सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाटो, सत्य र जीवन

बाटो, सत्य र जीवन

राम्रो समाचार सुन्‍न पाउँदा तपाईँलाई पक्कै खुसी लाग्छ। अनि तपाईँ र तपाईँले माया गर्ने व्यक्‍तिहरूको लागि एउटा राम्रो समाचार अर्थात्‌ सुसमाचार छ।

यो सुसमाचार बाइबलमा पाइन्छ, जुन किताब ब्रह्‍माण्डका सृष्टिकर्ता यहोवाले वर्षौँअघि लेख्न लगाउनुभएको थियो। यस प्रकाशनमा विशेषगरि बाइबलका चार वटा किताबबारे चर्चा गरिएको छ, जुन किताबहरूमा हामी सबैको लागि सुसमाचार छ। परमेश्‍वरले यी किताबहरू ज-जसलाई लेख्न लगाउनुभएको थियो, तिनीहरूकै नामबाट यी किताबहरू चिनिन्छ: मत्ति, मर्कुस, लुका र युहन्‍ना।

थुप्रैले यी चार वटा किताबलाई सुसमाचारका किताबहरू भन्‍ने गर्छन्‌। यी चारै वटा किताबमा येसुबारे सुसमाचार पाइन्छ—उहाँ उद्धार दिने परमेश्‍वरको माध्यम हुनुहुन्छ र परमेश्‍वरको स्वर्गीय राज्यको राजाको हैसियतमा उहाँले आफूमाथि विश्‍वास गर्नेहरू सबैलाई अनन्त आशिष्‌हरू दिनुहुनेछ भन्‍ने सुसमाचार।—मर्कुस १०:१७, ३०; १३:१३.

सुसमाचारका किताबहरू चार वटा हुनुको कारण

येसुको जीवन र शिक्षाबारे परमेश्‍वरले किन चार-चार वटा किताब लेख्न प्रेरणा दिनुभयो जस्तो तपाईँलाई लाग्न सक्छ।

येसुले भन्‍नुभएका र गर्नुभएका कामहरूबारे छुट्टाछुट्टै विवरण हुनु फाइदाजनक छ। कल्पना गर्नुहोस्‌, चार जना मानिस एक जना प्रख्यात शिक्षकको नजिकै उभिरहेका छन्‌। शिक्षकको अगाडि उभिरहेका मानिस कर उठाउने काम गर्छन्‌। दायाँतिर उभिरहेका मानिस भने वैद्य हुन्‌। बायाँतिर उभिएर शिक्षकको कुरा सुनिरहेका मानिसचाहिँ जलारी हुन्‌ र तिनी शिक्षकको मिल्ने साथी पनि हुन्‌। अनि शिक्षकको पछाडितिर उभिरहेका चौथो मानिस भने अरूभन्दा कान्छो छन्‌। यी चारै जना मानिस इमानदार छन्‌ र प्रत्येकको चासो वा ध्यान बेग्लाबेग्लै विषयमा छ। त्यसैले यी चार जना मानिसले शिक्षकले भनेका र गरेका कामहरूको विवरण तयार पारेमा सायद यिनीहरूले आफ्नो विवरणमा फरक-फरक कुरा वा घटना समावेश गर्नेछन्‌। यी चार जनाले फरक-फरक दृष्टिकोणबाट लेखेका यी चारै वटा विवरण पढ्‌दा हामी शिक्षकले भनेका र गरेका कामहरूको पूरै चित्र उतार्न सक्छौँ। यस उदाहरणले महान्‌ शिक्षक येसुको जीवनबारे चार वटा भिन्‍नाभिन्‍नै विवरण हुनु किन फाइदाजनक छ भनेर प्रस्ट पार्छ।

फेरि उदाहरणमा फर्कौँ। कर उठाउने मानिस यहुदी पृष्ठभूमिका मानिसहरूलाई चासो लाग्ने तरिकामा लेख्न चाहन्छन्‌। त्यसैले तिनी केही शिक्षा वा घटनाहरू ती श्रोताहरूलाई ध्यानमा राख्दै लेख्छन्‌। अर्कोतर्फ, वैद्यले भने बिरामी वा लुला-लङ्‌गडा निको भएको घटनाहरूमा जोड दिन्छन्‌। त्यसैले तिनी कर उठाउने मानिसले बताएका केही कुराहरू आफ्नो विवरणमा समावेश गर्दैनन्‌ वा ती घटनाहरूलाई बेग्लै क्रममा लेख्छन्‌। शिक्षकको मिल्ने साथीले भने शिक्षकको भावना र गुणहरूमा जोड दिन्छन्‌। कान्छो लेखकको विवरणचाहिँ छोटो र चुस्त छ। तर यी चारै जनाको विवरण सही छ। येसुको जीवनबारे चार वटा भिन्‍नाभिन्‍नै विवरण भएकोले हामी उहाँले गर्नुभएका र सिकाउनुभएका कुराहरूबारे अनि उहाँको व्यक्‍तित्वबारे अझ धेरै कुरा बुझ्न सक्छौँ भनेर यस उदाहरणले प्रस्ट पार्छ।

मानिसहरू ‘मत्तिको सुसमाचार’ वा ‘युहन्‍नाको सुसमाचार’ भन्‍ने गर्छन्‌। यसो भन्‍नु गलत होइन किनकि सुसमाचारको प्रत्येक किताबमा “येसु ख्रिष्टबारे सुसमाचार” पाइन्छ। (मर्कुस १:१) तर यी चारै वटा किताबलाई समग्रमा विचार गर्दा सबै किताबमा एउटै कुरा अर्थात्‌ येसुबारे सुसमाचार पाइन्छ।

परमेश्‍वरको वचनका थुप्रै विद्यार्थीले मत्ति, मर्कुस, लुकायुहन्‍नाको किताबमा उल्लिखित घटनाहरू र तथ्यहरूलाई तुलना गरेर र मिलान गरेर हेरेका छन्‌। इस्वी संवत्‌ १७० तिर सिरियाली लेखक टेशनले यसै गर्ने प्रयास गरे। यी चार वटा किताब सही छ र यी किताबहरू परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन्‌ भनेर तिनले स्विकारे। त्यसपछि तिनले येसुको जीवन र सेवाको कामसम्बन्धी यी चार वटा किताबमा पाइने विवरण सङ्‌कलन गरेर एउटा किताब तयार पारे, जसलाई दिआटेसारोन भनिन्छ।

येसु—बाटो, सत्य र जीवन किताबमा पनि त्यसै गरिएको छ तर यो अझ सही र पूर्ण छ। येसुका थुप्रै भविष्यवाणीहरूउदाहरणहरू कसरी पूरा भए भनेर अहिले हामीले अझ राम्ररी बुझेकोले यसो गर्न सम्भव भएको छ। यसले गर्दा उहाँले भन्‍नुभएका र गर्नुभएका कुराहरू अनि सुसमाचारका किताबहरूमा भएका घटनाहरूको क्रम अझ स्पष्ट भएको छ। पुरातात्त्विक खोज-अनुसन्धानबाट पत्ता लागेका कुराहरूले पनि कुनै खास घटनालाई वा लेखकको दृष्टिकोणलाई अझ प्रस्ट पारेको छ। हुनत हरेक घटनाको क्रमबारे कसैले पनि ठोकुवा गरेर भन्‍न सक्दैन। तर येसु—बाटो, सत्य र जीवन किताबमा घटनाहरूको क्रम चित्तबुझ्दो ढङ्‌गमा प्रस्तुत गरिएको छ।

बाटो, सत्य र जीवन

यो किताब पढ्‌नुहुँदा तपाईँ र तपाईँले माया गर्ने व्यक्‍तिहरूलाई दिन खोजिएको मुख्य सन्देश मनमा राख्नुहोस्‌। येसु ख्रिष्ट स्वयम्‌ले प्रेषित थोमालाई भन्‍नुभएको यो कुरा सम्झनुहोस्‌: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—युहन्‍ना १४:६.

येसु—बाटो, सत्य र जीवन किताबले तपाईँलाई येसु कुन अर्थमा “बाटो” हुनुहुन्छ भनेर बुझ्न मदत गर्नेछ। हामी प्रार्थना गरेर उहाँमार्फत मात्र यहोवा परमेश्‍वरकहाँ जान सक्छौँ। साथै परमेश्‍वरसित मिलाप गर्ने माध्यम पनि येसु नै हुनुहुन्छ। (युहन्‍ना १६:२३; रोमी ५:८) त्यसैले यहोवासित सम्बन्ध गाँस्न सक्ने एउटै मात्र माध्यम येसु हुनुहुन्छ।

येसु “सत्य” हुनुहुन्छ। उहाँले सत्य सिकाउनुभयो र सत्यअनुसार जीवन बिताउनुभयो। त्यसैले एक अर्थमा भन्‍नुपर्दा येसु नै सत्य हुनुहुन्थ्यो। थुप्रै भविष्यवाणी “ख्रिष्टद्वारा ‘हुन्छ’” भएका छन्‌, मतलब उहाँद्वारा नै थुप्रै भविष्यवाणी पूरा भएका छन्‌। (२ कोरिन्थी १:२०; युहन्‍ना १:१४) ती भविष्यवाणीहरूले परमेश्‍वरको उद्देश्‍यको पूर्तिमा उहाँको मुख्य भूमिका छ भनेर बुझ्न मदत गर्छ।—प्रकाश १९:१०.

येसु ख्रिष्ट “जीवन” पनि हुनुहुन्छ। उहाँले फिरौतीस्वरूप हाम्रो लागि आफ्नो त्रुटिरहित शरीर र रगत बलिदान दिनुभएकोले हामीले “साँच्चैको जीवन” अर्थात्‌ “अनन्त जीवन” पाउन सम्भव भएको छ। (१ तिमोथि ६:१२, १९; एफिसी १:७; १ युहन्‍ना १:७) प्रमोदवनमा सधैँभरि बाँच्ने आशासहित फेरि जीवित हुने लाखौँ मानिसको लागि पनि उहाँ “जीवन” साबित हुनुहुनेछ।—युहन्‍ना ५:२८, २९.

हामीले परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिका बुझ्नुपर्छ र त्यसको मोल गर्नुपर्छ। येसु जो “बाटो, सत्य र जीवन” हुनुहुन्छ, उहाँबारे अझ धेरै सिकिरहनुहोस्‌।