सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?

शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?

अध्याय २०

शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?

“पक्षपात गर्ने शिक्षकलाई त म देखी सहन्‍नँ,” भिक्की भन्छिन्‌। निस्सन्देह तपाईंलाई पनि त्यस्तै लाग्दो हो। सन्‌ १९८१ मा १,६०,००० अमेरिकी किशोरकिशोरीहरूसित गरिएको सर्वेक्षणअनुसार ७६ प्रतिशतले शिक्षकहरूबाट पक्षपात भएको दोष लगाए!

धेरै अंक पाउने आश गर्दा कम अंक मात्र पाउँदा युवाहरू खिन्‍न हुन्छन्‌। अचाक्ली वा अनावश्‍यक ढंगमा वा जातीय भेदभावको कारण सजाय भोग्नुपर्दा तिनीहरू आक्रोशित हुन्छन्‌। शिक्षकको मनपर्ने विद्यार्थीले विशेष ध्यान वा बढी चासो पाउँदा तिनीहरूलाई रीस उठ्‌छ।

हो, शिक्षकहरू पनि गल्तीहरू गर्छन्‌। तिनीहरूका पनि आफ्नै प्रकारका स्वभाव, समस्या अनि पूर्वाग्रहहरू हुन्छन्‌। तथापि, बाइबलले यस्तो चेताउनी दिन्छ: “रीस देखाउन छिटो नगर्‌।” (उपदेशक ७:९) शिक्षकहरूसमेत धेरै चोटि ‘चुक्‍तछन्‌।’ “जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) बेकारमा शंका गर्नुको साटो शिक्षकबारे राम्रै सोचे कसो होला?

शिक्षकले “जथाभावी सबैलाई गाली गरिरहेको” फ्रेडी नाउँको केटोले हेरिरहेका थिए। फ्रेडीले कौशलतापूर्वक शिक्षकसित कुरा गरे अनि त्यसरी झट्टै रीसाउनुको कारण बुझे। “कुरा के भने, आज बिहान मेरो गाडीमा गडबड भइरहेको थियो,” शिक्षकले बताए। “स्कूलमा आउँदा आउँदै इन्जिन बेस्सरी तात्तियो र ढीलो भयो।”

शिक्षक तथा तिनलाई मनपर्ने विद्यार्थीहरू

शिक्षकले मन पराउने विद्यार्थीहरूले पाउने विशेष सुविधाबारे के भन्‍न सकिन्छ? शिक्षकले सामना गर्नुपर्ने माग तथा दबाबहरू बेग्लै प्रकारका हुन्छन्‌ भनी नबिर्सनुहोस्‌। युवा हुँदा (अंग्रेजी) पुस्तकले वर्णन गरेअनुसार शिक्षकहरूले “गम्भीर परिस्थिति” सामना गर्छन्‌ किनभने तिनीहरूले “प्रायजसो कताकता मन डुलाइरहने” विद्यार्थीहरूको ध्यानाकर्षण गर्नुपर्छ। शिक्षकहरूले “मुडको असाध्यै हेरफेर भइरहने, अरू कुरामा अलमलिरहने, १५ मिनेटभन्दा बढी एउटा कुरामा ध्यान दिन नसक्ने” किशोरकिशोरीहरूसित व्यवहार गर्नुपर्ने हुन्छ।

त्यसकारण शिक्षकले कडा मेहनत गर्ने, ध्यान दिने वा आदरपूर्ण व्यवहार गर्ने विद्यार्थीलाई बढी मन पराउनु के कुनै अनौठो कुरा हो र? होइन तर ‘आँखाको पुतली हुन’ खोज्नेहरूले बढी ध्यान पाउँदा तपाईंलाई असह्‍य लाग्नसक्छ। तर तपाईंका शैक्षिक आवश्‍यकताहरू पूरा भइरहेका छन्‌ भने कुनै लगनशील विद्यार्थी शिक्षकको प्रिय भयो भन्दैमा किन खिन्‍न हुने वा डाह गर्ने? साथै, तपाईं अलि बढी लगनशील हुनु बेसै होला।

कक्षाकोठामा युद्ध

एक जना विद्यार्थीले आफ्नो शिक्षकबारे यसो भने: “हामी विद्यार्थीहरूले सधैं उहाँको विद्रोह गर्छौं भन्ठान्‍नुहुन्थ्यो र उहाँले हामीमाथि जाइलाग्ने निर्णय गर्नुभयो। उहाँ अलि सन्की स्वभावको हुनुहुन्थ्यो।” तथापि, थुप्रै शिक्षकहरूलाई आफू अलि “सन्की” हुनु ठीकै हो जस्तो लाग्ला। बाइबलले भविष्यवाणी गरेझैं यो “डरलाग्दो समय” हो र विद्यार्थीहरू प्रायजसो “असंयमी, निष्ठूर, असल नरूचाउने” स्वभावका हुन्छन्‌। (२ तिमोथी ३:१-३) यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले यसो भन्यो: “धेरैजसो शहरी इलाकाका शिक्षकहरूलाई चौबीसै घण्टाजसो हिंसाको डर हुन्छ।”

भूतपूर्व शिक्षक रोलान्ड बेट्‌स शिक्षकहरूबारे यसो भन्छन्‌: “शिक्षकहरू रीसले चूर भएर गाली नगरुञ्जेल कतिसम्म सहन्छन्‌, त्यो हेर्न केटाकेटीहरूले [प्रतीकात्मक अर्थमा] तिनीहरूलाई घचेट्‌नु वा घोच्नु, आफूले पूरा गर्नैपर्ने जिम्मेवारी ठान्छन्‌ . . . नयाँ शिक्षक रीसले पड्‌कनै लागेपछि केटीकेटीहरूले अझ बढी घचेटेर हेर्छन्‌।” के तपाईं वा तपाईंका सहपाठीहरू मिलेर शिक्षकलाई हैरान पार्नुभएको छ? त्यसो हो भने, शिक्षकको प्रतिक्रिया देखेर छक्क नपर्नुहोस्‌।

बाइबल यसो भन्छ: “छल गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) केही विद्यालयहरूमा व्याप्त डर र अनादरको कारण केही शिक्षकहरू असाध्यै किचकिचे हुन्छन्‌ र कठोर अनुशासन दिन्छन्‌। किशोरावस्थाको लागि पारिवारिक पुस्तक (अंग्रेजी) यस्तो टिप्पणी गर्छ: “शिक्षकलाई हेप्न खोज्ने विद्यार्थीहरूलाई पनि प्रायजसो हेपिन्छ।” हो, विद्यार्थीहरूले गर्दा नै शिक्षकहरू पनि प्रायजसो अमित्रैलो हुन्छन्‌।

साथै, कक्षाकोठाका क्रूर कर्तुतहरूका असरहरू विचार गर्नुहोस्‌। नियमित शिक्षकको सट्टामा आउने शिक्षकलाई केटाकेटीहरूले दिने “यातना र शास्तीबारे” भ्यालरी नाउँको केटीले बताइन्‌ तर यो उनले कुरा बढाइचढाइ भनेकी होइन। रोलान्ट बेट्‌स यसो भन्छन्‌: “नियमित शिक्षकको बदलामा आउने शिक्षकहरूलाई असाध्यै हैरान गरेर खाउँला जस्तै गर्छन्‌ र वाक्कै पार्छन्‌।” कुनै दण्ड नपाई फुत्कन सक्नेछन्‌ भन्‍ने पक्का भएकोले विद्यार्थीहरू उट्‌पट्याङ गर्न रमाउँछन्‌। जस्तै, सबैले एकै चोटि किताब वा पेन्सिलहरू भुइँमा खसाल्ने। अथवा शिक्षकको एउटै कुरा नबुझेजस्तो स्वाँग पार्दै तिनलाई रीस उठाउन ‘लाटो भई देखाउने।’ बबी नाउँको केटो यसो भन्छन्‌, “हामी रमाइलोको लागि यसरी जानाजानी हैरान गर्ने गर्छौं।”

तर जे होस्‌, कक्षाकोठामा असाध्यै क्रूर मिजास देखाउने गर्नुभएको छ भने शिक्षकले पनि त्यस्तै छुच्चो व्यवहार गरेर वैरभाव देखाउँदा छक्क नपर्नुहोस्‌। (गलाती ६:७ तुलना गर्नुहोस्‌।) सुनौलो नियम नबिर्सनुहोस्‌: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) साथीहरूको लहैलहैमा लागेर उट्‌पट्याङ गर्न नसुरिनुहोस्‌। शिक्षकको कुरालाई ध्यान दिएर सुन्‍नुहोस्‌। सहयोग गर्नुहोस्‌। शायद समय बित्दै जाँदा कमसेकम तपाईंप्रति उहाँको वैरभाव कम हुँदै जानेछ।

‘मेरो शिक्षकले मलाई मनै पराउनुहुन्‍न’

कहिलेकाहीं व्यक्‍तित्व भिन्‍नता वा एकअर्काको कुरा राम्ररी नबुझ्दा शिक्षक तपाईं विरुद्ध जाइलाग्नुभएको हुनसक्छ। प्रश्‍न सोधिरहने तपाईंको बानीलाई शिक्षकले विद्रोह वा सनक चढेको मूर्ख ठान्‍न सक्छन्‌। अनि शिक्षकलाई तपाईं मन पर्दैन भने तपाईंलाई अप्ठ्यारोमा पार्न वा अपमान गर्न पनि मन लाग्ला। त्यसपछि त पारस्परिक दुस्मनी सुरु भइहाल्छ।

बाइबल यसो भन्छ: “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१७, १८) शिक्षकको विद्रोह गर्न नखोज्नुहोस्‌। अनावश्‍यक रूपमा जोरी नखोज्नुहोस्‌। शिक्षकलाई तपाईंको गुनासो गर्ने कुनै वैध कारण नदिनुहोस्‌। भनौं भने, मित्रैलो हुने प्रयास गर्नुहोस्‌। ‘मित्रैलो? अनि त्यो पनि उहाँसित?’ तपाईं भन्‍नुहोला। हो, कक्षामा पस्नुहुँदा शिक्षकलाई आदरपूर्वक अभिवादन गरेर असल आनीबानी देखाउनुहोस्‌। तपाईंले सधैं असल आनीबानी देखाउँदा र कहिलेकाहीं मधुर मुस्कान दिंदा पनि उहाँको धारणा परिवर्तन हुनसक्छ।—रोमी १२:२०, २१ तुलना गर्नुहोस्‌।

हो, जस्तोसुकै परिस्थितिमा पनि तपाईं सधैं हाँसेर बस्न सक्नुहुन्‍न। तर उपदेशक १०:४ यस्तो सल्लाह दिन्छ: “यदि मालिक [वा अख्तियारवालाले गाली गरेर] तेरो विरुद्धमा रिसाए तैंले आफ्नो काम नछोड्‌। नम्रताले ठूला ठूला भुललाई सुधार्छ।” यो पनि नबिर्सनुहोस्‌, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।”—हितोपदेश १५:१.

‘मेरो योभन्दा बढी अंक आउनुपर्ने’

यो एउटा सामान्य गुनासो हो। शिक्षकलाई आफ्नो समस्या बताउने प्रयास गर्नुहोस्‌। राजा दाऊदको गम्भीर गल्ती खुलाउने कठिन कार्य गर्ने नातानबारे बाइबलले हामीलाई बताउँछ। नातान आरोपहरू लगाउँदै दरबारभित्र छिरेनन्‌ बरु तिनले कौशलतापूर्ण ढंगमा दाऊदसित कुरा थाले।—२ शमूएल १२:१-७.

तपाईं पनि त्यसरी नै नम्रतापूर्वक र शान्तपूर्वक आफ्नो शिक्षकसित कुरा गर्नुहोस्‌। भूतपूर्व शिक्षक ब्रुस वेबर यसरी सम्झाउँछन्‌: “विद्यार्थीको विद्रोहले शिक्षकलाई हठी बनाउँछ। तपाईंले होहल्ला वा घोर अन्यायको दाबी गर्दै बदला लिने कसम खानुभयो भने कुनै टुंगो लाग्नेछैन।” बुद्धिमत्तापूर्ण व्यवहार गर्नुहोस्‌। उहाँको अंक दिने तरिका के कस्तो हो, त्यसबारे सोध्नुभए पनि भो। वेबर भन्छन्‌, त्यसपछि “आफूमाथि अन्याय भएको कुरा देखाउनुको साटो भूलचुक वा अंक जोड्‌दा गल्ती भएको हुनसक्ने कुरा देखाउन खोज्नुहोस्‌। शिक्षककै अंक दिने तरिका चलाउँदै कहाँनेर गल्ती हुनगयो देखाउनुहोस्‌।” तपाईंको अंकमा कुनै हेरफेर नभए तापनि तपाईंको परिपक्वताले शिक्षकमा सकारात्मक छाप पार्नसक्छ।

आमाबाबुलाई थाह दिनुहोस्‌

तर कहिलेकाहीं कुरा मात्र गरेर कुनै फाइदा हुँदैन। सुजनको अनुभवलाई लिनुहोस्‌। कक्षामा सधैं सर्वश्रेष्ठ अंक हासिल गर्ने विद्यार्थी भएकी हुँदा एउटी शिक्षिकाले उनलाई फेल पार्न थाल्दा उनी तीन छक परिन्‌। समस्या के थियो? सुजन, यहोवाकी साक्षी थिइन्‌ र यसैकारण शिक्षक उनलाई मन पराउँदिन थिइन्‌। सुजन भन्छिन्‌, “असाध्यै दिक्क लाग्थ्यो र के गरे होला, सोच्नै सकिनँ।”

सुजन त्यो घटनालाई सम्झँदै यसो भन्छिन्‌: “मेरो बुबा नहुनुभएकोले मैले साहस बटुलेर आमालाई त्यस शिक्षिकाबारे बताएँ। आमाले भन्‍नुभयो, ‘तिम्रो शिक्षिकासित बरु मैले कुरा गर्नुपऱ्‍यो कि।’ कुराकानी गर्ने प्रबन्ध मिलेपछि आमाले मेरी शिक्षिकाकहाँ गएर त्यसो हुनुको कारण सोध्नुभयो। आमालाई असाध्यै रीस उठ्‌लाजस्तो मलाई लागेको थियो तर उहाँ रीसाउनुभएन। शान्तपूर्वक शिक्षिकासित कुरा गर्नुभयो।” यस शिक्षिकाले सुजनको लागि अर्कै शिक्षकको प्रबन्ध गरिन्‌।

हो, सबै गञ्जागोलपूर्ण मामिलाहरूको यस्तै सुखद अन्त हुँदैन र कहिलेकाहीं त सहने सिवाय अरू उपाय नै हुँदैन। तर यस वर्ष त्यो शिक्षकसित मिलेर बस्न सक्नुहुन्छ भने अर्को वर्ष त छँदैछ नि। त्यतिबेला तपाईंका अरू नै साथीहरू हुनेछन्‌ र तपाईंको कुरा बुझ्ने नयाँ शिक्षक पनि होला।

छलफलका लागि प्रश्‍नहरू

◻ पक्षपात गर्ने शिक्षकलाई तपाईं कुन दृष्टिकोणले हेर्न सक्नुहुन्छ?

◻ अरूको नजरमा शिक्षकहरूले मन पराएको जस्तो विद्यार्थीहरूलाई शिक्षकहरूले किन बढी ध्यान दिने गर्छन्‌?

◻ असाध्यै नरमाइलो जस्तो लाग्ने शिक्षकबाट तपाईं कसरी सिक्न सक्नुहुन्छ?

◻ कुनै कुनै शिक्षकहरू किन विद्यार्थीहरूसित अमित्रैलो हुन्छन्‌?

◻ कक्षाकोठामा तपाईं कसरी सुनौलो नियम लागू गर्न सक्नुहुन्छ?

◻ आफूले पाउनुपर्ने अंक नपाएको वा अन्याय भएजस्तो लागेमा के गर्न सक्नुहुन्छ?

[पृष्ठ १५८-मा भएको ठूलो अक्षरको क्याप्सन]

शिक्षकले मन पराएको विद्यार्थीले बढी ध्यान पाउँदा प्रायजसो द्वेष उत्पन्‍न हुन्छ

[पृष्ठ १६३-मा भएको ठूलो अक्षरको क्याप्सन]

धेरैजसो शहरी इलाकाका शिक्षकहरूलाई चौबीसै घण्टाजसो हिंसाको डर हुन्छ।”—यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट

[पृष्ठ १६० र १६१-मा भएको पेटी/चित्र]

‘मेरो शिक्षक असाध्यै नरमाइलो हुनुहुन्छ!’

किशोरावस्थाको पारिवारिक पुस्तक यसो भन्छ: “केही सर्वेक्षणहरूले देखाएअनुसार अधिकांश किशोरकिशोरी शिक्षकहरूको आलोचना गर्छन्‌, शिक्षकहरू नरमाइला छन्‌ वा ख्यालठट्टा गर्न जान्दैनन्‌ भनी गुनासो गर्छन्‌।” आज नभए भोलि, तपाईंको शिक्षक पनि त्यस्तै पर्नसक्छ, जसले ‘वाक्कै’ पार्लान्‌। यस्तो अवस्थामा तपाईं के गर्न सक्नुहुन्छ?

हालैको एउटा अनुसन्धानले देखाएअनुसार औद्योगिक सीप, शारीरिक शिक्षा अनि संगीतजस्ता विषयमा किशोरकिशोरीहरू निकै ध्यान दिन्छन्‌। तथापि, भाषा तथा इतिहास विषयका पाठहरूमा भने पटक्कै ध्यान दिंदैनन्‌ भने पनि हुन्छ।

के शारीरिक शिक्षा वा संगीतका प्रशिक्षकहरू अन्य विषयका शिक्षकहरूभन्दा बढी पोख्त हुन्छन्‌? नहुन पनि सक्छन्‌। स्पष्टतः, धेरैजसो विद्यार्थीहरूले शैक्षिक विषयहरूप्रति नकारात्मक दृष्टिकोण राख्छन्‌। अनि विद्यार्थीले पहिल्यै कुनै विषय नरमाइलो लाग्छ भनी निधो गरिसकेको छ भने सुकरातको जस्तो सीप भएकै शिक्षक किन नआओस्‌, ध्यान दिन गाह्रो हुन्छ! त्यसोभए, कुनै कुनै विषयप्रति तपाईंको मनोवृत्ति छाँटकाँट गर्नुपर्ने पो हो कि? आफूले सिकिरहेको कुराप्रति बढी चासो देखाउनुभयो भने स्कूलको पढाइ त्यत्तिको नरमाइलो लाग्नेछैन।

कहिलेकाहीं सिक्ने मन गर्ने विद्यार्थीहरूसमेत शिक्षक “नराम्रो” छ भन्‍ने गुनासो गर्छन्‌। तर वास्तवमा “राम्रो” शिक्षक भनेको के हो? एउटी केटीले यसो भनिन्‌: “हिसाबको शिक्षिकाले रमाइलो ढंगमा पढाउनुहुने हुँदा मलाई उहाँ असाध्यै मन पर्छ।” ‘थुप्रै ठट्यौलीहरू भनिरहने हुनाले’ एक जना केटोले अंग्रेजी शिक्षकको प्रशंसा गरे।

अरूले मन पराउनु वा अरूको निम्ति रमाइलो हुनु शिक्षकको लागि फाइदाजनक त होला तर “अरूहरूलाई पनि सिकाउनसक्ने” सुसज्जित हुनुको सट्टाभर्नाचाहिं होइन। (२ तिमोथी २:२) यहाँ बाइबलले आध्यात्मिक योग्यताहरूबारे कुरा गरिरहेको भए तापनि यसले राम्रो शिक्षकलाई आफ्नो विषय राम्रोसित थाह हुनुपर्ने तथ्यलाई जोड दिन्छ।

दुःखको कुरा, असाध्यै ज्ञानी शिक्षक पनि सधैं रमाइलो नहुनसक्छ। उदाहरणका लागि, प्रेरित पावल परमेश्‍वरको वचनको पोख्त प्रशिक्षक थिए। यद्यपि पावलको समयका केही मसीहीहरूले तिनी “सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन” भनी गुनासो गरे। पावलले यस्तो जवाफ दिए: “म बोली वचनमा अशिक्षित भए तापनि ज्ञानमा ता त्यस्तो छैनँ।” (२ कोरिन्थी १०:१०; ११:६) कसै कसैले पावलको कुरा नसुनेर वक्‍ताको हैसियतमा तिनका कमजोरीहरूलाई मात्र ध्यान दिएका भए तिनीहरूले त्यो मूल्यवान्‌ ज्ञान पाउनेथिएनन्‌। स्कूलको सन्दर्भमा पनि यस्तै गल्ती नगर्नुहोस्‌! कुनै शिक्षकलाई “नराम्रो” भनिहाल्नुअघि आफैलाई सोध्नु- होस्‌, ‘के उहाँलाई आफ्नो विषय राम्ररी थाह छ? के म उहाँबाट केही सिक्नसक्छु?’

अल्छीलाग्दो ढंगमा बोल्ने शिक्षकको कुरा सुन्‍न सधैंजसो भन्दा अलि बढी ध्यान दिनुपर्ने होला। तिनको कुरामा ध्यान दिन नोट लिने गर्नुहोस्‌। कक्षाकोठाको छलफल रमाइलो लाग्दैन भने पनि घरमा पढ्‌ने गर्नुहोस्‌।

बार्बरा मायर नाउँकी शिक्षिका यसो भन्छिन्‌: “बिनसित्ति एउटै पाठलाई धेरै चोटि दोऱ्‍याइ तेऱ्‍याइ पढाउने शिक्षकहरूसित प्रायजसो यस्तो समस्या हुन्छ।” रमाइलो बनाउन तपाईं के गर्न सक्नुहुन्छ? “हात उठाएर अझ बढी जानकारी माग्नुहोस्‌ . . . उहाँलाई थाह भएजति सबै कुरा भन्‍न लगाउनुहोस्‌।” के यसो गर्दा शिक्षकलाई रीस उठ्‌छ? आदरपूर्वक गर्नुभएको छ भने रीस उठ्‌दैन। (कलस्सी ४:६) त्यसो गर्दा, मायर यसो भन्छिन्‌: “शिक्षक पढाउन आउँदा अलि बढी तयारीका साथ आउँछन्‌ अनि सतही ज्ञान मात्र दिनेछैनन्‌।”

उत्साहले अरूलाई पनि प्रभाव पार्छ। तपाईंको सिक्ने चाहनाले मात्र पनि शिक्षकको जोस बढ्‌नसक्छ। निस्सन्देह, आमूल परिवर्तनको आश नगर्नुहोस्‌। अनि कुनै कुनै कक्षाहरूमा त सहनु सिवाय अर्को उपाय नै नहोला। तर तपाईं ध्यान दिएर सुन्‍नुहुन्छ र आफ्नो पढाइमा साँच्चै चासो दिनुहुन्छ भने शिक्षक नरमाइलो नै किन नहोस्‌, सिक्न सक्नुहुन्छ।

[पृष्ठ १६२-मा भएको चित्र]

स्कूलहरूमा हिंसाका बढ्‌दो घटनाहरूले गर्दा शिक्षण पेशा चूनौतीपूर्ण भएको छ

[पृष्ठ १६४-मा भएको चित्र]

अन्याय भए-जस्तो लागेमा शिक्षकसित आदरपूर्वक कुरा गर्नुहोस्‌