सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्कूल छाडुँ कि?

स्कूल छाडुँ कि?

अध्याय १७

स्कूल छाडुँ कि?

ज्याकले स्कूलमा हाजिर लिने काम गरेको २५ वर्षभन्दा बढी भइसक्यो। गयल हुने विद्यार्थीहरूले बनाउने बहानाहरू ज्याकलाई सबैजसो थाह भएको हुँदा केटाकेटीहरूलाई नयाँ बहाना पाउन धौधौ पर्छ। तिनी भन्छन्‌, “ती केटाकेटीहरूले एउटै बहाना पनि बाँकी राखेका छैनन्‌ होला। जस्तै, ‘आज मलाई बिसन्चो होला होला जस्तो लाग्यो’ . . . ‘अलास्कामा बस्नुहुने मेरो हजुरबुबा बित्नुभयो।’ ” ज्याकलाई “सबैभन्दा मन परेको” बहाना कुन हो? “असाध्यै कुहिरो लागेकोले स्कूल नै भेट्टाउन सकिएन” भनेर तीन जना केटाले बनाएको बहाना।

यी असाध्यै अपत्यारिला बहानाहरूले स्कूलप्रति थुप्रै युवाहरूको मनोवृत्ति पनि झल्काउँछ। यस्ता बहानाहरूले भावशून्यतादेखि (“ठीकै छ भन्‍नुपऱ्‍यो”) लिएर वैरभावजस्ता (“स्कूलको नाउँसमेत सुन्‍न मन लाग्दैन”) भावनाहरू झल्काउँछन्‌। उदाहरणका लागि, ग्यारी स्कूल जान उठ्‌न त उठ्‌थ्यो तर तुरुन्तै उसको पेट दुखिहाल्थ्यो। उसले भन्यो, “स्कूलको नजीकै पुग्दा असीनपसीन हुन्थें . . . स्कूलभित्र छिर्ने आँटै नगरी घर फर्कन्थें।” धेरै युवाहरूलाई स्कूलको त्यस्तै डर हुन्छ। यसलाई चिकित्सकहरू स्कूलको अचाक्ली डर भन्छन्‌। स्कूलमा हिंसा, साथीहरूको क्रूरता र राम्रो अंक ल्याउनुपर्ने दबाबले गर्दा प्रायजसो त्यस्तो डर हुने गर्छ। त्यस्ता युवाहरू (आमाबाबुको करकापमा) स्कूल त जालान्‌ तर सधैं चिन्तित हुन्छन्‌ र बिमारीसमेत पर्छन्‌।

यसकारण थुप्रै युवाहरू स्कूल जानै छोडेको देख्दा छक्क पर्नुपर्ने कुनै कारण छैन! संयुक्‍त राज्यमा मात्र प्राथमिक तथा निम्न माध्यमिक विद्यालयका लगभग २५ लाख विद्यार्थीहरू दिनहुँ गयल हुन्छन्‌! द न्यु योर्क टाइम्स-को एउटा लेखअनुसार न्यु योर्क शहरका उच्च माध्यमिक विद्यालयहरूमा धेरै (एक तिहाइ जति) विद्यार्थीहरू “सधैं गयल” हुने हुँदा “तिनीहरूलाई सिकाउन असम्भवै भएको छ।”

अरू युवाहरू भने अझ कडा कदम चाल्न पछि हट्‌दैनन्‌। “स्कूल असाध्यै नरमाइलो, कडा थियो” भनी वल्टर नाउँको केटाले भने। उच्च माध्यमिक विद्यालयमा पुगेपछि तिनले स्कूल जानै छाडे। एन्टोनिया नाउँ गरेकी केटीले पनि त्यसै गरिन्‌। उनलाई स्कूलका पाठहरू गाह्रो लागिरहेको थियो। उनले भनिन्‌, “पढेको कुरा पटक्कै नबुझेपछि स्कूलको पाठ कसरी गर्ने? म त त्यहाँ बसेर झन्‌ झन्‌ बुद्धू हुँदै गइरहेकी थिएँ, त्यसैले जानै छाडें।”

हो, संसारभरिका स्कूल प्रणालीहरूलाई गम्भीर समस्याहरूले पिरोलेका छन्‌। तर के यसो भन्दैमा जोसजाँगरै हराएर स्कूल छाड्‌नु ठीक हो त? अहिले स्कूल छाड्यो भने पछि जीवनमा कस्तो असर पर्ला? पढाइ नसकुञ्जेल स्कूल नछोड्‌ने के कुनै ठोस कारणहरू छन्‌?

शिक्षाको महत्त्व

उच्च माध्यमिक विद्यालयस्तरको प्रमाणपत्र लिन माइकल स्कूलमा पुनः भर्ना भए। त्यसो गर्नुको कारण सोध्दा तिनले यस्तो जवाफ दिए, “शिक्षा चाहिंदो रहेछ भनेर मैले बुझें।” तर “शिक्षा” भनेको के हो? थुप्रै तथ्यहरू फरर्र भन्‍नसक्नु? त्यो त सिमेन्ट नलाई ईंटाहरूको थाक लगाएर बनाएको घरजस्तै हुनेछ।

शिक्षाले सफल वयस्क जीवनको लागि तयार गर्नुपर्छ। स्कूलको वरिष्ठ प्राध्यापकको हैसियतमा १८ वर्ष सेवा गरिसकेका एलेन अस्टिल भन्छन्‌, “शिक्षा भनेको त्यस्तो कुरा हो, जसले तपाईंलाई सोच्ने, समस्याहरू समाधान गर्ने, व्यवहारिक र अव्यवहारिकबीच भिन्‍नता छुट्याउने, स्पष्टसित सोच्ने आधारभूत क्षमता दिन्छ, तथ्य भनेको के हो र मूल विषय तथा अन्य सहायक बुँदाहरूबीच कस्तो सम्बन्ध छ भनी बुझ्न सिकाउँछ। यसप्रकार शिक्षाले भिन्‍नताहरू छुट्याउन र कसरी सिक्ने भनी सिकाउँछ।”

अनि स्कूलले यो भूमिका कसरी पूरा गर्छ? “सोझाहरू चतुऱ्‍याइँले औ युवकहरू ज्ञान र विवेकले परिपूर्ण” होओस्‌ भनेर शताब्दीयौंअघि राजा सुलेमानले हितोपदेशहरू लेखे। (हितोपदेश १:१-४) हो, युवाहरूको चिनारी भन्‍नु नै अनुभवको कमी हो। तथापि, स्कूलले तपाईंको विवेक तिखार्न अनि त्यसको खेती गर्न मदत दिनसक्छ। यी तथ्यहरू फरर्र भन्‍ने मात्र होइन तर त्यसलाई केलाएर उपयोगी विचारहरू निकाल्नसक्नु हो। केही स्कूलका शिक्षण प्रणालीको निकै आलोचना गरिए तापनि स्कूलले तपाईंको दिमाग चलाउन भने अवश्‍य कर लाउँछ। हो, ज्यामिति गर्नु वा ऐतिहासिक मितिहरू कण्ठ गर्नु अहिले तपाईंलाई त्यत्तिको उपयोगी नलाग्ला। तर उच्च माध्यमिक विद्यालयको सफलता निर्देशक (अंग्रेजी) पुस्तककी लेखिका बार्बरा मायर यसो भन्छिन्‌: “शिक्षकहरूले जाँचमा सोध्ने सबै तथ्यहरू कसै कसैले मात्र सम्झेलान्‌ तर कसरी पढ्‌ने, योजना बनाउने जस्ता कुराहरूसम्बन्धी सीप जिन्दगीभर बिर्सनु हुन्‍न।”

शिक्षाका दीर्घकालीन असरहरूबारे अध्ययन गर्ने तीन प्राध्यापकहरू एउटै निष्कर्षमा पुगे। तिनीहरूले भने, “राम्रो शिक्षा पाएका व्यक्‍तिहरूको ज्ञान विस्तृत र गहन हुन्छ। तिनीहरू किताबको कीरा मात्र होइन तर संसारमा भइरहेका घटनाहरूबारे पनि जानिफकार हुन्छन्‌। तिनीहरूले अझ बढी ज्ञान हासिल गर्न खोज्ने र विभिन्‍न जानकारीप्रति कान ठाडो पार्ने सम्भावना पनि बढी हुन्छ। . . . उमेर ढल्केपछि र स्कूल सिद्धिएको निकै वर्षपछि सम्म पनि यस्ता असरहरू रहिरहन्छन्‌।”—शिक्षाका दीर्घकालीन असरहरू (अंग्रेजी)।

सबैभन्दा महत्त्वपूर्ण कुरा, शिक्षाले तपाईंलाई मसीही जिम्मेवारीहरू पूरा गर्न सक्षम बनाउनसक्छ। तपाईंको पढ्‌ने बानी राम्रो छ र पढाइमा खप्पिस हुनुभएको छ भने, परमेश्‍वरको वचन अध्ययन गर्न सजिलो हुनसक्छ। (भजन १:२) आफ्ना विचारहरू व्यक्‍त गर्न स्कूलमा छँदै सिकाइने हुँदा बाइबल सत्यहरू अरूलाई सजिलै बताउन सक्नुहुन्छ। त्यसरी नै इतिहास, विज्ञान, भूगोल र हिसाबको ज्ञान पनि उपयोगी हुन्छ र तपाईं विविध पृष्ठभूमि, रुचि तथा विश्‍वास भएका मानिसहरूसित कुरा गर्न सक्नुहुन्छ।

स्कूल तथा जागिर

पछि गएर राम्रो जागिर पाउने या नपाउने, त्यसमा पनि स्कूलको ठूलो हात हुन्छ। कसरी?

बुद्धिमान्‌ राजा सुलेमानले निपुण कारिगरबारे यसरी वर्णन गरे: “निपुण कारिगरले राजाको सेवा गर्छ, त्यसले साधारण मानिसको सेवा गर्दैन।” (हितोपदेश २२:२९) यो कुरा अहिले पनि लागू हुन्छ। सं.रा. श्रम विभागका अर्नेस्ट ग्रीनले यसो भने, “सीप छैन भने तपाईं थुप्रै कुरामा पछि पर्नुहुन्छ।”

त्यसैकारण, स्कूल छाड्‌नेहरूलाई जागिर पाउन गाह्रो हुन्छ। वल्टरले (माथि उल्लिखित) निकै हन्डर खाएपछि यो कुरा बुझे। “मैले जागिरको लागि धेरै चोटि दर्खास्त हालें तर प्रमाणपत्र नभएकोले जागिर पाइनँ।” तिनले यसो पनि भने: “कहिलेकाहीं मानिसहरूले प्रयोग गर्ने शब्दहरू म बुझ्दै बुझ्दिनँ र आफू महामूर्खजस्तो लाग्छ।”

एउटा तथ्यांकअनुसार उच्च माध्यमिक विद्यालयको पढाइ पूरा नगरी स्कूल छोडेकाहरूमध्ये १६ देखि २४ वर्षका थुप्रै युवाहरू बेरोजगार हुन्छन्‌। फलस्वरूप “स्कूलको पढाइ सिध्याउनेहरूको तुलनामा तिनीहरू दुइ गुना बढी बेरोजगार हुन्छन्‌ र सालाखाला हेर्ने हो भने, तिनीहरू बेरोजगार हुने सम्भावना झन्डै तीन गुना बढी हुन्छ।” (द न्यु योर्क टाइम्स) युवा (अंग्रेजी) पुस्तकका लेखक एफ. फिलिप राइस यसरी थप टिप्पणी गर्छन्‌, “आफ्नो शिक्षा पूरा नगर्ने व्यक्‍तिहरूले सुअवसरका ढोकाहरू बन्द गर्छन्‌।” बीचैमा स्कूल छोड्‌नेहरूले सम्भवतः आधारभूत सीप हासिल नगरेको हुँदा सबैभन्दा सजिलो काम पनि गर्न सक्दैनन्‌।

पढाइमा छल गर्दा (अंग्रेजी) पुस्तकका लेखक पल कपरमान यसो लेख्छन्‌: “हालैको एउटा अध्ययनअनुसार भान्छेको काम गर्न सात कक्षाको पढाइ, मिस्त्रीको काम गर्न आठ कक्षाको पढाइ र स्टोरकिपरको काम गर्न नौ दश कक्षाको जति पढाइ चाहिन्छ।” तिनी अझै यसो भन्छन्‌: “शिक्षक, नर्स, लेखापाल वा इन्जिनियरको जागिर पाउन त्योभन्दा धेरै पढाइको माग गर्नु मलाई व्यवहारिक नै लाग्छ।”

अतः स्पष्ट छ, पढ्‌नेजस्ता आधारभूत सीपहरू हासिल गर्ने विद्यार्थीहरूले जागिर पाउने सम्भावना बढी हुन्छ। तर स्कूलको पढाइ पूरा गर्दा प्राप्त हुने अर्को आजीवन फाइदा के हो?

तपाईं उत्तम मानव बन्‍न सक्नुहुन्छ

त्यो आजीवन फाइदा हो, आफ्नो कमजोरी तथा सामर्थ्य थाह पाउनु। भर्खरै कम्प्युटर क्षेत्रमा जागिर खाने मिशेलले यसो भनिन्‌: “थोरै समयभित्र धेरै काम कसरी भ्याउने, परीक्षा कसरी दिने र आफ्नो कुरा कसरी व्यक्‍त गर्ने भनेर मैले स्कूलमा सिकें।”

‘स्कूलले मलाई असफलताप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भनी सिकायो,’ अर्की केटी भन्छिन्‌। असफल हुँदा आफ्नो दोष नहेरी अरूलाई मात्र दोष लाउने तिनको बानी थियो। अरू कतिले चाहिं स्कूलको अनुशासित तालिकाबाट लाभ उठाएका छन्‌। यस्तो कडा तालिकाले केटाकेटीहरूको दिमागमा अवरोध पुऱ्‍याउँछ भनी धेरैले स्कूलहरूको आलोचना गर्छन्‌। यद्यपि, सुलेमानले जवानहरूलाई “बुद्धि र शिक्षा प्राप्त” गर्न प्रोत्साहन दिए। (हितोपदेश १:२) निस्सन्देह, कडा अनुशासन दिने स्कूलहरूले अनुशासित तर सृजनशील नागरिकहरू जन्माएका छन्‌।

तसर्थ, स्कूलमा छउञ्जेल त्यसको पूर्ण सदुपयोग गर्नु बुद्धिमानी हो। तर सदुपयोग गर्ने कसरी? सर्वप्रथम, स्कूलको पाठबारे नै कुरा गरौं।

छलफलका लागि प्रश्‍नहरू

◻ थुप्रै केटाकेटीहरू किन स्कूलप्रति नकारात्मक दृष्टिकोण राख्छन्‌? तपाईंलाई कस्तो लाग्छ?

◻ स्कूलले कुनै व्यक्‍तिको विवेकलाई विकास गर्न कसरी मदत गर्छ?

◻ स्कूलको पढाइलाई बीचैमा छोड्‌दा पछि जागिर पाउन किन गाह्रो हुनसक्छ?

◻ स्कूलको पढाइ सिध्याउँदा हुने अन्य व्यक्‍तिगत लाभहरू के हुन्‌?

[पृष्ठ १३५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म त त्यहाँ बसेर झन्‌ झन्‌ बुद्धू हुँदै गइरहेकी थिएँ, त्यसैले जानै छाडें”

[पृष्ठ १३८-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हालैको एउटा अध्ययनले देखाएअनुसार भान्छेको काम गर्न सात कक्षाको पढाइ, मिस्त्रीको काम गर्न आठ कक्षाको पढाइ र स्टोरकिपरको काम गर्न नौ दश कक्षाको जति पढाइ चाहिन्छ”

[पृष्ठ १३६-मा भएको चित्र]

तपाईंले स्कूलमा सिक्नुहुने अनु- शासनले पछि लाभ पुऱ्‍याउन- सक्छ

[पृष्ठ १३७-मा भएको चित्र]

स्कूलमा सिकाइने आधारभूत सीप- हरू राम्ररी नसिक्ने हरूलाई पछि जागिर पाउन गाह्रो हुन्छ