सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?

साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?

अध्याय ३१

साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?

प्रेममा डुबेका युगल जोडीहरूका लागि प्रेम, जीवनमा एक पटक सुटुक्क आउने नौलो खुशीको अनुभव हो। तिनीहरू भन्छन्‌, प्रेम दुइ हृदयको मिलन हो, जसलाई बुझ्न सकिन्‍न, मात्र अनुभव गर्न सकिन्छ। प्रेमले सबै कुरा जित्छ, प्रेम अमर छ . . .

अनि थुप्रै छन्‌ यस्तै प्रेमका परिभाषाहरू। यसमा कुनै शंका छैन, माया पिरती गाँस्नु बेग्लै अनि मीठो अनुभवको कुरा हो। तर वास्तवमा साँचो प्रेम के हो त?

एकै नजरमा माया बस्यो

डेभिड र ज्यानेटको पहिलो भेट पार्टीमा भएको थियो। ज्यानेटको सलक्क परेको जीऊ अनि हाँस्दा आँखा छोप्नेगरि फरफराएको कपाल देख्दा डेभिड तुरुन्तै आकर्षित भइहाले। अनि डेभिडका सुन्दर आँखा र मीठा मीठा कुराहरू सुनेर ज्यानेट मोहित भइन्‌। हेर्दा, एकै नजरमा माया बस्यो कि जस्तो देखिन्थ्यो!

त्यसपछिका तीन हप्ताहरूमा डेभिड र ज्यानेट एकछिन पनि एकअर्कासित अलग हुन नसक्ने भए। तर एक रात ज्यानेटलाई तिनको पुरानो प्रेमीले फोन गरेर बरबादै गऱ्‍यो। हतासिंदै ज्यानेटले डेभिडलाई फोन गरिन्‌। तर आशंका र असमंजसमा परेर डेभिडले रूखो जवाफ फर्काए। तिनीहरूले अमर ठानेको प्रेम एकै रातमा सेलायो।

चलचित्र, किताब अनि टेलिभिजन कार्यक्रमले पहिलो नजरमै बसेको माया अमर रहन्छ भन्‍ने छाप पार्छ। हो, प्रायः सुन्दरताले गर्दा नै दुइ व्यक्‍तिबीच हेराहेर हुन्छ। अनि एक युवकले भनेझैं “अरूको व्यक्‍तित्व तुरुन्तै ‘थाह’ पाइहाल्न सकिंदैन।” तर केटाकेटीबीचको सम्बन्ध घण्टाभर वा केही दिन मात्र पुरानो भएको छ भने, त्यसबेला व्यक्‍तिविशेषले कसलाई “प्रेम” गरिरहेको हुन्छ? के अर्को व्यक्‍तिको रूपरंगलाई होइन र? साँच्चै भन्‍ने हो भने, कुनै पनि व्यक्‍तिको विचार, आशा, डर, योजना, बानीबेहोरा, सीप वा योग्यता घण्टाभर वा केही दिनभित्र थाह लाग्ने कुरा होइन। तपाईंले केवल बाहिरी आवरणसित संगत गरिरहनुभएको हुन्छ ‘हृदयको गुप्त मानिससित’ होइन। (१ पत्रुस ३:४) अब त्यस्तो प्रेम के अमर होला त?

बाहिरी रूप भ्रमात्मक हुन्छ

अर्को कुरा, बाहिरी रूप भ्रमात्मक हुनसक्छ। बाइबल यसो भन्छ: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ।” चमचम चम्कने कागजले बेह्रेको बाकसलाई हेरेर त्यसभित्र उपहार चाहिं के होला, बताउन सकिंदैन। साँच्चै भन्‍ने हो भने, अति राम्रा चमचम चम्कने कागजको खोलभित्र बेकारको उपहार पनि हुनसक्छ।—हितोपदेश ३१:३०.

सुन्दरताकै सन्दर्भमा एउटा हितोपदेशले यसो भन्छ: “विवेक नभएकी सुन्दरी स्त्री सुङगूरको थुतुनामा सुनको नत्थ लाएझैं हो।” (हितोपदेश ११:२२) नत्थ बाइबलकालीन स्त्रीहरूले लगाउने लोकप्रिय गहना थियो। ती सुन्दर हुनुका साथै सुनले बनेका हुन्थे। स्वाभाविकतः नत्थ लगाउने स्त्रीलाई भेट्‌ने व्यक्‍तिको पहिलो नजर त्यस नत्थमा जान्थ्यो।

त्यसैकारण, माथि उल्लिखित हितोपदेशले “विवेक नभएकी” स्त्रीको बाहिरी सौन्दर्यलाई “सुङगूरको थुतुनामा” लगाएको “सुनको नत्थ[सित]” तुलना गर्छ। विवेक नभएकी स्त्रीलाई सौन्दर्य सुहाउँदैन। त्यस्तो सौन्दर्य उसको निम्ति बेकारको गहना मात्र हो। सुनको नत्थ लगाउँदैमा सुंगुर सुन्दर नभएजस्तै बुद्धि नहुने सुन्दर स्त्री सधैं आकर्षक भइरहँदिनन्‌। अतः कुनै व्यक्‍ति भित्र कस्तो छ त्यसलाई बेवास्ता गरेर उसको रूपरंगलाई ‘प्रेम’ गर्नु कत्रो भूल हो।

“सबै कुराभन्दा छली”

तथापि, कोही कोही चाहिं मनले साँचो प्रेम हो वा होइन सही सही बताउँछ भनेर विचार गर्छन्‌। तिनीहरू तर्क गर्छन्‌, ‘मनको कुरा सुन। साँचो माया हो कि होइन, आफै थाह पाइहाल्छौ!’ दुःखको कुरा, तथ्यले अर्कै कुरा बताउँछ। (१८ देखि २४ वर्षका) १,०७९ जना युवकयुवतीहरूको सर्वेक्षण लिइँदा तिनीहरूले औसतन सात पटक विभिन्‍न व्यक्‍तिहरूसित माया गाँसिसकेको पाइयो। तिनीहरूमध्ये धेरैले बितेको सम्बन्ध केवल अन्धो मोहप्रेम अर्थात्‌ बिलाएर जाने भावना मात्र थियो भनेर स्वीकारे। अनौठो कुरा त के हो भने, यी युवकयुवतीहरू “आफ्नो वर्तमान प्रेमी वा प्रेमिकासितको सम्बन्धलाई चाहिं साँचो प्रेम” ठान्दा रहेछन्‌! यद्यपि, भोलि गएर अहिलेको यही सम्बन्धलाई तिनीहरूले आकर्षण मात्र हो भन्‍न के बेर?

दुःखको कुरा, हरेक वर्ष हजारौं युवकयुवतीहरू ‘म फलानोलाई प्रेम गर्न थालेको छु’ भन्‍ने भ्रममा विवाह गर्छन्‌ र केही दिन नबित्दै तिनीहरूको होश खुल्छ। “भेडोलाई कसाइखानामा लगेको यादै नभएजस्तै” अन्धो मोहप्रेमले “पुरुष तथा स्त्रीलाई कमजोर वैवाहिक सम्बन्ध गाँस्नतर्फ डोऱ्‍याउँछ।” यो हो रे सर्टले आफ्नो किताब यौन, प्रेम वा मोह-मा (अंग्रेजी) गरेको टिप्पणी।

“आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” (हितोपदेश २८:२६) प्रायः हाम्रो हृदयले सोचेको कुरा सही हुँदैन। वास्तवमा भन्‍ने हो भने बाइबलले “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ” भनेर समेत बताउँछ। (यर्मिया १७:९) तथापि, यसै अनुच्छेदको सुरुमा उल्लिखित हितोपदेशले यसो पनि भन्छ: “बुद्धिको मार्गमा हिंड़ने सुरक्षित रहनेछ।” बाइबलमा वर्णन गरिएको प्रेम अर्थात्‌ कहिल्यै नटल्ने प्रेम र अन्धो मोहप्रेमबीचको भिन्‍नता छुट्याउन सक्नुभयो भने, तपाईं पनि अरू युवकयुवतीहरूले भोगेका खतरा तथा नैराश्‍यबाट बच्न सक्नुहुन्छ।

प्रेम कि मोह

“मोहप्रेम अन्धो हुन्छ र अन्धै रहन चाहन्छ। त्यसले वास्तविकताको ख्याल गर्दैन,” चौबीस वर्षीय क्यालभिन स्वीकार्छन्‌। केन्याकी १६ वर्षीया केटी यसो भन्दै सही थप्छिन्‌, “आकर्षित भएपछि तपाईंलाई उसको हर कुरा सिद्ध लाग्छ।”

अन्धो मोहप्रेम भनेको जाली प्रेम हो। त्यसमा वास्तविकता अनि त्यागको भावना हुँदैन। अनि मोहित हुने व्यक्‍तिहरूको यसो भन्‍ने बानी हुन्छ: ‘ऊसँग हुँदा म आफ्नो महत्त्व बढेको महसुस गर्छु। म सुत्नै सक्दिनँ। यत्ति रमाइलो होला भनेर मैले सोचेको पनि थिइनँ’ वा ‘मेरो केटीलाई भेटेपछि भित्रैदेखि रमाइलो लाग्छ।’ हेर्नुहोस्‌ त यहाँ कति पटक “म” वा “मेरो” शब्द प्रयोग भएका छन्‌? स्वार्थमा आधारित प्रेम अन्ततः अवश्‍य विफल हुन्छ! तथापि, बाइबलले साँचो प्रेमको वर्णन कसरी गर्छ, ध्यान दिनुहोस्‌: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाई खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन।”—१ कोरिन्थी १३:४, ५.

बाइबलमा आधारित प्रेमले “आफ्नै भलाई खोज्दैन।” त्यसैकारण त्यस्तो प्रेममा म, मेरो भन्‍ने भावना हुँदैन नता स्वार्थ नै लुकेको हुन्छ। हो, आपसमा प्रेम गर्ने केटाकेटीबीच प्रबल रोमान्टिक भावनाहरू होलान्‌, आपसी आकर्षण पनि होला। तर यस्ता भावनाहरूलाई एकअर्काप्रतिको गहिरो आदर अनि तर्कले सन्तुलनमा राखेको हुन्छ। तपाईंले साँच्चै प्रेम गर्न थाल्नु भएपछि आफ्नो हित र आनन्दको जति ख्याल राख्नुहुन्छ, त्यतिकै ख्याल अर्कोको पनि राख्नुहुन्छ। भावनामा बहेर तपाईंले गलत निर्णय गर्नुहुनेछैन।

साँचो प्रेमको उदाहरण

याकूब र राहेलबारे बाइबलमा दिइएको विवरणले यस कुराको पुष्टि दिन्छ। राहेलले आफ्नो बुबाको भेडाहरूलाई पानी खुवाउन ल्याउँदा याकूबले तिनलाई इनारनिर भेटेका थिए। याकूब तुरुन्तै आकर्षित भइहाले। तर “राहेल . . . सुन्दरी र मजाकी” भएकीले मात्र होइन, यहोवाको उपासक पनि भएकी हुनाले।—उत्पत्ति २९:१-१२, १७.

राहेलको घरमा एक महिना पूरै बिताइसकेपछि याकूबले आफूले राहेललाई प्रेम गर्न थालेको र विवाह गर्न चाहेको कुरा खुलाए। रोमान्टिक आकर्षण? अहँ! त्यस एक महिनाबीच याकूबले राहेलका सबै बानीबेहोरा देखिसकेका थिए। जस्तै, तिनले आफ्नो आमाबाबु अनि अरूसित कस्तो व्यवहार गर्छिन्‌, गोठालो काम कसरी गर्छिन्‌, यहोवाको सेवालाई तिनी कत्तिको गम्भीरतापूर्वक लिन्छिन्‌। निस्सन्देह, याकूबले राहेलको “राम्रो” “नराम्रो” दुवै पक्ष देखे। अतः तिनको प्रेम केवल बेलगाम भावना थिएन। बरु, तर्क अनि गहिरो आदरमा आधारित निःस्वार्थ प्रेम थियो।

त्यसैकारण त याकूब राहेलसित विवाह गर्न आफ्नो हुनेवाला ससुराको सात वर्षसम्म सेवा गर्न हिचकिचाएनन्‌। निस्सन्देह, अन्धो मोहप्रेम मात्र हो भने, त्यतिञ्जेल कोही पनि पर्खन सक्दैन! साँचो प्रेम अनि निःस्वार्थ चासो भएकोले नै याकूबलाई त्यति लामो समय ‘थोरै दिनजस्तो लाग्यो।’ त्यस्तो साँचो प्रेम गरेको हुनाले त्यस दौडान तिनीहरूले आफूलाई अनैतिकतादेखि पनि टाढा राख्न सके।—उत्पत्ति २९:२०, २१.

समय लाग्छ!

तसर्थ, साँचो प्रेमलाई समयले असर गर्दैन। वास्तवमा, तपाईंले केही समय बित्न दिनुभयो भने, आफ्ना भावनाहरूलाई राम्ररी जाँच्न सक्नुहुन्छ। यसबाहेक, स्यान्ड्रा नाउँ गरेकी युवतीले टिप्पणी गरेझैं, “कसैले पनि ‘लौ यही हो मेरो व्यक्‍तित्व। अब तिमीलाई सबै कुरा थाह भो’ भनेर सम्बन्ध गाँस्दैन।” हो, तपाईंले मन पराउनुभएको व्यक्‍तिलाई चिन्‍न समय लाग्छ।

समयले तपाईंलाई बाइबलले दिने ज्ञानको आधारमा आफ्ना रोमान्टिक भावनाहरू जाँच्ने मौका दिन्छ। नबिर्सनुहोस्‌, प्रेम “बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन।” के तपाईंले मन पराउनुभएको व्यक्‍तिले आफ्नै योजनाहरू मात्र सफल होऊन्‌ भन्‍ने चाहन्छ वा तपाईंको पनि? के उसले तपाईंका विचार तथा भावनाहरूको कदर गर्छ? स्वार्थपूर्ण वासना मेटाउन के उसले तपाईंलाई ‘अनादरपूर्ण’ कामहरू गर्ने दबाब दिन्छ? तपाईंले मन पराउनुभएको व्यक्‍तिले अरूसामु तपाईंलाई खसाल्छ वा तपाईंको सम्मान गर्छ? यस्ता प्रश्‍नहरूले तपाईंलाई आफ्ना भावनाहरू अझ व्यवहारिक भएर केलाउन मदत गर्नसक्छ।

हतारमा माया साटासाट गर्नु विपत्ति निम्त्याउनु हो। “विचारै नगरी मैले गहिरो माया लगाइहालें,” २० वर्षीया जील बताउँछिन्‌। दुइ महिनाको जोरदार रोमान्सपछि तिनले विवाह गरिन्‌। बिस्तारै पहिले लुकेका कमजोरीहरूले टाउको उठाउन थाल्यो। जीलले बिस्तारै शंका गर्ने पुरानो बानी देखाउन थालिन्‌ र आफ्नै मात्र सोच्न थालिन्‌। तिनको पति रीक पहिलेजस्तो रोमान्टिक हुन छाडे र स्वार्थी भए। विवाह भएको दुइ वर्षपछि एक दिन जील रुँदै कराउँदै आफ्नो लोग्नेलाई “स्वार्थी” “अल्छी” अनि “डुकुलठक्क” भन्दै फलाकिन्‌। रीसको झोंकमा रीकले दुइ चड्‌कन लगाइदिए। जील रुँदै घरबाट अनि आफ्नो वैवाहिक जीवनबाट कहिल्यै नफर्कने गरी गइन्‌।

बाइबलको सल्लाह मानेको भए यस दम्पतीले निस्सन्देह आफ्नो वैवाहिक समस्यालाई सुल्झाउने मदत पाउनेथियो। (एफिसी ५:२२-२३) तर त्योभन्दा पनि असल, विवाह गर्नुअघि नै आपसमा राम्ररी चिनापर्ची गरेको भए कत्ति असल हुनेथियो! त्यसो गरेको भए, तिनीहरूको प्रेम बाहिरी रूपमा आधारित प्रेम नभई, कमजोरी र सद्‌गुण दुवै भएको वास्तविक व्यक्‍तित्वहरूबीचको प्रेम हुनेथियो। अनि तिनीहरूले एकअर्काबाट व्यवहारिक आशा गर्नेथिए।

साँचो प्रेम रातारात हुँदैन। नता तपाईंलाई असाध्यै सुन्दर लागेको व्यक्‍ति असल पति वा पत्नी नै हुन्छ भन्‍न मिल्छ। उदाहरणका लागि, एक जना युवकसित चिनापर्ची हुँदा सुरु सुरुमा आफू ज्यादै आकर्षित नभएको कुरा बार्बरा बताउँछिन्‌। बितेका कुराहरूको सम्झना गर्दै बार्बरा बताउँछिन्‌: “तर उहाँलाई झन्‌ झन्‌ चिन्दै गएपछि मेरो विचार बदल्न थाल्यो। स्टिफनले अरूको असाध्यै ख्याल गर्ने गरेको, आफ्नोभन्दा अरूको इच्छालाई प्राथमिकता दिएको मैले देखें। यस्ता गुनहरू हुने व्यक्‍ति असल लोग्ने बन्‍नसक्छ भनेर मलाई थाह थियो। त्यसपछि म उहाँप्रति आकर्षित हुन थालें र साँच्चै प्रेम गर्न थालें।” फलतः तिनीहरूको वैवाहिक जीवन सफल भयो।

त्यसोभए साँचो प्रेम हो कि होइन कसरी थाह लगाउने? तपाईंको मनले केही बताउला तर मनलाई होइन बाइबलद्वारा प्रशिक्षित विचार शक्‍तिलाई भरोसा गर्नुहोस्‌। आफूलाई मन परेको व्यक्‍तिको रूप देखेर मख्ख पर्ने मात्र होइन भित्री व्यक्‍तित्व पनि केलाउन खोज्नुहोस्‌। हतारमा सम्बन्ध गाँस्नुभन्दा केही समय बित्न दिनुहोस्‌। नबिर्सनुहोस्‌, अन्धो मोहप्रेम तुरुन्तै चरम सीमामा पुग्छ तर चाँडै ओइलाउँछ। तर साँचो प्रेम समयसँगसँगै झन्‌ झन्‌ बलियो हुँदै जान्छ र “सिद्धताको गाँठो” बन्छ।—कलस्सी ३:१४.

छलफलका लागि प्रश्‍नहरू

◻ रूपरंग हेरेर प्रेम गर्ने व्यक्‍ति कस्तो खतरामा पर्छ?

◻ साँचो प्रेम चिन्‍न के तपाईंको हृदयलाई भरोसा गर्न सकिन्छ?

◻ प्रेम र अन्धो मोहप्रेमबीचका केही भिन्‍नताहरू के हुन्‌?

◻ सँगसँगै घुमघाम गरेर समय बिताउने केटाकेटी अन्ततः किन छुट्टिन्छन्‌? के यसो हुनु सधैं नराम्रो कुरा हो?

◻ तपाईंको प्रेमसम्बन्ध टुट्यो भने, त्यागिनु पर्दा अनुभव गर्नुभएका भावनाहरूसित कसरी जुझ्न सक्नुहुन्छ?

◻ समय लगाएर एकअर्कालाई चिन्‍नु किन महत्त्वपूर्ण छ?

[पृष्ठ २४२-मा भएको ठूलो अक्षरको क्याप्सन]

तपाईं उसको व्यक्‍तित्वलाई प्रेम गर्दै हुनुहुन्छ वा “रूपलाई”?

[पृष्ठ २४७-मा भएको ठूलो अक्षरको क्याप्सन]

मोहप्रेम अन्धो हुन्छ र अन्धै रहन चाहन्छ। त्यसले वास्तविकताको ख्याल गर्दैन।”—२४ वर्षीय युवक

[पृष्ठ २५०-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म हाइ हलो भन्दा बढ्‌ता सम्बन्ध राख्न सक्दिनँ। म कसैलाई घनिष्ठ हुने मौकै दिन्‍नँ”

[पृष्ठ २४८ र २४९-मा भएको पेटी/चित्र ]

उसले मलाई धोका दियो, अब कसरी बिर्सने?

तपाईंले मनदेखि उसलाई आफ्नो जीवनसाथीको रूपमा स्वीकारिसक्नुभयो। तपाईंहरू एकअर्कासित संगत गर्न मन पराउनुहुन्छ, तपाईंहरू दुवैका एउटै रुचि छन्‌ अनि आकर्षण पनि दुवैमा छ। तथापि, एक्कासि तपाईंको सम्बन्धमा चिसोपन आउँछ, रीस उठ्‌छ, चित्त दुख्छ अनि बग्छ अविरल आँसुका धारा।

डा. माइकल लिबोइट्‌ज आफ्नो पुस्तक प्रेममा हुने आकर्षण-मा (अंग्रेजी) प्रेमलाई नशालु औषधीसँग तुलना गर्छन्‌। औषधीको नशाले छोडेपछि जस्तो अनुभव हुन्छ, प्रेमको नशाले छोडेपछि पनि त्यस्तै अनुभव हुन्छ। अनि चाहे त्यो प्रेम आकर्षण मात्र होस्‌ वा ‘साँचो,’ दुवैले त्यस्तै असर गर्छ। दुवैको नशा चढ्‌छ र सम्बन्ध टुटेपछि नमीठोसँग नशा उत्रन्छ।

धोका दियो भन्‍ने अनुभूति, चोट खाएको मुटु अनि शायद छुट्टिनु परेकोले उत्पन्‍न भएको रीसले तपाईंको भविष्यलाई असर गर्नसक्छ। धोका पाउने एक युवती आफूलाई ‘घायल’ सम्झिन्छन्‌ र भन्छिन्‌: “म [पुरुषहरूसँग] हाइ हलो भन्दा बढ्‌ता सम्बन्ध राख्न सक्दिनँ। म कसैलाई घनिष्ठ हुने मौकै दिन्‍नँ।” सम्बन्ध छँदा जति धेरै वचनबद्धता महसुस गऱ्‍यो छुट्टिनु पर्दा त्यतिकै गहिरो चोट लाग्छ।

हो, आफूले रोजेको व्यक्‍तिसित प्रेम गरेर बुनेको सपना सधैं साकार भइदिंदैन। धोका हुन पनि सक्छ। तपाईंले गाँस्नुभएको माया साँचो हुन्छ नै भन्‍ने कुनै ग्यारेन्टी छैन। अतः कसैले तपाईंतर्फ राम्रै मनसायले प्रेमको डोर बढाउन थाल्यो तर पछि तपाईंसित विवाह गर्न बुद्धिमानी हुनेछैन भन्यो भने, उसले धोकै दिएको हो भन्‍न मिल्दैन।

कुरा त के हो भने, अति होस पुऱ्‍याएर र चोट नपुग्ने ढंगमा सम्बन्ध तोड्यो भने पनि तपाईंले चोट वा धोका अनुभव नगर्ने पटक्कै होइन। तथापि, सम्बन्ध टुटेपछि आत्मसम्मान गुमाउनु पर्ने कारण छैन। कसैको दृष्टिमा तपाईं “योग्य” हुनुभएन भन्दैमा सबैको दृष्टिमै अयोग्य हुनुहुनेछैन भन्‍ने होइन!

ओइलाइसकेको रोमान्सलाई ठण्डा दिमागले हेर्ने कोसिस गर्नुहोस्‌। शायद सम्बन्ध टुटेपछि तपाईंले सम्बन्ध राख्नुभएको व्यक्‍तिका गम्भीर कमजोरीहरू प्रष्ट हुनसक्छन्‌। जस्तै, भावनात्मक अपरिपक्वता, दोधारोपन, अलचिलोपन, सहन नसक्ने प्रवृत्ति, तपाईंको भावनाहरूको कदरै नगर्ने बानी आदि। के तपाईं यस्तै दुर्गणहरू भएको व्यक्‍तिसित विवाह गर्न चाहनुहुन्छ?

तथापि, तपाईंलाई विवाह सफलै हुन्थ्यो भन्‍ने लागेको थियो र तपाईंले सम्बन्ध टुटोस्‌ भन्‍ने चाहनुभएको थिएन भने नि? निस्सन्देह, त्यस्तो बेला, आफ्ना भावनाहरू पोख्ने पूरापूर हक छ। शायद तपाईंहरूबीच सानातिना कुरामा पो मनमुटाउ भइरहेको थियो कि। रोएर चिच्याएर केही पनि हुँदैन। अनि तपाईंको प्रेमी वा प्रेमिकाले छुट्टिन ढिपी कस्छ भने त्यस्तो कठोर व्यक्‍तिसित आँसु बगाइ बगाइ मायाको भीख मागेर आफ्नै बेइज्जत किन गर्ने। सुलेमानले पनि “भेट्टाउने एउटा समय छ, हराउने एउटा समय” भनेका थिए।—उपदेशक ३:६.

तर तपाईंलाई जानाजानी धोका दिएको हो र तपाईंसित विवाह गर्ने उसको कुनै विचारै थिएन भनेर शंका गर्ने ठाउँ छ भने नि? त्यस्तो बेला बदलाको भावना पटक्कै नराख्नुहोस्‌। उसको त्यस्तो धूर्त काम परमेश्‍वरको नजरबाट लुक्नेछैन भनेर विश्‍वस्त हुनुहोस्‌। उहाँको वचनले यसो भन्छ: “निष्ठूर मानिसले . . . [ “आफैलाई,” NW] कष्टमा पार्छ।”—हितोपदेश ११:१७; तुलना गर्नुहोस्‌ हितोपदेश ६:१२-१५.

बेला-बेलामा एक्लोपन अनि अतीतका रोमान्टिक कुराहरूले अझै पनि तपाईंलाई पिरोल्नसक्छन्‌। त्यतिबेला भक्कानो फुटाएर रुनु नराम्रो कुरा होइन। शारीरिक कसरत हुने कुनै काम वा मसीही सेवकाईमा भाग लिएर आफूलाई व्यस्त राखे पनि निकै मदत पुग्नसक्छ। (हितोपदेश १८:१) मन प्रसन्‍न पार्ने अनि आत्मबल बढाउने कुराहरूमा मन लगाउनुहोस्‌। (फिलिप्पी ४:८) घनिष्ठ मित्रलाई आफ्नो व्यथा पोख्नुहोस्‌। (हितोपदेश १८:२४) आमाबाबुमा त्यति भर नपर्नु पर्ने उमेरको भइसक्नुभयो भने पनि यस सम्बन्धमा आमाबाबुसँग कुरा गरे धेरै सान्त्वना मिल्नसक्छ। (हितोपदेश २३:२२) अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्‍वरलाई आफ्नो मन फुकाउन कहिल्यै पछि नसर्नुहोस्‌।

शायद भर्खरै खाएको चोटले गर्दा तपाईंले आफ्नो व्यक्‍तित्वमा सुधार गर्नुपर्ने ठाउँहरू पनि देख्नुभयो होला। तपाईंले सम्भाव्य पति वा पत्नीमा जे-जस्तो गुनहरूको कल्पना गर्नुभएको थियो, त्यसमा पनि केही परिवर्तन भयो होला। अनि प्रेममा डुबेर धोका पनि खाइसक्नु भएको हुनाले फेरि कसैले चासो देखाएमा होशियारीपूर्वक विचार गर्ने निर्णय पनि गर्नुभयो होला। हुनसक्छ, तपाईंले सोचेभन्दा चाँडै तपाईंको जीवनमा फेरि कोही आउला।

[पृष्ठ २४५-मा भएको तालिका]

प्रेम कि मोह?

प्रेम मोह

१. निःस्वार्थ भावसहित १. स्वार्थी अनि

अरूको हितको सीमित विचारधाराको हुन्छ।

विचार गर्छ ‘मलाई के फाइदा हुन्छ?’ भनेर सोच्छ

२. रोमान्स विस्तारै २. रोमान्स तुरुन्तै

सुरु हुन्छ, शायद सुरु हुन्छ, शायद

महिनौं वा वर्षौं लाग्ला घण्टाभर पनि नलाग्ला

३. तपाईंको अर्को व्यक्‍तिको ३. तपाईंको अर्को व्यक्‍तिको

व्यक्‍तित्व अनि आध्यात्मिक रूपरंग देखेर मुग्ध

गुनहरू देखेर आकर्षित हुनुहुन्छ। (‘उसको आँखा

हुनुहुन्छ देखेर म कल्पनामा हराउँछु।’

‘क्या सलक्क परेको जीऊ’)

४. तपाईंलाई अझ असल ४. जीवनलाई

व्यक्‍ति बन्‍न प्रेरित गर्छ अस्तव्यस्त पार्छ

५.तपाईं अर्को व्यक्‍तिप्रति ५. अव्यवहारिक हुन्छ। अर्को व्यक्‍तिमा कुनै

व्यवहारिक दृष्टिकोण राख्नुहुन्छ भूल हुनै सक्‍तैन भने विचार हुन्छ। तपाईं

र गल्तीहरू देख्नुहुन्छ तैपनि अर्को व्यक्‍तिको गम्भीर भूललाई समेत आँखा

त्यस व्यक्‍तिलाई माया गर्नुहुन्छ चिम्लने गर्नुहुन्छ

६. तपाईंबीच मतभिन्‍नता हुन्छन्‌ ६. बारम्बार अनबन भइरहन्छ। कुनै ठोस

तर तपाईं त्यसबारे कुरा गरेर कुरामा पुग्न सक्दैन। प्रायजसो समस्याहरू

सुल्झाउन सक्नुहुन्छ ‘चुम्बनद्वारा’ समाधान हुन्छन्‌

७. तपाईं अर्को व्यक्‍तिका लागि ७. विशेषगरि यौन इच्छा पूरा गर्न के लिन

त्याग गर्न चाहनुहुन्छ, हर चीज बाँड्‌न चाहनुहुन्छ वा पाउन सकिन्छ त्यसमा बढीजोड हुन्छ

[पृष्ठ २४४-मा भएको चित्र]

सुन्दर तर विवेकहीन पुरुष तथा स्त्री ‘सुंगुरको नाकमा लगाएको नत्थजस्तो’ हो

[पृष्ठ २४६-मा भएको चित्र]

अरूको अगाडि सधैं तपाईंलाई खसालेर बोल्ने व्यक्‍तिले तपाईंलाई साँचो प्रेम गरेको नहुनसक्छ