सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १००

येसुले बताउनुभएको १० मीनाको उदाहरण

येसुले बताउनुभएको १० मीनाको उदाहरण

लुका १९:११-२८

  • येसुले बताउनुभएको १० मीनाको उदाहरण

हुनत येसुको गन्तव्य यरुसलेम हो। तर उहाँ अझै आफ्ना चेलाहरूसँग जक्कैको घरमा हुनुहुन्छ जस्तो देखिन्छ। “परमेश्‍वरको राज्य” अब चाँडै स्थापना हुनेछ र त्यस राज्यको राजा येसु हुनुहुनेछ भन्‍ने कुरामा चेलाहरू विश्‍वस्त छन्‌। (लुका १९:११) तर तिनीहरू यस कुरालाई गलत तरिकामा बुझ्छन्‌, जसरी तिनीहरूले येसु मर्नुपर्नेछ भन्‍ने कुरा पनि सही तरिकामा बुझेका छैनन्‌। त्यसैले तिनीहरूलाई परमेश्‍वरको राज्य आउन अझै धेरै समय बाँकी छ भन्‍ने कुरा बुझाउन येसु एउटा उदाहरण बताउनुहुन्छ।

उहाँ भन्‍नुहुन्छ: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।” (लुका १९:१२) त्यस्तो यात्रा पक्कै पनि लामो हुन्छ। यस उदाहरणको ‘कुलीन घरानाको मानिस’ येसु हुनुहुन्छ। उहाँ “परदेश” अर्थात्‌ स्वर्ग जानुहुनेछ र त्यहाँ बुबाले उहाँलाई राज्याधिकार दिनुहुनेछ।

यस उदाहरणमा ‘कुलीन घरानाको मानिसले’ परदेश जानुअघि आफ्ना १० जना दासलाई बोलाउँछन्‌ र तिनीहरू प्रत्येकलाई चाँदीको मीना दिएर यसो भन्छन्‌: “म नफर्केसम्म यसबाट व्यापार गर।” (लुका १९:१३) चाँदीको मीनाको मोल असाध्यै धेरै हुन्छ। एक मीना भनेको एक जना खेतालाले तीन महिनाभन्दा लामो समय काम गरेबापत पाउने ज्यालाबराबरको रकम हो।

यस उदाहरणको १० जना दासले आफूहरूलाई सङ्‌केत गरेको हो भन्‍ने कुरा येसुका चेलाहरूले बुझेको हुनुपर्छ किनकि येसुले पहिला पनि तिनीहरूलाई खेतालाहरूसित तुलना गरिसक्नुभएको छ। (मत्ति ९:३५-३८) उहाँले चेलाहरूलाई साँच्चैको बाली काट्‌न भन्‍नुभएको थिएन। बरु तिनीहरूले अरू चेलाहरू बनाएर बाली काट्‌ने काम गर्नुपर्नेछ र ती नयाँ चेलाहरूले परमेश्‍वरको राज्यमा स्थान पाउनेछन्‌। चेलाहरू आफूसित भएको स्रोतसाधन प्रयोग गरेर अझ धेरै राज्यका उत्तराधिकारीहरू जम्मा गर्छन्‌।

यस उदाहरणमा येसु अझै कुन कुरा प्रकट गर्नुहुन्छ? उहाँ भन्‍नुहुन्छ: “देशका मानिसहरू तिनलाई [कुलीन घरानाको मानिसलाई] घृणा गर्थे। त्यसैले तिनीहरूले राजदूतहरूको एक दललाई तिनको पछिपछि यसो भन्‍न पठाए: ‘यो मानिस हाम्रो राजा बनेको हामी चाहन्‍नौँ।’” (लुका १९:१४) यहुदीहरू येसुलाई स्विकार्दैनन्‌ र कोही-कोही त उहाँलाई मार्नसमेत चाहन्छन्‌ भनेर चेलाहरूलाई थाह छ। येसु फेरि जीवित भएर स्वर्ग जानुभएपछि यहुदीहरूले उहाँका चेलाहरूको खेदो गरेर येसुलाई घृणा गरेको कुरा देखाउँछन्‌। ती विरोधीहरू येसुलाई आफ्नो राजाको रूपमा स्विकार्न नचाहेको कुरा स्पष्टै देखाउँछन्‌।—युहन्‍ना १९:१५, १६; प्रेषित ४:१३-१८; ५:४०.

‘कुलीन घरानाको मानिस’ “राज्याधिकार” हासिल गरेर नफर्कुन्जेल ती १० जना दासले आफूसित भएको मीना कसरी प्रयोग गर्छन्‌? येसु भन्‍नुहुन्छ: “अन्तमा तिनी राज्याधिकार हासिल गरेर फर्के। अनि आफूले पैसा दिएका दासहरूलाई बोलाए। किनकि तिनीहरूले व्यापार गरेर के-कति कमाए भनेर तिनी जान्‍न चाहन्थे। तब पहिलोचाहिँ अघि सरेर भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले १० मीना कमाएँ।’ अनि तिनले त्यस दासलाई भने: ‘स्याबास, असल दास! तिमीले आफूलाई असाध्यै सानो कुरामा विश्‍वासयोग्य साबित गऱ्‍यौ। त्यसैले १० सहरमाथि अख्तियार चलाऊ।’ त्यसैगरि दोस्रो दास आयो र भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले पाँच मीना कमाएँ।’ तिनले उसलाई पनि यसो भने: ‘तिमी पनि पाँच सहरमाथि अख्तियार चलाऊ।’”—लुका १९:१५-१९.

येसुका चेलाहरू यी दासहरूले जस्तै आफूसित भएको धनको पूर्ण सदुपयोग गर्दै अझ धेरै चेला बनाउने काममा लागिरहेमा येसु आफूहरूसित खुसी हुनुहुनेछ भनेर ढुक्क हुन सक्छन्‌। अनि उहाँले त्यस्तो लगनशीलताको इनाम दिनुहुनेछ भन्‍ने कुरामा पनि तिनीहरू विश्‍वस्त हुन सक्छन्‌। हुनत येसुका सबै चेलाको परिस्थिति वा क्षमता एउटै छैन र सबैले एउटै किसिमको सुअवसर पनि पाएका छैनन्‌। तर “राज्याधिकार” पाउनुहुने येसुले तिनीहरू चेला बनाउने काममा वफादार भई लागेको देख्नुहुनेछ र तिनीहरूलाई आशिष्‌ दिनुहुनेछ।—मत्ति २८:१९, २०.

येसुको उदाहरणको अर्को दासले भने के गर्छ, याद गर्नुहोस्‌: “तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईँको मीना यहाँ छ। मैले यसलाई कपडामा लुकाएर राखेँ। मलाई तपाईँको डर लाग्यो किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ। तपाईँ आफूले जम्मा नगरेको पैसा लिनुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’ तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा लिने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त? त्यसोभए तैँले मेरो पैसा साहूकहाँ लगेर किन राखिनस्‌? तैँले त्यसो गरेको भए म फर्कँदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’ त्यसपछि तिनले नजिकै उभिरहेकाहरूलाई यसो भने: ‘ऊसित भएको मीना खोसेर १० मीना हुनेलाई देओ।’”—लुका १९:२०-२४.

आफ्नो मालिकको सम्पत्ति बढाउन मेहनत नगरेकोले यो दासले ठूलो नोक्सानी भोग्नुपर्छ। प्रेषितहरू येसुले परमेश्‍वरको राज्यमा शासन गर्नुहुने समयलाई तीव्रतासाथ पर्खिरहेका छन्‌। येसुले यो अन्तिम दासबारे भन्‍नुभएको कुराबाट चेला बनाउने काममा लगनशील नभएमा आफूहरूले परमेश्‍वरको राज्यमा स्थान नपाउने कुरा तिनीहरूले बुझेको हुनुपर्छ।

येसुले भन्‍नुभएका कुराहरूले वफादार चेलाहरूलाई अझ धेरै प्रयास गर्न पक्कै जुरमुऱ्‍यायो। अन्तमा येसु यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई भन्छु, जोसित छ, उसलाई अझ धेरै दिइनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।” साथै उहाँका शत्रुहरू, जो उहाँ “तिनीहरूको राजा बनेको चाहँदैनन्‌”, तिनीहरूले मृत्युदण्ड भोग्नेछन्‌ भनेर येसु बताउनुहुन्छ। त्यसपछि उहाँ यरुसलेमतर्फ यात्रा अघि बढाउनुहुन्छ।—लुका १९:२६-२८.