सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुन पेशा छाने बेस होला?

कुन पेशा छाने बेस होला?

अध्याय २२

कुन पेशा छाने बेस होला?

‘अब बाँकी जीवन कसरी बिताउने?’ आज नभए भोलि यस चुनौतीपूर्ण प्रश्‍नको जवाफ तपाईंले दिनैपर्छ। तपाईंको अगाडि थुप्रै विषयहरू देखा पर्छन्‌—डाक्टरी, व्यापार, मानविकी, शिक्षा, कम्प्युटर साइन्स, इन्जिनियरिङ वा अन्य कुनै सीपहरू। अनि तपाईं पनि यस युवाजस्तै महसुस गर्नुहोला: “मेरो विचारमा सफलताको परिभाषा भन्‍नु नै . . . अहिले जुन सुखसयलमा जीवन बिताइरहेका छौं, त्यसलाई कायम राख्नसक्नु हो।” अथवा तपाईं पनि अरूजस्तै आफ्नो आर्थिकस्तर उकास्ने सपना देख्नुहुन्छ होला।

तर के सफलता भनेको भौतिक लाभ मात्र हो र? के त्यस्तो कुनै पेशाले तपाईंलाई साँचो सन्तुष्टि दिनसक्छ?

‘व्यर्थ रहेछ’

शानदार, भव्य, लोभलाग्दो! चलचित्र, टिभी तथा पुस्तकहरूले अनेकन्‌ पेशाहरूलाई प्रायजसो त्यसरी नै चित्रण गर्छन्‌। तर त्यस्तो तथाकथित सफलता हासिल गरेर मान्यता पाउन एकअर्कासित जीवन र मृत्युको संघर्ष गर्नुपर्ने हुन्छ। डा. डग्लस लाबियर भन्छन्‌, “छिटछिटो सफलता हासिल हुने, उच्च प्रविधिसित सम्बन्धित पेशाहरूमा” लागेका थुप्रै जवानहरूले “असन्तुष्टि, चिन्ता, नैराश्‍य, खोक्रोपना, मानसिक वेदना साथै थुप्रै शारीरिक अस्वस्थताहरूको गुनासो गर्छन्‌।”

धेरैअघि राजा सुलेमानले सांसारिक सफलता व्यर्थ हो भनेर पर्दाफास गरे। भौतिक धनसम्पत्तिहरूको कुनै कमी नभएको हुँदा सुलेमानले जिन्दगीमा उदेकलाग्दा थुप्रै सफलताहरू हासिल गरे। (उपदेशक २:४-१० पढ्‌नुहोस्‌।) यद्यपि, सुलेमान यस्तो निष्कर्षमा पुगे: “तब फर्केर मैले गरेका सबै हातका कामलाई विचारें, मेरा सबै परिश्रम र मेहनतलाई—औ के देखें भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ ती सबै संसारमा बेफायदाका कुरा रहेछन्‌।”—उपदेशक २:११.

जागिरले धनसम्पत्ति तथा ख्याति त देला तर त्यसले ‘आध्यात्मिक खाँचो’ पूरा गर्न सक्दैन। (मत्ती ५:३) यसकारण पेशागत उपलब्धिलाई नै सर्वस्व ठान्‍नेहरूले साँचो सन्तुष्टि पाउन सक्दैनन्‌।

सन्तोषजनक पेशा

राजा सुलेमान यस्तो सल्लाह दिन्छन्‌: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। यो बाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) अहिले हाम्रो समयमा साँचो मसीहीहरूको प्रमुख जिम्मेवारी, परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नु हो। (मत्ती २४:१४) अनि यस जिम्मेवारी पूरा गर्न परमेश्‍वरसमक्ष उत्तरदायी महसुस गर्ने युवाहरूले चाहे प्रचारकार्य गर्ने स्वाभाविक इच्छा होस्‌ वा नहोस्‌, प्रचारकार्यमा यथासम्भव धेरै भाग लिनुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। (२ कोरिन्थी ५:१४ तुलना गर्नुहोस्‌।) पूर्ण-समय जागिर खोज्नुको साटो हजारौंले पूर्ण-समय सुसमाचारक हुन रोजेका छन्‌। अरू कतिपय भने विदेशी भूमिमा मिसनरी भएर वा वाच टावर सोसाइटीका शाखा कार्यालयहरूमा सेवा गर्छन्‌।

कार्यकारी सचिवको जागिर छाडेर अग्रगामी भएकी एमिली यसो भन्छिन्‌: “यो काम अब मलाई साँच्चै मन पर्न थालेको छ।” हो, पूर्ण-समय सेवकाई जत्तिको सन्तोषजनक र रमाइलो पेशा अरू कुनै छैन! अनि “परमेश्‍वरका सहकर्मी” कहलाइनुभन्दा महान्‌ विशेषाधिकार अरू के नै होला र?—१ कोरिन्थी ३:९.

विश्‍वविद्यालयको शिक्षा—लाभदायक?

धेरैजसो अग्रगामीहरूले जीवन धान्‍न आंशिक जागिर खाएका हुन्छन्‌। तर पछि परिवार धान्‍नु पऱ्‍यो भने नि? जवान छँदा यहोवाको सेवा गरेकोमा कहिल्यै पछुताउनु पर्नेछैन! तर के विश्‍वविद्यालयको शिक्षा हासिल गरेपछि मात्र सेवकाईमा लाग्नु बेस होइन र?

निस्सन्देह, मसीही युवाहरूले यति वर्षसम्म पढेकै हुनुपर्छ भनेर बाइबलले बताएको छैन। नता यसले शिक्षाको नै विरोध गर्छ। महान्‌ “गुरु,” यहोवा आफ्ना जनहरूलाई राम्ररी पढ्‌ने अनि आफ्नो कुरा राम्ररी व्यक्‍त गर्नसक्ने हुनुपर्छ भनी प्रोत्साहन दिनुहुन्छ। (यशैया ३०:२०; भजन १:२; हिब्रू ५:१२) साथै, स्तरीय शिक्षा हासिल गरेका छौं भने मानिसहरू र संसारको परिस्थितिलाई राम्ररी बुझ्नसक्छौं।

तर जे होस्‌, विश्‍वविद्यालयको डिग्री हासिल गर्न जति समय र पैसा खर्च गर्नुपर्छ, के त्यो सधैं सार्थक साबित हुन्छ? a उच्च माध्यमिक विद्यालय मात्र उत्तीर्ण गरेका व्यक्‍तिहरूको दाँजोमा विश्‍वविद्यालयका स्नातकहरूले धेरै तलब पाउने र बेरोजगारको समस्या त्यति धेरै भोग्नु नपर्ने भए तापनि कलेजको पढाइको तयारी (अंग्रेजी) पुस्तकले बताएअनुसार यी केवल औसत संख्याहरू हुन्‌। विश्‍वविद्यालयका स्नातकहरूमध्ये थोरैले मात्र निकै बढी तलब पाउँछन्‌। बाँकीले पाउने तलब त्यति धेरै कहाँ हुन्छ र। यसबाहेक, विश्‍वविद्यालयका स्नातकहरूले धेरै तलब पाउनुका कारणहरू “असामान्य योग्यता, उत्प्रेरणा, रोजगारीका अवसरहरू, . . . विशेष खुबी” इत्यादि हुनसक्छन्‌। शिक्षा धेरै हासिल गरेकोले मात्र तलब धेरै पाएको होइन।

सं.रा.-को श्रम विभाग यसो भन्छ, “[विश्‍वविद्यालयको] डिग्री हुँदैमा जागिर पाउँछ भन्‍ने ग्यारेन्टी छैन। पेशेवर, प्राविधिक वा व्यवस्थापनसम्बन्धी कार्यहरूका लागि [विश्‍वविद्यालयका स्नातकहरू] निकै कम मात्र भर्ती हुन थालेका छन्‌ . . . किनभने स्नातकहरू निकै बढी भएको हुँदा ती कम्पनीहरूले सबैलाई जागिर दिन सकेनन्‌। परिणामस्वरूप, १९७० देखि १९८४ बीच जागिर खाने [विश्‍वविद्यालयका] ५ जना स्नातकहरूमध्ये १ जनाले त्यस्तो डिग्री नै नचाहिने जागिर खाए। स्नातकहरूको बिगबिगी सम्भवतः १९९० को दशकसम्म पनि हुनेछ होला।”

ध्यान दिनुपर्ने थप बुँदाहरू

विश्‍वविद्यालयको डिग्री लिएपछि जागिर पाउन पनि सक्छ, नपाउन पनि सक्छ। तर एउटा कुरा भने निर्विवाद छ: “समय अल्प भएको छ”! (१ कोरिन्थी ७:२९) उच्च शिक्षा हासिल गरेपछि निकै फाइदा हुनेछ भन्‍ने सोचाइ राख्दै चार वर्ष वा त्योभन्दा बढी समय विश्‍वविद्यालयको डिग्री हासिल गर्न बिताउनु, के समयको सर्वोत्तम सदुपयोग हो?—एफिसी ५:१६.

विश्‍वविद्यालयको शिक्षाले आध्यात्मिक लक्ष्य पूरा गर्न मदत गर्नेछ वा त्यो लक्ष्यबाट टाढा बनाउनेछ? नबिर्सनुहोस्‌, मसीहीको प्रमुख लक्ष्य धेरै पैसा कमाउनु होइन। (१ तिमोथी ६:७, ८) यद्यपि, सं.रा. विश्‍वविद्यालयका प्रशासकहरूसित लिइएको सर्वेक्षणअनुसार वर्तमान समयका विद्यार्थीहरू ‘पेशा मजबुत बनाउन तल्लीन छन्‌, भौतिक सफलता तथा आफूबारे मात्र चिन्तित छन्‌।’ विद्यार्थीहरूको एउटा समूहले यसो भन्यो: “पैसा। हाम्रो कुराकानीको मुख्य विषय नै पैसा हो जस्तो देखिन्छ।” अत्यधिक प्रतिस्पर्धा तथा स्वार्थी भौतिकवादको वातावरणमा चुर्लुम्म डुब्दा तपाईंमा कस्तो असर पर्नसक्छ?

विश्‍वविद्यालयहरूमा १९६० को दशकमा जस्तो हूलदंगा त हुँदैन होला। तर विश्‍वविद्यालयमा होहल्लाको कमी हुँदैमा त्यहाँको वातावरण स्वास्थ्यकर छ भन्‍नु चाहिं मिल्दैन। क्याम्पस जीवनबारे गरिएको अध्ययनको एउटा रिपोर्ट यसप्रकार छ: “विद्यार्थीहरूले व्यक्‍तिगत तथा सामाजिक मामिलाहरूमा अझ पनि प्रशस्त स्वतन्त्रता पाएका छन्‌।” लागू पदार्थ तथा मद्य प्रयोगको कुनै सीमा छैन। छाडा जीवनशैली कसै कसैले मात्र अपनाउने होइन तर सामान्य कुरा भइसक्यो। तपाईंको मुलुकका विश्‍वविद्यालयहरूको पनि यस्तै अवस्था छ भने के तपाईंलाई त्यहाँ नैतिक तवरमा स्वच्छ रहन गाह्रो हुनेछैन भन्‍न सकिएला र?—१ कोरिन्थी ६:१८.

चिन्ताको अर्को कारण के हो भने, उच्च शिक्षाले “धार्मिक विश्‍वास पालन गर्न” त्यति धेरै जोड दिएको पाइँदैन। (गैरधार्मिक संसारमा पवित्र थोक [अंग्रेजी]) धेरै अंक ल्याउने दबाबले गर्दा केही मसीही युवाहरूले आध्यात्मिक क्रियाकलापहरूलाई अवहेलना गरेका छन्‌। यसो हुँदा विश्‍वविद्यालयहरूले सिकाउने सोचविचारबाट सजिलै प्रभावित हुने सम्भावना हुन्छ। कसै कसैको त विश्‍वासको जहाज डुबेको छ।—कलस्सी २:८.

विश्‍वविद्यालयको शिक्षाका विकल्पहरू

यी तथ्यहरूलाई विचार गरेर थुप्रै मसीही युवाहरूले विश्‍वविद्यालयको शिक्षा हासिल नगर्ने निर्णय गरेका छन्‌। यहोवाका साक्षीहरूको मण्डलीमा दिइने प्रशिक्षणमध्ये विशेषगरि साप्ताहिक ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाले जागिर भेटाउन निकै मदत पुऱ्‍याएको थुप्रैले अनुभव गरेका छन्‌। विश्‍वविद्यालयको डिग्री नभए तापनि त्यस्ता युवाहरूले नहडबडाउन, आफ्नो कुरा राम्ररी व्यक्‍त गर्न र जिम्मेवारी वहन गर्न सिक्छन्‌। यसबाहेक, उच्च माध्यमिक विद्यालयमा छँदै कसै कसैले टाइपिङ, कम्प्युटर प्रोगामिङ, गाडीहरू बनाउने, कारखानाको काम इत्यादि सिक्छन्‌। त्यस्ता सीपहरूले आंशिक जागिर पाउन मदत पुऱ्‍याउँछ र त्यस्ता कामदारहरूको निकै खाँचो पनि हुन्छ। अनि थुप्रै युवाहरूलाई ‘आफ्नै हातले काम गर्न’ मन नपरे तापनि बाइबलले कडा “परिश्रम[को]” सम्मान गर्छ। (एफिसी ४:२८; हितोपदेश २२:२९ तुलना गर्नुहोस्‌।) भनौं भने, येशू ख्रीष्टसमेत आफ्नो पेशामा निकै निपुण हुनुभएकोले “सिकर्मी” भनेर चिनिनुभयो!—मर्कूस ६:३.

हो, केही मुलुकहरूमा विश्‍वविद्यालयका स्नातकहरू फालाफाल भएको हुँदा थप प्रशिक्षण नलिई सानोतिनो जागिर पाउन पनि मुस्किल भएको छ। तर प्रायजसो ठाउँहरूमा सिकारु प्रशिक्षण, व्यावसायिक वा प्राविधिक स्कूल र विश्‍वविद्यालयले प्रदान गर्ने छोटो कोर्सहरू हुन्छन्‌। त्यस्तो शिक्षा लिएपछि जागिर पाउन सजिलो हुन्छ र त्यति धेरै समय तथा पैसा पनि लगानी गर्नु पर्दैन। रोजगारसम्बन्धी तथ्यांकले समावेश नगर्ने एउटा महत्त्वपूर्ण बुँदा पनि कहिल्यै बेवास्ता नगर्नुहोस्‌। त्यो हो, आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिने व्यक्‍तिहरूलाई परमेश्‍वरको प्रतिज्ञा।—मत्ती ६:३३.

रोजगारीको सम्भावना तथा शैक्षिक प्रणालीहरू ठाउँअनुसार फरक फरक हुन्छन्‌। युवाहरूको योग्यता तथा प्रवृत्ति एउटै हुँदैन। मसीही सेवकाईलाई आफ्नो पेशा बनाउनु लाभकारी हुन्छ भनी सुझाउ दिए तापनि त्यो व्यक्‍तिगत निर्णयको कुरा हो। तपाईंले कति शिक्षा हासिल गर्ने हो, त्यसको निर्णय तपाईं र तपाईंका आमाबाबुले नै सबै कुरा होशियारीपूर्वक केलाएपछि गर्नुपर्छ। त्यस्ता निर्णयहरू गर्दा “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:५.

उदाहरणका लागि, विश्‍वविद्यालय जानैपर्छ भनी तपाईंको आमाबाबुले जिद्दी गर्नुभएमा उहाँहरूको सुपरिवेक्षणमा बसुञ्जेल उहाँहरूको कुरा सुन्‍नुबाहेक तपाईंले गर्नसक्ने अरू केही छैन। b (एफिसी ६:१-३) शायद, तपाईं विश्‍वविद्यालयको वातावरणमा अत्यन्तै घुलमिल नहुन त्यहाँको आवास गृहहरूमा नबसी घरमै बसेर पढाइ पूरा गर्न सक्नुहुन्छ होला। कोर्स छान्दा होशियार हुनुहोस्‌। जस्तै सांसारिक दर्शनहरूभन्दा जागिरका लागि उपयोगी हुने सीपहरू सिक्नुहोस्‌। साथीहरू छान्दा पनि होशियार हुनुहोस्‌। (१ कोरिन्थी १५:३३) सभामा उपस्थित भएर, क्षेत्र सेवकाईमा भाग लिएर अनि व्यक्‍तिगत अध्ययन गरेर आध्यात्मिक तवरमा बलियो हुनुहोस्‌। विश्‍वविद्यालय जान बाध्य भएका केही युवाहरूले आफूलाई मिल्ने तालिका छानेर अग्रगामीसमेत गर्न सकेका छन्‌।

प्रार्थनापूर्वक होशियारीसाथ पेशा छान्‍नुहोस्‌। यसो गर्नुभयो भने तपाईं आनन्दित हुनुहुनेछ र साथै ‘स्वर्गमा धन-सम्पत्ति थुपार्न’ सक्नुहुनेछ।—मत्ती ६:२०.

[फुटनोटहरू]

a संयुक्‍त राज्यका विश्‍वविद्यालयमा अध्ययन गर्न औसतन वार्षिक खर्च १०,००० डलरभन्दा बढी हुन आउँछ! त्यो ऋण तिर्न विद्यार्थीहरूलाई वर्षौं लाग्छ।

b तपाईंको आमाबाबुको चित्त बुझाउन विश्‍वविद्यालयमा चार वर्ष बिताउनु अनिवार्य नहोला। संयुक्‍त राज्यमा एसोसियट डिग्रीले पनि थुप्रै हाकिमहरूको चित्त बुझ्छ र त्यस्तो डिग्री हासिल गर्न दुइ वर्ष मात्र लाग्छ।

छलफलका लागि प्रश्‍नहरू

◻ सांसारिक पेशाहरूले किन प्रायजसो सुख दिन सक्दैनन्‌?

◻ ईश्‍वरभीरु युवाहरू सबैले पूर्ण-समय सेवकाईलाई आफ्नो पेशा बनाउने विचार किन गर्नुपर्छ?

◻ उच्च शिक्षाबाट कस्ता लाभहरू प्राप्त हुन्छ भन्‍ने दाबी छ तर के त्यस्ता दाबीहरू सधैं साँचो साबित हुन्छन्‌?

◻ विश्‍वविद्यालयको शिक्षाका कस्ता खतराहरू हुनसक्छन्‌?

◻ विश्‍वविद्यालयको शिक्षाको विकल्पको रूपमा युवाहरूले कुन कुरालाई विचार पुऱ्‍याउनसक्छन्‌?

[पृष्ठ १७५-मा भएको ठूलो अक्षरको क्याप्सन]

जागिरले धनसम्पत्ति तथा ख्याति त देला तर त्यसले ‘आध्यात्मिक खाँचो’ पूरा गर्न सक्दैन

[पृष्ठ १७७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“[विश्‍वविद्यालयको] डिग्री हुँदैमा जागिर पाउँछ भन्‍ने ग्यारेन्टी छैन”