सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३८

ख्रिष्ट परमेश्‍वरको दाहिने हाततिर

ख्रिष्ट परमेश्‍वरको दाहिने हाततिर

प्रेषित ७:५६

  • येसु परमेश्‍वरको दाहिने हाततिर बस्नुहुन्छ

  • सावल चेला बन्छन्‌

  • हामीसित रमाउने कारण छ

येसु स्वर्ग फर्कनुभएको दस दिनपछि पेन्तिकोसको दिनमा चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइयो। यसले येसु साँच्चै स्वर्गमा हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दियो। तर यसको थप प्रमाण अझै दिइने थियो। वफादार भई प्रचार गरेको कारण ढुङ्‌गाले हानेर मारिनुअघि चेला स्तिफनसले यसो भनेका थिए: “हेर्नुहोस्‌! म स्वर्ग उघ्रिएको अनि मानिसको छोरा परमेश्‍वरको दाहिने हाततिर उभिरहेको देख्दै छु।”—प्रेषित ७:५६.

स्वर्गमा बुबासित हुनुहुँदा येसु परमेश्‍वरको वचनमा भविष्यवाणी गरिएको एउटा खास आदेश पर्खेर बस्नुहुने थियो। परमेश्‍वरको प्रेरणा पाएर दाउदले यसो भनेका थिए: “यहोवाले मेरा प्रभुलाई [येसुलाई] भन्‍नुभयो: ‘तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।’” पर्खने समय सिद्धिएपछि येसुले “आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार” गर्नुहुने थियो। (भजन ११०:१, २) तर आफ्ना शत्रुहरूविरुद्ध कदम चाल्ने समय पर्खँदै गर्दा येसुले स्वर्गबाट के गर्नुहुने थियो?

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा ख्रिष्टियन मण्डली स्थापना भयो। येसुले पवित्र शक्‍तिद्वारा अभिषेक भएका आफ्ना चेलाहरूमाथि स्वर्गबाट शासन गर्न थाल्नुभयो। (कलस्सी १:१३) उहाँले तिनीहरूलाई प्रचारकार्यमा डोऱ्‍याउनुभयो र भविष्यमा तिनीहरूले निर्वाह गर्ने भूमिकाको लागि तयार पार्नुभयो। कस्तो भूमिका? तिनीहरूमध्ये मृत्युसम्मै वफादार रहनेहरूलाई फेरि जीवित पारिने थियो र तिनीहरूले परमेश्‍वरको राज्यमा येसुसितै राजाको रूपमा शासन गर्ने थिए।

भविष्यमा येसुसितै राजाको रूपमा शासन गर्ने एक जना व्यक्‍ति सावल थिए। धेरैजसोले तिनलाई पावल भनिने तिनको रोमी नामले चिन्थे। तिनी एक यहुदी थिए र तिनी परमेश्‍वरको व्यवस्था पालन गर्ने सन्दर्भमा निकै जोसिलो थिए। तर यहुदी धर्मगुरुहरूले तिनलाई गलत बाटोमा डोऱ्‍याएका थिए, जसले गर्दा तिनले स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्नसमेत मदत गरे। त्यसपछि “प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा” तिनी दमिसकतिर लागे। तिनलाई प्रधानपुजारी कैयाफाले येसुका चेलाहरूलाई समातेर यरुसलेम फिर्ता ल्याउने अख्तियार दिएका थिए। (प्रेषित ७:५८; ९:१) तर सावल बाटोमै छँदा तिनको चारैतिर ज्योति चम्कियो अनि तिनी भुईँमा पछारिए।

स्वर्गबाट यस्तो आवाज आयो: “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” तब सावलले सोधे: “प्रभु, तपाईँ को हुनुहुन्छ?” अनि स्वर्गबाट यस्तो जवाफ आयो: “म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।”—प्रेषित ९:४, ५.

येसुले सावललाई दमिसक गएर थप निर्देशन पर्खन भन्‍नुभयो। तर चमत्कारपूर्ण तरिकामा चम्केको ज्योतिले गर्दा तिनी अन्धो भएकोले मानिसहरूले तिनलाई सहरसम्म पुऱ्‍याइदिनुपऱ्‍यो। अर्को दर्शनमा येसु हननियाकहाँ देखा पर्नुभयो, जो दमिसकमा बस्ने येसुका एक चेला थिए। येसुले हननियालाई सावललाई भेट्‌न एउटा ठाउँमा जान अह्राउनुभयो। तर हननिया हिचकिचाए र येसुले तिनलाई यस्तो आश्‍वासन दिनुभयो: “यी मानिस जातिजातिका मानिसहरूलाई, राजाहरूलाई अनि इस्राएलका सन्तानलाई मेरो नामको साक्षी दिन मैले रोजेको पात्र हुन्‌।” सावल फेरि देख्न सक्ने भए र “येसु नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै [दमिसकका] सभाघरहरूमा प्रचार गर्न थाले।”—प्रेषित ९:१५, २०.

येसुको साथ पाएर पावल र अरू राज्य प्रचारकहरूले येसुले थाल्नुभएको प्रचारकार्यलाई निरन्तरता दिए। परमेश्‍वरको आशिष्‌ले गर्दा तिनीहरू यस काममा निकै सफल भए। दमिसक जाने बाटोमा येसु पावलसामु देखा पर्नुभएको करिब २५ वर्षपछि पावलले सुसमाचार “आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो” भनी लेखे।—कलस्सी १:२३.

वर्षौँपछि येसुले आफूले माया गरेको प्रेषित युहन्‍नालाई एकपछि अर्को दर्शन देखाउनुभयो, जुन दर्शनहरू प्रकाशको किताबमा रेकर्ड गरिएका छन्‌। एक अर्थमा, ती दर्शनहरूमार्फत युहन्‍नाले आफ्नो जीवनकालमै येसु राज्यशक्‍तिमा आउनुभएको देख्ने मौका पाए। (युहन्‍ना २१:२२) “पवित्र शक्‍तिको प्रेरणाद्वारा [युहन्‍ना] प्रभुको दिनमा [पुगे]।” (प्रकाश १:१०) प्रभुको दिन कहिले सुरु हुने थियो?

बाइबल भविष्यवाणीहरूको गहिरो अध्ययनबाट “प्रभुको दिन” आधुनिक समयमा सुरु भयो भनेर प्रस्ट भयो। सन्‌ १९१४ मा एउटा ठूलो युद्ध सुरु भयो, जसलाई प्रथम विश्‍वयुद्ध भनेर चिनिन्छ। अनि त्यसपछिका दशकहरूमा युद्ध, महामारी, अनिकाल, भूकम्प अनि अन्य घटनाहरूले येसुले आफ्ना प्रेषितहरूलाई उहाँको “उपस्थिति” र “यस युगको अन्त”-बारे दिनुभएको “चिन्ह” अझ व्यापक रूपमा पूरा भइरहेको प्रमाण दियो। (मत्ति २४:३, ७, ८, १४) अहिले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काम रोमी साम्राज्यका इलाकाहरूमा मात्र सीमित नभई संसारभर हुँदै छ।

युहन्‍नाले परमेश्‍वरको प्रेरणा पाएर यी सबै घटनाको अर्थ यसरी बताए: “अब हाम्रा परमेश्‍वरले गर्नुहुने उद्धार, उहाँको शक्‍ति, उहाँको राज्य अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ।” (प्रकाश १२:१०) हो, पृथ्वीमा छँदा येसुले व्यापक रूपमा घोषणा गर्नुभएको स्वर्गको राज्य वास्तविक हो!

येसुका सबै वफादार चेलाहरूको लागि यो साँच्चै सुसमाचार हो। तिनीहरूले युहन्‍नाका यी शब्दहरू मनमा राख्न सक्छन्‌: “त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ! तर पृथ्वी र समुद्रलाई भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।”—प्रकाश १२:१२.

अहिले येसु आफ्नो बुबाको दाहिने हाततिर पर्खेर बसिरहनुभएको छैन। बरु उहाँ राजाको रूपमा शासन गर्दै हुनुहुन्छ र उहाँले अब चाँडै आफ्ना सबै शत्रुहरूलाई नाश गर्नुहुनेछ। (हिब्रू १०:१२, १३) त्यसपछि के-कस्ता रोचक कुराहरू हुनेछन्‌?