सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १०

“यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”

“यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”

पत्रुसले छुटकारा पाउँछन्‌; सतावटको बाबजुद सुसमाचार फैलिरहन्छ

प्रेषित १२:१-२५ मा आधारित

१-४. पत्रुसमाथि कस्तो कठिन अवस्था आइपऱ्‍यो? तपाईँ तिनको ठाउँमा भएको भए कस्तो महसुस गर्नुहुने थियो?

 फलामका बडेमाका ढोकाहरू बन्द गरेको ठूलो आवाज आउँछ। साङ्‌लाले बाँधिएका पत्रुसलाई दुई रोमी सिपाहीले दुईतिरबाट पहरा दिँदै झ्यालखानाको कोठामा लैजान्छन्‌। त्यसपछि आफूले कस्तो नतिजा भोग्नुपर्ने हो भनी थाह पाउन तिनले पर्खनै पर्छ, सायद केही दिनसम्म। तिनको आँखाअगाडि कोठाको चारभित्ता, फलामे बार, तिनलाई बाँधेर राखेको साङ्‌ला र पहरेदारहरूबाहेक अरू केही छैन।

पत्रुसविरुद्ध कठोर सजाय सुनाइन्छ। राजा हेरोद अग्रिपा प्रथम पत्रुसलाई सिद्ध्याउन कसिएका छन्‌। a भन्‍नै पर्दा पत्रुसलाई निस्तार चाड सिद्धिएलगत्तै जनतासामु उभ्याइनेछ। जनता रिझाउनकै लागि तिनलाई मृत्युदण्ड दिइनेछ। स्पष्ट छ, हेरोदले पत्रुसलाई तर्साउन मात्र धम्की दिएका होइनन्‌। केही समयअघि मात्रै यिनै शासकले पत्रुसका साथी प्रेषित याकुबलाई मृत्युदण्ड दिइसकेका छन्‌।

यो साँझको बेला हो। भोलि पत्रुसलाई मृत्युदण्ड दिइनेछ। तिनी आफूलाई थुनिएको अँध्यारो कोठामा के सोच्दै छन्‌? सायद येसुले वर्षौंअघि भन्‍नुभएको कुरा पो सम्झिरहेका छन्‌ कि? कुनै दिन तिनलाई बाँधेर जबरजस्ती मार्न लगिनेछ भनेर येसुले भन्‍नुभएको थियो। (युह. २१:१८, १९) सायद त्यो समय अहिल्यै हो जस्तो पत्रुसलाई लागेको हुनुपर्छ।

तपाईँ पत्रुसको ठाउँमा भएको भए कस्तो महसुस गर्नुहुने थियो? अब केही आशा छैन भनेर धेरै जना निराश हुने थिए। तर येसु ख्रिष्टको साँचो अनुयायीको निम्ति के कुनै पनि परिस्थिति बिलकुलै आशाविहीन हुन सक्छ र? पत्रुस र अरू ख्रिष्टियनहरूले आफूमाथि सतावट आइपर्दा देखाएको प्रतिक्रियाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आउनुहोस्‌, अब हामी हेरौँ।

“मण्डलीले . . . तनमनले प्रार्थना गरिरहेको थियो” (प्रेषित १२:१-५)

५, ६. (क) राजा हेरोद अग्रिपा प्रथमले किन र कसरी ख्रिष्टियन मण्डलीको खेदो गरे? (ख) याकुबको मृत्यु मण्डलीको लागि किन एउटा परीक्षा थियो?

अघिल्लो लेखमा हामीले पढेझैँ अन्यजातिका कर्निलियस र तिनको परिवार ख्रिष्टियन बन्‍नु मण्डलीको लागि एकदमै रोमाञ्चकारी घटना थियो। तर ख्रिष्टियन मण्डलीको भाग नबनेका यहुदीहरूलाई भने यहुदी ख्रिष्टियनहरू र गैर-यहुदीहरू सँगसँगै उपासना गरिरहेको देख्दा एकदमै अचम्म लागेको हुन सक्छ।

धूर्त राजनीतिज्ञ हेरोदले यस अवसरलाई यहुदीहरूको मन जित्ने मौकाको रूपमा लिए। तिनले ख्रिष्टियनहरूको खेदो गर्न थाले। तिनले प्रेषित याकुब र येसुको घनिष्ठ सम्बन्ध थियो भनेर सुनेको हुनुपर्छ। यसकारण तिनले “युहन्‍नाको दाइ याकुबलाई तरबारले मारे।” (प्रेषि. १२:२) मण्डलीको लागि कत्ति ठूलो परीक्षा! येसुको रूप परिवर्तन भएको देख्ने र बाँकी प्रेषितहरूले नदेखेका अन्य चमत्कारहरू पनि देख्ने तीन जनामध्ये याकुब एक थिए। (मत्ति १७:१, २; मर्कु. ५:३७-४२) येसुले याकुब र तिनका भाइ युहन्‍नालाई तिनीहरूको बल्दो जोसको कारण “गर्जनका छोराहरू” भन्‍नुभएको थियो। (मर्कु. ३:१७) हो, मण्डलीले निडर, विश्‍वासी र सबैले माया गर्ने प्रेषित गुमायो।

७, ८. पत्रुसलाई झ्यालखानामा थुनिएको बेला मण्डलीले के गऱ्‍यो?

याकुबलाई मृत्युदण्ड दिँदा अग्रिपाले आशा गरेझैँ यहुदीहरू खुसी भए। यसले गर्दा तिनको साहस झनै बढ्यो र तिनले पत्रुसलाई तारो बनाए। सुरुमा बताइएझैँ पत्रुसलाई गिरफ्तार गरियो। तर विगतमा प्रेषितहरू झ्यालखानाबाट चमत्कारपूर्ण ढङ्‌गमा छुटेका घटना अग्रिपाले सम्झेको हुनुपर्छ। उक्‍त घटनाबारे हामीले अध्याय ५ मा पढेका थियौँ। त्यसैले पत्रुस भाग्न नपाऊन्‌ भनेर हेरोदले तिनलाई साङ्‌लाले बाँधे र पहरा दिन दुई जना सिपाहीलाई तिनको दुईतिर खटाए। साथै १६ जना पहरेदारलाई रातदिन पालैसित तिनको पहरा दिन खटाए। तिनी भागेको खण्डमा ती पहरेदारहरूले नै मृत्युदण्ड पाउने थिए। यस्तो कठिन घडीमा भाइबहिनीले के गर्न सक्थे?

यस्तो अवस्थामा के गर्नुपर्छ भनेर मण्डलीलाई राम्ररी थाह थियो। प्रेषित १२:५ यसो भन्छ: “त्यसैले पत्रुस झ्यालखानामै रहिरहे तर मण्डलीले तिनको लागि परमेश्‍वरलाई तनमनले प्रार्थना गरिरहेको थियो।” हो, आफ्नो प्यारो भाइको लागि तिनीहरूले तनमनले प्रार्थना गरिरहेका थिए। याकुबको मृत्युको कारण तिनीहरू निरुत्साहित भएका थिएनन्‌ अनि प्रार्थना गर्नु व्यर्थ हो भन्‍ने निष्कर्षमा पनि पुगेका थिएनन्‌। यहोवा प्रार्थनालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ। उहाँको इच्छाअनुरूप गरिएको प्रार्थनाको उहाँ जवाफ दिनुहुन्छ। (हिब्रू १३:१८, १९; याकु. ५:१६) हामी ख्रिष्टियनहरूको लागि यो एउटा महत्त्वपूर्ण पाठ हो।

९. प्रार्थनाको विषयमा भाइबहिनीले बसालेको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

भाइबहिनीहरूमाथि परीक्षाको ओइरो नै लागेको खबर तपाईँले सुन्‍नुभएको छ कि? तिनीहरूले सतावट, सरकारी प्रतिबन्ध वा प्राकृतिक प्रकोपको सामना गरिरहेका हुन सक्छन्‌। तपाईँको प्रार्थनामा ती कुराहरू पनि समावेश गरे कसो होला? साथै अरूलाई त्यति थाह नहुने परीक्षाहरू, जस्तै: पारिवारिक समस्या, निरुत्साह वा विश्‍वासको जाँच गर्ने अन्य समस्याहरू सामना गरिरहेकाहरूलाई पनि तपाईँ चिन्‍नुहुन्छ होला। “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरलाई प्रार्थना गर्नुअघि कति जनाको लागि नामै तोकेर प्रार्थना गर्न सकिन्छ भनेर विचार गर्न सक्नुहुन्छ। (भज. ६५:२) आखिर तपाईँमाथि कठिन परिस्थिति आइपऱ्‍यो भने भाइबहिनीहरूले तपाईँको लागि पनि त्यसरी नै प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ नि, होइन र?

विश्‍वासको खातिर कैदमा परेका भाइबहिनीहरूको लागि हामी प्रार्थना गर्छौँ

“मेरो पछिपछि आऊ” (प्रेषित १२:६-११)

१०, ११. यहोवाको स्वर्गदूतले पत्रुसलाई झ्यालखानाबाट कसरी छुटाए, बताउनुहोस्‌।

१० आफूले सामना गर्नुपर्ने खतराहरूबारे के पत्रुस चिन्तित थिए? ठोकुवा नै गरेर त हामी भन्‍न सक्दैनौँ तर आफूलाई मृत्युदण्ड दिइनुभन्दा अघिल्लो रात तिनी दुई जना सिपाहीको बीचमा निष्फिक्री सुतिरहेका थिए। यी विश्‍वासी पुरुषलाई भोलि जेसुकै भए तापनि आफू परमेश्‍वरको हातमा सुरक्षित छु भन्‍ने कुरामा कुनै शङ्‌का थिएन। (रोमी १४:७, ८) तर पत्रुसले अब हुन लागेका घटनाहरूबारे भने कल्पना समेत गरेका थिएनन्‌ होला। अचानक तिनको कोठा उज्यालो भयो। स्वर्गदूत तिनको छेवैमा उभिए तर पहरेदारहरूले ती स्वर्गदूतलाई देखेनन्‌। त्यसपछि स्वर्गदूतले थपथपाएर तिनलाई हतारहतार जगाए। अनि छिनाउनै नसकिने तिनको हातको साङ्‌लो आफसेआफ खुस्कियो!

“जब तिनीहरू . . . सहरतिर जाने फलामे ढोकामा पुगे, तब त्यो तिनीहरूका लागि आफसेआफ खुल्यो।”​—प्रेषित १२:१०

११ स्वर्गदूतले पत्रुसलाई छोटो तर स्पष्ट केही निर्देशन दिए: “छिटो उठ! . . . लुगा लगाऊ र आफ्नो जुत्ताको फित्ता कस। . . . तिम्रो खास्टो ओढ।” पत्रुसले तिनले भनेझैँ गरिहाले। स्वर्गदूतले फेरि यसो भने: “मेरो पछिपछि आऊ।” पत्रुसले त्यसै गरे। तिनीहरू पहरेदारहरूको नाकैमुनिबाट निस्केर त्यस बडेमाको फलामे ढोकामा पुगे। तिनीहरू त्यस ढोकाबाट चाहिँ कसरी निस्के? त्यसबारे पत्रुसले धेरै सोच्नुपरेन। तिनीहरू फलामे ढोकामा पुग्नासाथ त्यो “आफसेआफ खुल्यो।” यी सबै कुरा यत्ति चाँडो भए कि पत्रुसलाई आफू बाहिर सडकमा आइपुगेको पत्तै भएन। तिनलाई बाहिर ल्याइसकेपछि स्वर्गदूत पनि अलप भए। अब भने पत्रुसलाई ती सबै कुरा साँच्चै भएको हो, आफूले दर्शन मात्र देखेको होइनँ भन्‍ने कुरा छर्लङ्‌ग भयो। तिनी झ्यालखानाबाट साँच्चै मुक्‍त भएका थिए!—प्रेषि. १२:७-११.

१२. यहोवाले पत्रुसलाई छुटाउनुभएको घटनाबारे मनन गर्दा हामी कसरी सान्त्वना पाउन सक्छौँ?

१२ आफ्ना सेवकहरूको उद्धार गर्न सक्ने यहोवाको असीमित शक्‍तिबारे मनन गर्नु सान्त्वनादायी छैन र? पत्रुसलाई गिरफ्तार गर्न लगाउने राजाले त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली सरकारको समर्थन पाएका थिए। तर पत्रुस कुनै अवरोधविना झ्यालखानाबाट बाहिर निस्के! हो, यहोवाले आफ्ना सबै सेवकहरूका लागि त्यस्तो चमत्कार गर्नुहुन्‍न। उहाँले त्यस्तो चमत्कार याकुबको लागि गर्नुभएन। साथै येसुले भन्‍नुभएझैँ पछि पत्रुसले साँच्चै मृत्युदण्ड भोग्दा पनि उहाँले तिनलाई बचाउनुभएन। आज ख्रिष्टियनहरू त्यसरी चमत्कारपूर्ण ढङ्‌गमा आफूलाई बचाइने आशा गर्दैनन्‌। तर यहोवा परिवर्तन हुनुभएको छैन भनेर पनि हामीलाई थाह छ। (मला. ३:६) उहाँले चाँडै आफ्नो छोरामार्फत असङ्‌ख्य मानिसहरूलाई मृत्युको कैदबाट मुक्‍त गर्नुहुनेछ। (युह. ५:२८, २९) आज हामीले परीक्षाको सामना गर्नुपर्दा यस्ता प्रतिज्ञाहरूबाट धेरै बल पाउन सक्छौँ।

“तिनलाई देखेर उनीहरू छक्क परे” (प्रेषित १२:१२-१७)

१३-१५. (क) पत्रुस मरियमको घरमा आइपुग्दा त्यहाँ भेला भएका मण्डलीका सदस्यहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) प्रेषितको पुस्तकमा अब कसबारे चर्चा गरिनेछ? (ग) पत्रुसले भाइबहिनीहरूमा कस्तो प्रभाव पारिरहे?

१३ अब कता जाऊँ भनेर सोच्दै पत्रुस अँध्यारो सडकमा उभिए। मरियम नाम गरेकी ख्रिष्टियन बहिनीको घर नजिकै पर्थ्यो। त्यसैले तिनले त्यहीँ जाने निर्णय गरे। मरियम विधवा तर आर्थिक रूपमा सम्पन्‍न थिइन्‌। मरियमको घर पूरै मण्डली अटाउन सक्ने ठूलो थियो। उनको छोरा मर्कुस नाम गरेका युहन्‍ना थिए। प्रेषितको पुस्तकमा मर्कुसबारे पहिलो पटक उल्लेख गरिएको विवरण यही हो। मर्कुस पछि पत्रुसको छोरासरह भए। (१ पत्रु. ५:१३) रात निकै छिप्पिसकेको भए तापनि मण्डलीका थुप्रै भाइबहिनी मरियमको घरमा तनमनले प्रार्थना गर्न भेला भएका थिए। पक्कै पनि तिनीहरू पत्रुस झ्यालखानाबाट छुटून्‌ भनेर प्रार्थना गरिरहेका थिए। तर तिनीहरूले यहोवाबाट यस्तो तरिकामा प्रार्थनाको जवाफ पाउने आशा भने गरेका थिएनन्‌।

१४ पत्रुस त्यहाँ पुगे र घरको चोकतिरको ढोका ढकढक्याए। रोदा (“गुलाफ” अर्थ भएको प्रचलित ग्रीक नाम) नाम गरेकी नोकर्नी ढोका खोल्न आइन्‌। उनलाई विश्‍वासै लाग्दैन! बाहिरबाट आएको आवाज पत्रुसको थियो! ढोकै नखोली ती केटी खुसीले उफ्रँदै फर्किन्‌। पत्रुस बाहिर ढोकामा उभिरहेका छन्‌ भनेर त्यहाँ भएका भाइबहिनीलाई उनले बताउन थालिन्‌। तर कसले पत्याउनु! तिनीहरूले तिमी बौलायौ कि क्या हो पो भन्‍न थाले। उनी सजिलै हार मान्‍नेवाला थिइनन्‌। पत्रुस साँच्चै आएका हुन्‌ भनेर उनले जिद्दी गरिरहिन्‌। मण्डलीका कोही-कोहीले उनले पत्रुसको प्रतिनिधित्व गर्ने स्वर्गदूतको आवाज सुनेको हुनुपर्छ भने। (प्रेषि. १२:१२-१५) तल पत्रुस भने अझै ढोका ढकढक्याइरहेका थिए। अन्ततः तिनीहरू ढोका खोल्न गए।

१५ जब तिनीहरूले ढोका खोले, “तब [पत्रुसलाई] देखेर . . . छक्क परे”! (प्रेषि. १२:१६) खुसीले हल्लाखल्ला गर्न थाल्दा पत्रुसले तिनीहरूलाई शान्त पार्दै आफ्नो कुरा सविस्तार सुनाए। यो खबर चेला याकुब अनि अरू भाइहरूसम्म पुऱ्‍याइदिनू भनेर पत्रुसले निर्देशन दिए र हेरोदका सिपाहीहरूले भेट्टाउनुअघि नै तिनी त्यहाँबाट निस्के। अरू कुनै सुरक्षित ठाउँमा विश्‍वासी भई सेवा गरिरहन तिनी त्यहाँबाट हिँडे। अध्याय १५ मा उल्लेख गरिएको खतनाको विवाद सुल्झाउन तिनले दिएको योगदानबाहेक प्रेषितको पुस्तकमा पत्रुसबारे अरू कुरा उल्लेख गरिएको पाइँदैन। यसपछि प्रेषितको पुस्तकमा प्रेषित पावलको काम र यात्रामा ध्यान केन्द्रित गरिएको छ। तर पत्रुस जहाँ गए पनि तिनले आफ्ना भाइबहिनीहरूको विश्‍वासलाई बलियो बनाए भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। तिनी मरियमको घरबाट हिँड्‌दा त्यहाँ भेला भएका भाइबहिनीहरू पक्कै खुसी थिए।

१६. हामीले भविष्यमा थुप्रै खुसीका क्षण अनुभव गर्न पाउनेछौँ भनेर किन ढुक्क हुन सक्छौँ?

१६ कहिलेकाहीँ यहोवाले आफ्ना सेवकहरूलाई तिनीहरूले आशा गरेको भन्दा धेरै नै दिनुहुन्छ। यसले गर्दा तिनीहरूको खुसीको सीमा नै रहँदैन। त्यस रात पत्रुसका भाइबहिनीहरूले त्यस्तै अनुभव गरेको हुनुपर्छ। यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुभएको महसुस गर्दा हामी पनि त्यस्तै अनुभव गर्छौँ। (हितो. १०:२२) भविष्यमा यहोवाका सबै प्रतिज्ञाहरू पूरा भएको हामी देख्नेछौँ। हामीले कल्पना गरेको भन्दा कता हो कता व्यापक रूपमा ती पूरा हुनेछन्‌। विश्‍वासी भइरह्‍यौँ भने भविष्यमा हामीले थुप्रै खुसीका क्षण अनुभव गर्न पाउनेछौँ।

“यहोवा परमेश्‍वरका स्वर्गदूतले . . . उनलाई प्रहार गरे” (प्रेषित १२:१८-२५)

१७, १८. मानिसहरूले हेरोदको प्रशंसा गर्नुको कारण के थियो?

१७ पत्रुसले जेलबाट छुटकारा पाएको घटना सुन्दा हेरोद पनि अचम्ममा परे र असाध्यै रिसाए। हेरोदले तिनलाई धुइँधुइँती खोज्न लगाए, पहरेदारहरूलाई केरकार गरे अनि तिनीहरूलाई “सजाय दिन” हुकुम गरे। त्यो सजाय मृत्युदण्ड हुनुपर्छ। (प्रेषि. १२:१९) हो, हेरोद अग्रिपाको मनमा दया-माया नै थिएन। के त्यस्तो निर्दयी मानिसले सजाय पाए त?

१८ पत्रुसलाई मृत्युदण्ड दिन नसकेकोले आफ्नो बेइज्जत भएको जस्तो अग्रिपालाई लागेको हुन सक्छ। तर चाँडै तिनले आफ्नो इज्जत बढाउने मौका पाए। तिनका केही शत्रुहरूले तिनीसित शान्ति-प्रस्ताव अघि सारे र एउटा ठूलो समारोह आयोजना गरियो। हेरोद त्यहाँ ठूलो जमातलाई सम्बोधन गर्न पक्कै उत्सुक थिए। उक्‍त समारोहमा ‘हेरोदले शाही पोसाक पहिरिए’ भनी लुकाले बताए। यहुदी इतिहासकार जोसेफसअनुसार हेरोदको पोसाक चाँदीको थियो अनि किरण पर्दा तिनी महिमाले चम्केजस्तै देखिन्थे। त्यसपछि ती घमन्डी शासक आफ्नो भाषण सुरु गर्छन्‌। तिनलाई खुसी पार्न खोज्ने भीड यसो भन्दै कराउन थाल्छ: “यो त मानिसको होइन, देवताको बोली हो!”—प्रेषि. १२:२०-२२.

१९, २०. (क) हेरोदलाई यहोवाले किन सजाय दिनुभयो? (ख) हेरोद अग्रिपाको विवरणबाट हामी कस्तो सान्त्वना पाउन सक्छौँ?

१९ त्यस्तो महिमाको हकदार परमेश्‍वर मात्र हुनुहुन्थ्यो। यी सब घटना उहाँको नजरबाट लुकेको थिएन! हेरोदसित आउनै लागेको विपत्तिबाट बच्ने मौका थियो। तिनले भीडलाई हप्काउन सक्थे अथवा कमसेकम तिनीहरूसित सहमत नभएको कुरा देखाउन सक्थे। तर तिनले “नाशको अघि घमन्ड . . . आउँछ” भन्‍ने हितोपदेशलाई चरितार्थ गरे। (हितो. १६:१८) “परमेश्‍वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे” अनि ती घमन्डी र स्वार्थी शासकले घिनलाग्दो तरिकामा मृत्यु भोग्नुपऱ्‍यो। “स्याउँस्याउँती किरा परेर उनी मरे।” (प्रेषि. १२:२३) इतिहासकार जोसेफसअनुसार हेरोदलाई अचानक प्रहार गरिएको थियो र भीडको प्रशंसा स्विकारेकोले आफूले मृत्यु भोग्नुपरेको हो भनेर राजा आफैले स्विकारे। घिटीघिटी गर्दै हेरोद पाँच दिनसम्म बाँचे र अन्तमा मरे भनेर जोसेफसले लेखेका छन्‌। b

२० कहिलेकाहीँ दुष्ट मानिसहरूले जत्ति नै नराम्रो काम गरे तापनि तिनीहरूले दण्ड नपाएको जस्तो देखिन्छ। तर यो देखेर हामी छक्क पर्नुपर्दैन किनभने “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ युह. ५:१९) तैपनि दुष्ट मानिसहरूले सजाय नपाएको देख्दा परमेश्‍वरका विश्‍वासी जनहरू कहिलेकाहीँ निराश हुन्छन्‌। त्यसैले हेरोदजस्ता व्यक्‍तिहरूको विवरणबाट हामी सान्त्वना पाउन सक्छौँ। अर्को शब्दमा भन्‍ने हो भने यहोवाले त्यस्ता दुष्ट व्यक्‍तिहरूलाई सजाय दिएर आफू न्यायप्रेमी परमेश्‍वर हुँ भनेर देखाउनुभएको छ। (भज. ३३:५) ढिलो होस्‌ वा चाँडो, उहाँको न्याय जताततै छाउनेछ।

२१. प्रेषित अध्याय १२ बाट हामीले सिक्न सक्ने मुख्य पाठ के हो? यो आज हाम्रो लागि किन सान्त्वनादायी छ?

२१ अझै प्रोत्साहनजनक कुरा बताउँदै यो विवरण यसरी टुङ्‌ग्याइएको छ: “यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो।” (प्रेषि. १२:२४) साक्षीकार्य फैलँदै गएको रिपोर्टले अहिले पनि यहोवा हामीमाथि आशिष्‌ बर्साउँदै हुनुहुन्छ भनेर हामीलाई सम्झाउँछ। कुरा स्पष्ट छ, प्रेषित अध्याय १२ को विवरणको मुख्य विषय एक प्रेषितको मृत्यु र अर्कोको उद्धार मात्र त होइन। बरु यहोवाबारे अनि ख्रिष्टियन मण्डली तहसनहस गर्न र साक्षीकार्यमा जोस घटाउन सैतानले गरेको प्रयासलाई उहाँले कसरी विफल तुल्याउनुभयो भन्‍नेबारे हो। जसरी त्यतिबेलाका आक्रमणहरू विफल भए, त्यसैगरि आज सैतानले लगाउने सबै युक्‍ति पनि विफल हुन्छन्‌। (यसै. ५४:१७) अर्कोतर्फ यहोवा र येसु ख्रिष्टको पक्षमा खडा हुनेहरू कहिल्यै विफल नहुने काममा सहभागी हुन्छन्‌। के यो प्रोत्साहनजनक कुरा होइन र? हो, हामीले “यहोवा परमेश्‍वरको वचन” फैलाउने काममा मदत गर्ने विशेष सुअवसर पाएका छौँ!

a पृष्ठ ७९ मा भएको “ राजा हेरोद अग्रिपा प्रथम” शीर्षकको पेटी हेर्नुहोस्‌।

b जोसेफस र लुकाले बताएका लक्षणहरू विचार गर्दा हेरोदको आन्द्रा जुकैजुकाले भरिएकोले तिनको मृत्यु भएको हुन सक्छ भनेर एक जना डाक्टर र लेखकले बताएका छन्‌। पेटमा जुका परेको मान्छेले बान्ता गर्दा कहिलेकाहीँ जुका मुखबाट निस्कन सक्छ वा मर्ने बेलामा शरीरबाट स्याउँस्याउँती जुका निस्कन सक्छ। एउटा किताबले यसो भनेको छ: “लुका डाक्टर भएकोले तिनले गरेको वर्णनबाट [हेरोदको] मृत्यु कत्ति बीभत्स थियो भन्‍ने कुरा स्पष्ट हुन्छ।”