सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सी—पिएर के भो त?

रक्सी—पिएर के भो त?

अध्याय ३३

रक्सी—पिएर के भो त?

‘के पिउनु खराब कुरा हो? के त्यसले हानि गर्छ? वा वयस्कहरूले पिउन हुने, मैले मात्र पिउन नहुने हो कि?’ शायद तपाईंको मनमा पनि यस्तै प्रश्‍नहरू खेलिरहेका होलान्‌। आखिर, तपाईंका आमाबाबु पनि त पिउँदा हुन्‌। तपाईंको उमेरका थुप्रै केटाकेटीहरू (कानुनले बन्देज लगाउँदा लगाउँदै पनि) पिउँछन्‌। अनि टिभी कार्यक्रम र चलचित्रका पात्रहरू पनि त कत्ति सानसित पिउँछन्‌।

ठिक्क पिउँदा रक्सीले आनन्द दिन्छ। दाखमद्यले मानिसको हृदय प्रशन्‍न पार्नुका साथै भोजनलाई पनि मीठो बनाउँछ भनेर बाइबलले समेत स्वीकारेको छ। (उपदेशक ९:७) तथापि, दुरुपयोग भएमा चाहिं आमाबाबु, शिक्षक अनि प्रहरीसँग झगडा हुनुका साथै अकालमै ज्यान गुमाउनुपर्ने स्थिति पनि आउँछ। बाइबलले भनेजस्तै “मद्य घृणित वस्तु हो, औ कड़ा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।” (हितोपदेश २०:१) अतः पिउने कुरामा तपाईंले गम्भीर निर्णय गर्नु अति आवश्‍यक छ।

तर रक्सी र त्यसको नशाबारे तपाईंलाई साँच्चै कति कुरा थाह छ? तल दिइएका प्रश्‍नहरू हेरेर आफैलाई जाँच्नुहोस्‌। निम्न बुँदाहरू सही वा गलत हुन्‌, छेउमा रुजु चिह्न लगाउनुहोस्‌।

१. नशालु पेय पदार्थ मुख्यतः उत्तेजक वस्तु हो ․․․․․․․․․․․․․․․․ ____

२. थोरै खाएपनि धेरै खाएपनि रक्सीले शरीरलाई हानि गर्छ ․․․․․․․․․․․․․․․․ ____

३. रक्सी, दाखमद्य, बियर आदि सबैको उत्तिकै नशा हुन्छ․․․․․․․․․․․․․ ____

४. मात्तिएपछि कालो कफी खायो वा चिसो पानीले नुहायो भने नशा चाँडै

उत्रन्छ․․․․․․․․․․․․ ____

५. एक पेग रक्सीले सबै मानिसलाई उत्तिकै असर गर्छ․․․․․․․․․․․․․․ ____

६. जँड्याहा हुनु र रक्सीबाज हुनु एउटै

कुरा हो․․․․․․․․․․․․ ____

७. रक्सीमा उत्तेजक औषधी (जस्तै बारबिटुरेट्‌स) मिसाएर पियो भने डबल

नशा चढ्‌छ ․․․․․․․․ ____

८. थरी थरीको रक्सी फेर्दै खायो भने

मात्तिंदैन ․․․․․․․․․․ ____

९. भोजन पचाएजस्तै शरीरले रक्सीलाई पनि पचाउँछ․․․․․․․․․․․․ ____

अब तपाईंको जवाफ पृष्ठ २७० मा दिइएका जवाफहरूसित तुलना गर्नुहोस्‌। तपाईंको दृष्टिकोण गलत निस्क्यो कि? हो भने, यो कुरा कहिल्यै नभुल्नुहोस्‌, रक्सीबारे सही जानकारी नहुँदा ज्यानसमेत जानसक्छ। बढ्‌ता रक्सीले “साँपलेझैं डस्छ, र कोब्रा साँपलेझैं ठुँग्छ” भनेर बाइबलले बताएको छ।—हितोपदेश २३:३२.

उदाहरणका लागि, किशोरावस्थामै विवाह गर्ने ठिटो जोनलाई विचार गर्नुहोस्‌। एक रात स्वास्नीसँग झगडा परेपछि तिनी रक्सी खाएर मात्तिन घरबाहिर निस्के। एक सासमै आधा लिटर भोड्‌का पिएपछि तिनी बेहोश भए। डाक्टर अनि नर्सहरूले मेहनत नगरेका भए तिनको ज्यानै गइसक्ने थियो। प्रष्ट छ, एकै सासमा धेरै रक्सी पिउनाले ज्यानसमेत जानसक्छ भनेर तिनलाई थाह थिएन। अज्ञानताले गर्दा कसो ज्यान नगएको!

उल्टो असर

चालै नपाउनेगरि रक्सीले गर्ने असर चाहिं यो हो। रक्सीले मानिसलाई उत्तेजित होइन सुस्त बनाउँछ। रक्सी पिएपछि आँट बढेको महसुस गर्नुहोला तर वास्तवमा रक्सीले तपाईंको मनलाई अलि सुस्त पारेकोले त्यस्तो भएको हो। पिएपछि आराम भएको, चिन्ता घटेको वा पहिलेजस्तो दिक्दारी नभएको जस्तो तपाईंलाई लाग्छ। यसप्रकार ठिक्क मात्रामा पिउँदा रक्सीले केही हदसम्म “दुःख भुल्न” मदत गर्छ भन्‍ने कुरालाई नकार्न सकिंदैन। (हितोपदेश ३१:६, ७) उदाहरणको लागि, पल नाउँ गरेको केटो पारिवारिक समस्याहरू भुल्न रक्सी पिउँथे। “तनाउ कम गर्ने उपाय रक्सी हो भनेर मैले कलिलो उमेरमै सिकेको थिएँ,” तिनी बितेका कुरा सम्झना गर्दै भन्छन्‌। “पिएपछि मन हल्का हुन्थ्यो।”

ए, त्यसोभए राम्रै हुँदो पो रहेछ, होइन त? होइन, एकदम गलत! रक्सीले उल्टो असर गर्छ। एक दुइ घण्टापछि रक्सीको नशा उत्रेपछि तपाईंको चिन्ता फेरि फर्केर आउँछ र फर्केर आउँदा, जत्तिको तत्ति आउँदैन। पिउनुअघि जति चिन्ता थियो पिएपछि झन्‌ बढी चिन्ता पो हुन्छ! तपाईं पहिलेभन्दा झन्‌ तनाउग्रस्त हुन्छ। करिब १२ घण्टासम्म रक्सीको यस्तो असर भइरहन्छ। हो, त्यतिञ्जेल अर्को एक गिलास पियो भने, चिन्ताको मात्रा फेरि कम हुन्छ। तर केही घण्टापछि त्यो पहिलाभन्दा झन्‌ बढेर आउँछ! अनि त्यसपछि चिन्ता कम गर्न पिउने अनि पिएपछि चिन्ता बढ्‌ने एउटा भ्रान्तिपूर्ण चक्र चलिरहन्छ।

अतः पछिको कुरा पनि विचार गर्ने हो भने, रक्सीले वास्तवमा तपाईंको चिन्ता कम गर्दैन। बरु उल्टो बढाउँछ। अनि रक्सीको नशाले नछोडुञ्जेल त हो, आखिर तपाईंको समस्या जहींको त्यहीं हुन्छ।

भावनात्मक विकासमा बाधा

अरू चाहिं रक्सीले अझ राम्ररी काम गर्न मदत गर्छ भनेर दाबी गर्छन्‌। उदाहरणका लागि, अति लजालु स्वभावको केटो डेनिसलाई विचार गर्नुहोस्‌। साधारण कुराकानी गर्न समेत तिनलाई असाध्यै गाह्रो लाग्थ्यो। तर तिनले एउटा नौलो कुरा थाह पाए। “एक दुइ घुट्‌को पिएपछि म खुलेर बोल्नसक्थें,” तिनले भने।

तर यहाँनेर अर्को समस्या छ। त्यो के हो भने, कुनै पनि व्यक्‍ति डेनिसजस्तो समस्यादेखि भागेर होइन तर जुझेर परिपक्व बन्छ। जवान छँदै समस्याहरूसँग लड्‌न सिक्नुभयो भने वयस्क छँदा तपाईंलाई धेरै सजिलो हुन्छ। अतः पछि डेनिस आफैले पनि के पाए भने, रक्सीको क्षणिक ताकतले आफ्नो लजालुपन चटक्क हटाउन मदत गर्दैन रहेछ। “रक्सीको नशाले छोडेपछि, म पहिले जस्तो थिएँ, त्यस्तै हुन्थें,” तिनी भन्छन्‌। अहिले नि? निकै वर्षअघिको समस्या र वर्तमान अवस्थालाई तुलना गर्दै तिनी भन्छन्‌: “मानिसहरूसँग म आफूजस्तो छु, त्यस्तै व्यवहार गर्न सक्दिनँ। मैले कहिल्यै धक नमानी कुरा गर्न सकिनँ। मेरो विचारमा मेरो व्यक्‍तित्वको यो पक्ष कहिल्यै सुध्रन सकेन।”

तनाउसँग लड्‌न रक्सीको सहारा लिने कुरा पनि त्यस्तै हो। किशोरावस्थामा छँदा रक्सीको सहारा लिने जोआन स्वीकार्छन्‌: “हालै तनाउग्रस्त हुँदा मैले सोचें: ‘अहिले रक्सी पिउन पाए कत्ति हल्का हुनेथियो।’ एक दुइ घुट्‌को पिएपछि मात्र तपाईंले समस्या समाधान गर्न सक्नुहुन्छ भन्‍ने विचार दिमागमा ठप्प बस्दो रहेछ।” तर वास्तवमा कुरा त्यसो हुँदैन।

न्यु योर्क स्टेट जर्नल अफ मेडिसीन भन्‍ने पत्रिकामा प्रकाशित लेख यसो भन्छ: “शैक्षिक, सामाजिक वा व्यक्‍ति-व्यक्‍तिबीच समस्या आइपर्दा लागू पदार्थको [जसमा रक्सी पनि समावेश छ] सहारा लिने मानिसहरू सहने स्वास्थ्यकर बानी विकास गर्नुपर्ने आवश्‍यकता बुझ्दैनन्‌। वयस्क अवस्थामा अरूसँग सम्बन्ध बसाल्न प्रायः कठिन हुन थालेपछि जब एक्लै परिन्छ तब मात्र त्यसका असरहरू अनुभव हुन थाल्छ।” योभन्दा त आफ्नै बलबर्कतमा समस्या अनि कठिन परिस्थितिहरूसँग लड्‌न कोसिस गर्नु धेरै बेस हो!

“तर उहाँले ग्रहण गर्नुभएन”

अब एकछिन येशू ख्रीष्टलाई विचार गर्नुहोस्‌। आफ्नो पार्थिव जीवनको अन्तिम रात येशूले असाध्यै कठोर परीक्षाको सामना गर्नुपऱ्‍यो। धोखा, गिरफ्तारी, घरिघरिको सोधपुछ अनि आरोपमाथि आरोप सहँदै उहाँले छ्‌यांगै रात काट्‌नुभयो। अन्ततः बिहानपख उहाँलाई झुण्डाउन सुम्पिइयो।—मर्कूस १४:४३–१५:१५; लूका २२:४७–२३:२५.

शूलीमा झुण्डाइएको अवस्थामा पीडा सहन सजिलो होस्‌ भनेर मुड परिवर्तन गर्ने एक किसिमको नशालु पेय पदार्थ उहाँलाई दिइयो। त्यसपछि के भयो, बाइबल यसो भन्छ: “तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले ग्रहण गर्नुभएन।” (मर्कूस १५:२२, २३) येशू होसहवासमा रहन चाहनुहुन्थ्यो। उहाँ एक एक पीडा सहन चाहनुहुन्थ्यो। आफ्नो पीडादेखि उम्कन खोज्ने कातर उहाँ हुनुहुन्‍नथियो! यद्यपि, पछि तिर्खा मेटाउन नशालु वस्तु नमिसाइएको दाखरस दिंदा येशूले ग्रहण गर्नुभयो।—यूहन्‍ना १९:२८-३०.

तुलनात्मक रूपमा हेर्न हो भने, उहाँले भोग्नुभएको पीडा र कष्टसामु तपाईंका समस्या, दबाब वा तनाउ केही पनि होइन। तैपनि, येशूको अनुभवलाई विचार गरेर तपाईंले मूल्यवान्‌ पाठ सिक्न सक्नुहुन्छ। मुड परिवर्तन गराउने पदार्थको (जस्तै रक्सी) सहारा लिएर समस्या, दबाब अनि अप्रिय परिस्थितिहरूसँग लड्‌नुका साटो आफ्नै बलबर्कतमा त्यससँग जुझ्नु धेरै बेस छ। किनकि जीवनका कटु सत्यहरूसँग जुझ्न सिक्दै जाँदा अरू समस्याहरूको मुकाबिला गर्न तपाईंलाई झन्‌ झन्‌ सजिलो हुँदै जान्छ। तपाईंमा स्वस्थ भावनात्मक व्यक्‍तित्वको विकास हुन्छ।

कानुनले पिउन बन्देज नलाएको उमेरमा पुगेपछि चाहिं कहिलेकाहीं ठिक्क मात्रामा पिउने वा नपिउने—त्यो निर्णय तपाईंकै (अनि शायद तपाईंको आमाबाबुको) हुनेछ। पिउने नपिउने विचार पुऱ्‍याई निर्णय गर्नुहोस्‌ र सबैलाई आफ्नो निर्णय बताउनुहोस्‌। नपिउने निर्णय गर्नुभयो भने पनि अरूको अगाडि माफी मागिराख्नु जरुरी छैन। कानुनले पिउन बन्देज लगाएको उमेर काटिसक्नुभएको छ र पिउने विचार छ भने चाहिं, जिम्मेवार व्यक्‍तिको हैसियतमा पिउनुहोस्‌। समस्याबाट उम्कन वा देखावटी साहस निकाल्न कहिल्यै नपिउनुहोस्‌। किनकि “कड़ा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन” भनेर बाइबलले प्रष्टै सल्लाह दिएको छ।—हितोपदेश २०:१.

छलफलका लागि प्रश्‍नहरू

◻ किन थुप्रै युवकयुवतीहरूलाई रक्सी पिउने बानी पर्छ?

◻ मद्य पदार्थबारे मानिसहरूको केही गलत धारणाहरू के हुन्‌?

◻ रक्सी पिएर गाडी हाँक्नाले कस्ता खतराहरू आउनसक्छन्‌?

◻ समस्याहरूबाट उम्कन रक्सी पिउने व्यक्‍तिले के कस्ता खतराहरू मोल्नु पर्नसक्छ?

◻ समस्याहरू सामना गर्नुपर्दा युवकयुवतीहरूले के गर्नुपर्ने हो र किन?

[पृष्ठ २६८-मा भएको ठूलो अक्षरको क्याप्सन]

समस्यालाई भुल्न रक्सी पिउने अनि पिउँदा समस्या झन्‌ बढ्‌ने। रक्सी पिउने युवकयुवतीहरू यस्तै भुमर्ताउलोमा पर्छन्‌

[पृष्ठ २७१-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मैले कहिल्यै धक नमानी कुरा गर्न सकिनँ। मेरो विचारमा मेरो व्यक्‍तित्वको यो पक्ष कहिल्यै सुध्रन सकेन।”—किशोरावस्थामा छँदा मद्यपान गर्ने युवक

[पृष्ठ २६४-मा भएको पेटी]

‘हामी किन पिउन थाल्यौं’

किशोरावस्थामा रक्सी पिउनेहरूसित लिइएको अन्तरवार्ता

अन्तरवार्ताकार: तपाईंले किन रक्सी पिउन थाल्नुभो त?

बील: सुरु सुरुमा सरसंगतले गर्दा। विशेषगरि सप्ताहन्तहरूमा पिउनु त हाम्रोलागि एक किसिमको “फेशन” नै भइसकेको थियो।

डेनिस: यस्तै १३-१४ वर्षको उमेरदेखि पिउन थालें। मेरो बुबा असाध्यै पियक्कड हुनुहुन्थ्यो। अनि हाम्रा घरमा रक्सी पार्टी नभएको दिनै हुँदैन थियो। मानिसहरूको जमघट हुँदा पिउनुपर्ने रहेछ भनेर मैले केटाकेटी छँदा देखें। अलिक हुर्के पछि म अति हाउडे केटाकेटीहरूको संगतमा परें। अनि साथीहरू जस्तै हुन पिउन पनि थालें।

मार्क: म खेलकुदमा निकै चासो लिन्थें। मेरो विचारमा यस्तै १५ वर्षको हुँदा बास्केटबल टिमका साथीहरूसँग मैले पिउन सुरु गरें। मलाई लाग्छ, मैले पिउनुको कारण चाहिं त्यही हो, कस्तो हुँदो रहेछ भन्‍ने जिज्ञासा।

जोआन: टिभीमा देखेका कुराहरूले मलाई निकै असर गर्थ्यो। टिभीका पात्रहरूले शानसित पिएको देख्दा मलाई नक्कल गरूँ गरूँ जस्तो लाग्थ्यो।

पल: मेरो बुबा जँड्याहा हुनुहुन्छ। हाम्रा यति धेरै समस्याहरू हुनुको कारण रक्सी पो रहेछ भनेर म अहिले पो बुझ्दैछु। म जँड्याहा हुन चाहन्‍न थिएँ। छक्क लाग्छ, मैले पिउन थाल्नुको एउटा कारण त्यो पनि हो।

जोआन: मेरो आमाबाबु त्यति पिउनु हुन्‍नथियो। तर मलाई एउटा कुरा भने राम्ररी याद छ। मेरो बुबा मानिसहरू जमघट हुँदा मैले यति पिएँ, उति पिएँ भनेर असाध्यै धाक लगाउनु हुन्थ्यो। मेरो मनमा पनि भनौं त्यस्तै मनोवृत्ति विकास भयो। त्यतिबेला, पिउनु शानको कुरा हो भन्‍ने मलाई लागेको थियो। एक पटक साथीसित मिलेर रक्सी पार्टी मनाएँ। हामी घण्टौंसम्म पिइरह्‍यौं। मलाई आफू अरू जस्तो फिट फिट भएको जस्तो पनि लागेन। ‘म पनि बुबाजस्तै भएँ,’ भनेर त्यतिबेला गर्व लागेको मलाई अहिलेसम्म याद छ। मलाई लाग्छ, रक्सीप्रतिको उहाँको मनोवृत्तिले साँच्चै मलाई असर गऱ्‍यो।

अन्तरवार्ताकार: तर किन प्रायजसो मानिसहरू नमातेसम्म पिउँछन्‌?

मार्क: हामी त्यही मात्तिन त पिउँथ्यौं। रक्सी मीठो होस्‌ वा तीतो मलाई कुनै मतलब थिएन।

अन्तरवार्ताकार: त्यसोभए तपाईं नशाको लागि पिउनुहुन्थ्यो?

मार्क: हो।

ह्‍यारी: म पनि त्यही ड्यांगको परें। नशा भनेको भऱ्‍याङजस्तो हुँदो रहेछ। भऱ्‍याङको खुड्‌किलोजस्तै हरेक पल्ट पिउँदा झन्‌ झन्‌ मात्तिन मन लाग्छ।

[पृष्ठ २७०-मा भएको पेटी]

सही वा गलत प्रश्‍नका जवाफहरू (पृष्ठ २६३)

१. गलत। अल्कोहलले मुख्यतः भावना अनि विचारहरूलाई सुस्त बनाउँछ। वास्तवमा त्यसले तपाईंका चिन्तालाई दबाएको वा कम पारेको हुनाले नै नशा चढेको अनुभव गर्नसकेको हो। रक्सी पिएपछि तपाईं पहिलेभन्दा हल्का र कम चिन्तित महसुस गर्नुहुन्छ।

२. गलत। ठिक्कको वा कम मात्रामा रक्सी पिउनाले शरीरमा कुनै गम्भीर हानि पुऱ्‍याउँदैन। तथापि, लामो समयसम्म धेरै रक्सी पियो भने चाहिं मुटु, मस्तिष्क, कलेजो अनि अन्य अंगहरूलाई हानि पुऱ्‍याउनसक्छ।

३. गलत। दाखमद्य वा बियरभन्दा रक्सीले छिटो असर गर्छ।

४. गलत। कफीले तपाईंलाई जागा बनाउला अनि चिसो पानीले तपाईंलाई निध्रुक्क भिजाउला। तर नशा कमबढ गराउन सक्दैन। कलेजोले प्रतिघण्टा ३५ मिलिलिटरको दरले नपचाएसम्म अल्कोहल तपाईंको नशा नशामा बगि नै रहन्छ।

५. गलत। तपाईंको वजन, तपाईं खाली पेट हुनुहुन्छ वा हुनुहुन्‍न जस्ता थुप्रै कुराहरूमा रक्सीले तपाईंलाई कत्तिको मत्ताउनसक्छ भन्‍ने कुरा भर पर्छ।

६. गलत। बढ्‌ता रक्सी पिएर मात्तिने जँड्याहा हो। तर रक्सी नपिई बस्नै नसक्ने व्यक्‍ति रक्सीबाज हो। तथापि, रक्सी पिएर मात्तिने सबै जना रक्सीबाज हुँदैनन्‌ र सबै रक्सीबाज जँड्याहा हुन्छन्‌ भन्‍नु पनि मिल्दैन।

७. सही। रक्सीसँग कुनै कुनै लागू औषधी मिसाउँदा रक्सीले वा लागू औषधीले पार्ने भन्दा निकै गुना असर गर्छ। उदाहरणका लागि, रक्सीमा निद्रा लाग्ने औषधी मिसाएर खाँदा तुरुन्तै अचाक्ली रिंगटा लाग्ने, अचेत हुने अनि कहिलेकाहीं मृत्युसमेत हुन सक्छ। तसर्थ एक पेग रक्सी र एक ट्याब्लेट निद्रा लाग्ने औषधी खाँदा तपाईंले सोचेभन्दा बढ्‌ता असर गर्छ। निस्सन्देह, त्यस अवस्थामा लागू औषधीको असर तीन गुना, चार गुना, दश गुना वा त्योभन्दा बढी हुन्छ।

८. गलत। जीन, व्हिस्की, भोड्‌का जेसुकै खानुहोस्‌, मान्छे रक्सीको प्रकारले होइन तर त्यसमा भएका अल्कोहलको मात्राले मात्तिन्छन्‌।

९. गलत। शरीरले अल्कोहललाई भोजनलाई जस्तो बिस्तारै पचाउँछ नै भन्‍ने छैन। बरु उल्टो २० प्रतिशत अल्कोहल पेटमा पुग्ने बित्तिकै रक्‍त नलीमा बग्न थाल्छ। बाँकी चाहिं सानो आन्द्रामा जान्छ र रक्‍त नलीहरूले सोस्छन्‌।

[पृष्ठ २६६ र २६७-मा भएको पेटी/चित्र]

रक्सी पिएर गाडी हाँक्नु—मृत्युलाई निम्त्याउनु

“सोह्रदेखि चौबीस वर्षका युवकयुवतीहरूको मृत्यु हुनुको ठूलो कारणहरूमध्ये एक रक्सी पिएर गाडी हाँक्ने प्रवृत्ति पनि हो।” यो हो, पिएर गाडी हाँक्ने युवकयुवतीहरूबारे राष्ट्रिय सम्मेलन-ले सन्‌ १९८४ मा प्रकाशमा ल्याएको प्रतिवेदन। साँच्चै भन्‍ने हो भने, “किशोर वा किशोरी रक्सीले मात्तिएर दुर्घटनामा पर्ने सम्भावना अरू चालकहरूको भन्दा झन्डै चार गुना बढी हुन्छ।” (साथीसँग गाडीमा घुम्न निक्लँदा, अंग्रेजी) रक्सीबारे मानिसहरूको अझै कतिपय गलत धारणहरू भएकोले पनि यसरी अनावश्‍यक रूपमा किशोरकिशोरीहरूको ज्यान गइरहेको छ। उदाहरणका लागि त्यस्तै केही खास गलत धारणाहरूलाई विचार गर्नुहोस्‌:

गलत धारणा: दुइ चार बोतल बियर मात्र पिएको छ भने गाडी हाँक्नु कुनै खतराको कुरा होइन।

तथ्य: “साधारण चालकले एक सेकेण्डमा जति छिटो प्रतिक्रिया देखाउनसक्छ, एक घण्टाभन्दा कम समयभित्र एक बोतल बियर सकाउने चालकले त्योभन्दा २/५ गुना ढीलो प्रतिक्रिया देखाउँछ। फलतः लगभग ९० किलोमिटर प्रतिघण्टामा कुदेको गाडीलाई उसले रोक्नु परेमा १० मिटरको फरकमा मात्र रोक्नसक्छ। सम्भवतः त्यति दूरीमा उसको दुर्घटना पनि हुनसक्छ।”—जेम्स मालफेटी, एड.डि., अनि डार्लेन जे. विन्टर, पिएच. डि. द्वारा लिखित वृद्धजनहरूका लागि सवारी सुरक्षा तथा मद्यपान नियन्त्रण कार्यक्रमको विकास (अंग्रेजी)

गलत धारणा: मात्तिएको छैन जस्तो लाग्छ भने गाडी हाँक्नु ठीकै हो।

तथ्य: आफूलाई महसुस भइरहेको कुरामा भर गर्नु खतरनाक कुरा हो। अल्कोहलले ठीकठाक छु भन्‍ने गलत भ्रम पैदा गर्छ र पिउने व्यक्‍तिलाई आफूले गाडी राम्रैसँग हाँक्नसक्छु जस्तो महसुस गराउँछ। जबकि वास्तवमा क्षमताहरू क्षीण भएको हुन्छ।

रक्सी पिएर गाडी हाँक्नु सबैका लागि हानिकारक भए तापनि युवकयुवतीहरूका लागि झनै खतरनाक हुन्छ। किशोरकिशोरीहरू सवारी हाँक्न त्यति सिपालु नहुने भएकोले “पिएपछि गाडी हाँक्ने तिनीहरूको क्षमता झन्‌ झन्‌ कम हुँदै जान्छ। छोटकरीमा भन्‍ने हो भने, प्रायजसो किशोरकिशोरीहरू नता गाडी हाँक्न नता पिउन नै सिपालु भएका हुन्छन्‌ र पिएर गाडी हाक्ने सम्बन्धमा त तिनीहरू झनै सिपालु हुँदैनन्‌।”—डार्लेन जे. विन्टर, पिएच. डी.-को वृद्धजन, सवारी सुरक्षा तथा मद्यपान नियन्त्रण कार्यक्रमसम्बन्धी गाइड (अंग्रेजी)

यसबाहेक किशोरकिशोरीलाई मात्तिन वयस्कलाई जति अल्कोहल चाहिंदैन। किशोरकिशोरीहरूको वजन प्रायः वयस्कहरूको भन्दा कम हुन्छ। जति कम वजन, शरीरमा उत्ति नै कम तरल पदार्थ अनि जति कम तरल पदार्थ उत्ति नै बढी नशा। तपाईंको रक्‍तनलीहरूमा अल्कोहलको मात्रा जति बढी हुन्छ, तपाईं त्यति नै मात्तिनुहुन्छ।

“चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) पिएर गाडी हाँक्नु खतरा रहेछ भनेर बुझेपछि अब तपाईंले कहिल्यै पिएर गाडी नहाँक्ने प्रतिज्ञा गर्नुभयो भने तपाईं “चतुर” हुनुहुन्छ। आखिर त्यसो गर्दा तपाईं जिन्दगीभर लुलालँगडा बन्‍नदेखि बच्नुहुन्छ नै तर त्यसबाहेक अरूको जीवनको आदर पनि गरिरहनुभएको हुनेछ।

यसबाहेक निम्न दुइ कुरा कहिल्यै नगर्ने अठोट पनि गर्नुहोस्‌। (१) रक्सी पिएर गाडी चलाउने व्यक्‍तिसँग कहिल्यै यात्रा नगर्ने अनि (२) साथीले रक्सी पिएको छ भने, उसलाई कहिल्यै गाडी चलाउन नदिने। त्यसो गर्दा तपाईंको साथीलाई मन नपर्ला तर पछि होसमा आएपछि तपाईंको मूल्यांकन गर्नेछ।—भजन १४१:५ तुलना गर्नुहोस्‌।

[चित्रहरू]

रक्सी पिएर गाडी चलाउने व्यक्‍तिसँग कहिल्यै यात्रा नगर्नुहोस्‌ अनि साथीले रक्सी पिएको छ भने, उसलाई कहिल्यै गाडी चलाउन नदिनुहोस्‌

[पृष्ठ २६२-मा भएका चित्रहरू]

साथी संगत, टेलिभिजन अनि कहिलेकाहीं आमाबाबुले गर्दा युवकयुवतीहरू पिउन तम्सिनसक्छन्‌

[पृष्ठ २६५-मा भएको चित्र]

रक्सीको दुरुपयोग भएमा त्यसले “कोब्रा साँपलेझैं ठुँग्छ”

[पृष्ठ २६९-मा भएका चित्रहरू]

पिएर गाडी हाक्नेको अक्सर यस्तै दुर्गति हुन्छ