सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७५

येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ

येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ

लुका ११:१४-३६

  • “परमेश्‍वरको औँला”-को मदतले प्रेतहरूलाई धपाउनुहुन्छ

  • साँचो आनन्दको स्रोत

येसुले भर्खरै मात्र प्रार्थनाको विषयमा आफूले पहिला पनि दिएको निर्देशन दोहोऱ्‍याउनुभएको छ तर उहाँले आफ्नो सेवाको दौडान दोहोऱ्‍याएर सिकाउनुभएको विषय यो मात्र त होइन। उहाँले गालिलमा चमत्कारहरू गर्नुहुँदा ती सबै चमत्कार प्रेतहरूको शासकबाट शक्‍ति पाएर गर्नुभएको हो भन्‍ने झूटो आरोप उहाँमाथि लगाइएको थियो। अब यहाँ यहुदियामा पनि उहाँमाथि त्यस्तै आरोप लगाइन्छ।

येसु एक जना मानिसबाट प्रेत धपाउनुहुन्छ, जसले उसलाई गुँगो बनाएको थियो। येसुले गर्नुभएको यो शक्‍तिशाली काम देखेर भीड छक्क पर्छ। तर उहाँका आलोचकहरू भने येसुलाई फेरि पनि त्यही आरोप लगाउँदै यसो भन्छन्‌: “यसले प्रेतहरूको शासक बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछ।” (लुका ११:१५) तर अरू भने येसुको परिचयबारे थप कुरा जान्‍न खोज्छन्‌ र उहाँसित स्वर्गबाट एउटा चिन्ह माग्छन्‌।

तिनीहरू परीक्षा लिन खोज्दै छन्‌ भन्‍ने कुरा बुझेर येसु यतिबेला पनि गालिलका आलोचकहरूलाई जस्तै जवाफ दिनुहुन्छ। कुनै राज्यभित्र फूट छ भने त्यो सधैँभरि टिक्न सक्दैन भनी बताउँदै उहाँ यस्तो तर्क गर्नुहुन्छ: “सैतान आफैमा फूट छ भने त्यसको राज्य कसरी टिक्ला र?” त्यसपछि येसु तिनीहरूलाई सीधै यसो भन्‍नुहुन्छ: “यदि म परमेश्‍वरको औँलाले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।”—लुका ११:१८-२०, फुटनोट।

येसुले “परमेश्‍वरको औँला”-बारे उल्लेख गर्नुहुँदा उहाँका श्रोताहरूले पुरातन समयका इस्राएलीहरूको इतिहासमा घटेको घटना सम्झेका हुन सक्छन्‌। फारोको दरबारमा मोसाले गरेको चमत्कार देख्ने जादुगरहरू यसो भन्दै कराएका थिए: “यसमा परमेश्‍वरकै औँला छ!” ढुङ्‌गाका दुई वटा पाटीमा पनि “परमेश्‍वरको औँलाले” दस आज्ञा लेखेको थियो। (प्रस्थान ८:१९; ३१:१८, फुटनोट) त्यसैगरि यतिबेला पनि “परमेश्‍वरको औँला” अर्थात्‌ उहाँको सक्रिय शक्‍तिले गर्दा येसु प्रेतहरू धपाउन र बिरामीहरूलाई निको पार्न सक्षम हुनुभएको हो। यसरी परमेश्‍वरको राज्यको नियुक्‍त राजा येसुले तिनीहरूकै माझमा थुप्रै शक्‍तिशाली कामहरू गरिरहनुभएको भए तापनि ती विरोधीहरूले परमेश्‍वरको राज्य आएको चालै पाएका छैनन्‌।

जसरी राजमहललाई पहरा दिइरहेको हातहतियारले सुसज्जित मानिसलाई अर्को अझ बलियो मानिस आएर पराजित गर्छ, त्यसरी नै प्रेतहरूलाई धपाउने येसुको शक्‍तिले उहाँ सैतानभन्दा शक्‍तिशाली हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। साथै उहाँ एक जना मानिसबाट बाहिर निस्केर आएको प्रेतको उदाहरण फेरि बताउनुहुन्छ। यदि त्यस मानिसले आफ्नो दिमाग असल कुराहरूले भरेनन्‌ भने त्यो प्रेत अरू सात वटा प्रेतलाई लिएर आउँछ अनि त्यो मानिसको अवस्था पहिलेको भन्दा खराब बनाइदिन्छ। (मत्ति १२:२२, २५-२९, ४३-४५) इस्राएल राष्ट्रको अवस्था पनि ठ्याक्कै यस्तै छ।

येसुको कुरा सुनिरहेकी एउटी स्त्री ठूलो स्वरमा यसो भन्छिन्‌: “आनन्दित हुन्‌ ती आमा, जसको कोखबाट तपाईँले जन्म लिनुभयो र जसको स्तन तपाईँले चुस्नुभयो!” एक जना भविष्यवक्‍ता र अझ विशेषगरि मसीहको आमा बन्‍नु प्रत्येक इस्राएली स्त्रीको सपना हो। त्यसैले ती स्त्रीले यस्तो महान्‌ शिक्षकलाई जन्म दिने आमा मरियम कत्ति आनन्दित होलिन्‌ भनेर सोचेकी हुनुपर्छ। तर येसु साँचो आनन्द वास्तवमा कसले पाउँछन्‌ भन्‍ने सन्दर्भमा त्यस स्त्रीलाई यसो भन्‍नुहुन्छ: “त्यसो होइन। आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लुका ११:२७, २८) आफ्नी आमा मरियमले विशेष आदर पाउनुपर्छ भनेर येसुले कहिल्यै भन्‍नुभएन। बरु नातागोता वा कुनै उपलब्धिको आधारमा नभई परमेश्‍वरप्रतिको वफादार सेवाले साँचो आनन्द दिन्छ।

स्वर्गबाट चिन्ह माग्ने मानिसहरूलाई येसु गालिलमा जस्तै यतिबेला पनि हप्काउनुहुन्छ। तिनीहरूलाई “योनाको चिन्हबाहेक” अरू कुनै चिन्ह दिइनेछैन भनी उहाँ बताउनुहुन्छ। माछाको पेटभित्र तीन दिनसम्म बसेर अनि पछि निडर भई प्रचार गरेर योना निनवेका मानिसहरूको निम्ति एउटा चिन्ह बनेका थिए, जसले गर्दा उनीहरू पश्‍चात्ताप गर्न उत्प्रेरित भए। येसु यसो पनि भन्‍नुहुन्छ: “तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।” (लुका ११:२९-३२) येसु सुलेमानभन्दा पनि ठूलो हुनुहुन्छ, जसको बुद्धिका कुराहरू सुन्‍न सेबाकी महारानी आएकी थिइन्‌।

येसु थप यसो भन्‍नुहुन्छ: “कसैले पनि दियो बालेर त्यसलाई लुकाउँदैन न त टोकरीले छोप्छ तर . . . त्यसलाई पानसमा राख्छ।” (लुका ११:३३) उहाँ यी मानिसहरूलाई सिकाउनु र यिनीहरूको अगाडि चमत्कार गर्नु भनेको दियो बालेर लुकाउनुसरह हो भन्दै हुनुहुन्छ। किनकि तिनीहरूको आँखा महत्त्वपूर्ण कुरामा केन्द्रित छैन; तिनीहरूले येसुले गर्नुभएका कामहरूको उद्देश्‍य बुझेका छैनन्‌।

येसुले भर्खरै एक जना गुँगो मानिसबाट प्रेत धपाउनुभएको छ र ऊ बोल्न सक्ने भएको छ। यो देखेर मानिसहरू यहोवा परमेश्‍वरको महिमा गर्न र उहाँले गर्नुभएको कामबारे अरूलाई बताउन उत्प्रेरित हुनुपर्ने हो। त्यसैले उहाँका आलोचकहरूलाई येसु यस्तो चेतावनी दिनुहुन्छ: “त्यसैले सतर्क रहो, कतै तिमीमा भएको उज्यालो अँध्यारो नहोस्‌। त्यसकारण तिम्रो शरीर पूरै उज्यालो छ र कुनै पनि भाग अँध्यारो छैन भने दियोको किरणले दिने उज्यालोजस्तै तिम्रो शरीर पनि पूरै उज्यालो हुनेछ।”—लुका ११:३५, ३६.