सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?

विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?

अध्याय २३

विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?

‘केटाकेटी दुवै आपसमा प्रेम गर्छन्‌ भने के भो र? विवाह नै गर्नुपर्छ र?’ ‘मैले अहिलेसम्म यौनसम्बन्ध राखेकी छैन। के म ठीकै छु?’ किशोरकिशोरीहरूका मनमा यस्तै प्रश्‍नहरू खेलिरहेका हुन्छन्‌।

आलेन गटमासेर संस्थानले सन्‌ १९८१ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार “किशोरावस्थामा यौनसम्बन्ध नराख्ने केटा वा केटीलाई असाधारण मान्‍नुपर्छ। किनभने ८० प्रतिशत पुरुष अनि ७० प्रतिशत महिलाहरूले किशोरावस्थामै यौनसम्बन्ध राखिसकेका हुन्छन्‌।”

‘अनि राखेर के भो त?’ शायद तपाईं सोध्नुहोला। हुन पनि आखिर, अरूको माया चाहनु अस्वाभाविक पनि त होइन। अनि केटा होस्‌ या केटी, जवानीमा सबैको यौन आकांक्षा असाध्यै तीव्र हुन्छ र त्यसले व्यक्‍तिविशेषको ध्यान समेत बँटाउनसक्छ। अर्कोतिर साथीहरूले पनि त्यतिकै दबाब दिइराखेका हुन्छन्‌। शायद तिनीहरूले विवाहपूर्व यौनसम्बन्ध राख्नु रमाइलो अनुभव हो र साँचो प्रेम गर्नेहरू त्यसरी एक हुन चाहनु स्वाभाविक कुरा हो भन्लान्‌। वा मर्दले मात्र यौनसम्बन्ध राख्छ भन्‍नेहरू पनि होलान्‌। अनि अरूको अगाडि बेग्लै देखिन नपरोस्‌ भन्‍ने चाहनाले गर्दा शायद तपाईं यौनसम्बन्ध राख्ने दबाब महसुस गर्नुहुन्छ होला।

तथापि, मानिसहरूले जेसुकै भने तापनि, सबै युवकयुवतीहरू आफ्नो कौमार्य गुमाउन होम्मिंदैनन्‌। उदाहरणका लागि, एस्तर नाउँकी अविवाहित युवतीलाई नै लिऊँ। स्वास्थ्य परीक्षण गराउन जाँदा कुरै कुरामा डाक्टरले तिनलाई सोधे: “तपाईं कुन गर्भनिरोधक प्रयोग गर्नुहुन्छ?” एस्तरले “म कुनै पनि प्रयोग गर्दिनँ” भन्दा डाक्टर आत्तिए र भने: “के रे! गर्भवती हुने मन छ कि क्या हो? त्यसरी गर्भनिरोधक प्रयोग नगरेर गर्भवती हुँदैन भन्ठानेको कि क्या हो?” एस्तरले जवाफ दिइन्‌: “कसैसित यौन सम्बन्धै नराखेपछि म कसरी गर्भवती हुन्छु र!”

छक्क पर्दै डाक्टरले एक टक लाएर हेरे। “पत्यारै नलाग्ने कुरा। मकहाँ आउने बाह्र-तेह्र वर्षका केटाकेटीहरूले कुन जमानामा आफ्नो कौमार्य गुमाइसकेका हुन्छन्‌। तपाईं बडो गजबको हुनुहुँदो रहेछ।”

एस्तर “बडो गजबको” हुनुको कारण? तिनी बाइबलको यस्तो सल्लाह पालन गर्थिन्‌: “शरीर [विवाहपूर्व यौनसम्बन्ध वा] व्यभिचारको निम्ति होइन, . . . व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१३, १८) हो, विवाहपूर्व यौनसम्बन्ध राख्नु परमेश्‍वरको दृष्टिमा गम्भीर पाप हो भनेर तिनले बुझेकी थिइन्‌! “व्यभिचारबाट अलग” बस्नु “परमेश्‍वरको इच्छा” हो भनेर १ थिस्सलोनिकी ४:३ ले बताउँछ। तर, बाइबलले विवाहपूर्व यौनसम्बन्धलाई किन निषेध गर्छ?

विवाहपूर्व यौनसम्बन्धको नतिजा

परापूर्वकालमा केही बाइबलकालीन मानिसहरूले पनि विवाहपूर्व यौनसम्बन्ध राखेका थिए। त्यतिबेला शायद अनैतिक स्त्रीले युवकलाई यसो भन्दै लोभ्याउँदो हो: “आऊ! हामी विलासमा मन बहलाऔं, औ हामी रातभरि प्रेममा डुबौं।” (हितोपदेश ७:१८) तथापि, बाइबलले आजको हाँसोले भोलि रुवाउनसक्छ भनेर चेताउनी दिन्छ। त्यसै विषयमा सुलेमानले यसो भने: “व्यभिचारी स्त्रीको ओंठबाट मह चुहन्छ, औ त्यसको जिब्रो तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा ता त्यो ऐरेलुभन्दा तीतो हुन्छ, र दुइ-धारे तरवारजस्तै लाग्ने हुन्छ।”—हितोपदेश ५:३, ४.

विवाहपूर्व यौनसम्बन्धका नतिजाहरूमध्ये एउटा यौनजन्य रोगहरू हुन्‌। यौनसम्बन्ध राख्ने सकसकीले गर्दा निस्सन्तान हुनु परेको वा निको नै नहुने रोग लागेको रहेछ भनेर वर्षौंपछि थाह पाउँदा मनमा कत्ति चोट लाग्ला, कल्पना गर्नुहोस्‌! त्यसैकारण हितोपदेश ५:११ यस्तो चेताउनी दिन्छ: “तँ हाड़ र छाला मात्र हुनेछस्‌।” रोगको कुरा त छँदैछ, विवाहपूर्व यौनसम्बन्ध राख्दा अवैध गर्भधारण हुने (पृष्ठ १८४-५ हेर्नुहोस्‌), गर्भपात गर्नुपर्ने अनि समय नपुगी विवाह गर्नुपर्ने जस्ता अवस्थाहरू पनि सिर्जना हुनसक्छन्‌। के यीमध्ये कुनैको नतिजा राम्रो हुन्छ र? हो, विवाहपूर्व यौनसम्बन्ध राख्ने व्यक्‍तिले साँच्चै “आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।”—१ कोरिन्थी ६:१८.

यस्तै समस्याहरू सामना गर्नुपर्ने भएकोले डा. रिचर्ड लि, जीव विज्ञान तथा औषधोपचारसम्बन्धी येल पत्रिका-मा (अंग्रेजी) यसो भन्छन्‌: “भरोसायोग्य, कम खर्चालु, कम विषालु अनि अनावश्‍यक गर्भधारण अनि रोगहरूबाट समेत बचाउने कौमार्यजस्तो पुर्खौंदेखि मानिआएको, आदरणीय अनि स्वास्थ्यमा कुनै असर नपार्ने विधिको कुनै कदरै नगरी हामी गर्भधारण रोक्ने उपायहरू निकालेर, यौनजन्य रोगहरूको उपचार गर्न औषधीहरू बनाएर युवा पुस्तासित फूर्ति लगाउँदैछौं।”

दोषी भावना अनि नैराश्‍य

थुप्रै युवकयुवतीहरू विवाहपूर्व यौनसम्बन्ध राख्दा असाध्यै निराश पनि हुनुपरेका छन्‌। नतिजा? दोषी भावना अनि आत्मसम्मानको कमी। तेइस वर्षीय डेनिस यसो भन्दै स्वीकार्छन्‌: “के के न होला भन्ठानेको थिएँ। मानिसहरूले भनेजस्तो न्यानो मायाको अनुभूति हुँदैन रहेछ। बरु आफूले कत्रो ठूलो भूल गरेछु भन्‍ने कुराले पो असाध्यै पोल्दो रहेछ। मैले असाध्यै हीन भाव अनि आत्मसंयम हराएको महसुस गरें।” त्यस्तैगरि एउटी युवती यसो भन्छिन्‌: “वास्तविकता असाध्यै तीतो हुँदो रहेछ। . . . पार्टी खतम भएपछि मलाई आफ्नो हात खुट्टै लुलो भएजस्तो लाग्यो। आफूलाई घटिया अनि पतित महसुस गरें। अनि मेरो प्रेमीले ‘हदभन्दा अघि बढ्‌नु अघि नै रोक्नुपर्थ्यो नि’ भन्दा पनि मलाई त्यसको केही अर्थ लागेन।”

डा. जे सेगलअनुसार त्यस्ता प्रतिक्रियाहरू नौला होइनन्‌। कलेजमा अध्ययन गर्ने २,४३६ विद्यार्थीहरूका यौन गतिविधिहरूको अध्ययनपश्‍चात्‌ तिनी यस्तो निष्कर्षमा पुगे: “पहिलो पटक [यौनसम्बन्ध] राखेर सन्तुष्ट अनि रोमाञ्चित हुनेहरूभन्दा असन्तुष्ट अनि निराश हुनेहरू झन्डै दोब्बर छन्‌। पुरुष तथा स्त्री दुवै आफ्नो पहिलो अनुभवबाट असाध्यै निराश हुनु परेको सम्झन्छन्‌।” हो, विवाहित दम्पतीहरूले समेत कहिलेकाहीं यौन असन्तुष्टि महसुस गर्छन्‌। तर वैवाहिक जीवनको कुरा अर्कै छ। किनभने त्यहाँ साँचो प्रेम, समर्पणको भाव छ भने प्रायः सजिलै समस्या सुल्झाउन सकिन्छ।

छाडापनको मोल

तथापि, विवाहपूर्व यौनसम्बन्ध राख्ने केही युवकयुवतीहरू रत्तिभर दोषी भाव महसुस गर्दैनन्‌ र उल्टो केटा वा केटी रोजी रोजी आफ्नो यौन तृष्णा मेटाउन कुनै कसर बाँकी राख्दैनन्‌। कैशोर यौन गतिविधिहरूबारे अनुसन्धान गर्ने व्यक्‍ति, रबर्ट सोरेनसेनले त्यस्ता युवकयुवतीहरूले आफ्नो छाडापनको निकै ठूलो मोल चुकाउने गरेको पाएका छन्‌। सोरेनसेन लेख्छन्‌: “[धेरै व्यक्‍तिहरूसँग यौनसम्बन्ध राख्ने युवक-युवतीहरूसित] व्यक्‍तिगत तवरमा भेटेर अन्तरवार्ता लिंदा तिनीहरूमध्ये धेरैले आफ्नो जीवन उद्देश्‍यहीन अनि निरस भएको अनुभव गरेको पाइयो।” अझ तिनीहरूमध्ये ४६ प्रतिशतले त “अहिले म जुनप्रकारको जीवन बिताउँदैछु, त्यसले मेरा क्षमताहरूलाई बेकार खेर फ्याँक्नेछ” भनेर समेत मानिलिए। सोरेनसेनको अनुसन्धानअनुसार जथाभावी यौनसम्बन्ध राख्ने यस्ता युवकयुवतीहरूमा “आत्मसम्मान” कम भएको वा आफ्नो “इज्जत” गर्न नसकेको समेत देखियो।

वास्तवमा यो सबै कुरा हितोपदेश ५:९ का यी शब्दहरूभन्दा केही भिन्‍न छैन: अनैतिकतामा फस्नेहरूले “अरूको दृष्टिमा आफ्नो इज्जत” गुमाउँछन्‌।

जब होश फर्कन्छ

केटाकेटीले एक पटक अवैध सम्बन्ध राखेपछि प्रायः तिनीहरूको दृष्टिकोण नै बदलिन्छ। केटालाई आफ्नो प्रेमिकाप्रतिका भावनाहरू पहिलाजस्तो प्रबल नभएको महसुस हुनसक्छ; शायद आफ्नो प्रेमिका आकर्षकसमेत लाग्न छाड्‌ला। अर्कोतर्फ केटीले चाहिं आफू लुटिएको वा ठगिएको महसुस गर्न सक्छिन्‌। अम्नोन भन्‍ने केटो कुमारी केटी तामारको प्रेममा कतिसम्म पागल भएका थिए भन्‍ने बाइबलको घटनालाई सम्झनुहोस्‌ त। तर तिनले यौनसम्बन्ध राखेपछि के भयो? “अम्नोनले तिनलाई अत्यन्त घृणा गर्नलागे।”—२ शमूएल १३:१५.

मारिया भन्‍ने केटीको अनुभव पनि त्यस्तै छ। यौनसम्बन्ध राखेपछि महसुस गरेकी कुरा तिनी यसरी स्वीकार्छिन्‌: “(आफ्नो कमजोरी देखेर) आफैसित अनि मेरो प्रेमीसित असाध्यै घृणा लाग्यो। वास्तवमा, यौनसम्बन्ध राखेर हामी नजीक हुनेछौं भन्ठानेका थियौं तर त्यही कुराले गर्दा हाम्रो सम्बन्ध टुट्यो। मलाई फेरि तिनको मुखसमेत हेर्न मन लागेन।” हो, विवाह गर्नु अगावै यौनसम्बन्ध राख्ने केटाकेटी त्यो सिमानालाई नाँघ्छन्‌ जहाँबाट तिनीहरू फेरि कहिल्यै फर्केर आउन सक्‍तैनन्‌!

पारिवारिक जीवनसम्बन्धी अनुसन्धान गरेर निकै ख्याति कमाएका पल एच. ल्यान्डिस यसो भन्छन्‌: “[विवाहपूर्व यौनसम्बन्ध] राख्दा केही समयसम्म सम्बन्ध राम्रै होला तर पछिसम्म असर गर्ने नराम्रा पक्षहरू पनि छन्‌।” निस्सन्देह, यौनसम्बन्ध नराख्ने भन्दा राख्ने केटाकेटीहरूको प्रेमसम्बन्ध टुट्‌ने सम्भावना धेरै हुन्छ। कारण? अवैध यौनसम्बन्धले डाह र शंका उत्पन्‍न गराउँछ। एक युवक स्वीकार्छन्‌: “यौनसम्बन्ध राखिसकेपछि केही केटाहरू के सोच्छन्‌ भने, ‘मसँग यौनसम्बन्ध राख्ने यो केटीले अरूसँग पनि त्यस्तै सम्बन्ध राख्न के बेर।’ अरूको के कुरा, म आफैलाई त्यस्तो लागेको थियो। . . . म पहिलाभन्दा असाध्यै डाही र शंकालु हुनथालें।”

कत्ति उल्टा! किनकि साँचो प्रेमले कहिल्यै “डाह गर्दैन, . . . आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाई खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) हो, अन्धो वासनाले भिजेको प्रेमले कहिल्यै सम्बन्धलाई बलियो बनाउन सक्दैन।

कौमार्यका फाइदाहरू—मनोशान्ति अनि आत्मसम्मान

कौमार्य गुमाउन नचाहने केटाकेटीहरू नराम्रो नतिजाहरूबाट बच्छन्‌ नै तर साथसाथै अरू लाभहरू पनि उठाउँछन्‌। बाइबलमा आफ्नो प्रेमीप्रतिको प्रेम प्रबलै भए तापनि वासनामा नहोम्मिने सुन्दरीबारे एउटा घटना उल्लेख गरिएको छ। पछि तिनले गर्वसाथ भन्‍नसके: “म एक पर्खाल हुँ, र मेरा स्तन धरहराजस्तै छन्‌।” तिनी अनैतिक सम्बन्ध राख्ने दबाबमा पर्ने बित्तिकै सजिलै ‘खुल्ने ढोका’ जस्तै थिइनन्‌। नैतिक तवरमा तिनी अजेय किल्लाका अग्ला पर्खालहरूजस्ता थिइन्‌। तिनी “पवित्र” भनिन योग्यको थिइन्‌। अनि आफ्नो भावी पतिको विषयमा गर्वसाथ यसो भन्‍न सकिन्‌: “उहाँको नजरमा म सन्तुष्ट दिने भएकी छु।” तिनको मनोशान्तिले गर्दा तिनीहरू दुवै आपसमा झन्‌ सन्तुष्ट हुनसके।—श्रेष्ठगीत ६:९, १०, NW; ८:९, १०.

माथि उल्लेख गरिएको कुमारी केटी एस्तरले पनि त्यस्तै मनोशान्ति अनि आत्मसम्मान महसुस गरिन्‌। तिनले यसो भनिन्‌: “मलाई आफूदेखि खुशी लाग्थ्यो। मेरा सहकर्मीहरू मेरो खिल्ली उडाउँथे तर म आफ्नो कौमार्यलाई दुर्लभ हीरा सम्झन्थें।” यसबाहेक एस्तरजस्ता युवकयुवतीहरूलाई दोषी अन्तस्करणले पिरोल्दैन। उन्‍नाइस वर्षीय मसीही स्टेफनले भने, “यहोवा परमेश्‍वरसामु असल अन्तस्करण राख्नुभन्दा राम्रो कुरा अरू कुनै हुनसक्‍तैन।”

‘तर यौनसम्बन्ध नराखेसम्म कसरी एकअर्कालाई चिन्‍न सकिन्छ र?’ शायद केही युवकयुवतीहरू सोच्लान्‌।

लामो समयसम्म रहिरहने घनिष्ठता विकास गर्ने

यौनसम्बन्ध राख्दैमा सम्बन्ध बलियो हुने होइन; नता चुम्बनजस्ता स्नेहपूर्ण अभिव्यक्‍तिहरूले नै बलियो बनाउने हो। आन नाउँकी युवती यस्तो चेताउनी दिन्छिन्‌: “कहिलेकाहीं एकअर्कोको अति नै नजीक हुन केही बेर लाग्दैन रहेछ भनेर म आफैले अनुभव गरेकी छु।” केटाकेटी एक आपसमा स्नेह देखाउन व्यस्त हुन थाल्यो भने, अर्थपूर्ण कुराकानी बन्द हुन थाल्छ। फलतः विवाहपश्‍चात्‌ गम्भीर भिन्‍नताहरू देखा पर्नसक्छन्‌। आनले पछि अर्कै केटोसँग प्रेम गर्न थाल्दा शारीरिक तवरमा पहिलेजस्तो अति घनिष्ठ नहुने अठोट गरिन्‌ र अन्ततः त्यही केटोसित विवाह पनि गरिन्‌। तिनी अहिले यसो भन्छिन्‌: “हामी समस्याहरू सुल्झाउने र आफ्ना लक्ष्यहरू सुनाउने गर्थ्यौं। फलतः मैले हुनेवाला जीवनसाथीको व्यक्‍तित्व बुझ्नसकें। त्यसैकारण विवाहपश्‍चात्‌ हामी दुवै झस्किनु परेन।”

आन र तिनको प्रेमीलाई के आफूलाई काबूमा राख्न गाह्रो परेन? “अवश्‍य पऱ्‍यो।” “म जन्मैदेखि स्नेह देखाउन मन पराउने खालकी केटी थिएँ। तर हामीले त्यसो गर्दा आउनसक्ने खतराहरूबारे छलफल गऱ्‍यौं र एक आपसलाई काबूमा राख्न मदत पनि गऱ्‍यौं। हामी दुवै जना परमेश्‍वरलाई खुशी पार्न चाहन्थ्यौं र कुनै कुराले हाम्रो वैवाहिक जीवन तीतो बनाओस्‌ भनेर चाहँदैनौं थियौं।”

तर भर्खरै विवाह गर्ने दम्पतीले पहिल्यै यौन अनुभव गरिसकेको छ भने फाइदा गर्छ होइन र? होइन। बरु उल्टा त्यसले प्रायः वैवाहिक घनिष्ठता बढ्‌न दिंदैन! वास्तवमा विवाहपूर्व सम्बन्ध राख्नुको कारणै वासना मेटाउनु हो र त्यसले यौनसम्बन्धको शारीरिक पक्षलाई मात्र जोड दिइरहेको हुन्छ। अनियन्त्रित वासनाले आपसी सम्मानलाई भित्रैदेखि खोक्रो बनाउँछ। अनि एकपल्ट स्वार्थी बानी बसिसकेपछि छुटाउन गाह्रो हुन्छ र अन्ततः त्यसले केटा र केटीबीचको सम्बन्धलाई नै खत्तम पार्नसक्छ।

वैवाहिक जीवनमा स्वास्थ्यकर अनि घनिष्ठ सम्बन्ध बसाल्न आत्मसंयमको खेती गर्नुपर्ने हुन्छ। पति या पत्नीले आफ्नो मात्र होइन तर एकअर्काको ‘यौन आवश्‍यकता पूरा गर्नुमा’ पनि जोड दिनुपर्छ। (१ कोरिन्थी ७:३, ४, NW) विवाहपूर्व यौनसम्बन्ध राख्नुभएन भने तपाईंलाई त्यस्तो आत्मसंयम खेती गर्न गाह्रो हुनेछैन। त्यस्तो आत्मसंयमले तपाईंलाई आफ्नो होइन अरूको हितलाई निःस्वार्थतापूर्वक प्राथमिकता दिन सिकाउँछ। अनि यो पनि नबिर्सनुहोस्‌, वैवाहिक सन्तुष्टि केवल शारीरिक सम्बन्धमै सीमित हुँदैन। समाजशास्त्री सेमोर फिसरअनुसार स्त्रीले राम्रो यौन प्रतिक्रिया देखाउने नदेखाउने कुरा पतिले “कत्तिको आफ्नो पत्नीलाई बुझ्न सकेका छन्‌ अनि . . . कत्तिको भरोसा कमाएको छ” त्यसमा अनि स्वयं पत्नीले आफ्नो पतिप्रति “कत्तिको घनिष्ठता महसुस गरेकी छिन्‌, कत्तिको भर परेकी छिन्‌” त्यसमा निर्भर गर्छ।

चाखलाग्दो कुरा, १७७ विवाहिताहरूको अध्ययन गर्दा विवाहपूर्व यौनसम्बन्ध राख्नेहरूमध्ये ७५ प्रतिशतले विवाह गरेको पहिलो दुइ तीन हप्तासम्म यौनसम्बन्ध राख्न कठिनाइ भएको रिपोर्ट गरे। यसबाहेक, लामो समयदेखि यौन कठिनाइ महसुस गर्नेहरू सबैले “विवाहपूर्व यौनसम्बन्ध” राखेको पाइयो। सोही अध्ययनले थप के पनि पत्ता लगाएको छ भने, विवाहपूर्व यौनसम्बन्ध राख्ने पुरुष तथा स्त्रीले विवाहपश्‍चात्‌ परस्त्री वा परपुरुषसित यौनसम्बन्ध राख्ने सम्भावना झन्डै दुइ गुना बढी हुन्छ! साँच्चै बाइबलका यी शब्दहरू कत्ति सत्य छन्‌: “व्यभिचारले . . . बुद्धि नाश पार्छ।”—होशे ४:११, NW.

‘तपाईं जे छर्नुहुन्छ त्यही काट्‌नुहुन्छ।’ (गलाती ६:७, ८) वासना छर्नुभयो भने शंका र असुरक्षाका भावनाहरू काट्‌नुहुन्छ। आत्मसंयम छर्नुभयो भने वैवाहिक वफादारी अनि सुरक्षा काट्‌नुहुन्छ। हामीले सुरुमा उल्लेख गरेको एस्तर नाउँकी केटीले सुखी वैवाहिक जीवन बिताएको निकै वर्ष भइसक्यो। तिनको पति अहिले यसो भन्छन्‌, “मेरी पत्नी मेरी हो र म उसको हुँ भनेर महसुस गर्दा मनभित्रदेखि आनन्द लाग्छ। यस्तो भरोसाले दिने अनुभूतिभन्दा मीठो अनुभूति अरू कुनै हुनसक्‍तैन।”

विवाह नहोउञ्जेल यौनसम्बन्ध नराख्ने केटाकेटीहरूले परमेश्‍वरलाई दुःखी बनाएका छैनौं भन्‍ने मनोशान्ति पनि महसुस गर्छन्‌। तथापि, विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि टाढा बस्नु बायाँ हातको खेल होइन। त्यसोभए विवाहपूर्व यौनसम्बन्ध नराख्न कुन कुराले तपाईंलाई मदत गर्नसक्छ?

छलफलका लागि प्रश्‍नहरू

◻ तपाईंले चिनेजानेका केटाकेटीहरूबीच विवाहपूर्व यौनसम्बन्ध राख्नेहरू कत्तिका छन्‌? के तिनीहरूले तपाईंलाई कुनै किसिमको समस्या वा दबाब दिएका छन्‌?

◻ विवाहपूर्व यौनसम्बन्ध राखेपछि आइपर्ने केही नकारात्मक असरहरू के हुन्‌? यस्ता केही नकारात्मक असरहरूले पीडित कुनै केटा वा केटीलाई चिन्‍नुहुन्छ कि?

◻ के गर्भनिरोधक कैशोर गर्भधारणको समाधान हो?

◻ अवैध यौनसम्बन्ध राखेपछि केही युवकयुवतीहरू किन दोषी भाव अनि नैराश्‍य महसुस गर्छन्‌?

◻ अविवाहित दम्पतीले यौनसम्बन्ध राखेमा के तपाईंलाई तिनीहरू अझ घनिष्ठ हुन्छ जस्तो लाग्छ? तपाईंले त्यसो भन्‍नुको कारण?

◻ विवाहपूर्व भेटघाट गर्दा केटाकेटीले कसरी एकअर्कालाई राम्ररी चिन्‍नसक्छन्‌?

◻ विवाह नहोउञ्जेल कौमार्य नगुमाउँदा के के फाइदा हुन्छ जस्तो तपाईंलाई लाग्छ?

[पृष्ठ १८२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“किशोरावस्थामा यौनसम्बन्ध नराख्ने केटा वा केटीलाई असाधारण मान्‍नुपर्छ।”—आलेन गटमासेर संस्थान

[पृष्ठ १८७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“के के न होला भन्ठानेको थिएँ। मानिसहरूले भनेजस्तो न्यानो मायाको अनुभूति हुँदैन रहेछ”

[पृष्ठ १९०-मा भएको ठूलो अक्षरको क्याप्सन]

विवाहपूर्व यौनसम्बन्ध राख्ने केटाकेटी त्यस सिमानालाई नाँघ्छन्‌ जहाँबाट तिनीहरू फेरि कहिल्यै फर्केर आउन सक्‍तैनन्‌!

[पृष्ठ १८४ र १८५-मा भएको पेटी/चित्र]

अहँ, यो कसरी हुनसक्छ!’—कैशोर गर्भधारणको समस्या

“वर्षेनी झन्डै १० प्रतिशत किशोरीहरू गर्भवती हुन्छन्‌ र यो दर बढ्‌दैछ। किशोरकिशोरीहरूले आफ्नो बानीबेहोरा परिवर्तन नगर्ने हो भने ४० प्रतिशत युवतीहरू किशोरावस्थामै कम्तीमा एक पटक गर्भवती हुनेछन्‌।” यो हो, कैशोर गर्भाधारण: समस्या यथावतै छ (अंग्रेजी) भन्‍ने किताबको प्रतिवेदन। अनि कस्ता खाले किशोरीहरू गर्भवती हुन्छन्‌? युवावस्था (अंग्रेजी) पत्रिकाले यस्तो जवाफ दियो: “विभिन्‍न आर्थिक तथा सामाजिक पृष्ठभूमिका केटीहरू स्कूल जाने उमेरमै गर्भवती हुन्छन्‌। . . . कुनै खास जातिका वा धर्मका वा देशका वा ठाउँका केटीहरू मात्र स्कूल जाने उमेरमै गर्भवती हुन्छन्‌ भनेर देखाउने बाटो छैन।”

तथापि, कमै केटीहरू गर्भवती हुन चाहन्छन्‌। किशोरावस्थामा गर्भधारण गर्ने ४०० भन्दा धेरै केटीहरूको उल्लेखनीय सर्वक्षेण गर्ने फ्रान्क फर्स्टेनबर्ग जुनियरले पाएअनुसार “अन्तरवार्ता लिंदा प्रायजसो केटीहरूले भन्‍ने शब्दै ‘म गर्भवती हुन्छु जस्तो कहिल्यै लागेको थिएन’ भन्‍ने थियो।”

आफ्ना केही साथीहरूले गर्भवती नभई यौनसम्बन्धको आनन्द उठाएको देखेर कोही केटीहरू आफू पनि त्यसै गर्नसक्छु कि भन्ठान्छन्‌। फर्स्टेनबर्ग अझ यसो भन्छन्‌: “थुप्रै केटीहरूले आफू ‘तुरुन्तै’ गर्भवती हुन्छु भनेर नसोचेको कुरा बताए। अरू केटीहरूले चाहिं ‘कहिलेकाहीं’ मात्र यौनसम्बन्ध राखें भने गर्भवती हुँदिनँ भनेर सोचेको पाइयो। . . . तिनीहरूले आफू जति धेरै समयसम्म गर्भधारण नगरी बस्न सक्यो उति नै खतरा मोल्दै गएको पाइयो।”

तथापि, सत्य कुरा के हो भने, यौनसम्बन्ध राख्ने बित्तिकै गर्भ रहने खतरा सुरु हुन्छ। (५४४ जना केटीहरूको समूहमा ‘झन्डै २० प्रतिशत केटीहरू यौनसम्पर्क राखेको ६ महिनाभित्र गर्भवती भए।’) रबीनजस्ती विवाह नगरी आमा बन्‍ने थुप्रै केटीहरू जानाजानी गर्भनिरोधक प्रयोग गर्न मान्दैनन्‌। किनकि गर्भनिरोधकले हानि गर्छ भनेर तिनीहरूले सोचेका हुन्छन्‌। रबीन यो पनि स्वीकार्छिन्‌: “मेरो दृष्टिमा गर्भनिरोधक प्रयोग गर्नु, आफूले केही गलत काम गर्दैछु भनी मानि लिनु थियो। म कसरी त्यो स्वीकार्नसक्थें र। त्यसकारण गलत भन्‍ने कुरालाई मनबाटै हटाउन मैले गर्भनिरोधक प्रयोग गरिनँ र गर्भधारण होस्‌ भनेर पनि चिताइनँ।”

विवाह नगरी आमा बन्‍ने युवतीहरू प्रायः यस्तै तर्क गर्छन्‌। फर्स्टेनबर्गको अध्ययनअनुसार “झन्डै आधाजति किशोरकिशोरीहरूले विवाह नभएसम्म यौनसम्बन्ध नराख्नु अति महत्त्वपूर्ण छ भन्‍ने दृष्टिकोण राखेको पाइयो। . . . निस्सन्देह, यसको मतलब हाम्रा किशोरकिशोरीहरूको काम र कुराबीच ठूलो भिन्‍नता छ। . . . किनभने तिनीहरू एउटा कुरा सिकेर कामचाहिं अर्कै गर्दैछन्‌।” यो भावनात्मक भिन्‍नताले गर्दा “युवतीहरूलाई आफ्ना यौन कर्तुतहरूका नतिजाहरूलाई व्यवहारिक दृष्टिले हेर्न असाध्यै कठिन परेको छ।”

यद्यपि, गर्भनिरोधक प्रयोग गर्दैमा गर्भधारण नहुने होइन। केटाकेटीहरूका केटाकेटी नामक (अंग्रेजी) किताबले हामीलाई यो सम्झाउन चाहन्छ: “कुनै पनि गर्भनिरोधक शत प्रतिशत सुरक्षित छैन। . . . अविवाहित किशोरकिशोरीहरूले नबिराई गर्भनिरोधक प्रयोग गऱ्‍यो नै भने पनि . . . [सं.रा.-मा] ५,००,००० किशोरीहरू वर्षेनी गर्भवती हुनेछन्‌।” सोही किताबमा विवाहपूर्व गर्भवती हुने प्याट नाउँ गरेकी १६ वर्षीया किशोरीको भनाइ यसरी उद्धरण गरिएको छ: “म नबिराई [गर्भनिरोधक चक्की] खान्थें। सत्ते सत्ते, मैले एक दिन बिराइनँ।”

बाइबलले यस्तो चेताउनी दिन्छ: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) गर्भधारण त, व्यभिचार गर्ने व्यक्‍तिले कटनी गर्ने एउटा फल मात्र हो। तथापि, खुशीको कुरा, विवाह नगरी आमा बन्‍ने युवतीहरू अनि तिनीहरूजस्तै अनैतिकतामा फस्ने सबै युवक युवतीहरू राजा दाऊदले जस्तै पश्‍चात्तापी मनोवृत्ति लिएर परमेश्‍वरकहाँ फर्कनसक्छन्‌। ती नै राजाले यसो भनेर प्रार्थना गरेका थिए: “मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌।” (भजन ५१:२) त्यसरी पश्‍चात्ताप गर्ने आमाहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा आफ्ना छोराछोरीको पालन-पोषण” गर्न परमेश्‍वरले मदत गर्नुहुनेछ।—एफिसी ६:४.

यद्यपि, सबैभन्दा बुद्धिमानी कुरा चाहिं विवाह नगरी यौनसम्बन्ध राख्दै नराख्नु हो! केही हुन्‍न भन्‍नेहरूको लहैलहैमा लागेर कहिल्यै भूल नगर्नुहोस्‌।

[पृष्ठ १८३-मा भएको चित्र]

अनैतिक यौनसम्बन्ध राखेपछि युवक युवतीहरू प्रायः ठगिएको वा इज्जत गुमाउनु परेको महसुस गर्छन्‌

[पृष्ठ १८६-मा भएको चित्र]

विवाहपूर्व यौनसम्बन्ध राख्ने युवकयुवतीहरू अक्सर यौनजन्य रोगहरूका शिकार हुन्छन्‌

[पृष्ठ १८८-मा भएको चित्र]

बढ्‌ता स्नेह देखाउने युवकयुवतीहरू नैतिक खतरामा पर्नसक्छन्‌ र तिनीहरूबीच अर्थपूर्ण कुराकानी कम हुनथाल्छ

[पृष्ठ १८९-मा भएको चित्र]

वैवाहिक सुख केवल शारीरिक सम्बन्धमा निर्भर हुँदैन