अध्याय ९
“परमेश्वर पक्षपाती हुनुहुन्न”
खतना नगरिएका अन्यजातिहरूलाई साक्षी दिन सुरु गरिन्छ
प्रेषित १०:१–११:३० मा आधारित
१-३. पत्रुसले कस्तो दर्शन देखे र हामीले किन यसको महत्त्व बुझ्नु जरुरी छ?
इस्वी संवत् ३६ शरद् ऋतुको कुरा हो। पत्रुस बन्दरगाह सहर जोप्पामा छन्। तिनी समुद्रनजिकैको एउटा घरको कौसीको न्यानो घाममा बसेर प्रार्थना गर्दै छन्। तिनी यस घरमा केही दिनदेखि पाहुना भएर बसेका छन्। यसबाट तिनको निष्पक्ष मनोवृत्ति केही हदसम्म देखिन्छ। यस घरका घरधनी सिमोन पेसाले चर्मकार हुन्। त्यतिबेलाका प्रायजसो यहुदीहरू यस्तो काम गर्ने मानिसको घरमा बास बस्दैनथे। a यहोवा पक्षपाती हुनुहुन्न भन्नेबारे अब पत्रुसले एउटा महत्त्वपूर्ण पाठ सिक्न लागेका छन्।
२ प्रार्थना गरिरहेको बेला पत्रुस दर्शन देख्छन्। तिनले दर्शनमा देखेका कुराले जुनसुकै यहुदीको मनमा पनि खैलाबैला मच्चिन सक्थ्यो। आकाश उघ्रिन्छ अनि चारै किनारा बाँधिएको तन्नामा व्यवस्थाले अशुद्ध ठानेका जनावरहरू पृथ्वीमा झर्दै गरेको देखिन्छ। मारेर खाऊ भन्ने आज्ञा पाएपछि पत्रुस यसो भन्छन्: “अपवित्र अनि अशुद्ध थोक मैले कहिल्यै खाएको छैनँ।” एक चोटि होइन तर तीन-तीन चोटि पत्रुसलाई यसो भनिन्छ: “परमेश्वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्न छोड।” (प्रेषि. १०:१४-१६) पत्रुस उक्त दर्शनले गर्दा अलमल्लमा पर्छन् तर चाँडै नै उनलाई यसको अर्थ प्रकाश पारिन्छ।
३ पत्रुसले देखेको दर्शनको अर्थ के थियो? हामीले पनि यस दर्शनको महत्त्व बुझ्नु जरुरी छ। किनकि यसबाट हामी वास्तवमा यहोवा मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बुझ्न सक्छौँ। साँचो ख्रिष्टियन भएकोले हामीले पनि मानिसहरूप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ नत्र हामी उहाँको राज्यबारे राम्ररी साक्षी दिन सक्दैनौँ। त्यसोभए पत्रुसले देखेको दर्शनको अर्थ बुझ्न आउनुहोस्, उक्त दर्शनको सेरोफेरोमा के-कस्ता नाटकीय घटनाहरू घटे, हेरौँ।
“परमेश्वरलाई निरन्तर उत्कट बिन्ती” चढाउने (प्रेषित १०:१-८)
४, ५. कर्निलियस को थिए र तिनले प्रार्थना गरिरहेको बेला के भयो?
४ पत्रुसले दर्शन देखेको अघिल्लो दिन लगभग ५० किलोमिटर उत्तरतिर पर्ने सिजरियामा कर्निलियस नाम गरेका मानिसले पनि परमेश्वरबाट दर्शन पाएका थिए। तर त्यो कुरा पत्रुसलाई थाहै थिएन। रोमी सेनाका अफिसर कर्निलियस “परमेश्वरको भक्त” थिए। b तिनी आफ्नो परिवारको उदाहरणीय शिर थिए। किनभने तिनको “घरमा हुनेजति सबैले परमेश्वरको भय मान्थे।” कर्निलियस धर्म परिवर्तन गरेर यहुदी बनेका थिएनन्। तिनी खतना नगरिएका अन्यजाति थिए। तैपनि खाँचोमा परेका यहुदीहरूलाई मदत गरेर तिनीहरूप्रति दया देखाउँथे। यी सोझा व्यक्ति “परमेश्वरलाई निरन्तर उत्कट बिन्ती चढाउँथे।”—प्रेषि. १०:२.
५ कर्निलियसले दिउँसो तीन बजेतिर प्रार्थना गरिरहेको बेला दर्शन देखेका थिए। दर्शनमा एक स्वर्गदूतले तिनलाई यसो भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्वरकहाँ पुगेको छ र उहाँले ती सम्झनुभएको छ।” (प्रेषि. १०:४) स्वर्गदूतले भनेअनुसारै प्रेषित पत्रुसलाई बोलाउन कर्निलियसले दुई जना मानिस पठाए। खतना नगरिएको अन्यजातिका कर्निलियस अब एउटा यस्तो ढोकाभित्र प्रवेश गर्न लागेका थिए, जुन त्यतिबेलासम्म तिनको लागि बन्द गरिएको थियो। हो, तिनले उद्धारको सुसमाचार सुन्नै लागेका थिए।
६, ७. (क) परमेश्वरबारे सत्य कुरा सिक्न इच्छुक मानिसहरूले प्रार्थना गर्दा यहोवा जवाफ दिनुहुन्छ भनेर देखाउने कुनै अनुभव बताउनुहोस्। (ख) त्यस्ता अनुभवहरूबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?
६ परमेश्वरबारे सत्य कुरा सिक्न इच्छुक मानिसहरूले प्रार्थना गर्दा के उहाँ अहिले पनि जवाफ दिनुहुन्छ? एउटा अनुभव विचार गर्नुहोस्। अल्बेनियामा एउटी महिलाले छोराछोरी हुर्काउने विषयमा एउटा लेख भएको प्रहरीधरहरा स्विकारिन्। c आफूकहाँ आएकी साक्षीलाई तिनले यसो भनिन्: “के तपाईँ पत्याउनुहुन्छ, म छोरीहरू हुर्काउन मदत गर्नुहोस् भनेर भगवान्लाई प्रार्थना गरिरहेकै समयमा तपाईँ आइपुग्नुभयो। तपाईँलाई उहाँले नै पठाउनुभएको हो! मलाई जस्तो मदत चाहिएको थियो, तपाईँले ठ्याक्कै त्यस्तै मदत दिनुभयो।” ती महिला र तिनकी छोरीहरूले बाइबल अध्ययन सुरु गरे। पछि तिनका पतिले पनि अध्ययन गर्न थाले।
७ के यस्तो अनुभव आक्कलझुक्कल मात्र सुनिन्छ? पटक्कै होइन! संसारभरि यस्ता हजारौँ अनुभवहरू छन्! त्यसैले यो संयोगको कुरा मात्र हुनै सक्दैन। त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? पहिलो, परमेश्वरबारे सिक्न इच्छुक मानिसहरूले प्रार्थना गर्दा उहाँ जवाफ दिनुहुन्छ। (१ राजा ८:४१-४३; भज. ६५:२) दोस्रो, साक्षीकार्यमा हामीलाई स्वर्गदूतहरूले मदत दिन्छन्।—प्रका. १४:६, ७.
‘पत्रुस अलमल्ल परिरहेका’ थिए (प्रेषित १०:९-२३क)
८, ९. पवित्र शक्तिमार्फत परमेश्वरले पत्रुसलाई के थाह दिनुभयो? पत्रुसले के गरे?
८ पत्रुस अझै कौसीमै थिए र आफूले देखेको दर्शनको अर्थ के होला भनेर ‘अलमल्ल परिरहेका’ थिए। त्यतिनै बेला कर्निलियसले पठाएका मानिसहरू तिनी बसेको घरमा आइपुगे। (प्रेषि. १०:१७) व्यवस्थाले अशुद्ध ठहराएको खानेकुरा खान तीन पटकसम्म इन्कार गरेका पत्रुस अब के ती मानिसहरूको साथ लागेर जाने थिए र एक जना अन्यजातिको घरभित्र पस्ने थिए? परमेश्वरले यस विषयमा आफ्नो इच्छा पवित्र शक्तिमार्फत पत्रुसलाई थाह दिनुभयो। पत्रुसलाई यसो भनियो: “हेर, तीन जना मानिस तिम्रो विषयमा सोधपुछ गर्दै छन्। अब उठ, तल ओर्लेर कुनै शङ्का नगरी ती मानिसहरूसित जाऊ किनकि तिनीहरूलाई मैले नै पठाएको हुँ।” (प्रेषि. १०:१९, २०) चारै किनारा बाँधिएको तन्नाको दर्शनले पवित्र शक्तिमार्फत आएको यो निर्देशन स्विकार्न पत्रुसलाई पक्कै पनि तयार बनाइसकेको छ।
९ कर्निलियसले परमेश्वरको निर्देशनअनुसारै आफूलाई बोलाउन पठाएका हुन् भनेर बुझेपछि पत्रुसले अन्यजातिका ती सन्देशवाहकहरूलाई भित्र बोलाए र “पाहुनाको रूपमा राखे।” (प्रेषि. १०:२३क) परमेश्वरको उद्देश्यसम्बन्धी अझै नयाँ कुरा बुझेपछि यी आज्ञाकारी प्रेषितले आफ्नो सोचाइमा छाँटकाँट गरिसकेका थिए।
१०. यहोवा आफ्ना जनहरूलाई कसरी डोऱ्याउनुहुन्छ? हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१० आज पनि क्रमिक रूपमा आफ्ना उद्देश्यहरू प्रकट गरेर यहोवाले आफ्ना जनहरूलाई डोऱ्याइरहनुभएको छ। (हितो. ४:१८) पवित्र शक्तिमार्फत उहाँले “विश्वासी र बुद्धिमान् दास”-लाई डोऱ्याइरहनुभएको छ। (मत्ति २४:४५) परमेश्वरको वचनको अर्थबारे हाम्रो बुझाइमा वा सङ्गठनात्मक प्रक्रियामा कहिलेकाहीँ छाँटकाँट गरिन सक्छ। त्यस्तो बेला हामीले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘त्यस्तो छाँटकाँटलाई म कसरी लिन्छु? के म त्यस्तो छाँटकाँटमा परमेश्वरको पवित्र शक्तिको डोऱ्याइ छ भनेर स्विकार्छु?’
पत्रुसले “बप्तिस्मा गराउने आदेश दिए” (प्रेषित १०:२३ख-४८)
११, १२. सिजरिया पुगेपछि पत्रुसले के गरे? तिनले कुन कुरा बुझे?
११ दर्शन देखेको भोलिपल्ट पत्रुस कर्निलियसले पठाएका तीन जना सन्देशवाहक र “छ जना [यहुदी] भाइ” गरेर जम्मा नौ जनासँगै जोप्पाबाट सिजरियातर्फ लागे। (प्रेषि. ११:१२) “आफ्ना नातेदार अनि घनिष्ठ मित्रहरू” भेला गरेर तिनी पत्रुसलाई नै पर्खिरहेका थिए। ती सबै अन्यजातिका हुनुपर्छ। (प्रेषि. १०:२४) त्यहाँ पुगेपछि पत्रुसले पहिले कहिल्यै कल्पना नगरेको काम गरे; तिनी खतना नगरेको अन्यजातिको घरभित्र पसे! पत्रुसले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्गत गर्नु वा भेट्नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ। तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्नु हुँदैन भनेर परमेश्वरले मलाई प्रकट गर्नुभएको छ।” (प्रेषि. १०:२८) पत्रुसलाई जुन दर्शन देखाइएको थियो, त्यो तिनलाई एउटा पाठ सिकाउनको लागि थियो र त्यसको अर्थ खानेकुरामा मात्र सीमित थिएन भनेर तिनले बुझिसकेका थिए। तिनले “कुनै मानिसलाई [अन्यजातिलाई समेत] . . . अपवित्र . . . भन्नु हुँदैन” थियो।
१२ भेला भएका सबै जना पत्रुसको कुरा सुन्न पर्खिरहेका थिए। कर्निलियसले यसो भने: “यहोवा परमेश्वरले तपाईँलाई जे-जे भन्न आज्ञा दिनुभएको छ, ती सुन्न अहिले हामी सबै जना यहाँ परमेश्वरसामु उपस्थित भएका छौँ।” (प्रेषि. १०:३३) यहोवाबारे सिक्न इच्छुक कसैले यस्तै भावना व्यक्त गर्दा हामी कत्ति खुसी हुन्छौँ! पत्रुसले प्रभावकारी तरिकामा यसरी आफ्नो कुरा सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्वर पक्षपाती हुनुहुन्न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।” (प्रेषि. १०:३४, ३५) परमेश्वरले मानिसहरूको जात, देश वा अन्य बाहिरी कुरा हेर्नुहुन्न भनेर पत्रुसले बुझेका थिए। त्यसपछि तिनले येसुको सेवा, उहाँको मृत्यु र उहाँलाई फेरि जीवित पारिएको कुराबारे साक्षी दिए।
१३, १४. (क) इस्वी संवत् ३६ मा कर्निलियस र अन्यजातिका अरू मानिसहरू ख्रिष्टियन बनेको घटना किन उल्लेखनीय छ? (ख) हामीले किन अरूको बाहिरी रूप हेरेर अड्कल काट्नु हुँदैन?
१३ अब कसैले सोच्दै नसोचेको घटना घट्छ: “पत्रुसले यी कुरा भनिरहेकै बेला” ‘अन्यजातिका मानिसहरूमाथि’ पवित्र शक्ति खन्याइन्छ। (प्रेषि. १०:४४, ४५) बप्तिस्मा गर्नुअघि नै पवित्र शक्ति खन्याइएको घटना बाइबलमा यो एउटा मात्र उल्लेख गरिएको छ। परमेश्वरले अनुमोदन दिनुभएको यस्तो सङ्केत पाएपछि पत्रुसले “उनीहरूको [ती अन्यजातिहरूको] बप्तिस्मा गराउने आदेश दिए।” (प्रेषि. १०:४८) इस्वी संवत् ३६ मा अन्यजातिहरू ख्रिष्टियन भएपछि यहुदीहरूले मात्र पाउने विशेष अनुमोदनको समय सिद्धियो भनेर स्पष्ट भयो। (दानि. ९:२४-२७) यस अवसरमा साक्षी दिन नेतृत्व लिएर पत्रुसले “स्वर्गको राज्यका साँचाहरू”-मध्ये अन्तिम अर्थात् तेस्रो साँचो चलाए। (मत्ति १६:१९) यस साँचोले खतना नगरिएका अन्यजातिहरूका निम्ति पनि पवित्र शक्तिबाट अभिषिक्त ख्रिष्टियन हुने सुअवसरको ढोका खोलिदियो।
१४ राज्य प्रचारकको हैसियतमा हामीले पनि “परमेश्वर कसैको पक्षपात गर्नुहुन्न” भनेर बुझेका छौँ। (रोमी २:११) “सबै किसिमका मानिसले उद्धार पाऊन्” भन्ने उहाँ चाहनुहुन्छ। (१ तिमो. २:४) त्यसैले हामीले कहिल्यै पनि अरूको बाहिरी रूप हेरेर तिनले सुसमाचार सुन्लान् कि नसुन्लान् भनेर अड्कल काट्नु हुँदैन। हाम्रो जिम्मेवारी परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिनु हो। यसमा मानिसहरूको जात, देश, रूप र धार्मिक पृष्ठभूमि जस्तोसुकै होस्, तिनीहरू सबैलाई साक्षी दिनु समावेश छ।
“उनीहरूले विरोध गर्न छोडे अनि . . . परमेश्वरको महिमा गरे” (प्रेषित ११:१-१८)
१५, १६. यहुदी ख्रिष्टियनहरूमध्ये केहीले किन पत्रुसको आलोचना गरे? पत्रुसले आफ्नो कुरा कसरी बुझाए?
१५ यो घटना सुनाउन उत्सुक भएका पत्रुस यरुसलेमतिर लागे। तिनी यरुसलेम पुग्नुअघि नै अन्यजातिहरूले “परमेश्वरको वचन स्विकारेछन्” भन्ने खबर पुगिसकेको थियो जस्तो देखिन्छ। पत्रुस त्यहाँ पुग्नेबित्तिकै “खतनाका समर्थकहरूले तिनको आलोचना गर्न थाले।” पत्रुसले “खतना नगरेका मानिसहरूको घरमा गएर तिनीहरूसँगै खानपिन” गरेको कुराले गर्दा तिनीहरू रिसाएका थिए। (प्रेषि. ११:१-३) यो विवाद अन्यजातिहरू ख्रिष्टका अनुयायी बन्न सक्छन् कि सक्दैनन् भन्नेबारे थिएन। तर ती यहुदी ख्रिष्टियनहरूले यहोवालाई स्वीकार्य हुने ढङ्गमा उपासना चढाउन ती अन्यजातिहरूले पनि व्यवस्था पालन गर्नुपर्छ र खतना गर्नुपर्छ भनेर जिद्दी गरिरहेका थिए। कुरा प्रस्ट छ, मोसाको व्यवस्थाको अन्त भइसक्यो भनेर स्विकार्न केही चेलाहरूलाई गाह्रो भइरहेको थियो।
१६ पत्रुसले आफ्नो कुरा कसरी बुझाए? प्रेषित ११:४-१६ अनुसार तिनले यहोवाबाट पाएको निर्देशनका चार वटा प्रमाण प्रस्तुत गरे: (१) आफूले परमेश्वरबाट पाएको दर्शन (पद ४-१०); (२) पवित्र शक्तिले दिएको आज्ञा (पद ११, १२); (३) स्वर्गदूतले कर्निलियसलाई दिएको सन्देश (पद १३, १४); (४) अन्यजातिहरूमाथि पवित्र शक्ति खन्याइएको घटना। (पद १५, १६) पत्रुसले यस्तो जोडदार प्रश्न गरेर आफ्नो कुरा टुङ्ग्याए: “प्रभु येसु ख्रिष्टमाथि विश्वास गरेर हामीले [यहुदीहरूले] परमेश्वरबाट [पवित्र शक्तिको] जुन वरदान सित्तैँमा पायौँ, त्यही वरदान यदि उहाँले तिनीहरूलाई [विश्वास गर्ने अन्यजातिहरूलाई] पनि दिनुभयो भने परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?”—प्रेषि. ११:१७.
१७, १८. (क) पत्रुसले दिएको प्रमाणले गर्दा यहुदी ख्रिष्टियनहरू कस्तो निर्णयमा पुग्न बाध्य भए? (ख) मण्डलीको एकता कायम राख्नु किन चुनौतीपूर्ण हुन सक्छ? (ग) हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१७ पत्रुसले दिएको प्रमाणले गर्दा यहुदी ख्रिष्टियनहरू एउटा निर्णयमा पुग्न बाध्य भए। के तिनीहरूले आफूमा भएको पूर्वाग्रही भावना हटाएर भर्खरै बप्तिस्मा गरेका अन्यजातिहरूलाई आफ्नो भाइबहिनीको रूपमा स्विकार्न सक्थे? बाइबल विवरण यसो भन्छ: “यी कुरा सुनेपछि उनीहरूले [प्रेषितहरू र अरू यहुदी ख्रिष्टियनहरूले] विरोध गर्न छोडे अनि यसो भन्दै परमेश्वरको महिमा गरे: ‘अन्यजातिका मानिसहरूले पनि जीवन पाऊन् भनेर परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ भनेर अब स्पष्ट भयो।’” (प्रेषि. ११:१८) त्यस्तो सकारात्मक मनोवृत्तिले मण्डलीमा एकता कायम राख्न मदत गऱ्यो।
१८ आज पनि मण्डलीमा एकता कायम राख्नु चुनौतीपूर्ण हुन सक्छ किनभने साँचो उपासकहरू “हरेक राष्ट्र, कुल, जाति अनि भाषा”-बाट आएका छन्। (प्रका. ७:९) त्यसैकारण थुप्रै मण्डलीमा फरक जात, संस्कृति र पृष्ठभूमि भएका व्यक्तिहरू भेटिन्छन्। हामीले आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘कतै मेरो मनमा पनि पूर्वाग्रहको कुनै तुस बाँकी छ कि? ख्रिष्टियन भाइबहिनीसित व्यवहार गर्दा के म राष्ट्रियताको भाव, जातीयता र संस्कृतिको घमन्डजस्ता फुट गराउने दुर्गुणहरू कहिल्यै नझल्काउन कटिबद्ध छु?’ अन्यजातिहरू पहिलो पटक ख्रिष्टियन भएको केही वर्षपछि पत्रुसले (केफासले) के गरे, सम्झनुहोस्। गैर-यहुदी ख्रिष्टियनहरूलाई तुच्छ ठानिने भएकोले तिनी अन्यजातिका ती “मानिसहरूदेखि पन्छिए।” त्यसैले पावलले तिनलाई सच्याउनुपऱ्यो। (गला. २:११-१४) पूर्वाग्रहको पासोमा नपर्न हामी सधैँ होसियार भइरहौँ।
“थुप्रै मानिसले प्रभुमा विश्वास गर्न थाले” (प्रेषित ११:१९-२६क)
१९. यहुदी ख्रिष्टियनहरूले एन्टिओकमा कसलाई सुसमाचार सुनाउन थाले र नतिजा कस्तो भयो?
१९ के येसुका चेलाहरूले खतना नगरेका अन्यजातिहरूलाई साक्षी दिन थाले? सिरियाको एन्टिओकमा के भयो, ध्यान दिनुहोस्। d यस सहरमा यहुदीहरूको ठूलो समुदाय थियो तर त्यहाँ यहुदी र अन्यजातिबीच कुनै दुस्मनी थिएन। त्यसैले अन्यजातिहरूलाई साक्षी दिन एन्टिओक एउटा राम्रो इलाका थियो। यहुदी ख्रिष्टियनहरूमध्ये केहीले “ग्रीकभाषीहरूलाई” सुसमाचार सुनाउन थालेको ठाउँ यही थियो। (प्रेषि. ११:२०) तिनीहरूले ग्रीकभाषी यहुदीहरूलाई मात्र होइन, खतना नगरेका अन्यजातिहरूलाई पनि साक्षी दिए। यहोवाले यसमा आशिष् दिनुभयो र “थुप्रै मानिसले प्रभुमा विश्वास गर्न थाले र उहाँको चेला बने।”—प्रेषि. ११:२१.
२०, २१. बर्णाबासले कसरी नम्रता देखाए? साक्षीकार्यमा हामी पनि कसरी त्यस्तै नम्रता देखाउन सक्छौँ?
२० बाली पूरै पाकेर कटनीको लागि तयार भएको एन्टिओकमा यरुसलेमको मण्डलीले बर्णाबासलाई पठायो। सत्य सिक्न चाहने मानिसहरू त्यहाँ यत्ति धेरै थिए कि बर्णाबास एक्लैले भ्याउन सक्ने कुरै थिएन। त्यहाँ जान अन्यजातिको प्रेषित बन्न लागेका सावलभन्दा उपयुक्त व्यक्ति अरू को हुन सक्थ्यो र? (प्रेषि. ९:१५; रोमी १:५) के बर्णाबासले सावललाई आफ्नो प्रतिद्वन्द्वी ठाने? ठानेनन् बरु तिनले नम्रता देखाए। तिनी आफै टार्सससम्म गए, सावललाई खोजे र आफूलाई मदत गर्न एन्टिओक ल्याए। त्यहाँको मण्डलीलाई बलियो बनाउन दुवै जनाले सँगै एक वर्ष काम गरे।—प्रेषि. ११:२२-२६क.
२१ सेवाको काम पूरा गर्दा हामी कसरी नम्रता देखाउन सक्छौँ? नम्र हुनुमा आफ्नो सीमितता स्विकार्नु पनि समावेश छ। हामी सबैको क्षमता फरक-फरक छ। जस्तै: कोही-कोही साहित्य प्रस्तुत गर्न एकदमै सिपालु हुन्छन् तर पुनःभेट गर्न वा बाइबल अध्ययन सुरु गर्न भने तिनीहरूलाई गाह्रो लाग्न सक्छ। यदि तपाईँ साक्षीकार्यको कुनै पक्षमा उन्नति गर्न चाहनुहुन्छ भने कसैको मदत मागे कसो होला? यसरी आफै अग्रसर भएर मदत माग्दा तपाईँ अझै फलदायी हुन सक्नुहुन्छ र साक्षीकार्यबाट अपार आनन्द उठाउन सक्नुहुन्छ।—१ कोरि. ९:२६.
“राहत सामग्री पठाउने” (प्रेषित ११:२६ख-३०)
२२, २३. एन्टिओकका भाइबहिनीहरूले कसरी भाइचारा देखाए? अहिले पनि परमेश्वरका जनहरूले कसरी त्यस्तै मनोभाव देखाइरहेका छन्?
२२ एन्टिओकमा नै “पहिलो पटक चेलाहरूलाई ईश्वरीय निर्देशनद्वारा ‘ख्रिष्टियन’ भन्न थालियो।” (प्रेषि. ११:२६ख) परमेश्वरको अनुमोदन भएको उक्त नाम ख्रिष्टका चेलाहरूलाई चिनाउन एकदमै उपयुक्त छ। अन्यजातिका मानिसहरू ख्रिष्टियन भएपछि के यहुदी ख्रिष्टियन र अन्यजातिका ख्रिष्टियनबीच भाइचाराको सम्बन्ध स्थापित भयो? इस्वी संवत् ४६ मा ठूलो अनिकाल पर्दा के भयो, विचार गर्नुहोस्। e प्राचीन समयमा अनिकाल पर्दा गरिबहरू मारमा पर्थे किनभने तिनीहरूले पैसा बचाएर राख्न सकेका हुँदैनथे र अन्न पनि। यस्तो अनिकालको बेला यहुदियामा बसेका ख्रिष्टियनहरू जसमध्ये धेरै जना गरिब थिए, तिनीहरूलाई मदतको खाँचो पऱ्यो। यसबारे थाह पाएपछि एन्टिओकका ख्रिष्टियनहरूले—अन्यजातिका ख्रिष्टियनहरूले समेत—यहुदियामा बसेका ख्रिष्टियनहरूलाई ‘राहत सामग्री पठाए।’ (प्रेषि. ११:२९) ख्रिष्टियन भाइचाराको कस्तो साँचो अभिव्यक्ति!
२३ अहिले पनि यहोवाका जनहरूमा त्यस्तै सहयोगी मनोभाव छ। हाम्रा भाइबहिनीहरू आफ्नै देशका होऊन् वा अर्को देशका, जब तिनीहरू आपत्मा परेका छन् भनेर हामी थाह पाउँछौँ, तब तिनीहरूलाई मदत गर्न हामी अघि बढ्छौँ। आँधीबेहरी, भूकम्प र सुनामीजस्ता प्रकोपबाट पीडित हाम्रा भाइबहिनीलाई मदत गर्न शाखा समितिहरूले तुरुन्तै प्रकोप राहत समिति गठन गर्छन्। यस्ता राहतकार्यहरूले हाम्रो भाइचारा कत्ति साँचो छ भनेर देखाउँछ।—युह. १३:३४, ३५; १ युह. ३:१७.
२४. पत्रुसले देखेको दर्शनको महत्त्वलाई गम्भीरतासाथ लिन्छौँ भनेर हामी कसरी देखाउन सक्छौँ?
२४ हामी साँचो ख्रिष्टियनहरू प्रथम शताब्दीमा पत्रुसले जोप्पाको एउटा घरको कौसीमा देखेको दर्शनको महत्त्वलाई गम्भीरतासाथ लिन्छौँ। हामी पक्षपात नगर्ने परमेश्वरको उपासना गर्छौँ। हामीले उहाँको राज्यको साक्षी राम्ररी देओस् भन्ने उहाँको इच्छा छ। यसमा सबै जातका, सबै देशका वा सबै वर्गका मानिसहरूलाई पक्षपात नगरी साक्षी दिनु समावेश छ। त्यसैकारण सुन्न इच्छुक सबैलाई सुसमाचार स्विकार्ने मौका दिन हामी कटिबद्ध होऔँ।—रोमी १०:११-१३.
a यहुदीहरू चर्मकारहरूलाई तुच्छ ठान्थे। किनभने चर्मकारहरूले जनावरको लास र सिनु छुनुपर्थ्यो अनि छालाको प्रशोधन गर्न कुकुरको दिसाजस्ता घिनलाग्दा चीजहरू प्रयोग गर्नुपर्थ्यो। उपासनाको लागि मन्दिरमा जान समेत तिनीहरूलाई अयोग्य ठानिन्थ्यो। तिनीहरूको काम गर्ने ठाउँ सहरदेखि कम्तीमा पनि २२ मिटर टाढा हुनुपर्थ्यो। सिमोनको घर “समुद्रनजिकै” हुनुको एउटा कारण यो पनि हुन सक्छ।—प्रेषि. १०:६.
b “ कर्निलियस र रोमी सेना” शीर्षकको पेटी हेर्नुहोस्।
c नोभेम्बर १, २००६, पृष्ठ ४-७ “छोराछोरी हुर्काउन भरपर्दो सल्लाह” शीर्षकको लेख।
d पृष्ठ ७३ मा भएको “ सिरियाको एन्टिओक” शीर्षकको पेटी हेर्नुहोस्।
e यहुदी इतिहासकार जोसेफसले सम्राट् क्लौडियसको शासनकालमा (इस्वी संवत् ४१-५४) “ठूलो अनिकाल” परेको थियो भनेर उल्लेख गरेका छन्।