धनमा बाँधिनसक्छन्‌ र पछि कुनै खटपट भइहालेमा पनि त्यसलाई राम्ररी सुल्झाउनसक्छन्‌। यसरी विवाह गर्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याएको हुनाले तिनीहरूले आफ्नो वैवाहिक जीवनलाई सफल अनि सुखी बनाउनसक्छन्‌।

[फुटनोटहरू]

a केटा र केटी संगत गरेर घुमघाम गर्न मिल्ने अनि मसीहीहरूका लागि उपयुक्‍त ठानिने मुलुकहरूमा मात्र यो लागू हुन्छ। यस सम्बन्धमा प्रायः पुरुष नै अघि सर्नुपर्छ। यद्यपि, केटा लजालु स्वभावको छ वा हिचकिचाउँछ भने युवतीले आदरणीय ढंगमा आफ्ना भावनाहरू व्यक्‍त गर्नु हुन्‍न भन्‍ने कुनै धर्मशास्त्रीय सिद्धान्त छैन।—श्रेष्ठगीत ८:६ तुलना गर्नुहोस्‌।

b अध्याय २४, “विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?” हेर्नुहोस्‌।

छलफलका लागि प्रश्‍नहरू

◻ विवाहअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउनुको मुख्य उद्देश्‍य के हो र वैवाहिक जीवन सुखी बनाउन यो कत्तिको आवश्‍यक छ?

◻ एकअर्कोको ‘हृदयको गुप्त मानिस’ थाह लगाउन कुन कुराले मदत गर्नेछ?

◻ विवाहको प्रस्ताव राख्नुअघि कस्ता प्रकारका छलफलहरू गरेमा मदतकारी हुन्छ?

◻ विभिन्‍न परिस्थितिहरूमा सँगै समय बिताउनु किन लाभदायी हुन्छ?

◻ तपाईं दुइबीचको सम्बन्ध सफल हुन सक्दैन भनेर बताउने केही कुराहरू के हुन्‌?

◻ कुन अवस्थामा प्रेमी वा प्रेमिकासँगको सम्बन्ध छुटाउनु पर्ला?

[पृष्ठ २५५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“केटा र केटी दुवैले एकअर्कालाई राम्ररी चिनेर विवाह गरेमा वैवाहिक जीवन सफल अनि राम्रो हुँदै जाने सम्भावना हुन्छ।”—विवाह अनि परिवार सम्बन्धी पत्रिका

[पृष्ठ २५६ र २५७-मा भएको पेटी/चित्र]

छुट्टिने हो कि?

प्रेमसम्बन्ध नाजुक स्थितिमा पुगेपछि प्रेमीप्रेमिकालाई शंका लाग्नु कुनै नयाँ कुरा होइन। तर कमजोरी आफूमा होइन तर तपाईंले विवाह गर्न रोज्नुभएको व्यक्‍तिमा देख्नुभयो वा तपाईं दुइबीचको सम्बन्धमै ठूलो कमजोरी भेट्टाउनुभयो भने के गर्ने?

आपसमा प्रेम गर्ने मानिसहरू बेला बखतमा असहमत हुनु नौलो कुरा होइन। (उत्पत्ति ३०:२; प्रेरित १५:३९ तुलना गर्नुहोस्‌।) तर तपाईं सानोतिनो कुरामा पनि असहमत भइरहनुहुन्छ अनि छलफल गर्न खोज्यो कि चर्काचर्की परिहाल्छ वा घरि मिल्ने घरि छुट्टिने गर्नुहुन्छ भने होशियार! चार सय जना चिकित्सकहरूले लिएको गणनाअनुसार सधैं किचकिच भइरहनु “विवाहका लागि दुवै जना भावनात्मक रूपमा तयार छैनन्‌” भन्‍ने बलियो संकेत हो। कुनै कुनै स्थितिमा त्यसले “दुइबीच कहिल्यै मेल हुन नसक्ने मतभेद” छ भनेर पनि संकेत गर्नसक्छ।

तपाईंको सम्भाव्य पति वा पत्नीको कुनै त्यस्तै कमजोरीले तपाईंलाई दिक्क पारिरहेको छ भने त्यो पनि चिन्ताको अर्को कारण हुनसक्छ। झनक्क रीसाउँछ वा स्वार्थपन झल्काउने व्यवहार गर्छ, अपरिपक्व अनि ढिट स्वभावको छ र उसको मन कहिल्यै ठेगानमा हुँदैन भने त्यस्तो व्यक्‍तिसित बाँकी जीवन बिताउनु तपाईंलाई व्यर्थ लाग्नसक्छ। यद्यपि, प्रायजसो प्रेमीप्रेमिकाहरू यस्ता कमजोरीहरूको वास्ता गर्दैनन्‌ वा त्यसलाई टार्न खोज्छन्‌ र हर हालतमा आफ्नो सम्बन्धलाई सफल पार्ने प्रयास गर्छन्‌? किन?

वैवाहिक प्रस्ताव राख्ने विचार गरेर घनिष्ठता बढाइसकेपछि साँचो मसीहीहरू त्यसलाई गम्भीरतापूर्वक लिन्छन्‌। र त्यस्तै गर्नुपर्ने पनि हो। यो कारणले गर्दा पनि केही व्यक्‍तिहरू आफूले संगत गरिराखेको केटा वा केटीसँग विवाह गर्नैपर्ने दबाब महसुस गर्छन्‌। शायद तिनीहरू एकअर्कोको सम्मुख पर्न वा चित्त दुखाउन पनि डराइरहेका हुनसक्छन्‌। अरू चाहिं जिन्दगीभर विवाह नगरी बस्नुपर्ला भनेर डराउँछन्‌। यद्यपि, भित्रभित्रै सडिसकेको सम्बन्धलाई अझ लम्बाइरहनु बुद्धिमानी होइन।

विवाह गर्नु राम्रो होला वा नहोला भन्‍ने जाँच्न नै केटा र केटी आपसमा घनिष्ठता बढाउँछन्‌। अतः राम्रै होला भन्‍ने भरोसा राखेर घनिष्ठता बढाउने मसीहीले कुनै त्रुटि भेटेमा सम्बन्ध कायम राख्नु पर्ने कुनै जबरदस्ती छैन। अर्को कुरा, ‘अरू कोही नपाउला कि’ भन्‍ने कुरादेखि डराएर त्यस्तो कमजोर सम्बन्धलाई लम्बाइराख्नु के गलत वा स्वार्थको कुरा हुनेछैन र? (फिलिप्पी २:४ तुलना गर्नुहोस्‌।) तसर्थ, केटा र केटी दुवैले विवाह गर्ने उद्देश्‍य राखी घनिष्ठता बढाउँदा कुनै किसिमका समस्या देखा परेमा त्यसलाई पटक्कै पन्छाउनु हुँदैन। त्यसकारण, आफूले संगत गरिराखेको केटा वा केटीको सम्पूर्ण बानीबेहोरालाई ठण्डा दिमागले सोच्नुहोस्‌, नियाल्नुहोस्‌।

उदाहरणका लागि, यो केटी मेरो अधीनमा बस्नसक्ने सुयोग्य पत्नी हुनसक्छिन्‌ कि सक्दिनन्‌? (हितोपदेश ३१:१०-३१) यो केटोले आत्मत्याग गर्न सक्छन्‌ कि सक्दैनन्‌ अनि परिवार पाल्न सक्छन्‌ कि सक्दैनन्‌? (एफिसी ५:२८, २९; १ तिमोथी ५:८) परमेश्‍वरको जोसिलो सेवक हुँ भनेर जसले पनि भन्ला, तर के उसको कामले देखाइरहेको छ?—याकूब २:१७, १८.

तथापि, तपाईंहरूको सम्बन्ध निकै पुरानो हो र निकै माया पनि बसिसक्यो भने, सानातिना गल्तीहरू देख्नेबित्तिकै झ्वाट्टै सम्बन्ध नटुटाइहाल्नुहोस्‌। (याकूब ३:२) हुनसक्छ, उसको कमजोरीहरूको बावजूद तपाईं मिलेर बस्न सक्नुहुन्छ।

तर सकिंदैन भने नि? कुरा गर्नुहोस्‌। के तपाईंहरू दुइको लक्ष्य र दृष्टिकोण नमिलेर नै त्यस्तो ठूलो भिन्‍नता देखा परेको हो? वा एकअर्कालाई राम्ररी नबुझेकोले? कतै तपाईंहरू दुवैले ‘रीस थामेर’ शान्तपूर्वक समस्या समाधान गर्न सिक्नु परेको पो हो कि? (हितोपदेश २५:२८) उसको व्यक्‍तित्वले गर्दा तपाईंलाई झिंझो लागेको हो भने के उसले आफ्नो कमजोरी स्वीकारेर उन्‍नति गर्ने इच्छा देखाउँछ? अथवा तपाईं पो बढ्‌ता संवेदनशील नहुन वा केही बोले वा गरे कि च्वास्स लागिहाल्ने खालको व्यक्‍ति नहुन छाड्‌नु परेको छ कि? (उपदेशक ७:९) याद रहोस्‌, ‘एउटाले अर्कोलाई प्रेममा सहनु’ सुखी वैवाहिक जीवनको जीवनरक्‍त हो।—एफिसी ४:२.

अतः भइरहेको सम्बन्धलाई झट्टै तोडिहाल्नुको साटो राम्ररी खुलस्त कुरा गर्नाले सुधार गर्न सकिने थुप्रै बाटोहरू देखिनसक्छ! तथापि, छलफल गर्दा तपाईंहरूको सम्बन्ध झन्‌ झन्‌ कमजोर हुन थाल्यो भने, उत्तिनखेरै विचार पुऱ्‍याइहाले, पछि विपत्तिदेखि जोगिन्छ। (हितोपदेश २२:३) विवाह गर्दैमा त्यस्तो सम्बन्ध नसुध्रन पनि सक्छ। अतः कुरा नबढाई त्यो सम्बन्धलाई त्यहीं खत्तम पार्नुमा नै तपाईंहरू दुवैको भलो हुनसक्छ।

[पृष्ठ २५३-मा भएको चित्र]

वरपर अरू मानिसहरू भएको बेला एकअर्कोको बानीबेहोरा नियाल्नुभयो भने रोमान्टिक तवरमा नमुछिकनै एकअर्कालाई जाँच्न सक्नुहुन्छ

[पृष्ठ २५४-मा भएको चित्र]

स्थानीय चलनअनुसार शिष्टता अनि असल आचरण देखाउनुभयो भने विवाहपछि पनि एकअर्कालाई सम्मान गर्न सक्नुहुनेछ

[पृष्ठ २५९-मा भएको चित्र]

तपाईं दुइबीचको सम्बन्ध सफल हुन सक्दैन भन्‍ने प्रष्ट भएपछि आमने सामने बसेर सम्बन्ध टुटाउनु पर्ने कारण बताउनु राम्रो हो