अध्याय १७
तिनले “धर्मशास्त्रबाट तर्क गरे”
प्रभावकारी तरिकामा सिकाउने आधार; बिरियालीहरूको राम्रो उदाहरण
प्रेषित १७:१-१५ मा आधारित
१, २. फिलिप्पीबाट को-को थिस्सलोनिकातिर जाँदै छन्? तिनीहरूको मनमा कस्तो कुरा खेलिरहेको हुन सक्छ?
रोमका दक्ष इन्जिनियरहरूले अप्ठ्यारा छिचोल्दै बनाएको यस सडकमा मानिसहरूको धेरै आउजाउ हुन्छ। यो सडक हुँदै यात्रा गर्दा थरीथरीका आवाज सुनिन्छन्। जस्तै: गधाको घिँचीघिँची, ठूला ढुङ्गाहरू छापिएको सडकमा रथको घत्रक्क-घत्रक्क अनि सिपाही, व्यापारी र कारिगरजस्ता अनेक यात्रीहरूको हल्लाखल्ला। यही सडक हुँदै तीन साथीहरू—पावल, सिलास र तिमोथि फिलिप्पीदेखि थिस्सलोनिकासम्म १३० किलोमिटर भन्दा लामो यात्रा गर्दै छन्। यो यात्रा पटक्कै सजिलो छैन। पावल र सिलासको लागि त झनै गाह्रो। फिलिप्पीमा कुटाइ खाएका पावल र सिलासका घाउहरू आलै छन्।—प्रेषि. १६:२२, २३.
२ आफूले गर्नुपर्ने लामो यात्रालाई नसम्झिन यी पुरुषहरूले के गरे? कुरा गर्दै हिँड्दा समय काटेको पत्तै हुँदैन। फिलिप्पीका जेलर र तिनको परिवार ख्रिष्टको चेला बनेको त्यो रोमाञ्चक अनुभव तिनीहरूको मनमा ताजै छ। त्यस अनुभवको कारण परमेश्वरको वचन सुनाइरहन यी यात्रीहरू झनै दृढ भएका छन्। तैपनि समुद्री तटमा रहेको थिस्सलोनिका सहर नजिकै पुग्दा त्यहाँका यहुदीहरूले कस्तो व्यवहार गर्लान् भन्ने खुलदुली तिनीहरूलाई लागेको हुन सक्छ। फिलिप्पीमा जस्तै मानिसहरू जाइलाग्ने हुन् कि? फेरि पनि पिटाइ खानुपर्ने हो कि?
३. सुसमाचार सुनाउन पावलले साहस बटुलेको कुरा आज हाम्रो लागि पनि कसरी मदतकारी हुन सक्छ?
३ पछि पावलले थिस्सलोनिकाका ख्रिष्टियनहरूलाई पत्र लेख्दा आफ्नो भावना यसरी पोखे: “फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि परमेश्वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।” (१ थिस्स. २:२) यसबाट विशेषगरि फिलिप्पीमा भएको घटनापछि थिस्सलोनिकामा जाने कि नजाने भन्ने कुरामा पावल दुबिधामा थिए भनेर हामी बुझ्न सक्छौँ। के तपाईँ पावलको भावना बुझ्न सक्नुहुन्छ? के तपाईँलाई पनि कहिलेकाहीँ सुसमाचार सुनाउन ठूलो सङ्घर्ष गर्नुपरेको जस्तो लाग्छ? आफूलाई चाहिने साहस बटुल्न र बल प्राप्त गर्न पावल यहोवामाथि भर परे। पावलको उदाहरण अध्ययन गर्दा तपाईँले पनि त्यसै गर्न मदत पाउनुहुनेछ।—१ कोरि. ४:१६.
प्रेषित १७:१-३)
तिनले “धर्मशास्त्रबाट तर्क गरे” (४. पावल थिस्सलोनिका सहरमा तीन हप्ताभन्दा धेरै बसे भनेर हामी किन भन्न सक्छौँ?
४ थिस्सलोनिकामा हुँदा पावलले तीन वटा विश्रामदिनमा सुसमाचार सुनाए भनेर विवरणमा बताइएको छ। के यसको मतलब तिनी त्यस सहरमा तीन हप्ता मात्र बसे? त्यसो नहुन सक्छ। त्यस सहरमा पुगेपछि पावल पहिलो चोटि सभाघरमा कहिले गए, हामीलाई थाह छैन। यसबाहेक थिस्सलोनिकामा हुँदा तिनी र तिनका साथीहरूले खर्च धान्न काम गरेको कुरा पावलले आफ्ना पत्रहरूमा उल्लेख गरेका छन्। (१ थिस्स. २:९; २ थिस्स. ३:७, ८) साथै त्यहाँ बस्दा पावललाई फिलिप्पीका भाइबहिनीहरूले दुई-दुई चोटि सहयोग पठाएका थिए। (फिलि. ४:१६) तसर्थ तिनी थिस्सलोनिका सहरमा तीन हप्ताभन्दा धेरै समय बसेका हुन सक्छन्।
५. पावलले मानिसहरूको मन छुन कस्तो प्रयास गरे?
५ सुसमाचार सुनाउन साहस बटुलिसकेपछि पावलले सभाघरमा भेला भएका मानिसहरूलाई सम्बोधन गरे। आफ्नो बानीअनुसार तिनले “धर्मशास्त्रबाट तर्क गरे। अनि ख्रिष्टले दुःख भोग्नु र मृत्युबाट ब्युँतनु आवश्यक थियो भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण दिएर यसो भने: ‘येसु नै ख्रिष्ट हुनुहुन्छ, जसबारे म तपाईँहरूलाई प्रचार गर्दै छु।’” (प्रेषि. १७:२, ३) याद गर्नुहोस्, पावलले मानिसहरूलाई प्रभाव पार्न मात्र भाषण दिइरहेका थिएनन् बरु तिनले तिनीहरूको मन छुने प्रयास गरे। त्यहाँ उपस्थित मानिसहरूलाई धर्मशास्त्रबारे ज्ञान छ र तिनीहरूले धर्मशास्त्रको आदर गर्छन् भन्ने कुरा पावललाई थाह थियो। तर तिनीहरूले धर्मशास्त्र पूरै बुझेका भने थिएनन्। त्यसैले नासरतका येसु नै प्रतिज्ञा गरिएको मसीह अर्थात् ख्रिष्ट हुनुहुन्छ भनेर पावलले धर्मशास्त्रबाट तर्क गरे, बुझाए र प्रमाणित गरे।
६. येसुले कसरी धर्मशास्त्रबाट तर्क गर्नुभयो र नतिजा कस्तो भयो?
६ पावलले येसुको नमुना पछ्याए। उहाँको शिक्षाको मुख्य आधार धर्मशास्त्र थियो। उदाहरणको लागि, मानिसको छोराले दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर येसुले आफ्नो साक्षीकार्यको दौडान चेलाहरूलाई धर्मशास्त्रबाट बताउनुभयो। (मत्ति १६:२१) फेरि जीवित भएपछि उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँले झूट बोलिरहनुभएको थिएन भनेर देखाउन यो कुरा मात्रै पनि काफी थियो। तैपनि येसुले तिनीहरूको लागि अझ धेरै गर्नुभयो। उहाँले आफ्ना केही चेलालाई भन्नुभएको कुराबारे यस्तो लेखिएको छ: “मोसा र सारा भविष्यवक्ताको लेखोटदेखि सुरु गरेर सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो।” नतिजा कस्तो भयो? रमाउँदै ती चेलाहरूले यसो भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय बलिरहेको थिएन र?”—लुका २४:१३, २७, ३२.
७. हामीले सिकाउने कुराहरू किन धर्मशास्त्रमा आधारित हुनै पर्छ?
७ परमेश्वरको वचन प्रबल छ। (हिब्रू ४:१२) येसु, पावल र अरू प्रेषितहरूले जस्तै आज ख्रिष्टियनहरूले सिकाउने कुराहरू परमेश्वरको वचनमा आधारित छन्। हामी पनि मानिसहरूसित तर्क गर्छौँ, तिनीहरूलाई धर्मशास्त्रको अर्थ बुझाउँछौँ र बाइबलबाटै सुनाएर हामीले सिकाएको कुराको प्रमाण दिन्छौँ। आखिर हामीले सुनाउने सन्देश हाम्रो आफ्नै होइन। बाइबलबाटै देखाउने गर्छौँ भने हामीले सुनाउने कुरा हाम्रो आफ्नै विचार होइन, परमेश्वरको शिक्षा हो भनेर मानिसहरूलाई बुझ्न मदत गरिरहेका हुन्छौँ। हामीले सुनाउने सन्देश पूर्णतया परमेश्वरको वचनमा आधारित छ भनेर पनि हामीले कहिल्यै बिर्सनु हुँदैन। परमेश्वरको वचन पूर्णतया भरोसायोग्य छ। यो कुरा थाह पाउँदा के तपाईँ पनि पावलले जस्तै साहसी भई सुसमाचार सुनाउन बल पाउनुहुन्न र?
“केही मानिसहरू येसुको अनुयायी बने” (प्रेषित १७:४-९)
८-१०. (क) थिस्सलोनिकाका मानिसहरूले सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाए? (ख) केही यहुदीहरूले किन पावलको डाह गरे? (ग) यहुदी विरोधीहरूले के गरे?
८ येसुका यी शब्दहरू कत्ति सही छन् भनेर पावलले अनुभव गरिसकेका थिए: “दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन् भने तिमीहरूको पनि खेदो गर्नेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिमीहरूको पनि पालन गर्नेछन्।” (युह. १५:२०) थिस्सलोनिकामा पावलले यस्तै फरक-फरक किसिमका मानिसहरू भेटेका थिए। कोही-कोही वचन पालन गर्न तत्पर थिए भने अरू कोहीले चाहिँ वचन सुन्न इन्कार गरे। राम्रो प्रतिक्रिया देखाएकाहरूको विषयमा लुका यस्तो लेख्छन्: “केही मानिसहरू [यहुदीहरू] येसुको अनुयायी बने अनि पावल र सिलाससित सङ्गत गर्न थाले। साथै परमेश्वरको उपासना गर्ने ग्रीकहरूको ठूलो जमात अनि थुप्रै गण्यमान्य स्त्रीले पनि तिनीहरूसित सङ्गत गरे।” (प्रेषि. १७:४) धर्मशास्त्रका कुराहरू राम्रोसँग बुझ्न मदत पाएकोमा यी नयाँ चेलाहरू पक्कै पनि असाध्यै खुसी भए।
९ कसै-कसैले पावलका कुराको कदर गरे तापनि अरूले भने रिसले दाह्रा किटे। “ग्रीकहरूको ठूलो जमात”-को मन जित्न पावल सफल भएको देखेर थिस्सलोनिकामा भएका केही यहुदीहरू डाहले भरिए। ती यहुदीहरू अरूलाई धर्म परिवर्तन गराएर यहुदी बनाउने धुनमा थिए। त्यसैले तिनीहरूले अन्यजातिका ग्रीकहरूलाई हिब्रू धर्मशास्त्रका शिक्षाहरू सिकाएका थिए। तिनीहरू ती ग्रीकहरूलाई आफ्नै सम्पत्ति ठान्थे। तर एकाएक पावलले ती ग्रीकहरूलाई सभाघरबाट चोरेर लगेजस्तै देखियो! त्यसैले यहुदीहरू रिसले चूर भए।
१० यसपछिको घटनाबारे लुका हामीलाई यसो भन्छन्: “यो देखेर यहुदीहरू डाहले भरिए र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्गाको सिकार बनाउन चाहन्थे। तिनीहरूलाई फेला पार्न नसकेपछि उनीहरूले जेसन र केही भाइलाई घिसार्दै नगर प्रशासकहरूकहाँ लगे अनि यसो भन्दै कराए: ‘पूरै पृथ्वीलाई उलटपुलट पार्ने मानिसहरू यहाँ पनि आएका छन् अनि जेसनले तिनीहरूलाई आफ्नो पाहुना बनाएर राखेको छ। येसु भन्ने अर्कै राजा छन् भनेर यिनीहरू सबैले सिजरको आदेशको विरोध गर्छन्।’” (प्रेषि. १७:५-७) पावल र तिनका साथीहरूलाई यस हुलदङ्गाले कसरी असर गर्ने थियो?
११. पावल र तिनका सङ्गी उपासकहरूमाथि कस्तो अभियोग लगाइयो? त्यस्तो अभियोग लगाउँदा विरोधीहरूले सिजरको कुन आदेश सम्झेको हुनुपर्छ? (फुटनोट हेर्नुहोस्।)
११ हुलदङ्गा खतरनाक हुन्छ, उर्लँदो भेलझैँ हिंस्रक र अनियन्त्रित हुन्छ। पावल र सिलासलाई सिकार बनाउन यहुदीहरूले हुलदङ्गालाई हतियारको रूपमा चलाए। ती यहुदीहरूले “सहरभरि तहल्का मच्चाए” अनि नगर प्रशासकहरूलाई पावल र सिलासमाथि लगाइएको अभियोग गम्भीर छ भनेर मनाउन खोजे। तिनीहरूले लगाएको पहिलो अभियोग थियो: पावल र तिनका सङ्गी उपासकहरूले “पूरै पृथ्वीलाई उलटपुलट” पारेका छन्। तर पावल र तिनका साथीहरूले थिस्सलोनिकामा त्यस्तो तहल्का मच्चाउने कुनै काम गरेका थिएनन्! दोस्रो अभियोग त झनै गम्भीर थियो। ती मिसनरीहरूले अर्कै राजा अर्थात् येसुको विषयमा सुनाएर सिजरको आदेश उल्लङ्घन गर्दै छन् भनेर ती यहुदीहरूले तर्क गरे। a
१२. थिस्सलोनिकाका ख्रिष्टियनहरूमाथि लगाइएको अभियोगको नतिजा गम्भीर हुन सक्थ्यो भनेर कुन कुराले देखाउँछ?
१२ नबिर्सनुहोस्, धर्मगुरुहरूले पनि येसुलाई यस्तै आरोप लगाएका थिए। पिलातसलाई तिनीहरूले यसो भनेका थिए: “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको . . . अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको हामीले फेला पाऱ्यौँ।” (लुका २३:२) येसुलाई रिहा गरिँदिदा त्यत्रो राजद्रोह हुँदा पनि पिलातस टुलुटुलु हेरेर बस्यो भनेर सिजरले सोच्लान् भन्ने डर पिलातसमा थियो। त्यसैले उनले येसुलाई झुन्ड्याएर मार्न आदेश दिए। त्यसैगरि थिस्सलोनिकाका ख्रिष्टियनहरूमाथि लगाइएको अभियोगको नतिजा पनि गम्भीर हुन सक्थ्यो। एउटा पुस्तक यसो भन्छ: “यस्तो अभियोगको कारण तिनीहरूले भोग्न सक्ने सजाय कस्तो होला भनेर अनुमान लगाइरहनै पर्दैनथ्यो। किनभने ‘सिजरविरुद्धको अभियोगको नतिजा अक्सर मृत्युदण्ड नै हुन्थ्यो।’” घृणाले भरिएको यस्तो आक्रमण के सफल हुने थियो?
१३, १४. (क) भीडले गरेको आक्रमण किन सफल हुन सकेन? (ख) पावलले कसरी ख्रिष्टले भन्नुभएझैँ सावधानी अपनाए? हामी कसरी तिनको उदाहरण अनुकरण गर्न सक्छौँ?
१३ हुलदङ्गाले थिस्सलोनिकामा साक्षीकार्यलाई रोक्न सकेन। किन? एउटा कारण त, तिनीहरूले पावल र सिलासलाई फेला पार्न सकेनन्। साथै नगर प्रशासकहरू तिनीहरूमाथि लगाइएका अभियोगहरू सत्य नै हो भनेर पक्का हुन सकेनन्। त्यसैले उनीहरूले जेसन र त्यहाँ ल्याइएका अरू भाइलाई “धरौटी”-मा रिहा गरिदिए। (प्रेषि. १७:८, ९) “सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ” भन्ने येसुको सल्लाह पछ्याउँदा पावल खतरनाक अवस्थाबाट जोगिए। यसो गर्दा तिनी अरू नै ठाउँमा गएर साक्षी दिन सक्थे। (मत्ति १०:१६) हो, पावलले साहस देखाए तर यसको मतलब तिनी अरूसित जोरी खोज्दै बसे भन्ने त होइन। आज ख्रिष्टियनहरू कसरी तिनको उदाहरण पछ्याउँछन्?
१४ हाम्रो समयमा पनि चर्चका पादरीहरूले यहोवाका साक्षीहरूविरुद्ध हुलदङ्गा गर्न मानिसहरूलाई उक्साएका छन्। विद्रोह वा देशद्रोहको आरोप लगाएर तिनीहरूले शासकहरूलाई यहोवाका साक्षीहरूविरुद्ध कदम चाल्न उक्साएका छन्। प्रथम शताब्दीमा जस्तै आज पनि खेदो गर्नेहरू डाहको कारण हामीविरुद्ध उत्रन्छन्। तर साँचो ख्रिष्टियनहरू जानाजानी खतरा मोल्दैनन्। हामी सकेसम्म त्यस्ता रिसाहा अनि अव्यावहारिक मानिसहरूसित झमेलामा पर्दैनौँ। बरु त्यस्तो ठाउँ छोडेर अन्तै साक्षीकार्य गर्छौँ अनि सम्भव भएमा परिस्थिति साम्य भएपछि फेरि ती ठाउँमा जान्छौँ।
तिनीहरू धेरै “भलादमी” थिए (प्रेषित १७:१०-१५)
१५. बिरियालीहरूले सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाए?
१५ पावल र सिलासको सुरक्षाको लागि तिनीहरूलाई लगभग ६५ किलोमिटर टाढा बिरिया पठाइयो। त्यहाँ पुगेपछि पावल सभाघरमा गए र त्यहाँ भेला भएकाहरूलाई सुसमाचार सुनाए। मानिसहरूले ध्यान दिएर सुनेको देख्दा पावल कत्ति खुसी भए होलान्! लुकाले लेखेअनुसार बिरियाका ती यहुदीहरू “थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू असाध्यै उत्सुक भएर परमेश्वरको वचन ग्रहण गर्थे र ती सत्य हुन् कि होइनन् भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।” (प्रेषि. १७:१०, ११) के यी शब्दहरूले सत्य स्विकार्ने थिस्सलोनिकाका मानिसहरू भलादमी थिएनन् भनेर बुझाउँछ? त्यसो त पटक्कै होइन। पछि पावलले थिस्सलोनिकीहरूलाई यस्तो लेखे: “हामी निरन्तर परमेश्वरलाई धन्यवाद पनि चढाइरहन्छौँ किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ।” (१ थिस्स. २:१३) तर बिरियाका यहुदीहरू त्यस्तो भलादमी हुनुको कारण के थियो?
१६. बिरियालीहरूलाई “भलादमी” भन्नु किन उपयुक्त थियो?
१६ नयाँ कुरा सुनिरहेको भए तापनि बिरियालीहरूले शङ्का गरेनन् वा बढ्तै आलोचनात्मक भएनन्। तिनीहरू ‘कागको पछि दगुर्ने’ मान्छेजस्तो पनि भएनन्। तिनीहरू पावलका कुरा ध्यान दिएर सुन्थे र ती कुरा सत्य हुन् कि होइनन् भनेर पक्का गर्न धर्मशास्त्रमा जाँच्थे। साथै तिनीहरू विश्रामदिनमा मात्र होइन तर दिनहुँ लगनशील भई धर्मशास्त्र अध्ययन गर्थे। यो नयाँ शिक्षाबारे धर्मशास्त्रले के भनेको छ, त्यो जान्न तिनीहरू असाध्यै “उत्सुक भएर” खोजी गर्थे। साथै तिनीहरूले आवश्यक छाँटकाँट गरेर आफूलाई नम्र साबित गरे, जसले गर्दा “तिनीहरूमध्ये धेरै जना येसुका अनुयायी बने।” (प्रेषि. १७:१२) त्यसैले लुकाले तिनीहरूलाई “भलादमी” भन्नु एकदम उपयुक्त थियो!
१७. (क) बिरियालीहरूको उदाहरण किन प्रशंसनीय छ? (ख) ख्रिष्टको अनुयायी भइसकेपछि पनि हामीले तिनीहरूको उदाहरण अनुकरण गरिरहनुपर्छ, किन?
१७ सुसमाचारप्रति आफूहरूले देखाएको प्रतिक्रिया परमेश्वरको वचनमा लिपिबद्ध गरिनेछ र त्यो पछिसम्म पनि एउटा जल्दोबल्दो उदाहरण बन्नेछ भनेर बिरियालीहरूलाई पत्तै थिएन। बिरियालीहरूले पावलले आशा गरेजस्तै अनि यहोवा परमेश्वरले चाहनुभएजस्तै काम गरे। त्यसैगरि हामी पनि मानिसहरूलाई होसियारीसाथ बाइबल जाँच्न प्रोत्साहन दिन्छौँ ताकि तिनीहरूको विश्वासले परमेश्वरको वचनमा गहिरो जरा गाडोस्। तर के ख्रिष्टको अनुयायी भइसकेपछि चाहिँ हामी भलादमी हुनुपर्दैन? त्यस्तो त होइन। बरु यहोवाबाट सिक्न उत्सुक भइरहनु र उहाँबाट सिकेको शिक्षालाई लागू गरिरहनु झनै महत्त्वपूर्ण छ। त्यसो गरेको खण्डमा यहोवाले चाहनुभएको आकारमा ढालिन र उहाँको इच्छाअनुसार प्रशिक्षण पाउन आफूलाई तयार बनाइरहेका हुन्छौँ। (यसै. ६४:८) यसरी हामी स्वर्गमा हुनुहुने हाम्रो बुबालाई पूर्णतया खुसी तुल्याउन र उहाँको सेवामा प्रयोग भइरहन सक्नेछौँ।
१८, १९. (क) पावलले किन बिरिया छोड्नुपऱ्यो? तिनले कसरी हामीले अनुकरण गर्न लायकको लगनशीलता देखाए? (ख) अब पावलले कसलाई अनि कहाँ सुसमाचार सुनाउने थिए?
१८ पावल बिरियामा धेरै बसेनन्। हामी यस्तो लेखिएको पाउँछौँ: “पावलले बिरियामा पनि परमेश्वरको वचन प्रचार गर्दै छन् भनी थाह पाएपछि थिस्सलोनिकामा बस्ने यहुदीहरू मानिसहरूलाई भड्काएर हुलदङ्गा मच्चाउन त्यहाँ आइपुगे। यो थाह पाउनेबित्तिकै भाइहरूले पावललाई समुद्रसम्म पुऱ्याए तर सिलास र तिमोथि भने बिरियामै बसे। तथापि पावलसँगै गएकाहरूले तिनलाई एथेन्ससम्मै पुऱ्याए। तब सिलास र तिमोथिलाई सकेसम्म छिट्टै फर्कनू भनिदेओ भन्ने पावलको खबर लिएर उनीहरू त्यहाँबाट फर्के।” (प्रेषि. १७:१३-१५) सुसमाचारका शत्रुहरूले खेद्न छोडेनन्। पावललाई थिस्सलोनिकाबाट धपाएर मात्र तिनीहरूको चित्त बुझेन। तिनीहरू बिरियामा पनि त्यस्तै समस्या खडा गर्न आइपुगे। तर सबै व्यर्थ भयो। पावललाई आफूले साक्षी दिनुपर्ने इलाका ठूलो छ भनेर थाह भएकोले तिनी अरू नै ठाउँमा सुसमाचार सुनाउन गइहाले। साक्षीकार्यमा भाँजो हाल्ने मानिसहरूको प्रयासलाई सफल हुन नदिन हामी पनि यस्तै सङ्कल्प गरौँ!
१९ थिस्सलोनिका र बिरियामा राम्ररी साक्षी दिइसकेपछि पावलले पक्कै पनि साहसी भई साक्षी दिनु र धर्मशास्त्रबाट तर्क गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर सिक्न सके। हामीले पनि सिक्यौँ, होइन र? तर अब भने पावलले भिन्नै किसिमका श्रोतालाई भेट्ने थिए—एथेन्सका अन्यजातिहरू। त्यस सहरमा चाहिँ तिनले कस्तो अवस्था सामना गर्नेछन्? यसबारे अर्को अध्यायमा छलफल गर्नेछौँ।
a एक शास्त्रविद्को भनाइअनुसार त्यतिबेला सिजरले एउटा यस्तो आदेश निकालेका थिए, जसअनुसार कुनै “नयाँ राजा वा राज्यबारे” कुरा गर्न निषेध गरिएको थियो, “अझ खासगरि यस्तो राजा, जो तत्कालीन सिजरको ठाउँ लिन वा सिजरलाई दोषी ठहराउन चाहन्थ्यो।” प्रेषित पावलले सुनाएको सन्देशले यस आदेशको उल्लङ्घन गर्दै छ भनेर तिनका शत्रुहरूले झूटो आरोप लगाएका हुन सक्छन्। पृष्ठ १३७ मा भएको “ सिजरहरू र प्रेषितको पुस्तक” शीर्षकको पेटी हेर्नुहोस्।