सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १८

“परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”

“परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”

पावलले दुवै पक्ष सहमत हुने विषय खोजे र त्यहीअनुसार प्रस्तुत गरे

प्रेषित १७:१६-३४ मा आधारित

१-३. (क) एथेन्समा प्रेषित पावललाई किन छटपटी भयो? (ख) पावलको उदाहरण केलाएर हेर्दा हामी के सिक्न सक्छौँ?

 पावललाई धेरै छटपटी भइरहेको छ। तिनी शिक्षादीक्षाको केन्द्र मानिने ग्रीसको एथेन्स सहरमा छन्‌। सुकरात, प्लेटो र अरस्तुजस्ता दार्शनिकहरूले कुनै समय यहीँ पढाउने गर्थे। एथेन्सका मानिसहरू धर्मकर्ममा जोसिला थिए र अनेक देवीदेवता पुज्थे। पावलले मन्दिरमा, सार्वजनिक स्थलमा र सडकहरूमा जताततै मूर्ति नै मूर्ति देखे। साँचो परमेश्‍वर मूर्तिपूजालाई कस्तो ठान्‍नुहुन्छ भनेर पावललाई थाह छ। (प्रस्थ. २०:४, ५) यी विश्‍वासी प्रेषितको पनि यहोवाको जस्तै दृष्टिकोण छ। तिनी मूर्तिपूजालाई घृणा गर्छन्‌।

विशेषगरि बजारको दृश्‍य देखेर पावल छाँगाबाट खसेझैँ हुन्छन्‌। सहरको मूल ढोकाको उत्तर पश्‍चिमतिरको कुनामा तिनले हर्मेस देवका लिङ्‌गका मूर्तिहरू जताततै देख्छन्‌। बजार मूर्ति नै मूर्तिले भरिएको छ। मूर्तिपूजाले यस्तो जरा गाडेको ठाउँमा यी जोसिला प्रेषित अब कसरी सुसमाचार सुनाउँछन्‌? के तिनले आफ्नो भावनालाई काबूमा राख्न सक्लान्‌? के तिनले आफ्ना श्रोताहरू सहमत हुने विषय भेट्टाउलान्‌? के तिनले मानिसहरूलाई साँचो परमेश्‍वर खोज्न र उहाँलाई भेट्टाउन मदत गर्न सक्लान्‌?

प्रेषित १७:२२-३१ मा लेखिएझैँ पावलले एथेन्सका शिक्षित मानिसहरूलाई एउटा भाषण दिए। तर्क गर्दै र बुद्धि चलाउँदै एकदम प्रभावशाली ढङ्‌गमा दिइएको भाषणको यो एउटा राम्रो उदाहरण हो। पावलको उदाहरण केलाएर हेर्दा दुवै पक्ष सहमत हुने विषय हामी कसरी भेट्टाउन सक्छौँ र श्रोताहरूलाई तर्क गर्न कसरी मदत दिन सक्छौँ भनेर धेरै कुरा सिक्न सक्छौँ।

“बजारमा” सिकाउँदै (प्रेषित १७:१६-२१)

४, ५. पावलले एथेन्सको कहाँ सुसमाचार सुनाए? तिनले कस्ता मानिसहरूलाई भेटे?

इस्वी संवत्‌ ५० तिर पावल दोस्रो मिसनरी यात्रामा एथेन्स आएका हुन्‌। a बिरियाबाट फर्किरहेका सिलास र तिमोथिलाई पर्खँदै गर्दा पावल आफ्नो बानीअनुसार ‘सभाघरभित्र पसे र यहुदीहरूसित तर्क गर्न थाले।’ तिनी एथेन्सका अरू मानिस भेटिने ठाउँ अर्थात्‌ “बजारमा” पनि गए। (प्रेषि. १७:१७) झन्डै १२ एकड जमिनमा फैलिएको एथेन्सको बजार एक्रोपोलिसको उत्तर-पश्‍चिममा पर्थ्यो। बजार किनबेच गर्ने ठाउँ मात्र थिएन बरु सहरको सार्वजनिक चोक थियो। एउटा पुस्तकमा लेखिएअनुसार यो ठाउँ “आर्थिक, राजनैतिक र सांस्कृतिक केन्द्रबिन्दु” थियो। एथेन्सका मानिसहरू त्यहाँ जम्मा भएर बौद्धिक कुराकानी गर्न रुचाउँथे।

बजारमा भेटिने मानिससित कुरा गर्न सजिलो थिएन। पावलले भेट्‌ने मानिसहरूमध्ये इपिक्युरसवादी अनि स्तोइकवादी पनि थिए। यी दुई समूह बिलकुलै भिन्‍न विचारधारा राख्थे। b इपिक्युरसवादी जीवन संयोगले आएको हो भन्‍ने विश्‍वास गर्थे। जीवनप्रतिको तिनीहरूको विचारधारालाई छोटकरीमा यसरी बताइएको छ: “परमेश्‍वरसित डराउनै पर्दैन; मृत्यु पीडादायी हुँदैन; भलाइ गर्न सकिन्छ; दुष्टता सहन सकिन्छ।” स्तोइकवादीहरू भने तर्कमा जोड दिन्थे। इपिक्युरसवादी र स्तोइकवादी दुवैले ख्रिष्टका चेलाहरूले सिकाउने फेरि जीवित हुने कुरामा विश्‍वास गर्दैनथे। कुरा प्रस्ट छ, यी दुई समूहको दार्शनिक विचारधारा पावलले बताइरहेको साँचो ख्रिष्टियन धर्मको उत्कृष्ट सत्यसित मेल खाँदैनथ्यो।

६, ७. पावलले सुसमाचार सुनाउँदा ग्रीसका केही बुद्धिजीवीहरूले के भने? हामीले साक्षी दिँदा आज पनि मानिसहरूले के भन्‍न सक्छन्‌?

पावलले सुनाएको शिक्षाप्रति ग्रीसका बुद्धिजीवीहरूले कस्तो प्रतिक्रिया देखाए? कसै-कसैले तिनलाई ‘बकबके’ भने। ग्रीकमा यसको शाब्दिक अर्थ हो, “बिउ टिपुवा।” (प्रेषि. १७:१८) उक्‍त शब्दबारे एक शास्त्रविद्‌ यसो भन्छन्‌: “सुरुमा यो शब्द ठाउँठाउँमा अन्‍न टिप्दै उड्‌ने स-साना चरालाई बुझाउन चलाइन्थ्यो। तर पछि बजारमा बचेखुचेका खानेकुरा र अन्य चिजबिज बटुल्दै हिँड्‌ने मानिसहरूलाई बुझाउन यो शब्द चलाइयो। पछि-पछि चाहिँ आफूले सुनेका विभिन्‍न कुराहरू पूरै नबुझीकन जोडजाड गरेर बताउँदै हिँड्‌ने मानिसलाई बुझाउन यो शब्द चलाउन थालियो।” मतलब ती शिक्षित मानिसहरू पावललाई मूर्ख भन्दै थिए। तर आफूलाई जस्तोसुकै नाम दिइए तापनि पावल डराएनन्‌ भनेर हामी बुझ्नेछौँ।

आज पनि अवस्था त्यस्तै छ। हामी यहोवाका साक्षीहरूलाई मानिसहरूले हाम्रो बाइबलआधारित विश्‍वासको कारण नानाथरीका नाम दिने गर्छन्‌। क्रमविकासको शिक्षामा ठोकुवा गर्ने केही शिक्षकहरू यसो भन्छन्‌, ‘यदि तपाईँ एक जना बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ भने क्रमविकासको शिक्षालाई तपाईँले स्विकार्नै पर्छ।’ यसमा विश्‍वास नगर्नेहरूलाई तिनीहरू मूर्ख भन्छन्‌। जब हामी अरूलाई बाइबलको कुरा बताउँछौँ र प्रकृतिमा पाइने डिजाइनहरूबाट प्रमाण दिन्छौँ, यी बुद्धिजिवी भनाउँदाहरू हाम्रो बदनाम गर्छन्‌ अनि मानिसहरूसामु हामीलाई बकबकेको रूपमा (“बिउ टिपुवा”) पेस गर्छन्‌। तर हामी डराउँदैनौँ। बरु पृथ्वीका सबै जीवजीवात बुद्धिमान्‌ रचनाकार यहोवा परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर धक फुकाएर बताउँछौँ।—प्रका. ४:११.

८. (क) पावलको कुरा सुनेका अरू केही मानिसहरूले के भने? (ख) पावललाई किन अरियोपागस लगिएको हुन सक्छ? (फुटनोट हेर्नुहोस्‌।)

बजारमा पावलको कुरा सुनेका अरू मानिसको प्रतिक्रिया भने फरक थियो। तिनीहरू यस्तो निष्कर्षमा पुगे: “यो त विदेशी देवताहरूको प्रचारक हो कि जस्तो देखिन्छ।” (प्रेषि. १७:१८) के पावल एथेन्सवासीहरूलाई साँच्चै नयाँ देवीदेवताबारे बताउँदै थिए? यो गम्भीर आरोप थियो किनभने धेरै वर्षअघि सुकरातलाई यस्तै आरोप लगाएर मुद्दा हालिएको थियो र मृत्युदण्ड दिइएको थियो। त्यसैले पावललाई अरियोपागस लगिनु र एथेन्सवासीहरूलाई नौलो लागेको शिक्षाबारे पावललाई सोधिनु छक्कलाग्दो कुरा थिएन। c बाइबलको ज्ञानै नभएका मानिसहरूसामु तिनले आफ्नो कुरा कसरी प्रस्तुत गर्ने थिए?

“हे एथेन्सका मानिसहरू हो . . . म देख्दै छु” (प्रेषित १७:२२, २३)

९-११. (क) श्रोता पनि सहमत हुने विषय भेट्टाउन पावलले कस्तो कोसिस गरे? (ख) साक्षीकार्यमा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?

जताततै मूर्तिहरू देखेर पावललाई साह्रै छटपटी भएको थियो भनेर तपाईँलाई यादै होला। तर मूर्तिपूजाको घोर विरोध गरिहाल्नुको सट्टा पावल शान्त रहे। एकदमै कौशलतासाथ तिनले सबै जना सहमत हुने विषयबाट कुरा सुरु गरेर श्रोताहरूको मन जित्ने प्रयास गरे। तिनले यसो भने: “हे एथेन्सका मानिसहरू हो, देवीदेवताहरूप्रति तपाईँहरूको भक्‍ति अरू मानिसको भन्दा धेरै रहेछ भनेर म देख्दै छु।” (प्रेषि. १७:२२) एक अर्थमा तिनी यसो भन्दै थिए, ‘तपाईँहरू एकदम धर्मकर्म गर्ने मानिसहरू हुनुहुँदो रहेछ।’ तिनीहरूको धार्मिक झुकावको प्रशंसा गर्नु बुद्धिमानी थियो। झूटो विश्‍वासको कारण अन्धो भएका कोही-कोहीले तिनको कुरा स्विकार्न पनि सक्छन्‌ भनेर तिनले महसुस गरे। आखिर कुनै बेला आफू पनि ‘अनजानमा त्यसो गर्ने . . . र विश्‍वास नभएको’ मानिस थिएँ भनेर तिनलाई थाह थियो।—१ तिमो. १:१३.

१० त्यसपछि पावलले तिनीहरू धार्मिक छन्‌ भन्‍ने कुराको एउटा प्रमाण पेस गरे। तिनले यस्तो वेदीबारे उल्लेख गरे, जसलाई एथेन्सका मानिसहरूले “अज्ञात देवमा समर्पित” गरेका थिए। एउटा स्रोतअनुसार “उपासना गर्दा कुनै देवीदेवता छुटेमा अनिष्ट हुन्छ भन्‍ने डरले ग्रीक र अरू मानिसले ‘अज्ञात देवमा’ वेदी समर्पण गर्ने गर्थे।” यसबाट के प्रस्ट हुन्छ भने एथेन्सवासीहरूले आफूले नचिनेको कुनै ईश्‍वर छ भनेर स्विकारेका थिए। यसैलाई आधार बनाउँदै पावलले बिस्तारै सुसमाचारतर्फ कुरा मोडे। तिनले भने: “जुन परमेश्‍वरलाई तपाईँहरू अनजानमै पुज्नुहुन्छ, उहाँकै विषयमा म तपाईँहरूलाई बताउँदै छु।” (प्रेषि. १७:२३) पावलको तर्क सरल तर सशक्‍त थियो। कसै-कसैले आरोप लगाएझैँ पावलले नौलो वा विदेशी देवताबारे सुनाइरहेका थिएनन्‌। बरु तिनीहरूले नचिनेको परमेश्‍वर अर्थात्‌ साँचो परमेश्‍वरबारे बताइरहेका थिए।

११ साक्षीकार्यमा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? वरपरको कुरा याद गर्ने गऱ्‍यौँ भने कुनै व्यक्‍ति धार्मिक झुकावका हुन्‌ या होइनन्‌ भनेर केही सङ्‌केत पाउन सक्छौँ। जस्तै: तिनको पहिरनमा धार्मिक आस्था झल्किने कुनै कुरा देखिन्छ कि? अथवा तिनको घरभित्र वा बाहिर भएका कुराहरूबाट त्यस्तो छनक पाइन्छ कि? हामी यसो भन्‍न सक्छौँ: ‘तपाईँ धर्ममा आस्था राख्ने व्यक्‍ति हुनुहुँदो रहेछ। म यस्तै व्यक्‍तिसित कुरा गर्न चाहन्थेँ।’ तिनको धार्मिक झुकावको कदर व्यक्‍त गर्दै प्रशंसा गर्दा दुवै पक्ष सहमत हुने विषय भेट्टाउन सक्छौँ। नबिर्सनुहोस्‌, कसैको धार्मिक विश्‍वासको आधारमा हामीले यस्तो-उस्तो भनिहाल्नु हुँदैन। हाम्रा सङ्‌गी उपासकहरूमध्ये कतिपयले कुनै समय झूटो धर्मलाई तनमनले अँगालेका थिए नि, होइन र?

दुवै पक्ष सहमत हुने विषय भेट्टाउने कोसिस गर्नुहोस्‌

परमेश्‍वर “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” (प्रेषित १७:२४-२८)

१२. पावलले श्रोताअनुसार कसरी आफ्नो प्रस्तुतिमा छाँटकाँट गरे?

१२ पावलले दुवै पक्ष सहमत हुने विषय त भेट्टाए। तर साक्षी दिँदै जाँदा के त्यसलाई कायम राख्न सफल हुने थिए? श्रोतालाई ग्रीक दर्शनबारे राम्ररी थाह छ तर बाइबलबारे भने केही थाह छैन भनेर बुझेकोले पावलले आफ्नो प्रस्तुतिमा केही छाँटकाँट गरे। पहिलो, तिनले बाइबलका शिक्षाहरू प्रस्तुत गर्दा धर्मशास्त्रबाट सीधै उद्धरण गरेनन्‌। दोस्रो, तिनले आफूलाई पनि श्रोताहरूसितै समावेश गरे र समय-समयमा “हामी” भन्‍ने शब्द चलाए। तेस्रो, आफूले बताइरहेको केही कुरा तिनीहरूको लेखोटमा पनि उल्लेख गरिएको छ भनी देखाउन ग्रीक साहित्यबाटै उद्धरण गरे। अब आउनुहोस्‌, हामी पावलको प्रभावशाली भाषण केलाएर हेरौँ। एथेन्सवासीहरूले नचिनेको परमेश्‍वरबारे तिनले कस्ता महत्त्वपूर्ण कुराहरू बताए?

१३. ब्रह्‍माण्डको सुरुवातबारे पावलले के बताए? तिनको भनाइबाट कुन कुरा छर्लङ्‌ग हुन्छ?

१३ परमेश्‍वरले ब्रह्‍माण्ड सृष्टि गर्नुभयो। पावलले यसो भने: “सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ। त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्‍न।” d (प्रेषि. १७:२४) ब्रह्‍माण्ड संयोगले अस्तित्वमा आएको होइन। साँचो परमेश्‍वर सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। (भज. १४६:६) एथेना वा अन्य देवी-देवताहरूको महिमा तिनीहरूको लागि बनाइएको मन्दिर, पवित्र स्थान वा वेदीमा निर्भर हुन्थ्यो। तर आकाश र पृथ्वी बनाउने सर्वोच्च परमेश्‍वर मानिसले बनाएको कुनै मन्दिरमा अटाउनुहुन्‍न। (१ राजा ८:२७) पावलले भन्‍न खोजेको कुरा छर्लङ्‌ग थियो: मानिसले बनाएको कुनै मन्दिरभित्र मानिसद्वारै बनाएर राखिएका मूर्तिहरूभन्दा साँचो परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।—यसै. ४०:१८-२६.

१४. परमेश्‍वरलाई मानिसहरूमा भर पर्नुपर्दैन भनेर पावलले कसरी बुझाए?

१४ परमेश्‍वरलाई मानिसहरूमा भर पर्नुपर्दैन। मानिसहरू मूर्तिलाई विशिष्ट पहिरन लगाइदिने, महँगा-महँगा उपहार दिने र खानेकुरा चढाउने गर्थे—मानौँ मूर्तिहरूलाई त्यस्ता कुरा नभई हुँदैन! तर पावलका कुरा सुनिरहेका कोही-कोही ग्रीक दार्शनिकहरूलाई मानिसको तर्फबाट परमेश्‍वरलाई केही चाहिँदैन भन्‍ने लागेको हुन सक्थ्यो। त्यसो हो भने “मानिसहरूको हातले चढाएको कुनै सेवा” परमेश्‍वरलाई चाहिँदैन भन्‍ने पावलको कुरासित तिनीहरू पक्कै सहमत हुने थिए। साँच्चै, मानिसहरूले सृष्टिकर्तालाई दिन सक्ने कुनै चिज छ होला र! बरु मानिसहरूलाई चाहिने कुरा उहाँले पो दिनुहुन्छ। जस्तै: घाम, पानी, उर्वर भूमि, “जीवन, सास अनि सबै थोक।” (प्रेषि. १७:२५; उत्प. २:७) स्पष्ट छ, यहोवा परमेश्‍वर दाता हुनुहुन्छ। त्यसैले उहाँबाट सबै कुरा लिएर उपभोग गर्ने मानिसहरूमा उहाँ भर पर्नुपर्दैन!

१५. आफूलाई अरूभन्दा उच्च ठान्‍ने एथेन्सवासीहरूको सोचाइमाथि पावलले कसरी तर्क गरे? तिनको उदाहरणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

१५ परमेश्‍वरले मानिसलाई बनाउनुभयो। एथेन्सवासीहरू आफूलाई अरूभन्दा उच्च ठान्थे। तर राष्ट्रियता वा जातको घमन्ड गर्नु बाइबल सत्यसित मेल खाँदैन। (व्यव. १०:१७) यस संवेदनशील विषयमा पावलले बुद्धि र कौशलता चलाउँदै कुरा गरे। परमेश्‍वरले “एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो” भनेर पावलले बताउँदा तिनका श्रोताहरू पक्कै सोच्न बाध्य भए। (प्रेषि. १७:२६) पावलले मानवजातिका पुर्खा आदमबारे उत्पत्तिको विवरण बताइरहेका थिए। (उत्प. १:२६-२८) सबै मानिसजातिको पुर्खा एउटै भएकोले कुनै जाति वा राष्ट्र अर्कोभन्दा उच्च हुने कुरै आउँदैन। पावलको आशय तिनका श्रोताहरूले नबुझ्ने कुरै थिएन। यस उदाहरणबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। हो, सुसमाचार सुनाउँदा हामी व्यावहारिक हुनुपर्छ र कौशलता चलाउनुपर्छ। अर्कोतर्फ, मानिसहरूले सजिलै स्विकारून्‌ भनेर हामी बाइबल सत्यलाई हल्का पनि बनाउँदैनौँ।

१६. मानिसहरूको लागि सृष्टिकर्ताले राख्नुभएको उद्देश्‍य के हो?

१६ मानिसहरू परमेश्‍वरको नजिक होऊन्‌ भन्‍ने उहाँको उद्देश्‍य थियो। पावलको भाषण सुनिरहेका दार्शनिकहरूले मानिस अस्तित्वमा आउनुको कारणबारे निकै अघिदेखि वहस गरिरहेका थिए। तर कसैले चित्तबुझ्दो जवाफ दिन सकेको थिएन। पावलले भने मानिसहरूको लागि परमेश्‍वरको उद्देश्‍य प्रस्टै बताए। तिनले सीधै भने: “तिनीहरूले परमेश्‍वरलाई खोजून्‌ अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाऊन्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो; भनौँ भने उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।” (प्रेषि. १७:२७) हो, जुन परमेश्‍वर एथेन्सवासीहरूको लागि “अज्ञात” हुनुहुन्थ्यो, उहाँलाई तिनीहरू चिन्‍न सक्थे। वास्तवमा यहोवालाई साँच्चै खोज्न र उहाँबारे सिक्न चाहनेहरूदेखि उहाँ टाढा हुनुहुन्‍न। (भज. १४५:१८) याद गर्नुहोस्‌, पावलले “हामी” भन्‍ने शब्द चलाएर परमेश्‍वरलाई ‘खोज्नुपर्ने’ र उहाँलाई “छामछाम-छुमछुम” गरेर भेट्टाउनुपर्ने मानिसहरूसँगै आफूलाई पनि समावेश गरेका छन्‌।

१७, १८. मानिसहरूले आफू परमेश्‍वरसित नजिक हुनुपर्छ भनेर किन बुझ्नुपर्छ? आफ्ना श्रोताको मन छुन पावलले गरेको प्रयासबाट हामी के सिक्न सक्छौँ?

१७ मानिसहरूले आफू परमेश्‍वरसित नजिक हुनुपर्छ भनेर बुझ्नुपर्छ। परमेश्‍वरले गर्दा नै “हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ” भनी पावलले बताए। केही शास्त्रविद्‌अनुसार यहाँ पावल ईसापूर्व छैटौँ शताब्दीका क्रेटका कवि एपिमेनिडेसका शब्दलाई सङ्‌केत गर्दै थिए, जो “एथेन्सवासीहरूको धार्मिक परम्पराले मान्यता दिएको व्यक्‍ति” थिए। मानिसहरू परमेश्‍वरसित नजिक हुनुपर्ने अर्को कारण पावलले यसरी बताए: “‘हामी त उहाँकै सन्तान हौँ’ भनेर तपाईँहरूकै कोही-कोही कविले पनि भनेका छन्‌।” (प्रेषि. १७:२८) परमेश्‍वर सबैभन्दा पहिले सृष्टि गरिएका मानिसको बुबा हुनुहुन्थ्यो र तिनैबाट हामी सबै आएका हौँ। त्यसैले परमेश्‍वर हाम्रो पनि बुबा हुनुहन्छ र हामी उहाँसित नजिक हुनुपर्छ। आफ्ना श्रोताहरूको मन छुन पावलले बुद्धिमानीपूर्वक ग्रीक साहित्यहरूबाटै उद्धरण गरे, जसलाई उनीहरू मान्यता दिन्थे। e पावलको उदाहरण पछ्याउँदै हामी पनि कहिलेकाहीँ संसारको इतिहास, विश्‍वकोश वा मानिसहरूले मान्यता दिएका अन्य स्रोतबाट केही हदसम्म उद्धरण गर्न सक्छौँ। उदाहरणको लागि, कुनै झूटो धार्मिक परम्पराको सुरुवात कसरी भयो भन्‍ने विषयमा सबैले मान्यता दिएको स्रोतबाट प्रसङ्‌गसँग मिल्ने कुरा उद्धरण गर्दा हामीले सुसमाचार सुनाएका मानिसहरू पनि त्यसबारे विश्‍वस्त हुन सक्छन्‌।

१८ यतिबेलासम्म पावलले श्रोताअनुसार प्रस्तुतिमा छाँटकाँट गर्दै आफ्नो भाषणमा परमेश्‍वरबारे महत्त्वपूर्ण सत्यहरू बताइसकेका छन्‌। यस्तो महत्त्वपूर्ण जानकारी पाइसकेपछि एथेन्सका श्रोताहरूले के गरेको पावल चाहन्थे? तिनीहरूले गर्नुपर्ने कुरा पावलले आफ्नो भाषणको बाँकी भागमा बताइहाले।

‘तिनीहरू सबैले पश्‍चात्ताप गर्नुपर्छ’ (प्रेषित १७:२९-३१)

१९, २०. (क) मानिसले बनाएको मूर्ति पुज्नु मूर्खता हो भनेर पावलले कसरी कौशलतासाथ तर्क गरे? (ख) पावलका श्रोताहरूले कस्तो कदम चाल्नुपर्थ्यो?

१९ एथेन्सवासीहरू चाल्नुपर्ने कदमबारे बताउन अब पावल तयार छन्‌। फेरि पनि ग्रीक साहित्यहरूबाट उद्धरण गर्दै तिनी भन्छन्‌: “हामी परमेश्‍वरका सन्तान भएकोले हामीले उहाँलाई सुन, चाँदी वा पत्थरले बनेको सम्झनु अथवा मानिसहरूको कला वा कल्पनाको उपज ठान्‍नु उचित हुँदैन।” (प्रेषि. १७:२९) हुन पनि यदि मानिसलाई बनाउने परमेश्‍वर हुनुहुन्छ भने उहाँ कसरी मानिसले बनाएको मूर्ति हुन सक्नुहुन्छ र? मानिसले बनाएको मूर्ति पुज्नु मूर्खता हो भनेर पावलले कौशलतासाथ तर्क गरे। (भज. ११५:४-८; यसै. ४४:९-२०) “तपाईँहरूले यस्तो गर्नुपर्छ” भनेर सीधै सल्लाह दिँदा तिनीहरूको चित्त दुख्ला भन्‍ने कुरा विचार गर्दै पावलले आफूलाई पनि सामेल गरेर अलि नरम तरिकामा “हामीले . . . ठान्‍नु उचित हुँदैन” भने।

२० तिनीहरूले कदम चाल्नै पर्छ भनेर प्रेषित पावलले खुलस्त बताए: “मानिसहरूले जुन बेला अज्ञानतामा [मूर्तिपूजा गरेर परमेश्‍वरलाई खुसी पार्न सकिन्छ भन्‍ने गलत सोचाइमा] त्यसो गरे, परमेश्‍वरले त्यसको वास्ता गर्नुभएको छैन। तर अब भने पश्‍चात्ताप गर्नुपर्छ भनेर उहाँले सबै ठाउँका मानिसहरूलाई भन्दै हुनुहुन्छ।” (प्रेषि. १७:३०) पावलले यसरी पश्‍चात्ताप गर्न आग्रह गरेको सुन्दा सायद कोही-कोही अक्क न बक्क परे। तर पावलको प्रभावशाली भाषणबाट जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ र मानिसहरू उहाँप्रति जबाफदेही छन्‌ भनेर सुस्पष्ट भयो। तिनीहरूले परमेश्‍वरलाई खोज्नुपर्थ्यो, उहाँबारे सत्य कुरा सिक्नुपर्थ्यो र त्यसअनुसार जीवन बिताउनुपर्थ्यो। यसको अर्थ एथेन्सवासीहरूले मूर्तिपूजा गरेर पाप गरिरहेका छौँ भनी स्विकार्नुपर्थ्यो र त्यसबाट पूरै अलग रहनुपर्थ्यो।

२१, २२. पावलले कस्ता सशक्‍त शब्दमार्फत भाषण टुङ्‌ग्याए? तिनले भनेको कुराले आज हाम्रो लागि कस्तो अर्थ राख्छ?

२१ अन्तमा पावल यी सशक्‍त शब्दहरूमार्फत भाषण टुङ्‌ग्याउँछन्‌: “[परमेश्‍वरले] आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।” (प्रेषि. १७:३१) साँचो परमेश्‍वरलाई खोज्नुपर्ने र उहाँलाई भेट्टाउनुपर्ने कत्ति सशक्‍त कारण! आउँदै गरेको न्यायबाट बच्न तिनीहरूले त्यसो गर्नै पर्थ्यो। तर पावलले न्याय कसले गर्नेछ भनेर सीधै नाम बताएनन्‌ बरु ती न्यायाधीशबारे यस्तो चाखलाग्दो कुरा बताए: ती न्यायाधीशले मानिसको रूपमा जीवन बिताए, मरे र परमेश्‍वरद्वारा फेरि जीवित पारिए!

२२ त्यो जोडदार समापन आज हाम्रो लागि पनि एकदमै अर्थपूर्ण छ। परमेश्‍वरले नियुक्‍त गर्नुभएको न्यायाधीश फेरि जीवित हुनुभएको येसु ख्रिष्ट हुनुहुन्छ भनेर हामीलाई थाह छ। (युह. ५:२२) न्यायको दिन हजार वर्षको हुनेछ र यो चाँडै आउँदै छ भनेर पनि हामीले बुझेका छौँ। (प्रका. २०:४, ६) हामी त्यस दिनदेखि डराउँदैनौँ किनकि न्यायको दिनमा वफादार साबित भएकाहरूले असीमित आशिष्‌ पाउनेछन्‌ भनेर हामीलाई थाह छ। यो उज्ज्वल भविष्यको आशाको ग्यारेन्टी हामीले एउटा महान्‌ चमत्कारको कारण पाएका हौँ। त्यो चमत्कार हो, येसु ख्रिष्टको पुनर्जीवन!

“कोही-कोही . . . येसुको अनुयायी बने” (प्रेषित १७:३२-३४)

२३. पावलको भाषण सुनेपछि मानिसहरूले के-कस्तो प्रतिक्रिया देखाए?

२३ पावलको भाषण सुनेपछि मानिसहरूले फरक-फरक प्रतिक्रिया देखाए। फेरि जीवित हुने विषयमा सुनेर “कसै-कसैले तिनको गिल्ला गरे।” अरू कतिले राम्रै व्यवहार गरे तर पश्‍चात्ताप गर्ने र चेला बन्‍ने छाँट भने देखाएनन्‌ र यसो भने: “हामी फेरि यस विषयमा तपाईँको कुरा सुन्‍नेछौँ।” (प्रेषि. १७:३२) थोरैले मात्र राम्रो प्रतिक्रिया देखाए: “कोही-कोहीले तिनलाई साथ दिइरहे अनि येसुको अनुयायी बने। तिनीहरूमध्ये एक जना अरियोपागसको अदालतका न्यायाधीश डियनुसियस थिए। त्यसैगरि डामारिस नाम गरेकी स्त्री अनि अरू मानिस पनि उहाँको अनुयायी बने।” (प्रेषि. १७:३४) आज पनि साक्षीकार्यमा मानिसहरू यस्तै किसिमका प्रतिक्रिया देखाउँछन्‌। कोही-कोही हाम्रो गिल्ला गर्छन्‌ भने कोहीचाहिँ नराम्रो व्यवहार नगरे तापनि हाम्रो सन्देशप्रति भावशून्य हुन्छन्‌। तर कसै-कसैले राज्य सन्देश स्विकार्दा र येसुको चेला बन्दा हामी खुसीले गद्‌गद हुन्छौँ।

२४. अरियोपागसको बजारमा पावलले दिएको भाषणबाट हामी के-कस्तो पाठ सिक्न सक्छौँ?

२४ पावलको भाषणलाई मनन गर्दा आफ्नो कुरालाई तार्किक ढङ्‌गमा कसरी अघि बढाउने, चित्तबुझ्दो तर्क कसरी गर्ने र श्रोताअनुसार आफ्नो प्रस्तुति कसरी छाँटकाँट गर्ने भन्‍ने विषयमा हामी धेरै कुरा सिक्न सक्छौँ। झूटो धर्मको शिक्षाले अन्धो भएका मानिसहरूसित व्यवहार गर्दा धीरजी हुने र कौशलता देखाउने तरिका पनि सिक्न सक्छौँ। साथै अर्को महत्त्वपूर्ण पाठ हो: श्रोताहरूलाई खुसी बनाउन हामीले बाइबल सत्यलाई कहिल्यै हल्का बनाउनु हुँदैन। साँच्चै, प्रेषित पावलको उदाहरण अनुकरण गर्दा हामी साक्षीकार्यमा अझ प्रभावकारी शिक्षक हुन सक्छौँ। यसबाहेक निरीक्षकहरू मण्डलीमा अझै योग्य शिक्षक बन्‍न सक्छन्‌। यसरी मानिसहरूलाई ‘परमेश्‍वरलाई खोज्न अनि उहाँलाई भेट्टाउन’ मदत गर्न हामी सुसज्जित हुनेछौँ।—प्रेषि. १७:२७.

a पृष्ठ १४२ मा भएको “ एथेन्स—प्राचीन समयको सांस्कृतिक राजधानी” शीर्षकको पेटी हेर्नुहोस्‌।

b पृष्ठ १४४ मा भएको “ इपिक्युरसवादी र स्तोइकवादी” शीर्षकको पेटी हेर्नुहोस्‌।

c एक्रोपोलिसको उत्तर-पश्‍चिममा पर्ने अरियोपागसमा एथेन्सको न्यायपरिषद्‌को सभा बस्ने गर्थ्यो। “अरियोपागस”-ले सायद न्यायपरिषद्‌लाई वा त्यस नामको डाँडालाई बुझाउँथ्यो। त्यसैले पावललाई त्यस डाँडाको छेउछाउमा ल्याइएको थियो वा बजारमा रहेको न्यायपरिषद्‌सामु ल्याइएको थियो भन्‍ने कुरामा शास्त्रविद्‌हरूको विचारधारा फरक-फरक छ।

d “संसार” भनेर अनुवाद गरिएको ग्रीक शब्द कोसमोस हो। ग्रीकहरूले ब्रह्‍माण्डलाई बुझाउन यो शब्द चलाउँथे। आफ्ना ग्रीक श्रोताहरू पनि सहमत हुने विषय भेट्टाएर त्यसैबाट कुरा अघि बढाउन प्रयास गरिरहेका पावलले यहाँ त्यही अर्थमा यो शब्द चलाएका हुन सक्छन्‌।

e स्तोइक कवि अराटसको खगोलसम्बन्धी कविता फेनोमेना-बाट पावलले उद्धरण गरेका थिए। त्यसैगरि स्तोइक लेखक क्लिआन्थिसले लेखेका ज्युसको लागि भजन-जस्ता ग्रीक लेखोटहरूमा यस्तै शब्द पाइन्छन्‌।