सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लागू पदार्थको विरोध किन गर्ने?

लागू पदार्थको विरोध किन गर्ने?

अध्याय ३४

लागू पदार्थको विरोध किन गर्ने?

“म केटाकेटीजस्तै भावुक छु,” २४ वर्षीय युवक, माइक आफ्नो व्यथा पोख्छन्‌। “कहिलेकाहीं म आफ्नै दौंतरीहरूसित समेत डराउँछु। नैराश्‍य अनि केही कुराको डरले मलाई सधैं सताइरहेको हुन्छ र कति पटक त आत्महत्या गर्ने विचार पनि गरें।”

त्यस्तैगरि ३६ वर्षीया आन पनि आफूलाई “भावनात्मक तवरमा निकै अपरिपक्व” ठान्छिन्‌ र आफूसित “आत्मसम्मान हुँदै नभएको” बताउँछिन्‌। तिनी अझै यसो भन्छिन्‌: “सामान्य जीवन बिताउन मलाई निकै गाह्रो लाग्छ।”

कलिलो उमेरमा गरेको भूलको फल अहिले माइक र आन भोग्दैछन्‌। हो, सानो छँदा तिनीहरू दुवैले लागू पदार्थसित खेलबाड गरे। लाखौं युवकयुवतीहरू आज—सुई लिएर, निलेर, सुँघेर, तानेर कोकेनदेखि गाँजासम्म सबै कुरा सेवन गर्दैछन्‌। केही युवकयुवतीहरूका निम्ति ‘लागू पदार्थ’ समस्याबाट उम्कने तरिका भएको छ। अरूचाहिं खुलदुलीका शिकार हुन्छन्‌। अनि त्यस्ताहरू पनि छन्‌ जो नैराश्‍य अनि बेकारीपन हटाउन लागू पदार्थ लिन्छन्‌। अनि सुरु मात्र गर्नुपर्छ, त्यसपछि थुप्रैले केवल आनन्दका लागि भए पनि पिइरहन्छन्‌। सत्र वर्षीय ग्रान्ट भन्छन्‌: “कसैको अगाडि शान देखाउन वा सामाजिक कारणले गर्दा होइन तर त्यसले दिने एकप्रकारको आनन्दको लागि म [गाँजा] तान्थें। . . . साथीहरूको दबाबमा परेर मैले गाँजा खान थालेको होइन। पिउन मन लाग्छ, त्यसकारण पिउँछु।”

ढिलो चाँडोको कुरा मात्र हो, तपाईं पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा लागू पदार्थको सम्पर्कमा आउनसक्ने ठूलो सम्भावना छ। “हाम्रो स्कूलका पालेहरूसमेत [गाँजा] बेच्छन्‌,” एक युवक भन्छन्‌। त्यसबाहेक, लागू पदार्थ पिउने साधनहरूलाई खुलेआम प्रदर्शन गर्नुका साथै बेचबिखन गरिन्छ। अतः लागू पदार्थ जत्तिकै लोकप्रिय किन नहोऊन्‌, तपाईंले त्यसको विरोध गर्नैपर्छ र त्यसो गर्नुका असल कारणहरू छन्‌। कसरी?

लागू पदार्थले व्यक्‍तित्व विकासमा बाधा पुऱ्‍याउँछ

उदाहरणका लागि माइक अनि आन जस्तै समस्याहरूबाट उम्कन लागू पदार्थ सेवन गर्ने युवकयुवतीहरूलाई लिनुहोस्‌। अघिल्लो अध्यायमा बताइएजस्तै भावनात्मक विकास तब हुन्छ, जब व्यक्‍तिविशेष जीवनका समस्याहरूसँग जुझ्छ, अनि सफल वा असफल जे नै भएपनि समस्याबाट भाग्न खोज्दैन। समस्याहरूबाट बच्न लागू पदार्थको सहारा लिने व्यक्‍तिको भावनात्मक विकासमा बाधा पुगिरहेको हुन्छ। तिनीहरूले समस्याहरूसँग लड्‌ने कौशलता विकास गरिरहेका हुँदैनन्‌।

जुनसुकै सीप हासिल गर्न अभ्यासको आवश्‍यक परेझैं समस्यासँग जुझ्न पनि अभ्यासको जरुरत पर्छ। के तपाईंले सिपालु फुटबल खेलाडीलाई देख्नुभएको छ? सिपालु खेलाडीले आफ्नो टाउको अनि खुट्टालाई बडो अचम्मलाग्दो ढंगमा प्रयोग गर्न जानेका हुन्छन्‌! तर त्यस खेलाडीले कसरी त्यस्तो सीप हासिल गरे के तपाईंले विचार गर्नुभएको छ? हो, वर्षौंको अभ्यासबाट। तिनले बल हान्‍न सिके, बलसँगसँगै कुद्‌न सिके, छलाउन सिके, अनि अरू त्यस्तै कुरा सिके जबसम्म तिनी कुशल खेलाडी भएनन्‌।

समस्यासँग जुझ्ने क्षमता विकास गर्नु पनि झन्डै त्यस्तै कुरा हो। अभ्यास गरेर अनुभव नबटुलेसम्म यो हासिल हुँदैन! अनुभवकै सम्बन्धमा बाइबलले हितोपदेश १:२२ मा यस्तो प्रश्‍न गरेको छ: “हे मूर्ख हो, तिमीहरू कहिलेसम्म आफ्नो मूर्खतामा सन्तुष्ट भइरहन्छौ? . . . [हे] निर्बुद्धि मानिसहरू . . . [कहिलेसम्म] ज्ञानलाई तुच्छ [ठान्छौ?]” लागू पदार्थको आनन्दमा डुब्ने युवकयुवतीहरू ‘मूर्खतामा सन्तुष्ट हुने’ व्यक्‍तिहरू हुन्‌। जीवनसँग जुझ्न तिनीहरूले न ता ज्ञान हासिल गरेका हुन्छन्‌ न सीप।” लागू पदार्थ प्रयोग गर्ने किशोरकिशोरीहरूलाई संकेत गर्दै तपाईंका किशोरावस्थाका छोराछोरीसित कुरा गर्ने (अंग्रेजी) पुस्तक के भन्छ भने “लागू पदार्थको प्रयोगबिना पनि जीवनका कटु वास्तविकताहरूसँग जुझ्न सकिन्छ भनेर यिनीहरूले कहिल्यै सिक्दैनन्‌।”

अनि हुँदो पनि त्यस्तै रहेछ। समस्याबाट उम्कन लागू पदार्थ लिने आन यसो भन्छिन्‌: “म चौध वर्षसम्म आफ्ना समस्याहरूसित जुझिनँ।” अनि माइक भन्छन्‌: “एघार वर्षको उमेरदेखि म लागू पदार्थ सेवन गर्थें। बाइस वर्षको उमेरमा छाड्‌दा मलाई आफू बच्चा जस्तो पो लाग्यो। चिन्ता अनि डर लाग्दा म सधैं अरूको सहारा खोज्थें। लागू पदार्थ सेवन गरेको दिनदेखि मेरो भावनात्मक विकास रोकिएको रहेछ भनेर तब पो थाह पाएँ।”

“हुर्कने बढ्‌ने उमेरलाई मैले गुमाएँ,” तेह्र वर्षको उमेरदेखि लागू पदार्थ सेवन गर्ने फ्रान्क आफ्नो अनुभव बताउँछन्‌। “जुन दिनदेखि मैले लागू पदार्थ लिन बन्द गरें तब पो थाह पाएँ कि मैले जीवनका समस्याहरूसँग जुझ्न केही पनि सिकेको रहेनछु। म फेरि त्यही १३ वर्षको केटो भएँ। सबै केटाकेटीहरूले अनुभव गर्ने भावनात्मक उतारचढाउ म अहिले फेरि अनुभव गर्दैछु।”

लागू पदार्थले के मेरो शरीरलाई हानि गर्छ?

यो अर्को चिन्ताको कुरा हो। तथाकथित कडा लागू पदार्थले ज्यानसमेत लिनसक्छ भनेर प्रायजसो युवकयुवतीहरूलाई राम्ररी थाह छ। तर गाँजाजस्ता तथाकथित हलका लागू पदार्थहरूले नि? के त्यस्ता नशालु पदार्थहरूबारे दिइएका सबै चेताउनीहरू केवल मानिसहरूलाई तर्साउनका लागि मात्र हुन्‌? जवाफको लागि, गाँजालाई विचार गरौं।

गाँजाले (जसलाई मारिवाना, पट, रिफर, ग्रास वा विड पनि भनिन्छ) पार्ने असरबारे विशेषज्ञहरूबीच मतभेद पाइन्छ। अनि नहोस्‌ पनि किन। किनकि यस लोकप्रिय लागू पदार्थबारे ज्यादै कम जानकारी मात्र उपलब्ध छ। त्यसो हुनुको एउटा कारण त गाँजाको जटिल बनौट पनि हो। गाँजाको धुवाँमा ४०० भन्दा धेरै जटिल रासायनिक तत्त्वहरू पाइन्छन्‌। चुरोटले क्यान्सर गराउँछ भनेर पत्ता लगाउन त डाक्टरहरूलाई ६० वर्ष लाग्यो भने गाँजाका ४०० तत्त्वहरूले शरीरलाई के कस्तो असर पार्छ, त्यो पत्ता लगाउन दशकौं लाग्ला।

तथापि, सं.रा.-मा निकै नाउँ चलेको औषधी संस्थानका विशेषज्ञहरू हजारौं प्रतिवदेनहरूको अध्ययनपश्‍चात्‌ यस्तो निष्कर्षमा आए: “आजसम्म प्रकाशमा आएका वैज्ञानिक प्रमाणहरूलाई हेर्दा गाँजाले थुप्रै शारीरिक तथा मानसिक असरहरू गर्छ भन्‍ने प्रष्ट देखिन्छ र त्यस्ता केही असरले खास अवस्थामा शरीरलाई हानिसमेत पुऱ्‍याउँछ।” के हुन्‌ त त्यस्ता केही हानिकारक असरहरू?

गाँजा—त्यसले तपाईंको शरीरलाई के गर्छ

उदाहरणका लागि, फोक्सोलाई विचार गर्नुहोस्‌। गाँजाको प्रयोगलाई पूरापूर समर्थन गर्ने व्यक्‍तिहरूसमेत गाँजा तान्‍नु शरीरको लागि हानिकारक हुनसक्छ भनेर स्वीकार्छन्‌। सुर्तीको धुवाँमा जस्तै गाँजाको धुवाँमा अलकत्रा जस्ता थुप्रै विषालु पदार्थहरू हुन्छन्‌।

डा. फरेस्ट एस. टेनेन्ट, जुनियरले गाँजा तान्‍ने ४९२ जवान अमेरिकी सिपाहीहरूको अध्ययन गर्दा झन्डै २५ प्रतिशतको “घाँटी दुखेको अनि लगभग ६ प्रतिशत चाहिं ब्रोन्काइटसद्वारा पीडित भएको पाए।” यस्तै अर्को अध्ययनमा गाँजा तान्‍ने ३० जवानमध्ये झन्डै २४ जनाको फोक्सोमा “क्यान्सर रोगका जस्ता लक्षणहरू देखा पर्न थालेको पाइयो।”

हो, यिनीहरूलाई पछि क्यान्सर हुन्छ नै भनेर ठोकुवा गर्न सकिंदैन। तर के तपाईं खतरा मोल्न चाहनुहुन्छ? यसबाहेक, परमेश्‍वरले “सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ” भनेर बाइबलले बताउँछ। (प्रेरित १७:२५) फोक्सो अनि घाँटीलाई हानि गर्ने कुरा जानाजानी तानेर के तपाईंले जीवनदाताको आदर गरिरहनुभएको हुनेछ र?

उपदेशक १२:६ मा मानव मस्तिष्कलाई कविताशैलीमा “सुनको कचौरा” भनिएको छ। तपाईंको मुठीभन्दा अलिक ठूलो अनि झन्डै डेढ किलोग्राम तौल भएको मस्तिष्क मीठा सम्झनाहरू साँचेर राख्ने भाँडो मात्र नभई सम्पूर्ण स्नायु प्रणालीलाई नियन्त्रण गर्ने मुख्य केन्द्र पनि हो। मस्तिष्कको यही विशेषतालाई ध्यानमा राख्दै औषधी संस्थानले के भन्छ ध्यान दिनुहोस्‌: “गाँजाले मस्तिष्कमा रासायनिक अनि इलेक्ट्रोफिजियोलोजिकलबाहेक अन्य गहिरा असरहरू पार्छ भनेर किटेरै भन्‍नसक्छौं।” हालसम्म गाँजाले मस्तिष्कमा स्थायी असरहरू पार्छ भन्‍ने कुनै ठोस प्रमाण नभेटिए तापनि त्यसले “सुनको कचौरा[लाई]” हानि गर्नसक्ने सम्भावनालाई हल्कासित लिनु हुँदैन।

अनि के तिनीहरूले कुनै समय विवाह गरी परिवार बसाल्नसक्छन्‌ त? औषधोपचार संस्थानको प्रतिवदेनअनुसार परीक्षणका लागि जनावरलाई ठूलो मात्रामा गाँजा दिंदा त्यसले “गर्भमा रहेको शिशुमा विकारहरू उत्पन्‍न” गरेको पाइयो। त्यस्तै असर मानिसलाई पनि हुन्छ वा हुँदैन, त्यसबारे हालसम्म कुनै प्रमाण भेट्टिएको छैन। यद्यपि नबिर्सनुहोस्‌ गर्भमा रहेको शिशुलाई पार्ने असरहरू (जस्तै, डिइएस हार्मोनले गर्ने असर) प्रायः वर्षौंपछि मात्र देखा पर्छन्‌। अतः गाँजा तान्‍ने व्यक्‍तिका छोराछोरी वा नातिनातिनीलाई के असर पर्दो रहेछ, त्यो हेर्न बाँकी नै छ। डा. गब्रिएल नाहस गाँजा सेवनलाई “आनुवंशिक रुलेटसँग” तुलना गर्नु मिल्छ भन्छन्‌। छोराछोरीलाई “परमप्रभुले दिनुभएको हक” सम्झने व्यक्‍तिहरूले के त्यस्तो खतरा मोल्नु बुद्धिमानी होला र?—भजन १२७:३.

लागू पदार्थबारे बाइबलको दृष्टिकोण

निस्सन्देह, गाँजाबाहेक मानिसहरूले प्रयोग गर्ने अरू लोकप्रिय लागू पदार्थहरू पनि छन्‌। तथापि, केवल आनन्दका लागि दिमागलाई असर गर्ने कुनै पनि किसिमका पदार्थहरू सेवन नगर्ने प्रशस्त कारणहरू रहेछन्‌ भनेर गाँजाबारे गरिएको यस छलफलले देखाउँछ। बाइबल यसो भन्छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो।” (हितोपदेश २०:२९) जवान हुनुभएको नाताले तपाईंको स्वास्थ्य पनि पक्कै राम्रो होला। त्यसोभए त्यसलाई किन खतरामा पार्ने?

अझ विचारणीय कुरा त के हो भने, बाइबलले लागू पदार्थबारे के-कस्तो धारणा राखेको छ, त्यो हामीलाई थाह छ। रासायनिक तत्त्वहरूको दुरुपयोग गरेर “विवेकको” हानि होइन तर “रक्षा” गर भनेर बाइबलले हामीलाई सल्लाह दिन्छ। (हितोपदेश ३:२१) अनि अझै यसो पनि भन्छ: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।” साँच्चै भन्‍ने हो भने, ‘आफूलाई हर अशुद्धपनाबाट’ अलग राख्ने व्यक्‍तिलाई मात्र परमेश्‍वरले “म तिमीहरूलाई ग्रहण गर्नेछु, औ तिमीहरूका पिता हुनेछु,” भन्‍ने वचन दिनुहुन्छ।—२ कोरिन्थी ६:१७–७:१.

तर जे नै भने पनि लागू पदार्थको विरोध गर्नु त्यति सजिलो नहुनसक्छ।

साथीसंगत अनि तिनीहरूको दबाब

गर्मी महिनाको सरसराउँदो साँझपख जो र फ्रान्कले बाचा बाँधे। दाजुभाइ पर्ने यी दुइ ठिटो घनिष्ठ मित्र पनि थिए। “अरूले जेसुकै गरे पनि हामी दुइ जना चाहिं कहिल्यै लागू पदार्थ नलिने,” तिनीहरूमध्ये कान्छो, जोले भने। अनि त्यसपछि दुवै जना बिदावारी भए। त्यसको पाँच वर्षपछि एकदिन जोलाई दुर्घटनास्थलमा तिनकै कारभित्र मृत अवस्थामा भेट्टाइयो। कारण? लागू पदार्थ। अनि फ्रान्क? तिनी पनि लागू पदार्थको कुलतमा नराम्रोसित फसिसकेका थिए।

कसरी यस्तो हुनगयो? त्यसको जवाफ बाइबलको यस गम्भीर चेताउनीमा लुकेको छ: “नठगियौ, खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) जो अनि फ्रान्क दुवै जना गलत संगतमा परे। अनि दुर्व्यसनीहरूसँगको घनिष्ठता बढ्‌दै जाँदा एक दिन तिनीहरू आफैले पनि लागू पदार्थ अजमाउन थाले।

केटाकेटी तथा किशोरकिशोरीहरूको आत्मविनाशकारी व्यवहार (अंग्रेजी) यसो भन्छ: “किशोरकिशोरीहरू घनिष्ठ मित्रद्वारा पहिलो पल्ट विभिन्‍न लागू पदार्थको सम्पर्कमा आउँछन्‌ वा त्यसप्रति ‘आकर्षित’ हुन थाल्छन्‌। . . . त्यतिबेला उसको मनसाय केवल साथीहरूसँग रोमाञ्चकारी वा आनन्ददायी अनुभव साट्‌ने हुनसक्छ।” यो लेखको सुरुमा उल्लेख गरिएको माइक यसलाई समर्थन गर्दै यसो भन्छन्‌: “मैले हार मानेका कुराहरूमध्ये एक साथीहरूको दबाब पनि हो। . . . पहिलो पटक गाँजा तान्दा साथीहरूकै कारण तानेको थिएँ। किनकि तिनीहरू सबै गाँजा तान्थे र म तिनीहरूभन्दा अलग हुन चाहँदिन थिएँ।”

अतः कुरा नलुकाइ भन्‍ने हो भने तपाईंका साथीहरूले लागू पदार्थ सेवन गर्न थाले भने भविष्यमा तिनीहरूले जस्तै सेवन गर्ने ठूलो दबाब तपाईंले महसुस गर्नुहुनेछ। तपाईंले आफ्ना साथीहरू फेर्नु भएन भने कुनै दिन तपाईं पनि लागू पदार्थको दुर्व्यसनमा फस्नु हुनेछैन भन्‍न सकिंदैन।

“बुद्धिमानीहरूको संगत”

हितोपदेश १३:२० भन्छ, “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” यो कुरालाई बुझ्न यसलाई विचार गर्नुहोस्‌। रुघा नसरोस्‌ भनेर बच्न तपाईं के गर्नुहुन्छ? के रुघा लागेका मानिसहरूदेखि टाढा बस्नुहुन्‍न र? “त्यसैगरि” किशोरावस्थाका साथीहरूको दबाब (अंग्रेजी) भन्‍ने किताब भन्छ कि “लागू पदार्थको दुर्व्यसनदेखि अलग बस्ने हो भने आफूलाई स्वास्थ्यकर वातावरणबीच राख्नुपर्छ र कुनै हानिकारक असरहरूको प्रभावमा आउनदेखि होशियार हुनुपर्छ।”

त के तपाईं लागू पदार्थको विरोध गर्न चाहनुहुन्छ? त्यसोभए साथी संगतलाई विचार गर्नुहोस्‌। परमेश्‍वरसँग डराउने मसीहीहरूसँग मात्र संगत गर्नुहोस्‌। किनभने तिनीहरूले तपाईंलाई लागू पदार्थको विरोध गर्न मदत गर्नेछन्‌। (१ शमूएल २३:१५, १६ तुलना गर्नुहोस्‌।) प्रस्थान २३:२ के भन्छ, त्यसलाई पनि विचार गर्नुहोस्‌। हुन त त्यहाँ भनिएका कुराहरू धेरै पहिले शपथ लिएर साक्षी बस्नेहरूलाई भनिएको भए तापनि युवकयुवतीहरूले पालन गरे अति बेस हुन्छ। त्यसले भन्छ: “खराबी गर्न भीड़सँग नलाग्‌।”

विचार नपुऱ्‍याई आँखा चिम्लेर साथीहरूको पछि लाग्ने मानिस दासभन्दा कम हुँदैन। किनकि रोमी ६:१६ मा बाइबल यसो भन्छ: “के तिमीहरूलाई थाह छैन, जसको आज्ञाकारिताको निम्ति दासजस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ, त उसैका दास तिमीहरू हौ, जसको आज्ञा पालन गर्दछौ?” त्यसैकारण, बाइबलले युवकयुवतीहरूलाई “विवेक” विकास गर्न प्रोत्साहित गर्छ। (हितोपदेश २:१०-१२) दिमाग खियाउन सिक्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईं बरालिएका केटाकेटीहरूको पछि पछि लाग्नु हुनेछैन।

हो, तपाईंलाई लागू पदार्थ र त्यसले कस्तो असर पार्छ, बुझ्न सकसक लाग्ला। तर सकसक लाग्यो भन्दैमा चाखेरै हेर्नुपर्छ भन्‍ने छैन। तपाईंका उमेरका केटाकेटीहरू—अझ विशेषगरि निकै अघिदेखि लागू पदार्थ प्रयोग गर्नेहरूलाई हेर्नुहोस्‌। के तिनीहरू पहिलोजस्तो चंखो वा तेज छन्‌? के तिनीहरू जाँचमा पास हुन्छन्‌? अथवा तिनीहरू सुस्त, लाटो पो भएको छन्‌ कि? अनि कहिलेकाहीं वरपर के भइरहेको होसै नभएको मानिसले जस्तो व्यवहार पनि गर्छन्‌ कि? तिनीहरूको हालत, तिनीहरूले नै बनाएको शब्दबाट बुझ्न सकिन्छ। त्यो हो, “बर्न आउट्‌स” (नून खाएको कुखुराजस्तो थकित)। यद्यपि, ती “बर्न आउट्‌सले” शायद सुरु-सुरुमा खुलदुली लागेर नै लागू पदार्थ सेवन गरेका थिए होलान्‌। त्यसैकारण बाइबलले मसीहीहरूलाई अस्वास्थ्यकर जिज्ञासाहरूलाई दबाएर “खराबीमा बालकहरू होओ” भन्‍ने सल्लाह दिन्छ।—१ कोरिन्थी १४:२०.

तपाईं लागू पदार्थको विरोध गर्न सक्नुहुन्छ!

लागू पदार्थको दुरुपयोगसम्बन्धी सं.रा. राष्ट्रिय संस्थानबाट प्रकाशित पुस्तिका हामीलाई यसरी सम्झाउँछ: “लागू पदार्थ सेवन गर्ने मौकालाई इन्कार गर्नु . . . तपाईंको अधिकारको कुरा हो। तपाईंको निर्णय परिवर्तन गर्न दबाब दिने कुनै पनि साथीले तपाईंको स्वतन्त्रता अनि हक खोसिरहेको हुन्छ।” त्यसोभए कसैले लागू पदार्थ सेवन गर्न दियो भने तपाईं के गर्न सक्नुहुन्छ? विरोध गर्न नडराउनुहोस्‌! त्यसको मतलब, तपाईंले दुर्व्यसनका हानिबारे भाषण छाँट्‌नुपर्छ भनेको होइन। माथि उल्लेख गरिएको पुस्तिकाले सीधै “भैगो, मलाई चाहिंदैन” वा “बेकारको झमेलामा नपरुँ होला” वा ठट्टा गर्दै “म प्रदूषण विरोधी हुँ,” भनेर जवाफ दिने सुझाउ पनि दिन्छ। जबरजस्ती नै गऱ्‍यो भने चाहिं तपाईंले कडाइका साथ इन्कार गर्न सक्नुहुन्छ। अरूलाई तपाईं मसीही हुनुहुन्छ भनेर बताउँदा पनि यस्ता कुलतबाट सुरक्षा पाउन सकिन्छ।

जवान भएर हुर्कनु सजिलो छैन। तर त्यसबाट उम्कन लागू पदार्थ सेवन गर्न थाल्नुभयो भने भोलि एक जिम्मेवार, परिपक्व वयस्क बन्‍ने मौकामाथि ठूलो धक्का पुग्नसक्छ। समस्यादेखि लुक्ने होइन त्यससँग जुझ्नुहोस्‌। कुनै कुरा जति नै असह्‍य भए पनि रासायनिक तत्वहरूको सहारा नलिनुहोस्‌। बरु आमाबाबु वा तपाईंलाई मदत गर्नसक्ने कुनै वयस्क व्यक्‍तिलाई आफ्नो भार बिसाउनुहोस्‌। अनि कहिल्यै नबिर्सनुहोस्‌ बाइबलको यो सल्लाह: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

हो, यहोवा परमेश्‍वरले तपाईंलाई लागू पदार्थको विरोध गर्ने बल दिनुहुनेछ। फितलो नहुनुहोस्‌। अरूको दबाबमा परेर कहिल्यै निर्णय नबदल्नुहोस्‌। माइकले भनेझैं “कहिल्यै लागू पदार्थसँग खेलवाड नगर्नुहोस्‌! नत्र जिन्दगीभर पछुताउनुपर्ला!”

छलफलका लागि प्रश्‍नहरू

◻ थुप्रै युवकयुवतीहरू किन लागू पदार्थ सेवन गर्छन्‌?

◻ लागू पदार्थ सेवन गर्दा तपाईंको भावनात्मक विकासमा कसरी बाधा पुग्नसक्छ?

◻ गाँजाले शरीरमाथि पार्नसक्ने कुराबारे के थाह लागेको छ?

◻ आनन्दका लागि लागू पदार्थ सेवन गर्नेबारे बाइबलले के भन्छ?

◻ लागू पदार्थदेखि अलग बस्न साथी संगतलाई किन विचार गर्नुपर्छ?

◻ लागू पदार्थको विरोध गर्ने केही तरिका के के हुन्‌?

[पृष्ठ २७४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“स्कूलका पालेहरूसमेत [गाँजा] बेच्छन्‌,” एक युवक भन्छन्‌

[पृष्ठ २७९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“लागू पदार्थको सेवन गरेको दिनदेखि मेरो भावनात्मक विकास रोकिएको रहेछ भनेर तब पो थाह पाएँ।”—भूतपूर्व दुर्व्यसनी, माइक

[पृष्ठ २७८-मा भएको पेटी]

गाँजा—नयाँ चमत्कारी औषधी?

जलबिन्दु, दम र केमोथेरापी गरिरहेका क्यान्सर रोगीहरूका लागि गाँजाले फाइदा गर्नसक्छ भन्‍ने निकै कुराहरू सुन्‍नमा आइन्छ। सं.रा. औषधोपचार संस्थानले पनि त्यसमा केही सत्य भएको स्वीकारेका छन्‌। के त्यसोभए भविष्यमा डाक्टरहरूले गाँजा भएको चुरोटहरू प्रयोग गर्ने सुझाउ दिनेछन्‌ त?

त्यस्तो गर्लान्‌ जस्तो देखिंदैन। किनभने गाँजाका ४०० भन्दा धेरै रासायनिक तत्त्वहरू लाभदायी सिद्ध भए तापनि ती तत्वहरू पाउन गाँजा सल्काउनु चाहिं व्यवहारिक नहोला। “गाँजा तान्‍नु,” विशेषज्ञ डा. कार्लटन टर्नरअनुसार “पेन्सिलिन पाउन रोगीलाई ढुसी परेको पाउरोटी खान दिनु जस्तै हो।” अतः गाँजाका कुनै तत्त्वहरू साँच्चै लाभकारी सिद्ध भएमा गाँजाबाट “निकालिएका वा त्यससित मेल खाने तत्त्वहरू” लिन डाक्टरहरूले सुझाउ दिनेछन्‌। त्यसैकारण, सं.रा. स्वास्थ्य अनि मानव सेवा विभागका सचिवले लेखे: “सबैले विचार गर्नुपर्ने कुरा के छ भने, गाँजालाई औषधीको रूपमा प्रयोग गर्नु मिल्नसक्छ भन्दैमा, गाँजाले स्वास्थ्यमा पार्ने प्रभावहरूलाई हल्कासित लिन मिल्दैन।”

[पृष्ठ २७५-मा भएको चित्र]

विरोध गर्न नडराउनुहोस्‌!

[पृष्ठ २७६ र २७७-मा भएका चित्रहरू]

अहिले लागू पदार्थ सेवन गरेर समस्या देखि भाग्नुहोस्‌ . . .भोलि वयस्क भएपछि समस्या समाधान गर्न नसकेर पुर्पुरोमा हात राख्नुहोस्‌