सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म किन असाध्यै निराश हुन्छु?

म किन असाध्यै निराश हुन्छु?

अध्याय १३

म किन असाध्यै निराश हुन्छु?

मेलानी १७ वर्षकी होऊञ्जेलसम्म आमाले चाहेजस्तै ज्ञानी छोरी थिइन्‌। त्यसपछि एकाएक उनले स्कूलका क्रियाकलापहरूमा भाग लिन छाडिन्‌, पार्टीहरूमा जान बन्द गरिन्‌ र स्कूलको पढाइ पनि पहिलेजस्तो राम्रो भएन, ७० बाट झरेर ५० अंक मात्र प्राप्त गर्दा पनि कुनै पीरै नलागेजस्तो देखिन्थिन्‌। उनको आमाबाबुले बिस्तारै के भयो भनी सोध्नुहुँदा उनी झर्किंदै भन्थिन्‌, “मलाई केही भएको छैन। कचकच नगर्नुस्‌!”

चौध वर्षीय मार्क, मनमा जे पायो त्यो गरिहाल्ने, कसैसँग नमिल्ने स्वभावका र झरंग रिसाई हाल्थे। स्कूलमा पनि कोही न कोहीसित झगडा गरिरहेकै हुन्थे र कुनै न कुनै काम बिगारिरहेकै हुन्थे। दिक्क हुँदा वा रिसाउँदा तिनी मरुभूमिमा मोटरसाइकल तुफानसित कुदाउँथे वा ठाडो भीरमा स्केटबोर्ड हुइँकाउँथे।

मेलानी र मार्क दुवैलाई एउटै समस्याले पिरोलेको थियो। त्यो हो, नैराश्‍य। राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानका डा. डनल्ड म्याक्न्युअनुसार स्कूल जाने केटाकेटीहरूमध्ये १० देखि १५ प्रतिशतको कुनै ठोस कारणबिना छिनछिनमा मुड बिग्रनसक्छ। केहीलाई भने गम्भीर नैराश्‍यले पिरोल्छ।

कहिलेकाहीं यस्तो समस्या हुनुको शारीरिक कारण पनि हुन्छ। कुनै रोगको संक्रमण वा एन्डोक्राइन प्रणालीसम्बन्धी रोगहरू, महिनावारी हुँदा हर्मोनको उतारचढाउ, रगतमा चिनीको मात्रा बढी हुनु, कुनै कुनै औषधी, विषाक्‍त धातु वा रासायनिक तत्त्वहरूको असर, एलर्जी, असन्तुलित भोजन, रक्‍तअल्पताजस्ता कुराहरूले गर्दा पनि नैराश्‍य हुनसक्छ।

नैराश्‍यका मूल तनाउहरू

तथापि, अक्सर किशोरावस्था स्वयं नै भावनात्मक तनाउको कारण हो। जीवनका उतारचढाउहरू सामना गर्न वयस्कजस्तो अनुभवी नहुँदा जवान व्यक्‍तिले आफूलाई कसैले वास्ता नगरेको महसुस गर्नसक्छ अनि सानातिना कुराहरूमा पनि असाध्यै निराश हुनसक्छ।

आमाबाबु, शिक्षक वा साथीहरूको आकांक्षा पूरा गर्न नसक्नु पनि उदासीनताको अर्को कारण हुनसक्छ। उदाहरणका लागि, उच्च शिक्षा हासिल गरेका आमाबाबुलाई खुशी तुल्याउन स्कूलमा असाध्यै राम्रो गर्नुपर्छ भन्‍ने डोनाल्ड सम्झन्थे। त्यसो गर्न नसक्दा तिनी निराश भए र आत्महत्या गर्न खोजे। डोनाल्डले यसरी दुखेसो पोखे, “मैले कहिल्यै कुनै पनि काम ठीकसित गर्न सकेको छैन। मैले कसैको आकांक्षा पूरा गर्न सकिनँ।”

असफलताको भावनाले निराश बनाउनसक्छ भनेर इपाफ्रोडाइटसको घटनाबाट पनि प्रष्ट हुन्छ। प्रथम शताब्दीताका थुनामा परेका प्रेरित पावललाई मदत गर्न यस विश्‍वासी मसीहीलाई विशेष काममा पठाइएको थियो। तर पावलकहाँ मात्र के पुगेका थिए, तिनी आफै थला परे र उल्टो पावलले पो तिनको स्याहारसुसार गर्नुपऱ्‍यो! इपाफ्रोडाइटस, आफ्नो असफलता देखेर “व्याकुल” किन भए, तपाईं कल्पना गर्न सक्नुहुन्छ। शायद तिनले आफू बिरामी पर्नुअघि गरेका सबै राम्रा कामहरू बिर्से होलान्‌।—फिलिप्पी २:२५-३०.

कुनै कुरा गुमाएको भावना

अकाल मृत्यु—युवा तथा आत्महत्या (अंग्रेजी) पुस्तककी लेखिका फ्रान्सिन क्लाक्स्ब्रन यसो लेख्छिन्‌: “भावनात्मक कारणले हुने थुप्रै नैराश्‍य, आफूले असाध्यै माया गरेको कुरा वा व्यक्‍ति गुमाएकोले हुनसक्छ।” मृत्यु वा छुटानामको कारण आमा या बुबा गुमाउनु, जागिर वा पेशा गुमाउनु वा अस्वस्थता पनि नैराश्‍यका मूल कारणहरू हुनसक्छन्‌।

यद्यपि, जवान व्यक्‍तिको लागि सबैभन्दा असह्‍य क्षति भने माया नपाउनु हो। मतलब कसैले वास्ता गर्दैन, कसैले चासो राख्दैन भन्‍ने भावना। मारी नाउँकी युवतीले यसो भनिन्‌, “आमाले छोडेर जानुहुँदा उहाँले धोका दिनुभएको र एक्लो महसुस गरें। अचानक मेरो संसारै डुबेजस्तो लाग्यो।”

अतः छुटानाम, रक्सीबाज, हाडनाताकरनी, घरेलु हिंसा, बाल दुर्व्यवहार वा आमाबाबु आफ्नै समस्यामा चुर्लुम्म डुबेका हुँदा बालबच्चाले तिरस्कार गरिएको ठान्‍नुजस्ता पारिवारिक समस्याहरू सामना गर्नुपर्ने केही युवाहरूले कत्ति अन्योल र पीडा महसुस गर्लान्‌, कल्पना गर्नुहोस्‌। बाइबलको हितोपदेश कत्ति सत्य छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ [नैराश्‍य विरुद्ध संघर्ष गर्न] झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) केही युवाहरूलाई त पारिवारिक समस्याहरूको जड आफू स्वयं नै हो भन्‍ने गलत आभाससमेत हुनसक्छ।

लक्षणहरू चिन्‍ने

सबैको नैराश्‍य एकैनासे हुँदैन। कुनै अप्रिय घटनाको कारण जवान व्यक्‍ति केही छिनको लागि निरुत्साहित हुनसक्छन्‌। तर प्रायजसो त्यस्ता क्षणहरू अलिक समयमै ठीक भइहाल्छन्‌।

तथापि, लामो समयसम्म दिक्क भइरह्‍यो र आफू बेकम्माको छु भन्‍ने जस्ता नकारात्मक भावनाहरूसँगसँगै चिन्ता र रीसले असाध्यै पिरोल्न थाल्यो भने यी गम्भीर नैराश्‍यका प्रारम्भिक लक्षणहरू हुन्‌ भनेर चिकित्सकहरू भन्‍ने गर्छन्‌। मार्क र मेलानीका (सुरुमा वर्णन गरिएकाहरू) अनुभवहरूले लक्षणहरू एकदमै फरक फरक हुनसक्छन्‌ भनेर देखाउँछ। केही युवाहरूलाई चिन्ताले खानसक्छ। अर्कोलाई भने सधैं थकाइ लाग्ने, खान मन नलाग्ने, सुत्न नसक्ने, वजन घट्‌ने वा एकपछि अर्को दुर्घटनाहरूमा फस्ने हुनसक्छन्‌।

केही युवाहरू आफ्नो नैराश्‍यलाई लुकाउन सुखविलासमा डुब्न थाल्छन्‌। जस्तै, दिनहुँजसो पार्टीको रमझम, छाडा यौनसम्बन्ध, गुन्डागर्दी, मात्तिउञ्जेल पिउनु इत्यादि। “म धेरैजसो समय किन बाहिरै बिताउँछु, खै, आफैलाई थाह छैन,” एउटा १४ वर्षीय केटोले भने। “म एक्लै परें भने त मेरो कस्तो बेहाल होला, कल्पनै गर्न सक्दिनँ।” यो भनाइसित बाइबलका यी शब्दहरू ठ्याक्कै मिल्छ, “मुखमा हाँसो भए पनि मनमा पीर होला।”—हितोपदेश १४:१३.

लामो समयसम्म दिक्क रहिरहँदा

गम्भीर नैराश्‍यका प्रारम्भिक लक्षणहरू निवारण गरिएन भने यसले भयावह विकारको रूप लिनसक्छ। त्यो हो, गम्भीर नैराश्‍य। (पृष्ठ १०७ हेर्नुहोस्‌।) गम्भीर नैराश्‍य भोगेकी मारी यसरी बताउँछिन्‌, “मलाई सधैं आफू भित्रभित्रै ‘खोक्रो हुँदै गएकी’ जस्तो लाग्थ्यो। जिउँदो लाशसरह थिएँ। सधैं एउटा न एउटा कुराको डर हुन्थ्यो।” असाध्यै निराश हुँदा महिनौंसम्म पनि अनुहार फुंग उडेजस्तो हुनसक्छ। किशोरकिशोरीहरूले आत्महत्या गर्ने प्रमुख कारण यसप्रकारको नैराश्‍य हो। यसलाई हाल थुप्रै मुलुकहरूले “लुकेको महामारी” भन्‍ने संज्ञा दिएका छन्‌।

गम्भीर नैराश्‍यसित गाँसिएको सबैभन्दा प्रबल तथा खतरनाक भावना असाध्यै आशाविहीन महसुस हुनु हो। प्राध्यापक जोन इ. म्याकले १४ वर्षीया भिभियनबारे बताए जसलाई गम्भीर नैराश्‍यले छोपेको थियो। बाहिरबाट हेर्दा तिनी सबै कुरा ठीकै भएको युवती जस्तो देखिन्थिन्‌ र आमाबाबुबाट पनि राम्रो हेरचाह पाएकी थिइन्‌। यद्यपि, कतै आशाको किरण नदेखेर तिनी झुन्डिएर मरिन्‌! प्राध्यापक म्याक लेख्छन्‌: “सधैंभरि यस्तो नैराश्‍य रहिरहँदैन, तर पीडाबाट अन्ततः छुटकारा पाउनेछु भन्‍ने कुनै आशा नदेखेकी हुँदा भिभियनले आत्महत्या गर्ने निर्णय गरिन्‌।”

यसप्रकार गम्भीर नैराश्‍यमा डुब्नेहरू परिस्थिति कहिल्यै सुध्रनेछैन, भोलि भन्‍ने कुरा छँदैछैन भन्ठान्छन्‌। केही विशेषज्ञहरूअनुसार त्यस्तो आशाहीनताले अक्सर आत्महत्या गर्न उस्काउँछ।

तथापि, आत्महत्या यसको समाधान होइन। आफूलाई जिउँदो लाशसरह ठानेकी मारीले यसो भनिन्‌: “आत्महत्याबारे मैले नसोचेको होइन। तर मैले यसो विचार गरें, सास छउञ्जेल आश त हुन्छ।” निस्सन्देह, आत्महत्या गर्दैमा समस्या समाधान हुने होइन। दुःखको कुरा, नैराश्‍यसित सामना गर्नुपर्दा थुप्रैजसो युवाहरू कुनै विकल्प वा परिस्थिति सुध्रनसक्ने सम्भावना नै देख्दैनन्‌। अतः मारीले हेरोइन सेवन गरेर आफ्नो समस्या लुकाउन खोजिन्‌। उनले भनिन्‌: “औषधीको असर छउञ्जेल ममा निकै आत्मविश्‍वास हुन्थ्यो।”

सानातिना समस्याहरूसित झेल्ने

नैराश्‍यका भावनाहरूसित जुझ्ने व्यवहारिक तरिकाहरू थुप्रै छन्‌। नैराश्‍यबारे गहन अध्ययन गर्ने न्यु योर्कका विशेषज्ञ, डा. नेथन एस. क्लाइनले यस्तो टिप्पणी गरे, “केही मानिसहरू भोक लाग्यो भने पनि निराश हुन्छन्‌। बिहानको नास्ता नखाला र कारणवश दिउँसोको भोजन पनि पेटमा नपरेको होला। त्यसपछि तीन बजेतिर कसो कसो अप्ठ्यारो लाग्नुको कारण के होला भनेर धुइधुइँती सम्झन थाल्छन्‌।”

तपाईंको भोजनले पनि ठूलो फरक पार्नसक्छ। नैराश्‍यले पिरोलिएकी डेबी नाउँकी युवती भन्छिन्‌: “बजारी भोजनले मेरो मुडलाई यत्तिको असर गर्नसक्छ भनेर मैले सोचेकी पनि थिइनँ। म त्यस्तो खाना असाध्यै खान्थें। अब भने मैले बुझ्न थालेकी छु, मिठाईहरू त्यति धेरै खाइनँ भने मुड पनि राम्रै हुन्छ।” अन्य मदतकारी सुझाउहरू यसप्रकार छन्‌: व्यायाम गरेर पनि मुड राम्रो बनाउन सकिन्छ। कहिलेकाहीं डाक्टरको राय पनि चाहिएला किनभने शारीरिक बिमारीले गर्दा पनि नैराश्‍य छाएको हुनसक्छ।

मानसिक लडाइँ जित्ने

अक्सर आफूबारे नकारात्मक विचारहरू राख्दा नैराश्‍य छाउन वा त्यो चर्कनसक्छ। अठाह्र वर्षीया एभलिन यसरी बिलौना गर्छिन्‌ “धेरै मानिसहरूले तपाईंको आलोचना मात्र गरिरहँदा हीन भावना जाग्छ।”

विचार गर्नुहोस्‌: तपाईं कत्तिको मूल्यवान्‌ हुनुहुन्छ भनेर नापतौल गर्ने जिम्मा कसको हो, अरू मानिसहरूको? मसीही प्रेरित पावलको पनि त्यस्तै आलोचना गरिएको थियो। कसैले भने, तिनी त कमजोर पात्र हुन्‌ र राम्ररी बोल्न जान्दैनन्‌। के यो सुन्‍नुपर्दा पावलले आफू बेकम्मा महसुस गरे? पटक्कै गरेनन्‌! परमेश्‍वरको स्तरअनुरूप हिंड्‌नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी पावललाई थाह थियो। अरूले जे सुकै भने तापनि परमेश्‍वरको मदतद्वारा आफूले हासिल गर्नसकेका उपलब्धिहरूमा तिनले घमण्ड गर्नसक्थे। तपाईंले पनि परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई बिर्सनुभएन भने खिन्‍न मुद्रा प्रायजसो आफै हराउनेछ।—२ कोरिन्थी १०:७, १०, १७, १८.

आफ्नो कुनै कमजोरी वा पापको कारण निराश हुनुभएको छ भने नि? परमेश्‍वरले इस्राएललाई यसो भन्‍नुभयो, “तिमीहरूका पाप सिन्दूरे रंगका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌।” (यशैया १:१८) हाम्रो स्वर्गमा हुनुहुने पिताको दया र धीरजलाई कहिल्यै हल्का नठान्‍नुहोस्‌। (भजन १०३:८-१४) तर के तपाईंले समस्या सुल्झाउन जोडदार प्रयास गरिरहनुभएको छ? दोषी भावनाबाट मुक्‍त हुने हो भने हात बाँधेर बस्नु मिल्दैन। हितोपदेशले भनेझैं “तिम्रा दोषहरू . . . स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।”—हितोपदेश २८:१३.

खिन्‍न मुद्राबाट उम्कने अर्को तरिका, आफ्नो लागि व्यवहारिक लक्ष्यहरू राख्नु हो। सफल हुन पढाइमा सर्वोत्कृष्ट हुनैपर्छ भन्‍ने छैन। (उपदेशक ७:१६-१८) असफलता जीवनका भाग हुन्‌ भनेर स्वीकार्नुहोस्‌। असफल हुँदा ‘कसैले मेरो वास्ता गर्दैन र गर्ने पनि छैन’ भन्‍नुको साटो यसो भन्‍नुहोस्‌, ‘जे पर्छ, त्यो टर्छ।’ अनि त्यस्तो परिस्थितिमा रुनु नै परे तापनि आँसु बगाउन अप्ठ्यारो नमान्‍नुहोस्‌।

उपलब्धिको महत्त्व

एकपछि अर्को असफलताहरू भोग्दा पनि निराश नभएकी डाफ्नी यस्तो सल्लाह दिन्छिन्‌, “नैराश्‍य आफै हराउने कुरा होइन। अर्कै कुरामा मन लगाउनुपर्छ वा व्यायाम गर्नुपर्छ। यसै नबसी एउटा न एउटा काम थाल्नुपर्छ।” खिन्‍न मुद्रालाई बिर्सेर हँसिलो बन्‍न प्रयास गरेकी लिन्डालाई विचार गर्नुहोस्‌: “म त सिलाई गर्न थाल्छु। लुगाको दराज मिलाउन थाल्छु र केही समयपछि त आफ्नो पीडा नै बिर्सन्छु। हो, त्यसो गर्नु साँच्चै मदतकारी भएको छ।” आफूले राम्ररी गर्न जानेको काम गर्दा आत्मसम्मान बढ्‌छ किनभने नैराश्‍यको मूल कारण नै आत्मसम्मानको कमी हो।

आफूलाई रमाइलो लाग्ने काम गर्नु पनि लाभदायक हुन्छ। आफ्नो मन बहलाउन किनमेल गर्ने, खेल खेल्ने, मन परेको खाना पकाउने, किताब पसलमा जाने, रेष्टुराँ जाने, ब्यूँझनुहोस्‌! पत्रिकामा छापिनेजस्ता कोठेपद सुल्झाउने प्रयास गर्नुहोस्‌।

नजीकै पर्ने ठाउँहरूको भ्रमण वा अन्य लक्ष्यहरू निर्धारण गर्दा आफ्नो खिन्‍न मुद्रालाई बिर्सन सकेको डेबीले महसुस गरिन्‌। तथापि, सबैभन्दा मदतकारी चाहिं, अरूको लागि कामकाजहरू गरिदिनु साबित भयो। “असाध्यै निराश भएकी एउटी स्त्रीलाई भेटें र मैले तिनलाई बाइबल अध्ययन गर्न मदत गरें,” भनी डेबीले बताइन्‌। “यी साप्ताहिक छलफलको दौडान मैले तिनलाई नैराश्‍यबाट उम्कने तरिकाहरू बताउने मौका पाएँ। बाइबलले तिनलाई साँचो आशा प्रदान गऱ्‍यो। तिनको साथसाथै मैले पनि मदत पाएँ।” साँच्चै, येशूले भन्‍नुभएझैं “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

कसैसित यसबारे कुरा गर्नुहोस्‌

“चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” (हितोपदेश १२:२५) आफ्नो कुरा बुझिदिने मानिसको “दयालु वचनले” आकाश जमीनको फरक पार्नसक्छ। कसैले पनि तपाईंको मन पढ्‌न सक्दैन। त्यसकारण भरपर्दो र मदत गर्नसक्ने व्यक्‍तिलाई मनको बह पोख्नुहोस्‌। हितोपदेश १७:१७ अनुसार “मित्र सब समय एक प्रेमी साथी हुन्छ, [“र दुःख आइपर्दा दाजुभाइसरह,” NW] हुन्छ।” बाइस वर्षीय इभानले यसो भने, “मनमा कुरा गुम्साएर राख्दा छातीमा सधैं गह्रौं ढुंगा बिसाएजस्तै हुन्छ। तर मदत गर्नसक्ने व्यक्‍तिलाई बताउँदा बोझ निकै हल्का हुन्छ।”

तर तपाईं भन्‍नुहोला, ‘मैले त्यसो नगरेको कहाँ हो र! तर के गर्नु, कुरा गरे जति सबैले जीवनका राम्रा पक्षहरूलाई हेर्न सिक भनेर लामो भाषण मात्रै फलाक्छन्‌।’ त्यसोभए, तपाईंको कुरा सुनिदिने मात्र होइन तर त्यसलाई बुझेर उपयोगी सल्लाह पनि दिनसक्ने व्यक्‍ति कहाँ पाउन सक्नुहुन्छ?—हितोपदेश २७:५, ६.

मदत खोज्ने

सर्वप्रथम त आमाबाबुको ‘कुरा ध्यानसित सुन्‍नुहोस्‌।’ (हितोपदेश २३:२६) उहाँहरूले जत्ति अरू कसैले तपाईंलाई चिनेको छैन र तपाईंले मौका दिनुभएको खण्डमा प्रायजसो मदत दिनसक्नुहुन्छ। तपाईंको समस्या गम्भीरजस्तो लागेमा उहाँहरूले मदतको लागि कुनै पेशेवरको पनि प्रबन्ध गर्नुहोला। a

मसीही मण्डलीका सदस्यहरू मदतको अर्को स्रोत हो। मारीले यसरी कुरा पोखिन्‌, “वर्षौंसम्म म यस्तो गुपचुप बसें कि, म कत्तिको निराश थिएँ भनेर कसैले सुइँको समेत पाएन। तर मैले मण्डलीको एउटी वृद्ध बहिनीलाई आफ्नो कुरा पोखें। उहाँले मेरो कुरा राम्ररी बुझ्नुभयो, आँ गर्दा अलंकार बुझेझैं भयो। उहाँको पनि मेरोजस्तै अनुभव रहेछ। अतः अरूले पनि यस्ता समस्याहरू भोग्दा रहेछन्‌ र त्यसलाई पार लगाउन सकिंदो रहेछ भनेर बुझ्ने प्रोत्साहन पाएँ।”

अहँ, मारीको नैराश्‍य तुरुन्तै ठीक भइ हालेन। तर तिनी परमेश्‍वरसित घनिष्ठ हुँदै जाँदा मनमा यस्ता भावनाहरू हुनुको कारण बिस्तारै बुझ्न थालिन्‌। तपाईंले पनि यहोवाका साँचो उपासकहरूबीच तपाईंको हितप्रति निःस्वार्थ चासो राख्ने साँचो मित्र र “परिवार” पाउन सक्नुहुन्छ।—मर्कूस १०:२९, ३०; यूहन्‍ना १३:३४, ३५.

असामान्य शक्‍ति

तथापि, खिन्‍न मुद्रालाई हँसिलो बनाउने सबैभन्दा प्रभावकारी मदत, परमेश्‍वरले दिनुहुने “असामान्य शक्‍ति” हो भनी प्रेरित पावलले बताए। (२ कोरिन्थी ४:७, NW) परमेश्‍वरमा भरोसा राख्नुभयो भने नैराश्‍य विरुद्ध लड्‌न तपाईंले मदत पाउन सक्नुहुन्छ। (भजन ५५:२२) पवित्र आत्माद्वारा उहाँले तपाईंको औकातमा नभएको असामान्य शक्‍ति दिनुहुन्छ।

परमेश्‍वरसितको यस्तो मित्रता साँच्चै आश्‍वासनदायी हुन्छ। जर्जिया नाउँकी युवतीले यसो भनिन्‌, “दुःखी हुँदा म निकै चोटि प्रार्थना गर्छु। समस्या जतिसुकै जटिल भए तापनि यहोवाले उम्कने बाटो देखाउनुहुन्छ भनेर मलाई पक्का थाह छ।” यसमा सहमति जनाउँदै डाफ्नी भन्छिन्‌: “यहोवालाई तपाईंले कुनै कुरा नलुकाई बताउन सक्नुहुन्छ। उहाँलाई मनको बह पोख्नुहोस्‌। कुनै मानिसले तपाईंको कुरा नबुझे पनि उहाँले बुझ्नुहुन्छ र तपाईंको फिक्री गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌।”

अतः तपाईं निराश हुनुहुन्छ भने परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌ र आफ्नो मनको बह पोख्न मिल्ने बुद्धिमान्‌ तथा समझदार व्यक्‍ति खोज्नुहोस्‌। तपाईंलाई सल्लाह दिनसक्ने निपुण “पाकोहरू” मसीही मण्डलीमा पाउनुहुनेछ। (याकूब ५:१४, १५) परमेश्‍वरसित तपाईंको मित्रतालाई अझ बलियो बनाउने मदत दिन तिनीहरू तत्पर छन्‌। परमेश्‍वरले तपाईंको समस्या बुझ्नुहुन्छ र आफ्नो चिन्ता उहाँलाई पोखाउने निमन्त्रणा दिनुहुन्छ किनभने “उहाँले [तपाईंको] फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:६, ७) निस्सन्देह, बाइबल यस्तो प्रतिज्ञा गर्छ: “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:७.

[फुटनोट]

a असाध्यै निराश हुने व्यक्‍तिहरूले आत्महत्या गर्नसक्ने खतरा भएको हुँदा पेशेवरको सल्लाह लिनुपर्छ भनी धेरैजसो चिकित्सा विशेषज्ञहरू सल्लाह दिन्छन्‌। उदाहरणका लागि, पेशेवरले मात्र दिनसक्ने औषधोपचार चाहिएको होला।

छलफलका लागि प्रश्‍नहरू

◻ युवाहरू निराश हुनसक्ने केही कारणहरू के हुन्‌? के तपाईंले कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ?

◻ के तपाईं गम्भीर नैराश्‍यका सुरु सुरुका लक्षणहरू चिन्‍न सक्नुहुन्छ?

◻ के तपाईंलाई गम्भीर नैराश्‍य चिन्‍ने तरिका थाह छ? यो किन एउटा घातक बिमारी हो?

◻ खिन्‍न मुद्रालाई हँसिलो बनाउने केही तरिकाहरू बताउनुहोस्‌। के यीमध्ये कुनै सुझाउहरू तपाईंको लागि उपयोगी साबित भएका छन्‌?

◻ गम्भीर नैराश्‍यले छोप्दा यसबारे अरू कसैलाई बताउनु किन अत्यन्त महत्त्वपूर्ण छ?

[पृष्ठ १०६-मा भएको ठूलो अक्षरको क्याप्सन]

किशोरकिशोरीहरूले आत्महत्या गर्ने सबैभन्दा सामान्य कारण गम्भीर नैराश्‍य हो

[पृष्ठ ११२-मा भएको ठूलो अक्षरको क्याप्सन]

गम्भीर नैराश्‍यको सामना गर्न परमेश्‍वरसितको व्यक्‍तिगत सम्बन्धले मदत गर्नसक्छ

[पृष्ठ १०७-मा भएको पेटी]

यो गम्भीर नैराश्‍य हो कि?

कुनै गम्भीर समस्या नहुँदा नहुँदै पनि मानिसहरूले तल दिइएकामध्ये एउटा वा बढी लक्षणहरू केही समयको लागि अनुभव गर्नसक्छन्‌। तथापि, केही लक्षणहरू लामो समयसम्म रहिरह्‍यो वा कुनै एउटा लक्षण असाध्यै भयानक भएर तपाईंको सामान्य क्रियाकलापलाई असर गर्न थाल्यो भने तपाईंलाई (१) शारीरिक बिमारी भएको र चिकित्सकले राम्ररी जाँच्नुपर्ने भएको हुनसक्छ वा (२) गम्भीर मानसिक विकार अर्थात्‌ गम्भीर नैराश्‍यले छोपेको हुनसक्छ।

तपाईंलाई कुनै कुरा रमाइलो लाग्दैन। पहिले रमाइलो लागेका क्रियाकलापहरू अब मन लाग्न छोड्‌छ। आफू अर्कै दुनियाँमा हराएको, जिउँदो लाशजस्तो लाग्छ।

आफू पूर्णतया बेकार लाग्नु। आफूले कुनै महत्त्वपूर्ण योगदान पुऱ्‍याउन नसकेको र आफ्नो जिन्दगी बेकाम छ जस्तो लाग्छ। असाध्यै दोषी महसुस पनि होला।

अहिले र पहिलेको मुडमा आकाश जमीनको फरक हुनु। पहिले असाध्यै चल्तापुर्जा हुनुहुन्थ्यो भने अहिले असाध्यै गुपचुप बस्ने वा पहिले चुपो लागेर बस्नुहुन्थ्यो भने अहिले असाध्यै चञ्चले हुनु। प्रायजसो रुनु पनि होला।

पूर्णतया आशाविहीन हुनु। कामकुराहरू ठीकसित नचलेको, आफूले गर्नसक्ने केही छैन र परिस्थिति कहिल्यै सुध्रनेछैन जस्तो लाग्ला।

मरेको भए हुन्थ्यो जस्तो लाग्छ। पीडा यस्तो भयावह हुन्छ कि मरेको भए हुन्थ्यो भनेर मनमा लागिरहन सक्छ।

ध्यान दिन सक्नुहुन्‍न। एउटै कुरा दिमागमा खेलिरहन्छ वा जे पढे पनि दिमागमा घुस्दैन।

खानपिन वा पाचनप्रणालीमा गडबडी। खान मन नलाग्नु वा घिचुवा हुनु। सधैंजसो कब्जियत हुनु वा पखाला चल्नु।

सुत्ने बानीमा हेरफेर। निद्रा नलाग्नु वा अचाक्ली निद्रा लाग्नु। समय समयमा डरलाग्दा सपनाहरू देखिरहनु।

कता कता दुखिरहने। टाउको दुख्नु, बाउँडिनु, पेट वा छाती दुखिरहनु। कारणै बिना सधैंजसो थकाइ लाग्नु।

[पृष्ठ १०८-मा भएको चित्र]

आमाबाबुको आकांक्षा पूरा गर्न नसक्दा युवा- युवतीहरू निराश हुनसक्छन्‌

[पृष्ठ १०९-मा भएको चित्र]

समस्याबाट उम्कने सबैभन्दा उत्तम तरिका, अरूसित कुरा गरेर आफ्नो मनको बह पोख्नु हो

[पृष्ठ ११०-मा भएको चित्र]

खिन्‍न मुद्रालाई हँसिलो बनाउने अर्को तरिका, अरूको लागि कामकाज गर्नु हो