सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४१

चमत्कार—कसको शक्‍तिद्वारा?

चमत्कार—कसको शक्‍तिद्वारा?

मत्ति १२:२२-३२ मर्कुस ३:१९-३० लुका ८:१-३

  • येसु दोस्रो प्रचार-यात्रा सुरु गर्नुहुन्छ

  • प्रेतहरूलाई धपाउनुहुन्छ र क्षमा नपाउने पापबारे चेतावनी दिनुहुन्छ

फरिसी सिमोनको घरमा क्षमाको विषयमा कुरा गरेको केही समयपछि येसु गालिलको अर्को प्रचार-यात्रा सुरु गर्नुहुन्छ। यो उहाँको सेवाको कामको दोस्रो वर्ष हो र अरू पनि उहाँसँगै यात्रा गर्दै छन्‌। उहाँका १२ प्रेषित र उहाँले ‘प्रेतहरू धपाउनुभएको अनि रोगबिमारहरू निको पार्नुभएको’ केही स्त्रीहरू पनि उहाँसँगै छन्‌। (लुका ८:२) ती स्त्रीहरूमध्ये मरियम मग्दलिनी, सुसन्‍ना र राजा हेरोद एन्टिपासको घरको रेखदेख गर्ने नाइकेकी पत्नी योअन्‍ना पनि छन्‌।

येसुको विषयमा जति धेरै कुरा फैलँदै जान्छ, उहाँको कामबारे विवाद पनि त्यति नै बढ्‌दै जान्छ। प्रेत बास गरेको अन्धो र गुँगो मानिसलाई येसुले निको पार्नुहुँदा त्यो विवाद झनै चर्कन्छ। त्यो मानिस अब प्रेतको वशमा छैन। ऊ देख्न र बोल्न सक्छ। मानिसहरू छक्क पर्दै यसो भन्दै छन्‌: “कतै यिनी दाउदका छोरा त होइनन्‌?”—मत्ति १२:२३.

येसु बसिरहनुभएको घरमा जम्मा भएको भीड यति ठूलो छ कि उहाँ र उहाँका चेलाहरूले खाना खानसमेत पाउनुहुन्‍न। तर सबैलाई येसु नै प्रतिज्ञा गरिएका “दाउदका छोरा” हुनुहुन्छ भन्‍ने लाग्दैन। केही शास्त्री र फरिसी यरुसलेमबाट आएका छन्‌। तिनीहरू येसुबाट सिक्न र उहाँलाई साथ दिन आएका भने होइनन्‌। तिनीहरू मानिसहरूलाई यसो भन्दै छन्‌: “यसमा बालजिबुलले बास गरेको छ र प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएरै यसले प्रेतहरूलाई धपाउँछ।” (मर्कुस ३:२२) येसुका नातेदारहरूले यो कुरा सुनेपछि तिनीहरू येसुलाई लिन आउँछन्‌। किन?

यतिबेला येसुका आफ्नै भाइहरूले समेत उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्‌। (युहन्‍ना ७:५) पहिला नासरतमा सँगै हुर्कँदा तिनीहरूले चिनेको येसु अनि अहिले यसरी हलचल मच्चाइरहनुभएको येसु बिलकुलै फरक भएजस्तो तिनीहरूलाई लाग्छ। उहाँलाई कुनै मानसिक समस्या छ कि भन्‍ने निष्कर्ष निकाल्दै तिनीहरू यसो भन्छन्‌: “उसको दिमाग खुस्केको छ।”—मर्कुस ३:२१.

तर प्रमाणले के देखाउँछ? येसुले भर्खरै मात्र प्रेतले सताएको मानिसलाई निको पार्नुभएको छ र ऊ अब देख्न र बोल्न सक्छ। कसैले पनि यस घटनालाई नकार्न सक्दैन। त्यसैले शास्त्री र फरिसीहरू येसुलाई गलत आरोप लगाएर बदनाम गर्न खोज्छन्‌। तिनीहरू भन्छन्‌: “यस मानिसले प्रेतहरूको शासक बालजिबुलको मदत लिएर प्रेतहरूलाई धपाउँछ।”—मत्ति १२:२४.

ती शास्त्री र फरिसीहरू के सोच्दै छन्‌ भन्‍ने कुरा थाह भएकोले येसु यसो भन्‍नुहुन्छ: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर वा घरभित्र फूट छ, त्यो टिक्नेछैन। त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र?”—मत्ति १२:२५, २६.

कस्तो जोडदार तर्क! केही यहुदीहरूले प्रेतहरूलाई धपाउने गर्छन्‌ भनेर ती फरिसीहरूलाई थाह छ। (प्रेषित १९:१३) त्यसैले येसु यस्तो प्रश्‍न गर्नुहुन्छ: “यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ कसको मदतले धपाउँछन्‌?” हो, तिनीहरूले येसुलाई जुन दोष लगाइरहेका छन्‌, त्यो दोष तिनीहरूलाई पनि लाग्न सक्छ। त्यसपछि येसु यसो भन्‍नुहुन्छ: “तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।”—मत्ति १२:२७, २८.

प्रेतहरूलाई धपाउनु भनेको आफूसित सैतानमाथि शक्‍ति भएको कुराको प्रमाण हो भन्‍ने कुरा बुझाउन येसु यसो भन्‍नुहुन्छ: “के कसैले बलियो मानिसको घरमा घुसेर उसको सामान कब्जा गर्नुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ। जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।” (मत्ति १२:२९, ३०) ती शास्त्री र फरिसीहरूले येसुविरुद्ध खडा भएर आफू सैतानको चम्चा भएको प्रमाणित गरिरहेका छन्‌। तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको साथ पाएर काम गरिरहनुभएको उहाँको छोराबाट तितरबितर पार्दै छन्‌।

सैतानका यी समर्थकहरूलाई येसु यस्तो चेतावनी दिनुहुन्छ: “मानिसहरूलाई सबै कुराको क्षमा दिइनेछ, चाहे तिनीहरूले जस्तोसुकै पाप र निन्दा गरेका किन नहोऊन्‌। तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसले कहिल्यै क्षमा पाउनेछैन, ऊ कहिल्यै नमेटिने पापको दोषी ठहरिनेछ।” (मर्कुस ३:२८, २९) सोच्नुहोस्‌ त! परमेश्‍वरको पवित्र शक्‍तिको मदतद्वारा भएको कामलाई सैतानद्वारा भएको हो भनेर तिनीहरूले कत्ति ठूलो पाप गरिरहेका छन्‌!