सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२२

माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना

माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना

युहन्‍ना १७:१-२६

  • परमेश्‍वर र उहाँको छोरालाई चिन्दा पाइने आशिष्‌

  • यहोवा, येसु र चेलाहरूबीच एकता

प्रेषितहरूप्रतिको प्रगाढ प्रेमको कारण येसु तिनीहरूसित बिछोड हुने समयको लागि तिनीहरूलाई तयार पार्दै हुनुहुन्छ। अब उहाँ आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुहुन्छ: “आफ्नो छोराको महिमा गर्नुहोस्‌ ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्‌। तपाईँले आफ्नो छोरालाई जो-जो दिनुभएको छ, तिनीहरू सबैलाई उसले अनन्त जीवन दिन सकोस्‌ भनेर तपाईँले उसलाई सबैमाथि अधिकार दिनुभएको छ।”—युहन्‍ना १७:१, २.

स्पष्ट छ, परमेश्‍वरको महिमा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर येसुले बुझ्नुभएको छ। तर येसु अनन्त जीवनको आशाबारे पनि उल्लेख गर्नुहुन्छ! येसुले “सबैमाथि अधिकार” पाउनुभएकोले उहाँ आफूले चढाउने बलिदानबाट लाभ उठाउने मौका सबैलाई दिन सक्नुहुन्छ। तर यस्तो आशिष्‌ कसै-कसैले मात्र पाउनेछन्‌। येसुले यसपछि भन्‍नुभएको यस कुराअनुसार गर्नेहरूलाई मात्र उहाँ आशिष्‌ दिनुहुन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

अनन्त जीवन पाउन चाहने व्यक्‍तिले बुबा र छोरा दुवैलाई राम्ररी चिनेर उहाँहरूसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। उसले हरेक विषयमा उहाँहरूको जस्तै दृष्टिकोण राख्नुपर्छ। साथै अरूसित व्यवहार गर्दा उहाँहरूको अतुलनीय गुणहरू अनुकरण गर्ने प्रयास गर्नुपर्छ। अनि अनन्त जीवन पाउनुभन्दा महत्त्वपूर्ण कुरा परमेश्‍वरको महिमा गर्नु हो भनेर उसले बुझ्नुपर्छ। अब येसु यसै विषयमा फर्कँदै यसो भन्‍नुहुन्छ:

“तपाईँले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु। त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्‌।” (युहन्‍ना १७:४, ५) हो, येसु आफूलाई जीवित पारेर स्वर्गमा उहाँसँगै फेरि महिमित पार्न बुबालाई बिन्ती गर्नुहुन्छ।

तर सेवाको कामद्वारा आफूले हासिल गरेका उपलब्धिहरू येसुले बिर्सनुभएको छैन। उहाँ यसरी प्रार्थना गर्नुहुन्छ: “तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु। तिनीहरू तपाईँकै थिए र तपाईँले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईँको वचन पालन गरेका छन्‌।” (युहन्‍ना १७:६) येसुले सेवाको काममा लाग्दा परमेश्‍वरको नाम, यहोवा उच्चारण मात्र गर्नुभएन। बरु त्यो नामले कस्तो अर्थ राख्छ भनेर बुझ्न पनि आफ्ना प्रेषितहरूलाई मदत गर्नुभयो। हो, उहाँले तिनीहरूलाई परमेश्‍वरका गुणहरूबारे र उहाँले मानिसहरूसित व्यवहार गर्ने तरिकाबारे बुझ्न मदत गर्नुभयो।

यी प्रेषितहरूले यहोवालाई राम्ररी चिन्‍न, उहाँको छोराको भूमिका बुझ्न र येसुले सिकाउनुभएका कुराहरू राम्ररी बुझ्न सकेका छन्‌। येसु नम्र हुँदै यसो भन्‍नुहुन्छ: “तपाईँले मलाई भन्‍नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु अनि तिनीहरूले ती स्विकारेका छन्‌। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ भन्‍ने कुरामा तिनीहरू पक्का भएका छन्‌ अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्‍वास गरेका छन्‌।”—युहन्‍ना १७:८.

त्यसपछि येसु आफ्ना अनुयायीहरू र संसारका अरू मानिसहरूबीचको भिन्‍नता स्विकार्दै यसो भन्‍नुहुन्छ: “म संसारको निम्ति होइन तर तपाईँले मलाई जो-जो दिनुभयो, तिनीहरूको निम्ति बिन्ती गर्छु किनकि तिनीहरू तपाईँकै हुन्‌। . . . हे पवित्र बुबा, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्‌ ताकि हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्‌। . . . मैले तिनीहरूको रक्षा गरेको छु र तिनीहरूमध्ये एक जना पनि नष्ट भएन तर . . . विनाशको छोरा भने नष्ट भयो।” (युहन्‍ना १७:९-१२) यो “विनाशको छोरा” भनेको यहुदा इस्करियोत हो, जो अहिले येसुलाई धोका दिन लागिपरेको छ।

येसु प्रार्थनामा अझै यसो भन्‍नुहुन्छ: “संसारले तिनीहरूलाई घृणा गरेको छ . . . तिनीहरूलाई यस संसारबाट लैजानुहोस्‌ भनेर त होइन तर त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌ भनेर म तपाईँलाई बिन्ती गर्छु। तिनीहरू यस संसारका होइनन्‌, जस्तो म पनि यस संसारको होइन।” (युहन्‍ना १७:१४-१६) प्रेषितहरू र अरू चेलाहरू यसै संसारमा अर्थात्‌ सैतानले शासन गरेको मानव समाजमा बस्छन्‌ तर तिनीहरू यो संसार र यसको खराब कुराहरूबाट अलग्गै बस्नुपर्छ। कसरी?

तिनीहरूले हिब्रू धर्मशास्त्रमा पाइने सत्य र येसु स्वयम्‌ले सिकाउनुभएको सत्यअनुरूप चलेर आफूलाई पवित्र पार्नुपर्छ अर्थात्‌ परमेश्‍वरको सेवा गर्न आफूलाई अलग्गै छुट्ट्याउनुपर्छ। येसु यसरी प्रार्थना गर्नुहुन्छ: “सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्‌; तपाईँको वचन सत्य हो।” (युहन्‍ना १७:१७) पछि केही प्रेषितहरूले परमेश्‍वरको प्रेरणाद्वारा केही किताबहरू लेख्नेछन्‌। ती किताबहरू पनि मानिसहरूलाई पवित्र पार्न मदत गर्ने “सत्य”-को भाग हुनेछन्‌।

तर पछि अरूले पनि “सत्य” स्विकार्नेछन्‌। त्यसैले येसु “यिनीहरूको [त्यहाँ भएकाहरूको] निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत [उहाँमाथि] विश्‍वास गर्नेहरूको निम्ति पनि” प्रार्थना गर्नुहुन्छ। येसु तिनीहरू सबैको लागि कस्तो बिन्ती गर्नुहुन्छ? “तिनीहरू सबै एक होऊन्‌। हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु, त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन्‌।” (युहन्‍ना १७:२०, २१) येसु र उहाँको बुबा शाब्दिक अर्थमै एउटै व्यक्‍ति हुनुहुन्‍न। बरु उहाँहरूबीच सबै कुरामा सहमति भएकोले उहाँहरू एक हुनुहुन्छ। आफ्ना अनुयायीहरूले पनि यस्तै किसिमको एकता अनुभव गरून्‌ भनेर येसु प्रार्थना गर्नुहुन्छ।

केही समयअघि मात्र येसुले पत्रुस र अरू चेलालाई आफू तिनीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु भन्‍नुभएको थियो, मतलब उहाँ स्वर्ग जानुहुने थियो। (युहन्‍ना १४:२, ३) अब उहाँ प्रार्थनामा त्यसै विषयबारे उल्लेख गर्नुहुन्छ: “हे बुबा, म जहाँ छु, तपाईँले मलाई दिनुभएका यी मानिसहरू पनि त्यहीँ होऊन्‌ भन्‍ने म चाहन्छु ताकि तपाईँले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून्‌ किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईँले मलाई प्रेम गर्नुभयो।” (युहन्‍ना १७:२४) यसरी उहाँ परमेश्‍वरले आफ्नो एक मात्र छोरालाई युगौँयुगअघिदेखि, आदम र हव्वाले सन्तान जन्माउनुभन्दा पनि अघिदेखि प्रेम गर्नुभयो भनेर पुष्टि गर्नुहुन्छ; यिनै छोरा पछि येसु ख्रिष्ट हुनुभयो।

प्रार्थनाको अन्तमा येसु फेरि पनि बुबाको नामलाई अनि प्रेषितहरूप्रति र पछि गएर “सत्य” स्विकार्नेहरूप्रति बुबाको प्रेमलाई यसरी जोड दिनुहुन्छ: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु ताकि तपाईँले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून्‌ र म तिनीहरूसित एकतामा हुन सकूँ।”—युहन्‍ना १७:२६.