सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १०३

मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ

मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ

मत्ति २१:१२, १३, १८, १९ मर्कुस ११:१२-१८ लुका १९:४५-४८ युहन्‍ना १२:२०-२७

  • येसु अन्जिरको रूखलाई सराप दिनुहुन्छ र मन्दिरलाई शुद्ध पार्नुहुन्छ

  • धेरैलाई जीवन दिन येसु मर्नै पर्छ

येसु र उहाँका चेलाहरूले यरिहोबाट आएपछि बेथानिमा तीन रात बिताइसक्नुभएको छ। अहिले सोमबार, नीसान १० को सबेरै उहाँहरू यरुसलेम जाँदै हुनुहुन्छ। येसुलाई भोक लागेको छ। त्यसैले अन्जिरको रूख देखेपछि उहाँ त्यो रूख भएतिर जानुहुन्छ। त्यसमा फल लागेको छ?

यो मार्च महिनाको अन्त-अन्ततिरको समय हो। तर अन्जिर जून महिनादेखि मात्र फल्न थाल्छ। पातहरू छिट्टै पलाइसकेकोले येसुले फल पनि फलिसक्यो होला भन्ठान्‍नुहुन्छ। तर फल फलेको हुँदैन। ती पातहरूको कारण रूखले छली रूप धारण गरेको छ। त्यसपछि येसु यसो भन्‍नुहुन्छ: “तेरो फल अबदेखि कसैले कहिल्यै खान नपाओस्‌।” (मर्कुस ११:१४) तब त्यो रूख तुरुन्तै सुक्न थाल्छ र यसो हुनुको कारण भोलि बिहान मात्र थाह हुनेछ।

केही समयपछि येसु र उहाँका चेलाहरू यरुसलेम पुग्नुहुन्छ। उहाँ आफूले हिजो दिउँसो निरीक्षण गरेको मन्दिरमा जानुहुन्छ। तर आजचाहिँ उहाँ निरीक्षण मात्र गर्नुहुन्‍न। तीन वर्षअगाडि इस्वी संवत्‌ ३० को निस्तार चाडमा उहाँले जस्तो कदम चाल्नुभएको थियो, यस पटक पनि त्यस्तै कदम चाल्नुहुन्छ। (युहन्‍ना २:१४-१६) येसु “त्यहाँ किनबेच गरिरहेकाहरूलाई” बाहिर लघार्नुहुन्छ। साथै उहाँ “पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च” पनि पल्टाइदिनुहुन्छ। (मर्कुस ११:१५) छोटो बाटो हुने भएकोले कोही-कोही सरसामान बोकेर मन्दिर परिसर हुँदै हिँड्‌ने गर्थे। तर उहाँ त्योसमेत गर्न दिनुहुन्‍न।

मन्दिरमा पैसा साटिरहेकाहरू र जनावर बेचिरहेकाहरूविरुद्ध येसु किन यस्तो कडा कदम चाल्नुहुन्छ? उहाँ भन्‍नुहुन्छ: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन? तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।” (मर्कुस ११:१७) उहाँ ती मानिसहरूलाई डाँकुहरू भन्‍नुहुन्छ किनकि तिनीहरू बलिदान चढाउन जनावर किन्‍नुपर्नेहरूबाट अचाक्ली पैसा धुत्छन्‌। येसु तिनीहरूको यस कामलाई लुटेसरह वा डाँका मारेसरह ठान्‍नुहुन्छ।

मुख्य पुजारीहरू, शास्त्रीहरू र जनताका मुख्य-मुख्य मानिसहरूले येसुले गर्नुभएको कामबारे सुन्छन्‌। तिनीहरू फेरि पनि येसुलाई मार्ने उपाय खोज्न थाल्छन्‌। तर उहाँको कुरा सुन्‍न वरिपरि मानिसहरू झुम्मिरहेकोले येसुलाई कसरी मार्ने भनेर तिनीहरू अन्योलमा पर्छन्‌।

जन्मजात यहुदीहरू मात्र होइन, धर्म परिवर्तन गरेर यहुदी भएकाहरू पनि निस्तार चाड मनाउन आएका छन्‌। तिनीहरूमध्ये ग्रीकहरू पनि छन्‌। ती ग्रीकहरू येसुलाई भेट्‌ने इच्छा व्यक्‍त गर्न फिलिपकहाँ जान्छन्‌ किनकि फिलिप ग्रीक नाम हो भनेर तिनीहरूलाई थाह छ। यसरी भेटाइदिनु उचित होला कि नहोला भनेर पक्का नभएकोले फिलिप अन्द्रियासकहाँ जान्छन्‌। त्यसपछि तिनीहरू दुई जना यो कुरा लिएर येसुकहाँ जान्छन्‌, जो सायद अहिलेसम्म मन्दिरमै हुनुहुन्छ।

येसुलाई अब आफू केही दिनमा मर्नुपर्छ भनेर थाह छ। त्यसैले अहिले मानिसहरूको जिज्ञासा मेटाउने वा लोकप्रिय हुन खोज्ने समय होइन। उहाँ ती दुई प्रेषितलाई यस्तो उदाहरण चलाएर जवाफ दिनुहुन्छ: “मानिसको छोरा महिमित हुने बेला आइपुगेको छ। म तिमीहरूलाई साँच्चै भन्छु, जमिनमा खसेर नमरुन्जेल गहुँको एउटा गेडा एउटै मात्र रहन्छ तर त्यो मऱ्‍यो भने त्यसले धेरै फल फलाउँछ।”—युहन्‍ना १२:२३, २४.

गहुँको एउटा गेडा कुनै मोलको नदेखिएला। तर त्यसलाई माटोमा छरेपछि त्यो बीउको रूपमा ‘मर्छ’ र फेरि अङ्‌कुराउँछ। अनि केही समयपछि मूल डाँठ भएर बढ्‌छ अनि गहुँका थुप्रै गेडा फलाउँछ। त्यसैगरि येसु एक जना त्रुटिरहित मानिस हुनुहुन्छ। तर मृत्युसम्मै परमेश्‍वरप्रति वफादार भएर उहाँ आफूले जस्तै आत्मत्यागी मनोभाव देखाउने थुप्रै मानिसका लागि अनन्त जीवन दिने माध्यम बन्‍नुहुनेछ। त्यसैले येसु भन्‍नुहुन्छ: “जसले आफ्नो ज्यानलाई प्यारो ठान्छ, उसले त्यो नाश गर्छ तर जसले यस संसारमा आफ्नो ज्यानलाई घृणा गर्छ, उसले अनन्त जीवनको लागि त्यसको रक्षा गर्नेछ।”—युहन्‍ना १२:२५.

येसुले आफूबारे मात्र कुरा गरिरहनुभएको होइन किनकि उहाँ यसो भन्‍नुहुन्छ: “यदि कोही मेरो सेवा गर्न चाहन्छ भने ऊ मेरो पछि लागोस्‌ अनि म जहाँ हुन्छु, मेरो सेवक पनि त्यहीँ हुनेछ। यदि कोही मेरो सेवा गर्न चाहन्छ भने मेरो बुबाले उसको आदर गर्नुहुनेछ।” (युहन्‍ना १२:२६) कत्ति ठूलो इनाम! बुबाले आदर गर्नुहुने मानिसहरू उहाँको राज्यमा ख्रिष्टको साझेदार हुनेछन्‌।

आफूले भोग्नुपर्ने दुःख र पीडादायी मृत्युलाई मनमा राख्दै येसु भन्‍नुहुन्छ: “अब म व्याकुल भएको छु, त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्‌।” तर येसु परमेश्‍वरको इच्छा पूरा गर्नदेखि पछि हट्‌न चाहनुहुन्‍न। त्यसैले उहाँ थप यसो भन्‍नुहुन्छ: “तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।” (युहन्‍ना १२:२७) परमेश्‍वरको सबै उद्देश्‍यमा येसु सहमत हुनुहुन्छ र यसमा उहाँले आफ्नो जीवन अर्पण गर्ने कुरा पनि समावेश छ।