सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इमानदार हुनु—साँच्चै असल नीति हो त?

इमानदार हुनु—साँच्चै असल नीति हो त?

अध्याय २७

इमानदार हुनु—साँच्चै असल नीति हो त?

के तपाईंलाई कहिल्यै झूट बोल्न मन लागेको छ? डोनल्डले आमालाई आफ्नो कोठा सफा गरें भनेर त भने तर वास्तवमा तिनले भएभरको चीजबीज खाटमुनि मिल्काएका रहेछन्‌। रिचर्डले पनि त्यस्तैगरि आफ्नो आमाबाबुको आँखामा छारो हाल्ने कोसिस गरे। तिनले आफू फेल हुनुको कारण नपढेकोले होइन तर ‘शिक्षकसित ठाकठुक’ परेकोले हो भनेर आमाबाबुसित बहाना बनाए।

तर आमाबाबु तथा अरू वयस्क व्यक्‍तिहरूको नजरमा त्यस्तो बहानाबाजी छिपेको हुँदैन। तैपनि थुप्रै केटाकेटीहरू झूट बोल्ने, कुरा बँग्याउने वा फाइदाको कुरा छ भने हकाहक्की ठग्नदेखि पछि पर्दैनन्‌ वा कोसिस भएपनि गर्छन्‌। हो, आमाबाबुले सधैं कुरा बुझिदिंदैनन्‌, एकैचोटि झम्टिहाल्छन्‌। त्यसैकारण, साबिकभन्दा दुइ घण्टा ढीलो घर आइपुग्दा समय बितेको पत्तै भएन भनेर साँचो कुरा बोलेर लज्जित हुनुभन्दा बाटोमा आउँदा ठूलो दुर्घटना भएकोले ढीलो भएँ भन्‍न तपाईंलाई सजिलो लाग्ला।

स्कूलमा इमानदार हुनु पनि त्यत्तिकै गाह्रो हुनसक्छ। विद्यार्थीहरू प्रायः गृहकार्यहरूको बोझले गर्दा हत्तु हुन्छन्‌। अनि प्रतिस्पर्धा पनि त्यत्तिकै हुन्छ। त्यसैले होला, संयुक्‍त राज्यमा लिइएको सर्वेक्षणअनुसार आधाभन्दा धेरै विद्यार्थीहरू जाँचमा चोर्छन्‌ वा चोरेका छन्‌। तर झूट बोल्नु जत्तिकै सजिलो वा फाइदाजनक देखिए पनि, के सधैं फाइदै हुन्छ त?

झूट बोल्नु—किन फाइदा छैन?

दण्डदेखि उम्कन झूट बोल्नु कहिलेकाहीं फाइदाजनक देखिएला। तर बाइबलले यस्तो चेताउनी दिन्छ: “झूटा कुरा मात्रै गर्ने त्यसै उम्कँदैन।” (हितोपदेश १९:५) झूट सधैंभरि छिपेर बस्न सक्दैन। त्यसकारण पोल खोलिने सम्भावना असाध्यै हुन्छ र त्यसो भयो भने दण्ड त आखिर जसरी भए पनि पाइहाल्छ। अनि तपाईंका आमाबाबु तपाईंले भूल गरेकोमा मात्र होइन, झूट बोलेकोमा पनि रीसाउलान्‌।

जाँचमा चोर्नेहरूलाई नि? क्याम्पस न्यायिक कार्यक्रमका अध्यक्ष त्यस विषयमा यसो भन्छन्‌: “पढाइ ठग्ने विद्यार्थीहरूले भविष्यमा शिक्षा वा जागिर पाउने सम्भावना ज्यादै कम हुन्छ।”

हो, कोही कोही छल गरेर पनि उम्कन्छन्‌। तर के फाइदा? जाँचमा चोरेर उत्तीर्ण हुनेहरूलाई के पछिसम्म राम्रै होला त? निस्सन्देह, पौडी खेल्ने कक्षा ठगेर केही फाइदा हुँदैन भनेर तपाईं पनि सहमत हुनुहुन्छ। आखिर, सबै जना पानीमा पौडँदै रमाइलो गरिरहेको बेला आफूचाहिं पानी बाहिर ठिंग उभिनुपऱ्‍यो भने के मजा? अनि कसैले तपाईंलाई पानीमा धकेलिदियो भने बेकारमा तपाईंको ज्यान गएन!

तर हिसाब वा पढाइमा ठग्नेहरू नि? हो, सुरु सुरुमा त्यस्तो केही फरक नपरेको जस्तो देखिएला। तथापि, तपाईंले स्कूलमा पढेर साधारणतः सिक्नुपर्ने कुरा सिक्नुभएन भने भोलिपर्सि जागिर खोज्ने बेला रित्तो हात फर्कनु पर्दा पक्कै आफ्नो सारा सपना “डुबेको” पाउनुहुनेछ! जाँचमा चोरचार गरेर हासिल गरेको डिप्लोमाले पक्कै पनि जीवन धान्‍न सक्दैन। बाइबल यसो भन्छ: “झूट बोलेर धन कमाउने व्यर्थमा मृत्युको पासोमा पर्छ।” (हितोपदेश २१:६) झूट बोलेर हुने फाइदाहरू केवल छिनभरको लागि मात्र हुन्‌। अतः स्कूलमा पढाइ ठग्नुभन्दा कम्मर कसेर पढ्‌नु बरु कत्ति फाइदा छ! हितोपदेश २१:५ भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।”

झूट अनि तपाईंको अन्तस्करण

मिशेल भन्‍ने केटीले आफूलाई मन परेको सामान भाइले फुटाइदियो भनेर दोष लगाइन्‌। तर पछि तिनले आफूले झूट बोलेको हो भनी आमाबाबुअघि स्वीकारिन्‌। किन? “मलाई असाध्यै नराम्रो लाग्यो,” मिशेल भन्छिन्‌। “मेरा आमाबाबुले ममाथि ठूलो भरोसा गर्नुभएको थियो। तर मैले उहाँहरूलाई निराश पारें।” परमेश्‍वरले मानिसजातिलाई अन्तस्करण दिनुभएको छ भनेर यस अनुभवले राम्ररी देखाउँछ। (रोमी २:१४, १५) मिशेललाई तिनको दोषी अन्तस्करणले पिरोल्यो।

हो, आफ्नो अन्तस्करणको आवाजलाई दबाउन नसकिने होइन। तर जति झूट बोल्दै गयो उति नै खराब कुराहरू हल्का लाग्न थाल्छ र अन्ततः त्यस व्यक्‍तिको “विवेक तातो फलामले डामेको जस्तो हुन्छ।” (१ तिमोथी ४:२) के तपाईंलाई त्यस्तो चेतनाहीन अन्तस्करण मनपर्छ?

परमेश्‍वरले झूट बोल्ने बानीलाई कुन दृष्टिले हेर्नुहुन्छ

यहोवाले “घृणा” गर्नुहुने कुराहरूमध्ये एक “झूट बोल्ने जिब्रो” पनि हो। (हितोपदेश ६:१६, १७) किनभने, “झूटको पिता” अरू कोही नभई स्वयं शैतान अर्थात्‌ दियाबल हो। (यूहन्‍ना ८:४४) अनि बाइबलले झूट राम्रो नराम्रो दुइ प्रकारको हुन्छ भनेर छुट्याएको छैन। “कुनै पनि झूट सत्यबाट आउँदैन।”—१ यूहन्‍ना २:२१.

त्यसकारण, परमेश्‍वरको मित्र बन्‍न चाहने जो कसैको नीति इमानदारी हुनुपर्छ। पन्ध्रौं भजनले यस्तो प्रश्‍न गर्छ: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँड़ामा को रहनपाउनेछ?” (पद १) बाँकी चार पदहरूमा यो प्रश्‍नको जवाफ कसरी दिइएको छ, आउनुहोस्‌ हामी विचार गरौं।

“त्यो, जो सोझो मनले हिंड्‌छ, र धर्म-कर्म गर्छ, र हृदयले सत्य बोल्छ।” (पद २) के यो तपाईंलाई पसलमा गएर सामान टप्काउने वा ठग्ने व्यक्‍तिको व्याख्यान जस्तो लाग्छ? आमाबाबुसित झूट बोल्ने, अनि ढोंग गर्ने व्यक्‍ति पो जस्तो लाग्छ कि? त्यस्तो कहिल्यै हुनसक्दैन! त्यसकारण परमेश्‍वरको मित्र बन्‍न चाहनुहुन्छ भने, तपाईं इमानदार हुनैपर्छ र त्यो पनि कामहरूमा मात्र होइन तर हृदयदेखि हुनुपर्छ।

“जसले आफ्नो जिब्रोले निन्दा गर्दैन, औ आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन।” (पद ३) के तपाईं अरूलाई घोच्ने, कठोर बोलीवचन भएका केटाकेटीहरूको देखासिकी गर्नुहुन्छ? अरूको कुरा काट्‌ने त्यस्तो बानीदेखि टाढा बस्ने इच्छा भित्र हृदयदेखि जगाउनुहोस्‌!

“जसको आँखामा बेकम्मा मानिस तुच्छ हुन्छ, तर परमप्रभुको भय मान्‍नेहरूलाई चाहिं त्यसले कदर गर्दछ। जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदलैंदैन।” (पद ४) झूट बोल्ने, छल गर्ने अनि छाडा कामहरू गरेर फूर्ति गर्नेहरूलाई पटक्कै साथी नबनाउनुहोस्‌; किनभने तपाईंले पनि त्यसै गरोस्‌ भनेर तिनीहरू चाहन्छन्‌। आफूले अनुभव गरेको कुरा बबीले यसरी बताए: “तपाईंसँग मिलेर झूट बोल्ने साथीले एक दिन तपाईंलाई फन्दामा पार्छ। त्यस्तो साथीलाई कहिल्यै भरोसा गर्न मिल्दैन।” त्यसकारण, इमानदारीको कदर गर्नेहरूलाई साथी बनाउनुहोस्‌।—भजन २६:४ तुलना गर्नुहोस्‌।

माथि पढेका पदहरूबाट के तपाईंले जो-जो आफ्नो वचन पूरा गर्छन्‌, यहोवाले तिनीहरूको मूल्यांकन वा “आदर” गर्नुहुँदोरहेछ भनेर याद गर्नुभो? मानिलिनुहोस्‌, तपाईंले शनिबारको दिन घरको कामकाज गर्न सघाउने वचन दिनुभएको थियो तर साथीहरूले त्यही दिउँसो तपाईंलाई बल खेल्न बोलाए। अब के तपाईं आफूले दिएको वचनलाई बेवास्ता गर्दै घरको सारा काम आमाबाबुको थाप्लोमा छाडेर साथीहरूसँग जानुहुन्छ वा पहिला आफ्नो वचनै पूरा गर्नुहुन्छ?

“जसले आफ्नो रूपियाँ व्याजमा लाउँदैन, नता निर्दोषको विरुद्धमा घूस लिन्छ। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।” (पद ५) ठग्नु वा बेइमानी गर्नुको मुख्य कारण के लोभ होइन र? जाँचमा चोर्नेहरू मेहनतै नगरी अंक पाउने लोभमा हुन्छन्‌। त्यस्तैगरि घूस खानेहरूका निम्ति न्यायभन्दा पैसा ठूलो हुन्छ।

हो, आफ्नो मतलब पूरा गर्न बेइमानी गर्ने नेताहरू वा ठूल-ठूला व्यापारीहरूलाई फाइदै भएको छ नि भनेर कसै कसैले औंल्याउँछन्‌। तर के तिनीहरूलाई सधैंभरि फाइदै भइरहन्छ त? भजन ३७:२ त्यसको जवाफ यसरी दिन्छ: “तिनीहरू चाँड़ैनै घाँसझैं काटिनेछन्‌, र हरियो झारझैं ओइलाउनेछन्‌।” तिनीहरूको गल्ती पक्रिएन वा कसैले तिनीहरूको खिसी गरेन भने तापनि यहोवा परमेश्‍वरले अन्ततः तिनीहरूलाई अवश्‍य दण्ड दिनुहुनेछ। तर जो जो परमेश्‍वरका मित्रहरू हुन्छन्‌ तिनीहरू “कहिल्यै ओइलाउनेछैनन्‌।” निस्सन्देह, तिनीहरू सधैंभरि बाँच्न पाउनेछन्‌।

“इमानदार अन्तस्करण” विकास गर्ने

अब भन्‍नुहोस्‌, के हर प्रकारको झूटदेखि अलग बस्ने बलियो कारण रहेनछ त? प्रेरित पावलले आफू र आफ्ना मित्रहरूबारे यसो भने: “हाम्रो असल विवेक छ भनी हामी विश्‍वास गर्दछौं।” (हिब्रू १३:१८) के तपाईंको विवेक पनि झूटो कुराप्रति त्यत्तिकै संवदेनशील छ? छैन भने, बाइबल अनि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! जस्ता बाइबलआधारित साहित्यहरूको अध्ययन गरेर आफ्नो विवेकलाई तहमा ल्याइहाल्नुहोस्‌।

बबी भन्‍ने केटोले त्यसै गर्दा नतिजा राम्रै भयो। तिनले झूटमाथि झूट बोलेर समस्यालाई लुकाउनु हुन्‍न भनेर सिके। तिनको अन्तस्करणले आमाबाबुसित इमानदारीपूर्वक कुरा गर्न उत्प्रेरित गर्छ। हो, कहिलेकाहीं सबै कुरा नलुकाई भन्दा तिनले दण्ड पनि पाए। तर जे होस्‌, इमानदार हुन सकेकोमा ‘भित्रदेखि सन्तुष्ट महसुस गरें’ भनेर तिनी स्वीकार्छन्‌।

सत्य बोल्नु सधैं सजिलो हुँदैन। तर सधैं सत्य बोल्ने निधो गर्ने व्यक्‍तिहरूको अन्तस्करण सधैं सफा हुन्छ, साथीहरूसितको सम्बन्ध पनि राम्रो हुन्छ अनि सबैभन्दा ठूलो कुरा, परमेश्‍वरको पालमा “बास गर्न” पाउनेछ! अतः इमानदार रहनु मसीहीहरूका लागि असल नीति मात्र नभई सही नीति पनि हो।

छलफलका लागि प्रश्‍नहरू

◻ कस्तो बेला झूट बोल्नु मन लाग्नसक्छ?

◻ झूट बोल्नु वा जाँचमा चोर्नु लाभदायी किन हुँदैन? आफूले देखेका कुरा वा अनुभवबाट कुनै उदाहरण दिन सक्नुहुन्छ कि?

◻ फटाहाले कसरी आफ्नो अन्तस्करणलाई बिगार्छ?

भजन १५ पढ्‌नुहोस्‌। इमानदार रहने सम्बन्धमा यी पदहरू कसरी लागू हुन्छन्‌?

◻ युवकयुवतीहरूले कसरी इमानदार अन्तस्करण कायम राख्नसक्छन्‌?

[पृष्ठ २१३-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘पढाइ ठग्ने विद्यार्थीहरूले भविष्यमा शिक्षा वा जागिर पाउने सम्भावना ज्यादै कम हुन्छ’

[पृष्ठ २१६-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलले झूट राम्रो नराम्रो दुइ प्रकारको हुन्छ भनेर छुट्याएको छैन

[पृष्ठ २१४-मा भएको चित्र]

कुरा टार्न गरेको बहानाबाजी आमाबाबुबाट लुक्‍तैन