सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९२

दस जना कुष्ठरोगी निको हुन्छन्‌, एक जनाले कृतज्ञता देखाउँछ

दस जना कुष्ठरोगी निको हुन्छन्‌, एक जनाले कृतज्ञता देखाउँछ

लुका १७:११-१९

  • येसु १० जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

येसु यहुदी न्यायपरिषद्‌को योजना विफल पार्दै एप्रैम भन्‍ने सहरमा जानुहुन्छ। यो सहर यरुसलेमको उत्तरपूर्वतिर पर्छ। त्यहाँ उहाँ आफ्ना चेलाहरूसित बस्नुहुन्छ। उहाँ शत्रुहरूबाट टाढा हुनुहुन्छ। (युहन्‍ना ११:५४) तर इस्वी संवत्‌ ३३ को निस्तार चाड नजिकै छ, त्यसैले उहाँ फेरि यात्रामा निस्कनुहुन्छ। उहाँ उत्तरमा सामरिया हुँदै गालिलतिर उक्लनुहुन्छ। आफ्नो मृत्युअघि उहाँ अन्तिम पटक त्यस इलाकामा जानुहुन्छ।

यात्राको सुरुतिर एउटा गाउँबाट अर्को गाउँमा जाँदै गर्नुहुँदा येसु १० जना कुष्ठरोगीलाई भेट्‌नुहुन्छ। कुनै-कुनै प्रकारको कुष्ठरोगले गर्दा हातखुट्टाका औँलाहरू र कानजस्ता शरीरका भाग बिस्तारै गुम्न सक्छ। (गन्ती १२:१०-१२) परमेश्‍वरको व्यवस्थाअनुसार कुष्ठरोगीले “अशुद्ध, अशुद्ध!” भन्दै कराउनुपर्छ र अरू मानिसबाट अलग्गै बस्नुपर्छ।—लेवी १३:४५, ४६.

त्यसैले ती १० कुष्ठरोगी येसुबाट टाढै बस्छन्‌। तैपनि तिनीहरू ठूलो स्वरमा यसो भन्छन्‌: “हे येसु, हे गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्‌!” कुष्ठरोगीहरूलाई देखेपछि उहाँ यसो भन्‍नुहुन्छ: “जाओ, गएर पुजारीहरूलाई देखाओ।” (लुका १७:१३, १४) यसरी उहाँले परमेश्‍वरको व्यवस्थाको आदर गरेको कुरा देखाउनुहुन्छ किनकि व्यवस्थाअनुसार पुजारीहरूसित निको भएका कुष्ठरोगीहरूलाई शुद्ध ठहराउने अधिकार छ। त्यसपछि तिनीहरू फेरि अरू मानिसहरूसितै बस्न पाउँछन्‌।—लेवी १३:९-१७.

येसुले चमत्कार गरेर आफूहरूलाई निको पार्न सक्नुहुन्छ भन्‍ने कुरामा ती १० कुष्ठरोगी विश्‍वस्त छन्‌। त्यसैले तिनीहरू निको हुनुअघि नै पुजारीहरूलाई भेट्‌न जान्छन्‌। येसुमा विश्‍वास गरेकोले तिनीहरूले इनाम पाउँछन्‌। तिनीहरू बाटोमा जाँदाजाँदै निको हुन्छन्‌। तिनीहरूले आफू निको भएको देख्छन्‌ र महसुस गर्छन्‌!

शुद्ध भएका कुष्ठरोगीमध्ये नौ जना आफ्नो बाटो लाग्छन्‌। तर एक जना मानिस, जो सामरियाली हुन्‌, तिनी भने येसुकहाँ फर्कन्छन्‌। किन? आफू निको भएकोमा तिनी येसुप्रति असाध्यै कृतज्ञ छन्‌। आफू निको हुनुमा वास्तवमा परमेश्‍वरको हात छ भनी बुझेकोले पहिलेको यी कुष्ठरोगीले “चर्को स्वरमा परमेश्‍वरको महिमा गर्दै” छन्‌। (लुका १७:१५) अनि येसुलाई भेट्टाएपछि तिनी उहाँको पाउमा घोप्टो पर्छन्‌ र उहाँलाई धन्यवाद दिन्छन्‌।

तिनीसँगै भएका मानिसहरूलाई येसु सोध्नुहुन्छ: “दसै जना शुद्ध भएका थिए नि, होइन र? त्यसोभए बाँकी नौ जना खै त? परमेश्‍वरको महिमा गर्न फर्कनेमा यो विदेशीबाहेक अरू कोही भएन?” अनि उहाँ ती सामरियालीलाई यसो भन्‍नुहुन्छ: “उठ र आफ्नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”—लुका १७:१७-१९.

दस जना कुष्ठरोगीलाई निको पार्नुभएर येसु आफूसित परमेश्‍वरको साथ छ भनेर देखाउनुहुन्छ। निको भएका दस जनामध्ये कृतज्ञता देखाउने एक जना येसुको यस कामले गर्दा जीवन दिने मार्गमा हिँड्‌न थालेका पनि हुन सक्छन्‌। अहिले हामी बाँचिरहेको समयमा यहोवा येसुमार्फत त्यस्तो निको पार्ने काम गर्नुहुन्‍न। तर येसुमाथि विश्‍वास गरेर हामी जीवनको मार्ग अर्थात्‌ अनन्त जीवन पाउने मार्गमा हिँड्‌न सक्छौँ। तर के हामी ती सामरियालीले जस्तै कृतज्ञता देखाउँछौँ?