अध्याय ५७
येसु एउटी केटी र एक जना बहिरोलाई निको पार्नुहुन्छ
-
येसु एक फोनिसियाली स्त्रीकी छोरीलाई निको पार्नुहुन्छ
-
उहाँ एक जना बहिरो अनि भकभके मानिसलाई निको पार्नुहुन्छ
आफ्नै स्वार्थ पूरा गर्ने परम्पराको लागि फरिसीहरूको निन्दा गर्नुभएपछि येसु आफ्ना चेलाहरूसँगै त्यहाँबाट निस्कनुहुन्छ। उहाँ धेरै टाढा उत्तर-पश्चिमतर्फ पर्ने फोनिसियामा टायर र सिदोनको इलाकातिर जानुहुन्छ।
येसु बास बस्ने ठाउँ भेट्टाउनुहुन्छ तर आफू त्यहाँ भएको कुरा कसैले थाह नपाओस् भन्ने चाहनुहुन्छ। तैपनि उहाँ मानिसहरूको नजरबाट लुक्न सक्नुहुन्न। त्यसै इलाकामा जन्मेकी ग्रीक मूलकी एउटी स्त्रीले येसुलाई भेट्टाउँछिन् र यस्तो बिन्ती गर्न थाल्छिन्: “हे प्रभु, दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्। मेरी छोरीलाई प्रेतले साह्रै सताइरहेको छ।”—मत्ति १५:२२; मर्कुस ७:२६.
यो देखेर येसुका चेलाहरू उहाँलाई यस्तो बिन्ती गर्छन्: “यस स्त्रीलाई पठाइदिनुहोस् किनकि यो रुँदै हाम्रो पछिपछि लागिरहेकी छे।” येसु आफूले त्यस स्त्रीको कुरामा ध्यान नदिनुको कारण बताउँदै यसो भन्नुहुन्छ: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्।” तर ती स्त्री हार मान्दिनन्। तिनी येसुको नजिक आउँछिन् र उहाँलाई दण्डवत् गर्दै यसो भन्छिन्: “प्रभु, मलाई मदत गर्नुहोस्!”—मत्ति १५:२३-२५.
सायद ती स्त्रीको विश्वास जाँच्ने उद्देश्यले येसु अन्यजातिहरूप्रति यहुदीहरूको नकारात्मक दृष्टिकोणलाई सङ्केत गर्दै यसो भन्नुहुन्छ: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” (मत्ति १५:२६) “छाउराहरू” भन्ने शब्द चलाएर येसु गैर-यहुदीहरूप्रति आफ्नो कोमल भाव व्यक्त गर्नुहुन्छ। उहाँको अनुहारको भाव र अनुकम्पाले भरिएको आवाजमा पनि त्यस्तो भाव झल्किएको हुनुपर्छ।
येसुको कुरामा आपत्ति जनाउनुको सट्टा ती स्त्री यहुदीहरूले राख्ने पूर्वाग्रहलाई सङ्केत गर्दै नम्रतासाथ यसो भन्छिन्: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन् नि।” येसु तिनको हृदयको अवस्था बुझ्नुहुन्छ र यसो भन्नुहुन्छ: “हे नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्।” (मत्ति १५:२७, २८) अनि तिनकी छोरी त्यहाँ नभए तापनि साँच्चै त्यस्तै हुन्छ! ती स्त्री घर फर्कँदा त आफ्नी छोरी पूरै निको भएर ओछ्यानमा पल्टिरहेकी देख्छिन्। ‘प्रेतले तिनलाई छोडेर गइसकेको हुन्छ।’—मर्कुस ७:३०.
फोनिसियाको इलाकाबाट येसु र उहाँका चेलाहरू यर्दन नदीतर्फ जानुहुन्छ। उहाँहरू गालिल समुद्रको उत्तरतिर पर्ने कुनै ठाउँबाट यर्दन नदी तरेर डेकापोलिसको इलाकातिर जानुहुन्छ। त्यहाँ उहाँहरू एउटा डाँडामा उक्लनुहुन्छ तर भीडले उहाँहरूलाई फेला पारिहाल्छ। मानिसहरूले लुला-लङ्गडा, अन्धा र गुँगाहरूलाई येसुकहाँ ल्याउँछन्। तिनीहरूले यी बिरामी मानिसहरूलाई उहाँको चरणमा राखिदिन्छन् अनि उहाँ उनीहरूलाई निको पार्नुहुन्छ। भीडले छक्क पर्दै इस्राएलका परमेश्वरको महिमा गर्छ।
येसुको ध्यान विशेषगरि एउटा मानिसमाथि जान्छ, जो बहिरो अनि भकभके छ। त्यस मानिसले त्यत्रो भीडको अगाडि कस्तो महसुस गऱ्यो होला भनेर हामी कल्पना गर्न सक्छौँ। त्यस मानिसले सङ्कोच मानिरहेको देखेर होला, येसु उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुहुन्छ। त्यसपछि उहाँहरू दुई जना मात्र भएको बेला येसु आफूले उसको निम्ति गर्न लागेको कुरा सङ्केत गर्नुहुन्छ। उहाँ उसको कानमा आफ्नो औँला हाल्नुहुन्छ अनि थुकेपछि उसको जिब्रो छुनुहुन्छ। त्यसपछि उहाँ आकाशतिर हेरेर लामो सास तान्नुहुन्छ र भन्नुहुन्छ: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” तब ऊ फेरि सुन्न सक्ने हुन्छ अनि उसको बोली पनि ठीक हुन्छ। मानिसहरूले आफैले देखेको र सुनेको कुराको आधारमा उहाँमाथि विश्वास गरून् भन्ने उद्देश्यले उहाँ यसबारे कसैलाई नबताउनू भनेर उसलाई चेतावनी दिनुहुन्छ।—मर्कुस ७:३२-३६.
बिरामीहरूलाई निको पार्ने येसुको शक्ति देखेर मानिसहरू “असाध्यै छक्क” पर्छन्। तिनीहरू भन्छन्: “उहाँले गर्नुभएका सबै कुरा असल छन्। यहाँसम्म कि उहाँ बहिरोलाई सुन्न सक्ने र गुँगोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”—मर्कुस ७:३७.