अध्याय १२३
असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ
मत्ति २६:३०, ३६-४६ मर्कुस १४:२६, ३२-४२ लुका २२:३९-४६ युहन्ना १८:१
-
येसु गेत्समनीको बगैँचामा
-
उहाँको पसिना रगतको थोपासरी हुन्छ
येसुले आफ्ना वफादार प्रेषितहरूसँगै प्रार्थना गरेर सिद्ध्याउनुभएको छ। अन्तमा, ‘स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुहुन्छ।’ (मर्कुस १४:२६) उहाँहरू पूर्वतिर पर्ने गेत्समनीको बगैँचातर्फ लाग्नुहुन्छ, जहाँ येसु अक्सर जाने गर्नुहुन्छ।
जैतुनका रूखहरू भएको यस सुन्दर ठाउँमा आइपुगेपछि येसु आठ जना प्रेषितलाई त्यहीँ छोड्नुहुन्छ। उहाँ तिनीहरूलाई भन्नुहुन्छ: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।” त्यसैले सायद तिनीहरू बगैँचाको प्रवेशद्वारनजिकै बसिरहन्छन्। येसुचाहिँ पत्रुस, याकुब र युहन्नालाई लिएर बगैँचाभित्र अलि परसम्म जानुहुन्छ। उहाँ असाध्यै खिन्न हुनुहुन्छ र ती तीन जना प्रेषितलाई यसो भन्नुहुन्छ: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”—मत्ति २६:३६-३८.
तिनीहरू भएको ठाउँबाट अलि पर गएर येसु ‘घुँडा टेक्नुहुन्छ र प्रार्थना गर्न थाल्नुहुन्छ।’ यस कठिन घडीमा उहाँ परमेश्वरलाई केको विषयमा प्रार्थना गर्दै हुनुहुन्छ? उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “हे बुबा, तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्।” (मर्कुस १४:३५, ३६) उहाँ के भन्न खोज्दै हुनुहुन्छ? के उहाँ फिरौतीको बलिदान चढाउनदेखि पछि हट्न खोज्नुभएको हो? अहँ, होइन!
रोमीहरूले मानिसहरूलाई तड्पाइ-तड्पाइ मारेको येसुले स्वर्गबाट देख्नुभएको थियो। अहिले मानव शरीरमा हुनुभएको येसुसित कोमल भावना छ र उहाँलाई पनि पीडा हुन्छ। त्यसैले उहाँ आफूले भोग्न लागेको मृत्युदण्डलाई प्रतीक्षा गरेर बसिरहनुभएको छैन। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, आफूलाई घृणित अपराधीको रूपमा मारिँदा बुबाको नाममा कलङ्क लाग्न सक्छ भन्ने कुरा बुझेकोले उहाँ असह्य वेदनामा पर्नुहुन्छ। अबको केही घण्टामै उहाँलाई ईश्वरनिन्दा गरेको आरोपमा खम्बामा झुन्ड्याएर मारिनेछ।
धेरै बेर प्रार्थना गरेर प्रेषितहरूकहाँ फर्कँदा येसुले तिनीहरू निदाइरहेको भेट्टाउनुहुन्छ। उहाँ पत्रुसलाई यसो भन्नुहुन्छ: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ? प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।” येसुलाई ती प्रेषितहरू पनि तनावमा छन् भनेर थाह छ। अनि रात पनि छिप्पिसकेको छ। त्यसैले उहाँ यसो पनि भन्नुहुन्छ: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”—मत्ति २६:४०, ४१.
अब येसु दोस्रो पटक प्रार्थना गर्न जानुहुन्छ र आफ्नो सामनेबाट “यो कचौरा” हटाइदिन परमेश्वरलाई बिन्ती गर्नुहुन्छ। प्रार्थना गरेर फर्कँदा उहाँले ती तीन जना प्रेषित फेरि पनि निदाइरहेको भेट्टाउनुहुन्छ, जबकि यतिबेला तिनीहरूले प्रलोभनमा नपर्नको लागि प्रार्थना गरिरहेको हुनुपर्थ्यो। येसुलाई “के जवाफ दिने भनेर तिनीहरूलाई थाहै” हुँदैन। (मर्कुस १४:४०) येसु तेस्रो पटक पनि जानुहुन्छ र घुँडा टेकेर प्रार्थना गर्नुहुन्छ।
आफूलाई अपराधीको रूपमा मारिँदा बुबाको नाममा कलङ्क लाग्नेछ भन्ने चिन्ताले येसुलाई असाध्यै सताएको छ। तर यहोवा आफ्नो छोराको प्रार्थना सुन्दै हुनुहुन्छ। त्यसैले आफ्नो छोरालाई बलियो पार्न उहाँ एक जना स्वर्गदूत पठाउनुहुन्छ। तैपनि येसु आफ्नो बुबालाई बिन्ती गर्न छोड्नुहुन्न; उहाँ ‘झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुहुन्छ।’ उहाँलाई भावनात्मक रूपमा असाध्यै तनाव भइरहेको छ। येसुको काँधमा कत्ति ठूलो जिम्मेवारी! उहाँको जीवन र लुका २२:४४.
उहाँमाथि विश्वास गर्नेहरूको जीवन उहाँमै निर्भर छ। वास्तवमा ‘उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको छ।’—येसु तेस्रो पटक प्रेषितहरूकहाँ फर्कँदा उहाँले तिनीहरू फेरि पनि निदाइरहेको भेट्टाउनुहुन्छ। त्यसैले उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”—मत्ति २६:४५, ४६.