सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?

हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?

अध्याय २५

हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?

“परमेश्‍वरले हस्तमैथुनलाई गलत ठान्‍नुहुन्छ वा हुन्‍न भन्‍ने कुरामा म अलि अलमल्ल परेको छु। अनि के त्यसले मेरो शरीर र दिमागलाई हानि पुऱ्‍याउँछ? अनि पछि मैले विवाह गरें भने के त्यसले केही समस्याहरू उत्पन्‍न गर्छ?”—पन्ध्र वर्षीया मेलिसा.

आजभोलि थुप्रै किशोरकिशोरीहरूको मनमा यस्तै प्रश्‍नहरू खेलिरहेका हुन्छन्‌। कारण, हस्तमैथुन व्यापक छ। प्रतिवेदनअनुसार झन्डै ९७ प्रतिशत पुरुष अनि ९० प्रतिशत स्त्रीहरूले २१ वर्षको उमेरभित्र हस्तमैथुन गरिसकेका हुन्छन्‌। यसबाहेक, हस्तमैथुनलाई छालामा मुसा देखा पर्नु, आँखाको ढकनी रातो हुनुदेखि लिएर छारे अनि मानसिक रोगजस्ता ठूल-ठूला रोगहरूको समेत दोष लगाइएको छ।

तथापि, २० औं शताब्दीका चिकित्सकहरू अहिले त्यस्तो दाबा गर्दैनन्‌। वास्तवमा, हस्तमैथुनले कुनै किसिमको शारीरिक विकार उत्पन्‍न गराउँदैन भनेर समेत डाक्टरहरू विश्‍वास गर्छन्‌। अनुसन्धानकर्ता विलियम मास्टर्स अनि भर्जिनिया जोनसनअनुसार “कम गरोस्‌ वा धेरै, हस्तमैथुन गर्ने व्यक्‍तिलाई मानसिक रोग लाग्छ भन्‍ने कुनै वैज्ञानिक आधार छैन।” तथापि, त्यसका अन्य खराब असरहरू भने अवश्‍य छन्‌! अनि थुप्रै मसीही युवकयुवतीहरू हस्तमैथुनबारे चिन्तित हुनु स्वाभाविकै हो। “हस्तमैथुन गर्दा म यहोवा परमेश्‍वरले भनेअनुसार गर्न नसकेको महसुस गर्थें। कहिलेकाहीं असाध्यै निराश पनि हुन्थें।” यी हुन्‌ एक युवकको अनुभव।

तर हस्तमैथुन भनेको के हो? यो कत्तिको गम्भीर छ अनि थुप्रै युवकयुवतीहरूलाई हस्तमैथुन गर्ने बानी छोड्‌न किन असाध्यै गाह्रो पर्छ?

युवकयुवतीहरूलाई हस्तमैथुन गर्ने बानी किन सजिलै पर्छ

हस्तमैथुन भनेको आफैले आफूलाई उत्तेजित पारेर कामोत्तेजना जगाउनु हो। युवावस्थामा पुगेपछि केटाकेटीहरूको यौन इच्छा प्रबल हुन्छ। जननेन्द्रियहरूलाई असर गर्ने शक्‍तिशाली हार्मोनहरू शरीरले उत्पन्‍न गर्छ। अनि त्यस्तो उमेरमा पुगेका केटाकेटीहरूले आफ्नो जननेन्द्रियमा आनन्ददायी उत्तेजना उत्पन्‍न गर्ने क्षमता भएको महसुस गर्न थाल्छन्‌। कहिलेकाहीं त कामुक कुराहरू मनमै नहुँदा पनि उत्तेजना बढ्‌नसक्छ।

उदाहरणका लागि, चिन्ता वा डर लाग्दा अनि हतोत्साहित हुँदा केटाहरूको स्नायु प्रणालीलाई त्यसले असर गर्छ र कामोत्तेजना जाग्नसक्छ। वीर्य बन्‍ने प्रक्रियाले गर्दा निद्राबाट उठ्‌दा यौन उत्तेजना भइरहेको वा निद्रामै पनि वीर्य पतन हुनसक्छ। तर प्रायः यसरी वीर्य पतन हुँदा कामोत्तेजक सपना देखिन्छ। त्यस्तैगरि, केटीहरूमध्ये कसै-कसैले आफू बिनाकारण त्यतिकै उत्तेजित भएको पाउनसक्छन्‌। अनि महिनावारी सुरु हुनुभन्दा अघि वा पछि प्रायजसो केटीहरूको यौन इच्छा बढ्‌नसक्छ।

त्यसकारण, तपाईं पनि बेला-बेलामा त्यस्तै उत्तेजना महसुस गर्नुहुन्छ भने नडराउनुहोस्‌। युवावस्थामा प्रवेश गर्ने सबैलाई त्यस्तै हुन्छ। त्यस्तो उत्तेजना अति प्रबल छ भने पनि त्यसलाई हस्तमैथुन भन्‍न मिल्दैन, किनभने त्यस्तो उत्तेजना पूर्णतया तपाईंको हातबाहिरको कुरा हो। तथापि, तपाईंको उमेर चढ्‌दै गएपछि उत्तेजना कम हुँदै जान्छ।

यद्यपि, भर्खर भर्खर यस्ता उत्तेजनाहरू महसुस गर्न थाल्दा केही किशोरकिशोरीहरू के हो, कसो हो भनेर उत्सुक हुन्छन्‌ र आफ्ना जननेन्द्रियहरू खेलाएर कामोत्तेजना जगाउन थाल्छन्‌।

‘आगोमा घ्यू थप्ने’

मनपरि यौनसम्बन्ध राख्ने स्त्रीलाई एक जना युवकले भेट्‌दा के हुन्छ, त्यसबारे बाइबलले एउटा घटना उल्लेख गरेको छ। युवकलाई चुम्बन गर्दै त्यस स्त्री यसो भन्छिन्‌: “आऊ! हामी विलासमा मन बहलाऔं।” अनि त्यो युवक के गर्छ? “लाटो मूर्खझैं उ त्यसको पछि लाग्यो, कसाईखानाको बाटोतिर लागेको गोरुझैं पासोतिर लागेको मृगझैं।” (हितोपदेश ७:७-२२) निस्सन्देह, यस युवकको कामोत्तेजना हार्मोनहरूको सक्रियताले गर्दा होइन, बरु उसले देखे र सुनेका कुराहरूले जाग्यो।

यही कुरालाई स्वीकार्दै एक युवक यसो भन्छन्‌: ‘मैले हस्तमैथुन गर्नुको मूल कारणै मनमा खेलाउने गरेका कुराहरू हुन्‌। टिभी खोल्दा अनैतिकताले भरिएको कुनै कार्यक्रम छ भने म त्यसलाई बाँकी राख्दिन थिएँ र कहिलेकाहीं केबल टिभीमा नग्न दृश्‍यहरूले भरिएको कार्यक्रमसमेत हेर्थें। त्यस्ता दृश्‍यहरू यति गजबका हुन्छन्‌ कि तपाईंको दिलोदिमागमै ठप्प बस्छन्‌ र पछि ती नै दृश्‍यहरू मनमा खेलिरहन्छन्‌। अनि आगोमा घ्यू थपेजस्तै त्यही मनमा खेलेका कुराहरूले हस्तमैथुन गर्ने इच्छा जगाउँछ।’

हो, प्रायः आफूले पढे, सुने र देखेका कुराहरू अनि अरूसँग के विषयमा कुरा गरिन्छ अथवा कुन कुरा मनमा खेलाइन्छ, त्यसैले हस्तमैथुन गर्ने इच्छा जगाउँछ। पच्चीस वर्षीया युवती यसो भन्छिन्‌: “कोसिस गर्दागर्दै पनि मैले हस्तमैथुन गर्ने बानी छोड्‌न सकेको थिइनँ। म रोमान्टिक उपन्यासहरू पढ्‌थें र त्यसले मेरो बानी झनै बिगाऱ्‍यो।”

“तनाउ कम गर्ने औषधी”

यही युवतीको अनुभवबाट हस्तमैथुन गर्ने बानी छुटाउन असाध्यै गाह्रो हुनुको कारण पनि बुझ्न सकिन्छ। तिनी अगाडि यसो भन्छिन्‌: “प्रायः म तनाउ वा चिन्तामा परेको बेला हस्तमैथुन गर्थें। त्यस्तोबेला हस्तमैथुनले दिने आनन्द जँड्याहाले तनाउ कम गर्न पिएको रक्सीसरह हुन्थ्यो।”

अनुसन्धानकर्ता सुजान अनि इरभिंग सारनोफ यसो भन्छन्‌: “अरूले तिरस्कार गर्दा वा कुनै कुराको डर लाग्दा केही व्यक्‍तिहरूको निम्ति सान्त्वना पाउने कुरा नै हस्तमैथुन हुनसक्छ। अरूचाहिं भावनात्मक तवरमा अति नै तनाउग्रस्त हुँदा मात्र कहिलेकाहीं हस्तमैथुन गर्ने गर्नसक्छन्‌।” स्पष्टतः चित्त दुख्दा, निराश हुँदा, एक्लै हुँदा वा अति तनाउग्रस्त हुँदा अरूहरू पनि हस्तमैथुन गर्छन्‌। हस्तमैथुनले तिनीहरूका निम्ति “तनाउ कम गर्ने औषधीको” काम गरिरहेको हुन्छ।

बाइबल के भन्छ?

एक पटक एक युवकले प्रश्‍न गरेका थिए: “के हस्तमैथुन क्षमा गर्नै नमिल्ने पाप हो?” बाइबलमा कतै पनि हस्तमैथुनको उल्लेख गरेको पाइँदैन। बाइबलकालीन युनानी संसारमा हस्तमैथुन व्यापक अनि हस्तमैथुन अर्थ लाग्ने थुप्रै युनानी शब्दहरू प्रयोगमा भए तापनि तीमध्ये कुनै शब्द बाइबलमा पाइँदैन।

ओनानले ‘वीर्य भुइँमा झारेको’ हुनाले परमेश्‍वरले तिनको प्राण लिनुभएको हो। तथापि, तिनले हस्तुमैथुन गरेका थिएनन्‌, बरु सम्भोग गर्दा त्यसलाई नटुंगाई बीचैमा रोकेका थिए। यसबाहेक, ओनानले देवर-भाऊज्यू बिहे गर्ने प्रचलनअनुसार आफ्नो दाइको निम्ति सन्तान जन्माउनुपर्ने कर्तव्यलाई स्वार्थी भई पूरा नगरेको हुनाले त्यसरी प्राण गुमाउनु परेको थियो। (उत्पत्ति ३८:१-१०) त्यसोभए, लेवी १५:१६-१८ मा उल्लिखित ‘वीर्य पतन’ चाहिं के हो नि? सम्भवतः त्यसले हस्तमैथुनलाई नभई निद्राको दौडान हुने वीर्य पतनका साथै वैवाहिक यौन सम्पर्कलाई संकेत गरेको हुनुपर्छ।

बाइबलमा हस्तमैथुनबारे सुस्पष्ट निषेधाज्ञा छैन भने, के त्यसलाई अहानिकारक भन्‍नु मिल्दैन र? पटक्कै मिल्दैन! व्यभिचारजस्ता गम्भीर पापहरूको सूचीमा नपर्ने भए तापनि हस्तमैथुन फोहर बानीचाहिं अवश्‍य हो। (एफिसी ४:१९) परमेश्‍वरको वचनका सिद्धान्तहरूले यस्तो फोहर बानीलाई दृढतापूर्वक हटाएर ‘आफ्नो फायदा’ हुने बाटोमा चल्ने सल्लाह दिन्छ।—यशैया ४८:१७.

“कामवासना” जगाउने

बाइबल यस्तो आग्रह गर्छ: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा पार, . . . जुन अशुद्धपना उद्वेग [“कामवासना,” NW] हो।” (कलस्सी ३:५) यहाँ “कामवासना” भन्‍ने शब्दले स्वाभाविक यौन अनुभूतिलाई नभई अनियन्त्रित वासनालाई संकेत गर्छ। त्यस्तो “कामवासना[ले]” रोमी १:२६, २७ मा पावलले उल्लेख गरेका गम्भीर पापहरूतर्फ डोऱ्‍याउनसक्छ।

तर हस्तमैथुनले त्यस्तै इच्छाहरूलाई “वशमा” पार्छ होइन र? पार्दैन, बरु उल्टो जगाउँछ। जस्तै एक युवकले यसो भने: “हस्तमैथुन गर्दा तपाईंको मनमा खराब इच्छाहरू खेलिरहेका हुन्छन्‌ र त्यसले त्यस्तो खराब इच्छा पूरा गर्ने लालसा झनै बढाउँछ।” हस्तमैथुनको दौडान यौन आनन्द बढाउन प्रायः अनैतिक कल्पनाहरूको सहारा लिइन्छ। (मत्ती ५:२७, २८) तसर्थ, हस्तमैथुन गर्ने व्यक्‍ति मौका मिल्ने बित्तिकै सजिलै अनैतिकतामा फस्नसक्छ। एक युवकलाई त्यस्तै भएको थियो। तिनी यसो भन्दै स्वीकार्छन्‌: “हस्तमैथुन गरें भने कुनै स्त्रीसित यौनसम्बन्ध नराखी आफ्नो यौनइच्छा पूरा गर्नसक्छु जस्तो लागेको थियो। बरु उल्टो त्यसले त्यस्तो यौनसम्बन्ध राख्ने इच्छा झन्‌ जगायो।” अन्ततः तिनले व्यभिचार गरे र यसमा अचम्म मान्‍नुपर्ने कुरा पनि छैन। किनभने राष्ट्रव्यापी सर्वेक्षेण लिंदा (सं.रा.-मा) हस्तमैथुन गर्ने अधिकांश युवकयुवतीहरूले व्यभिचार पनि गरिरहेको भेट्टाइयो। हस्तमैथुन गर्नेहरूमध्ये त्यसरी व्यभिचार गर्नेहरूको संख्या झन्डै ५० प्रतिशत थियो!

मानसिक तथा भावनात्मक दुवै तवरमा बिटुलो पार्छ

हस्तमैथुनले मानसिक तवरमा भ्रष्ट पार्ने केही मनोवृत्तिहरू पनि विकास गर्छ। (२ कोरिन्थी ११:३ तुलना गर्नुहोस्‌।) हस्तमैथुन गर्ने व्यक्‍तिले आफू कसरी शारीरिक तवरमा उत्तेजित हुने त्यो मात्र सोचिरहेको हुन्छ, जुन पूर्णतया स्वार्थपूर्ण कुरा हो। यसरी यौन भन्‍ने कुरा प्रेमको परिधिबाहिर पर्न जान्छ र त्यस व्यक्‍तिको निम्ति केवल तनाउमुक्‍त गर्ने साधन बन्‍न जान्छ। परमेश्‍वरले यौनइच्छा केवल यौनसम्बन्ध गाँसेर—त्यो पनि पति र पत्नीबीच एउटा प्रेमको अभिव्यक्‍तिको रूपमा पूरा होस्‌ भन्‍ने चाहनुभएको थियो।—हितोपदेश ५:१५-१९.

हस्तमैथुन गर्ने व्यक्‍तिले विपरीत लिंगको व्यक्‍तिलाई यौन सन्तुष्टि पूरा गर्ने साधनको रूपमा मात्र लिन्छ। यसप्रकार, हस्तमैथुन गर्ने बानीले विकास गरेका गलत मनोवृत्तिहरूले व्यक्‍तिविशेषको “आत्मा” अर्थात्‌ मानसिकतालाई भ्रष्ट पार्छ। कहिलेकाहीं त वैवाहिक जीवनमा समेत हस्तमैथुनले गर्दा समस्याहरू देखा परिरहन्छन्‌। त्यसैकारण परमेश्‍वरको वचन यस्तो आग्रह गर्छ: “ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।”—२ कोरिन्थी ७:१.

दोषी भावनालाई सन्तुलित दृष्टिले हेर्ने

हस्तमैथुन गर्ने बानी छाड्‌न सफल हुने थुप्रै युवकयुवतीहरू कहिलेकाहीं फेरि त्यही काम गर्न पुग्छन्‌। तर खुशीको कुरा, परमेश्‍वर दयालु हुनुहुन्छ। भजनरचयिताले यसो भने: “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरूमाथि तपाईं अति कृपालु हुनुहुन्छ।” (भजन ८६:५) हस्तमैथुन गर्न छाडिसकेका मसीहीले फेरि हस्तमैथुन गर्न थाल्दा दोषी अन्तस्करणले पिरोल्नसक्छ। यद्यपि, “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ” भनेर बाइबलले बताउँछ। (१ यूहन्‍ना ३:२०) उहाँ हाम्रो पाप कोट्याइरहनुहुन्‍न। आफ्नो ज्ञानको महानताले गर्दा उहाँ दयापूर्वक हाम्रो बिन्ती सुन्‍नुहुन्छ र क्षमा गर्नुहुन्छ। यसै विषयमा एउटी महिलाले यसो भनिन्‌: “म असाध्यै दोषी महसुस गर्थें। तर यहोवा दयालु परमेश्‍वर हुनुहुन्छ र उहाँले हाम्रो हृदयको कुरा पढ्‌न सक्नुहुन्छ अनि मैले गरेका प्रयत्नहरू र मेरा मनसायहरू बुझ्नुहुन्छ भन्‍ने कुराले मलाई अचाक्ली निराश हुनदेखि रोक्छ।” हस्तमैथुन गर्ने बानीसित लड्‌नुभयो भने, तपाईं व्यभिचारजस्तो गम्भीर पापमा फस्ने सम्भावना कम हुन्छ।

यस सम्बन्धमा सेप्टेम्बर १, १९५९ सालको प्रहरीधरहरा-मा (अंग्रेजी) यस्तो लेखिएको थियो: “हाम्रो पुरानो खराब बानीले हामीले सोचेभन्दा गहिरो जरा गाडेर बसेको हुनसक्छ। शायद त्यस्तो बानीले गर्दा हामी निकै चोटि ठोकर खाएर लडौंला। . . . तर निराश नहुनुहोस्‌। अक्षम्य पाप गरें होला भनी नसम्झनुहोस्‌। किनभने तपाईंले त्यस्तै सोचोस्‌ भन्‍ने शैतान चाहन्छ। वास्तवमा तपाईं पश्‍चात्तापको ज्वालामा जल्नुको अर्थ नै तपाईंले अक्षम्य पाप गर्नुभएको छैन भन्‍ने प्रमाण हो। थकित नहुनुहोस्‌, नम्रता अनि उत्सुकतापूर्वक परमेश्‍वरसमक्ष जानुहोस्‌ र उहाँको क्षमा, शुद्धीकरण अनि मदत खोज्नुहोस्‌। तपाईंले एउटै भूल जतिसुकै दोहोऱ्‍याएको किन नहोस्‌, परमेश्‍वरसमक्ष जानुहोस्‌, समस्या आइपर्दा सानो बालक आफ्नो बुबाकहाँ गएझैं जानुहोस्‌। त्यसो गर्नुभयो भने कृपालु, करुणामय यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ र तपाईं निष्कपट हुनुहुन्छ भने सफा अन्तस्करणको अनुभूति दिनुहुनेछ।”

यहाँ भनेजस्तो “सफा अन्तस्करण” कसरी पाउन सकिन्छ?

छलफलका लागि प्रश्‍नहरू

◻ हस्तमैथुन भनेको के हो र हस्तमैथुनबारे प्रचलित केही गलत धारणा के केन हुन्‌?

◻ युवावस्थामा प्रवेश गर्ने केटाकेटीहरूको यौन इच्छा किन प्रबल हुन्छ? त्यस्तो महसुस हुनु के तपाईंलाई गलत हो जस्तो लाग्छ?

◻ हस्तमैथुन गर्ने इच्छा जगाउनसक्ने कुराहरू के के हुन्‌?

◻ हस्तमैथुन गर्ने युवकयुवतीलाई हानि हुन्छ कि हुँदैन?

◻ हस्तमैथुन कत्तिको गम्भीर पाप हो जस्तो तपाईंलाई लाग्छ? हस्तमैथुन गर्ने बानी चटक्कै छोड्‌न यत्न गर्ने युवकयुवतीलाई यहोवाले कुन दृष्टिले हेर्नुहुन्छ?

[पृष्ठ २००-मा भएको ठूलो अक्षरको क्याप्सन]

तनाउग्रस्त हुँदा, एक्लै हुँदा वा निराश हुँदा केही युवकयुवतीहरूलाई हस्तमैथुन गर्न सकसक लाग्छ

[पृष्ठ २०२-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘मैले हस्तमैथुन गर्नुको मूल कारणै मनमा खेलाउने गरेका कुराहरू हुन्‌’

[पृष्ठ २०४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हस्तमैथुन गर्दा म यहोवा परमेश्‍वरले भनेअनुसार गर्न नसकेको महसुस गर्छु”

[पृष्ठ १९८-मा भएको चित्र]

हस्तमैथुन गर्ने व्यक्‍ति दोषी भावनाहरूले पिरोलिने भए तापनि निष्कपट हृदयले परमेश्‍वर- सित क्षमा मागेको खण्डमा र खराब बानी छाड्‌न कडा प्रयत्न गरेमा अन्तस्करण फेरि सफा हुनसक्छ

[पृष्ठ २०३-मा भएको चित्र]

‘आगोमा घ्यू थपेजस्तै’ कामोत्तेजक

चलचित्र, किताब अनि टिभी कार्यक्रमले प्रायः हस्तमैथुन गर्ने ‘इच्छा’ जगाउँछ